Tag: आरजु देउवा

  • सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

    सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

    काठमाडौं । राष्ट्र बैंकले देशको अर्थतन्त्र संकटमा परेको विवरणसहित विदेशी मुद्रा सञ्चिति दयनीय रहेको आँकडा सार्वजनिक गरेकै भोलिपल्ट उद्योगमन्त्रालयबाट कम्तीमा पौने चार अर्बको सुपारी आयातका लागि प्रस्ताव अघि बढाइएको छ ।

    नेपाल प्रेसले अघिल्लो साता नै सुपारी तस्करीको लाइन खुलाउन कांग्रेसका पूर्वसांसद समेत रहेका वीरगञ्जका उद्योगपति अनिल रुङटा, डडेलधुराका रामचन्द्र भट्ट र श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी तथा विराटनगरका उद्योगी दिनेश राठीहरूले मेहनत गरिरहेको समाचार बाहिर ल्याएको थियो ।

    स्रोतका अनुसार नेपाल टिम्बर कर्पोरेशनका पूर्वमहाप्रबन्धकसमेत रहेका डडेलधुराका भट्टले  सुपारी तथा गुट्खा व्यापारीसँग डिल गरिसकेका छन् । उनी हालैमात्र भैरहवामा गएर मालपानीसँग भेट गरेका थिए ।

    कम्तीमा पौने चारदेखि ५ अर्बको सुपारी भित्र्याउँन ५० करोड रूपैयाँ परिमाणात्मक बन्देज खुलाएवापत व्यापारीले खर्च गर्दैछन् । त्यसको ‘टोकन मनी’ प्राप्त भइसकेपछि माथिको दबाबमा उद्योग विभागले सिफारिस अघि बढाइसकेको छ र मन्त्रिपरिषदमा लगेर पारित गरिँदैछ ।

    अहिले उद्योगमन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंसँग छ । सुपारीको डिल भने सीधै अनिल रुङटा र रामचन्द्र भट्टले गरिरहेको उद्योगमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरू झस्किएका छन् । विभागीय मन्त्री नभएको बेला सीधै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएपछि केही गर्न नसकिएको उनीहरूको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

    स्रोतकाअनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिन मन्त्रालयबाट फाइल अघि बढेको छ ।

    यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेको बताइन्छ । औद्योगिक कच्चा पदार्थ आयात भनेर आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गे पैसा आउने भएकैले हो ।

    मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

    सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

    केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

    झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।

    मुलुकमा डलर सञ्चिति नरहेको अवस्थामा सुपारी आयातका लागि मन्त्रिपरिषद्‍बाटै बन्देज खुला गराउन खोजिएपछि यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उच्च अधिकारीहरू डराएका छन् ।

  • खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १ हजार ६ सय मत गणना भएको छ ।

    अहिलेसम्मको परिणाममा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १ हजार १४ मत पाउँदा पुष्पा भूसाल ९ सय ७० मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ९ सय १ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

    त्यस्तै अम्बिका बस्नेत ८ सय ११ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ७ सय ८६ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइँ ७ सय ६८ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।

    खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

  • योजना आयोगमा प्रधानमन्त्री पत्नीको पकड, दुई व्यापारिक साझेदार नियुक्त गर्न सफल

    योजना आयोगमा प्रधानमन्त्री पत्नीको पकड, दुई व्यापारिक साझेदार नियुक्त गर्न सफल

    काठमाडौं । राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाका दुई व्यापारिक साझेदारले मुख्य जिम्मेवारी पाएका छन् । मुलुकको विकास तथा सरकारका नीतिहरू तय गर्ने मुख्य निकायमा प्रधानमन्त्री पत्नीले आफ्नो वर्चश्व कायम गरेकी छन् ।

    आरजु राणा देउवा अध्यक्ष रहेको युलेन्स स्कुल नेपालकै सबैभन्दा महँगो शुल्क लिने शिक्षण संस्थामा पर्छ । सो शैक्षिक प्रतिष्ठानका एक जना बोर्ड सदस्य डा. विश्व पौडेल योजना आयोगको उपाध्यक्ष छन् भने पछिल्लो मन्त्रिपरिषद बैठकले राणाकै अर्का व्यापारिक साझेदारलाई पनि योजनामा आयोगमा नियुक्ति दिएको छ ।

    युलेन्स एजुकेशन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत अरनिको पाण्डे योजना आयोगको बरिष्ठ सल्लाहकारमा नियुक्त भएका हुन् । पाण्डेले आफ्नो प्रोफाइमा पनि नयाँ पदको जानकारी दिइसकेका छन् । यसअघि आयोगमा वरिष्ठ सल्लाहकार राख्ने प्रचलन नरहे पनि यसपटकबाट सिर्जना गरिएको हो ।

  • बढ्यो आरजुको कुटनीतिक र प्रशासनिक सक्रियता, सचिवहरूसँग ‘डिनर ब्रिफिङ’

    बढ्यो आरजुको कुटनीतिक र प्रशासनिक सक्रियता, सचिवहरूसँग ‘डिनर ब्रिफिङ’

    काठमाडौं । लामो समय जापान बसेर फर्किएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता बढाएकी छन् ।

    कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा रहेकी राणाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रशासनिक क्षेत्रको समेत ब्रिफिङ लिन थालेकी छन् ।

    दुई दिनअघि राणाले नेपाल सरकारका केही सचिव र महत्वपूर्ण विभागका महानिर्देशकहरुसँग ललितपुरको भिभान्ता होटलमा डिनर बैठक आयोजना गरी ब्रिफिङ लिएको स्रोतले जनाएको छ ।

    राणा यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि सचिवलगायत प्रशासनिक क्षेत्रको सरुवा बढुवामा हावी हुने गरेकी थिइन् । विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा र हेरफेर हुन लागेका बेला राणाले सामूहिक र एक्ला एक्लै भेटघाट बढाएको स्रोतले जनाएको छ ।

    राणाले कूटनीतिक सक्रियता पनि बढाउन थालेको निकट स्रोतले जनाएको छ । विशेषगरी भारतसँग बिग्रिएको भनेको देउवाको सम्बन्ध सुधारका लागि उनले भारतीय संस्थापन पक्षका संयन्त्रहरुसँग समन्वय गरिरहेको उनीनिकट एक कांग्रेस नेताले बताए ।

    कांग्रेस महाधिवेशनमा देउवालाई बलियो बनाउन राणाले पार्टीभित्र र अन्यत्र पनि आफ्नो सक्रियता बढाएकी हुन् ।

  • कांग्रेस महाधिवेशनको छेकमा आरजुले सार्वजनिक गरिन् ‘अर्थपूर्ण’ पारिवारिक तस्वीर

    कांग्रेस महाधिवेशनको छेकमा आरजुले सार्वजनिक गरिन् ‘अर्थपूर्ण’ पारिवारिक तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक पार्टीको नेतृत्व लिने दौडमा छन् । महाधिवेशनको सरगर्मी सुरू हुँदै गर्दा आज देउवापत्नी आरजुले अर्थपूर्णरूपमा एउटा पारिवारिक तस्वीर सार्वजनिक गरेकी छन् ।

    फेसबुकमा आरजुले राखेको तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् । अहिलेसम्म सार्वजनिक रूपमा खासै नदेखिएका जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् । तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको जस्तो देखिन्छ । देउवा र उनका छोराले राधेराधे लेखिएको खादा लगाएका छन् ।

    तस्वीर कहिलेको हो भन्ने आरजुले खुलाएकी छैनन् । उनले क्याप्सन यति मात्रै लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो ।’

    कांग्रेस महाधिवेशनमा धर्म पनि एउटा महत्वपूर्ण एजेन्डा हुने गर्छ । कांग्रेसभित्र नेपाल हिन्दू राज्यमा फर्किनुपर्छ भन्ने मत निकै बलियो छ । सोही मत आकर्षित गर्नका लागि आरजुले यो तस्वीर सार्वजनिक गरेको हुन सक्ने बुझाइ कतिपयको छ ।