Tag: आन्दोलन

  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

    विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

    काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शनको घोषणा गरेको छ ।

    नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) को संयुक्त बैठकले असार १६ गते ७७ वटै जिल्ला र असार १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    विपक्षी विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि संयुक्त ज्ञापन पत्र बुझाउने, शैक्षिक शुल्क वृद्धि गरिए आन्दोलन गर्नेलगायतका निर्णयसमेत गरेको छ ।

  • तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएरै आन्दोलन गर्ने

    तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएरै आन्दोलन गर्ने

    काठमाडौं । नेपाल तरुण दलले कोरोना महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने भएको छ ।

    तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रतिनिधिसभा विघटनलगायतका कदमको विरुद्धमा स्वास्थ्य मापदण्ड अपनाएर भएपनि विरोध प्रदर्शनलाई निरन्तरता दिन जिल्ला शाखाहरुलाई निर्देश गरेका छन् । विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले सरकारको अलोकतान्त्रिक, संवैधानिक एवं स्वेच्छाचारी कदमविरुद्ध उभिनैपर्ने परिस्थिति बनेको बताएका छन् ।

    ‘जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ । उक्त कदम इतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथि गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ ।

    कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण यस अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो ।’

    तरुण दलले योङ कम्युनिष्ट नेपाल (वाईसीएल), समाजवादी युवा संघ-नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी संयुक्त संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको हो ।

  • म्यानमारको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको समर्थन

    म्यानमारको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको समर्थन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारमा जारी लोकतान्त्रिक आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा जारी लोकतान्त्रिक आन्दोलनमा समर्थन जनाउँदै सैनिक सरकारले गरेको दमनको निन्दा गरेका छन् ।

    ‘म्यानमारमा पछिल्ला केहीदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ’, शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    प्रवक्ता शर्माले निर्वाचित सरकार तत्काल बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी दवाव बढाउनुपर्ने समेत उल्लेख गरेका छन् ।

    शनिबार म्यानमारमा भएको प्रदर्शनमा सेनाले दमन गर्दा १ सय १४ जनाको मृत्यु भएको थियो ।

     

  • संसद विघटनविरुद्ध लड्न कांग्रेस एक्लै काफी छ : महामन्त्री कोइराला

    संसद विघटनविरुद्ध लड्न कांग्रेस एक्लै काफी छ : महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटनको कदमविरुद्ध लड्न कांग्रेस एक्लै काफी रहेको बताएका छन् ।

    नेपाली कांग्रेस दाङले आयोजना गरेको विरोधसभामा महामन्त्री डा. कोइरालाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादको शिकार संसदलाई बनाइएको भन्दै कोइरालाले कम्युनिष्ट पार्टीका दुवै समूह जनताविरोधी रहेको आरोप लगाए । उनले आन्दोलनमा जान कांग्रेसलाई कसैको साथ नचाहिने बताए ।

    ‘प्रतिगमनविरुद्ध कांग्रेसले हिजोपनि लडेको हो आज पनि लड्नेछौं । ओलीविरुद्ध लड्न अर्को कम्युनिष्टको सहयोग चाहिँदैन, कांग्रेस एक्लै काफी छ’, कोइरालाले भने । उनले संयुक्त आन्दोलन अहिले आवश्यकता नभएकोले कांग्रेस आफ्ना एजेण्डा बोकेर एक्लै जनतामा जाने बताए ।

    महामन्त्री कोइरालाले सर्वोच्च अदालतको फैसलाबाटै संसद ब्यूँतने विश्वास समेत व्यक्त गरे ।

    सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूमा देखिएको लोभी चरित्रका कारण संविधान संकटमा परेको आरोप लगाए ।

  • आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।

    विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीतको कार्य भएकोले कांग्रेस एकमत साथ आन्दोलनमा रहेको जनाएका हुन् ।

    कांग्रेस केन्द्रीय समितिको पूर्व निर्धारिता कार्यक्रम अनुसार सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन हुँदैछ । सभापति देउवाले विगतका आन्दोलन कार्यक्रममा झै घर-घरबाट प्रदर्शनमा सहभागि भई सरकारविरुद्ध ऐक्यवद्धता जनाउन आग्रह गरेका हुन् ।

    सोमबार हुने प्रदर्शनअन्तर्गत सभापति देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री डा.शशांक कोइरालाले दाङ, पूर्व महामन्त्री प्रकाशमान सिंहले कास्की, पूर्व महामन्त्री कृष्ण सिटौंलाले झापा, नेताहरु डा. रामशरण महतले काभ्रे, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन, प्रदीप पौडेलले दैले, गुरुराज घिमिरेले दोलखालगायतका जिल्लामा सम्बोधन गर्ने तय भएको छ ।

    कांग्रेसले यसअघि देशभरका प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, स्थानीय तह र वडा केन्द्रित प्रदर्शन र सभा गरिसकेको छ ।

  • प्रचण्ड-माधव पक्षले गर्‍यो चौथो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेर्ने

    प्रचण्ड-माधव पक्षले गर्‍यो चौथो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेर्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ।

    आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।

    केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम :

    –फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने ।

    –फागुन ६ गते मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेराउ गर्ने।

    –७ गते सबै वडामा कार्यक्रम

    –८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितिमा बृहत् अन्तरक्रिया गर्ने ।

    –९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।

    – फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।

    –फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्‍याली ।

    –फागुन १२ गते चितवन र २१ गते दाङमा बृहत् विरोध कार्यक्रम ।

  • अन्तिम धक्काको लागि तयार रहन प्रचण्ड-माधवको आह्वान

    अन्तिम धक्काको लागि तयार रहन प्रचण्ड-माधवको आह्वान

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ ।

    सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ उल्लेख गरेका छन् ।

    ‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो’ शुभकामना वक्तव्यमा भनिएको छ, ‘पछिल्लो घटनाका रूपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरू भएको छ । प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’

  • आन्दोलनमा कांग्रेस कसैसँग मिल्न हुँदैन : शशांक (भिडियो)

    आन्दोलनमा कांग्रेस कसैसँग मिल्न हुँदैन : शशांक (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको नेकपाको प्रचण्ड-माधव पक्षले सबै पक्षलाई समेटेर संयुक्त आन्दोलन गर्ने बताइरहेको बेला कोइरालाको यो भनाइ आएको छ ।

    सोमबार पूर्वप्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको छैटाैं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान विषयक’ विचार गोष्ठीमा बोल्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानुहुँदैन ।’

    संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनको भनाइ छ । महामन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाई लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताए ।

  • प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो)

    प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो)

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनसँगै नेताहरूबीच एकअर्काबीच दिनहुँ जुहारी चलिरहेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रचण्ड-माधव पक्ष आन्दोलनरत छन् ।

    संघर्षकै क्रममा विहीबार सो पक्षले देशव्यापी आम हड्ताल गर्‍यो । स्थायित्व र विकासका लागि झण्डै दुई तिहाईको मत दिएर सत्तामा पुर्‍याएका दलका नेताहरूबीच जुँगाको लडाइँले नागरिकले फेरि दु:ख पाउन थालेको कतिपयले टिप्पणी गरेका छन् । तर, विधि र प्रक्रिया मिच्दै केपी ओली तानाशाह बनेको भन्दै प्रचण्ड-माधव पक्षले सबैलाई आन्दोलनमा होमिन आव्हान गरिरहेको छ ।

    अध्यक्षद्वय दाहाल र नेपाल दुवैजनाले अहिलेको आन्दोलन ओलीसँगको जुहारीको रूपमा मात्र नबुझेर लोकतन्त्रको रक्षाको लागि गरिएको संघर्ष भनेर बुझ्‍न आग्रह गरेका छन् ।

    शुक्रबार विहान ललितपुरमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। र, सिंगै देशको प्रजातन्त्रको घाँटी निमोठ्दै-निमोठ्दै-निमोठ्दै गइरहेका छन् । यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला-जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

    आर्मीका गाडी गुडाएर कोही नतर्सिने उनले बताए । ‘केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिन्छ’, उनले दाबी गरे ।

    अर्का अध्यक्ष प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रूपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए । अति भएर मात्रै आम हड्ताल गर्न सडकमै उत्रिनुपरेको उनले बताए । ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे । संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो जनताले साथ दिए ’, उनले भने ।

    आन्दोलनमा युवा पंक्तिले साथ दिएकोमा आफूहरू उत्साही भएको प्रचण्डको भनाइ थियो । ‘यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमननै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ ? कति छन् ? भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन’, दाहालले भने, ‘केही पछि जनता हप्तौंसम्म सडकमा हड्तालका लागि आउँने स्थिति बन्छ । त्यो बेला हाम्रो समर्थन रहन्छ । संसद विघटनलगत्तै संघर्ष शुरू गर्न सवै राजनीतिक दलसँग छलफलको हामीलेनै नेतृत्व गर्‍यौं । राजपाले हाम्रै भाषामा विरोध गरेको छ । कांग्रेसका प्रवक्ताले स्पष्ट विरोध गरिरहेका छन् । शेरबहादुरजीको केही यताउति हुनसक्छ ।’

    ‘संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक संकटमा धकेलिएको छ । केपीजीले फेरि देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो ? शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो’, दाहालले थपे ।

    ओलीसँग आफैंले वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले अब त देशमा विकास गरौंला, जनताका काम गरौंला भन्ने लाग्दालाग्दै गर्न नसकिएकोमा आत्समीक्षा गर्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनको घटनासम्म आइपुग्दा के-के भयो भनेर जनतालाई स्पष्ट पार्ने भन्दै दाहालले, ‘हामी स्वेतपत्रनै जारी गर्दैछौ । हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं । पदको लडाईंको लागि आन्दोलन हैन भन्ने बुझाउँछौं ।’

  • प्रचण्ड-माधव पक्षको मूल्यांकन : आम हड्ताल पूर्ण सफल

    प्रचण्ड-माधव पक्षको मूल्यांकन : आम हड्ताल पूर्ण सफल

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।

    केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् ।

    आन्दोलनलाई बदनाम बनाउने र जनतालाई उत्तेजित बनाउने कोसिस गरिए पनि आफूहरूको संयमताले त्यो असफल भएको विज्ञप्तिमा लेखिएको छ ।

    आन्दोलनमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ।

  • प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई ‘नोटिस’ मा राख्‍छौं

    प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई ‘नोटिस’ मा राख्‍छौं

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्वियूले सोमबार काठमाडौंको बानेश्वरमा गरेको विरोध कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई प्रहरीले कुटपिट गरेको छ ।

    प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरीले कुटपिट गरेको हो ।

    प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको बताइएको छ। भट्टराईले प्रहरी दमनको निन्दा गरेका छन्। ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘आन्दोलनकारीहरूमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले नोटिसमा राख्ने जानकारीसमेत गराउँदछौं।’

    त्यस्तै नुवाकोटमा भएको प्रदर्शनमा पनि अनेरास्ववियूका सहसंयोजक विनोद कोइरालालगायतका आधा दर्जन विद्यार्थी गम्भीर घाइतेको भएको बताइएको छ ।

    अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतका अनुसार नुवाकोटमा पनि शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेको हो ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (भिडियो)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

  • केपी ओली मूर्दावाद भन्दै पुत्ला दहन

    केपी ओली मूर्दावाद भन्दै पुत्ला दहन

    प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षीय नेकपाका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

    देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत उनीहरुले बिहीबार देशका विभिन्न क्याम्पसहरुमा ओलीको पुत्ला जलाएका हुन् ।

    काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी कलेजमा पनि उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए ।

  • केपी ओली मुर्दावाद भन्दै पुत्ला दहन (फोटोफिचर)

    केपी ओली मुर्दावाद भन्दै पुत्ला दहन (फोटोफिचर)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षीय नेकपाको विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत उनीहरुले बिहीबार देशका विभिन्न क्याम्पसहरुमा ओलीको पुत्ला जलाएका हुन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी कलेजमा पनि उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए । हेर्नुहोस् केही तस्बिरः

  • प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रचण्ड-माधव समूह सडकमा, माइतीघरबाट शुरु भयो ओलीविरुद्ध आन्दोलन

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघरमण्डलमा विरोध प्रदर्शन शुरु गरेको छ ।