Tag: आदेश

  • लुम्बिनीका माओवादी सांसद पदमुक्त गरिएकोबारे सर्वोच्चको कारण देखाउ आदेश

    लुम्बिनीका माओवादी सांसद पदमुक्त गरिएकोबारे सर्वोच्चको कारण देखाउ आदेश

    रुपन्देही । सर्वाेच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुपर्ने कारण सोधेको छ । एमाले प्रवेश गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    आज भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई बोलाइएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

    दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए ।

    माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ ‘ख’ र गुल्मीको क्षेत्र नं २ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।

    निवेदकहरुले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणपत्रका आधारमा निर्वाचनमा लडेकोले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने जिकिर गरेका थिए ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको थियो ।

    निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको माग गर्दै निवेदन पेश गरेका थिए ।

    निवेदकहरुको तर्फबाट अधिवक्ता भट्टराईसंगै वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बिजयकान्त मैनाली शुरेन्द्र कुमार महतो,दल बहादुर धामी, डा.नारायण बेलवासेलगायतले बहस गरेका थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र मुक्ति प्रधानले बहस गरेका थिए ।

  • एमाले बनेपछि माओवादीले पदमुक्त गराएका ५ उपप्रमुख अदालतबाट पुनर्वहाली

    एमाले बनेपछि माओवादीले पदमुक्त गराएका ५ उपप्रमुख अदालतबाट पुनर्वहाली

    काठमाडौं । माओवादीको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको छ ।

    न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो,मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

    त्यस्तै यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ ।

    माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै सो पार्टीको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो ।

    पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली भइसकेका छन् । यी पाँच जनप्रतिनिधि पनि पुनर्वहालीसँगै पदभार ग्रहण गरेका छन् ।

    रौतहटका सांसद समेत रहेका माओवादी नेता प्रभु साह एमालेमा लागेसँगै उनको क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि पनि एमाले भएका हुन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई कामकाज गर्नबाट नरोक्न अदालतले आदेश दिएको छ ।

    माओवादीले विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएका थियो । उनीहरु सबै अदालतबाट पुनर्वहाली भएका छन् ।

  • निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

    निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गरी वैधानिकता दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट बुधबार सो आदेश भएको हो ।

    आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुदाँ वचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ ।

    ४ वर्षे कार्यकाल सकिएपछि सरकारले विधान अनुसार १ वर्ष थपेर ट्रेड युनियनको म्याद जेठ १८ सम्म पुर्‍याएको थियो । तर, म्याद सकिनु एक महिनाअघि नै सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।

    यसअघिकै कार्यसमितिलाई कायम राख्न र यथाशीघ्र निर्वाचनको प्रक्रिया अघि बढाउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई सर्वोच्चले भनेको छ ।

    यसैबीच ट्रेड युनियनले सर्वोच्चको आदेशलाई स्वागत गरेको छ । युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले विज्ञप्ति निकालेर अदालतको आदेशको मर्म र भावना बमोजिम यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ ।

  • नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

    आज बसेको संवैधानिक इजलासले यस प्रकारको विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै सरकारले हालै जारी गरेको अध्यादेश कार्यान्वयनमा रोक लगाएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहभागी थिए ।
  • गृहमन्त्रालयको आदेश- यी २५ क्षेत्रमा हड्ताल गर्न नपाइने (सूचीसहित)

    काठमाडौं । गृहमन्त्रालयले अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ ।

    जेठ १७ को राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरिएको उल्लेख छ ।

    यो ऐनअन्तर्गत निषेध गरिएको क्षेत्रमा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने ऐनमा उल्लेख छ ।

    हड्ताल निषेध गरिएका क्षेत्रहरूमा बैंक, बिमा, टेलिफोन, सञ्चार र इन्टरनेट सेवा छन् । त्यस्तै सरकारले विद्युत सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, औषधी निर्माण तथा बिक्री वितरण सेवालगायत छन् ।

    मन्त्रालयले कुनै पनि बहानामा यी सेवामा अवरोध नपुर्‍याउन भनेको छ ।