
हेटौँडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसहित १२ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी स्थापना भइसकेको छ । निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले जिल्लामा समेत संयुक्त पार्टी कार्यालय खोलेका छन् ।
तर आफूलाइ्र्र मन नपरेका नेतालाई खुइल्याउने काममा सधैँ अगाडि देखिने कम्युष्टि पार्टीका नेताहरुको संक्रमण मकवानपुरमा पनि देखिएको छ । माधव नेपाल नेतृत्वको पार्टीको अस्तित्वमै नभएको अवस्थामा त्यही पार्टीको लेटरप्याड प्रयोग गरेर उपसचिव कविन पन्तलाई कारबाही गरिएपछि यतिखेर मकवानपुरमा समाजवादी र माओवादीको मिलन समारोह पनि खल्लो देखिएको छ ।
मंसिर ८ गते दुई पार्टी मिलेर नेकपाको पार्टी कार्यालय उद्घाटन भएको छ । जहाँ समाजवादी पार्टीकी नेतृ एवम् साविककी मकवानपुर इञ्चार्ज मुनु सिग्देल र माओवादी केन्द्रका मकवानपुरका साविकका इञ्चार्ज विजय गौतमसहित दुवै पार्टीको तस्बिर सार्वजनिक भएको छ ।
संयुक्तरुपमा पार्टी सञ्चालन भएको भोलिपल्ट अर्थात मंसिर ९ गते भने समाजवादी पार्टीले आफ्ना उपसचिव कविन पन्तलाई कारबाही गरेको छ । पार्टी अध्यक्ष विष्णु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गएपछि नेतृत्व चयन हुन बाँकी रहेको पार्टी माओवादीमा समाहित भइरहँदा कार्यबाहक अध्यक्षका रुपमा उपाध्यक्ष ध्रुव भुजेलले पन्तलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मकवानपुरमा यसको चर्चा भइरहेको छ ।

अघिल्लो दिन नयाँ पार्टी सञ्चालन गर्ने र भोलिपल्ट पुरानो पार्टीको लेटर प्याडमा कारबाही गर्दा कम्तीमा ढंग त मिलाउनु पर्छ नि भनेर आलोचना भइरहेको छ ।
माओवादीसँग मिसिने तयारीपछि माधव कुमार नेपालले पनि घनश्याम भूसालहरुलाई साधारण सदस्यबाटै कारबाही गरेका थिए तर मिति अघिल्लो दिनको राखेर ढंग पुर्याइएको थियो । त्यही सिको गरेर मकवानपुरमा पनि कारबाही गरिँदा मिति नमिलेपछि अहिले समाजवादी पार्टीको कारबाही कुण्ठा मात्रै पो हो कि भनेर चर्चा भइरहेको छ ।
यता आफूलाई कारबाही भएको विषयमा कविन पन्तले बुधबार बिहान सामाजिक सञ्जालमा लामो विवरण लेखेर ‘कोही बात छैन’ भनेर जवाफ दिएका छन् । उनले पार्टी नेतृत्व मुनु सिग्देललाई दर्जन हाराहारीमा प्रश्न पनि गरेका छन् । उनको तर्क यस्तो छः

कमरेड पूर्वइन्चार्ज, माफ गर्नुहोस्, तपाईंले गर्नु भएको फोन उठाउन सकिनँ र उठाउनुको औचित्य पनि छैन, तपाईं केही तपाइंका लठैतहरुलाइ प्रयोग गरेर जो (डेट एक्सपायर भैसकेका छ्न्) कारबाही को मञ्चन गर्दै हुनुहुन्छ, त्यसले राजनीतिक क्षमता र हैसियत प्रस्ट देखाउँछ र सबैले बुझ्ने गरी देखाउनु भएकोमा धन्यवाद पनि छ ।
अब प्रश्न गरौँ,
१. तपाईंले नेतृत्वलाई पदका लागि धम्की दिँदा त्यो सही हुने, हामीले तपाईंलाइ प्रश्न गर्दा हामी गलत कसरी ?
२. आजसम्म तपाईंले माथि नेतृत्व र तल कार्यकर्तालाई धम्क्याएरै पद प्रतिष्ठा आर्जन गरिरहनु भएको छ भन्ने प्रस्ट भएन र ?
३. पाउढोग गर्ने प्रवृत्ति गलत छ भनेर नै हामी बिद्रोही भएका हैनौँ र ?
४. त्यत्रो उत्साह भएको पार्टी जिल्ला अन्तत तपाईंको घरभित्र सीमित कसरी भयो, तपाईं र तपाईंको प्रवृत्तिले होइन र ?
५. जनताका लागि धेरै गरेका छौँ भन्ने घमण्ड हो भने एकपटक तल जनतापट्टि फर्किएर हेर्नुहोला, आफ्ना कुरा सुनाउन केही संख्या पनि उपस्थित गराउन नसक्ने अवस्थामा कसरी पुग्नु भो ?
६. समय सापेक्ष जिल्ला नेतृत्व हस्तान्तरणमा भूमिका खेल्नुस भन्दा गलत कसरी देख्नु भो ?
७. पार्टीको जिल्ला अधिवेशन तपाईं र तपाईंको घरको कारण लम्बिएको थियो भन्दा हामी अराजक ?
८. ६ महिनाअघि जिल्लाको विवाद सबै मिलाउँछु भनेर हामीलाई वचन दिनु भएको र त्यसपछि लगातार बैठक बोलाउदै निर्णय गर्दै अघि बढनु भएको होइन र ? खोइ छलफल कहाँ गर्नु भो ?
९. विद्रोह र एसको स्थापनापछि तपाईं र तपाईंको घरको धम्क्याइ सहन सकिन्न भन्दै लगातार ३ जना अध्यक्षले राजीनामा दिएको विसय असत्य हो र ?
१०. नेतृत्वलाई धम्की दिएरै आफू बन्नका लागि तयार हुने तपाईं र तपाईंहरुबाट अरु पनि बिग्रन सक्छ्न् भनेर प्रश्न गर्न नपाउने हो र ?
११. उहाँहरुको पाउमोलाइ र दासत्व स्वीकारबिना नेता बन्न मुस्किल छ है जिल्लामा भनेर आमरुपमा सचेत गराउँदा गल्ती कता भो ?
र, तपाईंहरुको आत्माकेन्दृत निर्णय र म नै सर्वेसर्वा भन्ने भावले पार्टी बिग्रेको हो, हामीजस्ता कार्यकर्ताको राजनीतिक भविष्य सकिएको हो भनेर प्रश्न गर्दा अराजक देख्ने तपाईंहरुकै कारण जिल्लाले नयाँ परिवर्तन खोजेको हो !
अन्त्यमा जनताले कारबाही गरेका तपाईंहरुले हामी जस्ता इमान्दार कार्यकर्ताको हुर्मत लिने गरी गरेको कारबाहीको कुनै अर्थ छैन ! गलतलाई गलत भनेबापत आज भन्दा १३–१४ वर्षअघि पनि गुटका नाममा यस्तै भएकै थियो, त्यो इतिहास हो !