Tag: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

  • बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुन्छन् : अर्थमन्त्री पौडेल

    बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुन्छन् : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका छन् ।

    अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए।

    आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरु पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए

    उपप्रधान तथा अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरुको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए ।अनेरास्वियुका पदाधिकारीहरुले गत चैत्र २५ गते बुझाएको ध्यानाकर्षण पत्रको महत्वपूर्ण बुँदाहरुले बजेटमा सम्बोधन गरेको भन्दै उपप्रधान तथा अर्थमन्त्रीलाई धन्यवाद दिएका थिए ।

    अनेरास्ववियुले बजेटमा स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने, सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजा कार्यक्रम सञ्‍चालन गर्ने लगायतका कार्यक्रमहरु आएको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

    यस्तै सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म दुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था र सोह्र वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलव्ध गराउने लगायतका कार्यक्रम यथाशिघ्र लागू गर्न माग गरेको छ ।

     

  • नागरिकको रक्षा नै सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री पौडेल

    नागरिकको रक्षा नै सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।
    सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका हुन् ।

    जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए ।

    उनले भने,‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

    अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही नगर्न समेत आग्रह गरे । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए ।

    अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि जानकारी दिए ।

     

  • युवा उद्यमीका सुझावलाई बजेट मार्फत कार्यान्वयनमा लैजान्छौः अर्थमन्त्री पौडेल (भिडियाे)

    युवा उद्यमीका सुझावलाई बजेट मार्फत कार्यान्वयनमा लैजान्छौः अर्थमन्त्री पौडेल (भिडियाे)

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावलाई बजेट मार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले युवा उद्यमीका सम्भव र जायज सुझावलाई कार्यान्वयनमा लैजाने बताए ।

    तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । छलफलमा युवा उद्यमीले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तरतत्व अन्तरनिहित रहेको छ भन्ने ठानेको उनको भनाइ थियो ।

    अहिलेको परिस्थितिमा औषत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोभिडको सामाना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने जानकारी गराए । अर्थतन्त्रको पुनरउत्थानको कुरा र उन्नती प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको उनले प्रष्ट पारे ।

    कार्यक्रममा युवा उद्यमीले भन्सारमा न्यून विजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्या, स्टिल उद्योगको समस्याको विषय, स्टार्टअप पोलीसीलागयतका विषयमा सुझाव दिएका छन् ।

    त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीले सुझाव दिए ।

     

  • वर्षको अन्त्यसम्म पनि कार्यान्वयन नहुने आयोजनालाई बजेटमा प्राथमिकता दिनौं : अर्थमन्त्री

    वर्षको अन्त्यसम्म पनि कार्यान्वयन नहुने आयोजनालाई बजेटमा प्राथमिकता दिनौं : अर्थमन्त्री

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उपस्थित भई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७८ र ८९ को बजेट कार्यान्वयन हुने खालको संयमित र अनुशासित बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    आगामी आर्थिक बर्षको बजेटको तयारीबारेको छलफलमा उपस्थित भएका अर्थ मन्त्री पौडेलले बजेट निर्माणको आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बजेट कार्यान्वयनको सुनिश्चितता गरी अनुशासित बजेट निर्माण गरिने बताए हुन ।

    यस्तै उनले आगामी बजेटको मुख्य प्राथमिकता कोभिड–१९ ले अर्थतन्त्रमा सिर्जना गरेको चुनौति र त्यसको सामना गर्ने तर्फ नै हुने बताएका छन ।

    कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरउत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने उनको भनाई थियो ।

    अर्थमन्त्री पौडेलले बजेटलाई प्रभावकारी बनाउन बिषयगत मन्त्रालयहरुसँग पनि समन्वयमा अर्थमन्त्रालयले जोड दिएको समेत बताएका थिए । बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने समेत उद्धघोष गरे।

    आर्थिक वर्षको अन्त्य सम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई बजेटको प्राथमिकतामा राखिने पौडेलको दाबी छ । आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याहरुको पुनरावृत्ति नहोस भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको पनि स्पष्ट पारे ।

  • मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था छैन: अर्थमन्त्री पौडेल (भिडियो)

    मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था छैन: अर्थमन्त्री पौडेल (भिडियो)

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।

    बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् ।

    कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सिमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताए ।

    बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भएपनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको उनले जानकारी दिए ।

    कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधि भित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रष्ट पारे । त्यसैले यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थमन्त्री पौडेलले बताए ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

    शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।

    यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।

  • महामारीबाट थलिएको अर्थतन्त्र गतिशील बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

    महामारीबाट थलिएको अर्थतन्त्र गतिशील बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बजेट निर्माणको काममा अर्थमन्त्रालय तीब्र गतिमा लागेको बताएका छन् । बजेटको सिद्धान्त र प्राथमिकताको निर्माणको काम अन्तिम चरणमा पुगेको पौडेलको भनाइ छ ।

    अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०७८/७९ को बजेट कोभिडबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्ने , रोजगारी सृजना गर्ने र नेपाली अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काएर गतिशील बनाउनका लागि आगामी बजेट केन्द्रित हुने जानकारी दिए ।

    आगामी बजेटमा राष्ट्रिय प्राथमिकता निर्धारण र बजेट कार्यान्वयनको सुनिश्चिततालाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

    ‘हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौ र बजेट सार्वजनिक गरेरमात्रै हुँदैन त्यसको कार्यान्वयनको सुनिश्चिता महत्वपूर्ण विषय हो, हामीले बजेटमा यिनै कुरालाई प्राथमिकतामा राखेका छौं,’ पौडेलले भने ।

  • सरकार गिराएर प्रतिपक्ष समक्ष प्रधानमन्त्रीको प्रस्ताव लैजानेलाई जनताले परास्त गर्छ: अर्थमन्त्री

    सरकार गिराएर प्रतिपक्ष समक्ष प्रधानमन्त्रीको प्रस्ताव लैजानेलाई जनताले परास्त गर्छ: अर्थमन्त्री

    रुपन्देही । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकार गिराएर प्रतिपक्षी दलको ढोकामा प्रधानमन्त्रीको प्रस्ताव लैजानेहरुलाई जनताले परास्त गर्ने बताएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने,‘मध्यरातमा प्रतिपक्षी दलको ढोका चहार्न जाने, नेपालको कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन अँध्यारो कोठामा बसेर योजना बनाउनेलाई पार्टी कार्यकर्ता र नेपाली नागरिकले राम्रोसँग चिनेका छन् । त्यही भएर यसो गर्नेहरु जनताबाट अनुमोदन हुन चाहेका छैनन् ।’

    नेता पौडेलले भने,‘संवैधानिक कानुनी दायरा विपरीत कम्युनिष्ट पार्टी कमजोर बनाउनेलाई नेपाली जनताले माफ दिने छैनन, हेक्का गर्नु, नेपाली जनताले स्थिरता, शान्ति र विकास चाहेको छ ।

    अर्थमन्त्री पौडेलले केपी ओली नेतृत्वको सरकारले विखण्डनको बाटो समातेका डा. सिके राउत तथा विद्रोहको बाटो समातेका नेत्रविक्रम चन्द विप्लबलाई शान्तिपूर्ण संवैधानिक राजनीतिको मूल धारमा ल्याएको बताए ।

    नेता पौडेलले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र विकासका विषयमा प्रष्ट धारणा राखेकाले अनम नेपालीले माया गरिरहेको बताए । पौडेलले भने,‘राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको पक्षमा अभूतपूर्व सफलता पाएका छौं, कोरोना महामारी विरुद्धको अभियान र निःशुल्क खोपका लागि गरेको पहलकदमीलाई अर्को उपलब्धी मानेका छौं ।’

    मन्त्री पौडेलले विकासका लागि वर्तमान सरकार उदाहरणीय बनेको बताएका छन् । उनले रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने बताएका छन् । जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताए ।

    रुपन्देहीले भौतिक पूर्वाधार तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने वातावरण निर्माण गरिने जनाए । रुपन्देही विकासको रोल मोडल भएको दाबी गर्दै उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

  • १ सय १३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

    १ सय १३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

    काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका हुन्।

    स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ।

    अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए।

    अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोही अनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

     

     

     

     

     

     

  • मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

    मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

    काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् ।

    पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”

    सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको दाबी गरे ।

    मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने पनि दाबी गरे । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।”

    उनले मुलुकमा कुनै समस्या आए र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको समेत बताए ।

    अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे । “उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, पौडेलले भने, ‘निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ । त्यो हामी पूरा गर्न दिँदैनौं ।”

    उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको समेत बताए । पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको दाबी गरे ।

    उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए । मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाए ।

    केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गरे ।

  • निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजूल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।

    निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए ।

    निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ  ।
    निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि उनको भनाइ थियो । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव पर्‍यो भन्ने अर्थमा बुझ्न नहुने बताए ।

    अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।

    अर्थमन्त्री पौडेलले कोरोनाको खोप किन्नको लागि सरकारले नेपालीसँग पैसा मागेको भन्ने कुराको खण्डन गरेका छन् ।

    कोरोनाको खोप किन्नका लागि नेपाली जनतासँग पैसा नमागेको बताए । उनले खोप किन्नका लागि विदेशी दातृ निकायलाई मात्रै सहयोग गर्न आग्रह गरेको बताए ।

     

  • स्थानीय तहमा पुगेको १ सय २६ अर्ब रकम खर्च हुन सकेन

    स्थानीय तहमा पुगेको १ सय २६ अर्ब रकम खर्च हुन सकेन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।

    अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन् ।

    स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे ।

    यसैबीच अर्थमन्त्री पौडेलले कोभिड १९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्दै प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।

    अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु सहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भयो ।

    आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराइन् ।

    अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने बताए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सकृयता जरुरी रहेको बताए ।

    नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे ।