Tag: आम्दा अस्पताल

  • आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन

    आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन

    रुपन्देही । सिद्धार्थ बाल तथा महिला अस्पतालमा बुटवल उपमहानगरले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न थालेको छ । सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको यो अस्पतालको सेवा प्रवाह स्तरीय र प्रभावकारी बनाउने साथै भौतिक पूर्वाधार विकासका कामलाई पनि संगसंगै अगाडि बढाइएको हो ।

    अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन तथा सेवा प्रवाहका बारेमा आइतबार नगर प्रमुख शिवराज सुवेदीले जानकारी लिनुका साथै सरोकारवालासंग छलफल तथा अस्पतालमा संचालित कोभिड वार्डको निरीक्षण गरेका छन् ।

    कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको पुरा प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवाप्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिएका हुन् ।

    उक्त अस्पतालमा संक्रमित हुने शिशु र तिनका आमालाई लक्षित गरेर अलग्गै कोभिड उपचार वार्डको व्यवस्था गरिएको छ । सोही वार्डको अवस्था र सेवा प्रवाहका बारेमा प्रमुखले जानकारी लिनुका साथै सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    उपमहानगरको ५० लाख आर्थिक सहयोगमा आम्दा अस्पतालमा निर्माण भएको नयाँ भवन, १० लाख बराबरको सहयोगमा बनेको अक्सिजन पाइपलाइन कक्षको निरीक्षण गर्दै निरन्तर निगरानी गरेर सेवाप्रवाह सञ्चालन गर्न आग्रह गरेका थिए । हाल अस्पताल परिसरमा उपमहानगरको करिब १२ लाखको आर्थिक सहयोगमा अस्पताल परिसरमा लकटायलसहितको सडक स्तरोन्नित भइरहेको छ ।

    अस्पतालमा सञ्चालित कोभिड वार्डका लागि आवश्यक उपकरण खरिद गर्न उपमहानगरले थप १० लाख विनियोजन गरिसकेको प्रमुख सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाको बजेट सहयोगमा आम्दामा भौतिक पूर्वाधार र उपकरण थप गर्ने काम समेत चलिरहेको छ ।
    करिब १० हजार जापानी नागरिकहरुको सहयोगबाट १९९८ देखि यो अस्पताल सुरु भएको हो ।

    बुटवल उपहानगरको करिब १० विगाहा क्षेत्रफलमा सञ्चालित र एक सय बेडको स्वीकृती पाएको अस्पतालमा बाल रोग बहिरंग तथा अन्तरंग सेवा, बाल शल्यक्रिया सेवा प्रवाह भइरहेको छ ।

    यस्तै स्त्रीरोग शल्यक्रिया, प्रसुति सेवा, आकस्मिक सेवा, नवजात शिशुको लागि सघन उपचार सेवा, खोप सेवा, एम्बुलेन्स सेवा, कम्प्युटराइज एक्सरे तथा अल्ट्रासाउण्ड सेजा, प्रयोगशाला सेवा, सीएसी सर्भिस र आइसीयूलगायतको सेवा प्रवाह भइरहेको निमित्त मेसु हिम श्रेष्ठले जानकारी दिए ।

    सो अवसरमा अस्पतालका निमित्त मेसु हिमकुमार श्रेष्ठ, कोभिड वार्डका संयोजक डा.अरुण पोखरेल, डा.सुन्दर न्यौपानेले सेवाप्रवाह र कतिपय समस्याका बारेमा पनि प्रमुख सुवेदीलाई जानकारी गराएका थिए ।

     

  • आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पनि अक्सिजन जेनरेशन प्लान्ट स्थापनामा सहयोग गरेको छ । कोभिड १९ को महामारीमा अक्सिजन अभाव झेलेका अस्पतालमा आगामी दिनमा यो समस्या आउन नदिन सहयोग गरेको क्लबले जनाएको छ ।

    रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ रोटरी क्लब बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले भने ।

    रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो ।

    कोभिडको तेस्रो भेरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्नसक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

    अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।
    अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

    प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थयमन्त्री लिला गिरीले स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए ।

    अक्सिजन प्लान्ट स्थापनाले अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पूर्ती गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

    रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

    प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।

    कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए ।

    ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ

    रोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ ।

    परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।

    उनले ब्लड कलेक्शन मोबाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए ।

    उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मावाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।

    कार्यक्रमको उद्घाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२०–२१ का डिष्टिक गभर्नर राजीव पोखरेलले गरेका थिए ।

  • आम्दा अस्पताल स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

    आम्दा अस्पताल स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

    रुपन्देही । बुटवलको आम्दा अस्पताललाई बुटवल उपमहानगरपालिकाले ५० लाख बराबरको सहयोग गरेको छ । महिला तथा बालबालबालिकाको उपचार हुने यो अस्पतालमा कोभिड संक्रमितको पनि उपचार हुन थालेको छ ।

    स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ-नयाँ भेरिएन्ट आउनसक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको छ ।

    कोभिड-१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ ।

    महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूती अस्पतालमा रुपान्तरण गर्ने गरी पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको प्रमुख सुवेदीको भनाइ छ ।

    सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा।राजेन्द्रप्रसाद बस्यालले बताए । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको बताए ।

    उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्ने गरी ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए । अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ ।