Tag: आईसीसी ट्वान्टी-२० विश्वकप

  • ट्वान्टी-२० विश्वकपः समूह चरणसम्म बल र ब्याटमा को–को चम्किए ?

    ट्वान्टी-२० विश्वकपः समूह चरणसम्म बल र ब्याटमा को–को चम्किए ?

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको आईसीसी ट्वान्टी–२० विश्वकप युएईमा जारीमा छ । सुपर–१२ का खेलहरुको समाप्तीसँगै आजदेखि सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछन् । इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् । आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड आमने सामने हुँदैछन् ।

    यो विश्वकप भारतमा हुनुपर्ने थियो । कोरोनाकै कारण मध्यपूर्वमा सारिएको हो । भारतमै भएको भए घरेलु मैदानमा भारतको प्रदर्शन पनि सेमिफाइनल नै नपुगी घर फर्किनुभन्दा फरक हुनसक्थ्यो ।

    साविक विजतो वेस्ट–इन्डिजले पनि अन्तिम चारमा स्थान बनाउन नसक्दा एकदिवसीय विश्व कपमा विजेता/उपविजेता नै अन्तिम चारमा छन् । यीसँगै पाकिस्तान र अस्ट्रेलियालेसमेत सेमिफाइनल यात्रा तय गर्दा अन्य १२ टोली घर फर्किएका छन् ।

    प्रतियोगिता अब नक आउटमा पुगिसक्दा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सूची यस्तो छ ।

    सर्वाधिक रन बनाउने खेलाडी

    १. बाबर आजम (पाकिस्तान)
    पाकिस्तानलाई सन् २००९ पछि पहिलो पटक फाइनलमा पु¥याउन कप्तान बाबर आजमले महत्त्वपूर्ण भूमिका निर्बाह गरेका छन् । कप्तानी भूमिकासँगै ओपनिङ ब्याट्सम्यानको रुपमा पनि पाकिस्तानका लागि बाबर प्रतियोगिता अगाडि बढ्दै जाँदा अझै महत्त्वपूर्ण भइरहेका छन् । जारी विश्व कपमा पाँच इनिङ ब्याटिङ गरेका आजमले एकै खेलमा सर्वाधिक ७० सहित २ सय ६४ रन बनाइसकेका छन् । यस क्रममा उनले चार अर्धशतक बनाउन २३ चौका र पाँच ६ छक्का प्रहार गरेका छन् ।

    २. जस बटलर (इङ्ल्यान्ड)
    महत्त्वपूर्ण अलराउन्डर बेन स्टोक्स बिना विश्वकप खेलिरहेको इङ्ल्यान्डले उनलाई खासै ‘मिस’ गर्नुपरेको छैन । त्यसको कारण ब्याटिङतर्फ बटलरको भूमिका पनि हो । इङ्ल्यान्डका लागि जारी विश्व कपमा बटलरले खेलेका पाँच खेलमा एक शतकसहित २ सय ४० रन बनाइसकेका छन् । जारी प्रतियोगितामा १ शतक र १ अर्धशतक बनाएका बटलरले १८ चौका र १३ छक्का प्रहार गरेका छन् ।

    ३. चरिथ असालन्का (श्रीलंका)
    श्रीलंकाले प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसके पनि असालन्काको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । समूह ‘१’मा परेको श्रीलंकाले पाँचमध्ये दुई खेलमा मात्रै जित निकाल्दा आसलन्काले ६ इनिङमा २ सय ३१ रन बनाएका छन् । उनले दुई अर्धशतक बनाउदै २३ चौका र ९ छक्कासमेत प्रहार गरेका छन् ।

    ४. डेभिड विसे (नामिबिया)
    विश्व क्रिकेटका पावर हाउसको बीचमा रुमलिएको नामिबियाका लागि विसेको प्रदर्शन महत्त्वपूर्ण रह्यो । प्रतियोगिताबाट बाहिरिसके पनि विसेले भने व्यक्तिगत प्रदर्शन राम्रो गरे । नामिबियाबाट खेलेका ८ इनिङमा २ सय २७ रन जोडेका विसेले १ अर्धशतकसहित १३ चौका र ११ छक्का प्रहार गरेका थिए ।

    ५. पाथुम निस्सान्का (श्रीलंका)
    श्रीलंकाली टोलीका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी पाथुम समग्र प्रतियोगिताका पाँचौं सफल ब्याटर हुन् । ८ इनिङ ब्याटिङ गरेका उनले तीन अर्धशतकसहित १९ चौका र पाँच छक्का प्रहार गरेका थिए । तीमध्ये एक इनिङमा पाथुम शून्यमा पेभेलियन फर्केका थिए ।

    सर्वाधिक विकेट टेकर

    १. वानिन्दु हसारङ्गा डी सिल्भा (श्रीलंका)
    तुलनात्मक रुपमा अन्य टोलीभन्दा धेरै खेल खेलेको श्रीलंकाली टोलीका बलर डी सिल्भाले ८ इनिङमा सर्वाधिक १६ विकेट लिएका छन् । ५.२० को इकोनोमीमा बलिङ गरेका डी सिल्भाले कूल ३० ओभर बलिङ गरेका थिए ।

    २. आडम जाम्पा (अस्ट्रेलिया)
    अस्ट्रेलियन टोलीका भरपर्दा स्पिनर जाम्पाको यो प्रतियोगिताका दोस्रो सर्वाधिक विकेट टेकर हुन् । पाँच इनिङमा ११ विकेट लिएका जाम्पाले यो संख्या अझै बढाउन सक्छन् । १९ ओभर बलिङ गरेका जाम्पाले ५.७३ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।

    ३. ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
    जारी टी–२० विश्व कपको सुपर–१२ मा पाकिस्तान, भारत र अफगानिस्तान जस्ता टोलीको माझबाट शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नु न्युजिल्यान्डका लागि कम चुनौती थिएन । तर, ब्याटिङ–बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डका लागि बलिङतर्फ बोल्टको प्रदर्शन महत्वपूर्ण रह्यो । पाँच इनिङमा १९.४ बलिङ गरेका बोल्टले हालसम्म ११ विकेट लिइसकेका छन् । उनको बलिङ इकोनोमी ५.८४ को छ ।

    ४. शकिब अल हसन (बंगलादेश)
    बंगलादेशका लागि प्रतियोगिता सुखद् रहेन । सुपर–१२ मा समूह ‘१’मा परेको बंगलादेश जितविहीन रहँदै घर फर्कियो । यद्यपि, शकिब अल हसनले भने प्रतियोगितामा चौथो सर्वाधिक विकेट लिएका छन् । कूल ६ इनिङमा २२ ओभर बलिङ गरेका हसनले ५.५९ को इकोनोमी राख्दै ११ विकेट लिएका छन् ।

    ५. ड्वेन प्रेटोरियुस
    चर्चित बलरहरुको बाहुल्य रहेको दक्षिण अफ्रिकी टोलीबाट सर्वाधिक विकेट टेकर बने ड्वेन । दक्षिण अफ्रिकी टोलीबाट पाँच इनिङ खेलेका ड्वेनले कूल १४.४ ओभर बलिङ गर्दै ६.८८ को इकोनोमीसहित ९ विकेट लिएका छन् । उनको टोली दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेकाले उनले यो संख्या बढाउने सम्भावना पनि समाप्त भइसकेको छ ।

  • ट्वान्टी-२० विश्वकपः सेमिफाइनलमा पुगेका चार टिम, को कति शक्तिशाली ?

    ट्वान्टी-२० विश्वकपः सेमिफाइनलमा पुगेका चार टिम, को कति शक्तिशाली ?

    काठमाडौं । युएईमा जारी ट्वान्टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो समूहबाट पाकिस्तान र न्यूजिल्यान्ड तथा दोस्रो समूहबाट  इंग्ल्यान्ड र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

    प्रतियोगिता सुरु हुनुअघि भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । यसका धेरै कारण थिए । कागजमा भारतको टिम सबैभन्दा सन्तुलित देखिन्थ्यो । हाल विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यानको रुपमा हेरिएका बिराट कोहलीको कप्तानीमा रहेको भारतको ब्याटिङ, बलिङ फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट मानिएको थियो । तर, प्रतियोगिताको सुरुवाती दुई खेलमा भारतको कमजोरी उदांगो भयो । बलरलाई सहयोग गर्ने बीचमा भारतको कुनै जोर चल्दैन भन्ने फेरि एकपटक प्रमाणित भएको छ ।

    सुरुवाती दुई म्याचको खराब प्रदर्शनले नै भारत प्रतियोगिताबाट बहिर्गमन निश्चित गरिदियो । पाकिस्तानले १० विकेटले भारतलाई हराउनु यो प्रतियोगिताकै एउटा आश्चर्यजनक नतिजा थियो । न्यूजिल्यान्डविरुद्ध भारतको ब्याटिङले घुँडा टेक्यो । पछिल्ला म्याचहरुमा अफगानिस्तान, नामिबिया र स्कटल्यान्डजस्ता कमजोर टिमहरुविरुद्ध देखाएको बहादुरी भारतलाई माथि उकाल्न सहयोगी भएन ।

    खैर, भारतीय टिमको चर्चा अब खासै औचित्यपूर्ण छैन । सेमिफाइनल पुगेका चार टिमकै बारेमा गरौं । सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया र न्यूजिल्यान्डले इंग्ल्यान्डसँग भिड्नेछन् । यी चार टिमहरु कति पानीमा छन् त ?

     इंग्ल्यान्ड: ब्याटिङ विष्फोटक, बलिङ सामान्य

    धेरैले यो विश्वकपमा इंग्ल्यान्डलाई सबैभन्दा बलियो टिमका रुपमा हेरेका छन् । समूह चरणको अन्तिम म्याचमा दक्षिण अफ्रिकासँग १० रनले हार व्यहोर्नुअघिसम्म इंग्ल्यान्ड हराउनै नसकिने टिम जस्तो प्रतीत भइरहेको थियो ।

    इंग्ल्यान्डको बलियो पक्ष हो ब्याटिङ । उसँग एकसे एक ‘हिटर’ हरुको जुलुस छ, जसमध्ये सबैभन्दा खतरनाक फर्ममा देखिएका छन् विकेटकिपर ब्याट्सम्यान जस बटलर । उनको ब्याट चल्न थालेपछि रोक्न कठिन हुन्छ । यस विश्वकपका एक मात्र सतकधारी बलर हालसम्म सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा छन् । अहिलेसम्म खेलेका पाँच खेलमा उनको औसत १२० छ, जसको छेउछाउ अरु ब्याट्सम्यान छैनन् ।

    इंग्ल्यान्डसँग इयाम मोर्गन, जेसन रोय, डेबिड मलन, जोनी बेयरस्टो जस्ता धुरन्धर ब्याट्सम्यानहरु छन्, जो विष्फोटक अन्दाजमा खेल्न सक्छन् । मोइन अलि टम कुराम, क्रिस वक्सजस्ता अलराउन्डरको उपस्थितिले टिमलाई थप बलियो बनाएको छ ।

    इंग्ल्यान्डको ब्याटिङजस्ता सशक्त बलिङ नभए पनि औसतभन्दा राम्रो छ । फास्ट बलिङमा क्रिस वक्स, क्रिस जोर्डन, मार्क उड लगायत छन् । इंग्ल्यान्डका फास्ट बलरहरु यस प्रतियोगितामा खासै चम्केका छैनन् । यूएइको पिचले फास्ट भन्दा स्पिन बलिङलाई सहयोग गर्छ । इंग्ल्यान्डसँग स्पिनरका रुपमा अदिल रसिद र मोइन अली छन् । उनीहरु दुवैको प्रदर्शन प्रभावशाली छ । रसिदले १३.३७ को औसत र ५.८३ को इकोनोमीमा बलिङ गर्दै ५ म्याचमा ८ विकेट लिएका छन् । यस्तै मोइन अलीले ११ को औसत र ५.५० को इकोनोमीमा बलिङ गर्दै ५ म्याचमा ७ विकेट लिएका छन् ।

    समूह चरणमा इंग्ल्यान्डले श्रीलंकालाई २६ रनले, वेस्ट इन्डिजलाई ६ विकेटले, अष्ट्रेलियालाई ८ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा साउथ अफ्रिकासँग १० रनले पराजित भएको थियो । ईंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध हासिल गरेको जित सबैभन्दा प्रभावशाली थियो । साउथ अफ्रिकाविरुद्धको खेलमा इंग्ल्यान्डको बलिङ फ्लप भयो । फास्ट बलरहरु विकेटविहीन रहे । सेमिफाइनलमा न्यूजिल्यान्डले इंग्ल्यान्डको यही कमजोरीलाई दोहन गर्नुपर्ने छ ।

    अष्ट्रेलिया: हट एन्ड कोल्ड

    परम्परागतरुपमा क्रिकेटको महाशक्ति अष्ट्रेलिया पछिल्लो कालखण्डमा भने त्यति धेरै मजबुत छैन । हाल आरोन फिन्चको नेतृत्वमा रहेको अष्ट्रेलिया रन रेटको सहयाेगमा साउथ अफ्रिकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

    अष्ट्रेलियाको टि-२० टिममा बलियो पक्ष भनेको फास्ट बलिङ हो । अष्ट्रेलियासँग मिचेल स्टार्क, जोस हेजलउड र मिचेल स्टार्कजस्ता विश्वस्तरीय फास्ट बलर छन् । तर, यूएइको पीचमा पेस र बाउन्स धेरै नभएकाले उनीहरु अपेक्षित सफल भइरहेका छैनन् ।

    अष्ट्रेलियासँग स्पिनरका रुपमा एडम जाम्पा र एस्टोन अगर छन् । हालसम्म जाम्पाको प्रदर्शन उत्कृष्ट छ । सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा रहेका जाम्पाले ९.९० को औसत र ५.७३ को इकोनोमीमा ११ विकेट लिइसकेका छन् । उनले बंगलादेशविरुद्धको एउटै म्याचमा ५ विकेट लिएका थिए । पाकिस्तानविरुद्ध सेमिफाइनलमा अष्ट्रेलियाका लागि उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

    अष्ट्रेलियाको ब्याटिङले भने खासै लय समात्न सकेको छैन । सर्वाधिक आशा गरिएका ग्लेन म्याक्सवेलको जादु यूएइमा फिक्का भएको छ । डेभिड वार्नरले रन त बनाइरहेका छन्, तर उनी पनि आफ्नो उच्च फर्ममा छैनन् ।

    समूहचरणमा अष्ट्रेलियाको प्रदर्शन ‘हट एन्ड कोल्ड’ रह्यो । बंगलादेशलाई ८ विकेटले, साउथ अफ्रिकालाई ५ विकेटले, वेस्ट इन्डिजलाई ८ विकेटले र श्रीलंकालाई पराजित गरेको अष्ट्रेलियाले ईंग्ल्यान्डसँग लज्जास्पद हार व्यहोरेको थियो । अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य ईंग्ल्यान्डले ११.४ ओभरमै २ विकेट गुमाएर भेट्टाएको थियो ।

    सेमिफाइनलमा अष्ट्रेलियाले ‘रेड हट’ पाकिस्तानसँग भिड्नुपर्ने छ । पाकिस्तानका स्पिनरहरुले अष्ट्रेलियाका ब्याट्सम्यानहरुको टाउको दुखाउन सक्छन् ।

    न्यूजिल्यान्डः आफ्नै लयमा

    विश्व क्रिकेटमा न्यूजिल्यान्डको आफ्नै छवि छ । न्यूजिल्यान्डको प्रदर्शन प्राय एकरफ्तारको हुने गर्छ । उसँग एकदमै कहलिएका ब्याट्सम्यान र बलरहरु त छैनन्, तर एउटा टिमका रुपमा न्यूजिल्यान्डले पटक-पटक आफ्नो उत्कृष्टता सावित गर्दै आएको छ ।

    न्यूजिल्यान्डका सबैभन्दा बलिया खम्बा हुन् कम्पान केन विलियम्सन । उनी टि-२० विशेषज्ञ ब्याट्सम्यान मानिँदैनन् । तर, उनको शान्त नेतृत्व र स्थिर ब्याटिङ न्यूजिल्यान्डका लागि निकै महत्वपूर्ण छ । यस प्रतियोगितामा पनि उनले आफूलाई यहीरुपमा प्रस्तुत गरेका छन् ।

    न्यूजिल्यान्डको फास्ट बलिङ राम्रो छ । ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म ११ विकेट लिएका छन् । टिम साउथीले उनलाई राम्रो साथ दिएका छन् । यसैगरि, स्पिनर इन्दरविर सिंह सोदीको प्रदर्शन पनि सन्तोषजनक छ ।

    समूह चरणमा पाँचमध्ये ४ वटामा सहज जित हासिल गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । समूह २ मा भारत र पाकिस्तानबाहेक अन्य टिमहरु तुलनात्मकरुपमा कमजोर भएकाले न्यूजिल्यान्डको यात्रा सहज भयो । भारतलाई ८ विकेटले हराउनु नै न्यूजिल्यान्डले सेमिफाइनलको टिकट काटेसरह थियो ।

    पाकिस्तानसँग भने पाँच विकेटको पराजय भोगेपछि भारतसँगको म्याच न्यूजिल्यान्डका लागि निर्णायक थियो । उक्त म्याचमा न्यूजिल्यान्डका बलरहरुले शानदार प्रदर्शन गर्दै बलियो ठानिएको भारतलाई ११ रनमा प्याक गरिदिए । दुई मात्र विकेट गुमाएर न्यूजिल्यान्डले लक्ष्य भेट्टायो ।

    न्यूजिल्याडको दोस्रो खड्गो भनेको अफगानिस्तान थियो । आइतबार भएको म्याचमा अफगानिस्तानले जितेको भए भारत सेमिफाइनलमा जान सम्भावना प्रबल थियो । तर, दवावको खेलमा अफगानिस्तानलाई न्यूजिल्यान्डले कुनै मौका दिएन ।

    सेमिफाइनल भने न्यूजिल्यान्डका लागि फलामको च्यूरा बन्न सक्छ । उक्त म्याचमा इंग्ल्यान्डका ब्याट्सम्यान र न्यूजिल्यान्डका बलरहरुको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

    पाकिस्तानः शानदार फर्मममा

    चालु विश्वकपमा सर्वाधिक चर्चाको विषय बनेको टिम हो पाकिस्तान । प्रतियोगिता अघि सबैले कम आँकिरहेको पाकिस्तानले भारतविरुद्धको पहिलो म्याचबाटै आफूलाई उपाधिको दावेदारका रुपमा पेश गर्यो ।

    अहिलेसम्म कुनै पनि विश्वकपमा भारतमाथि जित हासिल गर्न नसकेको इतिहास मेट्दै पाकिस्तानले शानदार सुरुवात गरेको थियो । उपाधिमै आँखा गाडेको भारतलाई १० विकेटको हार चखाएपछि पाकिस्तानको हौसला बुलन्द भयो र त्यसपछि उसले पछाडि फर्केर हेरेको छैन ।

    पाकिस्तानको टिम अहिले सबै खाले हातहतियारबाट सुसज्जित देखिएको छ । उसँग बाबर आजमजस्ता हाल एक नम्बर वरियतामा रहेका ब्याट्सम्यान छन् । सइन शाह अफ्रिदीजस्ता सनसनी फास्ट बलर छन् । सोयब मल्लिक र मोहम्मदजस्ता अनुभवी ब्याट्सम्यानको मध्यक्रम छ । असिफ अलीजस्ता विष्फोटक फिनिसर छन् ।

    पछिल्लो समय पाकिस्तानको सबैभन्दा बलियो पक्षका रुपमा देखिएको छ, ओपनिङ जोडी । बाबर आजम र मोहम्मद रिजवानले टि-२० क्रिकेटमा विश्वकै सबैभन्दा सफल जोडीको पहिचान बनाइसकेका छन् । यस विश्वकपमा पनि उनीहरु दुवैको प्रदर्शन शानदार छ । खासगरि बाबर आजमको जति प्रशंसा गर्दा पनि कम हुन्छ । टिमको नेतृत्व समेत गरिरहेका आजम यो प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले खेलेका पाँच म्याचमध्ये चार म्याचमा अर्धसतक बनाएका छन् । उनी न्यूजिल्यान्डविरुद्धको एउटा खेलमा मात्रै असफल भए ।

    पाकिस्तानको बलिङ पनि राम्रो फर्ममा छ । सइन शाह अफ्रिदीलाई ह्यारिस राउफले राम्रो साथ दिइरहेका छन् । दुई स्पिनरका रुपमा सदाब खान र इमाद वसिम छन् र उनीहरु दुवैको प्रदर्शन सन्तोषजनक छ ।

    यो विश्वकपमा अपराजित रहेको एक मात्र टिम हो पाकिस्तान । समूहचरणमा पाकिस्तानले भारतलाई १० विकेटले, न्यूजिल्यान्डलाई पाँच विकेटले, अफगानिस्तानलाई पाँच विकेटले, स्कटल्यान्डलाई ७२ रनले र नामिबियालाई ४५ रनले पराजित गरेको थियो । समूहचरणमा पाकिस्तानलाई अफगानिस्तानले मात्रै कडा टक्कर दिएको थियो ।

    सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध पाकिस्तानका ओपनर र स्पिन बलिङको महत्वपूर्ण भूमिका हुन सक्छ । यदि ओपनिङ जोडीले राम्रो प्लेटफर्म खडा गरिदिए भने पछिल्ला ओभरहरुमा रन वर्षा गर्न सक्ने क्षमता पाकिस्तानको ब्याटिङ लाइनअपमा छ । यस्तै पाकिस्तानका स्पिनरहरुले अष्ट्रेलियाका ब्याट्सम्यानहरुलाई धेरै दु:ख दिन सक्छन् ।

    दुवै टिमलाई दाँजेर हेर्दा अष्ट्रेलियाभन्दा पाकिस्तान बढी सन्तुलित देखिन्छ । पाकिस्तानको टिम यतिसम्म लयमा छ कि अहिलेसम्म ५ खेलमा उसले आफ्नो प्लेइङ ११ मा एउटा पनि परिवर्तन गरेको छैन । सम्भवतः सेमिफाइनलमा पनि यही सेट उतार्नेछ । अष्ट्रेलियालाई हराएर फाइनलमा पुग्दा मात्रै होइन, उपाधि नै जित्यो भने पनि अब त्यसलाई आश्चर्यका रुपमा हेरिने छैन ।

  • ट्वान्टी-२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्न कति सम्भव ?

    ट्वान्टी-२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्न कति सम्भव ?

    एजेन्सी । सुरुआती दुई खेलमा पराजित भएपछि आलोचित र हतोत्साही बनेको भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर १२ अन्तर्गत समूह २ को आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले हराएको छ ।

    यो जितले भारतलाई जितको लयमा फर्काउन सहयोग गर्नेछ भने सेमिफाइनल प्रवेशको सम्भावनालाई पनि जिवित राख्नेछ । तर त्यो सम्भावना निकै कम छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतले ओपनरहरु रोहित शर्मा (७४) र केएल राहुल (६९)ले अर्धशतकीय योगदान गरेपछि उत्कृष्ट सुरुआत गरेको थियो । अन्तिम ५ ओभरमा हार्दिक पण्ड्या र ऋषभ पन्तले विष्फोटक इनिङ खेल्दा भारतले २ सय को आंकडा पार गरेको हो ।

    हार्दिकले ३५ र ऋषभले २७ अविजित रन बनाएपछि भारतले २१०-२ को योगफल खडा गरेको थियो । दुवैले १३ बलको सामना गरेका थिए ।

    २११ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे । भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे ।

    भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ ।

    सुपर–१२ को समूह–२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ ।

    न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेल नै हारेको छ ।

  • नामिवियालाई हराएपछि पाकिस्तान ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा

    नामिवियालाई हराएपछि पाकिस्तान ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा

    एजेन्सी । नामिवियामाथि ४५ रनको जितपछि पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह २ बाट सेमिफाइनलमा स्थान बनाएको छ ।

    पाकिस्तानले लगातार चौथो जितपछि ८ अंक जोडेको छ । गएराति आबुधावीमा १९० रनको लक्ष्य पछ्याएको नामिवियालाई १४४ रनमै रोकेपछि पाकिस्तानले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि फेरि एकपल्ट ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले सानदार प्रदर्शन गरे । यसअघि भारतविरुद्ध पनि यी दुईले अर्धशतक प्रहार गरेका थिए ।

    रिजवानले ५० बलमा ८ चौका र ६ छक्कासहित ७९ तथा आजमले ४९ बलमा ७ चौकासहित ७० रनको योगदान गरे ।

    मोहम्मद अफिजले पनि १६ बलमा ३२ रन जोडेपछि पाकिस्तानले १८९–२ को विशाल योगफल खडा गरेको थियो ।

    जवाफमा नामिविया १४४–५ मा सीमित भयो । उसका लागि मध्यक्रमका डेभिड विइसेले ४३ रन तथा क्रिग विलियन्सले ४० रन बनाउनुबाहेक अन्यले लामो समयसम्म क्रिजमा विताउन सकेनन् । सुपर १२ को खेलमा नामिवियाले स्कटल्याण्डबाहेक अरुलाई हराउन सकेको छैन ।