Tag: आग्रह

  • कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

    कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

    संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड-१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेका छन् ।

    विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।

    बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी-७ का नेताहरुको शिखर सम्मेलन हुँदैछ ।

    वैज्ञानिक अनुसन्धान सम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी-७ का राष्ट्र एवं युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा आफूसँग उपलब्ध हुने २० प्रतिशत मात्र खोप उपलब्ध गराए १५ करोड ३० लाख डोज कोभाक्समा प्राप्त हुने उल्लेख छ ।

    महानिर्देशक फोरले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताए ।

    ‘कतिपय जी-७ का सदस्य मुलुकहरुसँग अन्यको तुलनामा बढी नै आपूर्ति हुँदैछ भने केहीले देशभित्र थप खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा पनि बढी भएको खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन सकिन्छ,’ उनले भने ।

    उनले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु न्यूनतम, अत्यावश्यक र आपतकालीन उपाय हो, र यो तत्कालै जरुरी भइसकेको छ भने ।

    भारतमा कोरोनाभाइरस महामारी तिब्र गतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ । भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो ।

    तर भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन जसका कारण न्युन एवं मध्यम आय भएका मुलुकहरुलाई कोभाक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ ।

    यतिमात्र होइन, आगामी जुन महिनामा थप पाँच करोड डोज पनि उपलब्ध हुने सम्भावना देखिन्न, महानिर्देशक फोरले भने ।

    कोरोनाभाइरस महामारीबाट उम्किने सबैभन्दा प्रभावशाली उपाय भनेकै खोपको विश्वभर समतामूलक वितरण र उपचार नै हो । कोभाक्सको प्रमुख साझेदार संस्थाका रुपमा युनिसेफ पनि यस अभियानमा सक्रियतापूर्वक लागेको छ, उनले भने ।

  • नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    लन्डन । नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै सहयोगका लागि बेलायतसँग आग्रह गरिएको छ ।

    लन्डन बरो अफ बार्टेनका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिस सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

    गुरुङले भारतमा बढिरहेको नयाँ भेरिएन्टले नेपाललाई पनि प्रभावित गर्ने र नेपालमा बिरामीले भरिएका अस्पताल र अक्सिजन अभावले मृत्यु भएको परिस्थितीबारे ध्यानाकर्षण पनि गराएका छन् ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढेपछि भारतलाई सहयोग पठाएको र कठिन अवस्थामा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गुरुङको पत्रमा उल्लेख गरिएको छ ।

    कोभिड संक्रमण तीव्ररुपमा फैलिएसँगै बेलायत सरकारले नेपाल र भारतलाई रेड लिस्टमा राखेको स्मरण गराउँदै उनले नेपालले कोरोना महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध र निषेधाज्ञा लगाएको पनि अवगत गराएका छन् ।

     

     

  • राजदूत भण्डारीद्वारा नेपाललाई सघाउन युरोपेली संघलाई आग्रह, ईयूले भन्यो- हामी नेपालसँगै छौं

    राजदूत भण्डारीद्वारा नेपाललाई सघाउन युरोपेली संघलाई आग्रह, ईयूले भन्यो- हामी नेपालसँगै छौं

    काठमाडौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले कोभिड-१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् ।

    आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गरेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले आग्रह गरेको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको दूतावासले जनाएको छ ।

    राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

  • सातामा दुई उडान मिलाइदिन सरकारलाई अमेरिकी आग्रह

    सातामा दुई उडान मिलाइदिन सरकारलाई अमेरिकी आग्रह

    काठमाडौं । अमेरिकाले सातामा दुईवटा अन्तर्राष्ट्रिय उडानको वातावरण बनाइदिन नेपाललाई आग्रह गरेको छ ।

    अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले विहिबार उपप्रधानमन्त्री एवं कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका संयोजक इश्वर पोखरेललाई सो आग्रह गरेका हुन् ।

    उपप्रधानमन्त्री पोखरेल र राजदूत बेरीबीच विहिबार टेलिफोन संवाद भएको थियो ।

    कोभिड-१९ संक्रमण फैलन नदिन सरकारले आगामी जेठ १३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने एयर बबल सुविधाअन्तर्गत भारतसँग सातामा दुईवटा उडान भैरहेका छन् ।

    कूटनीतिक, कार्गो र उद्दारका उडान भने निरन्तर नै छन् । स्वास्थ्य सामाग्री आपूर्ति गर्नुपर्ने लगायतको अवस्थाको कारण अमेरिकाले थप उडान चाहेको हो ।

    आउने सातादेखि अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री आपूर्ति गर्न सुरु गर्ने जानकारी दिइसकेको छ ।

  • भाइरस नियन्त्रणमा तत्काल कदम चाल्न नेपाललाई हुमन राइट्स वाचको आग्रह

    भाइरस नियन्त्रणमा तत्काल कदम चाल्न नेपाललाई हुमन राइट्स वाचको आग्रह

    न्यूयोर्क । नेपालमा भयावहरुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न अधिकारवादी अमेरिकास्थित अधिकारवादी संगठन हुमन राइट्स वाचले सरकारलाई आग्रह गरेको छ ।

    विज्ञप्ती जारी गर्दै संगठनले वैदेशिक सहायता लिएर भएपनि सरकारले अक्सिजन, भेन्टिलेटर र थेरापिक ड्रग्सजस्ता अत्यावश्यक स्वास्थ्य सामाग्रीको उपलब्धतामा जोड दिनुपर्ने आग्रह गरेको छ ।

    ‘नेपालको स्वास्थ्य संरचनाले थेग्नै नसक्ने गरी महामारी फैलिएको छ’ वाचकी दक्षिण एसिया निर्देशक मीनाक्षी गांगुलीले भनेकी छिन्, ‘ठूलो परिमाणमा अक्सिजन उपकरण र स्वास्थ्य सामाग्री महामारीलाई रोक्नको लागि उपलब्ध हुनु जरुरी छ ।’

    सरकारले महामारी व्यवस्थानमा ढिलासुस्ती गरिरहेको बताउँदै वाचले सरकारले तत्काल कदम चालिहाल्नुपर्ने परिस्थिती रहेको जनाएको छ ।