Tag: अस्ट्राजेनेका

  • अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    काठमाडौं । अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे. पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएको देख्दा आफू दु:खी भएको बताएका छन् ।

    नेपाली टाइम्समा आलेख लेख्दै प्रोफेसर पोलार्डले गुनासो गरेका हुन् । उनी अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक हुन् । सन् २०२० को अप्रिल २३ बाट शुरू भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको नेतृत्व उनैले गरेका थिए । पोलार्डले बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा २४ हजार स्वयंसेवकसमेत परिचालन गरेका थिए ।

    ‘यो वर्ष म पर्वतारोहीको रूपमा नेपाल गएको ३० वर्ष पुग्छ’, उनी लेख्छन्, ‘मैले जब अस्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज काठमाडौमा लाएको देख्दा मलाई अत्यन्तै गौरव लागेको थियो । तर, थप आपूर्ति नभएको सुन्दा म दु:खित भएको छु ।’

    पाटन अस्पतालको रिसर्चरहरूसँग १६ वर्षनजिक रहेर काम गरेको उनले बताएका छन् ।

    अस्ट्राजेनेकाले हाल १६० देशमा ४५ करोड डोज खोप बनाएको बताएका प्रोफेसर पोलार्डले लेखेका छन्, ‘भारतको सेरम इन्ष्टिच्युट बनाएको कोभिसिल्ड पनि अक्सफोर्ड एक भर्सन हो जुन नेपाल लाउनुपर्ने थियो । तर, भारतमा अत्यावश्यक भएकोले विलम्ब भएको छ ।’

  • भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    काठमाडौं । भारतले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको आपूर्तिमा अस्थायी रोक लगाएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार विहिबारदेखि उसले खोप वितरण रोकेको हो ।

    भारतीय विदेश मन्त्रालय स्रोतलाई उध्दृत गर्दै बीबीसीले समाचार लेखेको छ । भारतभित्रै कोभिड–१९को संक्रमण बढिरहेको र घरेलु माग बढेकाले भारतले अस्थायीरुपमा आपूर्ति रोकेको जनाइएको छ ।

    भारतको यो निर्णयपछि कोभ्यास योजनाअन्तर्गत रहेका १९० देशलाई असर पर्ने ठानिएको छ । जसमा नेपाल समेत छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले दुई साताअघि नेपाललाई पनि पत्राचार गर्दै तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको थियो ।

    भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र यसमा अस्ट्राजेनेका खोपको हिस्सा बढी छ । भारतभित्रै तीव्र रुपमा संक्रमण बढिरहेको बेला उसले यस्तो निर्णय गरेको हो ।

    भारतले अप्रिल १ देखि ४५ वर्ष माथिकालाई पनि खोप अभियान सुरुवात गर्न लागेकाले पनि आपूर्ति रोकेको जनाइएको छ । ‘निर्यात रोक्ने यो अस्थायी उपाय हो । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ’ विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भनेका छन् ।

    रोयटर्सका अनुसार भारतको अवस्था स्थिर नहुँदासम्म खोप बाहिरी मुलुकमा निर्यात नहुने भएको छ ।

    चिनियाँ खोप सोमबार आउने
    चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ । सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदैछ । गत आइतबार चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएपछि खोप आउने टुंगो लागेको हो ।