विराटनगर । जेनजी आन्दोलनका क्रममा कन्काई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलको घरमा ८० किलो सुन भेटिएको हल्ला खुबै फैलियो । अहिले पनि यो हल्लामा धेरैले विश्वास गरेका बसेका छन्, जसको पुष्टि भने कतैबाट भएको छैन ।
युट्यूवर भाग्य न्यौपानेले आन्दोलनका क्रममा मेयर पोखरेलको घरमा ८० किलो सुन र २ बोरा चाँदी भेटिएको प्रचार गरेका थिए । भदौ २४ गते उनले फेसुबकमा हालेको भिडिओ दुई दिनअघि आफैँले हटाए ।
उक्त भिडिओमा न्यौपानेले भनेका छन्, ‘झापाका ओलीनिकट मेयरको घरमा ८० किलो सुन भेटियो । त्यति मात्रै नभएर फेरि २ बोरा चाँदी भेटिएको छ रे ।’
सेल्फी मोडमा खिचिएको भिडिओमा अर्का युवा आएर भन्छन्, ‘मैले थोरै थप्न चाहेँ, कन्काइ नगरपालिकाका मेयर ओलीका मित जस्तो भन्ने पनि कुरा आयो । अव नेताको सम्पत्ति खोज्ने बेला आयो । गुड जब जेन्जी । जय जेन्जी ।’
सो भिडिओ केहीबेरमै भाइरल भएको थियो । त्यस दिन कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी भयो । आक्रोशित समूहले मेयर पोखरेल बस्दै आएको भाइको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।
आगजनी र तोडफोडपछि घरका सरसमान समेत लुटपाट भएको प्रहरीले जनाएको छ । झापा, मोरङ, सुनसरी, उदयपुरका अधिकांश पालिका प्रमुखहरूको घरमा तोडफोड र क्षति भएको छ । तर, अझैसम्म कति जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भयो भनेर तथ्याङ्क सङ्कलन भइनसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
युट्यूर न्यौपानेले आन्दोलनका दिन अरू पनि भिडिओ पोस्ट गरेका थिए । उनले देशको गृहमन्त्री हुने मान्छे रवि लामिछाने जेलभित्र रहेको भन्दै उनलाई जेल तोडेर निकाल्न आह्वान गरेका थिए ।
सो भिडिओमा भनेका छन्, ‘रवि दाइ्लाई राखिएको जेलमा जानु पर्यो साथीहरू हो । यो देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लाउनु पर्यो ।’
नभन्दै रवि लामिछानेलाई निकालियो । तर, उनी धेरै समय बाहिर रहन सकेनन् । अहिले आफैँ कारागार फर्किएका छन् ।
यता, भाग्य न्यौपानेलाई भने ८० किलो सुनको विषयमा प्रष्टीकरण दिँदै हैरान छ । स्थानीय मिडियाले भिडिओ हालेपछि आफूले पनि हालेको उनले बताइरहेका छन् ।
एउटा भिडिओ बनाउँदै उनले भनेका छन्, ‘स्थानीय मिडियाले समाचार लेखेपछि भिडिओ बनाएको हो । त्यो समाचार अहिले पनि हटाइएको छैन । उनले मेयर पोख्रेलले त्यो सुन भाग्य न्यौपानेसँग छ भनेर भन्नु । मेरो बारेमा छानबिन गरे हुन्छ । म रेडी छु । म युटुयब चलाएर हिँडेको मान्छे हो । देश चलाएर, बजेट चलाएर, भ्रष्टाचार गरेर हिँडेको मान्छे होइन ।’
मेयर पोखरेलले भने घरमा ८० किलो सुन भेटिएको कुरालाई हावादारी भनेका छन् । ४० तोलाबाट सुरु गरेर ८० किलो पुर्याइएको उनले बताए ।
पोखरेलको भनाइ यस्तो छः
‘सुरूमा ४० तोला भेटिएको भनेर भिडिओ आयो । अर्को भिडिओमा ८० तोला भयो । त्यसपछि ४० किलो भयो अनि ८० केजी भएर आयो । त्यसपछि २ बोरा चाँदी पनि थपियो । यतिको पत्रकारले भनिरहँदा त्यो बरामद हुनु पर्दैन ? त्यो बरामद कसले गरेको हो ? बरामद गरेको सुन कहाँ छ ? मेरो घरमा आगजनी हुँदा मेरो परिवार त त्यहाँ कोही थिएन । त्यसो हो भने त्यो सुन चाहियो नि ।’
उनले कन्काइकै केही केही मान्छेहरू आफ्नोविरुद्धमा लागेका बताए । पैसा दिएर अनर्गल प्रचार गरिएकोसमेते उनको आरोप छ ।
पोख्रेलले भने, ‘त्यत्रो सुन कहाँबाट मसँग हुनु यार ? मेरा छोराछोरीको विवाह गर्न चाहिने सुन लिएर बाँकी सुन सबै भाग्य न्यौपानेलाई दिन्थेँ ।’
कसरी चल्यो हल्ला ?
जेनजी आन्दोलन सुरू भएपछि एउटा समूह तोडफोड गर्दै मेयर पोख्रेलको घरमा पनि पुग्यो । ठुलो समूह घरबाहिर बसेर होहल्ला गर्न थाल्यो भने एउटा सानो समूह मेयरको घरभित्र पसेर कोठा-कोठा चाहार्न थाल्यो । त्यही समूहमा रहेका कसैले टिकटकमा एउटा भिडिओ अपलोड गरे ।
अपलोड गरिएको भिडिओमा मेयरको घरमा ८० किलो सुन भन्ने लेखिएको छ । दृश्यमा भने केही युवाहरूले तोडफोड गर्दै सामानहरू फालेको देखिन्छ । सुन देखिएको छैन ।
यो भिडिओ आएपछि केही व्यक्तिहरूले मेयरको घरमा ८० किलो सुन भएको भन्दै फेसबुकमा पोस्ट गर्छन् । यसलाई अझै अतिरञ्जित गर्दै कृश काफ्ले नामका व्यक्तिले कन्काईका मेयरको घरमा २ बोरा सुन भेटिएको भनेर पोस्ट गरे । उनी स्थानीय हरिकुल माध्यमिक विद्यालयका कर्मचारी हुन् । हिमालय टेलिभिजनमा भिज्युअल इडिटरको रूपमा समेत काम गरेका काफ्ले फोटोग्राफर हुन् ।
उनले फेसबुकमा पोस्ट गरेपछि त्यसकै आधारमा युटुवबर भाग्य न्यौपानेले भिडिओ बनाए । उनलाई अर्का युट्युवर सुजन ढकालले पनि साथ दिए । डीभी परेर अमेरिका गएका सुजन केही महिनाअघि मात्र झापा फर्किएका हुन् । उनी फेसबुक, युट्युवमा भिडिओहरू बनाएर अपलोड गर्छन् । अहिले उनीहरूले ८० किलो सुन प्रकरणसँग जोडिएका सबै भिडियो डिलिट गरेका छन् ।
काफ्लेले टिकटकमा भिडिओ आएको र अरू स्थानीयले पनि लेखेको देखेपछि आफूले स्टाटस हालेको बताए ।

उनले भने, ‘मेयरको घरमा ८० केजी सुन भेटिएको सत्य नभएको थाहा भएपछि आफूले केही बेरमै स्टाटस डिलिट गरेँ । मैले सुरू गरेको होइन । पहिले अरूले नै लेखेका थिए ।’
उनी थप्छन्, ‘हामीले पछिल्ला समय केही स्थानीय पत्रकारसँग लागेर वा भिडिओको हल्लामा आधारित भई ८० किलो सुनसम्बन्धी विषयमा भ्रमपूर्ण समाचार प्रवाह गरेका रहेछौँ । हाम्रो ठाउँलाई बदनाम गर्ने षडयन्त्रमा हातोमालो भएको अनुभूति भएको छ । यसका लागि हामी आफ्नो गल्तीप्रति खेद प्रकट गर्दछौँ ।’
युट्युवर भाग्य न्यौपानेले भने बारम्बार फोन गर्दा पनि फोन उठाएनन् । आफ्नो परिचयसहित एसएमएस पठाएर फोन उठाउन आग्रह गरेपछि भने उनले मोबाइलको स्वीच अफ गरे ।
मेयरको घरमा ८० किलो सुन भेटिएको हल्लालाई झापाका प्रहरी प्रमुख राजन लिम्बूले पनि इन्कार गरेका छन् ।
उनले भने, ‘सुन भेटिएको भए त हामीलाई खबर हुन्थ्यो होला नि ! भेटेर कसैले लगेको भए पनि त्यत्रो भिडमा एक जनाले मात्रै त लगेको छैन होला ।’
लिम्बूले यसका विषयमा उजुरी नपरेको बताए ।
पोख्रेल दोस्रोपटक कन्काईको मेयरमा विजयी भएका हुन् । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरमा जितेका थिए । उनको आर्थिक अवस्था मध्यम छ ।