Tag: अर्थमन्त्रालय

  • अर्थमन्त्रालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट निर्माणका बिषयमा छलफल

    अर्थमन्त्रालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट निर्माणका बिषयमा छलफल

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणलाई तिव्रता दिरहेको छ । अर्थमन्त्रालयले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय रस्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेटका बारेमा छलफल गरेको छ ।

    दुवै मन्त्रालयलाई आगामी आबका लागि बिनियोजित बजेटको सिलिङ र त्यस भित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक राखिएको थियो । शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्तिलाइ रोक्ने गरी कार्यक्रम बनाउनु पर्ने बताए ।

    ‘१ कक्षामा भर्न भएका विद्यार्थीहरु ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने बिद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ’ उनले भने, ‘विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने बातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।’

    बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताए । उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पु¥याउनुपर्ने धारणा राखे । ‘यसपटक शिक्षामा अलि मन फुकाएर बजेट राखौं । बरु के कस्ता कार्यक्रम राख्ने भन्ने सबैले सल्लाह गरौंला’ उनले भने ।

    छलफलमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दुरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला बिदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘मज्जाले सरकारी पैसामा पढेर नेपालमै काम गर्ने जनशक्ती उत्पादन गर्ने हो । बिदेश जाने जनशक्ती उत्पादन गर्न खोजेको होइन भन्ने सन्देश बजेटबाट दिनुपर्छ’ उनले भने ।

    अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउनुपर्ने बताए । मन्त्री शर्माले गरिबीमुक्त गरी रोग लाग्नबाटै जोगाउने गरी स्वास्थ्य मन्त्रालयबाट बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । उनले पालिकाहरुमै बिज्ञ सेवासहितको अस्पताल र सुविधा सम्पन्न प्रयोगशाला निर्माण हुनुपर्ने बताए ।

    बैठकमा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ५ सयदेखी १५ सय शैय्यासम्मको निर्मित अस्पतालहरुमा चिकित्सकको दरबन्दी र उपकरण व्यवस्था गर्नुपर्ने बताए ।

  • सम्पत्ति लिलाम गरेर नेवानीको ऋण उठाउन अर्थमन्त्रालयमा छलफल

    सम्पत्ति लिलाम गरेर नेवानीको ऋण उठाउन अर्थमन्त्रालयमा छलफल

    काठमाडौं । नेपाल वायुसेवा निगमलाई दिएको ऋण नउठेपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले अर्थमन्त्रालय गुहारेका छन् ।

    सोमबार अर्थमन्त्रालयलका राजस्व सचिव, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष बीच छलफल भएको छ । सो छलफलमा राजस्वसचिव कृष्णिहरि पुष्करले हालको अवस्थामा सरकारले पैसा तिर्न नसक्ने जानकारी दिए ।

    नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई निगमको सम्पत्ति लिलाम गरी ऋण उठाउन अर्थमन्त्रालयले सुझाव दिएको छ ।

    अर्थसचिव मधुकुमार मरासिनीले के गरेर ऋण उठाउने भन्ने विषयमा छलफल भएको बताए । सम्पत्ति लिलामी गरेर ऋण उठाउने विषयमा पन छलफल भएको उनको भनाइ छ ।

    सरकारी संस्थानहरूले ऋण लिँदा नेपाल सरकार जमानी बस्छ । नेवानीले कर्मचारी सञ्चय कोषसँग ४ वर्षअघि वाइडवडी जहाजका लागि १२ अर्ब र ६ वर्षअघि १० अर्ब कर्जा लिएको थियो ।

    नागरिक लगानी कोषसँग पनि १२ अर्ब वाइडबडी जहाज खरिदका लागि लोन लिएको थियो । विगत ३ वर्षदेखि सञ्चय कोष र नागरिक लगानी कोषले व्याज र किस्ता समेत पाएका छैनन् ।

    छलफलमा गएका निगमका प्रतिनिधिले घाटा कायमै भएको अवस्थामा हाल व्याज र किस्ता तिर्नसक्ने अवस्था नभएको बताएका छन् ।

  • ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

    ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहानदेखि रातिसमम खटिने ट्राफिक प्रहरीले कोभिड महामारीका कारण काटिएको प्रोत्साहन भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले सडकमा खटिने ट्राफिक प्रहरीको अतिरिक्त भत्ता दिने प्रस्तावमा आफूले तोक लगाएर निर्णय प्रक्रियामा पठाएको नेपाल प्रेसलाई बताए ।

    शर्माले भने, ‘ट्राफिक प्रहरीको दुःख हामीले देखेका छौं । धुलो धुँवा, घामपानी नभनी खटिएका जवानहरूको भत्ता काट्ने कुरा राम्रो थिएन । मैले पुनः भत्ता पाउनेगरी निर्णय अघि बढाइदिएको छु ।’

    उपत्यका ट्राफिक प्रहरी महाशाखाको प्रस्ताव प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालयबाट अर्थमन्त्रालयम पुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । अर्थमन्त्रीले प्रस्तावमा तोक लगाएर निर्णय प्रक्रियामा पठाएको जानकारी आफूले पाएको कुँवरले नेपाल प्रेसलाई बताए ।

    अर्थमन्त्रालयबाट स्वीकृत भएपछि ट्राफिक प्रहरीले मासिक तलबसँगै अतिरिक्त भत्ता पाउनेछन् । अर्थले बजेट स्वीकृत गरेपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मको दर्जाका कर्मचारीले तलबको ४० प्रतिशत भत्ता पाउने छन् ।

    त्यस्तै असई र सईले २० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् भने ट्राफिक प्रहरीमा कार्यरत इन्सपेक्टर र डिएसपीले तलबको १० प्रतिशत भत्ता पाउनेछन् ।

    भत्ता काटिएपछि ट्राफिकबाट सरुवा मागेर अन्यत्र जानेहरुको चाप बढेको छ । भत्ता नियमित भएपछि ट्राफिक प्रहरीलाई काममा खटाउन पनि सहज हुने बग्गीखानाका एक अधिकारीले बताए ।

    उनले भने, ‘भत्ता पाउने भएपछि काम लगाउन र सडकमा कुदाउन पनि सजिलो हुनेभयो । भत्ताकै आकर्षणले गर्दा पनि ट्राफिक प्रहरी छाडेर अन्यत्र सरुवा माग्नेहरु यतै बस्छन् । यो निर्णय भयो भने न्याय पनि हुन्छ ।’

  • गरिबलाई १० हजार बाँड्ने कार्यविधि राजपत्रमा, स्थानीय तह र परिवार संख्यासमेत तोकियो (सूचीसहित)

    गरिबलाई १० हजार बाँड्ने कार्यविधि राजपत्रमा, स्थानीय तह र परिवार संख्यासमेत तोकियो (सूचीसहित)

    काठमाडौं । कोभिड-१९ बाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार दिने सरकारी निर्णयको कार्यविधि तयार पारिएको छ । प्रतिस्थापन विधेयकमार्फत सरकारले कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार प्रदान गर्ने घोषणा गरेको थियो । अर्थमन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्‍बाट स्वीकृत गराइ मंगलबार राजपत्रमा प्रकाशन गरिएको हो ।

    दसैँअघि नै ५ लाख परिवारलाई १० हजारका दरले प्रत्यक्ष नगद वितरण गर्ने योजना बनाइएको भए पनि कार्यविधि नबन्दा वितरण हुन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले राजपत्रमा प्रकाशित भएसँगै अब देशभरका अति विपन्न ५ लाख परिवारले १० हजारका दरले नगद राहत प्राप्त गर्ने बताए ।

    विधेयकको नाम ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तर कार्यविधि, २०७८’ छ । उक्त कार्यविधिमा कोभिड १९ महामारी नियन्त्रणका लागि गरिएको बन्दबन्दीको कारण भइरहेको पेसा, व्यवसाय वा श्रम गर्ने अवसर गुमाइ आर्थिकरूपमा अतिविपन्न नेपाली नागरिकको परिवारलाई राहत स्वरूप प्रतिपरिवार १० हजार रूपैयाँका दरले नगद हस्तारण गर्ने उल्लेख छ ।

    यस योजनामा सहभागिता हुनका लागि रोजगारी पूर्णरूपमा गुमाएको र अर्को रोजगारी प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित मजदुर वा कामदार हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यसैगरी खुला सडक, फुटपाथमा वा चौरमा खर्पन, नाङ्गलो, डोको आदिमा समान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेतला, ज्यालदारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटन, भरियाले सो रकम प्राप्त गर्न सक्ने कार्विधिमा उल्लेख छ ।

    यसैगरी कोरोना संक्रमणका कारण एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नुपरेका परिवार तथा अभिभाव गुमाएका असाहय नाबालकलाई स्याहार गर्ने परिवारलाई नगद प्राप्त गर्ने आधार तोकिएको छ ।

    कार्यविधिले विभिन्न जिल्लाका स्थानीयत तहभित्रका लाभग्राही परिवारको संख्या समेत तोकेको छ । प्रत्येक स्थानीय तहभित्रका लाभाग्राहीको अधिकतम संख्या सो स्थानीय तहभभित्र रहेका कुल परिवार संख्या, स्थानीय तहको मानव विकास सूचाङ्क र समाजिक- आर्थिक असमानता समेतको आधारमा सूची तयार पारिएको छ ।

    तोकिएको सर्त पूरा गरेका परिवारका सदस्यले रकमका लागि सम्बन्धित वडा कार्यलयमा गइ निवेदन दिनुपर्नेछ । आवेदनका लागि १५ दिनको समय उपलब्ध गराइ मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्नेछ ।

    नगद प्राप्त गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि राखी सम्बन्धित वडामा निवेदन दिनुपर्ने छ । निवेदन पेस गरेको मिति सकिएको ७ दिनभित्र परीक्षण गरी नगद प्राप्त गर्नयोग्य लाभग्राही देखिएमा सम्बन्धित वडाअध्यक्षले सोही व्यहोरा सिफारिस गरी नगद हस्तातन्तरणका लागि सम्बन्धित स्थानीय तहलाई सिफारिस गर्नेछन् ।

    नगद हस्तान्तरणसम्बन्धी कार्यमा समन्वय तथा सहजीकरणका लागि निर्देशक समित गठन गरिएको छ । जसमा अर्थसचिवको संयोजकत्वमा अन्य ६ जना सदस्यहरू र एक सदस्यसचिव गरी ८ जना छन् ।

    गृहमन्त्रालयका सचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव, नेपाल नगरपालिका संघका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र अर्थमन्त्रालयका एक सहसचिव निर्देशक समितको सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।

  • अर्थमा रोकिएन सहसचिव सरुवा, दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो

    अर्थमा रोकिएन सहसचिव सरुवा, दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुराना सहसचिव सरुवाको क्रमलाई जारी राखेका छन् । विचार नमिलेकै कारण ‘पन्छाउने’ क्रममा पछिल्लोपटक मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख दीर्घराज मैनालीलाई सरुवा गरिएको छ ।

    मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइएको छ । उनको स्थानमा रमेश केसीलाई ल्याइएको छ ।

    तालिम केन्द्र अर्थमन्त्रालय अन्तर्गतकै एक विभाग हो । तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएपछी मैनालीलाई रिक्त स्थानमा पठाइएको हो ।

    अर्थमन्त्री शर्माले पुराना सहसचिवहरुलाई मन्त्रालयबाट सरुवा गर्दै बाहिरबाट जनशक्ति ल्याइरहेका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकहरुलाई मन्त्रालयमा तानेर भूमिकाविहीन बनाइएको छ । यसअघि बजेट प्रतिस्थापन विधेयक तयारीको क्रममा ओली सरकारको बजेट निर्माणमा संलग्न कोर टिमा रहेका केही सहसचिवहरूलाई पनि सरुवा गरिएको थियो ।

  • अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।

    अध्यादेशमार्फत ल्याएको बजेट लेखनको कोर टीममा संलग्न सहसचिवहरूलाई सरुवा गरिएको हो । अबको ३ दिन भित्रमा ४ सहसचिवहरू प्रदेश जाने तयारीमा रहेका छन् ।

    आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराल, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र आन्तरिक राजस्व विभागका पूर्वप्रमुख झक्कप्रसाद आचार्य सरुवा हुने भएका छन् ।

    विचार नमिलेको भन्दै आफूसहितको पुरानो टिमलाई सरुवा गर्न लागिएको एक सहसचिवले बताए । प्रतिस्थापन विधेयक तयारीमा समेत आफूहरूसँग परामर्श नगरिएको ती अधिकारीले बताए ।

    प्रतिस्थापन विधेयक आफू अनुकूल परिवर्तन गर्नका लागि अर्थमन्त्री शर्माले अर्थमन्त्रालयभन्दा बाहिरका सहसचिवहरू अर्थमन्त्रालय तानेका छन् । उनले कृष्णहरी पुष्करलाई राजस्व सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

    केन्द्रीय तथ्यांक विभागमा लामो समयसम्म काम गरेर सचिव बनेका सुमन अर्याललाई महालेखा नियन्त्रक बनाएका छन् । विधि र पद्धतिलाई भत्काएर अर्थमन्त्रालयभन्दा बाहिरका क्याडरमार्फत बजेटमा आफू अनुकूल संशोधनको प्रयास भएको अर्थमन्त्रालयले स्रोतले बतायो ।

    अर्थमन्त्रालका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीको तजबिजमा कर्मचारी व्यवस्थापन गर्ने र बजेट संशोधनको काम भएको एक सहसचिवले बताए । बजेट प्रतिस्थापन विधेयकको तयारीमा बजेट महाशाखाभन्दा बाहिरबाटै काम भएपछि महाशाखा प्रमुख भुपाल बरालले आफूलाई हटाउन माग गरेका थिए ।

  • बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग

    बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग

    काठमाडौं । अर्थमन्त्रालयले ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयक तयार पारेको छ ।

    बजेट हेरफेर गर्न अर्थका अधिकारी रातभर जाग्राम बसेर प्रतिस्थापन विधेयकलाई अन्तिमरूप दिइएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा अर्थका केही सहसचिवको उपस्थितिमा विधेयकलाई तयार पार्ने काम भएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

    अघिल्लो सरकारको बजेटमा स्रोत सुनिश्चित नभएका कार्यक्रम प्रतिस्थापन विधेयकले हटाएको छ । करिब साढे ४ खर्ब हाराहारीको बजेटका कार्यक्रमहरु स्रोत नै सुनिश्चित नगरी राखिएको भन्दै त्यसका स्थानमा गठबन्धन सरकारको कार्यक्रम राख्ने तयारी गरिएको छ । यसैगरी पर्यटन क्षेत्रलाई तत्काल पुनरुत्थान गर्न असम्भव रहेको निर्क्यौल गर्दै कृषिमा बजेट छुट्याउने तयारी भएको स्रोतले जनाएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि बजेट बढाउने सरकारको तयारी छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप परिवर्तन गरेर अर्को कार्यक्रम ल्याउने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुरले देउवाले झार उखाल्ने, ढल सफा गर्नेजस्ता काम खर्च गरेर रकमको दुरुपयोग भन्दै यसको मोडालिटी परिवर्तन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रममा करिब १२ अर्ब बजेट विनियोजन गरिएकोथियो । यसैगरी १ खर्बले निर्यात प्रतिस्थापन गर्ने र आयात १५ खर्बको हाराहारीमा सीमित गर्ने गरी केही महत्वकांक्षी कार्यक्रमको तयारीमा अर्थमन्त्रालय लागेको छ ।

    महालेखा नियन्त्रक कार्यालयले चालु खर्च, तलव भत्तालगायतका अनिवार्य खर्चबाहेकका सबै बजेट ३ दिनका लागि निकासामा रोक लगाइसकेको छ । मन्त्रालयले तयार पारेको प्रतिस्थापन विधेयकमा अर्थमन्त्रालयका वरिष्ठतम सहसचिवहरू नै बेखबर बनेका छन् । बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव भुपाल बरालले आफूलाई सरुवा गर्न अर्थसचिव मधुकुमार मरासिनीलाई भनेको समेत स्रोतले बतायो । सुमन दाहालको स्थानमा उक्त महाशाखाको प्रमुख भएर बराल अर्थमन्त्रालय आएका थिए ।

    बरालले सरुवा मागेपछि उनको स्थानमा सहसचिव नारायण सापकोटालाई बोलाएर प्रतिस्थापन विधेयकको लेखनको काम लगाइएको छ ।

    बराललाई जानकारी नदिइ अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले प्रतिस्थापन विधेयक तयार पार्ने काम भएको छ । यसैगरी प्रतिस्थापन विधेयकमा राजस्व व्यवस्थापनका महाशाखा प्रमुख रामेश्वर दंगाललाई जानकारी नदिइ राजस्वको दर हेरफेर समेत गरिएको छ । उनलाई उप्रेतीको कोठामा प्रवेशमा निषेध गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।

  • ओली सरकारको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी

    ओली सरकारको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट परिमार्जनको तयारी थालिएको छ । यसको लागि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक सदनमा प्रस्तुत गर्ने भएको छ ।

    भदौ २३ वा २४ गतेमध्ये कुनै दिनमा पनि प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार बजेटमा आवश्यक संशोधन गर्न लागिएको बताइएको छ । भदौ १० गते मन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलनसमेत गरेको थियो ।

    देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेको छ । सरकारले बजेटको आकारमा केही संशोधन गर्ने संकेत पनि गरेको छ । यद्यपि सरकारले बजेटमा ठूलो परिवर्तन गर्न सक्ने संभावना भने कम रहेको अर्थविद्हरू बताउँछन् । अर्थमन्त्री जनार्दन शर्मा ओली सरकारले ल्याएका कतिपय लोकप्रिय कार्यक्रम हटाउँदा विरोध हुनसक्ने चिन्तामा समेत छन् ।

    कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावमा केही कार्यक्रमहरू थप गर्ने संभावना रहेको छ । यसैगरी, खोप खरिदका लागि बजेट थप गरिने तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो । आफ्नो पहिलो प्राथमिकता खोप भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउने तयारी गरिएको छ ।

    चालु खर्च , सञ्चालनमा रहेको परियोजना खर्च र अनिवार्य दायित्वमा सिर्जना भएका खर्च कटौती गर्ने सुविधा वर्तमान सरकारसँग नरहेको जानकारहरू बताउँछन् । यसैगरी राजस्व बढाउनका लागि अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागलाई निर्देशन नै दिएकाले आन्तरिक राजस्वको स्रोतहरूमा हेरफेरको तयारी समेत गरिएको छ ।

    यसैगरी गठबन्धन सरकारले केही आफू अनुकूलका लोकप्रिय कार्यक्रमहरू थप गरी प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश गर्न लागेको छ । सांसद विकास कोषको निरन्तरता पाउने सम्भावना उत्तिकै रहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

  • ओली सरकारले ल्याएको बजेट परिमार्जन गरिँदै, प्रतिस्थापन विधेयकको तयारी थालियो

    ओली सरकारले ल्याएको बजेट परिमार्जन गरिँदै, प्रतिस्थापन विधेयकको तयारी थालियो

    काठमाडौं । सरकारले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट परिमार्जन गर्ने भएको छ । यसको लागि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयकको तयारी थालेको छ ।

    नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । बिहीबार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताहरूबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिएका छन् । अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरूमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

    गरिबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन विभिन्न मन्त्रालयहरूलाई भनिएको छ । मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुको पुनर्परिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषहरुको एकीकृत परिचालनमा उचित ध्यान दिइने बताएका छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पुँजीगत खर्च बढाउनको लागि ‘रेगुलर ट्रयाकिङ्ग सिष्टम’ को अवधारणामा काम गर्न सुझाव दिएका छन् ।

    अर्थसचिव मधु कुमार मरासिनीले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गैरबजेटरी खर्च समेत गर्नुपर्ने बाध्यता आइलागेको भन्दै त्यसको परिपूर्तिको लागि रकम बचत हुने गरी कार्यक्रम परिमार्जन गरेर ल्याउन आग्रह गरे ।

  • अर्थमन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

    अर्थमन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका झक्कप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक रहेका यामलाल भुसाललाई अर्थमन्त्राल तानेका छन् । उनीहरूको स्थानमा सहसचिव शोभाकान्त पौडेलले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

    आचार्य र भुसाल दुवैलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको दुई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए । त्यसैगरी भन्सार विभागको प्रमुख जिम्मेवारी नारायण सापकोटले पाएका छन् । सापकोटा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

    बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी समेत हेरफेर भएको छ । यस महाशाखको जिम्मेवारी लगानी बोर्डका प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका र बोर्डका प्रवक्ताको जिम्मेवारी समेत सम्हालिरहेका सहसचिव भुपाल बराललाई दिइएको छ । यसअघिका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ ।

    सहसचिव धनीराम शर्मा अन्तर्राष्ट्रिय वित्तीय सहायता समन्वय महाशाखामा तानिएपछि उनको स्थानमा दाहालले बजेट महाशाखा सम्हालेका थिए । उनलाई डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा भन्सार विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो ।

  • मौद्रिक नीतिको सूचना चुहिएकोबारे अर्थमन्त्रीले भने- टेबलबाट सूचना चुहाएर ब्ल्याकमेलिङ नगरियोस्

    मौद्रिक नीतिको सूचना चुहिएकोबारे अर्थमन्त्रीले भने- टेबलबाट सूचना चुहाएर ब्ल्याकमेलिङ नगरियोस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टी जनाएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले आइन्दा यस्तो नगर्न चेतावनीसमेत दिए ।

    मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यसलाई गम्भीररूपमा लिन आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल-टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न शर्माले सचेत गराए ।

    ‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षाअगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस्’, शर्माले भने ।

    पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएपनि त्यो व्यवस्थित हुनुपर्ने उनको भनाइ थियो ।

  • नेप्सेसँग अर्थमन्त्रालयले माग्यो सर्वोत्तमको सेयर कारोबार विवरण

    नेप्सेसँग अर्थमन्त्रालयले माग्यो सर्वोत्तमको सेयर कारोबार विवरण

    काठमाडौं । अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्जसँग सर्वोत्तम सिमेन्ट कम्पनी सेयर खरिदबिक्रीको विवरण मागेको छ ।

    सर्वोत्तम सिमेन्टले बुक विल्डिङबाट सेयर निष्कासन गर्ने अनुमति पाएसँगै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउद विवादमा मुछिएका थिए । ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीको नाममा सेयर खरिद गरेसँगै यो विषय अख्तियारमा पुगेको छ ।

    यसको चौतर्फी विरोध भएपछि अर्थले यस विषयको अध्ययन गर्नका लागि नेप्सेसँग ओटीसी कारोबारको जानकारी मागेको हो ।

    पदमा बहाल रहेका नियामक निकायका पदाधिकारीका परिवारका नाममा सर्वोत्तमको सेयर किन्नु नियमविपरीत भएको र स्वार्थ बाझिएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यसअघि नै अर्थमन्त्रालय र अख्तियारले समेत धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग सोधपुछ गरिरहेको छ ।

  • श्वेतपत्रको गृहकार्य गर्दै अर्थमन्त्रालय, अर्थमन्त्रीलाई नैतिक संकट

    श्वेतपत्रको गृहकार्य गर्दै अर्थमन्त्रालय, अर्थमन्त्रीलाई नैतिक संकट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थतन्त्रको वर्तमान अवस्थाबारे स्वेतपत्र ल्याउने तयारी अगाडि बढाएका छन् । अर्थविद् डा. सुरेन्द्र उप्रेतीको संयोजकत्वमा श्वेतपत्र लेखनसम्वन्धी काम अगाडि बढिरहेको अर्थमन्त्रालयले जनाएको छ ।

    ओली सरकारका पालमा अर्थमन्त्री बनेका डा.युवराज खतिवडाले २०७४ फागुन १६ गते श्वेतपत्र जारी गर्दै राष्ट्रको ढुकुटी रित्तो रहेको दावी गरेका थिए । प्रतिपक्षी पार्टी कांग्रेसले उक्त श्वेतपत्रको विरोध गरेको थियो । श्वेतपत्रमा अर्थतन्त्रको खराब चित्र देखाएका अर्थमन्त्री डा। खतिवडा यसलाई सुधारको बाटोमा ल्याउन नपाइकन बिदा भए ।

    खतिवडासँग कुनैवेला एउटै पार्टीमा रहेका शर्माको हातमा अर्थमन्त्रालयको बागडोर परेको छ । हाल उनी रहेको नेकपा माओवादी केन्द्र र एमाले मिलेर नेकपा पार्टी बनेको थियो । विगत ४ वटा बजेट कम्युनिष्ट अर्थमन्त्रीले प्रस्तुत गरेका छन् भने चुनावअघिको एउटा वजेट पनि कम्युनिष्ट पार्टीकै अर्थमन्त्रीले प्रस्तुत गर्ने अवसर पाएका छन् ।

    आफ्नै पार्टी सरकारमा भएको समयको कामको समिक्षा गरेर त्यसलाई असफल ठहर्याउने सुविधा अर्थमन्त्री शर्मासँग नरहेको विश्लेषण भइरहेको छ । सफल देखाउन पनि उनी चाहँदैनन् । त्यसैले अर्थमन्त्री शर्र्मा नैतिक संकटमा परेका छन् । त्यसो त अध्यादेशमार्फत ओली सरकारले नै बजेट प्रस्तुत गरिसकेकाले पनि शर्माले ल्याउने श्वेतपत्रले खासै महत्व नराख्ने कतिपयको विश्लेषण छ ।

    खतिवडाले रेमिट्यान्समा आधारित आम्दानी र आयातमा आधारित राजश्व नेपालको अर्थतन्त्रको विशेषता भएको बताएका थिए । बेरोजगारी, गरीबी, भ्रष्टाचार, वित्तीय संघीयता कार्यान्वयन र व्यापारघाटा नेपालको अर्थतन्त्रको मुख्य चुनौति भएको भन्दै उनले अर्थतन्त्रको पुर्नसंरचना गर्ने बताएका थिए ।

    खतिवडाको उत्तराधिकारीकारुपमा अर्थमन्त्री बनेका बिष्णु पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि विदा भएका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि अर्थमन्त्री बनेका शर्माले ओली नेतृत्वको सरकारले करिव साँढे तीन वर्षमा गरेका आर्थिक प्रगतिको विवरण समेटर श्वेतपत्र जारी गर्न लागेका हुन् । श्वेतपत्रमा उनले अघिल्ला अर्थमन्त्रीले गरेका कामको समिक्षा र अर्थमन्त्रालयका आगामी कार्यदिशालाई समेटर श्वेतपत्र जारी गर्न लागेका हुन् ।

    अर्थतन्त्र चुनौतिपुर्ण अवस्थामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि चारवटा वजेटहरु प्रस्तुत भएका छन् । जसमध्ये अधिकांश वजेटले लिएको लक्ष्य पुरान हुन सकेको छैन ।

    ओली सरकार आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण करिब डेढ बर्षसम्म मुलुक अस्थिरताबीच गुज्रिदा त्यसको सोझो प्रभाव अर्थतन्त्रमा पर्यो । त्यस्तै बजेट पूर्णरुपमा कार्यान्वयन नहुनुमा कोभिड १९ सबैभन्दा ठुलो कारण बन्न पुगेको छ ।

    कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाले आर्थिक गतिविधिहरु ठप्प बन्न पुगेका थिए । जसका कारण अघिल्लो आर्थिक वर्षको वजेट मार्फत ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएकोमा २ प्रतिशत ऋणात्मक रह्यो ।

    त्यस्तै गत आर्थिक वर्षको ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखिएकोमा ४.०१ प्रतिशतले हुने अनुमान गरिएकोमा बैशाख महिनामा भएको निषेधाज्ञाका कारण उक्त लक्ष्य नभेटिने निश्चित छ । चालू आर्थिक बर्षका लागि सरकारले ६.५ प्रतिशतको आर्थिक बृद्धिदर कायम हुने बताएको छ ।

    खतिवडाले श्वेतपत्रमा उल्लेख गरेनुसार यस अवधिमा नेपालको अर्थतन्त्रको पुर्नसंरचना हुन सकेन । आन्तरिक उत्पादन बढ्न नसक्दा बस्तु आयात तथा ब्यापारघाटामा कमी आएको छैन ।

    वैदेशिक रोजगारी कोभिडका कारण प्रभावित भए पनि रेमिटान्सका आधारमा नै जनताको आम्दानी चलेको छ । सरकारको आम्दानी आयातमा आधारित राजस्वमा नै निर्भर रहेको छ । महामारीका कारण साना, मझौला तथा ठुला उद्योग व्यवसायहरु प्रभावति हुँदा उत्पादन रोजगारी र उपभोग प्रभावित भएका छन् ।

    पर्यटन क्षेत्र तथा यसमा संलग्न व्यवसायी तथा श्रमिकहरुलाई कोभिडले सबैभन्दा बढी प्रभावित बताएको छ । विश्व बैंक, एसियाली बिकास बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदनले नेपालमा गरिबि तथा बेरोजगारीको दर बढेको देखाएका छन् ।

  • अर्थमन्त्रालयमा कार्यसम्पादन सम्झौता, मन्त्री पौडेलले भने- बजेट कार्यान्वयनमा खरो लाग्छु

    अर्थमन्त्रालयमा कार्यसम्पादन सम्झौता, मन्त्री पौडेलले भने- बजेट कार्यान्वयनमा खरो लाग्छु

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै पौडेलले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने बताए ।

    उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास जनाएका छन् ।

    कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न मन्त्री पौडेलले कर्मचारीहरूलाई निर्देशन दिए ।
    अर्थसचिव शिशिरकुमार ढुंगानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ-आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए ।

    राजस्वसचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताए ।

    महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरू पूरा गर्ने बताएका छन् ।

    मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको, आवश्यक निर्देशिकाहरू निर्माण भइरहेको जानकारी दिँदै कार्य सम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास जनाए ।

    कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गरेका थिए । यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरे ।

  • संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

    संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

    निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

    २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी सरकारले दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । सो निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिइने अर्थ मन्त्रालयले जनाएको छ ।

    चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

  • आर्थिक वृद्धिमा राहत कार्यक्रमले टेवा पुग्नेछ : अर्थसचिव ढुंगाना

    आर्थिक वृद्धिमा राहत कार्यक्रमले टेवा पुग्नेछ : अर्थसचिव ढुंगाना

    काठमाडौं । अर्थसचिव शिशिर ढुंगानाले कोभिड-१९ पुनरुत्थानसम्बन्धी पर्याप्त कार्यक्रमहरू सहितको बजेट व्यवस्था गरिएकाले ६.५ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउन सहयोग पुग्ने बताएका छन् ।

    शनिबार सार्वजनिक नयाँ बजेट सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव ढुंगानाले चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भएको आर्थिक क्रियाकलापले पनि उक्त आर्थिक वृद्धिदर भेट्न गार्हो नहुने दावी गरे ।

    बजेट मार्फत खोप खरिदका लागि पर्याप्त बजेट व्यवस्था गरिएकाले महामारीको प्रभाव कम हुनेवित्तिकै अर्थतन्त्रले गति लिने उनको विश्वास छ ।

    ‘कोभिडको प्रभाव कम हुनेवित्तिकै बस्तु तथा सेवाको एकीकृत माग बढ्ने भएकाले उक्त आर्थिक वृद्धि हासिल हुनेछ’, ढुंगानाले भने । कर छुट दिँदैमा राजस्वमा कमी नआउने ढुंगानाको भनाइ छ । कमजोर उद्योग/व्यवसायलाई मात्रै कर छुट दिएको भन्दै उनले भने, ”मन्त्रालयले आवश्यक विष्लेषण गरेर मात्रै करमा छुट दिएको छ’ ।

  • आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान

    आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान

    काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    जसमा आगामी आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै मुद्रास्फिर्ती पनि ६.५ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरिएको छ ।

  • कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्बभन्दा बढीको सहमति

    कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्बभन्दा बढीको सहमति

    काठमाडौं । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ ।

    अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।

    यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

  • नयाँ बजेट : अर्थको सिलिङ अपुग भएको सञ्चार मन्त्रालयको गुनासो (भिडियो)

    नयाँ बजेट : अर्थको सिलिङ अपुग भएको सञ्चार मन्त्रालयको गुनासो (भिडियो)

    काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले नयाँ बजेटका लागि अर्थमन्त्रालयबाट प्राप्त बजेट सिलिङ अपुग भएको जनाएको छ ।

    प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा अर्थसचिव हरिप्रसाद बस्यालले अर्थबाट प्राप्त ७ अर्ब २८ करोड ५१ लाख रूपैयाँको बजेट सिलिङ चालु खर्च समेत धान्न नपुग्ने बताए । मन्त्रालयको चालु खर्च नै ८ अर्ब २९ करोड १० लाख र पूँजीगत खर्च १ अर्ब ८४ करोड १४ लाख रूपैयाँ हुने उनको दाबी थियो ।

    मन्त्रालयको योजना अनुसारका कार्यक्रमका लागि बजेट विनियोजन गर्ने हो भने मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङ्ग भन्दा ५ अर्ब बढी रकम अपुग हुने सचिव बस्यालको भनाइ थियो । ‘मन्त्रालयले हुलाक सेवाका लागि मात्रै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गर्नुपर्ने छ’, उनले भने, ‘ यो रकम हुलाक सेवामा रहेका १८ हजार जनशक्तिको तलब भत्ताका लागि खर्च हुन्छ । यति धेरै खर्च हुने हुलाक सेवाबाट प्राप्त हुने राजस्व रकम भने बजेटको तुलनामा नगन्य हुन्छ ।’

    हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले प्राधिकरण मोडलमा जाने गरी विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाइसकेको छ । यस्तै मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काको प्रक्रियालाई पूरा गरिसकेको पनि सचिव बस्यालले बताए ।

    हालको लागि अन्त:शुल्कको स्टिकर, हुलाक टिकट, लालपुर्जा, सर्टिफिकेट लगायत छाप्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का प्रक्रिया पूरा गरिसकेको छ। यस्तै मन्त्रालयले बनेपामा रहेको आइटी पार्कलाई सेक्यिुरिटी प्रिन्टिङ प्रेस बनाउने र खुमलटारमा रहेको जग्गमा आइटीपार्क बनाउने गरी तयारी गरिएको छ ।

    छलफलमा सांसदहरूले नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पुर्‍याउन र भरपर्दो सेवा दिनेगरी काम गर्न आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

    त्यसबाहेक हुलाक सेवालाई आधुनिक प्रविधिमार्फत व्यवसायिक मोडलमा सञ्चालन गर्ने तर्फ कार्यक्रम बनाउन पनि सांसदहरूले सुझाव दिए ।

  • आर्थिक वर्षको ८ महिना : पुँजीगत खर्च १७ प्रतिशत घट्यो

    आर्थिक वर्षको ८ महिना : पुँजीगत खर्च १७ प्रतिशत घट्यो

    काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा ५ खर्ब ७१ अर्ब रूपैयाँमात्रै बजेट खर्च गरेको अर्थमन्त्रालयले जनाएको छ । जसमध्ये चालु खर्च ४ खर्ब ५५ अर्ब रूपैयाँ , पुँजीगततर्फ ७९ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ५१ करोड खर्च भएको छ ।

    गत बर्षको सोही अवधिको तुलनामा चालु खर्च १.१ प्रतिशतले बढेको छ भने पुँजीगत खर्च १७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ४४.१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कूल विनियोजित बजेटको ३८.७ प्रतिशतमात्रै बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ ४८ प्रतिशत , पँजीगततर्फ २२.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

    राजस्व संकलन भने फागुन महिनासम्ममा गत वर्षको हाराहारीमा नै संकलन भएको छ । कूल राजस्व संकलन गत वर्षको ८ महिनाको तुलनामा ४.५ प्रतिशतले वूद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रूपैयाँ संकलन भएको छ । जसमध्ये कर राजस्व ५ खर्ब २७ अर्ब , गैह्रकर राजस्व ४३ अर्ब ५३ करोड प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । अन्य प्राप्तिसहित सरकारले कुल प्राप्ति ६ खर्ब ३ अर्ब रहेको छ ।

  • बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब

    बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब

    काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला निकायसँग सुझाव मागेको छ ।

    मन्त्रालयले सरोकारवाला संघ, संस्था , बुद्धिजिवि , बिज्ञ , राजनीतिक दल , व्यवसायी , समाजसेवी , कर्मचारी , सञ्चारजगत तथा नागरिकहरुलाई सुझाव बैशाख ५ गते सम्म पठाउन आग्रह गरेको हो।

    अर्थमन्त्रालयको वेवसाइड वा इमेल मार्फत बजेट निर्माण सम्वन्धि सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

  • ७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

    ७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

    काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ७ महिनाको बजेट खर्च तथा राजस्व संकलनबारे जानकारी दिएको छ ।

    सार्वजनिक विवरण अनुसार ७ महिनाको कुल खर्च ४ खर्ब ९९ अर्ब रूपैयाँ छ । जुन अघिल्लो बर्षको तुलनामा २.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८७ अर्ब ९ करोड रूपैयाँ खर्च भएको थियो ।

    समीक्षा अवधिमा चालु खर्च ११.२ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब ६३ करोड पुगेको छ । पुँजीगत खर्च भने १८.७ प्रतिशतले घटेको छ ।

    ७ महिनाको अवधिमा ६२ अर्ब ८४ करोड रूपैंयाँमात्रै खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ पनि ३१.७ प्रतिशतले घट्दै ३० अर्ब ११ करोड रूपैयामात्रै खर्च भएको छ ।

    माघ मसान्तसम्म कुल विनियोजित बजेटको ३३.९ प्रतिशत खर्च भएको छ । जसमध्ये चालु खर्च विनियोजित बजेटको ४२.९ प्रतिशत , पुँजीगत खर्च १७.८ प्रतिशत र बित्तीय व्यवस्थातर्फ १७.४ प्रतिशत खर्च भएको छ ।

    गत आर्थिक बर्षको सोही अवधिमा कुल बजेट खर्च ३१.८ प्रतिशत भएकोमा चालूतर्फ ३८.२ प्रतिशत , पुँजीगत तर्फ १८.९ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ २६.२ प्रतिशत खर्च भएको थियो ।

    राजस्व संकलन

    राजस्व संललनतर्फ ७ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ६२ करोड रूपैयाँ संकलन भएको छ ।

    जसमध्ये कुल राजस्व ४ खर्ब ५८ अर्ब १० करोड गैरकर ४० अर्ब ४२ करोड रूपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रूपैयाँ रहेको छ ।

    भन्सार राजस्व

    सरकारले चालु आर्थिक बर्ष भन्सारमार्फत १ खर्ब ९३ अर्ब ५५ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले माघ महिनासम्मा १ खर्ब १२ अर्ब रूपैयाँ भन्सारमार्फत राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य नजिक ९६.५२ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रूपैयाँ संकलन गरेको छ । गत आर्थिक बर्षको तुलनामा भन्सार मार्फत संकलन हुने राजस्व २१.०८ प्रतिशतले बढी हो ।

    मूल्य अभिवृद्धि कर

    सरकारले चालु आर्थिक वर्ष मुल्यअभिवृद्धि करमार्फत ३ खर्ब २ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो भने माघ महिनासम्ममा १ खर्ब ६९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य थियो । जसमध्ये सात महिनाको अवधिमा १ खर्ब ५० अर्ब अर्थात लक्ष्यको ८८.७५ प्रतिशत संकलन भएको मन्त्रालयले जानकारी दिएको छ ।

    अन्तशुल्क

    चालु आर्थिक वर्षका लागि सरकारले अन्तशुल्कमार्फत १ खर्ब ५५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये ७ महिनाको अवधिका लागि ८५ अर्ब ६२ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य तय भएको थियो । जसमध्ये माघ महिनासम्ममा लक्ष्यको ८४.६८ प्रतिशत अर्थात कुल ७२ अर्ब ५० करोड रूपैयाँ संकलन भएको छ ।

    आय कर

    सरकारले चालु आर्थिक वर्षका लागि आयकरमार्फत २ खर्ब ३८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो सात महिनाका लागि १ खर्ब २० अर्ब ५९ करोड रूपैयाँको संकलन गर्ने लक्ष्य तय भएको थियो । उक्त अवधिमा आयकर कुल १ खर्ब १५ अर्ब अर्थात ९५.७४ प्रतिशत संकलन भएको छ ।

    त्यस्तै यसबाहेक ब्याजतर्फको कर सरकारले यो आर्थिक बर्षका लागि २३ अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । पहिलो ७ महिनामा ब्याजबाट प्राप्त हुने करको १६ अर्ब २१ करोड रूपैयाँ लक्ष्य लिएकोमा ९८.८९ प्रतिशत अर्थात १६ अर्ब १ करोड रूपैयाँ संकलन भएको छ ।

    गैरकरमार्फत सरकारले चालु आर्थिक वर्षका लागि ९८ अर्ब ८० करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो सात महिनामा ४० अर्ब ४२ करोड रूपैयाँ संकलन भएको छ ।

    सरकारले यस्तो कर ७ महिनामा ४९ अर्ब ६ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको ८२.३९ प्रतिशतमात्रै संकलन भएको छ ।

  • नयाँ बजेट : पुरानै आयोजनालाई निरन्तरता दिन अर्थको आग्रह (भिडियो)

    नयाँ बजेट : पुरानै आयोजनालाई निरन्तरता दिन अर्थको आग्रह (भिडियो)

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न विभिन्न बिषयगत मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

    उक्त कार्यक्रम बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्माले सकेसम्म नयाँ आयोजना थप नगर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

    पुराना आयोजनाहरू नै सम्पन्न हुन नसकिरहेको अवस्थामा नयाँ आयोजना थप गर्नुको कुनै औचित्य नहुने शर्माले बताएका छन् । नयाँ आयोजना थप गर्नुभन्दा पनि नयाँ आयोजनाबारे अध्ययन गर्न उनले विषयगत मन्त्रालयहरूलाई सुझाएका छन् ।

  • अर्थमन्त्रालयका सहसचिव हेरफेर, भन्सार विभागका महानिर्देशक अर्थमन्त्रालय तानिए

    अर्थमन्त्रालयका सहसचिव हेरफेर, भन्सार विभागका महानिर्देशक अर्थमन्त्रालय तानिए

    काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत रहेका महाशाखा तथा विभागका कर्मचारीको सरुवा गरिएको छ । यसअघिका भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्क महाशाखामा तानिएको छ।

    मन्त्रालयका आर्थिक नीति तथा विष्लेषण महाशाखा प्रमुख यमलाल भुसाल भन्सार विभागको महानिर्देशकको जिमेवारी दिइएको छ । त्यस्तै, डा रामप्रसाद घिमिरेलाई आर्थिक नीति तथा विष्लेषण महाशाखामा ल्याइएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, एयरपोर्ट भन्सारमा लक्ष्मीप्रसाद निरौला, आन्तरिक राजस्व विभागका उपनिर्देशकमा आनन्द काफ्ले र शम्भु मरासैनीलाई सरुवा गरिएको अर्थमन्त्रालयले जनाएकाे छ । यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख झक्क प्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरिएको थियो ।

  • निर्वाचन रोकिएपछि अर्थको भार घट्यो, आयोगले खर्च गरिसकेको मात्रै पैसा पाउने

    निर्वाचन रोकिएपछि अर्थको भार घट्यो, आयोगले खर्च गरिसकेको मात्रै पैसा पाउने

    काठमाडौं । सरकारले घोषणा गरेको निर्वाचन सर्वोच्च अदालतले बदर गरेसँगै अर्थमन्त्रालय ठूलो आर्थिक भारबाट मुक्त भएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब रूपैयाँ बजेट माग गरेको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले मागेको बजेटका लागि स्रोत व्यवस्थापन भएको बताएका थिए । चालु खर्च कटौती गरेर निर्वाचनका लागि बजेट छुट्याइएको उनको भनाइ थियो ।

    सर्वोच्च अदातलको हिजो निर्णयले अब मुलुकमा चुनाव नहुने भएपछि उक्त रकम के हुने हो भन्ने चासो व्यक्त भइरहेको छ । अर्थमन्त्रालयले ७ अर्ब बजेट निकासा भने दिएको छैन ।

    निर्वाचन आयोगको निर्देशिकामामात्रै सहमति जनाएको मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनिराम शर्माले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

    ‘बजेट निकासा दिएको होइन, निर्वाचन आयोगको निर्देशिकामा हामीले सहमति दिएको हो । निर्वाचन आयोगले गरेका र भएका केही खर्च दिनुपर्छ,’ उनले भने ।

    अर्थले सहमति दिइसकेको विषयभित्र निर्वाचन आयोगले गरेको खर्चलाई भुक्तानी दिनुपर्ने उनको भनाइ छ ।

    ‘७ अर्बमध्ये तत्काल करिव ३२ करोड रुपैयाँको माग गरेको थियो । आयोगले सिर्जना गरेका खर्चको दायित्वको भुक्तानी अर्थमन्त्रालले दिन्छ । त्योबाहेक दिनुपर्दैन’ शर्माले भने ।’

    बजेटका लागि सहमति दिने र निकासा दिने फरक विषय भएको उनी बताउँछन् । चैत्र १५ भित्र अर्थमन्त्रालयले खर्च नहुने बजेट ‘सरेण्डर’ गर्नुपर्ने हुन्छ । र त्यही खर्च नहुने शिर्षकका आधारमा आयोगलाई बजेट दिने तयारी गरेको अर्थमन्त्रालले जानकारी दिएको छ ।