Tag: आइसोलेसन

  • कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

    कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

    भान्सामा खाना पस्किँदै थिएँ । ‘ऐया गाह्रो भयो,’ भन्दै एक्कासी दाइ रोइकराई गर्न थाल्नुभयो । भाउजू आँत्तिदै ‘के भयो’ भन्दै आँसु खसाल्न थाल्नुभयो । म पनि किचेनबाट अत्तालिँदै दाइ सामुन्ने गएँ । ‘दाइ के भयो ?’ भन्दै थम्थमाएँ । अनि, चिच्याउँदै, कहालिँदै माथिल्लो कोठामा गएर अंकल आन्टिसँग गुहार मागेँ, ‘अंकल, दाइलाई गाह्रो भयो रे ?’ यो सुन्नासाथ अंकल आन्टी आत्तिदैँ तल्लो कोठामा झर्नुभयो ।

    बेलुकादेखि दाइलाई १०३ डिग्री ज्वरो आएको रहेछ । ज्यान दुखेर फतक्कै गलेको रहेछ । राति सुत्न नसकेर छटपटाउनु भएको रहेछ । बिहान पो थाहा भयो ।

    हामीलाई शंका लाग्यो, ‘कतै दाइलाई कोरोनाले त आक्रमण गरेन ? सिम्टमस् पनि ठ्याक्कै मिल्यो ।’ त्यसपछि अंकलले झटपट दाइलाई आइसोलेसनमा राखिहाल्नुभयो । दाइ बसेको ठाउँमा किटाणु मार्न कोठाभरी जताततै अंकलले औषधि छर्नुभयो । घरमा सबैजनाले मास्क र फेस सिल्ड लगाएर बस्यौँ । कोरोनाको त्रास घरभित्रै फैलिन थाल्यो ।

    ०००

    केही साताअघि मात्र ठूलो बुवा कोरोना भाइरसको संक्रमित हुनुभएको थियो । बुवा आइसोलेट भएर बस्नुभएको १५ दिन बितिसकेको थियो । स-परिवार नै सर्तक थियौँ । अहिले उहाँ रिकभर स्टेजमा हुनुहुन्छ । अंकललाई थप टेन्सन भयो । ‘बुवाबाट कोरोना कन्ट्रोल गर्न खोजिरा फेरि भतिजलाई नि कोरोना भयो,’ भन्दै सबैजना आइसोलेट भएर बस्न भन्नुभयो । ९ जनाको परिवार । अरु त हट्टाकट्टा नै छन् । मूख्यतः हजुरबुवा आमालाई सुरक्षित राख्नुपर्ने भयो । उहाँहरुलाई पनि आफ्नो कोठाबाहेक केही दिन यताउता गर्न अंकलले रोक लगाउनुभयो ।

    एक दिनपछि घरमै स्वास्थ्यकर्मी बोलाएर दाइको कोरोना टेस्ट गरायौं । रिपोर्ट नआएसम्म छटपटि भयो । दिउँसो १ बजे गराएको कोरोना टेस्टको रिपोर्ट साँझ छ बजेतिर आयो । शंका यथार्थमा बदलियो । अन्तत: दाइलाई कोरोना ‘पोजेटिभ’ देखियो ।

    दिमागले काम गर्नै छोड्यो । रिँगटा लागेजस्तो भयो, मलाई । कोरोनाको आतंकले स-परिवारलाई नै घेर्‍यो । भयभीत भयौँ । कोरोनाको अनुभव गरिसक्नुभएको बुवाले भने सम्झाउनुभयो । ‘डराउनुपर्दैन, आत्तिनु हुँदैन, निको भइहाल्छ नि !’ उहाँले भन्नुभयो ।

    त्यो दिन अंकलले दाइलाई भिटामिन ट्याबलेट र ज्वरोको औषधी दिनुभयो । तैपनि अन्य बेलाजस्तो शान्त मन कहाँ हुन सक्छ र ? हाछ्छिऊँ आए पनि कोरोना पो हो कि ? घाँटी खसखस भए पनि कोरोना पो होकी ? जिऊ तातो भएनि कतै कोरोना भाइरसको सिम्टम त होइन यो ? अनेक तर्कनाले मन पिरोल्न थाल्यो ।

    घरको परिवारले नै सावधानी अपनायौँ । पानीको बाफ लिने, काडा पानी, अन्य झोलिलो खाने कुरामा जोड दिन थाल्यौं । एकअर्कासँग आइसोलेट जस्तै भएर बस्यौँ ।

    एक त घरमा कसैले पनि कोरोनाको खोप लगाएका छैनौं । कोरोनाको आतंक त मच्चिनेनै भयो । त्यसमाथि दाइको कोरोनाको लेभल अर्थात् सिटी भ्यालू १६/१७ को रहेछ । झन् सावधानी अपनाएर बस्नुपर्ने भयो ।

    दाइ माथि तलामा । भाउजू र म तल्लो तल्लामा । त्यो रात राम्रोसित निद्रा परेन । घरीघरी दाइलाई कतै गाह्रो त भएन । केही हुने त होइन ? भ्रमित स्वप्न आउन थाल्यो । त्यो रात दाइलाई ज्वरो घटबढ हुने भइरहेको थियो । बेलाबेलामा फोन गरेर हालखबर बुझिराखेकी थिएँ । मनले मानेन । एकपटक दाइलाई नहेरी चित्त बुझेन, मेरो ।

    ०००

    भोलिपल्ट बिहान चार बजे उठेँ । फेस सिल्ड र मास्क लगाएर दाइ बस्नुभएको कोठामा गएँ । ‘कस्तो छ दाइ अहिले तपाईँलाई ?’ भनेर सोधेँ । दाइ सुत्न नसकेर यताउती हिँड्दै छटपटाइरहनु भएको थियो । दाइले मलिन स्वरमा ‘ठिकै छ’ भन्नुभयो । दाइको अनुहारमा प्रस्ट देखिन्थ्यो, कोरोनाले दिएको कष्टकर शारीरिक अनि मानसिक पीडा । दुखाइले दाइको शरीर कमजोर बनाइसकेको थियो । उहाँको अवस्था देखेर यता मेरो मन झन् भावविह्वल भयो । उता भाउजू पनि चिन्तित हुनुहुन्थ्यो ।

    तर, अब परिस्थितिको सामाना गर्नैपर्छ । अरु विकल्प पनि त छैन । दाइलाई कोरोना पोजेटिभ भएपनि हरेस खाएनौँ । बुवालाई कोरोनाले त्यति असर गरेको थिएन । तर दाइलाई भने अलि बढी असर गरेको देखेर कुन बेला के आपत आइलाग्ने हो भन्ने डर, चिन्ताले सताइरहेको थियो । हामी एकैछिन अगाडि नभएको बेलामा दाइलाई कतै सास फेर्न गाह्रो त हुने होइन । यस्तै यस्तै सोचले डेरा जमाउन थाल्यो ।

    ‘फ्रि काउन्सिलिङ’को लागि एकजना दिदीले चिकित्सक ‘रिफर’ गर्नुभएको थियो । उहाँलाई फोन गरेँ । एकदम राम्रोसँग ‘काउन्सिलिङ’ गर्नुभयो । झोलिलो खाने कुरा खाने, हाई प्रोटिन भएको खाने कुरा खाने दिनमा मनतातो पानी नापेरै चार लिटर पिउने, दिनमा चारवटा अन्डा खाने पोजेटिभ कुरा हेर्ने, सुन्ने, कोठामै यताउती हिँड्ने, व्यायाम गर्ने जस्ता उपाय सुझाउनुभयो । ‘केही अप्ठेरो परेमा ‘भाइबर’मा मेसेज गर्दा पनि हुन्छ । आत्तिनुपर्दैन, निको हुन्छ भनेर उहाँले हौस्याउनुभयो ।

    डाक्टरसँगको कुराकानीपछि एककिसिमको ऊर्जा थपिए जस्तै भयो । खुशी लाग्यो । हलुका महसुस गरेँ । कोरोनाको कहरको लहरले छोइएला भन्ने पीरले घरभित्र बाँधिएका थियौँ । अब त घरभित्रै कोरोनासँग दैनिकी रुपमा सामना गरिरहेका छौँ, बुवा अनि दाइसँगै । रोग नलागुन्जेल कति डर थियो । तर प्रत्यक्ष सामना गरेपछि डर भाग्दो रहेछ ।

    ०००

    वरपर छिमेकतिर पनि प्रायलाई कोरोना भाइरसले छोइसकेको छ । कोठा-कोठामा बस्नेले पनि मास्क लगाएको देखिन्छ । कोठाभित्र बस्दा चौबिसै घण्टा कोरोना भाइरसको ख्याल आउँछ । त्यसमाथि घरभित्रै दुईजना संक्रमित थपिइसके ।

    साँझपख कौसीमा एकैछिन उफ्रेर, एक्सरसाइज गरेर मन टोलाउँछु । वरपरका मान्छे पनि प्रायः कौसीमा आएर व्यायाम गर्ने, उफ्रिने, नाच्ने, रमाइलो गर्ने गर्छन् । स्किपिङ खेल्नेको त कम्पिटिसन नै चल्छ । एकैछिन कौसीमा हो-हल्ला गर्दा पनि कोरोना भाइरसको त्यति वास्ता लाग्दैन । तर, जब कोठाभित्र पसिन्छ दाइ र बुवालाई देख्दा उही खिन्नताले पिरोल्न थाल्छ ।

    अचेल उठबस गर्ने दैनिकी नै बदिलिएको छ । बुवा र दाइलाई माथि तलामा खाना/खाजा पुर्‍याउन जानुपर्छ । खाना दिने बेलामा सुरक्षित रहन हरेक दिन फेस सिल्ड, मास्क लगाउँछु । ‘बुवा’ दाइ भनेर टाढैबाट आवाज दिन्छु । ‘खाना ल्याएको छु है थाल र कचौरा सार्दिनु ल’ मेरो हरेक दिन बोल्ने शब्दै नै यही भएको छ, हिजोआज । बुवा वल्लो कोठामा । दाइ पल्लो कोठामा । दुवैजनाले थाल र कचौरा सररर सारेर राख्दिनुहुन्छ । उहाँहरुले प्रयोग गर्नुभएको थाल, कचौरालाई नछोइ खानेकुरा राखिदिन्छु । कहिले त खाने कुरा नै फुत्त फालेजस्तो गर्नुपर्ने हुन्छ । अचम्म लाग्छ ! हैट कस्तो रोग हो यो ? आफ्नै बुवा, दाइलाई पक्षपात गरेजस्तो ‘फिल’ हुन्छ ।उहाँहरुलाई खाना/खाजा दिँदैपिच्छे सायद दिनमा सयपटकभन्दा बढी साबुनपानीले हात पखालिन्छ होला ।

    ०००

    दाइ कोरोना भाइरससँग लड्दै हुनुहुन्छ । एक साता बितिसक्यो । ‘डेन्जर जोन’बाट मुक्त हुनुहुन्छ । चार/पाँच दिन ज्वरो उतारचढाव हुँदा निकै त्रसित थिएँ । बेलाबेलामा अत्याउँदो रहेछ, यो रोगले । कहिले एकदम कमजोर बनाउने, कहिले रुघा लागेर ग्रस्त बनाउने । तर, अहिले स्वास्थ्यमा बिस्तारै सुधार हुँदै छ । बुवा अनि दाइ दुवै एउटै कोठाको चक्कर लगाउँदै बस्नुहुन्छ । उहाँहरुलाई त्यसरी कोठाभित्रै थुनिएर बसेको देख्दा मन खिन्न हुन्छ । दाइ बेलाबेलामा पीडा पोख्दै भन्नुहुन्छ ,‘कस्तो जेल जस्तो लाग्न थालिसक्यो, दिक्क लाग्छ ।’ उहाँ थप्नुहुन्छ,’ यस्तो रोग त शत्रुलाई पनि नलागोस् ।’

    त्यसैले बिहान/बेलुकी खाना खाले बेलामा भर्चुअलबाटै दाइसँग जोडिन्छौँ, भाउजू र म । भिडियो कल गर्दै सँगै खाना खान्छौँ । गीत गाउने, हँसाउने, खुशी बनाउने कुरा गरेर उहाँको एक्लोपनलाई साथ दिइरहेका छौँ । बुवालाई सुधार भएजस्तै घरमै दाइले पनि कोरोनालाई जित्नुहुन्छ भन्ने विश्वास लिएकी छु ।

    संसारलाई नै त्रसित बनाएको छ, कोराना भाइरसले । छिमेकी मुलुक भारतमा यसको कहर डरलाग्दो छ । अहिले नेपालमा पनि अवस्था अझै असामान्यै छ । आखिर कोरोनाको भय कहिले सम्मका लागि ? जब कोरोना भाइरसको प्रत्यक्ष सामना गरिन्छ, यसले दिएको मानसिक तथा शारीरिक पीडा भयभीत छ । त्यसैले कोरोना लागिहाले पनि हेलचेक्र्याँइ नगरौँ, नआँत्तिऔँ । आत्मबल उच्च बनाए यो रोगसँग हामीले लड्न सक्छौँ । कोरोना भाइरस सक्रिय त छ नै । भाइरसभन्दा बढी सक्रिय, सजक र सतर्क हामी हुन आवश्यक छ ।

  • अग्रवाल भवनमा बन्यो १२६ वेडको आइसोलेसन

    अग्रवाल भवनमा बन्यो १२६ वेडको आइसोलेसन

    काठमाडौं । काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिनेगरी क्वारेन्टीन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

    अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् ।

    आइसोलेसन उद्घाटन गर्दै राजदुत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तिव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए । उनले कोभिड १९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

    उनले भने,‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ । ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।’

    आइसोलेसन सेन्टर उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइशोलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगाएतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए । आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरि व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाईएको छ ।

  • गोर्खा अस्पतालमा आइसोलेसन संचालन गर्न महासंघ र काठमाडौं महानगरबीच सहमति

    गोर्खा अस्पतालमा आइसोलेसन संचालन गर्न महासंघ र काठमाडौं महानगरबीच सहमति

    काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका -१७ बीच सहमति भएको छ ।

    कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले हस्ताक्षर गरेका छन्।

    उक्त आइसोलेसन केन्द्र आइतवारबाट संचालनमा आउने छ भने सुरुमा ५० बेड रहने तथा आवश्यकताका आधारमा विस्तार गर्दै गरी १ सय वेडसम्म पुर्याउने महासंघले जनाएको छ ।

    उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने महासंघले जनाएको छ ।

    महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपतकालिन वा आकस्मिक उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ ।

    महासंघले कोभिड–१९ को नयाँ भेरियण्टबाट संक्रमित बिरामीको स्वस्थ्य सुरक्षालाई प्राथमिकतामा राखी विभिन्न सहयोगका कार्यक्रम संचालन गरिरहेको छ ।

    उक्त अभियान अन्तरर्गत भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र महानगर २९ को सहयोग एवं सहकार्यमा महासंघले आजैबाट काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ ।

    यसैगरी कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर सेवा समेत शुरु गरेको महासंघले बुधबार कोभिड १९ सहायता केन्द्र स्थापना गरी कोभिड १९ का बिरामीलाई सहयोग गरिरहेको महासंघले जनाएको छ ।

  • आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्

    आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्

    काठमाडौं । होटललाई आइसोलेसन बनाएर कोरोना संक्रमित राखिरहेको ‘एल्लो प्यागोडा’ ले अब कोभिड बिरामीलाई नराख्ने बताएको छ । होटलका म्यानेजर कृपेश महर्जनका अनुसार आधारभूत मापदण्ड लागू गर्न नसकेकोले होटलबाट आइसोलेसन हटाउन लागिएको हो ।

    मेडिकल टिमसहित सो होटलले केही समयअघि आइसोलेसन बनाएको थियो । तर, अहिले कोभिड पोजेटिभ देखिएका बिरामीलाई तत्काल अक्सिजन चाहिन सक्ने कुरालाई मध्यनजर गर्दै होटलले आइसोलेसन बन्द गरेको हो । महर्जनका अनुसार अहिले एल्लो प्यागोडामा १९ जना आइसोलेसनमा थिए । तीमध्ये ७ जनालाई विभिन्न अस्पताल पठाइएको हो । बाँकीलाई पनि अस्पताल पठाउने तयारी भइरहेको छ ।

    संक्रमितको व्यवस्थापन गर्दै आएपनि सरकारले कुनै सहयोग नगरेको होटलको गुनासो छ । होटेलले सिंगल बेडमा बस्नेलाई खानासहित ७ हजार र डबल बेडमा दैनिक पाँच हजार लिँदै आएको थियो ।

    ‘हामीले आइसोलेसनमा बस्नेसँग लिएको पैसा निकै कम हो । जसमा खाना बस्नका साथै मेडिकल टिम पनि स्ट्याण्डबाई थियो । तर, होटलले मात्र यो सबै कुरा गर्न सम्भव भएन,’ महर्जनले भने ।

    आइसोलेसनमा कोभिड विरामी नराखे पनि होटलमा ‘क्वारेन्टाइन’ यथावत राखेको उनले जानकारी दिए । यहाँ गत वर्ष पनि वीर अस्पताल र ट्रमा सेन्टरका डाक्टर र नर्स बस्न न्यूनतम शुल्कमा चार महिना ‘क्वारेन्टाइन’ राखिएको थियो ।

    केही सयमअघि स्वास्थ्य मन्त्रालयबाट आइसोलेसनका लागि आधिकारिक मान्यता प्राप्त गरेको ठमेलको टिम्बर हाउस होटलले आइसोलेशनमा मानिस राख्न नपाउँदै हात झिक्ने संकेत गरेको छ । असहज परिस्थितिका कारण आइसोलेसन हटाउने बारेमा सोचिरहेको एक संचालकले बताए ।

    रवी भवनस्थित होटल क्राउन इम्पेरियलले पनि कोरोनाको पहिलो लहरमा नै होटललाई आइसोलेसन बनाएको थियो । तर, आइसोलेसनमा आफूले सोचे अनुरुपको रुम अकुपाई नभएपछि दोस्रो लहर आएसँगै आइसोलेसन हटाइएको होटलकी फ्रन्ट डेस्क कर्मचारी नेहा भगतले जानकारी दिइन ।

    क्वारेन्टाइन यथावत

    केही होटलले अहिले पनि ‘क्वारेन्टाइन’ लाई यथावत नै राखेका छन् । काठमाडौंस्थित हिमालयन स्वीट होटलले अझै पनि भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’ मै राखेको छ । अहिले त्यहाँ ३५ भारतीय छन् । होटलका अनुसार नेपालमा निषेधाज्ञा शुरू हुनुअघि भारतबाट साउदी अरब जानका लागि धेरै नै भारतीय नागरिक होटल आएका थिए । तर, तीमध्ये केही अन्य मुलुक गएका छन् भने केही अरब जाने फ्लाइट क्यान्सिल भएसँगै होटलमा नै छन् ।

    ठमेल होटलमा पनि केही ग्राहक ‘क्वारेन्टाइन’ मा बसेका छन् । साँग्रिलाले पनि क्वारेन्टाइन यथावत राखेको छ ।

  • लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेसन, ३८ पत्रकार संक्रमित

    लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेसन, ३८ पत्रकार संक्रमित

    रूपन्देही । कोरोना भाइरसको दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजनसहितको आइसोलेसन निमार्ण गरेका छन् ।

    उनीहरुले स्थानीय तह, जिल्लास्थित संघसंस्था र सहयोगीहरुमार्फत यस्ता आइसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तीव्र रुपमा वढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि यस्ता संरचना निमार्ण गरेको बताइएको छ।

    नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेसन निमार्ण गरिएको बताए ।

    अर्घाखाँची शाखामा भने अन्य सघ संस्थाको सहकार्यमा संयुकरु्तमा आइसोलेसन निर्माण गरिएको हो । दाङ शाखाले निमार्ण गरेको आइसोलेसन ६ वेडको रहेको भने अन्य जिल्ला शाखाले निमार्ण गरेका आईसोलेसनहरु ५ वेडका रहेका छन् ।

    जिल्ला जिल्लामा संक्रमितहरुको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचनाहरु निमार्ण भएको महासघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए । ती आईसोलेसन पत्रकार महासघ जिल्ला शाखाको संयोजनमा बनेको भएपनि अन्य सर्बसाधारणहरुलाई उपयोग गर्न सकिने छ ।

    यस्ता संरचना निमार्ण गर्दा अक्सिजन र स्वास्थ्यकमीहरुको भने अभाव रहेकोले सहयोग समन्वयका लागि नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपील गरेको छ ।

    पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिलेसम्म ३८ जना पत्रकारहरु परेका छन् ।

    उनीहरुमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना रहेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् भने वांकी पत्रकारहरुले होम आईसोलेसनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

    यस्तै बाँकेमा १२ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये केहीले अक्सिजनको सहायतामा उपचार गरिरहेका छन् । त्यस्तै दाङ जिल्लामा ४ जना पत्रकारहरु संक्रमित भएका छन् । त्यसमा एक जनाको गंभिर अवस्थामा भैरहवामा उपचार भैरहेको छ । त्यस्तै वर्दियामा ४ जना, पाल्पामा २ जना, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना संक्रमित रहेका छन् ।

  • संक्रमितको घरघरमै स्वास्थ्य सामग्री

    संक्रमितको घरघरमै स्वास्थ्य सामग्री

    रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ ।

    यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण शुरु गरिएको हो । वैशाख १७ गतेदेखि कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

    बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीका अनुसार गाउँपालिकाले कोरोना सङ्क्रमितलाई शक्तिवद्र्धक औषधि, भिटामिन बी, भिटामिन सी, जिङ्क चक्की, च्यवनप्रास, सिटामोल, आवश्यकतानुसार एन्टिबायोटिक औषधि वितरण गरेको छ ।

    त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, मास्क र स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ । गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका अनुसार कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्योपचारका लागि गाउँपालिकाले घरमै सेवा दिन थालेको छ ।

    घरमै बसेकाहरुले ज्वरोदेखि, अक्सिजनसमेत घरमै मापन गर्न सकुन र  शक्तिवद्र्धक औषधि खाएर निको गराउने उद्देश्यले घरमै सेवा दिएको अधिकारीको भनाइ छ ।

    यो अभियान निरन्तर राख्नेसमेत उनको भनाइ छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना संक्रमितको उपचार सहज र सर्वसुलभ बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो ।

    बुधबारसम्म बगनासकालीमा ३८ संक्रमित रहेको र नौ संक्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार पालिकाले सङ्क्रमितको अवस्थाअनुसार आवश्यक उपचारको प्रबन्ध मिलाइएको बताए ।

     

  • गुल्मीमा १ सय ४० बेडको आइसोलेसन

    गुल्मीमा १ सय ४० बेडको आइसोलेसन

    रुपन्देही । गुल्मीका विभिन्न स्थानमा हालसम्म १ सय ४० बेडको आइसोलेसन तयार गरिएको छ । उक्त आइसोलेसनहरु संचालन समेत गरिएको प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा ५ बेडको आइसोलेसन तयार गरिएको छ । तस्तै रेसुङ्गा नगरपालिकाले २० बेड, मुसिकोट नगरपालिकाले १५ बेड, मालिका गाउँपालिकाले ५ बेडको आइसोलेसन तयार गरेको छ ।

    मदाने गाउँपालिकाले १० बेड, धुर्कोट गाउँपालिकाले ५ बेड, कालीगण्डकी गाउँपालिकाले १० बेड, चन्द्रकोट गाउँपालिकाले १९ बेड, सत्यवती गाउँपालिकाले ११ बेड, रुरु क्षेत्र गाउँपालिकाले ९ बेड, छत्रकोट गाउँपालिकाले ६ बेड, इस्मा गाउँपालिकाले २० बेड, र गुल्मीदरबारले ५ बेड आइसोलेशन बेड तयार गरेको छ ।

    अहिले जिल्लामा रहेका दुई नगरपालिका र दश गाउँपालिकाले पनि दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै सक्रियता देखाएका छन् । स्थानीय तहले तयार पारेका आइसोलेसनमा अक्सिजन पनि खरिद गरिएको छ ।

    यता नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।
    पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता व्यक्त गरे ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताएका थिए ।

    ‘हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने,’ उनले भने । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उनले अनुरोध गरेका छन् ।

  • घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन

    घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन

    भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा नेपाल इन्जिनियरिङ क्याम्पसको प्रांगणमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा चाप बढेपछि संक्रमितलाई राख्ने व्यवस्थाको लागि दुवाकोटमा आइसोलेसन बनाइएको हो । स्थानीयवासी, वडा कार्यालय, प्रहरी/प्रशासनको सहयोगमा बनाइएको आइसोलेसनमा पुरुषका लागि ४७ र महिलालाई ७ गरी ५४ बेड तयार गरिएको छ ।

    होम आइसोलसनमा बस्न नसक्ने संक्रमितहरूले यहाँ बस्नुपरेमा र थप जानकारी चाहिए इन्जिनियरिङ क्याम्पसका प्रशासन प्रमुख मनोहर खनाल (९८५१०७४९५५) मा सम्पर्क गर्न भनिएको छ ।

             
  • कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले कोरोना संक्रमित पत्रकारका लागि ६ बेडको आइसोलेसन स्थापना गरेको छ ।

    संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालमा बेडको अभाव भएपछि महासंघले अक्सिजन सहितका ६ वटा बेड आफ्नै भवनमा राखेको छ ।

    कोरोना संक्रमित पत्रकारलाई उपचार गर्न बेड तयार गरिएको अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् । दाङमा हाल दस जना पत्रकारलाई कोरोना संक्रमन भएको छ । उनीहरू सबै होम आइसाेलेसनमा छन् ।

    पत्रकार महासंघले बेड सहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ । अध्यक्ष केसीका अनुसार घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउने सहमति भएको छ ।

  • च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

    च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

    ललितपुर । ललितपुरको च्यासल युथ क्ल्बले अक्सिजनको व्यवस्था सहित ५ बेडको आइसोलेन बनाएको छ । बढ्दो कोरोना महामारीका कारण अस्पतालमा बेड अभाव भईरहेको बेला च्यासलका स्थानीयले आइसोलेसन बनाएका हुन् । कोभिड संक्रमण भई अस्पतालमा बेड नपाएका, घरमा बस्न समस्या भएका वा अक्सिजन चाहिएका च्यासलका स्थानीयका लागी यो आइसोलेसन बनाइएको हो ।

    हेर्नुहोस् भिडियो रिपाेर्ट

  • पाँचखालमा १५ शैयाको आइसोलेसन

    पाँचखालमा १५ शैयाको आइसोलेसन

    काठमाडौं । काभ्रेमा दोश्रो लहरको कोरोना संक्रमण देखिन थालेको दुई साता वितेको छ । दैनिक २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएपनि धेरै जसो स्थानीय तहले आइसोलेसन सञ्चालनमा चासो दिएका छैनन् ।

    पहिलो चरणको संक्रमणमा पनि पहिला आईसोलेसन बनाएर नमुना बनेको पाँचखाल नगरपालिकाले भने यो पटक पनि जिल्लाका स्थानीय तहहरु मध्ये पहिलो बन्दै १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाले स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मी सहित १५ शैयाको आइसोलेन सञ्चालनमा ल्याएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

    यस अघि नगरप्रमुख खरेलले कोरोना भाइरसबाट जोगिन नगरबासीलाई १२ बुँदे अपील गरेका थिए । नगरपालिकाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने भनिएको छ । नगरपालिकाले एक पटकमा पच्चीस जना भन्दा बढी हुने कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिना, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता कार्यक्रम नगर्न भनिएको छ । त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोर जस्ता भिडभाड हुने ठाउँमा दुई मिटरको दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने र पटक पटक हात धुन अपील गरिएको छ ।

    विवाह, ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिन आग्रह गरिएको छ । नगरपालिकाले भिड भएको गाडी नचढ्न पनि भनेको छ । नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न पनि भनिएको छ ।

    त्यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले केहि दिन भित्र आईसोलेसन सञ्चालनको तयारी रहेको बताए । उनले जनशक्ती र उपकरण तयारी अवस्थामा भएकोले निश्चित स्थान तोकेर आइसोलेसन सञ्चालनमा ल्याउने बताए ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले केन्द्रको निर्देशनबमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन सेन्टर सञ्चालन ल्याउन निर्देशन दिएको बताए ।

    आईतबार भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा रहेका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई आईसोलेसन बनाउन लगाईकन सेवा शुरु गरिसकेको जानकारी दिए ।

  • सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन डिसिसिएमसीको निर्देशन

    सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन डिसिसिएमसीको निर्देशन

    चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ ।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

    गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई होमआइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका सङ्क्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ ।

    यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी सङ्क्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ ।

    यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ ।

    जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ । बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

    अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

    कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ९डिसिसिएमसी० ले आग्रह गरेको छ । डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

    जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लमिछानेले जानकारी दिए । यस्तै भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ ।

    कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको छ । तीमध्ये ४२१ होमआइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन् ।

  • ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    काठमाडौं । कोभिड-१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले नेपाल प्रेसलाई  बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।

    बुढाले भने, ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।’

    विद्यालय सञ्चालन भइरहेको समयमा क्वारेन्टाइनको व्यवस्थापनको जिज्ञासामा उनले भने, ‘विद्यालयको विषयमा हामीले केही भनेका छैनौं । विद्यालयबाहिरका क्वारेन्टाइन र आइसोलेसनका बारेमा भनेका हौं । विद्यालयको विषयमा त शिक्षा मन्त्रालयसँग समन्वय गरेपछिमात्र निर्णय गर्छौं ।’