Tag: अब्दुल्लाहअलमुताइरी

  • प्रशिक्षक अब्दुल्लाह भन्छन्– भविष्य निश्चित छैन, समर्थकलाई ठूलो सरप्राइज हुन सक्छ (भिडिओ)

    प्रशिक्षक अब्दुल्लाह भन्छन्– भविष्य निश्चित छैन, समर्थकलाई ठूलो सरप्राइज हुन सक्छ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

    नेपालको एक मिडियाका कारण आफू नेपाल नफर्किने र साफ च्याम्पियनसिपको फाइनल नै नेपालबाट आफ्नो अन्तिम खेल हुने बताएका अब्दुल्लाले फाइनलपछि फर्किन सक्ने संकेत भने पक्कै दिएका छन् । शनिबार राति माल्दिभ्सको मालेमा भएको फाइनलमा भारतसँग ३–० गोलको नतिजामा पराजित हुँदै नेपालले प्रतियोगिता टुङ्ग्यायो ।

    अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएर टच लाइनमा प्रतिबन्धित प्रशिक्षक अब्दुल्लाहले खेलपछि पत्रकारसँग कुरा गर्दै भविष्य अझै अनिश्चित गरेको प्रतिक्रिया दिए ।

    ‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ,’ उनले भने, ‘अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’

    पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको बताउँदै अब्दुल्लाहले यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको सुनाए ।

    ‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु’ उनले भने, ‘भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’

    तर त्यसका लागि समर्थकले प्रतीक्षा गर्नुपर्ने उनले बताए ।

    ‘हो, म आफ्नो टोली (नेपाल)लाई माया गर्छु । मेरा खेलाडीहरु, मेरा बच्चाहरु, मेरो परिवार र सबै स्टाफलाई पनि माया गर्छु,’ उनले भने, ‘म सबै नेपालीलाई माया गर्छु । म नेपालीलाई के भन्न चाहन्छु भने उनीहरु म मेरो अन्तिम अवस्थासम्म नेपाललाई माया गरिरहन्छु भन्नेमा सतप्रतिशत निश्चिन्त हुनुपर्छ ।’

    नेपाली समर्थकले आफूलाई समर्थन र एकदमै माया गरेकाले आफूले सधैं नेपाललाई माया गरिरहने उनको भनाई थियो ।

    ‘उनीहरुले सबै राम्रा कुरा दिए । यदि त्यहाँ केही खराब मान्छे पनि छन् भने पनि सबै खराब छैनन्,’ उनी भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालीले मलाई दिएको माया हो । जब मलाई कसैले समर्थन गरेका थिएनन् । उनीहरुले समर्थन गरे । म सम्पूर्ण नेपालीलाई धन्यवाद भन्न चाहन्छु ।’

    नेपालले शनिबार भएको फाइनल हारे पनि आफू माफी नमाग्ने बताउँदै उनले भने– ‘आज हामी फाइनलको अनुभव नभएर हार्यौ । जब फाइनलमा एक मिनेटमा टीमले दुई गोल खान्छ, त्यो एकदमै कठिन हुन्छ । तर त्यसपछि हामीले दुई डिफेन्डरलाई बाहिर निकालेर आक्रामक फुटबल खेल्यौं ।’

    ‘यदि पानी परेको हुँदैन थियो भने रोहित चन्द नचिप्लिन सक्थ्यो । तर, त्यसले केही महत्व राख्दैन,’ अब्दुल्लाह भन्छन्, ‘यदि नेपालीले साँच्चै नेपाली फुटबल टोलीलाई माया गर्छन् भने १८ अक्टोबरमा विमानस्थलमा गएर समर्थन गर्न आग्रह गर्छु । यो स्तरमा राम्रो प्रदर्शनलाई निरन्तरता दिनका लागि उनीहरुलाई माया गर्नु समर्थन गर्नु आवश्यक छ ।’

  • अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताएका छन् ।

    अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । सोही क्रममा प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल (एन्फा) मिडियासँग कुरा गर्दै भारतविरुद्ध आगामी १७ र २० गते हुने खेल फाइदाजनक हुने बताएका हुन् ।

    साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने

    ‘भारतविरुद्धक दुई खेल साफ कपको तयारीका लागि फाइदाजनक छन्,’ उनले भने, ‘विश्वकप छनोट खेलेको टोलीमा धेरै परिवर्तन हुन सक्छ । किनभने, मैले खेलाडीहरूसँग धेरै समय बिताउने मौका पाएँ । हामीले धेरै क्लास गरेका छौं ।’

    नेपालले घरेलु मैदानमा भदौ १७ र २० गते भारतसँग खेल्दै छ । साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

    ‘नेपालले च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग खेल्ने छ,’ प्रशिक्षक अब्दुल्लाहले भने, ‘त्यो ठूलो खेल हुनेछ । किनभने, माल्दिभ्स साविक विजेता र आयोजक राष्ट्र पनि हो ।’

    राष्ट्रिय टोलीका खेलाडीहरूलाई प्रशिक्षक एएफसी डी लाइसेन्सका लागि पनि तयार गरिरहेको उनले बताए । राष्ट्रिय टोलीका खेलाडीसँग ए लाइसेन्स हुनुपर्ने र त्यसले रिटायरमेन्टपछि फुटबल बुझ्न अझै सजिलो हुने बताए ।

  • प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ?

    प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ?

    काठमाडौं । नेपालमा आएदेखि फुटबल समर्थकहरुबाट माया र समर्थन पाइरहेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे केही दिनअघि एउटा अनलाइनले आलोचनात्मक समाचार छाप्यो । ‘मेरो खेल डटकम’ मा प्रकाशित समाचारमा भनिएको थियो– प्रशिक्षक अल्मुताइरीद्वारा पत्रकारमाथि दु वहार ।

    समाचारमा दावी गरिएअनुसार सोही अनलाइनका दुई पत्रकार बिभा थापा र बिभु श्रेष्ठमाथि अब्दुल्लाहले अपशब्दसमेत प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । घटना गत साउन ८ गतेको हो । आज प्रशिक्षक अब्दुल्लाहले एन्फामा दिएको निवेदनमा दुई पत्रकारमाथि छानविन गर्न गरेको माग सोही घटनासँग जोडिएको छ ।

    घटनाविवरण अनुसार त्यस दिन एन्फा कम्प्लेक्समा प्रशिक्षण चलिरहेको थियो । त्यसैबीचमा प्रशिक्षक अब्दुल्लाह एन्फा कम्प्लेक्स बाहिर आएर सडकमा धुम्रपान गर्न थाले । बाहिर प्रशिक्षकले चुरोट पिइरहेको सूचना पाएर कम्प्लेक्सभित्र रहेका दुई पत्रकारहरु क्यामरासहित बाहिर आएका थिए ।

    मेरो खेलको समाचारमा जनाइएअनुसार विभाले प्रशिक्षकलाई ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न पाइन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् । यसबाट आक्रोशित भएर प्रशिक्षकले अपशब्दसहित अंग्रेजीमा गाली गरेको दावी पत्रकारद्वयले गरेका छन् ।

    ‘हु दी ब्लडी हेल आर यु टु क्वेस्चन मि’ भन्दै बिभामाथि जाइलाग्ने प्रयास गरेको उनीहरुले बताएका छन् । बिभुले भिडियो बनाउन लाग्दा प्रशिक्षकले क्यामेरा खोस्ने प्रयत्न गरेको र कुस्ती खेल्ने हो ? भन्दै थर्काएको समेत समाचारमा उल्लेख गरिएको छ । यद्यपि, यस विषयमा प्रशिक्षकका तर्फबाट कुनै बयान सार्वजनिक भएको छैन ।

    नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल पत्रकार महासंघले त्यस सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्न एन्फासमक्ष माग गरेका थिए । यो स्क्यान्डल साम्य हुन नपाउँदै गत आइतबार अब्दुल्लाहले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि दोषारोपण गर्दै प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा सामाजिक सञ्जालमार्फत गरे । यद्यपि, उनले अहिलेसम्म लिखित राजीनामा बुझाएका छैनन् । बरु एन्फामा निवेदन दिएर वरिष्ठ उपाध्यक्ष नेम्वाङ र ती दुई पत्रकारमाथि छानविनको माग राखेका छन् ।

    एन्फाका प्रवक्ता किरण राईका अनुसार यो विषयमा भोलि (शुक्रबार) बस्ने कार्य समिति बैठकमा छलफल हुनेछ । प्रशिक्षकको राजीनामाबारे पनि सोही वैठकले टुंगो लगाउनेछ । उपाध्यक्ष नेम्बाङले आफू दोषी ठहरिए तुरुन्तै पदबाट राजीनामा दिने बताइसकेका छन् ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रुपमा करिब पाँच महिनाअघि नियुक्त भएका अल्मुताइरीले त्यसयता फुटबल समर्थकहरुबीच निकै लोकप्रियता कमाइसकेका थिए । यसबीचमा राष्ट्रिय टिम छनोटका क्रममा लिएको बोल्ड निर्णय, एनएसएल च्याम्पियन काठमाडौं रेजर्जका खेलाडी टोलीमा नपर्नु, मैदानमा नेपालको आक्रामक शैलीजस्ता कुराले अब्दुल्लाललाई बारम्बार चर्चामा ल्याइरह्यो ।

    स्पष्ट रणनीति, बोल्ड निर्णय र सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहको प्रभाव नेपाली राष्ट्रिय टोलीमा पनि सकारात्मक नै छ । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एएफसी एसिया कपको संयुक्त छनोट गरी नेपालले उनको नेतृत्वमा चार खेल खेलेको छ । ती चार खेलका लागि ‘मिडिल–इस्ट’ भ्रमणमा जाने नेपाली टोलीमा ६ नयाँ अनुहार समेटेका अब्दुल्लाहले अप्रिलमा दशरथ रंगशालामा थ्री नेसन्स कप जितेका १३ खेलाडी परिवर्तन गरेका थिए ।

    सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहले ‘वान् टिम–जय नेपाल’ स्लोगनलाई नेपाली फुटबल जमातमा स्थापित गरेका छन् । समर्थक तथा आममानिससँग पनि अन्तरक्रिया गर्न रुचाउने उनी आफ्नो पोस्टमा आएका कमेन्टमा रिप्लाइ गर्न समेत समय निकाल्छन् । फ्यान ग्रुपमा पसेर पोस्टसमेत गर्छन् ।

    अहिले नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि निरन्तर अभ्यासमा छ । प्रशिक्षकले छाडेर हिँडेको खण्डमा नेपाली टिमको तयारी प्रभावित हुन सक्छ ।

  • प्रशिक्षक अब्लुल्लाहले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

    प्रशिक्षक अब्लुल्लाहले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट- अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

    जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने ट्रेनिङका लागि अब्दुल्लाहले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन् ।

    बन्द प्रशिक्षणमा परेका खेलाडीहरू:

    अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

    एन्फा कम्प्लेक्समा १ जुलाईदेखि सुरु हुने ट्रेनिङ खेलाडीहरूलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले बताएको छ ।

  • हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    काठमाडौं । विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा शुक्रबार नेपालले अस्ट्रेलियाको सामना गर्दैछ । समूह ‘बी’ मा यसअघिका सबै खेलमा सतप्रतिशत जित निकालेको अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा निश्चित छ ।

    कोरोना भाइरसका कारण प्रभावित बनेको छनोटका खेलहरू अहिले सेन्ट्रल भेन्यू कुवेतको जाबेर अल-अहमद रंगशालामा भइरहेका छन् । जसअनुसार नेपालले भोलि नेपाली समयअनुसार ९:४५ बजे फिफा बरियताको ४१औं स्थानको अस्ट्रेलियाको सामना गर्दैछ ।

    यसअघिको खेलमा नेपाल जोर्डनसँग ३-० को नतिजामा पराजित भएको थियो भने अस्ट्रेलियाले चाइनिज ताइपेइविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो । उत्कृष्ट फर्ममा रहेको र विश्वकप खेलिसकेको अस्ट्रेलियाविरुद्ध फिफा बरियताको १७१औं स्थानमा भएको नेपालले नतिजा भन्दा पनि प्रदर्शनका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

    संयुक्त छनोटको अन्तिम खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालले नतिजाभन्दा पनि राम्रो फुटबल खेल्ने आफ्नो टोलीको लक्ष्य हुने बताए ।

    ‘नतिजाभन्दा पनि राम्रो खेल खेल्ने नेपालको लक्ष्य छ,’ उनले भने, ‘नेपालले पहिले लामो पासकमा फुटबल खेल्थ्यो, अहिले त्यसमा परिवर्तन भएको छ । हामीले शैलीमा फेरबदल गरेका थियौं, त्यो प्रदर्शनमा देखिँदैछ ।’

    खेलमा नतिजा पनि महत्त्वपूर्ण हुने बताउँदै प्रशिक्षक अल्मुताइरीले नेपाली समर्थकलाई खुशी पार्न सकेको र आगामी दिनमा अझै सकारात्मक नतिजा ल्याउनेछौं

    यसअघि जोर्डनविरुद्धको खेलमा रेफ्रीको निर्णय चित्तबुझ्दो नभएको बताउँदै अब्दुल्लाहले भने, ‘गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो ।’

    केही समयअघि प्रशिक्षक अल्मुताइरीले युरोपेली फुटबलबाट प्रेरित भएको संकेत दिँदै दी वर्ल्ड गेमसँग भनेका थिए- ‘यदि नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले पनि अस्ट्रेलियामाथि आक्रामण गर्न सक्छ ।

    नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ भने एसियनकपको आशा बाँकी छ । भोलिको खेलमा पराजित भए नेपालले प्लेअफ खेल्नुपर्नेछ ।

    नेपालले पहिलो लेगमा २०१९ मा अस्ट्रेलियासँग क्यानेरामा ५-० को पराजय बेहोरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक तथा ह्यारी साउटरले १ गोल गरेका थिए । एक गोल नेपालकै खेलाडी दिनेश राजवंशीले आत्मघाति गोल गरेका थिए ।

  • एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह

    एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह

    काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एएफसी एसिया कप छनोटमा सोमबार हुने जोर्डनविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।

    जोर्डन नेपालभन्दा माथिल्लो स्तरको टोली भए पनि नेपाल भोलिको खेलमा जितको अपेक्षासहित मैदानमा उत्रिने अल्मुताइरीले बताए । ‘धेरैले हामीलाई अन्डरडग्स सोचेर जोर्डनविरुद्ध सम्भावना नभएको बताइरहेका छन्,’ उनले भने ‘तर, प्रत्येक खेल ०-० मा सुरु हुन्छ र नतिजा फिल्डमा भएको प्रदर्शनमा निहीत हुन्छ । भोलिको खेलमा सुरुआतदेखि नै हाम्रो लक्ष्य जित हुनेछ ।’

    नेपाली टोलीको लक्ष्य एसिया कपमा छनोट हुनु भएको बताउँदै अल्मुताइरीले त्यसका लागि नेपाललाई जोर्डनविरुद्ध जित आवश्यक रहेको बताए ।

    अब्दुल्लाहले भने- जोर्डनविरुद्धको खेलका लागि हामीले चाइनिज ताइपेइविरुद्धको खेल जस्तै तयारी गरेका छौं । ।

    अल्मुताइरीको नेतृत्वमा पहिलो पटक विदेश भ्रमणमा निस्किएको नेपाली टोलीले गत साता इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

    आफूभन्दा १०३ स्थानमा माथिको टोलीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली टोलीले सुरुआतमा १-२ को अग्रता लिए पनि अन्तत: ६-२ को पराजय बेहोरेको थियो ।

    मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एएफसी एसिया कप छनोटका बाँकी खेल खेल्न कुवेत पुगेको नेपालले गत बिहीबार चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको थियो । नेपाली फुटबललाई नयाँ शैलीमा ढाल्ने संकल्प गरेका अब्दुल्लाहको आगमनसँगै नेपाली टोलीले पनि आक्रामक फुटबल खेल्न सक्ने अनुभूति भएको छ । नेपालका कप्तान किरण चेम्जोङले समेत टोलीको माहौल परिवर्तन भएको प्रतिक्रिया दिएका थिए ।

    अप्रिलमा नेपालमै भएको थ्री नेसन्स कपको विजेता टोलीबाट १३ खेलाडी परिवर्तन गरेर ६ नयाँ खेलाडीसहित भ्रमणमा निस्किएका अब्दुल्लाहले भोलिको खेलमा पनि आक्रामक फुटबल खेल्ने बताएका छन् ।

    यसअघि अब्दुल्लाहले नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले अस्ट्रेलियालाई आक्रामण गर्न सक्ने बताएका थिए । यसबाट पनि नेपालले जोर्डनविरुद्धको खेलमा आक्रामक शैली अपनाउने अनुमान लगाउन सकिन्छ ।

    नेपालविरुद्ध खेल जोर्डनका लागि महत्त्वपूर्ण रहेको बताउँदै मुख्य प्रशिक्षक भिटाल बोर्केल्म्यान्सले यसका लागि कडा मेहेनत गरेको बताएका छन् ।

    ‘सबैले हामी तीन अंक हासिल गर्ने आशा गरेका छन्,’ उनले भने, ‘तर, यो फुटबल हो । यहाँ जे पनि हुनसक्छ ।’

    नेपालले खेलेका इराक र ताइपेइविरुद्धको खेल आफूले हेरेको र नेपालको प्लेयिङ सिस्टम परिवर्तन भएको भिटालले बताए । उनले फिल्डमा प्रदर्शन गर्नुपर्ने र प्रदर्शन राम्रो भए नतिजा पनि आफ्नो पक्षमा पर्ने बताए ।

    नेपालले भोलि (सोमबार) राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने छ ।

    बिहीबार भएको खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा अञ्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए ।

  • २० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा

    २० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा

    काठमाडौं । सन् २००१ को विश्वकप छनोटपछि नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक आज एसियाली फुटबलको एक महारथी इराकसँग खेल्दै छ । मंगलबार मात्रै जारी भएको फिफाको बरियता हेर्ने हो भने आफूभन्दा १०३ स्थान माथि रहेको इराकविरुद्ध नेपालको कठिन परीक्षा हुने निश्चित छ ।

    त्यसमाथि नेपाली राष्ट्रिय टोलीको स्तर र शैली बदल्ने सोच लिएर नेतृत्व लिएका मुख्य प्रशिक्षकको पहिलो परीक्षा पनि आजैको खेल हुनेछ । अप्रिलमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि जितेको टोलीबाट १३ खेलाडी हटाएर उनीहरूको स्थानमा युवा खेलाडीलाई मौका दिँदै इराकको बसेरा पुगेका अब्दुल्लाह अल्मुताइरीले ब्युटिफुल फुटबलको वाचा गरेका छन् ।

    चैतदेखि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाहले नेपालले अब ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल खेल्ने बताएका थिए । सोही अनुसारको युवा टोली तयार गरेर इराकको बसरा पुगिसकेका अब्दुल्लाहले आजको खेलको नतिजा खराब आए पनि खेलाडीलाई दोष नदिन र त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

    नेपाली समयअनुसार राति १०:१५ बजे इराकको दोस्रो ठूलो शहर बसेरास्थित अल्फायहा रंगशालामा हुने खेलमा नेपालले कस्तो प्रदर्शन गर्छ, त्यो बहुप्रतिक्षित विषय हो । तर, फुटबलको प्रिमियम लेभल-विश्ककप खेलिसकेको तथा एसियन च्याम्पियनसमेत भइसकेको इराकविरुद्ध जितको अपेक्षा गर्नु सान्दर्भिक हुँदैन । तर, प्रशिक्षक अब्दुल्लाह आफैँले वाचा गरेको झैँ ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल हेर्ने सबै नेपाली फुटबलप्रेमीको दृढ इच्छा छ ।

    यसअघि भएका तीन भेटमा एकलौटी नतिजा निकालेको इराकले नेपालविरुद्ध १३ गोल गरेको छ भने ३ गोल खाएको छ ।

    विश्वकप छनोटका बाँकी ३ खेलको तयारी स्वरुप खेल्न लागेको आजको खेलले कुवेतमा हुने बाँकी खेलका लागि सहयोग हुनेछ ।

    आजको खेलपछि विश्वकप तथा एएफसी एसियन कपको छनोटका बाँकी तीन खेल खेल्न नेपाली टोली कुवेत जानेछ । कुवेतमा नेपालले पहिलो खेल जुन ३ मा चाइनिज ताइपेइविरुद्ध खेल्ने छ । पहिलो लेगमा चाइनिज ताइपेइलाई उसकै मैदानमा हराउँदा नेपाली फरवार्ड अञ्जन विष्ट नायक बनेका थिए ।

    उनले गरेको दुई उत्कृष्ट गोलमा नेपाल २-० ले विजयी भएको थियो । त्यस्तै, नेपालले जुन ७ मा जोर्डनसँग खेल्ने छ । पहिलो लेगमा ३-० को पराजय भोगेको नेपाली टोली यसपटक प्रदर्शन सुधार्ने ध्याउन्नमा छ ।

    विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेल जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ । पहिलो लेगमा ५-० ले पराजित भएको नेपालले यो भ्रमणको अन्तिम खेलमा उही हेभिवेट अस्ट्रेलियाको सामना गर्नेछ ।

    अहिलेको नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

    डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

    अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

  • कुवेतका अब्दुल्लाह नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त

    कुवेतका अब्दुल्लाह नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त

    काठमाडौं । नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ-एन्फा) ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

    एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

    आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

    यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।

    एन्फाले आजै पत्रकारसम्मेलन मार्फत अब्दुल्लाहको नियुक्तीबारे औपचारिक जानकारी गराइयो।