Tag: अन्नपूर्ण आधार शिविर

  • असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

    असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

    काठमाडौं । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेबाट भ्रमणका लागि खुल्ने भएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेको हो। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।

    कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणदर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए ।

    ‘पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो’, उनले भने, ‘गत माघ, फागुन र चैत महिनामा न्यून संख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन ।’

    अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

    तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताए ।

    पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन ।

  • अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

    अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।

    पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो ।

    विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले दुई करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताए ।

    ‘पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो’, उनले भने, ‘आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।’ आगामी आर्थिक वर्ष २०७८/७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ ।

    हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ । यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ ।

    पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

    हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए ।

    अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्रीखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

    पहिलो चरणमा मानिस मात्र हिँड्न मिल्ने पदमार्ग बनाइएको छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ ।

    गाउँपालिकाले पदमार्गको नक्शा तयार पारेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ ।

    होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो ।

    फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

    समुद्री सतहबाट चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ ।

    पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।