Tag: अन्तरराष्ट्रिय नेपाली समाज

  • अन्तर्राष्ट्रिय नेपाली समाजबाट एक लाख रुपैयाँको पुरस्कार स्थापित

    अन्तर्राष्ट्रिय नेपाली समाजबाट एक लाख रुपैयाँको पुरस्कार स्थापित

    अन्तर्राष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष एक लाख रुपैयाँ बराबरको आइएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र २०२१ मा स्रष्टाको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने, मानवीय मूल्यमान्यताको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवम् सामाजिक कुप्रथा अन्त्य गर्न साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।

    यस्तै नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्यका लागि कला–साहित्य सिर्जना एवम् विचारविमर्श गर्ने, मातृभाषा एवम् लोपोन्मुख भाषाको अभिलेखीकरण एवं साहित्य लेखनलाई प्रोत्साहन गर्ने, गजल विधा लेखनमा बहर र गैरबहरबीच बहस, विचारविमर्श गर्दै विद्यालय एवम् विश्वविद्यालयका विभिन्न तहमा एउटा छुट्टै विषयका रूपमा पठनपाठनमा समावेश गराउन पहल गर्ने, नेपाली भाषा तथा साहित्यमा कलम चलाउने प्रवासी नेपाली स्रष्टालाई समेत अन्तरविश्वविद्यालय स्तरीय विचारविमर्श र विभिन्न विधागत प्रतियोगितामा प्रतिस्पर्धा गराउने, भाषा आयोग, नेपाल प्रज्ञा-प्रतिष्ठान, विश्वविद्यालय र नेपाली मूलका प्रवासीद्वारा सञ्चालित संघसंस्थासंँग समन्वय गर्ने घोषणा पनि गरिएको छ ।

    समाजका अध्यक्ष अर्जुन घिमिरेका अध्यक्षतामा भएको सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा नेपाली र नेपालका विश्वविद्यालयमा विदेशी मूलका प्रमुख भाषासाहित्यलाई तुलनात्मक अध्ययनका रूपमा अध्ययन-अध्यापन गराउन अनुरोध गर्ने, विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा प्रवासी नेपालीले लेखेको सिर्जना समावेश गराउनका साथै विषय विज्ञताका आधारमा स्रोत व्यक्तिका रूपमा सहभागी गराउन तथा विभिन्न विश्वविद्यालयको दर्शनाचार्य वा सीधै विद्यावारिधिको अध्यापन गराइने स्तरमा लोकसाहित्यलाई विषयका रूपमा समावेश गराउन पहल गर्ने, एथ्नोग्राफी (डिजिटल सहित), फेनोमेनोलोजी, वर्णनात्मक आदि जस्ता अनुसन्धान पद्धतिका विधिलाई पनि नेपाली साहित्यको अध्ययनमा संलग्न गराउन प्रोत्साहन गर्ने समाजले निर्णय गरेको समाजका नेपाल संयोजक डा. जानुका नेपालले जानकारी दिइन्।

    यस्तै प्रवासी नेपालीलाई समेटेर सरकारी एवम् गैरसरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्यसम्बन्धी कार्यक्रम गर्ने, लामो समयदेखि सिर्जना गर्दै आउनुभएका साहित्य एवम् कलाका क्षेत्रमा समर्पित सर्जकलाई राज्यका तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने, विश्वव्यापीरूपमा देखा परेको जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावबारे अध्ययन तथा सिर्जना गर्ने स्रष्टा-अध्येतालाई प्रोत्साहन गर्ने, कुनै एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्न विद्वत्वृत्ति प्रदान गर्नेलगायत विषय घोषणापत्रमा उल्लेख छ ।