बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावुक एवम् पीडित मुद्रामा भने– अब आत्महत्या गर्ने कि फेरि उठ्ने भन्ने दोसाँधमा पुगेको छु ।
उनी भावुक मात्रै भएनन्, भाषणका क्रममा पटक-पटक उत्तेजित र आक्रोशित पनि भए ।
केही साताअघि अर्को एक कार्यक्रममा उनले चिन्ता व्यक्त गरेका थिए– माओको जस्तै मर्नेबेलामा आफूसँग कोही नहुने पो हुन् कि !
यो मात्रै होइन, उनका पछिल्ला भाषण कि त अतिउत्तेजित कि अतिभावुक हुने गरेका छन् । कुनैबेलामा क्रान्तिकारी नेतामा आएको यो अस्थिर मनस्थिति स्वभाविक होइन ।
प्रगतिशील पत्रकार दीपेन्द्र रोकायाले आफ्नो पुस्तक ‘नाफाको जीवन’मा प्रचण्डका सम्भावित चार अवसानबारे विश्लेषणसहित अनुमान गरेका छन् । जहाँ उनले प्रचण्डले आत्महत्या गर्नसक्ने सम्भाबना प्रबल भएको लेखेका छन् ।
माओवादी सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका पत्रकार रोकायाले पुस्तकमा लेखेका छन्– प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’
रोकायाले त्यतिकै यस्तो आँकलन गरेनन् । प्रचण्डसँग प्रत्यक्ष सम्बन्ध र उठबस भएका उनले बुझबुझपूर्ण ढंगमै पुस्तकमा प्रचण्डको अवसानबारे लेखेका होलान् । रोकायाले त्यस्तो लेख्नु र प्रचण्डले अचेल निरन्तर ‘मृत्यु चिन्तन’ गर्नु संयोग मात्रै नहुन सक्छ ।
एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।
प्रष्टै छ कि, प्रचण्ड एक अतिमहत्वाकांक्षी नेता हुन् । शिक्षण छाडेर देशको व्यवस्था परिवर्तन गर्ने हिम्मतका साथ युद्धमा होमिनु र नेतृत्व गर्नु चानचुने कुरा थिएन ।
‘बन्दुकको नालबाट सत्ता कब्जा गर्ने’ चरम महत्वकांक्षा बोकेका प्रचण्डले युद्धको नाममा धेरैलाई बलि चढाए । अर्बौंको विकासे संरचना ध्वस्त बनाए । बन्दुकको नालबाट सत्ता कब्जा सम्भव नभएपछि सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले संसदलाई हतियार बनाउने चाल चाले । उनी भन्थे– क्रान्तिको स्वरुप मात्रै परिवर्तन भएको हो, सत्ता कब्जाको नीति उहीं छ ।
उनको लहैलहैमा धेरै समयसम्म नेता–कार्यकर्ता लागिरहे । २०६४ सालको संविधानसभा निर्वाचनमा उनको दल सबैभन्दा ठूलो भयो । त्यसपछि उनको महत्वाकांक्षा झन् बढ्यो । भन्थे– अब १० वर्ष कसैले पनि माओवादीलाई नचिहाए हुन्छ । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नराम्ररी खुम्चियो । त्यसले प्रचण्डलाई ठूलै धक्का दियो ।
त्यसपछि माओवादी कमजोर हुने क्रम झन् बढ्यो । युद्धका सारथि मोहन वैद्य, बाबुराम भट्टराई लगायतका प्रभावशाली नेता माओवादीमा रहन सकेनन् । कुरा समाजवादी गरे पनि तानाशाही स्वभावका प्रचण्डले आफ्नै सहयोद्धालाई टिकाउन नसक्नुको एउटै कारण हो– जहाँ पनि आफैं हाबी हुने, अरुलाई नगन्ने !
२०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन भएपछि धेरै ठाउँमा माओवादीका उम्मेदवारले चुनाव जिते । नत्र, माओवादीले चुनाव जित्ने सुनिश्चित निर्वाचन क्षेत्र नै थिएन भन्दा पनि हुन्छ ।
गठबन्धनबाट धेरै सिट जितेपछि हौसिएका प्रचण्डले एमालेसँग पार्टी एकता नै गरे । कतिले माओवादीलाई एमालेमा मिसाएको भनेर आलोचना गरे । सारमा त्यहीं भए पनि प्राविधिक रुपमा त्यस्तो थिएन । तर, एमालेसँगको एकता प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तास्वार्थबाट नै प्रेरित थियो । त्यहाँ कुनै विचार, सिद्दान्तको कुरा थिएन ।
एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।
यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।
माधव नेपालहरुलाई माओवादीमा ल्याउने उद्देश्य त पूरा भएन, भएन– माओवादीका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट जस्ता नेताले पनि उनको साथ छाडे । अहिले गाउँगाउँमा माओवादीका कार्यकर्ता एकपछि अर्को गर्दै एमालेतिर लागिरहेका छन् ।
यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।
परिवारिक रुपमा पनि उनको स्थिति गतिलो छैन । श्रीमती सीताको स्वास्थ्यस्थिति जटिल छ । अल्पायूमै छोराको मृत्यु भयो । न घर–परिवार स्वस्थ्य, न राजनीतिमा सहयोद्धाहरुको साथ ! उनमा दिक्कपना बढ्नु स्वभाविकै हो ।
अतिमहत्वाकांक्षा राखेर, त्यो पूरा नभएपछि मानिसमा निराशा जाग्ने कुरा चिकित्सकहरुले पनि बताउँदै आएका छन् ।
निरन्तर असफल भएको मानसिकताले मनस्थिति अस्थिर बनाउँछ, र चिडचिडाहट बढाउँछ भन्ने गरिन्छ । त्यसैले प्रचण्ड उत्तोजित र भावुक हुनुभन्दा संयमित हुन बढी आवश्यक छ ।












