Tag: अपराध/सुरक्षा

  • भदौ २४ को आगजनी, प्रहरी हत्या र लुटपाटमा बालेनसहित कलाकार र कन्टेन्ट क्रियटहरूविरुद्ध किटानी जाहेरी

    भदौ २४ को आगजनी, प्रहरी हत्या र लुटपाटमा बालेनसहित कलाकार र कन्टेन्ट क्रियटहरूविरुद्ध किटानी जाहेरी

    काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरसहितविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

    राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन् ।

    हालैको जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको जाहेरीमा उल्लेख गरिएको छ ।

    उनीहरूले कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्कालगायतमाथि कारबाही माग गर्दै किटानी जाहेरी दिएका हुन् ।

    जाहेरीवालाले प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन् ।

  • जेन-जी आन्दोलनकारीद्वारा मारिए सहायक हवल्दार, बेसहारा बन्यो परिवार

    जेन-जी आन्दोलनकारीद्वारा मारिए सहायक हवल्दार, बेसहारा बन्यो परिवार

    काठमाडौं । जेन-जी आन्दोलनमा मृत्यु भएका आन्दोलनकारीका परिवारजनले सबैतिरबाट सहानुभूति र सहयोग पाइरहेका छन् । तर, यही आन्दोलनमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारको भने कसैले कुरा गर्दैनन् ।

    जेन-जी आन्दोलनमा तीन जना प्रहरी मारिएका थिए । उनीहरूमध्ये एक हुन् प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ । रुपा गाउँपालिका-५ राम्दी (कास्की) घर भएका गरुङ विगत १२ वर्षदेखि नेपाल प्रहरीमा जागिर गर्दै आएका थिए ।

    भदौ २३ गतेको जेन-जी आन्दोलनमा प्रदर्शनकारीकै सुरक्षाका लागि बिहानैदेखि खटिएका थिए गुरुङ । त्यस दिन संघीय संसद भवन अगाडि जेन-जीहरू संसद भवनभित्र छिर्न खोज्दा प्रहरीले चलाए । त्यसको भोलिपल्ट २४ गते सुरक्षाकर्मीहरु पनि जेन-जीको निशानामा परे । कति प्रहरीहरूलाई बर्दी निकालेर खोलामा लखेटियो भने कतिमाथि फलामे रड, काठको चिर्पटले प्रहार गरियो । गुरुङ पनि यस्तै आततायी कार्यको शिकार बने ।

    आन्दोलनमा गुरुङ दिवंगत बनेपछि परिवार बेसहारा भएको छ । बुढा हजुरबुबा, बुबा, श्रीमती र २२ महिने छोराको जीवनमा अँध्यारो छाएको छ ।

    जेन-जी आन्दोलनको पहिलो दिन श्रीमानसँग बिहानसम्म कुरा भएको श्रीमती कान्ती बताउँछिन् । दिउँसो फोनमा भिडिओ हेर्दा देशैभरि जेन-जी आन्दोलन भइरहेको छ भन्ने उनले थाहा पाइन् । त्यसपछि श्रीमानलाई फोन गर्दा नउठेको नेपाल प्रेससँग उनले बताइन् ।

    कान्तीले भनिन्, ‘२३ गते बिहानसम्म कुरा भइरहेको थियो । दिउँसो आन्दोलन भइरहेको छ भन्ने कुरा समाचार र फोन हेरेपछि थाहा पाएँ । त्यसपछि मैले कहाँ हुनुहुन्छ भनेर फोन गर्दा उठेन । ३-४ बजेदेखि निरन्तर फोन र मेसेज गरिराखेँ, तर रिप्लाई आएन ।’

    बेलुका ५ बजेतिर श्रीमानकै फोन आयो । उनले आन्दोलन भएको ठाउँतिर गएर आएको भन्दै कर्फ्यू लगाइएकाले फिल्डमा जानुपर्ने बताए । कान्तीका लागि त्यो फोन संवाद नै श्रीमानसँगको अन्तिम भयो ।

    त्यसपछि पनि कान्तीले श्रीमानलाई निरन्तर कल गरिन् । कल नउठाएपछि मेसेज पनि गरिन् । श्रीमानका साथीहरुलाई सम्पर्क गर्दा उनीहरुले चिन्ता नगर्नु भनेको ढाडस दिएको उनी बताउँछिन् ।

    २३ गतेको रात फोन डायल गर्दै बित्यो । बिहानै उठेर प्रहरी प्रभाग कोटेश्वरमा सम्पर्क गरिन् । त्यहाँ ३-४ जना प्रहरी सम्पर्कविहीन रहेको भनेर सुनाइयो ।

    ‘साथीहरूलाई कन्ट्याक्ट गर्दा कतै लुक्नु भएको होला, फोन आइहाल्छ भन्नुभयो । २३ गतेको रात फोन लागिराखेको थियो, तर उठेन ।,’ उनले भनिन्, ‘२४ गते बिहान कोटेश्वरस्थित प्रहरी बिटको इन्चार्जसँग बुझ्दा कन्ट्याक्टमा हुनुहुन्न भने । ३-४ चारजना साथीहरु सम्पर्कबाहिर छन्, हामी खोजिरहेका छौँ भने ।’

    भदौ २४ गते उनले श्रीमान अस्पताल भर्ना भएको खबर पाइन् । आफू गाउँमै भएकाले आफन्तलाई फोन गरेर अस्पताल पठाइन् ।

    ‘एकैचोटी दिउँसो दुई बजेतिर अस्पताल भर्ना भएको खबर आयो । म कास्कीबाट काठमाडौं आउन सकिनँ । काठमाडौंमा भएका आफन्तलाई अस्पतालमा पठाए । ३ बजेतिर त उहाँ नरहेको खबर आयो,’ कान्तीले भक्कानिँदै भनिन् ।

    आन्दोलनका दौरान कहाँ कसरी श्रीमानको हत्या भयो भन्ने उनले अहिलेसम्म थाहा पाउन सकेकी छैनन् । आन्दोलनकारीले कुटेर हत्या गरेको भन्नेसम्म सुनेकी छन् ।

    अमृतको परिवार ।

    श्रीमानको देहावसानपछि परिवारको सम्पूर्ण दायित्व कान्तीको काँधमा आइपरेको छ ।

    ‘घरमा एक हजुरबुबा, ससुरा बुबा र दुई वर्ष पनि नपुगेको छोरो छ । घरको सबै कुरा उहाँले नै हेर्नुहुन्थ्यो । उहाँ नभएपछि त घर चलाउन पनि मुस्किल भइरहेको छ । दुई बुढा हजुरबुबा छन् । उनीहरू केही गर्न सकिँदैन । आयस्रोत उहाँ बाहेक अरु केही थिएन । घरमा त खेतबारीको काम मात्रै गर्ने हो । त्यसले केही पुग्दैन,’ उनले बिलौना गरिन् ।

    विगत ५ वर्षदेखि चाडपर्व मनाउन नपाएको कान्ती सुनाउँछिन् ।

    ‘३-३ महिनामा उहाँको छुट्टी हुन्थ्यो । तीजमा आउने कुरा थियो । तर, त्यो पनि भएन । दशैँमा टीका पनि छैन, छुट्टी पनि पाँइदैन त्यसपछि आउँछु भन्नुभएको थियो,’ उनले भनिन्, ‘सुरक्षाकर्मीको घर-परिवारमा कहिल्यै चाडपर्व मनाउन पाइँदैन । बिहे भएको पाँच वर्ष भइसकेको छ, कुनै चाडपर्व मनाउन पाइएन । अर्को वर्ष मनाउन पाइएला भन्दै कुरेर बसेको थिएँ । यसपाला त झन् यस्तो भयो ।’

    जेन-जी आन्दोलनमा श्रीमान गुमाएपछि कान्तीको एउटै माग छ । त्यो, हत्यारालाई कानूनअनुसार कारबाही होस् ।

    ‘जे हुनुपर्ने थियो त्यो भइसकेकाले अब हत्यारालाई कानूनअनुसार कारबाही होस् । जन्मकैद होस् भन्ने चाहन्छु,’ उनले भनिन् ।

  • ओली-लेखकविरुद्धको जाहेरी फिर्ता आएपछि दबाबमा प्रहरी, दर्ता गर्ने कि नगर्ने अलमलमा

    ओली-लेखकविरुद्धको जाहेरी फिर्ता आएपछि दबाबमा प्रहरी, दर्ता गर्ने कि नगर्ने अलमलमा

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोग र प्रहरीबीच जाहेरी आदानप्रदानको घटनाले दुई निकायबीच गम्भीर असमझदारी उत्पन्न भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएपछि असमझदारी सतहमा आएको हो ।

    मृतक परिवारका तर्फबाट हालिएको जाहेरीलाई आयोगको क्षेत्राधिकारमा पर्ने भन्दै काठमाडौं प्रहरी परिसरले दर्ता गर्न मानेको थिएन । जाहेरी बुझेर आयोगमा पठाइएकोमा आयोगले फेरि प्रहरीलाई नै फिर्ता दिएको हो । यसबाट काठमाडौं प्रहरी दबाबमा परेको छ ।

    काठमाडौं प्रहरीका एक उच्च अधिकारीले जाहेरी दर्ता गर्ने वा नगर्नेबारे निर्णय भइनसकेको बताए । यस विषयमा सरकारी वकिलसँग परामर्श गर्ने उनको भनाइ छ ।

    ती अधिकारीले भने, ‘शुरूमा जाहेरीमाथि नै छानबिन हुन्छ । त्यसक्रममा हामी सरकारी वकिलसँग पनि परामर्श गर्नेछौं । संगठनको माथिल्लो तहसँग पनि समन्वय गरेर त्यहाँबाट आउने निर्देशनका आधारमा निर्णय लिइन्छ ।’

    जाहेरी दर्ता गरेर ओली र लेखकलाई पक्राउ गर्न सरकारबाट पनि प्रहरीलाई दबाब छ । गृहमन्त्री ओमप्रकाश अर्याल स्वयंले पक्राउका लागि लिखित आदेश दिएका थिए । तर, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाँचबुझ आयोगले प्रतिवेदन नदिँदै पक्राउ गर्न नमिल्ने अडान लिए । ओली-लेखकलाई पक्राउ गर्दा एमाले-कांग्रेसले संगठित प्रतिवाद गर्नसक्ने र मुठभेड निम्तिन सक्ने उनको भनाइ थियो ।

    अर्कातिर, भदौ २४ गतेको विध्वंसकारी घटनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङलाई आरोपित लगाउँदै एमालेनिकट अनेरास्ववियुले देशव्यापी जाहेरी हालिरहेको छ । उक्त जाहेरी पनि प्रहरीले आयोगमा पठाएको थियो । सो जाहेरी भने आयोगबाट फिर्ता नआएको प्रहरी स्रोतले बतायो ।

    के हो प्रहरीको अप्ठ्यारा ?

    सरकारले भदौ २३ र २४ को जेन-जी आन्दोलनका विभिन्न घटनाको निष्पक्ष जाँचबुझ गर्नका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोग गठन गरेपछि उक्त आयोगको क्षेत्राधिकारभित्र पर्ने विषयमाथि प्रहरीले अलग्गै अनुसन्धान वा जाहेरी दर्ता नलिने अडान लिँदै आएको छ ।

    उक्त घटनाको जाँचबुझ गर्न सरकारले आयोगलाई ४५ दिनको म्याद दिएको छ । उक्त म्यादभित्र सो घटनासँग सम्बन्धित जाहेरी नलिने अडान प्रहरीले लिँदै आएको हो । आयोगले असोज ५ गतेदेखि काम शुरू गरेको थियो । उसले पाएको कार्यादेशअनुसार कात्तिक १८ गते ४५ दिन पूरा हुन्छ ।

    यद्यपि, आयोगले प्रहरीको उक्त तर्कलाई अस्वीकार गर्दै बिहीबार एक पत्रमार्फत जाहेरीमाथि अनुसन्धान गर्नसक्ने भनेको छ । फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुर देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य उक्त आयोगको कार्यक्षेत्रभित्र नपरेको भन्दै प्रहरीले पठाएको जाहेरी फेरि प्रहरीमै फिर्ता गरेको हो ।

    आयोगले प्रहरीलाई लिखित रूपमै भनेको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न, गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस यस आयोगको प्रतिवेदन कुर्न नपर्ने…।’

    पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाको तर्कमा अहिलेको सरकार वा जाँचबुझ आयोगले चाहेको अवस्थामा आशंकित व्यक्तिमाथि राहदानी रोक्का वा स्थान हदसम्मको आदेश जारी गर्न सक्छ । त्यसभन्दा बढी केही गर्ने अवस्था छैन ।

    संग्रौलाले नेपाल प्रेससँग भने- जाँचबुझ आयोग गठन भएको छ, त्यसको अवधि ४५ दिन भनेर किटान नै गरिएको छ । त्यसैले सामान्यतया ४५ दिनसम्म कसैलाई पक्राउ गर्ने भन्ने कुरा हुँदैन, भयो भने त्यसमा पूर्वाग्रह छ भनेर बुझ्नुपर्छ । एकातिर जाँचबुझ बनाउने, अर्कातिर उक्त आयोगको कार्य अवधिअगावै अरु मुद्दा वा आरोपमा मानिसहरूलाई पक्रिनेजस्ता कार्य हुँदेन । हो, अन्यत्र नजाउन् भन्नका लागि राहदानी वा स्थानहद लागू गर्न सक्छ, अहिले नै पुर्जी दिएर थुन्यो भने चाहिँ त्यो पूर्वाग्रह हुन्छ ।

  • डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाउने तयारी

    डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाउने तयारी

    काठमाडौं । माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ ।

    प्रहरीले गरेको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईले नेपाल प्रेसलाई बताए ।

    भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले सुनाए ।

    गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेको र यस्ता पटकेलाई उपचारका लागि पठाउने कानूनी व्यवस्थाअनुसार रिह्यावमा पठाउन लागिएको भट्टराई बताए । गत वर्ष निकोलसलाई सिंहदरबार प्रहरीले पक्राउ गर्दा उनी प्रहरी वृत्त सिंहदरबारमा डीएसपी थिए ।

  • भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासग अख्तियारले लियो बयान

    भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासग अख्तियारले लियो बयान

    काठमाडौं । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

    अख्तियार स्रोतका अनुसार बिहीबार महरासँग सो सुन तस्करी प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुखसहितका कर्मचारीमाथि गरेको भनसुनबारे बयान लिइएको हो । महरा बिहीबार टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा बयान दिन पुगेका हुन् ।

    अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिका भूमिकाको अनुसन्धान गरिरहेको र महराको पनि सोही सन्दर्भमा बयान लिइएको जनाएको छ । अनुसन्धान अधिकारीका अनुसार महरासँग सोधपुछपछि आवश्यक विवरणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ ।

    यसअघि महरालाई सोही मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । उनका छोरा राहुल महरा पनि यसअघि यसै प्रकरणमा पक्राउ परेका थिए ।

    २०७९ पुषमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएका नौ किलो सुन बरामद भएपछि प्रकरणले राजनीतिक तहसम्म तरंग ल्याएको थियो । घटनामा संलग्न भनिएका व्यक्ति क्रमशः पक्राउ परेपछि अनुसन्धानको दायरा विस्तार हुँदै गएको हो ।

    आयोगका एक अधिकारीका अनुसार, ‘महरासँगको बयान अनुसन्धानको प्रक्रिया हो । अहिले पनि थप प्रमाण संकलन भइरहेको छ ।’

     

  • एमाले चितवनको क्षति विवरणसहित बालेन र सुधनविरुद्ध चितवनमा पनि जाहेरी, दर्ता भएन

    एमाले चितवनको क्षति विवरणसहित बालेन र सुधनविरुद्ध चितवनमा पनि जाहेरी, दर्ता भएन

    चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले जिल्लामा नेकपा एमालेका पार्टी कार्यालय र एमालेका नेताहरुको व्यक्तिगत सम्पत्तिमाथि जेन—जी आन्दोलनमा भएको क्षतिको विवरणसहित जिल्ला प्रहरी कार्यालय चितवनमा लिएर गएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ ।

    मुलुकी अपराध संहिता २०७४ को अपराधिक उपद्रव कसुरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपाली संस्थाका सञ्चालक सुधन गुरुङको नाम किटान गरेर लगिएको जाहेरी दर्ता नभएको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जाहेरीको ढाँचा नै नमिलेको कारण दर्ता गर्न नसकिएको बताए ।

    अनेरास्ववियु चितवनले कम्प्युटर पेपपरमा विवरण उल्लेख गरेर लगेको जाहेरीको ढाँचा प्रहरीकहाँ दिने ढाँचासँग नमिलेको कारण मिलाएर ल्याउनु भनिएको एसपी पुरीले नेपाल प्रेसलाई जानकारी दिए ।

    जाहेरीमा बालेन र सुदनले उक्साएका कारण जिल्लामा दर्जनौँ मानिसहरुले सार्वजनिक सम्पत्तिसहित करिब ५ करोड ४६ लाखको नेकपा एमालेका नेताका व्यक्तिगत र पार्टीको सम्पत्ति क्षति गरेर अपराधिक उपद्रवमा संलग्न भएको विवरण सहित अनेरास्ववियु चितवनको टोली जिल्ला प्रहरी कार्यालय चितवन पुगेको थियो ।

    चितवन प्रहरीका अनुसार चितवनको कुनै पनि अपराधिक क्रियाकलापमा बालेन साह र सुधन गुरुङको भौतिक उपस्थिती नदेखिने भएपछि जाहेरी दर्ता गर्न एक त क्षेत्राधिकार पर्दैन । अर्कोतर्फ उक्साएको आरोपमा पनि जाहेरी दर्ता गर्न उस्तै कसुरमा एक ठाउँमा मात्रै मिल्ने भएकोले अन्य जिल्लामा दर्ता भइसकेको भए चितवनमा दर्ता गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

    देशैभरी एकै ढाँचामा नेकपा एमालेको विद्यार्थी संगठनले बालेन र सुधन गुरुङ विरुद्ध जाहेरी दिन लागेपनि प्रहरीले जाहेरी दर्ता नगरी भौतिक क्षतिको विवरण र प्रमाणलाई ज्ञापन पत्रको ढाँचामा लिने तयारी गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार अहिले जाहेरी दर्ता गरेर मुद्दा प्रकृयामा जानेभन्दा पनि क्षतिको विवरण मागेर प्रमाण र विवरणसहितको अभिलेख लिएर विश्लेषण गर्ने तयारी गरिएको छ ।

    तर, नेकपा एमाले निकट विद्यार्थी संगठनले भने भौतिक सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाहीको माग गरेको छ । आज लिएर गएको क्षति विवरण सहितको जाहेरीमा नेकपा एमालेका जिल्ला नेताहरुका व्यक्तिगत सम्पत्ति क्षति विवरणमा राप्ती नगरपालिकामा मात्रै ३ करोड २५ लाख बराबरको क्षति भएको उल्लेख गरिएको छ । त्यसैगरि खैरहनीमा ५० लाख, कालिका नगरपालिकामा ११ लाख, भरतपुर महानगरपालिकामा २० लाख ५२ हजार बराबरको नेकपा एमालेका नेताहरुको व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याइएको उल्लेख गरिएको अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यले जानकारी दिए ।

    त्यसैगरी जेन—जी आन्दोलनका क्रममा २४ गते जिल्ला पार्टी कार्यालय र दुई पालिकाको नेकपा एमालेको नगरपार्टी कार्यालय पनि क्षति भएको विवरणमा उल्लेख छ । जसमा जिल्ला पार्टी कार्यालय जलेर ५२ लाख, नगर पार्टी कार्यालय राप्तीमा ६ लाख र नगर पार्टी कार्यालय खैरहनी ३ लाख ८५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विवरण जाहेरीमा खुलाइएको छ ।

    त्यसैगरि भरतपुर महानगर २२ मा रहेको पार्टी कार्यालय तोडफोड र आगजनीमा ४६ लाख २५ हजार, भरतपुर १८ को पार्टी कार्यालय र मनमोहन स्मृती भवन तोडफोड र आगजनीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

    प्रहरीले फिर्ता पठाएको जाहेरीमा कसुरसँग सम्बन्धित फोटो, भिडियोसहितको प्रमाणसहित प्रहरीलाई बुझाउन लगिएको थियो । अपराधिक कार्यमा संलग्न र उक्साउने काठमाडौं महानगरपालिकाका मेयर बालेन र सुधनलाई पनि प्रहरीले कानून अनुसार कारबाही गर्ने आशा आफ्नो संगठनले लिएको आनेरास्ववियु जिल्ला संयोजक आचार्यले बताए ।

  • माइतीघरमा बिहानैदेखि प्रहरी तैनाथ (तस्बिरहरू)

    माइतीघरमा बिहानैदेखि प्रहरी तैनाथ (तस्बिरहरू)

    काठमाडौं । जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

    जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

    गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि हिजो साँझ सूचना निकालेर अनौपचारिक समूहको गतिविधिमा अवाञ्छित तत्त्वहरूको घुसपैठ, हुलहुज्जत, सरकारी सम्पत्तिको तोडफोड जस्ता कानून विपरीतका कार्य हुसक्नेतर्फ सचेत गराएको थियो ।

    प्रदर्शनकारी एवं आन्दोलन गर्न खोज्ने समूहहरू समेत स्वयं जोखिममा पर्न सक्ने सम्भावनालाई गम्भीर रूपमा लिन प्रशासनले भनेको छ ।

    गत भाद्र २३ र २४ गतेको आन्दोलन र सो पश्चातका घटनाहरूको क्रममा भएको अराजक तत्त्वहरूको घुसपैठ, आगजनी, तोडफोडका घटनाहरू पुनः घट्न सक्ने प्रशासनको भनाइ छ ।

    गृहको विज्ञप्तिपश्चात भने केही समूहले आजको लागि घोषणा गरेको कार्यक्रम फिर्ता लिएका छन् ।

    तस्बिरहरू : NPL

  • दुई आना सुन लुट्न बालिकाको हत्या

    दुई आना सुन लुट्न बालिकाको हत्या

    रुपन्देही। बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० बर्सिया भारती (एन्जल) देउवाको कान र घाँटीमा रहेको गहनाको कारण हत्या भएको खुलेको छ ।

    प्रहरीले उनको हत्या स्वीकार गरेका युवकलाई बुधवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरीले सोही वडाका २१ वर्षीय समीर सुनारलाई देउवाको हत्या स्वीकार गरेको भन्दै सार्वजनिक गरेको हो।

    जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार सुनको लोभमा समीरले निर्दोष बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। आफन्तको बिहे घरबाट एक्लै साइकलमा मामा घर जाँदै गरेकी एन्जलले दुई कानमा एकरएक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन्।

    यही गहना देखेर समीरले उनलाई लुटपाट गर्न खोज्दा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। हत्या आरोपी समीर देउवा हिँडेको बाटो नजिकै रहेको खोलामा ‘माछा मार्न बसेको र साइकलमा एक्लै आइरहेको देखेपछि गहना लुट्ने प्रयासले रोकेपछि चिच्याएपछि मुख थुनेर घाँटी अँठ्याई हत्या गरेको बयान दिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

    हत्या गरेपछि समीरले एन्जलको साइकल खोलामा फालेका थिए भने चप्पल झाडीमा फ्याँकेका थिए। त्यसपछि शवलाई गेरूवा–५ मूलपानीस्थित गुडिखोला किनारमा बालुवामा गाडी दिएका थिए।

    एन्जलबाट लुटिएका दुई आनाको सुनका मुन्द्री र दुई तोलाको चाँदीको सिक्री समीरले बर्दियाकै विभिन्न सुन पसलमा बिक्री गर्ने प्रयास गरेका थिए। तर, पसल सञ्चालकहरूले बिल मागेपछि र बिलबिनाका गहना नकिन्ने भन्दै फर्काइदिएको प्रहरी अनुसन्धानले देखाएको छ।

    प्रहरीले भेरी अस्पतालमा शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाएको छ । गेरुवा गाउँपालिका वडा नं ५ का अध्यक्ष धर्मप्रकाश थारुले आफ्नो गाउँमा अबोध बालिकाको हत्याले थप त्रसित बनाएको जनाए ।

  • अखिलको जाहेरीमा केरमेट भएकाले बुझिएन, युवराज सफलको हेर्दैछौँ : काठमाडौं प्रहरी

    अखिलको जाहेरीमा केरमेट भएकाले बुझिएन, युवराज सफलको हेर्दैछौँ : काठमाडौं प्रहरी

    काठमाडौं । अनेरास्ववियुले हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाती राखेको छ । २४ घन्टाभित्र निर्णय लिने भनिएकोमा जाहेरी अस्पष्ट भएकाले अघि नबढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

    अखिलको टोलीले हिजो सिंहदरबार लगायत राष्ट्रका सम्पदाहरु ध्वस्त पारेको, निजी सम्पत्तिहरूमा आगजनी गरेको र प्रहरी हत्या गरेकोमा मेयर बालेन र सुधनविरुद्ध जाहेरी दिने प्रयास गरेको थियो । प्रहरीले जाहेरी बुझे पनि दर्ता गर्न मानेन । २४ घन्टाभित्र निर्णय लिइने बताएर अखिलको टोलीलाई फर्काइएको थियो ।

    यस विषयमा प्रवक्ता भट्टराईसँग आज जिज्ञासा राख्दा उनले अखिलको जाहेरी अस्पष्ट र केरमेट भएकाले नबुझिएको बताए ।

    भट्टराईका अनुसार बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको छ, जुन चर्चित अभियन्ता युवराज सफलले दिएका हुन् । उक्त जाहेरी पनि दर्ता भएको छैन । जेठ २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ ।

    ‘अखिलको जाहेरी स्पष्ट नभएकाले हामीले त्यसमा केही गरेका छैनौं । अर्को सच्याएर ल्याउनुभयो भने आयोगमा पठाइदिन्छौं । युवराज सफलको अर्को जाहेरी आएको छ । त्यो लिएर हामी हेर्दैछौं,’ उनले भने ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि हिजो जाहेरी परेको थियो । उक्त जाहेरी पनि प्रहरीले आयोगमा पठाएको छ ।

  • भदौ २४ को उपद्रवमा संलग्न दुई सयभन्दा बढी व्यक्ति हाजिरी जमानीमा छुटे, सबैको प्रमाण संकलन

    भदौ २४ को उपद्रवमा संलग्न दुई सयभन्दा बढी व्यक्ति हाजिरी जमानीमा छुटे, सबैको प्रमाण संकलन

    काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गर्नेमध्ये पहिचान गरेर पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् ।

    महानगरीय प्रहरी कार्यालय मातहतका युनिटबाट पक्राउ परेका २५० जति व्यक्तिलाई गृह मन्त्रालयको निर्देशनमा छाडिएको हो । गृह मन्त्रालयले जाँचबुझ आयोगको प्रतिवेदन नआई कसैमाथि धरपकड नगर्ने भनेर वक्तव्य जारी गरेसँगै दशैँमा उनीहरू छुटेका हुन् ।

    विभिन्न घटनामा संलग्न रहेको आधारमा पक्राउ परेकाहरूलाई बयान लिएर छाडिएको परिसरका प्रवक्ता पवन भट्टराईले बताएका छन् । जघन्य अपराधमा संलग्न भएकाहरू भने अनुसन्धानमै रहेका छन् ।

    प्रहरीले विभिन्न भिडिओ फुटेज, फोटो र प्रमाणका आधारमा भदौ २४ को उपद्रवमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो । त्यसमा महाराजञ्ज र कोटेश्वरका प्रहरीको हत्यामा संलग्न व्यक्ति समेत छन् । प्रहरीको हत्यामा संलग्नहरुलाई भने रिहा गरिएको छैन ।

    आगजनी, लुटपाट र विध्वंसमा संलग्नहरू जो बयान हाजिरीमा छुटेका छन् उनीहरू अनुसन्धानकै क्रममा रहेकाले उन्मुक्ति भने नपाएको प्रहरी अधिकारीहरूले बताएका छन् । उनीहरू जेन-जी आन्दोलनको दबाब र सरकारको निर्देशनपछि प्रहरीले खोजेको बेला आउने गरी रिहा भएका हुन् ।

    परिसरका एक प्रहरी अधिकृतले भने- उनीहरू सबैसँग बयान कागज गरिसकेको छ । धेरैको प्रमाण संकलन भएको छ । बयानका क्रममा धेरैजसोले हुलमुल र अन्जानमा संलग्न भएको भन्दै प्रत्यक्ष संलग्नता अश्वीकार गरेका छन् । तर, पनि उनीहरू सबैको बयान लिएर जमानीमा छाडिएकाले अनुसन्धानकै क्रममा छन्, कुनै पनि बेला उनीहरूलाई कानून बमोजिम कारबाही अघि बढाउन समस्या छैन ।

    यसैबीच उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले प्रहरीले आफ्नो नियमित काम जारी राखेको र कतैबाट दबाब नरहेको बताए । उनले अहिले आफूहरूको मुख्य प्राथमिकता भागेका कैदी बन्दीलाई खोजेर बुझाउने, लुटिएका हतियार फिर्ता र जघन्य अपराधको अनुसन्धान रहेको बताए ।

  • बर्दिया गेरुवाको जंगलमा बालुवाले पुरेको अवस्थामा बालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

    बर्दिया गेरुवाको जंगलमा बालुवाले पुरेको अवस्थामा बालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

    रुपन्देही । बर्दियामा आफन्तको बिहे भोजमा गएर फर्किएकी १० वर्षीया बालिकाको हत्या भएको छ । गेरुवा गाउँपालिका-५, झबहीकी १० वर्षीया भारती (एन्जेल) देउवाको शव बाटोमा हत्या गरेर पुरिएको अवस्थामा फेला परेको छ ।

    उनको बलात्कारपछि हत्या गरिएको स्थानीयको आशंका छ । प्रहरीले सन्दीग्ध ६ जना पक्राउ गरेर अनुसन्धान थालेको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन ।

    वडाध्यक्ष धर्मप्रकाश थारुका अनुसार भारती असोज १७ गते शुक्रबार करिब ३ बजे सोही पालिका गणेशपुरस्थित आफन्तको घरमा साइकलमा बिहे भोज खान गएकी थिइन् । घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

    खोज्दै जाँदा घोप्टो पारेर बालुवाले पुरिएको अवस्थामा शव फेला परेको थियो ।

    ‘सामान्य परिवारकी बालिका हुन्, बाटोमा सामुदायिक वन पर्छ, त्यही जंगलमा मारेर बालुवाले पुरेको अवस्थामा भेटिएको छ, करणी गरेर हत्या गरेको आशंका स्थानीयले गरेका छन्, पोष्टमार्टमले केही तथ्य खुल्ला’ थारुले भने ।

    इलाका प्रहरी कार्यालय, पाताभारका इन्स्पेक्टर मदनबहादुर गुरुङले शव नेपालगन्ज अस्पताल पठाइएको छ । पोस्टमार्टम बाँकी रहेको बताए । केही युवाहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको पनि उनले सुनाए ।

  • प्रधानमन्त्री निवास र अख्तियारमा प्रहरीको कमाण्डो टोली परिचालन, भिड जम्मा भए सिलसिलेबार बल प्रयोग

    प्रधानमन्त्री निवास र अख्तियारमा प्रहरीको कमाण्डो टोली परिचालन, भिड जम्मा भए सिलसिलेबार बल प्रयोग

    काठमाडौं । जेन-जी समूहको धम्कीपछि आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ ।

    बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो ।

    ती क्षेत्रमा छानिएका प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ । साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने प्रहरीका एक कमाण्डो अधिकारीले नेपाल प्रेसलाई बताए ।

    सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् ।

    प्रहरी स्रोतका अनुसार सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ ।

    उक्त टोलीलाई भिड नियन्त्रणका निम्ति चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार छ ।

  • काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा- प्रहरी बिटका सम्पूर्ण प्रहरी वृत्तमा फिर्ता

    काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा- प्रहरी बिटका सम्पूर्ण प्रहरी वृत्तमा फिर्ता

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी परिसरले ‘असुरक्षित’ बनेपछि सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ ।

    हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो । प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो ।

    त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टीम फर्किएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानेको हो । काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि फिर्ताको आदेश भएको हो ।

    काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् ।

    एक प्रहरी अधिकारीले नेपाल प्रेससँग भने, ‘बिटमा जनशक्तिका हिसाबले पनि थोरै हुन्छ । साथै त्यहाँ साधनस्रोत पनि त्यहीअनुसारको हुने भएकाले फिर्ता बोलाएका हौं ।’

  • Gen-Z आन्दोलनमा आगजनी, तोडफोड, लुटपाट र आतंक मच्चाउनेलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष निवेदन

    Gen-Z आन्दोलनमा आगजनी, तोडफोड, लुटपाट र आतंक मच्चाउनेलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष निवेदन

    काठमाडौं । जेन-जी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउनेमाथि कानूनी कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष माग गरिएको छ ।

    धर्मराज तिमिल्सिनाले गृहमन्त्रीलाई भेटेर लिखित निवेदन बुझाएका हुन् । यसअघि सामाजिक सञ्जालका फोटो, भिडिओ साथै प्रहरीले पाएको सूचनाको आधारमा केही व्यक्तिलाई पक्राउ थालिए पनि उनीहरूलाई अहिले पक्राउ नगर्न गृहको निर्देशनसँगै यो प्रक्रिया रोकिएको थियो ।

    गृहमन्त्रीसमक्ष दिइएको निवेदनमा जेन-जी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतङ्क फैलाउने अमानवीय कार्य भएको उल्लेख छ ।

    ‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण रहेको छ । नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ, र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको छ’, निवेदनमा भनिएको छ ।

    यस्ता गतिविधिमा मुलुकी अपराध संहिता ऐन, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन, सार्वजनिक सम्पत्ति (संरक्षण) ऐनलगायत अन्य प्रचलित कानूनी प्रावधानहरू आकर्षित हुने स्मरण गराइएको छ ।

    घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल छानबिन गरी कानूनी कारबाही गर्न, तोडफोड, आगजनी तथा लुटपाटबाट प्रभावित पीडितहरूलाई न्याय दिलाउन,
    सार्वजनिक, निजी सम्पत्ति र नागरिकको शान्ति सुरक्षाको संरक्षणका प्रभावकारी निवारक उपाय तत्काल लागू गर्न पनि उनले माग गरेका छन् ।

    आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने, नेपाल प्रहरी लगायत आम नागरिकको निर्मम हत्या गर्नेलाई त्यसै छाड्दा अपराधकर्मीको मनोबल बढ्ने साथै नेपाल प्रहरीको मनोबल घट्ने भन्दै विधिको शासन स्थापित गर्न आग्रह गरिएको छ ।

    विध्वंशकारी मात्रै नभई विध्वंस गर्न प्रेरित गर्ने योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउन उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

  • जेन-जी आन्दोलनमा जेलबाट भागेका नक्कली शरणार्थी प्रकरणका अभियुक्त पक्राउ

    जेन-जी आन्दोलनमा जेलबाट भागेका नक्कली शरणार्थी प्रकरणका अभियुक्त पक्राउ

    ललितपुर । जेन-जी आन्दोलनको क्रममा जेलबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन् ।

    केन्द्रीय कारागारमा पुर्पक्षमा थुनामा रहेका शर्मा भदौ २४ गते भागेका थिए । उनी ललितपुर कुपण्डोलमा एक महर्जन थरका व्यक्तिको घरमा डेरा लिएर बसेको बताइएको छ ।

    उनको शंकास्पद गतिविधिको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी काजीकुमार आचार्यले नेपाल प्रेसलाई बताए । शर्मा तुलसिपुर-१६ दाङका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सीआईबीले पुन: अनुसन्धान थालेको छ ।

  • टर्चलाइटले हिर्काएर श्रीमानको हत्या, आफैँ प्रहरीमा उपस्थित

    टर्चलाइटले हिर्काएर श्रीमानको हत्या, आफैँ प्रहरीमा उपस्थित

    दाङ । घोराहीमा एक महिलाले श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेकी छन् ।

    घोराही-१ रामपुरकी ६२ वर्षीया छायाँदेवी चौधरीले ६२ वर्षीय पति ढालबहादुरको हत्या गरेकी हुन् । जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार छायाँदेवीले गएराति १० बजे टर्चलाइटले हानेकोमा बिहान पतिको बिहान मृत्यु भएको थाहा पाएपछि आफैँले प्रहरीमा आएकी हुन् ।

  • सीआईबी पुगेर गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका सबै फाइल खोल्छौँ

    सीआईबी पुगेर गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका सबै फाइल खोल्छौँ

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

    शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने प्रष्ट्याए ।

    अपराध अनुसन्धानमा अब ब्रेक थ्रू हुने गृहमन्त्रीको जिकिर छ । सुशासन दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बीचैमा भंग भएकाले अब सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनको भनाइ थियो । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने अर्यालले बताए ।

    गृहमन्त्री अर्यालले आफ्नो व्यवसायिकता प्रदर्शन गरेर प्रभावकारी रूपमा अनुसन्धानको काम अघि बढाउन सीआईबीका अधिकारीलाई निर्देशन दिएका छन् ।

  • नेताहरुको पासपोर्ट रोक्काको चर्चाबारे गृहमन्त्री– रोक्का मात्र किन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ

    नेताहरुको पासपोर्ट रोक्काको चर्चाबारे गृहमन्त्री– रोक्का मात्र किन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पुराना दलका प्रमुख नेताहरुलाई पासपोर्ट रोक्कादेखि पक्राउसम्म हुन सक्ने संकेत गरेका छन् । आज मन्त्रीपरिषद वैठकपछि पत्रकारहरुसँग बोल्दै उनले कानून बमोजिम आवश्यक प्रक्रिया पुर्याएर अनुसन्धान गरिने बताए ।

    गृहमन्त्रीलाई पत्रकारले सरकारले अब कसरी आन्दोलनका दोषिहरुमाथि कारवाही गर्छ भनेर सोधेका थिए ।

    अर्यालले जवाफ दिए, ‘राज्यका अनुसन्धान गर्ने निकाय सक्रिय भइएसक्या छन् । तत्तत कानूनमा लेखिएको छ के के गुर्नपर्छ भनेर । त्यहीबमोजिम हुन्छ । प्रधानमन्त्रीले भनिसक्नुभयो कि सुशासन र भ्रष्टाचारको विरुद्धमा सरकारले राम्रैसँग खुट्टा टेक्छ । खुट्टा टेकेन भने त जेनजीहरुले प्रश्न उठाइहाल्छन् नि ।’

    उनले सरकारद्वार गठित आयोगले दिने सुझावका आधारमा कारवाही हुने प्रष्ट पारे ।

    अर्यालले भने, ‘आयोग गठन भएको छ । आयोगले निस्पक्षरुपमा काम गर्छ । तथ्य पत्ता लगाउँछ । के चिज देख्छ, त्यसको आधारमा अगाडि बढ्ने हो । अगाडि बढेपछि पछाडि फर्किनु पर्दैन । कतिपय विषयवस्तु अहिल्यै हुन सक्ला, कतिपय आयोगले तथ्य पत्ता लगाएपछि हुन सक्ला । मन्त्रीस्तरको प्राटोकल दिइएको छ आयोग पदाधिकारीलाई । न्यायाधीसले नेतृत्व गरेकाले यो न्यायिक आयोग पनि हो । त्यसले निस्पक्षतापूर्वक काम गर्छ र राय पनि दिन्छ ।’

    तत्कालीन सरकारका प्रमुख पर्छन् ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यो चाहिँ अब पर्छन् नि । कसकसको संलग्नता छ, आयोगले बताउँछ । पर्छन होला नि ।’
    पत्रकारले सोधे, सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको हो ?

    ‘मेरो अहिले पुग्यो’ भन्दै तर्किन खोजे पनि गृहमन्त्रीले यसबारे बोले ।

    उनले भने, ‘मैले अगाडि भनिसकेँ कानूनमा सबै कुरा छ । यहाँहरुले पनि हेर्नुहोला । अनुसन्धान गर्ने निकायले के–के रोक्का गर्नुपर्छ, गर्छ । त्यति मात्र किन ? पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला । जे हुन्छ अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो ।’

     

  • सिन्धुपाल्चोकमा पहिरोले पुरिएर दुई बालिका बेपत्ता

    सिन्धुपाल्चोकमा पहिरोले पुरिएर दुई बालिका बेपत्ता

    सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका-१ जलबिरेस्थित भित्री सडक खण्डमा पहिरो खस्दा दुई बालिका बेपत्ता भएका छन् ।

    बुधबार दिउँसो करिब पाैने ५ बजे पहिरो जाँदा चौतारा साँगाचोकगढी नगरपालिका–२, भोटेफुल्पिङ घर भई जुगल गाउँपालिका–२, गोल्छेस्थित मामाघरतर्फ हिँडिरहेका १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा सडक माथिबाट खसेको लेदोसहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलभन्दा तल ब्रह्मायणी नदी बगिरहेको र बालिकाहरू पहिरोसहित नदीमा बगिएको आशंका गरिएको छ ।

    घटनापछि ईलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेर खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म दुवै बालिका फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

    स्थानीय प्रशासनले थप उद्धार टोली पठाउने तयारी गरेको जनाइएकाे छ ।

     

  • जेनजी आन्दोलनमा काठमाडौंबाट लुटिएको पेस्तोल र गोली कैलालीमा बरामद, चार जना पक्राउ

    जेनजी आन्दोलनमा काठमाडौंबाट लुटिएको पेस्तोल र गोली कैलालीमा बरामद, चार जना पक्राउ

    कैलाली । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएको हतियार कैलालीमा फेला परेको छ।

    उपत्यका अपराध महाशाखाको विशेष सूचनाको आधारमा हतियार लुटी लुकाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्। साथै गौरीगंगा नगरपालिका–३ का २० वर्षीय जिबेश सापकोटा पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

    उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो। सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • जेनजी आन्दोलनमा कोशीका ५७ प्रहरी कार्यालयमा क्षति- अझै सडकमा फर्किन सकेनन् ट्राफिक र प्रहरी

    जेनजी आन्दोलनमा कोशीका ५७ प्रहरी कार्यालयमा क्षति- अझै सडकमा फर्किन सकेनन् ट्राफिक र प्रहरी

    विराटनगर । इटहरी चोक हुँदै कोशी प्रदेशका विभिन्न जिल्लाका लागि सवारी साधन छुट्छन् । मुख्य मार्ग भएका कारण यहाँ सधैँ सवारीसाधनको भिडभाड भइरहन्छ । त्यसैले ट्राफिक व्यवस्थापन गर्न इटहरी चोकमै १५ जनाभन्दा बढी ट्राफिक एकैसाथ चेकिङमा खटिन्थे ।

    सडकको हिसाबले इटहरी चोक प्रदेशकै गौँडा भएका कारण सडक व्यवस्थापनमा चुनौती थपिएको होइन । यो पूर्वकै ठुलो होलसेल बजारको रूपमा पनि परिचित छ । किनमेलका लागि मधेश प्रदेशबाट पनि यहाँ व्यापारी आउँछन् ।

    चाडबाड समेत नजिकिँदै गर्दा व्यस्त यो बजारमा अहिले ट्राफिक प्रहरी निस्किन सकेका छैनन् । प्रदेशकै राजधानी विराटनगरमा पनि ट्राफिक देखिँदैनन् । यसको मूल कारण- जेनजी आन्दोलनका क्रममा ट्राफिक र प्रहरी कार्यालय अराजक समूहको निशानामा पर्नु ।

    इटहरी चोकदेखि केही पश्चिमस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । यहाँ कार्यालय परिसरका सबै सवारी जलाइयो । ब्यारेकमा आगजनी, तोडफोड र लुटपाट मच्चिँदा उनीहरूको पोशाकसम्म छैन ।

    भदौ २४ मा कार्यालयहरू ध्वस्त पारिएकाले ट्राफिक प्रहरी सडकमा आउन नसकेको डीएसपी सन्तोष श्रेष्ठ बताउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘केही दिनमा फिल्डमा खटिने तयारीमा छौं । आवश्यक व्यवस्थापन भइरहेको छ ।’

    इटहरीको इलाका प्रहरी कार्यालय पनि आगजनीबाट पूर्ण ध्वस्त छ । प्रहरीका बन्दोबस्ती सामान जलेर नष्ट भएका छन् । त्यहाँ लुटपाट भएको छ । यहाँ प्रहरीहरू भागेर ज्यान जोगाएका थिए । विस्थापित सबै प्रहरी सम्पर्कमा आए पनि बर्दी जलेपछि नियमित ड्यूटीमा फर्किन समय लागेको प्रहरी अधिकारी बताउँछन् । भवन कामै नलाग्ने भएकाले कहाँ कार्यालय राख्ने पनि अन्योल छ ।

    इप्रका इटहरीका प्रहरी तरहराको चौकीमा आश्रय लिएर बसेका छन् ।

    ‘ड्यूटीमा खटिएका प्रहरीहरू हतियार छाडेर भाग्नु परेको छ । बर्दी उतारेर आन्दोलनकारीले लखेटेका प्रहरीले कसरी कार्यालय फर्किएर कुन मनोबलले काम गर्छन् भन्ने चिन्ता छ’, ती अधिकारीले भने ।

    सडकमा प्रहरीको उपस्थिति नहुँदा मुख्य चोकमै जुवाजन्य खेलहरू खेलाइन थालेको छ । इटहरीका चोकचोकमा लंगुर बुर्जामा युवाहरू झुम्मिएका छन् ।

    आन्दोलनको मौका छोपेर विध्वंस मच्चाइँदा कोशीका ५७ वटा प्रहरी कार्यालय भवनमा आगजनी र तोडफोड गरिएको छ । तीमध्ये २४ वटा पूर्ण क्षति भएको प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलले नेपाल प्रेसलाई बताए । ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ ।

    आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारीसाधनमा पूर्ण रूपले क्षति पुगेको छ । ती मध्ये ८ वटा हेभी सवारी साधन रहेका छन् ।

    क्षतिग्रस्त प्रहरी कार्यालय पुनर्स्थापना हुन नसके पनि नियमित काममा फर्किएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए । तोडफोड र आगजनी भएका कार्यालयमध्ये सुनसरीको पकलीस्थित प्रहरी चौकीमात्रै पुनर्स्थापित भएको छ । अन्य चौकीहरू पुनर्स्थापनाको पहल भइरहेको उनले सुनाए ।

    कार्की भन्छन्, ‘प्रहरीले यस्ता आन्दोलनहरू धेरै देखेको छ । यसअघि भएका आन्दोलनपछि जसरी प्रहरीले काम गरेको छ यसपटक पनि त्यसरी नै काम गर्नेछ । पूर्वाधारहरू नष्ट हुँदा काम केही प्रभावित त छ नै । तर, हामी सुरक्षा दिन सक्षम छौं ।’

    समुदायसँग मिलेर काम गरिरहेको भन्दै डीआईजी कार्कीले प्रहरीलाई पुन:स्थापित गर्न स्थानीयले सहयोग गरिरहेको बताए ।

    आन्दोलनका क्रममा प्रहरीका हतियारसमेत खोसिएका थिए । केही हतियार जलेका छन् । खोसिएका मध्ये धेरैजसो हतियार प्राप्त भएको कार्कीले बताए । चाडबाड लक्षित सुरक्षा योजना लागू भइसकेको भन्दै कार्कीले चोरी तस्करी रोक्न सुरक्षा योजना बनेको जानकारी दिए ।

  • जेनजी भन्दै वडाध्यक्षले युवालाई ढुंगाले हाने, प्रहरीले गर्‍यो पक्राउ

    जेनजी भन्दै वडाध्यक्षले युवालाई ढुंगाले हाने, प्रहरीले गर्‍यो पक्राउ

    कैलाली । कैलालीमा एक युवालाई वडाध्यक्षले भौतिक आक्रमण गरेका छन् । घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि आक्रमण भएको स्थानीय सुनिल खड्काले बताए ।

    ‘वडाध्यक्षलाई मैले तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थिएँ, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नुभयो’ उनले भने ।

    आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गर्न लगाएको उनले आरोप लगाएका छन् ।

    ‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालयमा सुखडमा प्रहरीसमक्ष भने ।

    घाइतेका दाजु हिक्मत खड्काले पनि भाइमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने माग गरे ।

    ‘विकासको लागि मेरो भाइले कुरा उठाएको थियो । त्यही विषयमा कुटपिट भयो । दोषीलाई कारबाही हुनुपर्छ हुनुपर्छ ’, उनले भने, ‘यस्तो गुण्डागर्दी अब चल्दैन । ’

    वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए । ‘वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी आएको छ । हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ’, उनले नेपाल प्रेससँग भने ।

    सामान्य विवादपछि आक्रमण

    सोमबार लठुवा खोलामा तीन समूह पिकनिक खान पुगेका थिए । वडाध्यक्षसहितको एउटा समूह, सुनिल खड्काको एउटा समूह र अर्को एउटा समूह पिकनिकमा थिए ।

    एकजना प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष साउदले खड्का समूहसँगै बसेर मासु र मदिरा खाएका थिए ।

    ‘उहाँ (वडाध्यक्ष ) आउनु भयो । त्यहाँ राम्रै सम्मान भएको थियो । मासु र मदिरा पनि सेवन भयो ’ ती प्रत्यक्षदर्शीले भने, ‘केहीबेर राम्रै कुरा भएको थियो पछि सुनिलले प्रश्न गरेपछि वडाध्यक्षले आक्रमण गर्नुभएको हो । ’

    ती प्रत्यक्षदर्शीका अनुसार तीन वर्षसम्म पनि विकास नभएको भन्दै सुनिलले वडाध्यक्षलाई प्रश्न गरेका थिए । त्यो बेला वडाध्यक्ष मौन रहे र निस्किए ।

    केहीबेरपछि केही युवा लिएर वडाध्यक्ष त्यो समूहमा गएको र आक्रमण गरेको ती युवाले बताएका छन् । सुनिलको टाउकोमा ८ टाका लगाइएको छ ।

  • सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

    सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो ।

    उनले आफू काठमाडौंभित्रै रहेको, तर सेन्ट्रल जेलमा बस्ने वातावरण नभएका कारण उक्त कारागारमा बस्न इच्छा गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।

    ‘उहाँले यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर सोध्नुभयो’, ती कर्मचारीले भने, ‘पहिला पहिला भए मिल्दैन थियो, अहिले जुनसुकै कारागारमा सम्पर्कमा आए पनि राख्नु भन्ने निर्देशन भएकोले यतै बस्नुस् भन्यौँ ।’

    उनले भदौ २४ को तोडफोड र आगजनीका कारण सेन्ट्रल जेलमा रहेका आफ्ना सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको कारागार प्रशासनलाई बताउँदै लुगाफाटो पनि लिएर आएको जानकारी दिएका थिए ।

  • बिर्तामोडमा खुकुरी प्रहार गरी एकजनाको हत्या, सन्दिग्ध दुई युवा पक्राउ

    बिर्तामोडमा खुकुरी प्रहार गरी एकजनाको हत्या, सन्दिग्ध दुई युवा पक्राउ

    विराटनगर । झापाको बिर्तामोड नगरपालिका-७ खालबाडीमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । मङ्गलवार बिहान खुकुरी र बसिला प्रहार गरी ३६ वर्षीय फूर्वा तामाङको हत्या भएको हो ।

    घटनमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका घटना संलग्न बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको छ ।

    खड्काले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिलासमेत बरामद भएको बताए । तामाङको के कारणले हत्या भयो भने खुली नसकेको प्रहरीले जनाएको छ ।

  • नख्खु र झुम्काको जेलबाट भागेर घरमा बसेका ३ कैदी संखुवासभामा पक्राउ

    नख्खु र झुम्काको जेलबाट भागेर घरमा बसेका ३ कैदी संखुवासभामा पक्राउ

    संखुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ परेका छन् ।

    प्रहरीले सोमबार चैनपुर नगरपालिका-१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर-१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

    त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका-९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका-२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि पक्राउ गरिएको छ ।

    तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए ।

    जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।

  • धरानमा आगजनी र तोडफोडमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

    विराटनगर । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा धरानमा सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

    धरानमा धरान ८ स्थित कञ्चनजंगा होटलमा आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै मङ्गलवार इलाका प्रहरी कार्यालयमा किटान जाहेरी परेको हो ।

    धरानका पूर्व मेयर मनोज मेन्यांवोले कञ्चनजङ्घा होटलमा आगजनीमा संलग्न भएको भन्दै १३ जना किटानी जाहेरी दिएका हुन । मेन्यांगावो सो होटलका सञ्चालक समेत हुन् । उनीसँगै जाहेरी दिन धरानका राजनीति दलका स्थानीय नेताहरू, अन्य पीडितहरू र ठुलो सङ्ख्यामा पार्टी कार्यकर्ता इलाका प्रहरी कार्यालय पुगेका थिए ।

    इलाका प्रहरी कार्यालय धरानले किटानी जाहेरी परेको जनाएको छ । किटानी जाहेरीमा उल्लेख गरिएका नामहरू सार्वजनिक गरिएको छैन ।

    मेन्याङबोका अनुसार तोडफोड आगजनीमा संलग्न २ जना हिजो सोमवार आत्मसमर्पण गर्दै आएका थिए, उनीहरूलाई इलाका प्रहरीको जिम्मा लगाइएको छ । तर उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।

    मेन्याङबोले कञ्चनजङ्घा होटल तोडफोड गरी आगजनीसँगै ६ लाख रुपैयाँ नगद लुटिएको बताए । उनेले भने, ‘भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आक्रमणको तस्बिर र भिडियोको प्रमाण हामीसँग छ ।’

    मेन्याङबोसंगै जाहेरी दर्ता गर्न पुगेका पूर्व मेयर तिलक राईले धरानमा भएको आक्रमणका पीडितहरूले छुट्टाछुट्टै किटानी जाहेर दिने तयारी गरेको बताए ।

    इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आन्दोलनमा तोडफोड र आगजनीमा सलग्नहरुको खोजी कार्य तीव्र बनाइएको बताए । उनले भने, ‘आगजनी र तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’

    धरानमा भएको प्रदर्शनमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका कार्यालयहरूमा तोडफोड आगजनी भएको छ ।

    उस्तै भाटभटेनी सुपर मार्केट, धरानका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरमा आगजनी गरिएको थियो ।

    उक्त सबै घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सर्वपक्षीय नागरिक बचाउ अभियानका धरानले सरकारलाई आग्रह गरेको छ ।

     

  • रसुवा र म्याग्दीमा १५३ जना कैदीबन्दी कारागार फर्किए

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा रसुवा र म्याग्दी जिल्लाबाट फरार कैदीबन्दीमध्ये १५३ जना कारागार फर्किएका छन् ।

    रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।

    उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ छन् । साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ २५ गते बिहान तोडफोड गरी ७६ जना कैदीबन्दी भागेका थिए ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १४ जनाबाहेक सबै कारागार फर्काइएको जानकारी दिए । फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ ।

    काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै भागेका थिए ।

    प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन, २०७९ बमोजिम मुद्दा चलाइएको छ । बेनी नगरपालिका–२ खबराका २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा–१ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनील थापामगर, ३१ वर्षीय सुशन थापामगर र १९ वर्षीय अभिषेक परियार हाल प्रहरी हिरासतमा छन् । -रासस

  • कोटेश्वर भाटभटेनीमा भेटियो रामेछापका युवककाे शव, कर्मचारी हाेइनन्

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्न गएका एकजनाको अस्थिपञ्जर फेला परेको छ ।

    रामेछापको खाडादेवी गाउँपालिका- ६ घर भई ललितपुर, च्यासलमा डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले नेपाल प्रेसलाई बताए । शव नजिकै भेटिएको एनसेलको सिमकार्ड परीक्षण गर्दा पहिचान खुलेको उनले बताए ।

    जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते भएको आगजनी र लुटपाटका क्रममा उनी त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    ‘उनी आन्दोलनकारी र भाटभटेनीका कर्मचारीमध्ये दुवै नभएको बुझिन्छ’, बोहराले भने, ‘अन्य प्रयोजनका लागि त्यहाँ गएको हुनसक्छ ।’

    यसअघि बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा पनि लुटपाट गर्नका निम्ति गएका व्यक्तिको ज्यान गएको थियो ।

  • अरु युनिटले ड्यूटी छाड्दा राति ९ बजेसम्म लडिरह्यो ठिमी प्रहरी- जोगायो गाडी र गोलीगठ्ठा

    अरु युनिटले ड्यूटी छाड्दा राति ९ बजेसम्म लडिरह्यो ठिमी प्रहरी- जोगायो गाडी र गोलीगठ्ठा

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र त्यस्ता विरलै प्रहरी कार्यालय छन्, जो जेनजी प्रदर्शनकारीको निशानामा नपरेका हुन् । प्रदर्शनकारीद्वारा तोडफोड र आगजनी गर्दा भवन पूर्णतः क्षति भयो, तर सवारी साधन, हतियार र जनशक्तिको सुरक्षा गर्न सफल भएको एउटा युनिट हो, भक्तपुरस्थित प्रहरी वृत्त ठिमी ।

    त्यसो त अहिले पनि त्यहाँका प्रहरी कर्मचारीमध्ये कोही जिल्ला प्रहरी परिसर, व्यासी र कोही बालकोटस्थित चौकीमा बसेका छन् । स्थानीय अगुवाले कार्यालय सरसफाइ र रंगरोगन गरिरहेका छन् । त्यति हुँदा पनि २४ गते राति ९ बजेसम्म प्रदर्शनकारीसँग मुकाविलामै रहेर भवनबाहेक अरु कुरा जोगाउन सकेकोमा सन्तुष्ट छन्, डीएसपी नवराज ढुंगाना ।

    २४ गतेको प्रदर्शन प्रहरीको नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीका प्रमुख एआईजी दानबहादुर कार्कीले ‘एक कदम पछाडि फर्किने’ नीति अवलम्बन गर्न सबै युनिटलाई निर्देशन दिए । त्यतिबेलासम्म प्रहरीसँग पर्याप्त हतियार र गोलीगठ्ठा थिए । बल प्रयोग गरौँ भन्द सक्थ्यो । तर, अत्यधिक दमनका कारण स्वयं असंख्य प्रहरी र सर्वसाधारणको ज्यान जाने जोखिम थियो । त्यसैले प्रहरीले बरु आफ्ना भवनमाथिको भौतिक आक्रमण सह्यो, तर सर्वसाधारणमाथि बल प्रयोग गर्ने कामबाट पछाडि हटेको थियो ।

    प्रहरी वृत्त, ठिमीका डीएसपी ढुंगानालाई पनि दिउँसो १२ बजेतिरै जिल्ला प्रहरी परिसरबाट आदेश आएको थियो, ‘मानवीय क्षति हुने सबै कुरालाई व्यवस्थापन गर्ने र सादा पोशाकमा ड्युटीबाट ब्याक हुने…।’ यस आदेशबमोजिम भक्तपुरमात्रै होइन, उपत्यकाभरिका प्रहरी कार्यालय खाली भए । राखिएका थुनुवाको आगजनीमा परेर ज्यान जाने खतराका कारण उनीहरूलाई ‘पछि सम्पर्कमा आउनू’ भन्दै छाडियो । तर, ठिमी वृत्तले थुनुवा छाडे पनि आफूहरू कार्यालयकै कौसीमा बसेर प्रदर्शनकारीको मुकाबिला गरिरह्यो ।

    डीएसपी ढुंगानाका अनुसार राति ९ बजेसम्ममा सयौं राउण्ड हवाई फायर र ५० औं पटक सटगन चलाएर उनको कमाण्ड त्यहाँ टिकेको हो । ९ बजेपछि स्थानीय बासिन्दाले पनि छाडिदिन आग्रह गरे । आफैँले स्थितिको विश्लेषण गर्दा पनि त्यसभन्दा बढी समय त्यहाँ रहनुले आफूहरूमाथि ज्यानको जोखिम बढ्ने अनुमान गरे ।

    ‘हामीलाई राति त्यहाँका स्थानीय बासिन्दाले नै सुरक्षा दिनुभयो र हामी जिल्ला परिसर गयौँ’, ढुंगानाले भने । त्यसो गर्दा प्रहरी वृत्त ठिमीसँग आज पनि ११ मा ११ वटै सवारी साधन सुरक्षित छन् । कोतमा राखिएका सबै हतियार र गोली दुरुस्तै छन् ।

    विभिन्न मुद्दाका मिसिल र कार्यालयभित्र रहेका अधिकांश कम्प्युटर पनि सुरक्षित रहेको उनी बताउँछन् । उनका अनुसार कार्यालय भवनसँगै कार्यालयभित्रै राखिएका दुई मोटरसाइकल पूर्णतः क्षति भए । प्रहरी कर्मचारीमध्ये एकजाको खुट्टामा गोली लागेर घाइते छन्, बाँकी चारजना प्रहरी माथि सामान्य चोटबाहेक अरु केही भएन ।

    उक्त वृत्तको मातहत ६ वटा प्रहरी चौकी छन् । ती चौकीका सम्पूर्ण कर्मचारीलाई २४ गते बिहानै वृत्तमा बोलाइएको थियो । उनीहरू सवारी साधन र हातहतियार सहित पुगेका थिए । बालकोट, दुवाकोट, निक कलेज, सानो ठिमी, दधिकोट, सिरुटारका प्रहरी चौकी ठिमी वृत्तअन्तर्गतका हुन् ।

    राति ९ बजे कार्यालय छोडेपछि मात्रै भवनमा आगजनी शुरु भएको ढुंगाना बताउँछन् ।

    ‘तोडफोड त दिउँसैदेखि गरिहाले, आगो लाग्नबाट जोगाउनका लागि ९ बजेसम्म लडेका थियौँ’, उनले भने । ‘त्यसबीचमा जिल्लाबाट एसपी सा’बसहित स्थानीयवासी र थुप्रै शुभचिन्तकले ज्यान जोगाउनका निम्ति भए पनि छाडिदिनुस् भनिरहे’, ढुंगाना सम्झिन्छन्, ‘सक्नेजति लडौँ भनेर जिद्दी त कसियो, तर हामी मरेर न जनतालाई फाइदा छ, न जनतालाई मार्ने हाम्रो उद्देश्य हो, यही सम्झिएर राति छाडिदियौँ ।’

    ११ वटा सवारी साधनलाई राति ९ बजेसम्म नै प्रहरीले नै घरा हालेर बचाएको ढुंगानाले बताए । ९ बजेपछि जिल्ला प्रहरी जाने क्रममा वरिपरि आफूहरुले गाडीलाई कभर गरेर विस्तारै हिँड्दै गाडी, हतियार, गोली, कम्प्युटरसहित पुगेको उनले बताए ।

  • तोडफोड र आगजनीमा उत्रिएका एक सदस्य एमालेबाट निष्कासित, संलग्नहरूको सबुद् खोजिँदै

    तोडफोड र आगजनीमा उत्रिएका एक सदस्य एमालेबाट निष्कासित, संलग्नहरूको सबुद् खोजिँदै

    विराटनगर । जेनजी आन्दोलनको मौका छोपी सरकारी भवन र निजी सम्पत्तिमा विध्वंस मच्चाउने आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन थालेको छ । तोडफोड, आगजनी तथा लुटपाटमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता संलग्न पाइएपछि कारबाही प्रक्रिया सुरू गरिएको हो ।

    उनीहरूको संलग्नताबारे आएको सूचनाको आधारमा नामावली संकलन सुरू भएको नेताहरूले बताएका छन् । नेकपा एमाले कमल गाउँ कमिटी झापाले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा वीरेन्द्रप्रसाद तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    उनी कमल-५ का बासिन्दा हुन् । गाउँ कमिटी झापाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा प्राप्त भिडिओ र तस्बिरका आधारमा तिवारीलाई कारबाही गरेको जनाएको छ ।

    एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताए ।

    उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । तर सार्वजनिक सम्पत्तिमा विध्वंस गर्न पाइँदैन ।’

    सबुद संकलन थालिएको भन्दै खतिवडाले नेपाल प्रेससँग भने, ‘हामी प्रमाणका आधारमा कारबाही गर्छौं । सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेलाई पार्टीका कार्यकर्ता भनेर संरक्षण गर्दैनौं । ’

    अराजकता मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पार्टीले सहयोग गर्ने उनले सुनाए ।

    भदौ २३-२४ को आन्दोलनमा कोशीमा विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको । ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका जिल्ला र पालिका तहका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमाले कोशीले जनाएको छ ।

  • जेनजी प्रदर्शनका क्रममा एसपीको बर्दी लगाउने एकजना पक्राउ

    पोखरा । जेनजी प्रदर्शनका क्रममा एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नाम भने खुलाइएको छैन ।

    उक्त दिन प्रदर्शनकारीले डोजर लिएर जिल्ला प्रहरी कार्यालय कार्कीमा आगजनी गरेका थिए । उनीहरुले कार्यालय आफ्नो नियन्त्रणमा लिई प्रहरीका बर्दी, हतियार दुरुपयोग गरेका थिए । सोही क्रममा एसपीको बर्दी दुरुपयोग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

     

  • तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

    चितवन । जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो ।

    घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ ।

    केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनले भने, ‘हामीले सार्वजनिक रूपमा सूचना समेत माग गरेका छौँ ।’ आम नागरिकसँग फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरी समेत प्रहरीले माग गरेको छ ।

    ती सूचनालाई मुख्य आधार मानेर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुटिएका सामान राखिएका ठाउँहरूको खोजीसमेत थालिएको बताए । त्यस्ता सामग्री फिर्ता गर्न भनिएको र नभएमा जफत गरी प्रचलित कानुनअनुसार कडा कारकाही गरिने उहाँले जानकारी दिए ।

    सुरक्षा निकायका सबै अङ्ग सूचना सङ्कलन र पहिचानमा जुटेको उनले बताए । भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए ।

    सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको थियो । प्रदर्शनकारीले ७९ वटा सरकारी कार्यालय, १६ वटा निजी घर एवं व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । -रासस

     

  • सेनाले नेता जोगाउन लाग्दा राज्यका तीनवटै अंग जलेका हुन् ?

    सेनाले नेता जोगाउन लाग्दा राज्यका तीनवटै अंग जलेका हुन् ?

    काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनपछि सेनामाथि एउटा गम्भीर प्रश्न छ, काठमाडौंमा कर्फ्यू आदेश जारी भएलगत्तै भड्किएको स्थितिलाई नियन्त्रणमा लिन सेनाले नसकेको हो कि नचाहेको ? यसको जवाफ सोध्नुपर्ने विभिन्न पक्ष अहिलेसम्म मुख खोल्न तयार छैनन् ।

    सेनाबारे प्रश्न उठ्दा परमाधिपतिका हैसियतले राष्ट्रपतिको सचिवालय र सैनिक मुख्यालयसँग प्रतिक्रिया लिनुपर्छ । तर, यी दुवै निकाय आ-आफ्नो भूमिकाको बचाउ गर्दै कुनै पनि आरोप स्वीकार्न तयार छैनन् । प्रहरी र सशस्त्रले सुरक्षाको चेन अफ कमाण्डभित्र बस्नैपर्छ र बोल्न मिल्दैन । तत्कालीन सरकारमा मन्त्रीहरू मौन छन् ।

    तत्कालीन केपी ओली नेतृत्वको सरकारका रक्षामन्त्री मानवीर राई कुनै पनि प्रश्नको जवाफ दिन तयार छैनन् । उनी तीन दिनसम्म सैनिक सुरक्षा घेरामा बसेर सोमबारदेखि काठमाडौंस्थित डेरामा फर्किएको बताउँछन् ।

    विभिन्न प्रश्न सोध्दा एउटै जवाफ दिन्छन्, ‘थाकेको छु, पछि कुरा गरौँला ।’ उनले भने, ‘सेना चलाउने सबै राष्ट्रपतिले हो, उतै कुरा गर्नुस् ।’ तर, उक्त सरकारको रक्षा मन्त्रीका हैसियतले सेनाका बारेमा उनलाई केही न केही थाहा हुनुपर्ने हो । यही प्रश्न गर्दा उनी भन्छन्, ‘मलाई केही थाहा छैन ।’

    भदौ २३ र २४ का घटनामा शुरूमा सेना निस्किएन । व्यक्ति हत्या, तोडफोड, अगनजनी र लुटपाटका श्रृंखला जब चरम भयो, अनि सेना निस्कियो । त्यसपछि सबै स्थिति उसैको नियन्त्रणमा रह्यो ।

    यतिसम्म कि, कानूनतः स्थानीय प्रशासनले जारी गर्नुपर्ने कर्फ्यू आदेश सैनिक मुख्यालयको लेटरप्याडमा जारी हुन थाल्यो । त्यससँगै आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने, नयाँ सरकार बनाउने, संसद विघटन गर्नेसम्मका काममा उसको सक्रियता रह्यो ।

    शीतल निवास प्रवेश गर्दै सेनापति ।

    अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथमा ढिलाइ हुँदा प्रधानसेनापति आफैँ शीतल निवास पुगे । मन्त्री बनाउने मानिसको नाम टुंगो लाग्न नसक्दा मध्यरातमा प्रधानमन्त्रीको शपथ भयो । प्रधानसेनापति शीतल निवासबाट निस्किए । त्यसपछि मात्रै सेना देखिने गरी भूमिकामा आएन । यद्यपि, अहिले पनि सरकार सञ्चालनका नियमित काममा सेना हावी रहेको स्रोतले जनाएको छ ।

    मन्त्रिपरिषद् बैठकमा के प्रस्ताव लैजाने, कुन निर्णय गर्ने भन्नेदेखि कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आफैँ निर्णय लिन सक्दैनन्, प्रधानसेनापतिलाई सोध्नुपर्छ भन्ने आरोप छ ।

    सेना सुरक्षाका निम्ति उत्रिँदा स्थिति नियन्त्रणमा आउनसक्थ्यो । २४ गते रातिदेखिमात्र तोडफोड नियन्त्रण भएबाटै प्रष्ट हुन्छ । यही काम नेपाली सेनाले २३ गते र २४ गते बिहानैदेखि किन गरेन ? चाहेन कि सकेन ?

    राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार सेना परिचालनको आदेशमा ढिलाइ हुँदा स्थिति भयावह भएको हो । २३ गतेको सुरक्षा व्यवस्थापनमा निषेधित क्षेत्र जोगाउने व्यवस्थित योजना नदेखिएको भन्दै शर्मा भन्छन्, ‘प्रहरी र सशस्त्रको दुई-चारवटा घेरा राखेको भए जेनजीका भाइबहिनी बाटो लाग्थे, घेरा तोडेर अगाडि बढेपछि अन्धाधुन्ध गोली हान्नु नै गल्ती भयो ।’

    समस्या जटिल भइसकेपछि नेता बचाउने कि अरु संरचना बचाउने भन्ने बेलामा सेनाले हत्तपत्त सके जतिका नेता, मन्त्रीलाई सुरक्षित स्थानमा लगेर राम्रो काम गरेको उनको भनाइ छ । ‘सरकारले जे निर्णय गर्नुपर्ने थियो, समयमै गर्न नसक्दा सेना निस्किन सकेन’, उनले भने, ‘सिंहदरबार जल्दा सेनाको एउटा युनिट त्यहीँ थियो, तर त्यसले नेता बचाउने काम गर्दा संरचनाहरू सुरक्षित भएनन् ।’

    प्रधानमन्त्री-प्रधानसेनापतिको भनाभन

    सैनिक स्रोत भन्छ, ‘२३ गते राति बोलाइएको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सेनाले परिचालनको अधिकार माग्दा प्रधानमन्त्री र प्रधानसेनापति अशोकराज सिग्देलबीच भनाभन नै चल्यो ।’

    सेना परिचालन हुनका निम्ति मन्त्रिपरिषद्को सिफारिसमा परमाधिपतिका हैसियतले राष्ट्रपतिद्वारा आदेश जारी हुनुपर्ने संवैधानिक व्यवस्था छ । वा, संकटकाल लागू भएर संविधानमा उल्लेखित मौलिक हकका विभिन्न धारा निलम्बित हुनुपर्छ ।

    स्रोतका अनुसार सुरक्षा परिषद् बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको नियत ठीक नदेखिएको भन्दै प्रधानसेनापतिलाई ‘तपाईं चुप लाग्नुस्’ भनेका थिए । त्यसअघि सेनाकै पहलमा विभिन्न सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीले राजीनामा दिएपछि स्थिति साम्य हुन्छ भन्ने सुझाव बैठकमा दिएका थिए । तर, प्रधानमन्त्रीले कड्किँदै जवाफ दिएका थिए, ‘तपाईँहरू काम गर्न नसक्ने, राजीनामा चाहिँ मैले दिनुपर्ने ?’

    त्यसपछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच सवालजवाफ शुरु भयो । अन्य सुरक्षा निकायका प्रमुख भने चूपचाप थिए ।

    राष्ट्रपतिको स्थिति

    २४ गते विभिन्न स्थानमा तोडफोड र आगजनी शुरु भएपछि नेपाली सेनाले सुरक्षालाई दृष्टिगत गर्दै हत्तपत्त राष्ट्रपति रामचन्द्र पौडेल र उनका सहयोगीलाई नजिकै रहेको भैरवनाथ गणमा लग्यो । तोडफोड र आगजनी गर्ने समूह शीतल निवास पुग्दा सेनाले राष्ट्रपति बस्ने घर र उनको सचिवालय चलाउने ठाउँहरूलाई ‘आर्मीको ब्यारेक हो’ भनेर बचाएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार, शीतल निवासको अगाडिको भागमा आगलागी भए पनि त्यसभन्दा पछाडिका भवन सुरक्षित भए । त्यसैले २४ गते रातिदेखि नै राष्ट्रपति त्यहीँको घरमा बस्न थालेका हुन् ।

    राष्ट्रपति-प्रधानसेनापतिबीच पनि नोकझोंक

    २४ गते दिउँसैदेखि प्रधानसेनापति सिग्देलले विभिन्न आशयका साथ राष्ट्रपतिलाई राजीनामा दिन भनिरहेका थिए ।

    ‘उहाँले राजीनामा नै भन्ने शब्द उच्चारण गर्नुभएन, तर राजीनामा दिनुस् भन्नेखालका विभिन्न कुरा गर्नुभयो’, राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।

    प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेललाई भैरवनाथ गणमा लगेलगत्तै पटक पटक प्रश्न गरे, ‘स्थिति के गरी सम्हालिने हजुर ?’ राष्ट्रपतिको जवाफ थियो, ‘तपाईंले सम्हालेर हुन्छ ? कसरी सम्हाल्नुहुन्छ ?’ प्रधानसेनापतिले पटक पटक भनिरहे, ‘हजुरले सजिलो गराइदिनुपर्‍यो ।’

    धेरै पटक ‘सजिलो गराइदिनुपर्‍यो’ भनेपछि राष्ट्रपतिले कड्किँदै भने, ‘के हो, सजिलो गराउने भनेको ?’ प्रधानसेनापतिले भने, ‘हामी स्थितिलाई नियन्त्रणमा लिन सक्छौँ, हजुरले सहयोग गर्नुपर्ने भयो ।’

    यस्तो स्थितिबीच सेना हरेक गतिविधिमा हावी भएको स्रोतले जनाएको छ । मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि सेना परिचालन हुन्छ । त्यतिबेलासम्म प्रधानमन्त्रीले राजीनामा दिइसकेका थिए । त्यसैले सेना राष्ट्रपतिको राजीनामापछि सैनिक हस्तक्षेप चाहन्थ्यो ।

    पेलानमा प्रहरी

    सेनाको पेलानमा सबभन्दा बढी प्रहरी परेको थियो । एक त २४ गतेको स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले ‘एक कदम पछाडि हट्ने’ भन्दै ड्युटी छोड्यो । त्यसअघि प्रहरीले पटक पटक सेनाको सहयोग मागिरह्यो । तर, सेनाले केही गरेन ।

    प्रहरी स्रोतका अनुसार २३ गते रातिको सुरक्षा परिषद बैठकको बीचैमा प्रधानसेनापतिले प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखलाई बाहिर लगेर अलग्गै छलफल गरेका थिए । फर्किएपछि चारैजनाको निष्कर्ष भन्दै प्रधानमन्त्रीको राजीनामा मागियो ।

    त्यसपछि प्रहरी प्रमुख चन्द्रकुवेर खापुङतिर हेरेर प्रधानमन्त्रीले आँखा तानेपछि उनी त्यहीँबाट अप्ठेरोमा पर्न थाले । ‘मैले आईजी बनाएको पाँचै दिनमा मेरै पो राजीनामा चाहियो’, यसो भन्दै आईजी खापुङले प्रधानमन्त्रीको गाली खाए ।

    भोलिपल्ट प्रहरीका कार्यालयसमेत अगजनी हुन थालेपछि आईजी खापुङले सेनाको मद्दत माग्न प्रधानसेनापति सिग्देललाई फोन गरेका थिए । तर, प्रधानसेनापतिले ‘तपाईंको प्रधानमन्त्रीलाई भन्नुस्…’ भन्दै फोन काटेको प्रहरीस्रोतले जनाएको छ । सेनाले सहयोग नगर्ने भएपछि प्रहरी ‘एक कदम पछाडि हट्ने’ निर्णयमा पुगेको हो ।

    प्रहरीका उच्च अधिकृतहरूले खुलेआम नै भन्न थालेका छन्, सेनाले साथ दिएको भए कम्तिमा सर्बोच्च अदालत र सिंहदरबार जोगाउन सकिन्थ्यो । तर, सेनाको सुरक्षा कमाण्डमा रहेका सिंहदरबार र शीतल निवास पनि जोगिएनन् ।

    सिंहदरबारभित्र आन्दोलनकारी छिरेपछि प्रहरीले सकेसम्म रोक्न खोज्यो । नसकेपछि सेनाको सहयोग माग्यो तर ९ सय भन्दा बढीको संख्यामा रहेको सैनिक गणबाट गाडीमा सेना बाहिरिएपछि प्रहरी बर्दी खोले र ज्यान जोगाउन अनामनगरतिर लागेका थिए ।

    प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि सिंहदरवार, सर्वोच्च अदालत र शीतल निवास जलेको प्रहरीले जनाएको छ ।

  • ओली निवास बालकोट लुटपाटको अग्रभागमा देखिए कांग्रेसका क्षेत्रीय उपसभापति (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोड गर्ने अग्रभागमा कांग्रेसका नेता देखिएका छन् । भदौ २४ गते अपरान्ह ओली निवासमा भएको लुटपाट, तोडफोड र आगजनीको सुरूआतमै मुखमा औंलो राखेर सुई.. पार्दै रातो क्याप लगाएका युवाले उक्साइरहेको भिडिओमा देखिन्छ ।

    सिठ्ठी बजाउँदै दुर्गा प्रसाई शैलीमा ‘आओ आओ’ भन्दै ओलीको घर आगजनी गर्नेमध्येका ती युवा नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उसभापति सुवास लामा रहेको खुलेको छ । नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले फेसबुक पेजमा भोलिपल्टै उनको फोटो र भिडिओ हाल्दै तत्कालीन सत्ता साझेदर दलकै नेता संलग्न रहनु दुःखद भनेको छ ।

    बैतेश्वर गाउँपालिका-१ निवासी लामा कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति रहेको पार्टीले स्वीकार गरेको छ । उनी गुण्डागर्दी र गलत क्रियाकलापमा पहिलेदेखि नै संलग्न रहने गरेकाले पार्टीको बदनाम भएको जिल्लाका एक नेताले बताए । २०७४ र २०७९ का दुवै चुनावमा बुथ कब्जा गरेर पालिका अध्यक्ष जितेका छवि लामाका भतिजा सुवास नै बुथ कब्जाका मतियार थिए ।

    लामाले त्यसदिन ओली निवासमा भिड लैजाने, उक्साउने र आगजनी गर्नेजस्ता क्रियाकलाप गरेका सबै प्रमाण संकलन भएको एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले बताए ।

    दुर्गा प्रसाईँ समूहसँगै रास्वपा, माओवादी र राजावादीहरूले गरेको आगजनीमा कांग्रेसका क्षेत्रीय उपसभापति अग्रभागमा देखिनु दुःखद रहेको एमाले दोलखाले जनाएको छ । लामा बैतेश्वर गाउँपालिकाका भावी अध्यक्षका दाबेदार हुन् । पेटी ठेक्कामा संलग्न लामा दोलखा र रामेछापका जलविद्युत आयोजनाहरूबाट रकम असुल्ने गिरोहका रुपमा चिनिन्छन् ।

    कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङनिकट मानिने लामाका भाइ धनराजका सवारी चालक छन् । यसैबीच कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले सामाजिक सञ्जालतिर उनको फोटो भिडिओ आएको कुरा सुने पनि आफूले अरु जानकारी नपाएको नेपाल प्रेससँग भने । उनले प्रमाणित भएमा कानूनले नै कारबाही गर्ने भएकाले थप केही नबोल्ने बताए ।

  • गण्डकी प्रदेशका ३९९ फरार कैदीबन्दी फक्राउ

    गण्डकी । गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये आज साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन् ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार अझै ७९६ कैदीबन्दी फरार छन् । कास्की कारागारबाट ७७३ कैदीबन्दी भागेकामा २२५ जना पक्राउ परेका छन् ।

    तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दीमध्ये ११५ जना, पर्वत कारागारबाट भागेका १९ जनामध्ये नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामध्ये एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो । पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १०६ जनामध्ये १८ जना पक्राउ परेका छन् । बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार छन् ।

    फरार कैदीबन्दीमध्ये केही आफैं फर्किएको र केहीलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफैँ फर्कन आग्रह गरिएको बताए ।

    ‘टोल छिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौँ”, उनले भने ।

    कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैँ कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने योजना बनाएको छ । -रासस