Tag: अब्दुल्लाह अल्मुताइरी

  • एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने- समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू ?

    एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने- समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू ?

    काठमाडौं । खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।

    कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

    खेलाडी र प्रशिक्षक दुबैले एक अर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् ।

    यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो ईश्युलाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

    एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का , कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिती बैठक बोलाउन आग्रह गरेका छन् ।

    खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

    एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सन्जालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

    ुसमस्यासँग भागेर समाधान हुन्छ र ? अध्यक्ष ज्यु? आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

    यस्तै उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । ‘चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो,‘उनले भनेका छन् ।

    यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यहि विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुद मन्त्रीलाई भेटेका थिए ।

     

  • प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन तयार

    प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन तयार

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन् । गत चैतमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका अब्दुल्लाहको नेतृत्वमा नेपाल हालै पहिलोपटक साफ च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो ।

    यद्यपि, मैदानबाहिरका विभिन्न कारणले विवादित र सर्वत्र चर्चाको शिखरमा रहेका अब्दुल्लाले माल्दिभ्सबाट नेपाल नफर्किने बताएका थिए । बंगलादेशविरुद्धको बराबरीसँगै नेपाललाई इतिहासमै पहिलो पटक साफको फाइनलमा पुर्‍याएका अब्दुल्लाहले पत्रकार सम्मेलनमा आक्रोशित हुँदै नेपालबाट फाइनल नै अन्तिम खेल हुने घोषणा गरेका थिए ।

    र, सोमाबार बिहान नेपाली टोली साफको उपविजेता बनेर स्वदेश फर्किँदा अब्दुल्लाह आएनन् । अहिले कतारमा रहेका अब्दुल्लाहसँग अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षलगायतले कुराकानी गरेसँगै उनी नेपाल फर्किन सकारात्मक देखिएका हुन् ।

    ‘आजको छलफलपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन्’ अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल प्रेससँग भने, ‘नेपाल आउँछु भनेका छन् ।’

    नेपालको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै आफ्नो प्रमुख लक्ष्य नेपाललाई साफ च्याम्पियनसीपको फाइनलमा पुर्‍याउने रहेको बताएका थिए । र, पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई उसैको मैदानमा हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै फाइनलमा पुगेको पनि थियो ।

    आफ्ना प्रमुख लक्ष्यमा नेपाललाई एसियन कपमा छनोट गराउनेसमेत रहेको अब्दुल्लाहले बताएका थिए । नेपाल अहिले एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा छ । नेपाली टोलीमा रहेका खेलाडीबाट १३ खेलाडी परिवर्तन गर्दै युवा खेलाडीलाई मौका दिएका अल्मुताइरीको नेतृत्वमा नेपालको गोल गर्ने क्षमतामा स्पष्ट सुधार आएको देखिन्छ । र, उनको नेतृत्व नेपाली टोलीले पनि मन पराइरहेका छन् ।

    साफ च्याम्पियनसीप खेलेर नेपाल फर्किँदै गर्दा नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ लगायतका खेलाडीले विमानस्थलमा प्रशिक्षक अब्दुल्लाह फर्किए आफूहरू खुसी हुने प्रतिक्रिया दिएका थिए ।

     

    यसअघि अब्दुल्लाहले भविष्यबारे केही निश्चित नभइसके पनि समर्थकलाई ठूलो सरप्राइज हुन सक्ने बताएका थिए ।

    ‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ,’ उनले भनेका थिए, ‘अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’

    पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको र त्यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको बताउँदै उनले आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने विचार गर्ने सुनाएका थिए ।

    ‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु’ उनले भनेका, ‘भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’

    तर त्यसका लागि समर्थकले प्रतीक्षा गर्नुपर्ने उनले बताएका थिए ।

    र, बुधबार नै एन्फा अध्यक्ष शेर्पाले फेसबुकमा अब्दुल्लाहसँगको तस्वीर पोस्ट गर्दै लेखेको क्यापसनले पनि सकारात्मक सन्देश दिएको छ ।

    ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई खेलाडीहसँगै सबै स्टाफलाई माया गर्ने बताएका थिए ।

    ‘म सबै नेपालीलाई माया गर्छु । म नेपालीलाई के भन्न चाहन्छु भने उनीहरु म मेरो अन्तिम अवस्थासम्म नेपाललाई माया गरिरहन्छु भन्नेमा सतप्रतिशत निश्चिन्त हुनुपर्छ,’ उनले भनेका थिए, ‘नेपाली समर्थकले आफूलाई समर्थन र एकदमै माया गरेकाले आफूले सधैं नेपाललाई माया गरिरहने छु ।

    तस्वीरहरू: एन्फा ।

  • फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो : प्रशिक्षक अब्दुल्लाह (भिडिओ)

    फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो : प्रशिक्षक अब्दुल्लाह (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आफू र नेपालमाथि अन्याय गरेको बताएका छन् ।

    समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई टच लाइनमा प्रतिबन्ध लगाएको छ । यद्यपि, साफको प्रतियोगिता नियमावलीमा खेलाडीबाहेक अफिसियलको हकमा त्यो उल्लेख नभएको भन्दै प्रशिक्षक अब्दुल्लाहले आलोचना गरेका छन् ।

    प्रतियोगिताको १३औं संस्करणमा प्रशिक्षक अब्दुल्लाहले नेपाललाई इतिहासमै पहिलो पटक फाइनलमा पुर्र्याएका छन् । र शनिबार राति पौने ९ बजे नेपालले निकटतम प्रतिद्वन्दी भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    यसअघि माल्दिभ्सविरुद्धको खेलका दौरान रातो कार्डको सामना गरेका भारतीय प्रशिक्षक इगोर स्टिम्याकभने स्वतः आजको खेलमा टच लाइनमा हुने छैनन् । यद्यपि, प्रतियोगिता नियमावलीमा भने खेलाडीबाहेक अन्य अफिसिलयको हकमा दुई फरक खेलमा पहेँलोका कार्ड पाउँदा प्रतिबन्ध हुने उल्लेख छैन ।

    साफले नेपाली प्रशिक्षकलाई हुँदै नभएको निमय लगाएर अन्याय गरेको र भारतीय टोलीसँग सन्तुलन बनाउनका लागि आफूलाई प्रतिबन्ध लगाएको मुख्य प्रशिक्षक अब्दुल्लाहको आरोप छ ।

    ‘भारतीय प्रशिक्षक नभएर मलाई पनि बाहिर राख्न खोजिएको छ,’ अब्दुल्लाहले भने, ‘यदि आफैँले नियम बनाएर नमान्ने हो भने नियम किन बनाउने ?’ ‘उनीहरु मसँग रिसाएका हुन सक्छन्,’ शनिबार आयोजित भर्चुअल पत्रकार सम्मलेनमा अब्दुल्लाहले भने, ‘नेपालको रिजल्टबाट उनीहरु खुशी नहुन सक्छन् । तर म चुप बस्दिन, एएफसीसँग मिटिङ गर्छु ।’

    अब्दुल्लाले आफू र नेपालमाथि अन्याय भएकाले आफू चुप नबस्ने चेतावनी दिँदै भने– ‘अब्दुल्लाह अल्मुताइरी नभए पनि नेपाली टोलीले नतिजाका लागि फाइट गर्छ । मलाई लाग्छ उनीहरू (साफ पदाधिकारी)लाई नेपालले नजितोस् भन्ने लाग्छ । मलाई त्यो महसुस भइरहेको छ ।’

    प्रशिक्षक अब्दुल्लाहले फुटबल खेल फिल्डमा हुनुपर्ने र बाहिर विभिन्न तनाव दिएर खेलिनु नहुने बताए । ‘उनीहरुसँग भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई पनिस गर्ने ?’ उनले भने, ‘मेरो एउटा प्रश्न– बंगलादेशविरुद्धको खेलपछि बंगलादेशीले रेफ्रीमाथि आक्रमण गरेका थिए । उनीहरुलाई के सजाय भयो ?, तर उनीहरुले मलाई पनिस गरे किनभने उनीहरु भारतले जितोस् भन्ने चाहन्छन् ।’

    ‘यदि उनीहरु खेलको सम्मान गर्न सक्दैनन् भने फुटबल किन रुल गर्छन् ?,’ अब्दुल्लाहले भने, ‘साफले अब्दुल्लालाई मात्रै सस्पेन्ड गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई सस्पेन्ड गरेको हो ।

    प्रतियोगिता नियमावलीमा उल्लेख नै नभएको कारण देखाएर आफूलाई कारबाही गरेपछि अब्दुल्लाले आफू चुप बसे अर्को प्रतियोगितामा १० जना खेलाडी बाहिर भन्ने बाँकी नराख्ने बताए ।

    ‘म चुप बस्दिन, म कोर्टमा जान्छु… फिफा र एएफसीमा निवदेन पठाउँछु । किनभने उनीहरुले जे गरे त्यो ठीक होइन,’ अब्दुल्लाहले भने, ‘त्यहाँ रुल र रेगुलेसन छन् त्यो सबैले मान्नुपर्छ । मलाई लाग्छ म फिफा र एएफसीमा जान्छु । म आज टच लाइनमा भइँन भने पनि खेलाडीको प्रोटेक्ट गर्छु ।’माल्दिभ्स फुटबल संघसँग यसबारेको केही कुरा भएको प्रश्नको उत्तर दिँदै उनले भने– ‘हामी बबलमा छौं । हामी बाहिर जान र उनीहरु यहाँ आउन मिल्दैन । तर हामीले हिजोदेखि सम्पूर्ण प्रयास गरेका छौं । सुरुदेखि नै मलाई सस्पेन्ड गर्न खोजिरहेका थिए र मैले दोस्रो कार्ड पाएँ ।’

    आफूलाई रंगशालामा नै नआउन भनेको र त्यो हदैसम्मको अन्याय भएको उनले बताएका छन् । ‘रंगशालामै नआइज भनेको छ । उनीहरुले मलाई कसरी रंगशला प्रवेशमा रोक्न सक्छन् ?,’ अब्दुल्लाहले सोधे, ‘यदि बंगलादेश र भारतका खेलाडीहरू आएर डगआउट भन्दा अगाडि भन्दैनन् भने मलाई कसरी रोक्न सक्छन् ?’

    ‘फेरि पनि म साफलाई भन्न चाहन्छु– खेल मैदानमा हुनुपर्छ, मैदान बाहिर होइन,’ अब्दुल्लाले भने ।

     

     

  • साफ च्याम्पियनसीपः उपाधिका लागि भारतसँग नेपालको भिडन्त आज, अल्मुताइरीको अन्तिम खेल

    साफ च्याम्पियनसीपः उपाधिका लागि भारतसँग नेपालको भिडन्त आज, अल्मुताइरीको अन्तिम खेल

    काठमाडौं । साफ च्याम्पियनसीपको १३ औं संस्करणको उपाधिका लागि आज नेपाल र भारतबीच फाइनल भिडन्त हुँदैछ । नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत ७ पटकको उपाधि विजेता हो ।

    समूह चरणमा आ-आफ्ना अन्तिम खेलबाट नेपाल र भारतले फाइनलमा स्थान सुरक्षित गरेका थिए । पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले भने पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।

    अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपछि नेपाल इतिहास रच्दै फाइनलमा पुगेको छ ।

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८:४५ मा फाइनल भिडन्त हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।

    नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको फाइनलपछि नेपाली टिम छोड्ने घोषणा गरिसकेका छन् । त्यसैले उनी आफ्नो बिदाई म्याचलाई स्मरणीय बनाउन चाहन्छन् । उनले नेपाललाई कस्तो रणनीतिमा उतार्छन् भन्ने चासो छ ।

    यसअघि समूहचरणको खेलमा भारतसँग अति रक्षात्मक खेल्दा नेपालले १-० को हार स्वीकार्न वाध्य भएको थियो । फाइनलमा नेपालले अट्याक र डिफेन्सको सन्तुलन मिलाउनुपर्ने छ ।

    साफ च्याम्पियनसीपको उपाधि जितेको खण्डमा नेपालको ऐतिहासिक सफलता हुनेछ । भारतका लागि भने यो नियमितताजस्तै बनिसकेको छ । च्याम्पियनसीपका अघिल्ला १२ संस्करणमध्ये ११ संस्करणमा भारत फाइनलमा पुगेको थियो ।

    सन् २००३ को फाइनलमा मात्रै भारतले तेस्रो स्थानमा चित्त बुझाएको थियो । अन्यथा बाँकी सबै संस्करणमा भारत विजेता वा उपविजेता बनेको छ ।

  • किन नेपाल छोड्ने निर्णयमा पुगे अल्मुताइरी ? (अन्तरकथा)

    किन नेपाल छोड्ने निर्णयमा पुगे अल्मुताइरी ? (अन्तरकथा)

    २५ जुलाई २०२१ । मलाई मिति अझै कण्ठ छ । नेपाल घोडचढी संघका अध्यक्ष रवी राजकर्णिकारको फोन आएका थियो । लामो समय खेलकुद रिपोर्टिङबाट बाहिर रहे पनि उनीसँग मेरो बेलाबेलामा नेपाली खेलकुदको विषयलाई लिएर कुराकानी हुने गर्छ ।

    उनले खेलकुदकै प्रसंगमा फोन गरेका रहेछन् । भने, ‘नवीनजी थाहा पाउनुभयो ? नेपाली फुटबल कोचले त राजीनामा दिए नि ।’

    उनको कुराले सुरूमा मलाई त्यति छोएन । फेरि नेपाली राष्ट्रिय फुटबल टोलीमा ६-६ महिनामा प्रशिक्षक फेरिनु अनौठो कुरा थिएन । जवाफ दिँदै भने, ‘थाहा पाएँ । तर, मेरो भेटघाट भएको छैन ।’

    मेरो जवाफ सुनेपछि उनले फेरि भने, ‘यहाँ बबाल भइसक्यो । उसको राजीनामाले कतारी राजदूत तनावमा छन् । टिकट काट्दे- भोलि घर फर्किन्छु भनिरहेको छ ।’

    रवीसँग कतारी राजदूतको पुरानो सम्बन्ध मलाई थाहा थियो । त्यही सम्बन्धका कारण प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको ‘राजीनामा प्रकरण’ हल गर्न राजदूतले रवीसँग सल्लाह मागेका रहेछन् । रवीले मसँग र म त्यतिबेला काम विशेषले लहानमा थिए ।

    मैले भनेँ, ‘म त काठमाडौंबाहिर छु । मेरो विचारमा राजदूतको अग्रसरतामा एन्फा पदाधिकारी, दुवै झगडियालाई बोलाएर कुरा गर्दा राम्रो हुन्छ । त्यसबाट जे निस्किन्छ, समाधान नै त्यही हो ।’

    नेपालमा चुरोट पिएको विषय उछालिएपछि उनको परिवारले नेपालमा प्रकाशित हुने पत्रपत्रिका र पोर्टल खोजी गर्न थाले । यस्ता पोर्टलमा नेपालमा पछिल्लो समय ‘एसिड अट्याक’ बढेको भन्ने न्यूजले उनको परिवारलाई चिन्तित बनाएको थियो ।

    बुझ्दै जाँदा थाहा भयो, झगडाको कारण एउटा समाचारलाई लिएर रहेछ । एउटा न्यूज पोर्टलले अभ्यासका क्रममा मैदानबाहिर चुरोट पिइरहेका प्रशिक्षक अल्मुताइरीको विषयमा समाचार बनाएको रहेछ । त्यो समाचार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले लेखाएको आशंकाका बीच प्रशिक्षक अल-मुताइरीले आफ्नो सोसल मिडियामा पोस्ट गरेका रहेछन्, ‘म राजीनामा दिन एन्फा जाँदैछु ।’

    उनले नेम्वाङलाई मेन्सन गरेर लेखेको ‘तिमी खुसी भयौ होला’ भन्ने स्टाटस नै समस्याको मूल जड बनेको रहेछ ।

    बुधबार बंगलादेशलाई १-१ गोलमा रोकेर नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेपछि अल्मुताइरीले भारतविरूद्धको फाइनल खेल नै आफ्नो अन्तिम हुने घोषणा गरे । उनको घोषणा पछाडिको कारण यही कचपल्टिएको विवाद हो ।

    मैले बंगलादेशविरूद्ध नेपालको खेल हुनुभन्दा अगाडि ‘अल्मुतारी अग्नी-परीक्षा’ लेख्नुको पछाडि यही कारण थियो । बंगलादेशसँगको खेल हारे पनि, जितेपनि उनले यही निर्णय गर्थे । त्यसमा म निश्चिन्त थिएँ ।

    वास्तवमा अल-मुताइरीलाई त्यो न्युजभन्दा पनि त्यसमा आएको ‘कमेन्ट’ ले बढी निराश पारेको थियो । त्यसमा धेरै भद्दा कमेन्ट थिए ।

    उनी सानोभन्दा सानो कुरा परिवारसँग सेयर गर्छन् । नेपालमा भइरहेको गतिविधि पनि उनले परिवारसँग सेयर गरेका थिए ।

    नेपालमा चुरोट पिएको विषय उछालिएपछि उनको परिवारले नेपालमा प्रकाशित हुने पत्रपत्रिका र पोर्टल खोजी गर्न थाले । यस्ता पोर्टलमा नेपालमा पछिल्लो समय ‘एसिड अट्याक’ बढेको भन्ने न्यूजले उनको परिवारलाई चिन्तित बनाएको थियो ।

    रवीसँगको कुराकानीपछि मेरो सुझाव स्वीकार गर्दै कतारी राजदूतले सबै पक्षलाई राखेर समस्या समाधान गर्ने प्रयास गरेका थिए । तर, एक दिनअघि कतारी राजदूतलाई उपस्थित हुन्छु भनेर वचन दिएका नेम्वाङ भोलिपल्ट बैठकमा गएनन् । कुरा त्यहीँ भाँडियो । नेम्वाङको व्यवहारप्रति राजदूत निकै दुःखी थिए ।

    अल-मुताइरी कुवेती राजपरिवारका पनि प्रिय पात्र हुन् । केही वर्षअघि कुवेती राजाको बेलायतमा मुटुको शल्यक्रिया हुँदा उनी अस्पतालमै कुरुवा भएर बसेका थिए ।

    कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलमा नेपाली श्रमिकले रंगशाला निर्माणमा गरेको योगदानबाट द्रविभूत भएर कुवेती नागरिक अब्दुल्लाह अल-मुताइरीलाई नेपालको प्रशिक्षक बनाउन कतार सरकारले नै पठाएको थियो । त्यसैले अल-मुताइरीको ‘राजीनामा प्रकरण’ कतार सरकारका लागि टाउको दुखाइको विषय बनेको थियो । कतारी राजदूत यो प्रकरणले नेपाल-कतारको सम्बन्धमा असर पर्ने चिन्तामा थिए । त्यसैले पनि उनले सबै पक्षलाई एकै ठाउँमा राखेर समस्याको समाधान गर्न खोजेका हुन् । तर, नेम्वाङ नआएपछि त्यो सम्भव भएन । वार्ता असफल भएपछि पारिवारीक कारणले कतारी राजदूत एक महिनाका लागि स्वदेश फर्किए ।

    यसबीच समस्या बल्झिँदै गयो । रवीलाई हरेक दिन अल-मुताइरीले राजदूतलाई भनेर फर्किने टिकट बनाइदिन आग्रह गरिरहेका थिए । अल-मुताइरी आफैं टिकट काट्न नसक्ने होइनन् । तर, कतार सरकारले टिकट उपलब्ध गराइदिनु उनको लागि सजिलो ‘एक्जिट’ थियो । यसकारण कि उनी कतार सरकारको अनुबन्धमा नेपाल आएका हुन् ।

    रवीले ‘प्रेसर’ थेग्न नसकेपछि पुनः मलाई फोन गरे- ‘उ नगइ छोड्दिन भन्छ । के गर्ने नवीनजी ?’

    फेरि नेम्वाङ र अल-मुताइरीबीच कुराकानी हुन नसकिरहेको बेला उनी पनि तनावमा थिए ।

    मैले रवीलाई भनेँ, ‘उसलाई भन्नुस् न, यत्रो साफ च्याम्पियनसीप आइसकेको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसीपको फाइनल पुगेको छैन । तिमीले फुटबल खेलाउन सक्दैनौ भनेर आलोचना गर्नेका लागि जवाफ दिने राम्रो अवसर हो । फेरि तिमीले खेलाडीलाई पनि आफ्नो लयमा ढालिसकेका छौं । यतिबेला छोड्यौं भने सबैले तिमीलाई भगौडा भन्छन् । नेपाललाई साफ च्याम्पियन बनाएर आलोचकको गालामा एक चड्कन हिर्काएर जाउ न । यसले तिम्रो कद पनि बढ्छ ।’

    मैले बंगलादेशविरूद्ध नेपालको खेल हुनुभन्दा अगाडि ‘अल-मुताइरीको अग्नी-परीक्षा’ लेख्नुको पछाडि यही कारण थियो । बंगलादेशसँगको खेल हारे पनि, जितेपनि उनले यही निर्णय गर्थे । त्यसमा म निश्चिन्त थिएँ ।

    रवीले ठ्याक्कै यस्तै भनेछन् । अल-मुताइरीले त्यसपछि उनले रवीसँग कुनैबेला पनि टिकटको कुरा गरेनन् । कतारी राजदूत पनि दंग ।

    यसैबीच नेम्वाङ र अल-मुताइरीको ठमेलमा भेटघाट पनि भयो । पुरानो कुरा बिर्सिने सम्झौता पनि भए । दुवै मिलेर ‘ज्वाइन्ट स्टेटमेन्ट’ दिने कुरा पनि गरियो । तर, अल-मुताइरीले ‘स्टेटमेन्ट’ निकाल्ने कुरालाई टारेर प्रशिक्षणका लागि पोखरा हिँडे ।

    उनले संयुक्त वक्तव्य ननिकाल्नुको पछाडि, त्यही मनोभावनाले काम गरिरहेको थियो- नेपाललाई जसरी पनि साफ च्याम्पियनसीप जिताएरै छाड्न र उतैबाट बिदा लिने ।

    आखिर उनले गरे पनि त्यही । माल्दिभ्सलाई १-० ले हराएपछि खेलाडीसँग अंकमाल गरेका अब्दुल्लाहको भावुकता मैदानमा सहजै अनुभव गर्न सकिन्थ्यो । उनी मैदानमा किन त्यतिधेरै उद्देलित थिए ? नेपालले श्रीलंकाविरूद्ध गोल गर्दा उनी केटाकेटी जस्तै किन उफ्रिरहेका थिए ? यी सबैमा उनको पीडा लुकेको थियो । बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेर नेपाल साफ च्याम्पियनसीपको फाइनल पुगेपछि उनको भावुकता मैदानमा त्यसैगरी पोखियो ।

    श्रीलंका र भारतबीच खेल भइरहेको बेला नेपाली म्यानेजर कृष्णभक्त मानन्धरको फोन एक्कासी मेरो म्यासेन्जरमा आयो । त्यतिबेला म माले रंगशालामा उपस्थित थिएँ । उनले भने, ‘कोच तपाईंसँग कुरा गर्न चाहिरहेका छन् ।’

    मलाई अचम्म लाग्यो । किन कुरा गर्न लागेका होलान् ? सोचमग्न भइरहेको बेला अल-मुताइरीले सोधे, ‘रिजल्ट के छ ?’

    वास्तवमा भएको के रहेछ भने, श्रीलंका र भारतबीचको खेल राष्ट्रिय टोली बसेको रिसर्टमा खेलाडीसँगै बसेर हेरिरहेको बेला ‘नवाज’ पढ्ने टाइम भएछ । र, लाइभ गरिरहेको टेलिभिजनले फुटबल छाडेर झयाप्प ‘नवाज’ पढ्न पो थालेछ । ८० मिनेटको बराबरीमा पुगेको बेला यो घटना भएपछि उनले नतिजा सोध्न फोन गरेका रहेछन्। अन्तिममा मैले खेलको नतिजा ‘गोलरहित बराबरी’ सुनाउँदा उनी फोनमा भनिरहेका थिए, ‘राम्रो डिफेन्ड गर्‍यो, श्रीलंकाले ।’

    प्रशिक्षक आउँछन्, जान्छन् । कोही निकै राम्रो होलान्, कुनै ठिक्कका । तर, अल-मुताइरीबाट नेपाली फुटबलले लिनसक्ने कुरा धेरै थियो । अल-मुताइरीलाई उसको देश पठाएर हामी फुटबलमा ‘प्रतिगमन’ निम्त्याउँदैछौं ।

    चुकेको अवसर

    अल-मुताइरीबाट नेपाली फुटबलले अवसर पाउन लिन सक्थ्यो । एक वर्षको छोटो अवधिमै उनले नेपाललाई साफ च्याम्पियनसीप जस्तो महत्वपूर्ण प्रतियोगिताको दाबेदार बनाइदिए । उनलाई नेपालले प्रशिक्षकको रूपमा मात्र नभई नेपाली खेलाडीलाई मध्यपूर्वी देशको लिग फुटबलमा आबद्ध गराउने पुलको रूपमा प्रयोग गर्न सकिन्थ्यो ।

    अल-मुताइरी कुवेती राजपरिवारका पनि प्रिय पात्र हुन् । केही वर्षअघि कुवेती राजाको बेलायतमा मुटुको शल्यक्रिया हुँदा उनी अस्पतालमै कुरुवा भएर बसेका थिए । उनीमार्फत नेपाली फुटबलले कुवेत सरकारबाटै विकासका थुप्रै परियोजना भित्र्याउन सक्थ्यो । तर, एउटा सामान्य विवादले चर्को रूप लिँदा उनी नेपाल छोड्ने निर्णयमा पुगे । यो नेपाली फुटबलप्रेमीका लागि ठूलो घाटा हो ।

    प्रशिक्षक आउँछन्, जान्छन् । कोही निकै राम्रो होलान्, कुनै ठिक्कका । तर, अल-मुताइरीबाट नेपाली फुटबलले लिनसक्ने कुरा धेरै थियो । अल-मुताइरीलाई उसको देश पठाएर हामी फुटबलमा ‘प्रतिगमन’ निम्त्याउँदैछौं ।

  • अमूक मिडियासँग अल्मुताइरीको आक्रोशः अब राष्ट्रिय टिम तिमीहरु नै सम्हाल !

    अमूक मिडियासँग अल्मुताइरीको आक्रोशः अब राष्ट्रिय टिम तिमीहरु नै सम्हाल !

    काठमाडौं । नेपालले पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाउँदै इतिहास रच्यो । नेपाली फुटबल समर्थकहरुले यसको सबैभन्दा ठूलो श्रेय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दिएका छन् । तर, अल्मुताइरीले भने च्याम्पियनसीपपछि आफू नेपाल नफर्किने भन्दै समर्थकहरुलाई खिन्न तुल्याए ।

    हिजो बंगलादेशसँग बराबरी खेलेपछि खुशीले भावविव्हल बनेका अल्मुताइरी पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने आक्रोशित मुद्रामा पेश भएका थिए । उनको आक्रोशको तारो चाहिँ नेपालको कुनै अमूक मिडिया थियो । उनले नाम नलिइकन आफूलाई नेपाली मिडियाले दुख दिएको गुनासो गरे । र, साफ च्याम्पियनसीपको फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने घोषणा गरे । एक महिना अगाडिनै आफूले पदबाट राजीनामा दिएको खुलासा समेत अल्मुताइरीले गरेका छन् ।

    पत्रकार सम्मेलनमा अल्मुतइरी यसरी जंगिएका थिएः

    ‘पछिल्ला तीन दिनमा मैले धेरै नमिठो अनुभव गरेँ । उनीहरुले मेरो बारेमा धेरै नराम्रा समाचार लेखे । हिजो हाम्रो तीन बजे ट्रेनिङ थियो । त्यसकारण प्रमुख प्रशिक्षक र कप्तानको ठाउँमा सहायक प्रशिक्षक र एक खेलाडी म्याचपूर्वको पत्रकार सम्मेलनमा गएका हुन् । एउटा मिडियाले त्यसलाई समाचार बनाएर मेरो मजाक उडायो । उसले कसरी यस्तो गर्न सक्यो ? प्रशिक्षकलाई तपाईंले सम्मान गर्नैपर्छ ।
    म त्यो मिडियालाई सोध्नेछु, ‘तिमीले जे लेख्यौ त्यसमा खुशी छौ  ? के तिमी आफूसँग गौरव गर्छौ  ?कमेन्टमा म्याच फिक्सिङको कुरासमेत आएको छ । मेरो ११ वर्षको छोराले मलाई सोध्यो, के हो यस्तो कमेन्ट  ? म उसलाई के जवाफ दिउँ साथी ? त्यो पत्रकारले धेरै भ्यूज र विज्ञापनका लागि ममाथि समाचार बनाउन चाह्यो । यो फोहोरी हो । अरु मान्छेको नाममा पैसा नलेउ । मान्छेलाई सम्मान गर ।’

    थप आक्रोशित बन्दै अल्मुताइरीले थपे, ‘म प्रशिक्षक हुँ, दास होइन । प्रशिक्षकलाई सम्मान गर्नैपर्छ । हामी मानिस हौं । हाम्रो परिवार छ । बच्चाहरु छन् । नेपालको फुटबल विकासका लागि आएको हुँ । केही पत्रकार मेरो नाममा पैसा कमाउँदैछन् । उनीहरु र उनीहरुको पैसा ‘गो टु हेल’ । उनीहरुले नै राष्ट्रिय टिमलाई नियन्त्रण गरुन् । म तीन दिनदेखि सुतेको छैन । केही खाएको छैन । म धेरै थाकेको छु । म मेरो आमा र परिवारसँग कुरा गर्न चाहन्छु ।’

    उनले नेपाल आउँदा गरेका तीन प्रतिवद्धताहरु पूरा भएको बताए । अल्मुताइरीले भने, ‘मैले नेपालमा पहिलो पत्रकार सम्मेलनमा नै तीनवटा प्रतिवद्धता व्यक्त गरेको थिएँ । म नेपाली फुटबलमा नयाँ इतिहास बनाउने छु । म नेपाललाई एसिया कपको तेस्रो राउण्डसम्म पुर्याउनेछु । र, म नयाँ टिम बनाउनेछु, जसले सबै नेपालीलाई गौरवान्वित तुल्याउनेछ । त्यो लक्ष्य पूरा भएको छ । अब साफ च्याम्पियनसीपको फाइनलपछि म नेपाली टिमसँग हुन्न । फाइनलपछि म कहिल्यै नेपाल फर्किने छैन ।’

    यति बोलिसकेपछि अल्मुताइरीले आज प्रश्नहरुको सामना गर्न नसक्ने बताए । तर, पत्रकारहरु उनलाई छुट्कारा दिन तयार भएनन् । त्यसपछि अल्मुताइरी पनि जवाफका लागि वाध्य भए ।

    एक माल्दिभ्सका पत्रकारले उनलाई सोधे, ‘के तपाईंले मिडियाको प्रेसरका कारण राजीनामा दिन लाग्नुभएको हो ?’ अल्मुताइरीले यसलाई अस्वीकार गरे । आफूले एक महिना अगाडि नै राजीनामा दिइसकेको उनले बताए ।

    ‘मैले अहिले होइन, एक महिना अगाडि नै राजीनामा दिएको हुँ, साफ च्याम्पियनसीपको फाइनलपछि यो कार्यान्वयन हुनेछ,’ उनले भने ।
    माल्दिभ्सकै अर्का पत्रकारले सोधे, ‘फाइनलमा इन्डिनसँग खेल्न इच्छुक हुनुहुन्छ कि माल्दिभ्ससँग ?’

    यो पत्रकार सम्मेलन हुँदा माल्दिभ्स र भारतको खेल भइसकेको थिएन । अल्मुताइरले फाइनलमा जो पुगे पनि आफूलाई फरक नपर्ने बताए ।
    आफ्नो स्वभाविविपरित परम्परागत शैलीमा उनले भने, ‘दुवै बेस्ट टिम हुन् । म रोज्न सक्दिनँ । जो आए पनि हमीले खेल्नैपर्छ ।’
    त्यसपछि बंगलादेशका पत्रकारले उनलाई नेपाललाई दिइएको पेनाल्टीबारे प्रश्न गरे ।

    ‘तपाईंको विचारमा त्यो पेनाल्टी जायज थियो ?’

    अल्मुताइरीले कुटनीतिक जवाफ दिए, ‘यदि मैले एस र नो मा जवाफ दिएँ भने म झूटो ठहरिन्छु । मेरो विचारमा त्यो पेनाल्टी थियो, तर म पक्का छैन ।’

    त्यसपछि उनले आफूछेउ बसेका खेलाडी रोहित चन्दलाई यो प्रश्न गर्न आग्रह गरे । तर, एक नेपाली पत्रकारले अर्कै प्रश्न सोधेर विषयान्तर गरे । उनले नेपालीमा प्रश्न सोधेर नेपालीमै जवाफ दिन आग्रह गरे ।

    पत्रकारले सोधेका थिए, ‘च्याम्पियनसीपको फाइनलमा पुग्नुले नेपालका लागि कति महत्व राख्छ ?’ रोहितले जवाफ दिइसकेपछि अल्मुताइरीले ठट्टाको मुडमा भने, ‘म उल्था गरिदिउँ रु उसले भन्दै थियो कि कोचले छोड्यो भने म धेरै खुशी हुनेछु ।’ गम्भीर माहोलका पत्रकार सम्मेलनमा हाँसो छायो ।

  • नेपालसँगको खेलपछि भावविव्हल बंगलादेशी खेलाडी, सम्झनामा आठौं साग फुटबल (तस्बिरहरू)

    नेपालसँगको खेलपछि भावविव्हल बंगलादेशी खेलाडी, सम्झनामा आठौं साग फुटबल (तस्बिरहरू)

    काठमाडौं । नेपालसँग बराबरी खेलेपछि बंगलादेश साफ च्याम्पियनसीपबाट आउट भएको छ । नेपालले फाइनलमा स्थान सुरक्षित गर्दा बंगलादेशी टिम समूह चरणबाटै घर फर्कियो ।

    खेलको उत्तराद्धसम्म बंगलादेश ३ प्वाइन्ट बटुलेर फाइनलमा स्थान बनाउने बाटोमा थियो । ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो । झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।

    खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो । अन्तिम समयमा गोल खानुपर्दा बंगलादेशी खेलाडी विक्षिप्त बनेका थिए । केही खेलाडी मैदानमै रोए ।

    बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए ।

    बंगलादेशसँगको उक्त हारको बदला नेपालले २० वर्षपछि आज लिएको छ ।

    तस्बिर स्राेत:अधाधु डट कम ।
  • इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

    इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

    काठमाडौं । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

    आजको म्याचमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भए ।

    नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो । त्यसलाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।

    मालेस्थित नेसनल फुटबल स्टेडियममा भएकाे खेलमा नेपालले आक्रामक रणनीतिका साथ मैदानमा उत्रेकाे थियाे । तर, पाएका अवसरहरु सदुपयाेग गर्न सकेन । सुरुमै गाेल गरेपछि बंगलादेशले भने रक्षात्मक खेलेकाे थियाे ।

    आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि-किक पायाे । सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए ।

    खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

    खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको थिएन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

    प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।

    राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।

    प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एकपटक पनि फाइनल पुग्न सकेको थिएन ।

    तस्बिर स्रोत : अधाधु डट कम

  • ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

    ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्धको खेलपछि प्रेसमिटमा बोल्दै ओभरसिज खेलाडीको प्रसंग निकाले । ओभरसिज खेलाडी समावेश गराउन सके टोली बलियो हुने तर्क गर्दै उनले नेपाली मूलका केही विदेशी खेलाडीहरूसँग आफूले कुरा गरेको उनले सुनाए ।

    दक्षिण एसियाका बंगलादेश तथा श्रीलंकाजस्ता टोलीले आफ्नो मूलका गैरआवासीय खेलाडीलाई टोलीमा समावेश गर्न पछिल्लो समय निरन्तर कोसिस गरिरहेका छन् । साफ च्याम्पियनसिप अन्तरगत हिजो भएको खेलमा नेपालविरुद्ध श्रीलंकाको टोलीमा पनि यस्ता खेलाडीको उपििस्थत थियो । नेपालविरुद्ध पेनाल्टीमा गोल गरेका डिलियन डी सिल्भा पनि तीनै खेलाडीमध्येका एक हुन् ।

    यस्तै बंगलादेशले पनि नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सलेलाई जारी साफ खेलाउने प्रयत्न गरेको थियो । तर फिफबाट अनुमति नआएपछि २६ जनाको टोलीसम्म समावेश गरिएका एलेटाले फाइनल स्क्वाडमा स्थान पाएनन् । हिजोको खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाहले ओभरसिज खेलाडी भएमा दक्षिण एसियाली फुटबलको विकासमा सहयोग पुग्ने बताएका थिए ।

    ‘ओभर सिज खेलाडी भयो भने टोली बलियो हुन्छ, श्रीलंकासँग छन्,’ उनले भने, ‘मैले पनि नेपालका यस्ता खेलाडीसँग कुरा गरेको थिएँ । तर, नेपालमा बाहिरको पासपोर्ट लिने खेलाडीका लागि खेल्न पाउने नियम छैन ।’ अब्दुल्लाहले आफूले कुरा गरेको खेलाडी इटालीमा बस्दै आएका विकाश मेराग्लिया भएको चर्चाले अहिले नेपाली खेलकुदभित्र व्यापक छ । विकासले पनि फेसबुकमा ‘म नेपाल आउँदै छु’ भनेर स्ट्याटस लेखेपछि अब्दुल्लाहले उनीतिरै संकेत गरेका हुन् कि भन्ने अनुमान गरिएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले त्यहाँको यु-१७ टोलीबाट खेलिसकेका छन् ।

    उनीनिकट स्रोतका अुनसार विकासले एट्लान्टाकोे यु-१७ टोलीबाट खेल्दै प्रशंसनीय प्रदर्शन गरेका थिए । स्यालरी स्पोर्ट्समा उल्लेखित डेटाअनुसार विकाश अहिले पनि एट्लान्टाका खेलाडी हुन्, र उनी अहिले १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित छन् । १७ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ । विकाशनिकट स्रोतले दिएको जानकारी अनुसार उनी छिट्टै नेपाल आउँदै छन् ।

    यद्यपि, फुटबलका लागि वा अन्य कामका लागि भने खुलेको छैन । विकाशले स्पेनिस महारथी रियाल मड्रिडको यु-१८ टोलीसँगको खेलमा दुई खेलाडीलाई ‘नट-मेग’ गर्दै एक असिस्ट पनि दिएका थिए । प्रतिभावान् विकाशलाई इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा चिनिन्छ ।

  • अब्दुल्लाह आएपछिको परिवर्तनः फिनिसिङमा नेपालको बढ्दो आत्मविश्वास

    अब्दुल्लाह आएपछिको परिवर्तनः फिनिसिङमा नेपालको बढ्दो आत्मविश्वास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सदाबहार समस्या हो, स्कोरिङ । नेपाली राष्ट्रिय टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीले पनि त्यसलाई छर्लङ्गै पार्छ । १५ वर्षअघि राष्ट्रिय टोलीको जर्सी बिसाएका पूर्वकप्तान हरि खड्का र ११ वर्षअघि राष्ट्रिय टोलीबाट अन्तिम खेले खेलका निराजन रायमाझीको १३ गोलको कीर्तिमान अझै कायम छ ।

    अन्तर्राष्ट्रिय फुटबलमा बेला-बेला मात्रै झुल्किने मुलुक होइन- नेपाल । तर, सधैं दर्शनीय खेल प्रस्तुत गर्ने नेपाललाई फिनिसिङले धोका दिने गरेको यथार्थ हो । त्यसैले त अझैसम्म १३ गोलको आँकडा नेपाली फरवार्डका लागि टाढाको लक्ष्य रहिररहेको छ ।

    हाल राष्ट्रिय टोलीमा भएका खेलाडीहरूमध्ये नवयुग श्रेष्ठ ७ गोलका साथ सबैभन्दा अगाडि छन् । उनलाई पछ्याउँदै अञ्जन विष्टले ६ गोल गरेका छन् । चोटसँगै विविध कारण दुई वर्षयता राष्ट्रिय टोलीबाट बाहिर रहेका विमल घर्तिमगरले ८ गोल गरेका छन् ।

    प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपालले खेलेका ९ खेलमा १२ गोल गरिसकेको छ । जुन, त्यसअघिका ९ खेलको तुलनामा ९ गोलले धेरै हो । त्यसअघिका ९ खेलमा नेपालले ३ गोल मात्र गरेको थियो । अब्दुल्लाहको नेतृत्वअघि नेपालले १२ गोल गर्न २० खेल खेलेको थियो ।

    नेपालले सर्वाधिक गोलकर्ताको सूचीमा नयाँ नाम पाउन त केही समय कुर्नैपर्छ । तर, पछिल्ला खेलहरू हेर्दा नेपालको गोल स्कोरिङमा सुधारका लक्षण देखिएका छन् । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपालको खेलमा देखिने गरेको गोल खडेरीमा शीतल वर्षा भएको छ ।

    गत चैत २२ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले अब्दुल्लाहलाई नेपाली राष्ट्रिय टोलीको पहिलो प्रो-लाइसेन्स्ड कोचको रूपमा सार्वजनिक गरेको थियो । पहिलोपटक सार्वजनिक हुँदै गर्दा नै प्रशिक्षक अब्दुल्लाले धेरैलाई चकित पार्ने प्रतिक्रिया र रवाफ देखाएका थिए ।

    ‘नो मोर डिफेन्सिभ’ भन्दै नेपाललाई एसिया कप छनोट र साफ च्याम्पियसीपको फाइनलमा पुर्‍याउने लक्ष्यसहित अगाडि बढेका अब्दुल्लाह अहिले एउटा अठोट पूरा गर्ने संघारमा छन् । नेपाली राष्ट्रिय टोली अहिले माल्दिभ्समा साफ च्याम्पियनसीप खेलिरहेको मात्रै छैन, सनसनी मच्चाइरहेको छ । उद्घाटन खेलमा साविक विजेतासमेत रहेको आयोजक माल्दिभ्सलाई घरेलु समर्थकले भरिएको मैदानमा स्तब्ध पार्दै प्रतियोगिताको शानदार सुरुआत गरेको नेपालले सोमबार पनि अपराजित यात्रा कायमै राख्यो ।

    राउन्ड रोबिन लिग पद्दतिमा जारी प्रतियोगिताका बाँकी दुई खेलमा एक अंक मात्रै हासिल गरे पनि नेपाल इतिहासमै पहिलोपटक फाइनल पुग्ने छ । र, अब्दुल्लाहले पहिलो पत्रकार सम्मलेनमा घोषणा गरेर बारम्बार दोहोर्‍याइरहेको साफ च्याम्पियनको फाइनल लक्ष्य पूरा हुनेछ ।

    प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपालले के-कति सफलता हासिल गर्छ ? त्यो कालान्तरमा देखिने छ । तर, एउटा सकारात्मक पक्ष पक्कै स्थापित भएको छ- गोल स्कोरिङ क्षमता । नेपालले प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा हालसम्म ९ खेल खेलेको छ । तीमध्ये तीन खेलमा जित, एक बराबरी र पाँच खेलमा हार बेहोरेको छ ।

    स्मरण रहोस्, नेपालले ती ९ मध्ये एक खेल मात्रै आफूभन्दा कमजोर टोलीसँग खेलेको छ । र, यसबीचमा ऐतिहासिक केही नतिजा र खेल नेपालले प्रस्तुत गरेको छ । अब्दुल्लाहको नेतृत्वमा नेपालले इराकविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो । आफूभन्दा धेरै माथिल्लो स्तरको इराकविरुद्ध ६-२ गोलको नतिजामा पराजित भए पनि सुरुआती समयमा नेपालले आश्चर्यजनक अग्रता बनाएको थियो । चैतमा घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कप खेलेको टोलीबाट १३ खेलाडी परिवर्तन गरेर युवा टोलीसहित अब्दुल्लाले आफ्नो टोली बनाउन सुरु गरेका थिए ।

    मैत्रीपूर्ण खेलका लागि इराक र विश्वकप छनोटका लागि कुवेत भ्रमणमा नयाँ रहेका अधिकांश अनुहार अहिले राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य बनिसकेका छन् । हाल माल्दिभ्समा जारी साफको पहिलो खेलमा नेपालको जितका नायक बनेका मनिष डाँगी पनि इराकविरुद्ध डेब्यू गरेका खेलाडी हुन् ।

    विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलअघि अब्दुल्लाले दिएको रोमाञ्चक प्रतिक्रिया अहिलेको नेपालको लयसँग ठ्याक्कै मेल खान्छ ।

    प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपालले के-कति सफलता हासिल गर्छ ? त्यो कालान्तरमा देखिने छ । तर, एउटा सकारात्मक पक्ष पक्कै स्थापित भएको छ- गोल स्कोरिङ क्षमता । नेपालले प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा हालसम्म ९ खेल खेलेको छ । तीमध्ये तीन खेलमा जित, एक बराबरी र पाँच खेलमा हार बेहोरेको छ ।

    ‘यदि नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले अस्ट्रेलियाविरुद्ध आक्रामक फुटबल खेल्न किन सक्दैन ?’ अब्दुल्लाहले भनेका थिए, ‘मानिसले मलाई ‘क्रेजी’ भन्लान् तर हामी आक्रामक फुटबल खेल्छौं ।’

    तर, नेपाली टोलीका मुख्य खेलाडी रोहित चन्दले ४५औं मिनेटमा रातो कार्ड पाएपछि अब्दुल्लाहको आक्रमक शैली सम्भव भएन । तर, विश्वकप छनोटकै पहिलो लेगमा ५-० ले पराजित भएको अस्ट्रेलियासँग १० जनामा सीमित भएको नेपालले ३-० को हार बेहोर्नु सम्मानजनक थियो ।

    विश्वकप छनोट सकेर स्वदेश फर्किएपछि नेपालले साफ च्याम्पियनसीपको तयारी स्वरुप भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालमाथि सँधै हावी हुँदै आएको भारतविरुद्ध गोल गर्नु नै नेपालका लागि दुर्लभ हुन थालिसकेको थियो ।

    किनभने, सन् २०१५ मा विमलले गोल गरेयता नेपालले भारतविरुद्ध एक गोल पनि गर्न सकेको थिएन भने ९ गोल खाइसकेको थियो । तर, भारतविरुद्धका दुईमध्ये पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जनले गोल गर्दै ६ वर्षको गोल खडेरी तोडे । उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो । भारतविरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ गोलको हार बेहोर्‍यो ।

    नेपालले १९९८ यता पहिलोपटक भारतविरुद्ध लगातार दुई खेलमा गोल गर्न सफल भएको हो । नेपालले इराक, भारत, ओमान र माल्दिभ्सविरुद्ध लगातार गोल गरिरहेको छ । सोमबार राति साफ च्याम्पियनसीपको आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३ गोल ठोक्यो । नेपाली राष्ट्रिय टोलीले एकै खेलमा तीन गोल नगरेको तीन वर्षभन्दा धेरै भइसकेको थियो । नेपालले सन् २०१८ मा बंगलादेशमा भएको १२औं साफ च्याम्पियनसिपमा भुटानविरुद्ध अन्तिमपटक दुईभन्दा धेरै (४-०) गोल गरेका थियो ।

    प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपालले खेलेका ९ खेलमा १२ गोल गरिसकेको छ । जुन, त्यसअघिका ९ खेलको तुलनामा ९ गोलले धेरै हो । त्यसअघिका ९ खेलमा नेपालले ३ गोल मात्र गरेको थियो । अब्दुल्लाहको नेतृत्वअघि नेपालले १२ गोल गर्न २० खेल खेलेको थियो ।

    नेपाली राष्ट्रिय टोली अहिले माल्दिभ्समा साफ च्याम्पियनसीप खेलिरहेको मात्रै छैन, सनसनी मच्चाइरहेको छ । उद्घाटन खेलमा साविक विजेतासमेत रहेको आयोजक माल्दिभ्सलाई घरेलु समर्थकले भरिएको मैदानमा स्तब्ध पार्दै प्रतियोगिताको शानदार सुरुआत गरेको नेपालले सोमबार पनि अपराजित यात्रा कायमै राख्यो ।

    यसबाट पनि नेपालले गोल स्कोरिङमा उल्लेख्य सुधार गरेको स्पष्ट हुन्छ । र, यसको श्रेय प्रशिक्षक अब्दुल्लाहलाई नै जान्छ । राष्ट्रिय टोलीमा लामो सयमदेखि निरन्तर खेलिरहेका खेलाडीको स्थानमा युवा खेलाडीलाई ल्याउन उनले ठूलो जोखिम उठाएका छन् ।

    उनले विश्वास गरेका ती युवा खेलाडीले उनको विश्वासको ‘पे–अफ’ पनि गरिरहेका छन् । जसको उदाहरण- इराकविरुद्ध मनिष डाँगीको डेब्यू गोल, माल्दिभ्सविरुद्ध साफमा अभूतपूर्व जितमा मनिषकै निर्णायक गोल र श्रीलंकाविरुद्ध आयुष घलानको गोलसहित एक असिस्ट हो ।

  • ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा ७-२ ले हार्‍यो नेपाल

    ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा ७-२ ले हार्‍यो नेपाल

    काठमाडौं । कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली ओमानसँग ७-२ गोलको नतिजामा पराजित भएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओमानसँग तयारी स्वरुप ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

    बलियो टोली ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक/एक गोल गरे ।

    दोहास्थित कतार युनिभर्सिटीको मैदानमा भएको खेलको पहिलो हाफमा २-१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा पाँच गोल थपेर एक गोल मात्र खायो ।

    साफ च्याम्पियनसिपका लागि भोलि माल्दिभ्स प्रस्थान गर्ने नेपाली टोलीले अक्टोबर १ (शुक्रबार)मा आयोजकको सामना गर्नेछ ।

    प्रतियोगिताको १३औं संस्करणसम्म आइपुग्दा फाइनल पुग्न असफल नेपाली टोली यसपटक त्यो यात्रा गर्ने तयारीमा छ ।

  • साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

    साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

    काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिपको आगामी संस्करण अक्टोबरमा माल्दिभ्समा सुरु हुँदैछ । र, त्यसैको तयारी स्वरुप भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली कतारमा अभ्यास गरिरहेको छ ।

    अक्टोबर १ तारिखदेखि मालेमा हुने प्रतियोगिताका लागि त्यहाँसँग मिल्दो मौसम भएको कतारमा अभ्यासका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतारमा नेपाली टोलीलाई तयारी गराइरहेका छन् ।

    वैशाखमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपपछि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती नागरिक अल्मुताइरीले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने रहेको बताउँदै आएका छन् ।

    साफ च्याम्पियनसिपका १२ संस्करण खेलिसकेको नेपालले हालसम्म फाइनल यात्रा तय गर्न सकेको छैन । तर, नेपाललाई पहिलाेपल्ट फाइनलमा पुर्‍याउने दाबी गरिरहेका प्रशिक्षक अब्दुल्लाहले लामो समयदेखि तयारी गरिरहेका छन् । उनकै नेतृत्वमा विश्वकप छनोटका बाँकी खेलसँगै इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेको नेपाली टोलीले साफका लागि पनि असार दोस्रो सातादेखि निरन्तर तयारी गरिरहेको छ ।

    गत साता दशरथ रंगशालामा आयोजित भारतविरुद्धका दुई मैत्रीपूर्ण खेल पनि सोही प्रतियोगिताको तयारीका लागि थिए । जसमा आफूभन्दा माथिल्लो स्तरको भारतविरुद्ध नेपालले पहिलो खेलमा १–१ गोलको बराबरी नतिजा निकालेको थियो । तर, दोस्रो खेलमा भने २–१ गोलको नतिजामा पराजित भएको नेपालको गोल स्कोरिङमा समस्या देखिएको थियो । मैत्रीपूर्ण खेलपछि प्रशिक्षक अब्दुल्लाहले पनि स्कोरिङमा देखिएको समस्या स्वीकार्दै गोलका लागि फरक रणनीति अपनाउन सकिने बताएका थिए ।

    भारतविरुद्धको दोस्रो खेलमा नेपालका लागि मिडफिल्डर तेज तामाङले पेनाल्टी एरिया बाहिरबाट लङरेन्जर प्रहार गर्दै सुन्दर गोल गरेका थिए । सोही गोलको उदाहरण दिँदै प्रशिक्षक अब्दुल्लाले गोलका लागि त्यस्ता रणनीति पनि तयार गर्ने बताएका थिए ।

    यद्यपि, १२ पटकसम्म असफल भइरहेको नेपाली टोलीका लागि मालेमा हुने साफ च्याम्पियनसिपको फाइनल यात्रा सहज देखिँदैन । कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै र आयोजक राष्ट्र परिवर्तन हुँदै माल्दिभ्स पुगेको यो प्रतियोगितामा यसपाली पाँच टोली मात्रै सहाभागी हुँदैछन् ।

    पाकिस्तान र भुटान प्रतियोगितामा अनुपस्थित भएसँगै नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेशमात्रै हुनेछन् । पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी हुनेछैन भने भुटान सरकारले अनुमति नदिएकाले आसन्न साफ च्याम्पियनसिप पाँच टोलीमा खुम्चिएको हो ।

    पाँच टोली मात्रै हुने भएसँगै प्रतियोगिताको फर्म्याट पनि लिगकम नकआउटबाट राउन्ड रोबिन पद्दतिमा परिवर्तन भएको छ । यसको अर्थ पहिलो चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

    दक्षिण एसियाली फुटबलमा भारतपछि नेपाल चर्चित टोली मानिने भए पनि साफमा भने खराब नतिजाको शिकार बन्दै आएको छ । हालसम्म नेपाल फाइनलसम्म पुग्न नसक्दा प्रतियोगिताको सर्वाधिक सफल टोली निकटतम प्रतिद्वन्दी भारत हो ।

    अक्टोबर ४ मा हुने बंगलादेशविरुद्धको खेलसँगै भारतले आसन्न संस्करणको सुरुआत गर्नेछ । अक्टोबर १ देखि १६ सम्म हुने तय भएको साफ च्याम्पियनसिप पछिल्लो पटक २०१८ मा बंगलादेशमा भएको थियो । हरेक दुई वर्षमा आयोजित हुने भए पनि कोरोना भाइरसका कारण एक वर्षपछि सरेको आसन्न १३औं संस्करणमा माल्दिभ्स साविक विजेताको रूपमा सहभागी हुँदैछ ।

    बंगबंधु रंगशालामा भएको अन्तिम संस्करणको फाइनलमा भारतलाई २–१ गोलको नतिजामा पराजित गर्दै माल्दिभ्सले तीन वर्षअघि आफ्नो दोस्रो उपाधि जितेको थियो ।

    हालसम्म साफ च्याम्पियनसिप विजेताहरू

    वर्ष च्याम्पियन स्कोर उप-विजेता
    १९९३ भारत राउन्ड-रोबिन पद्दति श्रीलंका
    १९९५ श्रीलंका १-० भारत
    १९९७ भारत ५-१ माल्दिभ्स
    १९९९ भारत २-० बंगलादेश
    २००३ बंगलादेश १-१ (५-३ पेनाल्टी) माल्दिभ्स
    २००५ भारत २-० बंगलादेश
    २००८ माल्दिभ्स १-० भारत
    २००९ भारत ०-० (३-१ पेनाल्टी) माल्दिभ्स
    २०११ भारत ४-० अफगानिस्तान
    २०१३ अफगानिस्तान २-० भारत
    २०१५ भारत २-१ (अतिरिक्त समयमा) अफगानिस्तान
    २०१८ माल्दिभ्स २-१ भारत

     साफको सर्वाधिक सफल टोली

    सात पटकको च्याम्पियन भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यस्तै आसन्न संस्करणको आयोजक मुलुक माल्दिभ्स दोस्रो सफल टोली हो । बंगलादेश र श्रीलंकाले हालसम्म एक/एक पटक साफ च्याम्पियनसिपको उपाधि जितेका छन् भने नेपाल, पाकिस्तान र भुटान हालसम्म उपाधिविहीन छन् ।

    टोली उपाधि संख्या उपविजेता जितेको वर्ष
    भारत १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५)
    माल्दिभ्स २००८,२०१८
    बंगलादेश २००३
    अफगानिस्तान २०१३
    श्रीलंका १९९५
  • भारतविरुद्धको खेलअघि अब्दुल्लाह भन्छन्- इतिहास लेख्न हामी तयार छौं (भिडियो)

    भारतविरुद्धको खेलअघि अब्दुल्लाह भन्छन्- इतिहास लेख्न हामी तयार छौं (भिडियो)

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई ‘रियल गोर्खाली’ बताउँदै ‘इतिहास खेल्न तयार’ रहेको बताएका छन् ।

    ‘हामीले दुई महिनादेखि तयारी गरिरहेका छौं । पोखरामा पनि अभ्यास गरेर एक सातादेखि काठामाडौंमै छौं,’ उनले भने ‘इन्डियन टोलीलाई हामीले विश्लेषण गरेका छौं । हाम्रा लागि साफ च्याम्पियनसिप महत्त्वपूर्ण छ । यो एक मैत्रीपूर्ण खेलमात्रै हो ।’

    ‘वि आर रियल गोर्खाली, वि हाभ टु वीन टु म्याचेज,’ प्रशिक्षक अब्दुल्लाहले भने ‘नेपाली टोलीलाई देखेर नेपालीले गर्व गर्ने बनाउनु मेरो जिम्मेवारी हो ।’

    भारतविरुद्ध नेपालको इतिहास कमजोर रहेको बताउँदै प्रशिक्षक अब्दुल्लाले अब इतिहास लेख्नका लागि नेपाली टोली तयार रहेको बताएका छन् ।

    ‘हामी इतिहासको बारेमा होइन, भविष्यको कुरा गर्छौं । वि आर रेडी टु क्रेट हिस्ट्री,’ प्रशिक्षक अब्दुल्लाहले भने, ‘भोलि हामी ठूलो सरप्राइज दिन्छौं । सबैभन्दा महत्त्वपूर्ण कुरा मेन्टालिटी स्ट्रङ्ग छ ।’

    नेपालका लागि साफ च्याम्पियनसिप महत्तवपूर्ण भएकाले त्यसलाई ध्यानमा राखेर तयारी गरिरहेको उनले बताए ।

    ‘साफ कपमा हामी फेभेरट होइनौं, त्यसैले हामी जित्न सक्छौं । त्यो हाम्रो स्ट्रेन्थ हो,’ अब्दुल्लाहले भने, ‘भारतविरुद्धका दुईमध्ये कम्तीमा पनि एक खेल जित्न चाहन्छौं ।’

    यस्तै, नेपालका कप्तान किरण चेम्जोङले पनि टोलीको मनोबल उच्च भएकाले भोलि नेपालले जितका लागि खेल्ने बताए ।

    ‘कोचले भने जस्तै २ महिनाभन्दा लामो तयारीले हामी राम्रो सेपमा छौं,’ कप्तान किरणले भने, ‘घरेलु मैदानमा कोभिडको महामारीमा पनि २ वटा भारतसँग मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर हो ।’

    फिफाले अन्तर्राष्ट्रिय खेलका लागि छुट्याएका दिनहरूमा खेल हुने भएकाले यी मैत्रीपूर्ण खेल भए पनि यसको नतिजाले वरीयतामा प्रभाव पार्नेछ ।

    ‘फिफा डेटमा हुने भएकाले हामीलाई रिजल्ट महत्त्व्पूर्ण छ । रिजल्टका लागि खेल्छौं । यो खेलबाट हामी कहाँ छौं ? कमजोरी र स्ट्रेन्ट पत्ता लगाउन यो खेल महत्त्वपूर्ण छ,’ किरणले भने, ‘टफ म्याच । अहिलेसम्म खेलेको कुनै खेल इजी थिएन । दर्शकबिना खेल्नु पर्ने होला जस्तो दु:खद् छ । तर, भोलिको खेल एकदमै कठिन र महत्त्वपूर्ण छ ।’

    यद्यपि, सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिइएसँगै भोलि ५ हजार १ सय दर्शकका अगाडि खेल हुने निश्चित छ ।

  • आफ्नो अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै प्रशिक्षक अल्मुताइरीले माफी मागे

    आफ्नो अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै प्रशिक्षक अल्मुताइरीले माफी मागे

    काठमाडौं । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एउटा अन्तरर्वार्तामा बोलेका कुराहरुलाई लिएर माफी मागेका छन् । आफ्ना अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै उनले फुटबल खेलाडी, फ्यान, तथा नेपाली जनतासमक्ष माफी मागेका हुन् ।

    अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले कही विषयमा बोलेको थिएँ, जसले नेपाली जनता र खासगरि भुतपूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझे । त्यसका लागि माफी चाहन्छु ।’

    उनले कसैप्रति आफ्नो दोष नरहेको बताएका छन् । नेपाल र नेपाली फुटबलमा गौरव गर्ने भन्दै उनले नेपाली टिमप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन् ।

    प्रशिक्षक अल्मुताइरीले केही दिनअघि पदबाट राजीनामा गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।

    केही दिनअघि एक अन्तरर्वार्तामा उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो ।

  • एन्फाको कार्यसमिति बैठकमा प्रशिक्षक अब्दुल्लाहको प्रवेश

    एन्फाको कार्यसमिति बैठकमा प्रशिक्षक अब्दुल्लाहको प्रवेश

    काठमाडौं । राष्ट्रिय फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक जारी छ । बैठकमा प्रशिक्षक अल्मुताइरीले पनि सामेल भएका छन् ।

    कार्यसमिति बैठक चल्दाचल्दै अल्मुताइरी बैठकस्थलमा प्रवेश गरेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरलगायतले पार्किङबाट लिएर उनलाई बैठक कक्षतर्फ लगेका थिए ।

    अब्दुल्लाहले केही दिनअघि एन्फाका वरिष्ठ उपाध्यक्षलाई आरोपित गर्दै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । उनले लिखितरूपमा राजीनामा भने बुझाएका छैनन् । आजको एन्फा बैठकले यो विषयलाई निकास दिने अनुमान छ ।

  • एन्फामा अब्दुल्लाहको निवेदन- उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको माग

    एन्फामा अब्दुल्लाहको निवेदन- उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको माग

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न निवेदन दिएका छन् ।

    नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

    त्यसअघि एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जाल तातिएको थियो ।

    यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

    ‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन गर्नका लागि निवेदन आइसकेको थियो,’ एन्फाका प्रवक्ता किरण राईले नेपाल प्रेससँग भने, ‘भोलि हाम्रो (कार्य समिति) मिटिङ छ । त्यसमा कुरा हुन्छ ।’

  • घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी

    घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हिजो फेसबुकमार्फत राजीनामाको घोषणा गरे । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई आरोपित गर्दै राजीनामा घोषणा गरेका अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फामा अहिलेसम्म राजीनामा बुझाएका भने छैनन् ।

    एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षकबाट राजीनामा नआइसकेको बताए । सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा भएपछि अल्मुताइरीसँग एन्फाको संवाद भइरहेको उनले जानकारी दिए । प्रशिक्षकको असन्तुष्टिका विषयहरुबारे भने उनले बताउन चाहेनन् ।

    राईले भने, ‘अहिले सबै भनेर साध्य हुँदैन । छलफल भइरहेको छ । अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ आएपछि निस्कर्षमा पुग्छौं ।’

    प्रवक्ता राईका अनुसार प्रशिक्षकको राजीनामा मात्र नभएर ‘सबै विषयको समाधान खोज्ने गरी’ छलफल भइरहेको छ । अरु विषय के हुन् भन्ने उनले जानकारी दिन चाहेनन् ।

    उनले भने, ‘राजीनामा फिर्ताको कुरा आफ्नो ठाउँमा छ । तर अरु पनि विषयहरु छन् । राजीनामा फिर्ताले मात्रै सबै हल हुँदैन । सबै विषयको अध्ययन र छलफलपछि टुंगोमा पुग्ने कुरा आउँछ ।’

    प्रशिक्षक अल्मुताइरीले उपाध्यक्ष नेम्वाङबाट आफूलाई असहयोग भएको संकेत गरेका छन् । नेम्वाङले भने आफूबाट गलत भएको भए कारवाही भोग्न तयार रहेको बताउँदै आएका छन् ।

    एन्फा अध्यक्ष कर्मा छिरिङि शेर्पा भने पोखरामा छन् । उनी भोली काठमाडौं आउने प्रवक्ता राईले जानकारी दिए ।