Tag: अर्थमन्त्री पौडेल

  • गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    यसअघि चालु आर्थिक वर्षमा ४०% प्रतिशतले कटौती भएर २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन भएको थियो । त्यसअघि घोषित ३ अर्ब ९९ करोड बजेटबाट ४० प्रतिशत कटौती भएको थियो ।

    सक्रिय खेल जीवनबाट निवृत भएका खेलाडीलाई सहुलियत कर्जा उपलब्ध गराउने, प्रादेशिक रंगशाला, हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना लगायतका विषयलाई समेटेर उक्त रकम विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने छ,’ उनले भने, ‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

    आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने जानकरी दिँदै उनले भने, ‘सक्रिय खेल जीवनबाट निवृत खेलाडीलाई व्यवसाय सञ्चालन सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।’

    आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।

    आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम छुट्याएको र सोलुखुम्बु, मनाङ मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्थासमेत गरिएको उनले बताए ।

    ‘आगामी आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ । नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने छ ।’

  • भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।

    ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बिजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो ।

    निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलले बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उनको माग थियो । गोल्छाले भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत आग्रह गरे ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनको माग छ ।

    भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको भन्दै श्रेष्ठले भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे ।

  • पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

    पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

     

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड –१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

    पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।

    छलफलमा पर्यटन र होटल व्यवसायका प्रतिनिधिले  पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा २० करोड रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई आग्रह गरे । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको समेत बताए ।

    त्यस्तै,बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए ।

    कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशिल छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छु।

    संस्कृति पर्यटन तथा नागरिक उउड्यान मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे ।

    अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए ।

    पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न माग गरे ।

    छलफलमा  विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरि ऋण प्रवाह गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

    बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

     

     

  • काेराेनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल

    काेराेनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल

    काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड –१९ विरुद्धको भ्याक्सिन आयात गर्न र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।

    ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने,‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’

    उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।

    अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

    अर्थमन्त्री पौडेलले कोभिड– १९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागि परेको समेत प्रष्ट पारे ।