Tag: अर्थमन्त्री

  • बजेटको अर्धवार्षिक समीक्षा : आकार घटाइयो, कोभिडविरुद्ध खोप र निर्वाचन प्राथमिकता

    बजेटको अर्धवार्षिक समीक्षा : आकार घटाइयो, कोभिडविरुद्ध खोप र निर्वाचन प्राथमिकता

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता निर्वाचन र कोभिडविरुद्धको खोपमा रहेको समेत बताए ।

    ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने मन्त्री पौडेलले बताएका छन् ।

    संशोधित अनुमानअनुसार चालु खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

    सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेटको आकार समीक्षामा घटाएको छ । शुरुमा  महत्त्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको हो । अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले दुईवटा बजेटको आकार घटाएका थिए।

     

  • निर्माण व्यवसायीको माग सम्बोधन गर्न अर्थमन्त्रीले छलफल गर्ने

    निर्माण व्यवसायीको माग सम्बोधन गर्न अर्थमन्त्रीले छलफल गर्ने

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने भएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाएका छन् ।

    तर, केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनले बताए । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएका छन् ।

    महासङ्घ अध्यक्ष रवि सिंहको नेतृत्वमाा प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपाय समेत पेश गरेका छन् ।

    कोरोनाको असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रही बन्द प्रायः रहेको निर्माण कार्यलाई पुनःसञ्चालन गरी आर्थिक कारोवारलाई चलायमान बनाउन निर्माण व्यवसायीका सम्पन्न भएका र चालू अवस्थामा रहेका ठेक्काको बिलबाट कट्टी भई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत धरौटीबापतको रकम निर्माण उद्योगलाई जीवन्तता दिन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीका आधारमा फिर्ता पाउने व्यवस्था गरिनु आवश्यक भएको महासङ्घले जनाएको छ ।

    धरौटीबापतको रकम बजारमा आएको खण्डमा निर्माण व्यवसायले जीवन्तता प्राप्त गर्न सक्ने, हाल निर्माण व्यवसायीलाई ६५ अर्ब रुपैयाँ नपुग भई बन्द प्रायः रहेको सम्पूर्ण विकास निर्माण दु्रत गतिमा अगाडि बढी समयमा नै सम्पन्न हुने महासङ्घले जनाएको छ ।

    त्यस्तै निर्माण व्यवसायको उत्थान हुने र बजारमा नगद प्रवाह बढ्न गई देशको अर्थतन्त्र पनि चलायमान हुने भएकाले धरौटी बापतको रकम निर्माण व्यवसायीलाई त्रुटि सच्याउने अवधिभन्दा एक महिना बढी समयको बैंक ग्यारेन्टीका आधारमा फिर्ता पाउने व्यवस्था हुनुपर्ने माग महासङ्घले राखेको छ ।

    कोरोनाको प्रभाव, वर्षायाम तथा चाडपर्वले गर्दा काम हुन नसकी ती ठेक्काको म्याद थप नभई विकास निर्माण ठप्प रहेकाले हाल निर्माणाधीन सबै प्रकारका परियोजना एवं ठेक्काको म्यादका सन्दर्भमा गएको असार २९ र माघ ११ को मन्त्रिपरिषद्को निर्णयानुसार म्याद समाप्त भएको मितिदेखि लागू हुने गरी छ महिना थप भएता पनि त्यस अवधिमा बन्दाबन्दीका कारण धेरैजसो कल कारखाना बन्द भएको महासङ्घको भनाइ छ ।

    निर्माण सामग्री सप्लायर्स समेत बन्द रही पर्याप्तमात्रामा सामग्री उपलब्ध हुन नसकेको र निर्माण हुने मुख्य मौसम फागुनदेखि जेठसम्मको समय बन्दाबन्दीभित्र परेको अध्यक्ष सिंहको भनाइ छ ।

    सार्वजनिक खरीद नियमावलीको २०६४ पुस १४ गते भएको नवौँ संशोधनमा व्यवस्था भएबमोजिम लामो समयदेखि म्याद थप हुन नसकेका दुई हजार ७७२ रुग्ण किसिमका ठेक्का एवं निर्माणको २०७६ फागुनदेखि लागू हुने गरी एक वर्ष म्याद थप भए तापनि २०७६ चैत्र ११ गतेदेखि भएको बन्दाबन्दी क्षेत्रगत रुपमा लागू भएको निषेधाज्ञाको साथै वर्षायाम र चाडपर्वको कारणले काम हुन नसकी ती निर्माणको प्राविधिक पुष्ट्याईको आधारमा आवश्यकता अनुसार पुनः म्याद थप गर्न नेपाल सरकारबाट नीतिगत निर्णय गरिनुपर्ने माग पनि महासङ्घले अघि सारेको छ ।

     

  • अर्थमन्त्रीको प्राथमिकता–कोभिड र चुनाव, सशस्त्र र नेपाल प्रहरीले मागे १७ अर्ब

    अर्थमन्त्रीको प्राथमिकता–कोभिड र चुनाव, सशस्त्र र नेपाल प्रहरीले मागे १७ अर्ब

    काठमाडौं । वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि बजेट व्यवस्थाका गर्न अर्थ मन्त्रालयले गृहकार्य थालेको छ । चुनावका लागि २० अर्ब रुपैया खर्च हुने अनुमान अर्थमन्त्रालयको छ ।

    चुनाव गराउने मुख्य जिम्मेवारी पाएको गृह मन्त्रालयले सोमवार अर्थमन्त्री बिष्णु पौडेलसँगको छलफलमा सबै शीर्षकको प्रस्तुति सहित अनुमानित बजेटको सिलिङ पेश गरेको एक उच्च अधिकारीले बताए ।

    स्रोतका अनुसार चुनावमा प्रशासनिक र सुरक्षाफौज परिचालनका लागि अलग अलग शीर्षकमा बजेट माग भएको छ । जसका लागि प्रशासनिक परिचालन गर्न गृहले खर्च हुने अनुमान गरेको छ ।

    त्यस्तै नेपाल प्रहरीले १२ अर्ब र सशस्त्र प्रहरीले ५ अर्ब अनुमाति बजेट लाग्ने आँकडा पेश गरेका छन् । यसमा नेपाली सेना परिचालन हुँदा अलग्गै बजेट व्यवस्था हुनेछ । सेनाले अहिलेसम्म अर्थ मन्त्रालयसँग चुनावका लागि बजेट माग गरिसकेको छैन ।

    सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले निर्वाचन प्रयोजनमा नेपाली सेनालाई माथिबाट जिम्मेवारी दिइएपछि सोही अनुसार बजेटको व्यवस्थापन हुने बताए । अहिलेसम्म त्यसबारे प्रक्रिया चलेको आफूलाई थाहा नभएको उनले नेपालप्रेसलाई बताए ।

    अर्थमन्त्री बिष्णु पौडेलले नेपालप्रेससँग कुरा गर्दै कोभिड नियन्त्रण र प्रतिनिधिसभा निर्वाचनको लागिग बजेटको कमी हुन नदिइने बताए । पौडेलले निर्वाचन आयोग र सुरक्षा निकायसँगको छलफलपछि चुनावका लागि आवश्यक बजेटको व्यवस्था हुने बताएका छन् ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट महाशाखाले चुनावी बजेटको व्यवस्थाका लागि गृहकार्य थालेको छ । बजेटको प्राथमिकता परिवर्तन गर्ने र खर्च नहुने शीर्षकबाट चुनावका लागि बजेट रकमान्तरको तयारी भइरहेको छ ।

    अर्थका एक उच्च अधिकारीले भने–अनुमानित २० अर्ब रुपैया चाहिन्छ भन्ने आएको छ । अर्थमन्त्रीज्युले छलफल गरिरहनुभएको छ । अब बजेटको प्राथमिकता परिवर्तन हुँदा एक नम्बरमा कोभिड नियन्त्रण र दोस्रोमा चुनाव हुन्छ । कोभिडको भ्याक्सिन किन्ने र निःशुल्क भ्याक्सिन दिने कुरा भएकाले पहिलोमा कोभिडनै हुने देखिन्छ ।

    ठूला विकासका आयोजनाहरु यथावत चल्ने र स्रोतका कमी हुन नदिनेमा अर्थमन्त्रीको जोड रहेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्रीले कोभिड नियन्त्रण र चुनावमा बजेटको कमी हुन नदिनेगरि अन्य प्राथमिकता यथावत राख्नेगरि छलफल चलाएका छन् ।

    कसले कति मागे ?

    वैशाखमा हुने निर्वाचनका लागि म्यादी प्रहरी भर्ना छनौटलगायतका तयारी थाल्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले १२ अर्ब रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

    निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति मौजुदा जनशक्तिबाट परिचालन गर्न सम्भव नहुने कारण प्रत्येक निर्वाचनमा म्यादी (अस्थायी प्रहरी) भर्ना गर्ने प्रचलन छ । निर्वाचन मिति भन्दा कम्तिमा ३ महिना पहिला म्यादी प्रहरी भर्नाका लागि सूचना निकाल्ने गरिन्छ ।

    नेपाल प्रहरीले अर्थसँग बजेट माग गरेसँगै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पत्र पनि अर्थ मन्त्रालयमा पुगेका छन् । सशस्त्रले ५ अर्ब र अनुसन्धान विभागले १५ करोड माग गरेका छन् । यी दुबै निकायले म्यादी प्रहरी भर्ना लिने अधिकार राख्दैनन् । तर, कारण भने सुरक्षाकै देखाएका छन् ।

    विगत निर्वाचनमा सशस्त्र प्रहरीले मतपेटिका सुरक्षाको जिम्मेवारी पाएको थियोे । उसले त्यसनिम्ति सवारी साधन खरिद गर्नुपर्ने कारण खुलाएर पत्राचार गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

    राष्ट्रिय अनुसन्धान विभागले भने सूचना संकलन, विश्लेषण र सुरक्षा सतर्कता अपनाउने प्रयोजन खुलाएर पत्राचार गरेको छ ।

  • स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं । स्थानीय तहमा पूँजीगत खर्च कम भएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले पूँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।

    आइतबार अर्थमन्त्रलायमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री पौड्यालले पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका हुन् ।

    हाल स्थानीय तहमा पुगेको रकममध्ये १२६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यो रुपैयाँ खर्च गर्नका लगि पौड्यालले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई आग्रह गरे ।

    छलफलमा अर्थमन्त्री पौड्याले स्थानीय तहमा कोभिड–१९ कारण अति प्रभावित र अफ्ट्यारो परेकाहरुलाई पनि सहयोग गर्न समेत आग्रह गरे । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सृजना गर्न पनि उनले छलफलमा बताए ।

  • अर्थमन्त्री पौडेलद्वारा पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन

    अर्थमन्त्री पौडेलद्वारा पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्’ मन्त्रीले भने ।

    अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि मन्त्रीले निर्देशन दिएको प्रेस नोटमार्फत जनाइएको छ ।

    बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।