Tag: आईजीपी नियुक्त

  • आईजीपी नियुक्ति विवादबारे गृह मन्त्रालयले भन्यो- ज्येष्ठताको आधार उमेर मात्रै होइन

    आईजीपी नियुक्ति विवादबारे गृह मन्त्रालयले भन्यो- ज्येष्ठताको आधार उमेर मात्रै होइन

    काठमाडौं । पालो मिचेर आईजीपी नियुक्त गरिएको बारे गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले उमेर मात्रै ज्येष्ठताको आधार नभएको बताएका छन् । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दर्ज्यानी चिह्न लगाउँदै गृह सचिव पाण्डेले भने– परिपक्वता र कमाण्ड गर्ने क्षमताका आधारमा आईजीपी बढुवा गरिएको हो, ज्येष्ठताको आधार उमेर मात्रै होइन ।

    आईजीपी नियुक्तिबारे अनावश्यक मिडियाबाजी गरेर विवाद निम्त्याउन खोजिएको पनि उनले बताए ।

    उनले नवनियुक्त आईजीपीबाट मुलुक रामराज्य बन्ने अपेक्षा पनि व्यक्त गरे । ‘तपाईंहरुबाट हामीले देशलाई रामराज्य बनाउने अपेक्षा गरेका छौं’, गृह सचिव पाण्डेले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला, मन्त्रालयको तर्फबाट शुभकामना छ ।’

    अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियर सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

    सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् ।

    नियम मिचेर आईजीपी नियुक्त गरिएको भन्दै पोखरेल थापाले अदालत जाने तयारी गरेका छन् ।