Tag: आइसोलेसन केन्द्र

  • स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

    स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।

    कोभिड- १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

    ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

    सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए ।

    उनले सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।

    उनले भने,‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुट्ै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ ।’

    उनले थपे,‘ हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने,संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट् बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को  आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।’

    उनले टोल टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए ।

    उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतिपुर्ण रहेको बताए ।

    उनले भने,‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौ । ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपुर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ । ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाहे हुन्छ ।’

    डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौति पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।

    डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरे ।

  • खरिपाटीमा आइसोलेसन केन्द्र बनाउन विद्युत प्राधिकरणको प्रस्ताव

    खरिपाटीमा आइसोलेसन केन्द्र बनाउन विद्युत प्राधिकरणको प्रस्ताव

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।

    सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।

    तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।

    शाक्यकाअनुसार, प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिंदै कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

    ‘तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिन्छ,गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, उनले थपे । ‘तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ ।’

    तालिम केन्द्रमा रहेको भवन नं १मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २मा २६ कोठा छन्,त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन् त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।

    अक्सिजन उद्योगलाई निरन्तर बिजुली

    नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।

    कार्यकारी निर्देशक शाक्यले वत्ति गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए।

    उनले भने, ‘विद्युत वितरण केन्द्रहरुलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौं, केन्द्रहरुले आफू मातहत रहेका अक्सिजनउद्योगहरुलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन् ।’