Tag: अमेरिकी राष्ट्रपति जो बाइडेन

  • अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव

    अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलोपटक आज अमेरिकी सदनका दुबै सत्रलाई सम्बोधन गरेका छन् । कार्यभार सम्हालेको सयदिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले सम्बोधन गरेका हुन् ।

    रोजगारी, शिक्षा र सामाजिक कल्याणको क्षेत्रमा वृहत लगानी गर्ने योजनाहरु बाइडनले सार्वजनिक गरेका छन् । विश्लेषकका अनुसार बाइडेनले ४ ट्रिलियन डलरको खर्च प्रस्ताव गरेका हुन् ।

    उनले यसलाई ‘अमेरिकाले आफ्नो पुस्ताका लागि गरेको अहिलेसम्मकै बृहत लगानी’ भनेका छन् । तर, उनको यो प्रस्तावलाई विपक्षी दल रिपब्लिकनले भने विरोध गरेको छ ।

    रिपलिब्कन सांसद टीम स्कटले यसलाई ठूलो सरकारी खर्च दुरुपयोग गर्ने डेमोक्र्याटको चाहना भएको भन्दै विरोध जनाएका छन् । झिनो बहुमतको अन्तर भएको अमेरिकी संसदमा बाइडेनको यो प्रस्तावले कानूनी मान्यता पाउन चाहिँ संसदको सामना गर्नुपर्ने हुन्छ ।

    नेपाली समयानुसार विहिबार विहान भएको उक्त राष्ट्रपति सम्बोधनको क्रममा उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नेन्सी पेलोसी राष्ट्रपति बाइडेनको पछाडि उभिएका थिए । राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधन गर्ने बेला महिला कार्यकारी उभिएको यो पहिलो क्षण भएको जनाइएको छ ।

    आफूले जनवरीमा सत्ता सम्हाल्नु अगाडि मुलुक ठूलो संकटमा रहेको बाइडेनले बताए । ‘शताब्दीकै खराब महामारी, ग्रेट डिप्रेसन पछाडिको ठूलो आर्थिक संकट र गृहयुद्धपछि लोकतन्त्रमाथिको सबैभन्दा ठूलो आक्रमण यही बेला भयो’ उनले भने ।

    तर, उनले आफ्ना सामु धेरै काम गर्नुपर्ने चुनौति रहेको समेत बताए । बलियो अप्रुभल रेटिङ र दुबै संसदमा डेमोक्र्याट्सको बलियो उपस्थिती भैरहँदा बाइडेनले रोजगारी र पारिवारिक योजना प्रस्तुत गरेका हुन् । ठूला ब्यापारिक संस्थान र धनी अमेरिकीहरुलाई कर वृद्धि गरेर प्राप्त रकमलाई ती योजनामा लगाइने बाइडेनको योजना छ ।

    ‘हामीले लोकतन्त्र र सरकारले काम गर्छ भन्ने प्रमाणित गर्नुपर्नेछ । जसले गर्दा लोकतन्त्रले राम्रो परिणम दिन सकोस्’ उनले भने ।

    तीनदेखि चार वर्षे उमेरका अमेरिकी शिशुलाई निःशुल्क शिक्षा दिने योजना समेटिएको परिवार योजना पनि उनले प्रस्तुत गरे । राष्ट्रपति बाइडेनले सामाजिक सुधारबारे पनि चर्चा गरे । ‘बन्दुकको हिंसा, अध्यागमन र जातिय असमानताबारे पनि सरकार गम्भिर छ’ बाइडेनले उल्लेख गरे ।

    बाइडेन आफ्नो परराष्ट्र नीति केही कडारुपमा प्रस्तुत भए । उनले खासगरि चीन र रुसको नाम लिएरै आफ्ना साझेदार र गठबन्धन मुलुकको हितका लागि अमेरिका अडिग हुने बताए ।

  • अमेरिका नेपालसँग मिलेर काम गर्न इच्छुक : राष्ट्रपति बाइडेन

    अमेरिका नेपालसँग मिलेर काम गर्न इच्छुक : राष्ट्रपति बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली राजदूत युवराज खतिवडाको ओहोदाको प्रमाणपत्र बुझेका छन् ।

    वासिङ्टनस्थित नेपाली राजदूतावासले जारी गरेको वक्तव्यमा राष्ट्रपति बाइडेनले कोरोनाभाइरस महामारीको कारण भौतिक उपस्थितीमा नभई विदेश मन्त्रालयबाट प्रमाणपत्र बुझेको उल्लेख छ ।

    प्रमाणपत्र बुझ्दै राष्ट्रपति बाइडेनले साझा चासोका विषयमा दुई मुलुक मिलेर अगाडि बढ्ने र द्धिदेशीय सम्बन्धलाई थप बलियो बनाउने इच्छा व्यक्त गरेको वक्तव्यमा उल्लेख छ ।

    बाइडेनले वासिङ्टन डीसीको मिसनका रुपमा नवनियुक्त राजदूत खतिवडालाई स्वागत गरेको जनाइएको छ । जवाफमा राजदूत खतिवडाले राष्ट्रपति बाइडेनलाई कार्यकालको शुभकामना दिएको र दुई मुलुक मिलेर अगाडि बढ्नुपर्ने चाहना व्यक्त गरेको जनाइएको छ ।

  • राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

    राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए। निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोनाभाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ ।

    कोभिड-१९ को असरबाट मुलुकका नागरिक र अर्थतन्त्र जोगाउने एउटा प्रमुख चुनौती त छँदैछ अझ अमेरिकी समाजभित्र जन्मिएको जातीय विभाजनका रेखालाई निस्तेज बनाएर यथार्थपरक र विश्वासिलो एकताको सन्देश दिनुपर्ने अवस्था छ । अमेरिकी प्रेस, नागरिक समाज र स्वतन्त्र पर्यवेक्षकका सार्वजनिक भइरहेका विचारहरु हेर्दा र पढ्दा लाग्छ अमेरिकी समाजलाई सुझबुझपूर्ण, जिम्मेवार र परिपक्व नेतृत्वको खाँचो परिसकेको छ ।

    यही सेरोफेरोमा बाइडेनले कार्यभार सम्हालेको तीन दिनभित्रै ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी संचार माध्यम सिएनएनका अनुसार ती आदेशमध्ये सबैभन्दा बढी कोरोनाभाइरससँग सम्बन्धित छन् । कोरोनाभाइरसँग सम्बन्धित १४ वटा आदेशमा कोभिड–१९ विरुद्धको भ्याक्सिनको उत्पादन र वितरणलाई तिब्रता दिने, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को उत्पादन बढाउने, कोरोना परीक्षण केन्द्रहरु व्यापक बनाउने, कोरोनाभाइरससँग सम्बन्धित तथ्याँकीय विवरण अनुसन्धानका लागि सर्वसुलभ बनाउने, सामुदायिक खोप केन्द्रलाई सशक्त बनाउने, विद्यालयहरुलाई जतिसक्दो चाँडो सुरक्षित तवरबाट खुला गर्ने, विमानस्थल समेतका सबै सरकारी संयन्त्रहरुमा मास्क अनिवार्य गर्ने, अमेरिका भ्रमण गर्नेहरुले कोरोना नभएको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने तथा अमेरिकी नागरिकलाई १०० दिनसम्म मास्क अनिवार्य लगाउन अनुरोध गर्नेसम्मका रहेका छन् ।

    यसबाहेक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्धन तोड्न यसअघि गरेको निर्णय बदर गर्दै संगठनको बैठकमा अमेरिकी संक्रामक रोग विज्ञ एन्थनी फाउचीलाई अमेरिकी सरकारको प्रतिनिधिमण्डलको नेतृत्व गर्न तोक्ने कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन्।

    चारवटा कार्यकारी आदेश अर्थतन्त्रसँग सम्बन्धित रहेका छन् । प्राप्त समाचार अनुसार डेमोक्रेट पार्टीको पहिल्यैदेखिको नीति बमोजिम प्रत्येक कामदारको प्रति घण्टा न्यूनतम ज्याला १५ डलर बनाउने योजना सफल बनाउने एक आदेशमा पनि हस्ताक्षर गरिएको छ । साथै, खाद्यान्नको जोहो गर्न मुश्किल परिरहेका परिवारलाई राहत दिने, अमेरिकी उद्योग व्यवसाय तथा अमेरिकी विद्यार्थीले लिएको ऋण तिर्ने भाखा थप गर्ने आदेश पनि जारी भएका छन् ।

    पूर्वराष्ट्रपति ट्रम्पले लगाएका कतिपय प्रावधान पनि बाइडेनले कार्यकारी आदेशबाट उल्ट्याइ दिएका छन् । राष्ट्रिय जनगणनामा गैरअमेरिकी नागरिकलाई पनि सामेल गरिने नयाँ बन्तोबस्त गरिएको छ । अर्कोतिर, सातवटा मुस्लिम बहुल राष्ट्रबाट अमेरिका प्रवेशका लागि भिसा लिइसकेका व्यक्तिलाई अमेरिका प्रवेशमा यसअघि ट्रम्प प्रशासनले लगाएको रोक हटेको छ ।

    ट्रम्प प्रशासनको सर्वाधिक चर्चित मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने योजना खारेज भएको छ भने अद्यागमनका अस्थायी शिविरमा आप्रवासी व्यक्तिलाई पक्राउ गरेर राख्ने ट्रम्प प्रशासनको आदेश पनि खारेज गरिएको छ । अर्को सर्वाधिक महत्वपूर्ण आदेशमा पेरिस जलवायु सम्झौतामा अमेरिकाको पुनः प्रवेश हो । सन् २०१९ मा पूर्व राष्ट्रपति ट्रम्पले औपचारिक रुपमै पेरिस सम्झौताबाट अमेरिका अलग भएको सूचना दिएका थिए ।

    जलवायुमा असर पर्ने भन्दै अमेरिकामै विरोध भइरहेको कीस्टोन एक्सएल पाइपलाइन बिछ्याउने ट्रम्प प्रशासनको आदेशलाई पनि बाइडेनले खारेज गरेका छन् । सन् २०१० मा आरम्भ गरिएको यो परियोजना सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले खारेज गरेका थिए ।

    तर राष्ट्रपति ट्रम्पले यो योजनाबाट रोजगारी सिर्जना हुने र तेलमा मुलुक आत्मनिर्भर हुने भन्दै परियोजना पुनः शुरु गर्न आदेश दिएका थिए । क्यानाडाको अल्बर्टादेखि अमेरिकाको नेब्रास्कासम्मको करिब १ हजार ९०० किलोमिटर लामो यो पाइपलाइनले वातावरणमा असर पार्ने भन्दै अमेरिकामै विरोध भइरहेको थियो । यो पाइपलाइनबाट दैनिक ८ लाख ३० हजार ब्यारेल तेल ओसार्न सकिन्छ ।

    कार्यकारीको सूचीमा समेटिएका विषयहरुमध्ये मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने, आप्रवासीको व्यवस्थापन गर्ने, प्रतिघण्टा ज्याला १५ डलर पु¥याउने, जलवायू सम्बन्धी पेरिस सम्झौतामा अमेरिका पुनः सहभागी हुने तथा डब्लुएचओमा पुनः समावेश हुने निर्णयहरु राष्ट्रपति निर्वाचन अभियानकै क्रममा बाइडेनले व्यक्त गर्नु भएका प्रतिबद्धताहरु हुन् ।

    अमेरिकी दुबै सदनमा डेमोक्रेट पार्टीको झिनो भएपनि बहुमत भएकै कारण पनि यी कार्यकारी आदेशको कार्यान्वयनमा बाइडेनलाई सहज हुनेछ । ट्रम्प प्रशासनका नीतिहरुले अमेरिकालाई नै “व्यापक क्षति पुर्‍याएको” निष्कर्षमा पुगेको बाइडेन प्रशासनले यी कार्यहरु नगर्दा अमेरिकाभित्रै र विश्वमा अमेरिकाको छवि कमजोर बन्दै गएको बताएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

    पूर्व राष्ट्रपति ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाका कतिपय नीति, सन्धि र कार्यक्रम पनि कार्यकारी आदेशबाट खारेज गरेका थिए । तर ट्रम्पका कार्यकारी आदेश विरुद्ध अदालतमा मुद्दा परेका थिए, र ट्रम्पका कैयौं आदेश अदालतले रोकिदिएको थियो । अहिले बाइडेनले जारी गरेका आदेशमाथि पनि अदालती परीक्षण हुन सक्ने वासिङ्टनस्थित एक वकील जोन एलउडले बताए ।

    राष्ट्रपति बाइडेनका कार्यकारी आदेश सार्वजनिक भएलगत्तै रिपब्लीकनको बर्चश्व रहेको टेक्सास राज्यका महान्यायाधीवक्ता केन प्याक्स्टनले ट्वीट गर्दै भनेका छन्, “हामी राष्ट्रपतिका असंवैधानिक र गैरकानुनी आदेशको प्रतिबाद गर्नेछौं ।” यसअघि ट्रम्प प्रशासनद्वारा जारी कार्यकारी आदेशको अदालती परीक्षणमा मिश्रित नतिजा मात्र प्राप्त भएको सन्दर्भमा अहिले बाइडेन प्रशासनद्वारा जारी भएका आदेशको दिर्घकालीन प्रभावलाई विचार गरेर अदालतले निर्णय दिन सक्ने अमेरिकी अखबार वासिङटन पोस्टले लेखेको छ ।

    अमेरिकी प्रशासनिक कामकारबाही नजिकबाट नियालेको लामो अनुभव बोक्नु भएका राष्ट्रपति बाइडेनले अमेरिकी संसदमा दुबै दलका नेताहरुलाई सहमतिमा ल्याएर अघि बढे अमेरिकी समाजलाई एकताबद्ध बनाएर अमेरिका र विश्वमै नयाँ सन्देश प्रवाह हुन सक्नेछ ।

    कार्यकाल शुभारम्भका केही दिनहरु बाइडेनले देशभित्रै उत्पन्न संकटका बारेमा अल्मलिए पनि केही दिनभित्रै आफ्ना मन्त्रिपरिषदका सदस्यहरुको औपचारिक नियुक्ती भएपछि विदेश कुटनीति, अन्तर्राष्ट्रिय आर्थिक तथा रणनीतिका बारेमा छलफल हुनेछ । विश्वका नेताहरुले बाइडेनलाई बधाई दिँदै परिपक्व नेताबाट स्थिर र परिपक्व विदेश नीति अबलम्बन हुने अपेक्षा गरेका छन् ।

  • बाइडेनले लिए ४६ औं राष्ट्रपतिको सपथ, भन्छन्- अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

    बाइडेनले लिए ४६ औं राष्ट्रपतिको सपथ, भन्छन्- अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

    काठमाडौं । ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिए ।

    पहिलो अश्वेत एवं दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिसले पनि सपथ ग्रहण गरिन् । बाइडेनले २०० वर्ष पुरानो बाइबलमा हात राखेर सपथ लिए । ह्यारिसले २ वटा बाइबल छोएर सपथ लिइन् ।

    सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बाइडेनले अनेकौं चुनौतिको बीचबाट पुनः नयाँ अमेरिकाको उदय हुने बताए । ‘यो प्रजातन्त्रको दिन हो । यो इतिहास र आशाको दिन हो । यो नवीकरण र समाधानको दिन हो’ बाइडेनले भने ।

    ‘जनताको अभिमत सुनिएको छ । जनताकै इच्छाअनुसार अमेरिका अघि बढ्छ । हामीले लोकतन्त्र महंगो छ भन्ने कुरा पुनः सिक्यौं । लोकतन्त्र जीवन्त हुन्छ भन्ने बुझ्यौं । मेरा प्रिय साथीहरु, यो समयमा लोकतन्त्र पुनः जीवित भएको छ’ बाइडेनले भने ।

    आफूले भोट नदिने अमेरिकी नागरिकको पनि आफू राष्ट्रपति भएको बाइडेनले बताए । ‘म सबै अमेरिकीको राष्ट्रपति बन्न चाहन्छु । मलाई भोट दिनेको मात्र होइन, भोट नदिनेको पनि म राष्ट्रपति बन्न चाहन्छु’ उनले भने, ‘म सबै पार्टीका प्रतिनिधिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    कोरोनाभाइरस महामारी अमेरिकाको लागि ठूलो चुनौति भएको बताउँदै बाइडेनले भाइरसलाई परास्त गर्नको लागि सबै एकजुट हुनुपर्ने खाँचो औंल्याए । भाइरसबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाइडेनले मौन धारण पनि गरे । भाइरसलाई जितेर बालबालिकालाई चाँडै स्कुल पठाउने दिनको प्रतीक्षामा आफू रहेको उनले बताए ।

    पहिलो विश्वयुद्धमा भन्दा भाइरसले गर्दा बढीको मृत्यु भएको बताउँदै उनले भाइरसले भित्रभित्रै समस्या सिर्जना गरेको बताए । अमेरिकाले आज खेपिरहेको अभूतपूर्व चुनौतिविरुद्ध सबै अमेरिकी एकजुट हुनुपर्ने समेत उनले बताए । विभाजन हुने समय सकिएको भन्दै उनले एकताको लागि आह्वान समेत गरे ।

    सपथ ग्रहण मञ्चबाटै बाइडेनले विश्व समुदायलाई पनि सन्देश दिए । ‘हाम्रो सीमाभन्दा बाहिर पनि मेरो सन्देश छ । अमेरिका धेरै परिक्षणबाट गुज्रियो । अब बलियो भएर आउनेछ । हामी हाम्रा साझेदार मुलुकसँग पनि मिल्नेछौं र विश्वसँग पुनः एक हुनेछौं’ उनले भने । यो अभिव्यक्तिलाई बाडडेन प्रशासनको आगामी परराष्ट्र नीतिको संकेतको रुपमा हेरिएको छ ।

    
    
    

    ‘हामी शक्तिशाली छौं भन्ने उदाहरण देखाएर होइन, बरु हाम्रो उदाहरणलाई शक्ति मानेर विश्वलाई पुनः नेतृत्व गर्नेछौं’ बाइडेन भन्छन्, ‘हामी शान्ति, विकास र सुरक्षाको लागि एउटा भरपर्दो मित्र बन्न चाहन्छौं ।’

    कोभिड–१९ को कारण सीमित पाहुना समारोहमा उपस्थित थिए । पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बिल क्लिन्टन, बाराक ओबामा र उनीहरुका पत्नी पनि सहभागि थिए । पपगायिका लेडी गागाले अमेरिकी राष्ट्रिय गीत गाइन् । जेनिफर लोपेजले पनि प्रस्तुति दिइन् । कवियत्री अमान्डा गोरम्यानले अमेरिकी आशावादिता झल्काउने कविता बाचन गरिन् ।

    समारोहमा कमल ह्यारिसका पति डग एमोफलाई मुलुककै फस्ट सेकेन्ड जेन्टलम्यानको रुपमा परिचय गराइएको थियो । कन्ट्री म्युजिक स्टार गार्थ ब्रुक्सले अमेजिङ ग्रेस बोलको गीत गाए ।

    तर, सपथ ग्रहण समारोहमा डोनाल्ड ट्रम्प उपस्थित नभएपनि उनको प्रशासनका उपराष्ट्रपति माइक पेन्स भने उपस्थित थिए । उनले बाइडेन र ह्यारिसलाई बधाइ समेत दिए । ट्रम्प भने सपथ ग्रहण समारोहको केही घन्टा अगाडि ह्वाइट हाउसबाट बिदा भएर फ्लोरिडाबाट लागेका छन् । केही मिडियाका अनुसार ट्रम्पले सन् २०२४ मा पुनः राष्ट्रपतिय चुनाव लड्ने गरि ‘प्याट्रिअटिक पार्टी’ गठनको तयारी थालेका छन् ।

     

    सीमित पाहुनाको उपस्थितीमा क्यापिटल हिल अगाडिको कौसी र चौरमा सपथ ग्रहण कार्यक्रम गरिएको थियो । दुई साता अगाडि ट्रम्प समर्थकले संसद भवनभित्रै हिंसा मच्चाएपछि अहिले वासिङट्नमा संकटकाल लागु गरिएको छ । समारोहमा उपस्थित भएका राष्ट्रपति बाइडेनदेखि सबै सहभागिले मास्क लगाएर तथा सामाजिक दूरी समेत पालना गरेको देखिएको थियो ।

    सामाजिक संजाल ट्वीटरले बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको आधिकारिक खाता हस्तान्तरण गरेको छ । बाइडेनको ट्वीटर खातामा जिरोबाट फलोअर्स सुरु भएको छ । ह्यारिसले सेवाका लागि तयार भन्दै उपराष्ट्रपतिको ह्यान्डलबाट पहिलो ट्वीट गरेकी छिन् ।