Tag: अपराध/सुरक्षा

  • सिमरा आज पनि अशान्त (तस्बिरहरू)

    सिमरा आज पनि अशान्त (तस्बिरहरू)

    बारा । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा आज पनि अशान्त छ ।

    बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी/प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

    हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए ।

    तस्बिर : श्याम यादव/ NPL

     

  • भोजपुरमा ट्राफिकको ‘असुली धन्दा’ ले व्यवसायी हैरान

    भोजपुरमा ट्राफिकको ‘असुली धन्दा’ ले व्यवसायी हैरान

    भोजपुर । ट्राफिक प्रहरीले असुली धन्दा चलाएको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् ।

    ट्राफिक प्रहरीले हप्ता असुली गर्ने, अनावश्यक दु:ख दिने नियत राखेर बार्गेनिङ गर्नेजस्ता काम गरेको भन्दै प्रहरी/प्रशासनमा डेलिगेशन जाने तयारी उनीहरूको छ । ट्राफिक प्रहरीले हरेक बुकिङ काउण्टरबाट मासिक ३ देखि ५ हजारसम्म उठाउने गरेको व्यवसायीको दाबी छ । रकम दिने काउन्टरबाट चल्ने सवारीसाधनको कागजात चेकजाँच नगर्ने र नतिर्नेहरूलाई विभिन्न बहानामा दु:ख दिने उनीहरूको आरोप छ ।

    विशेषगरी ग्रामीण सडकमा चल्ने यातायतका साधन सहचालकले लाइसेन्सविनै चलाउने गरेको त्यसमा ट्राफिक मुकदर्शक बनेको सेवाग्राही बताउँछन् । यस विषयमा विभिन्न समयमा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा समेत दल, व्यवसायी र नागरिक समाजका अगुवाले सचेत गराइरहेका छन् ।

    जिल्ला सदमुकामका हार्डवेयर पसलहरूलाई समेत लोड-अनलोडको समयमा दु:ख दिने गरेको एक व्यापारीले नेपाल प्रेसलाई बताए ।

    ती व्यापारी भन्छन्, ‘ग्यास सिलिन्डर, करुवा, खुकुरीलगायत उपभोग्य सामान मागेर दु:ख दिन्छन् ।’ मुन्धुम यातायात ट्राभल्स एण्ड टुर्स प्रालिका निर्देशक मायालु मोक्ताले केही दिनअघि ट्राफिक प्रहरीले दिएको दु:खको फेहरिस्तसहित सामाजिक सञ्जालमा स्टाटससमेत राखेका छन् ।

    मोक्तानले नेपाल प्रेससँग भने, ‘ट्राफिक प्रहरीका असई अनुप कट्टेललाई जानकारी गराउँदा समेत व्यवहार सच्चिएन । आफ्नै गाउँठाउँमा रोजगारीमा लागेका हामीजस्ता युवाहरूलाई गरिखान समेत गार्‍हो भयो । अनेक ठाउँ दाम चढाउनु पर्ने व्यवसायीको बाध्यता छ । आज हामी जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन जाँदैछौँ ।’

    भोजपुर प्रहरी प्रमुख डीएसपी राजु लामाले आज यस विषयमा छलफल गर्न व्यवसायीलाई बोलाएको प्रतिक्रिया दिए ।

  • गृहमन्त्रीलाई सुधनको चेतावनी- हाम्रो मौनता कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ

    गृहमन्त्रीलाई सुधनको चेतावनी- हाम्रो मौनता कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ

    काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने चेतावनी दिएका छन् ।

    मध्यरातमा सामाजिक सञ्जालमा ‘द काउन्सिल अफ जेन-जी’ को व्यानरमा आफ्ना धारणा राख्दै गुरुङले हिजोको सिमरा घटना गृहमन्त्रीको लाचारीपनले भएको आरोप लगाएका छन् । जेन-जीको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित ‘गुण्डा’ प्रवेश गरी अपमान र कुटपट गरेको उनको दाबी छ ।

    सुधनको भनाइ छ- गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र Gen Z भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।

    हत्याराहरुले हामीलाई खुल्ला चुनौती दिँदै हिड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुने वाला छ । हेक्का रहोस् । आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुन सक्छ भन्नेको। हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौं । हाम्रो मौनतालाई कमजोरी नठान्नू ।

    पछिल्लो समय गुरु मन्त्री अर्यालविरुद्ध खरो सुनिदै आएका छन् ।

  • जेनजीका बारा संयोजकको दाबी- एमाले कार्यकर्ताले हामीमाथि आक्रमण गरे, पुलिसले पनि कुटे

    जेनजीका बारा संयोजकको दाबी- एमाले कार्यकर्ताले हामीमाथि आक्रमण गरे, पुलिसले पनि कुटे

    काठमाडाैं । बाराको सिमरामा जेनजी प्रदर्शनकारीहरुले गरेको अवरोधका कारण एमाले नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरु काठमाडौंमै रोकिए । उनीहरु उड्न लागेको विमानबाट ओर्लिनुपर्यो ।

    उता बारा जिल्लाको सिमरामा रहेको विमानस्थलमै जेनजी प्रदर्शनकारी र एमाले समर्थित युवाहरुबीच झडप समेत भयो । झडपमा बारा जिल्ला जेनजी संयोजक सम्राट उपाध्यायसहित पाँच-सात जना जेनजीहरु घाइते भए । एकजनाको वीरगन्जमा उपचार भइरहेको छ भने उपाध्याय लगायत जेनजी युवाहरू स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिले सिमरामा स्थिति बिग्रन नदिन प्रशासनले कर्फ्यू लगाएको छ ।

    बिहान भएको के हो त ? बिहानको झडपको घाइते तथा जेन-जीको बारा जिल्ला संयोजक उपाध्यायले विस्तारमा बताएका छन् । उपाध्यायको भनाइ यस्तो छ:-

    ‘सिमरामा हाम्रो कार्यक्रम पूर्वनिर्धारित थियो । ‘निवर्तमान केपी शर्मा ओली नेतृत्वको हत्यारा सरकारलाई कारबाही गर’ भन्दै प्रदर्शन गर्ने कार्यक्रम थियो । हामी ठूलो संख्यामा पनि थिएनौं । जम्मा १०÷११ जनाको टोली थियौं ।

    सिमरा बजारको मेन चोकमै सांकेतिक विरोध प्रदर्शन गर्ने तय भएको थियो । उनीहरुको कार्यक्रम हाम्रो कार्यक्रमबाट २० किलोमिटर टाढा परवानीपुरमा थियो ।

    हामीले प्रदर्शन गरिरहँदा शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतहरु पनि बारा जिल्लामा आउँदैछन् भन्ने थाहा पायौं । के कसो गर्ने भनेर सरसल्लाह गर्दै थियौं । यही बेला एमालेको २०÷२५ जना कार्यकर्ता आए । उनीहरुले हाम्रो प्रदर्शन बिथोल्न खोजे । सरसल्लाह गरौं भन्दै थियौं, अचानक हात हाले ।

    उनीहरु ठूलो संख्यामा भएकाले हामीलाई पिटे । पाँच सातजना घाइते भयौं । एकजना सौरभ भन्ने साथी त गम्भीर घाइते भएकाले वीरगन्ज लगेर उपचार भइरहेको छ । उसको पेटमा छुरा रोपेजस्तो देखिन्छ । छुरा नै हानेको भनेर यकिन त भएको छैन, तर एक पिस मासु नै छैन उसको पेटमा ।

    हामीमाथि एमाले कार्यकर्ताले कुटपिट गरिरहँदा प्रहरीले पनि हामीलाई नै पिट्यो । यसपछि सिमराबासी दाजुभाइहरु भेला भए । उहाँहरुले हामीलाई साथ दिनुभयो । अनि एमालेका कार्यकर्ताहरु भागेर एयरपोर्टभित्र छिरे ।

    हामी जेनजी साथीहरु र सिमराबासी भएर एमालेका कार्यकर्ताहरुलाई लखेट्दै एयरपोर्टसम्म पुग्यौं । उनीहरु भित्र छिरिहाले । हामीले बाहिरैबाट नाराबाजी गर्यौं । कोही पनि गेटभित्र छिरेका छैनौं । तर, अहिले हामीलाई बदनाम गराउने काम भइरहेको छ ।

  • महेश बस्नेतलाई मधेशमा निषेध गर्न सरकारसँग जेन-जी प्रदेश संयोजक शिव यादवको माग

    महेश बस्नेतलाई मधेशमा निषेध गर्न सरकारसँग जेन-जी प्रदेश संयोजक शिव यादवको माग

    काठमाडौं । जेन-जी प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लागेको विमानबाट ओर्लनुपर्‍यो । बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत भयो । स्थिति बिग्रन नदिन भन्दै प्रशाासनले कर्फ्यू लगाएको छ ।

    आजको सम्पूर्ण घटनाको कारक एमाले र एमालेका कार्यकर्ताहरू रहेको जेन-जी मधेश प्रदेश संयोजक शिव यादवको दाबी छ । उनका अनुसार आज बिहान बाराको सिमरामा जेन-जीहरूको कार्यक्रम थियो । कार्यक्रमको संयोजन बारा जिल्ला संयोजक सम्राट उपाध्याय लगायतले गरिरहेका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान १० बजे शान्तिपूर्ण कार्यक्रमका लागि उनीहरु भेला भएका थिए ।

    यादवले भने, ‘हाम्रो कार्यक्रमस्थलदेखि महेश बस्नेतहरूको कार्यक्रमस्थल परवानीपुर २० किलोमिटर टाढा थियो । तर, हाम्रा साथीहरूले गरेको कार्यक्रममा एमालेका कार्यकर्ताहरु आएर हाम्रा साथीहरुलाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।’

    आफूहरूले कसैको अभिव्यक्ति स्वतन्त्रतालाई नरोकेको र एमालेका कार्यकर्ताहरूले आफूहरूलाई रोक्न खोजेको संयोजक यादवको भनाइ छ । आफूहरू एमालेको कार्यक्रममा गएर लफडा नगरेको तर, एमालेका कार्यकर्ताहरूले आफूहरूको कार्यक्रम बिथोल्न खोजेकाले प्रतिकार गरेको उनले दाबी गरे ।

    यादवले त फेसबुक स्टाटस लेखेर एमाले नेता बस्नेतलाई मधेश प्रदेशमा निषेध गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।

    यस्तो भड्काउ अभिव्यक्ति दिन दिनुभएको ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँ (महेश बस्नेत) को पछिल्ला अभिव्यक्तिहरू एकदमै अराजक छन्, गालीगलौज मात्रै छन् । त्यस्तो भाषा मधेश जस्तो अति नै संवेदनशील ठाउँमा प्रयोग हुँदा मधेश अशान्त हुनसक्छ । मधेशमा आन्दोलन सुरू भयो भने त्यो धेरै लामो समयसम्म जान सक्छ । त्यसैले उहाँलाई मधेश प्रदेशमा रोक्नलाई सरकारसँग माग गरेका हौँ ।’

    एमालेले जेन-जीहरूलाई दबाउन खोज्दा प्रतिकार भएको र त्यसक्रममा बारा जिल्ला संयोजक उपाध्यायसहित चार-पाँच जना जेनजी युवा घाइते भएको यादवले बताए ।

  • जेन-जी युवाहरूको प्रदर्शनका कारण सिमरा एयरपोर्ट आसपास कर्फ्यू आदेश

    जेन-जी युवाहरूको प्रदर्शनका कारण सिमरा एयरपोर्ट आसपास कर्फ्यू आदेश

    काठमाडौं । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन्

    स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

  • रोकिराखेको दुई वटा बसमा आगलागी

    रोकिराखेको दुई वटा बसमा आगलागी

    वीरगंज । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ।

    सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो । ना५ख ६२१६ र ना५ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

    ‘४–५ महिनादेखि रोकिराखेको दुई वटा बसमा आगलागी भएको छ,’ उनले भने, ‘शुरुमा एउटा बसमा आगो लागेर अर्को बसमा सल्किएको जस्तो देखिन्छ, आगलागीको कारण खुल्न सकेको छैन।’ मंगलबार राति पौने १ बजेतिर आगलागी भएको अनुमान छ ।

  • देवर भाउजुको अंशबन्डा विवादले शान्ताको अचार खरानी, एक जना पक्राउ

    देवर भाउजुको अंशबन्डा विवादले शान्ताको अचार खरानी, एक जना पक्राउ

    दाङ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    चौधरीको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो । पहिले शान्ताको पलससँगै रहेको बेबीशपमा लागेको आगो पछि शान्ताको पसलमा सल्किएको थियो । प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवरले पसलमा आगो लगाएको खुलेको छ । पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहोन बुढाका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।

    अर्काको पसलबाट सल्किएको आगोले शान्ताको अचार पसलमा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

  • कुकुरले शव लिएर हिंडेपछि युवती पक्राउ

    कुकुरले शव लिएर हिंडेपछि युवती पक्राउ

    रुपन्देही । परपुरुषसँगको अवैध सम्बन्धमा जन्मेको शिशु फालेको आरोपमा प्युठान प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्युठान, गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

    मंसिर १ गते बिहान शिशुको शव कुकुरले झुण्डाउँदै हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनापछि प्युठान प्रहरीले नवजात शिशुको शव खोसेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानबाट शिशु बिपना सुनारको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

    प्रहरी निरीक्षक भट्टराईका अनुसार कुकुरले डुलाउँदै गरेको नवजात शिशुको शव खोसेर अनुसन्धान गर्ने क्रममा बिपना सुनारले परपुरुषसँगको सम्बन्धबाट छोरीलाई जन्म दिएपछि बुक्तिचौरस्थित गहुँ बारीमा फालेको भन्ने खुलेपछि उनलाई सोही दिन दिउँसो पक्राउ गरिएको हो ।

    अनुसन्धानमा बिपनाले चार दिनपहिले छोरीलाई जन्म दिएपछि पोल खुल्ने डरले गहुँ बारीमा फालेको बयान दिएकी छन् । बिपनाकी श्रीमान विदेशमा छन् । नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ। पोष्टमार्टमपछि नवजात शिशुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

  • अवैध लागूऔषध ‘ब्राउनसुगर सहित एक जना पक्राउ

    अवैध लागूऔषध ‘ब्राउनसुगर सहित एक जना पक्राउ

    सुनसरी । अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा इटहरी उपमहानगरपलिका–२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङ रहेका छन् । उनलाई इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको प्र.१–०२–०५६ प ८२०५ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक गोबिन्दलाई पक्राउ गरेको हो । उनी मंगलबार पक्राउ परेका हुन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  •  बेलायत पठाउने भन्दै ४२ लाख ठग्ने दुईजना पक्राउ

     बेलायत पठाउने भन्दै ४२ लाख ठग्ने दुईजना पक्राउ

    काठमाडौं । कामदार भिषामा बेलायत पठाउने भन्दै रु ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

    उनले भने, “पक्राउ परेकामध्ये तिमल्सिनाले रु ३० लाख ५० हजार तथा खोखालीले रु ११ लाख ५० हजार कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट रु ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

    फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक आशिष खोखालीसमेत भएको ठगीसम्बन्धी कसुर मुद्दामा निजहरुलाई काठमाडौँ–१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए । रासस

  • दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै प्रशासनअघि समर्थकहरूको विरोध

    दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै प्रशासनअघि समर्थकहरूको विरोध

    काठमाडौं । दुर्गा प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् ।

    प्रसाईँका समर्थकले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि अहिले नाराजुलुशसहित विरोध जनाइरहेका छन् । त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । उनीहरूले प्रसाईँलाई छाड्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

    मंसिर ७ बाट आन्दोलनको तयारीमा रहेका प्रसाईँलाई हिंसा भड्किने तथा अराजक गतिविधि गर्न उक्साउन अभिव्यक्ति दिएको भन्दै प्रहरीले मध्यरातमा पक्राउ गरेको थियो ।

    प्रसाईँमाथि अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

  • आफ्नै नेताको घर जलाउने तरुण दलका प्रदेश सभापतिसहित चार पक्राउ

    आफ्नै नेताको घर जलाउने तरुण दलका प्रदेश सभापतिसहित चार पक्राउ

    दाङ । जेन्जी आन्दोलनका नाममा आफ्नै पार्टी नेताको घर जलाउने नेपाली कांग्रेसका ४ कार्यकर्ता पक्राउ परेका छन् ।

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’का तरुण दल सभापति अमित गिरीसहित चार जना कांग्रेस कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मधु नेपालले जानकारी दिए ।

    अध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

  • जेन्जी आन्दोलनमा तोडफोडमा संलग्न थप पाँच पक्राउ

    जेन्जी आन्दोलनमा तोडफोडमा संलग्न थप पाँच पक्राउ

    काभ्रेपलाञ्चोक । जेन्जी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकामध्ये भोलनविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको छभने सुधाकारविरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो । पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि जेन्जी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान शुरु गरिएको बताए ।

    कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो । यसअघि जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

    यसैबीच प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ । विष्टका अनुसार कात्तिक मसान्तसम्म ५३ जना व्यक्ति पक्राउ गरी उनीहरूबाट १२ वर्ष आठ महिना सात दिन कैद र दुई करोड ६७ लाख ५९ हजार ९ सय रुपैयाँ जरिवाना असुल भएको छ ।

    अदालतले प्रहरीलाई दिएको सूचीका आधारमा विभिन्न अपराधमा कैद तथा सजाय तोकिएका अझै पाँच सय ४३ जना कैद तोकिएका व्यक्ति अझै फरार रहेको जनाइएको छ ।

  • ब्राउन सुगरसँगै फलामको रड बोकेर हिँड्ने पक्राउ

    ब्राउन सुगरसँगै फलामको रड बोकेर हिँड्ने पक्राउ

    हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–१० कर्राबाट लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

    कर्राका ३७ वर्षीय हर्क बहादुर क्षेत्रीलाई लागुऔषध खैरो हिरोइन ७ ग्राम ५४० मिलिग्राम (प्लाष्टिक सहित) नियन्त्रणमा लिएको हो ।

    उनीसँग २ थान फलामको रड पनि बरामद भएको छ ।

  • मौलाकाली केबलकार पुनःसञ्चालनको तयारी

    मौलाकाली केबलकार पुनःसञ्चालनको तयारी

    नवलपुर । भदौ २४ मा भएको जेन्जी आन्दोलनक्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेन्जी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो ।

    मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र कुनै समस्या नआए केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ ।
    गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो ।

    ‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो,’ उनले भने, ‘क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो ।’

    प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ ।

    ‘मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ,’ स्टेसन म्यानेजर पौडेलले भने, ‘अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ।’ मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए ।

    मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन्जी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए । जेन्जी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ ।

    धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून छ । ‘केबलकार सञ्चालनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरु उल्लेख्य रुपमा देखिनुहुन्थ्यो, उनले भने, ‘केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृतरुपमा भक्तजनको उपस्थिति देखिएन ।’ अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए ।

    पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए । ‘हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिरमुनि बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ ।’
    समुद्री सतहबाट ५ सय ६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

  • विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

    विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ ।

    गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको हो ।

    जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए ।

    २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजी सिफारिस गरिएपछि उनी असन्तुष्ट देखिएका थिए ।

    कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै डीआईजी पद रिक्त थियो ।

  • टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

    टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

    काठमाडौं । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।

    दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ ।

  • जेन-जी आन्दोलनका क्रममा पोखराबाट प्रहरीको हतियार लुट्ने पक्राउ

    जेन-जी आन्दोलनका क्रममा पोखराबाट प्रहरीको हतियार लुट्ने पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी गर्ने साथै हतियार लुटपाट गर्ने पोखराका दुई जनालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।

    पोखरा महानगरपालिका-५ का श्यामबहादुर तामाङ र पोखरा-२ का सागर राउतका साथबाट १ राउण्ड गोलीसहित बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान, काठको बट १ थान, मोबाइल २ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका श्यामबहादुर दुई वर्षअघि चोरी मुद्दामा कारागार बसेका थिए ।

  • भारतबाट ब्राउन सुगर ल्याएर काठमाडौंमा बिक्री, चारजना पक्राउ

    भारतबाट ब्राउन सुगर ल्याएर काठमाडौंमा बिक्री, चारजना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चारजनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौंलाई केन्द्र बनाई बिक्री गर्ने दुई भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए । विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

    देवको काठमाडौं महानगरपालिका-१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरी नगरपालिकास्थित ढुङ्गे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले बताए ।

    उनका अनुसार खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौंमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

    -रासस

  • विदेश पठाइदिने बहानामा लाखौँ ठगी गर्ने दुई पक्राउ

    विदेश पठाइदिने बहानामा लाखौँ ठगी गर्ने दुई पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै आठ लाख ५० हजार रुपैयाँ र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै २८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। युके र अष्ट्रेलिया पठाइदिने भन्दै रकम उठाएर फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    पक्राउ परेका व्यक्तिहरूमा ललितपुर महानगरपालिका–४ बस्ने, बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने, प्युठान गौमुखी गाउँपालिका–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन्।

    प्रहरीका अनुसार मनोहर चौधरीले युके पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए। त्यस्तै, मेघराज सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै अर्को एक पीडितबाट २८ लाख रुपैयाँ लिई फरार भएको उजुरी परेको थियो।

    उक्त उजुरीका आधारमा मनोहरलाई बिहीबार काठमाडौं महानगरपालिका–१० बाट र मेघराजलाई शुक्रबार काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    दुवैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

  • वडाध्यक्ष हत्या प्रकरणः एमाले–एमालेबीच जग्गा विवाद, छुट्टीमा रहेका सहायक हवल्दारले छातिमा गोली हाने

    वडाध्यक्ष हत्या प्रकरणः एमाले–एमालेबीच जग्गा विवाद, छुट्टीमा रहेका सहायक हवल्दारले छातिमा गोली हाने

    जनकपुरधाम । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या जग्गा विवादका कारण भएको प्रहरीले जनाएको छ ।

    नेकपा एमालेको वडा कमिटी अध्यक्ष रहेका धर्मनाथ यादव र वडाध्यक्ष यादवबीच जग्गाका विषयमा शुक्रबार साँझ विवाद भएको थियो । मृतक वडाध्यक्ष यादव २०७४ मा जसपाका तर्फबाट र २०७९ मा स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका थिए । निर्वाचित भएको केही समयपछि एमालेमा प्रवेश गरेका थिए । एकै पार्टीमा र घर पनि सँगै रहे पनि जग्गा विवादका कारण उनीहरुबीच सम्बन्ध राम्रो थिएन ।

    जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार स्थानीय दुःखी यादवको मृत्यु संस्कारअन्तर्गत १० दिनको प्रसाद ग्रहण गर्ने कार्यक्रममा आपसी झैझगडा भएको थियो । त्यसक्रममा झगडियामध्येका एकजनामाथि कुटपिट हुँदा झगडा अरु चर्किएको थियो । त्यसक्रममा एमाले वडा कमिटीका अध्यक्ष यादव पक्षले गाउँबाट अन्य व्यक्ति जम्मा पारेर वडाध्यक्ष यादवमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसक्रममा लठ्ठी, भाँडाकुँडा हुँदै होममेड कटुवा पेस्तोलले वडाध्यक्षको छातीमा प्रहार गरिएको थियो ।

    गोली प्रहार गर्ने नेपाल प्रहरीका सहायक हवल्दार शम्भु यादव हुन् । उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत रही पाँच दिनको घर बिदामा त्यहाँ पुगेका थिए ।

    एमाले वडा कमिटी अध्यक्षको जग्गा विवाद अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन भएकै अवस्थामा सरकारी जमिन ओगटेर बाटो खोलिएको र मुद्दा विाचाराधीन रहेको जग्गामा वडाध्यक्ष यादवले घर निर्माण गर्न अनुमति दिएको विषयमा विवाद भएको थियो । गोली प्रहारका कारण वडाध्यक्ष यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद भएको छ । गोली प्रहार गर्ने सहायक हवल्दार यादव जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा छन् ।

  • जेन्जी आन्दोलनका अमर प्रहरी राय

    जेन्जी आन्दोलनका अमर प्रहरी राय

    काठमाडौँ । जेन्जी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहेकी उनले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन शुरु भएको १२ बजेतिर मोटरसाइकल जलेको र आफू सटरभित्र सुरक्षित रहेकाले कुनै ‘तनाव’ नलिऊ भनेर आश्वस्त पारेका थिए ।

    जापानको एक रेष्टुराँमा कार्यरत मङ्गलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराखेकी थिइन् । आन्दोलनले उग्ररूप लिइरहँदा उनको मन स्थिर हुन सकिरहेको थिएन । मङ्गलाले आफ्नो ‘ड्युटी’ सकेपछि पटक–पटक फोन गरे तर उठेन । निरन्तरको प्रयासपछि एक हवल्दारले मिलनको निधन भएको कुरा सुनाए ।

    जेन्जी आन्दोलनमा भएको घुसपैठको निशानामा सहायक निरीक्षक राय र जवान उत्तम थापा परे । उनी र जवान उत्तमलाई आन्दोलनकारी सडकमा ल्याएर कुटीकुटी पासविक तबरले हत्या गरियो । घटनाको वास्तविकता थाहा पाएपछि मङ्गलाले केही सोच्न सक्ने अवस्था थिएन । त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले मारेको थाहा पाउँदा मुटु भक्कानिन पुग्यो । धरती नै भासिएजस्तै भयो । मुटु छियाँछियाँ हुन पुग्यो । श्रीमान्लाई अन्तिम बिदाइ गर्न उनी भदौ २६ गते काजक्रियाका लागि काठमाडौँ आइपुगिन् ।

    यही वर्ष जापान जाने तयारीमा थिए मिलन
    तीन जना दाजुभाइमध्ये कान्छो छोरा थिए मिलन । सानैमा बाआमा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किएका उनले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गरेका थिए । सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरी भरतपुरमा तालिम सकिएपछि पहिलो पोष्टिङ जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा भएका थिए ।

    त्यसअघि काठमाडौँमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मङ्गलासँग चिनजान भयो । दुवैको उमेर एउटै, काम एउटै । त्यही चिनजानले प्रेम २०८० फागुन २१ विवाहमा परिणत भयो ।

    मङ्गला सम्झिन्छिन्, ‘लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक–अर्कालाई नाम नै लिएर बोलाउँथ्यौँ । उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो ।’ करिब १२ लाख रुपैयाँ खर्च गरेर मङ्गला गत वैशाखमा मात्रै रोजगारीका सिलसिलामा जापान पुगेकी हुन् ।

    पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन । काका केशव, हजुरबा र हजुरआमाको छत्रछायाँमा हुर्किनुभएका मिलन सबैको प्यारो थिए । परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र बाका आँखा ओभाना हुन सकेका छैनन् । ‘सानैमा बाआमा बिते, हामीले हुर्कायौँ । संरक्षकको रूपमा आफ्नै सन्तानसरह हुर्काएको थियौँ । उसको सम्झना त सधैँ मनमा रहिरहन्छ,’ काका केशव मिलनलाई स्मरण गर्छन् ।

    जेन्जी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका मिलनलाई सरकारले कात्तिक १७ गते शहीद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ । शहीद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको १५ लाख रुपैयाँ परिवारले प्राप्त गरिसकेको छ । साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने छ ।

    प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्दथे । कलिलैमा भाइ गुमाउँदा उनी विक्षिप्तजस्तै छन् । भन्छन्, ‘मैले भाइमात्र होइन असल साथी पनि गुमाएँ । सबै कामसँगै गर्ने । पेसा पनि एउटै रोजेका थियौँ । मेरो मुटुको टुक्रा थियो ऊ ।’

    विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलो–दोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको स्मरण गर्दै दाजु हरिबाबु भन्छन्, ‘भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग उ छिटो घुलमिल हुन्थ्यो ।’

    प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआएका थिए । भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको बताउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्छन्, ‘मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४ !’

    जेन्जी आन्दोलनक्रममा भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो । प्रहरी जवान मिलनका साथै कास्कीका रूपा गाउँपालिका–५ का अमृत गुरुङ, दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापाको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको थियो ।

  • डिप्रेसनको उपचारमा थिए ८४ वर्षीय वृद्ध, लगाए शरीरमा आगो

    डिप्रेसनको उपचारमा थिए ८४ वर्षीय वृद्ध, लगाए शरीरमा आगो

    झापा । बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा ८४ वर्षीय वृद्धले शरीरमा आगो लगाएका छन् । शुक्रबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा पेट्रोल खन्याई शरीरमा आगो लगाएको पाइएको हो ।

    डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।

    सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

    परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइहेका थिए । केही महिनाअघि मात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराएका थिए ।

  • म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

    उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ ।

    उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

  • पुरानो रिसिइबीमा ७५ वर्षीयले हाने पुजारीलाई गोली

    पुरानो रिसिइबीमा ७५ वर्षीयले हाने पुजारीलाई गोली

    हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा एक जनाको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो ।

    ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए ।

    घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए ।

    पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

  • चिनियाँको चङ्गुलमा पर्दैछन् नेपाली युवती, शङ्कास्पद गतिविधि गर्ने चार जना पक्राउ

    चिनियाँको चङ्गुलमा पर्दैछन् नेपाली युवती, शङ्कास्पद गतिविधि गर्ने चार जना पक्राउ

    काठमाडौं । नेपालमा व्यावसायिक भिसा लिएर बसोबास गरिरहेका चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।

    भिसाको उद्देश्यविपरीत र शङ्कास्पद क्रियाकलापमा संलग्न रहेको पाइएपछि एक महिलासहित तीन पुरुषलाई नियन्त्रणमा लिइएको हो ।
    उनीहरुलाई काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट नियन्त्रणमा लिइएका चिनियाँहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई जागिरको प्रलोभन दिई शङ्कास्पद गतिविधिमा संलग्न गराएको खुलेको छ । उनीहरूले युवतीहरूलाई सामाजिक सञ्जाल टिकटक बनाउन लगाई सोही माध्यमबाट अन्य चिनियाँहरुसँग साथी बनाई बिहे गर्न प्रेरित गर्ने गरेको भेटिएको छ । यसका साथै केही नेपाली युवतीहरूलाई विवाह गर्ने भनी चीनसमेत पठाएको पाइएको छ ।

    चिनियाँ नागरिकहरुले म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरूलाई राख्ने र नेपाललाई केन्द्रमा राखी उनीहरूलाई विभिन्न मुलुकको भ्रमणमा समेत लैजाने गरेको पाइएको छ ।

    नियन्त्रणमा परेकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएका थिए । भिसा जाँच गर्ने क्रममा उनीहरूले आफ्नो पासपोर्ट र भिसा देखाउन नसकेको तथा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरुसँग दुर्व्यवहारसमेत गरेको विभागले जनाएको छ ।

    नेपालको अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार भिसाको उद्देश् विपरीत काम गर्नु गैरकानुनी मानिन्छ । यसरी गैरकानुनी रुपले बसेका विदेशी नागरिकलाई अनुसन्धानपछि अध्यागमन महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ ।

  • वीरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जन्मकैद, किशोरलाई १६ वर्ष सजाय

    वीरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जन्मकैद, किशोरलाई १६ वर्ष सजाय

    बैतडी । पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

    बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए ।

    हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

    यस्तै, अर्का एक १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको सूचना अधिकारी जोशीले बताए । गाउँकै बुहारी नाता पर्ने भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलामा शव फालिएको थियो । असार ३ गते वीरभानको शव सो स्थानमा फेला परेको थियो ।

    विसं २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्पपक्षका लागि कारागार चलान गरिएको थियो ।
    -रासस

  • सीआईबी भन्दै होटलमा पसेर रकम ट्रान्सफर गर्न लाउने पक्राउ, नक्कली प्रेस कार्ड पनि भेटियो

    सीआईबी भन्दै होटलमा पसेर रकम ट्रान्सफर गर्न लाउने पक्राउ, नक्कली प्रेस कार्ड पनि भेटियो

    काठमाडौं । आफूहरूलाई सीआईबी बताउँदै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका १० गोठाटार बस्ने ४१ वर्षीय रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका ७ घर भइ काठमाडौं, कीर्तिपुर भत्केकोपाटी बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।

    कात्तिक १६ गते कोटेश्वरमा तीन/चार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाएर बसिरहेका २ जनाको साथबाट आफूहरूलाई सीआईबी प्रहरी बताउँदै ५०- ५० हजार गरी १ लाख रूपैयाँ इसेवामा ट्रान्सफर गर्न लगाउनुको साथै ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

    उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान,नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद गरेको छ । उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ ।

    बानेश्वर प्रहरी टोलीले पक्राउ परेका २ जनालाई बिहीबार ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ ।

  • अनुसन्धान प्रक्रियाका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

    अनुसन्धान प्रक्रियाका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

    गत भदौ २३-२४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

    ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर मा कागजात उपलब्ध गराइदिन भनेको हो ।

  • भक्तपुरमा कार चढेर चोरी र लुटपाट, ८ जनाको गिरोह पक्राउ

    भक्तपुरमा कार चढेर चोरी र लुटपाट, ८ जनाको गिरोह पक्राउ

    काठमाडौं । भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका-१ बाट ८ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी, मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ९ घर भई हाल सुर्यविनायक–८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं। ३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका– ६ का २७ वर्षीय सुरज तामाङ छन् ।

    उनीहरूको साथबाट प्रहरीले सुनको ब्रासलेट १ थान, औठी २ थान, झुम्का, १ जोर, सिक्री १ थान, अमेरिकन डलर २८ सय, ६ हजार ६९० भारु, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, मोवाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान,मोटरसाइकल ४ थान,बा. ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।

    चोरी, पाकेटमार र लुटपाट गर्न उनीहरू समूह बनाई एकै ठाउँमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ । लुट्नको लागि उनीहरूले मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

    सार्वजनिक सवारी साधनहरूमा सबैजना सँगै चढ्ने र ‘टार्गेट’ छनौट गर्ने गरेको, पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने गरेकाे अनुसन्धानबाट खुल्न आएकाे एसपी काजीकुमार आर्चायले बताए । पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्नेको साथबाट सिक्री हरू लुटपाट गर्ने गरेको बताइएको छ ।

    गाडीबाट ओर्लिँदा सबै व्यक्ति एकै पटक नओर्लिई पालैपालो विभिन्न स्थानमा ओर्लिने गर्थे । पाकेट मारेको साथै चोरी गरेका धनमाल समूहमै बाँड्ने गरेको खुलेको छ ।

    अझ रोचक त के भने पक्राउ परेका व्यक्तिहरू मध्येका कृष्णबहादुर खड्का चोरी, लुटपाट समेतका घटनामा ३८ पटक पक्राउ गरी मुद्दा चलाइएका व्यक्ति हुन् ।

  • सीमा नाकामा तस्करले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

    सीमा नाकामा तस्करले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

    रूपन्देही । नवलपरासीको गुठिप्रसौनीस्थित बसैया नाका क्षेत्रमा तस्करले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर भएको छ । दशगजा नजिक क्षेत्रमा भारतबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि २ राउन्ड हवाई फायर भएको हो ।

    राति करिब १२ बजेको समयमा दशगजा नजिक पिलर नम्बर ५०२–७ भठ्ठा क्षेत्रमा मोटरसाइकलमा तस्करी गरिरहेको पाइएको थियो । ती व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरक्षाका लागि हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए।

    सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५–६ वटा मोटरसाइकलमा सुकेका माछाका सिद्रा ल्याउँदै गरेका थिए । चेकजाँच गर्ने क्रममा सामान ल्याउने व्यक्तिहरूले हल्ला गरेपछि भारतीय क्षेत्रबाट थप २५–३० जना व्यक्ति आएर ड्युटीमा खटिएका प्रहरीमाथि हहुलहुज्जत गरी आक्रमण थालेपछि सुरक्षाका लागि २ राउन्ड हवाई फायर गरेको एसपी रायमाझीले बताए । हवाई फायरपछि उनीहरू भारततर्फ भागेका थिए ।

    मोटरसाइकलबाट भाग्नेक्रममा खसेका २ बोरा सिद्रा माछासमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। भारतको बिहार राज्यमा चुनाव रहेकाले सीमा नाकामा केही दिनदेखि भारतीय प्रहरीको उपस्थिति कम छ। नाका खुलाजस्तै देखेपछि अहिले भारतबाट नेपालतर्फ माछालगायतका सामानको तस्करी गर्ने व्यक्तिहरू सल्बलाएका छन् ।

  • वीरगंजमा बेवारिसे सुटकेसमा बमको खबर बजार आतंकित, सेनाद्वारा डिस्पोज

    वीरगंजमा बेवारिसे सुटकेसमा बमको खबर बजार आतंकित, सेनाद्वारा डिस्पोज

    वीरगंज । बुधबार साँझ ५ बजे वीरगंज महानगरपालिका–२, छप्कैयास्थित बिर्यानी हाउसअगाडि भेटिएको बेवारिसे सुटकेसले बजार आतंकित भयो । किनमल र दिनभरको कामपछि घर फर्कन लागेकाहरु पनि त्रसित भए । शंकास्पद सुटकेसमा बम भएको हल्लाले वीरगंजको जनजीवन त्रसित बनेको हो ।

    जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, बुधबार साँझ खैरो रङको सुटकेस बेवारिसे अवस्थामा भेटिएको सूचना प्रहरी बिट छप्कैयामा आएपछि शुरुमा हबल्दार रञ्जनराज पाण्डेको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो । सुटकेस शंकास्पद देखिएपछि घटनास्थल सुरक्षा घेरामा राखेर वडा प्रहरी कार्यालय विर्ता, पर्साबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा थप टोली समेत परिचालन भयो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आइपुग्यो ।

    जनगण वीरगंजबाट ७ जनाको विशेष बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले सुटकेस ‘डिस्पोज’ (नष्ट) गरेको छ ।

    बम डिस्पोजल टोलीद्वारा गरिएको परीक्षणमा सुटकेसभित्र कुनै प्रकारको विस्फोटक पदार्थ थिएन । तर बमको हल्लाले वीरगंज बजार भने त्रसित बन्यो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आर्थिक नगरी वीरगंजमा खाली सुटकेस देखाएर कसैले आतंक मच्चाउन खोजेको हो कि भन्ने जनमानसमा परेको छ ।

  • सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो, को कहाँ ?

    सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो, को कहाँ ?

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हरूलाई मुख्य सीमा नाकामा खटाएको छ ।

    सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको एकाइमा बसी दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन् ।

    निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा सङ्गठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरूका ठाउँमा अरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जिम्मेवारी तोकी खटाउनुका साथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरूले समेत प्रत्यक्ष रूपमा सम्पर्क गर्नसक्ने व्यवस्थसमेत मिलाइएको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उनीहरूले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजस्व चुहावट, चोरीनिकासी तथा पैठारीसम्बन्धी गैरकानुनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने छन् भने सीमासँग सम्बन्धित सूचनाहरूको अभिलेखीकरण तथा व्यवस्थासमेत गर्ने छन् ।

    उनीहरू नेतृत्वको टोलीले लागुऔषध, हातहतियार ओसारपसार एवं फरार कैदीलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुका साथै भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य सङ्घ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने जनाइएको छ ।

    यस्ता कार्यहरूले भन्सार नाकाबाट वैध तरिका अवलम्बन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालयलगायत सम्बन्धित निकायहरूसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास लिइएको छ ।

    को कहाँ खटिए ?

    वरिष्ठ उपरीक्षकहरूमध्ये कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी तथा मधेस प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमानाकाको समेत निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेललाई खटाइएको छ ।

    त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रूपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमानाकाको निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमानाकाको निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गङ्गाराम श्रेष्ठलाई खटाइएको छ ।

    उनीहरूलाई उल्लेखित फोन नम्बरमा आमसर्वसाधारण तथा सरोकारवाला सबैले फोन गरेर राजस्व चुहावटलगायत सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि नियन्त्रणमा सम्बन्धमा सम्पर्क गर्न सकिनेछ ।

    उनीहरू बोर्डर आउट पोस्टमा नै बस्ने र त्यहीँबाट सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी र रोक्ने कार्य गर्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।
    रासस