Tag: अस्ट्राजेनिका खोप

  • थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

    थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

    बैंकक । कोरोनाभाइरस (कोभिड-१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।
    खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरुले बताएका छन् ।

    देशका विभिन्न अस्पताल र खोप केन्द्रहरुले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।
    थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो । सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।

    थाई प्रधानमन्त्री प्रयुथ चान-ओचाले सोमबार संवाददाताहरुसँग कुरा गर्दै योजना बमोजिम नै खोप आपूर्ति हुने बताए । उनले राजधानी बैंककस्थित एउटा रङ्गशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।

    प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् । सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्व अनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

    प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताए । हरेक क्षेत्रमा कोभिड–१९ को संक्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

    थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ ।

    सोमबारसम्ममा थाइल्यान्डमा ४२ लाख २० हजार डोज खोप दिइएको छ । थाइल्यान्डको कूल जनसंख्या सात करोडमध्ये खोप पाएको जनसंख्या करिब ४ प्रतिशत हो ।

    थाइल्यान्डमा हालसम्म चीनमा निर्मित सिनोभ्याक खोप प्रयोग गरिएको छ । अब अस्ट्राजेनिका पनि प्रयोगमा आउने छ भने थाई सरकारले फाइजर र जोन्सनका खोप पनि भित्र्याउने योजना अघि सारेको छ ।

    चीनले हालसम्म थाइल्यान्डलाई ६५ लाख डोज सिनोभ्याक खोप उपलब्ध गराएको छ । शनिबार पनि पाँच लाख डोज सिनोभ्याक खोप थाइल्यान्ड आइपुगेको छ ।

  • अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

    अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

    विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।

    यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।

    यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।

    रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।

    उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः शुरु गर्ने बताएका छन् ।

    यता पछिल्लो समयमा भाइरसको संक्रमण बृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ ।

    युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम ग्याब्रियसले सो शुक्रबार सो आग्रह गरेका हुन । उनले शनिबार विश्वका देशहरुका नाममा जारी गरेको अपिलमा सो खोपका विरुद्ध गलत प्रचार नगर्न पनि भनेका छन् ।

    यो खोपले अप्ठेरोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

    पछिल्लो समयमा युरोपका देशहरुमा कोरोना भाइरसको संक्रमण थप बढेको अवस्थामा खोप बाहेकको अर्को विकल्प पनि केही नदेखिएकोले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको सुझाव छ ।

  • अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

    अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

    काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसविरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।

    कोरोनाभाइरस विरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य संगठनले स्पष्ट पार्नु परेको हो ।

    डब्लुएचओको खोप सुझाव समितिले हालै पनि अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको थियो ।

    डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतमा देशमा अहिले अस्ट्राजेनिका खोप लगाउने अभियान स्थगित गरिएको छ । “अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोप भन्दा यो गुणस्तरीय छ”, डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भने ।

    जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको जानकारी दिए । आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उहाँले पत्रकारलाई स्पष्ट पारे ।

    उनले खोपका बारेमा आफूहरुले अध्ययनलाई जारी गरेको तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिए । अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

    स्वास्थ्यसम्बन्धी नियामक निकायले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन् तर सावधानीका लागि खोप अभियानमा ढिलाइ गरिएको युरोपेली मुलुकको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।

    अमेरिकामा अहिले खोप अभियान तीव्र रुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एक मात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    थाईल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले आफूले खोप लगाउने कार्य एकाएक रोकेका छन् । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

    खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवं खोपको प्रभावकारितामाथि आशंका फैलिएसँगै लन्डन स्टक एक्सचेन्जमा अस्ट्राजेनिकाको शेयरमूल्य २.५ प्रतिशतभन्दा बढीले घटेको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही मुलुकले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही मुलुकले खोपको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।