Tag: अनेरास्ववियू

  • एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनबाट धेरै नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा समेटिने इच्छा प्रकट गरेका छन् ।

    साविकका केन्द्रीय सदस्य सबै दोहोरिँदा पनि धेरै नयाँ अनुहारले ठाउँ पाउने भएकाले पनि केन्द्रीय दस्यमा ‘डेब्यू’का लागि धेरै दावेदार देखिएका हुन् । त्यस्तो दावेदारहरुमा एमालेको भातृ संगठन अनेरास्ववियूबाट पनि छन् । अनेरास्ववियूका पूर्वअध्यक्षहरुको यसपटक एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्ने चाहाना छ ।

    अनेरास्ववियूबाटै गएर अहिले एमालेमा स्थापित भएका नेताहरु धेरै छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष शंकर पोखरेलको दावीदारी एमाले महासचिवमा छ ।

    पूर्वअध्यक्ष योगेश भट्टराईले बुधबार सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

    त्यस्तै अनेरास्ववियूका पूर्वअध्यक्षहरु अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई र ठाकुर गैरे पनि पदाधिकारीका दाबेदार हुन् ।

    पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरु तुलवहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस)मा छन् ।

    पूर्वअध्यक्षहरु टंक कार्की, रुपनारायण श्रेष्ठ र माधव ढुंगेल केन्द्रीय समितिमै छन् । उनीहरुले पदाधिकारीको दावी गरिसकेका छैनन् ।

    पूर्वअध्यक्षहरु मध्यका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

    जो ‘डेब्यू’ गर्न चाहान्छन्

    अनेरास्ववियूका अध्यक्ष भइसकेका धेरैले एमालेमा भूमिका पाएका छन् । थोरै छन्, जो यसपाली एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्न चहान्छन् ।

    अनेरास्ववियूको पूर्वअध्यक्षहरु मध्यमा तीन जना एमाले केन्द्रीय हुन बाँकी छ । किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर यसपटक केन्द्रीय कमिटीमा डेब्यू गर्न चाहन्छन् । लामा भने प्रतिनिधिसभाकी सदस्य समेत हुन् ।

    उनीहरुले केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । हालकी अध्यक्ष सुनिता बरालले पनि केन्द्रीय सदस्यमा उम्मेवारी घोषणा गरिसकेकी छिन् ।

    पदाधिकारीका दावेदार

    शंकर पोखरेल
    योगेश भट्टराई
    अरुण नेपाल
    हिक्मत कार्की
    खिमलाल भट्टराई
    ठाकुर गैरे

    केन्द्रीय कमिटीमा ‘डेब्यू’ आकांक्षी

    किशोर विक्रम मल्ल
    नवीना लामा
    ऐन महर

  • नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए

    नेकपा एसनिकट अखिलका उपमहासचिव र कोषाध्यक्ष एमालेमै फर्किए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं एमालेमै फर्किएका छन् ।

    रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए । शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ ।

    त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले बताए ।

  • कालापानी-लिपुलेक क्षेत्रमा गणक नखटाएकोमा अनेरास्ववियूको आपत्ति

    कालापानी-लिपुलेक क्षेत्रमा गणक नखटाएकोमा अनेरास्ववियूको आपत्ति

    काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।

    अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको भए पनि अहिलेको सरकारले ती ठाउँमा अहिलेसम्म गणकहरू नपठाएकोप्रति गम्भीर असहमति जनाएकी छन् ।

    ‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टी गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू-भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’

  • भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको कमिटी गठन गरिएको छ ।

    सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी बनाइएको विद्यार्थी नेता प्रताप तामाङले बताए । युवासंघ नेपालका स्थायी कमिटी सदस्य सन्दिप राईको प्रमुख आतिथ्यमा भएको नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रमबाट समिति बनाइएको हो ।

    अनेरास्ववियू क्याम्पस कमिटीको पदाधिकारीको नामावली यस प्रकार छ :

    अध्यक्ष – सुमी राई

    उपाध्यक्ष – शशीकला गुरुङ

    उपाध्यक्ष – ममता राई

    सचीव – दुर्जमान तामाङ

    सहसचिव- निङमा शेर्पा

    सहसचिव- रविना पाण्डे

    कोषाध्यक्ष- कृष्ण गिरी

  • विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

    विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

    काठमाठौं । दार्चुलाको मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले मंगलबार गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझएको हो ।

    ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले ज्ञापन पत्रमा समेटिएका माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    सत्तारुढ गठबन्धन दलका विद्यार्थीले नै आफ्नो पुत्ला जलाएको घटनाप्रति आपत्ति जनाएका छन् । घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएकोमा आपत्ति जनाएका हुन् ।

    मन्त्री खाणले असन्तुष्टि व्यक्त गर्दै भने, ‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा हामीले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अध्ययनपछि राम्रै प्रतिवेदन तयार भएको छ । उक्त प्रतिवेदन गृहबाट परराष्ट्र हुँदै कुटनीतिक नोटमार्फत भारतसम्म पुगिसकेको छ । मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुन पर्ने हो त्यो सबै विषयबस्तु उल्लेख भएको छ ।’

    तर सत्तारुढ दलकै विद्यार्थीले सम्पर्क र समन्वयबिना पुत्ला जलाएकोप्रति मन्त्री खाणले दुख व्यक्त गरे । उनले भने, ‘यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे ।’ उहाँले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने बताएका छन् ।

  • सेनेटरी प्याडको मूल्य बढाएकोप्रति अनेरास्ववियूको आपत्ति, निशुल्क उपलब्ध गराउन माग

    सेनेटरी प्याडको मूल्य बढाएकोप्रति अनेरास्ववियूको आपत्ति, निशुल्क उपलब्ध गराउन माग

    काठमाडौं । महिलाले महिनावारीका बेला प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यवृद्धिप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ । विद्यार्थीलाई निशुल्क र अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउन माग गर्दै अनेरास्ववियूले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न सरकारसँग अनुरोध गरेको छ ।

    अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले प्रेस विज्ञप्ति जारी गर्दै डेढलाई नेपाली महिलाले प्रयोग गर्ने प्याडको मूल्यवृद्धि फिर्ता लिन छात्रालाई निशुल्क वितरण गर्न माग गरेकी हुन् ।

    ‘विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रीमा झै उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता छ ।’

    केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६–०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियूले माग गरेको छ ।

  • तस्बिरमा अनेरास्ववियूका पदाधिकारीको सपथ

    तस्बिरमा अनेरास्ववियूका पदाधिकारीको सपथ

    काठमाडौं । पुनर्गठित अनेरास्ववियूका पदाधिकारीहरूले सपथ लिएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच एमाले उपमहासचिव विष्णु पौडेलले पद तथा गोपनीयताको सपथ गराए । सपथ ग्रहण समारोहमा अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको उपस्थिति थियो ।

    आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको थियो । शनिबार राति सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसहित ३२ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

    अनेरास्ववियूमा अब १० जना उपाध्यक्ष, ५ उपमहासचिव र १३ जना सचिव रहेका छन् । कोषाध्यक्षमा जेनिश लामा चयन भएका छन् ।

    यहि बैठकबाट अध्यक्ष ऐन महरसँगै उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सैलेस लामा पनि बिदा भएका छन् ।

  • यी हुन् अनेरास्ववियूका ३२ पदाधिकारी (सूचीहित)

    यी हुन् अनेरास्ववियूका ३२ पदाधिकारी (सूचीहित)

    काठमाडौं । आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ । शनिबार राति सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसहित ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

    अनेरास्ववियूमा अब १० जना उपाध्यक्ष, ५ उपमहासचिव र १३ जना सचिव रहेका छन् । कोषाध्यक्षमा जेनिश लामा चयन भएका छन् ।

    यहि बैठकबाट अध्यक्ष ऐन महरसँगै उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सैलेस लामा पनि बिदा भएका छन् । अखिलमा अन्याय भएको भन्दै पूर्वअध्यक्ष नविना लामाले असन्तुष्टी व्यक्त गरेकी छन् ।

    लामा अखिलको बैठकमा समेत उपस्थित भइनन् । उनले चाकडी चाप्लुसी गर्नेले पद पाउने र इमानदारमाथि अन्याय हुने अवस्था आएकोले आफू नगएको बताएकी छन् ।

    लामा रश्मी आचार्यलाई अध्यक्ष बनाउने पक्षमा थिइन् । बैठकले ४०६ सदस्यीय केन्द्रीय कमिटी, २१२ सदस्यीय सचिवालय र ९९९ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरेको छ ।

    अखिलको नयाँ नेतृत्व यस प्रकार छ :

    अध्यक्ष– सुनिता बराल

    वरिष्ठ उपाध्यक्ष– आरसी लामिछाने

    उपाध्यक्षहरू

    झपिन्द्र खत्री

    मोती विक

    लोकेश निरौला

    उमेश आचार्य

    यम पाण्डे

    चन्द्र थिङ

    डिवि साउद

    कल्पना वाइबा

    निशा अधिकारी

    वाङ्छु योन्जन

    महासचिव– समिक बडाल

    उपमहासचिवहरू

    नारायण घर्ती

    नरेश रोकाय

    गोविन्द गिरी

    सुदर्शन शिवाकोटी

    भाष्कर खनाल

    सचिवहरू

    मर्यादा विष्ट

    डम्बर अधिकारी

    धर्म गिरी

    कनिष पटेल

    श्याम प्रजापति

    जुन तामाङ

    एलबी सिंह

    रामशरण चौधरी

    सुजन भट्टराई

    खेम मरासिनी

    सुर्य रोकाय

    दिनेश भट्ट

    टिकाजंग थापा

    कोषाध्यक्ष– जेनिश लामा

  • अखिलको नयाँ नेतृत्व घोषणा हुँदै: अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल

    अखिलको नयाँ नेतृत्व घोषणा हुँदै: अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल

    काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ ।

    आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

    अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् ।

    पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए ।

    महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् । उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् ।

    अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

  • ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन हुने भएको छ । राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो ।

    अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि अखिल छाड्न तयार भएका छन् ।

    महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै अखिलबाट बिदा भएकी थिइन् ।

    एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ थिए । नेकपा एकता बदरपछि पनि महर अध्यक्ष निरन्तर रहे । सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उनलाई बिदा गरेर जाम हुन लागेको नेतृत्व खुलाउन खोजिएको एमाले स्रोतले जनाएको छ ।

    अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने नेपाल प्रेसलाई बताए । उनका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ ।

    आज महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसिरहेको छ । शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिए ।

    अखिल अध्यक्षका लागि हालका उपाध्यक्षमध्ये शैलेस लामाबाहेक अन्यले आ-आफ्नो दावी छाडेका छैनन् । उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल अध्यक्षका दाबेदार हुन् ।

    त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने बताए ।

    अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ ।

    अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन् । २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन ।

    त्यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव पनि हुन् ।

    पार्टी नेतृत्वको ग्रिन सिग्नल सुनितालाई रहेको चर्चा अखिलमा चलेको छ । यद्यपी उपाध्यक्षहरुबीच सहमतिको लागि छलफल भइरहेको भट्टराईले बताए ।

    आरसी लामिछाने लामो समय विद्यार्थी आन्दोलनमा छन् । उनलाई अध्यक्ष बनाउन नसकिए वरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

    अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा एसमा लागेका छन् । नयाँ पदाधिकारी चयनसँगै स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा केही सदस्य थपिने भएका छन् ।

    माधव नेपाल समूह छाडेका र पूर्वमाओवादीबाट एकता प्रक्रियामा आएकासहितलाई समेटेर केन्द्रीय कमिटी बनाउन लागिएको हो । अध्यक्षमा सहमति जुटाउन नेताहरू अनौपचारिक छलफलमा छन् ।

    २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित कोषाध्यक्ष झपिन्द्र खत्रीसहित स्थायी कमिटीमा रहेका यमराज पाण्डे, नरेश रोकाय, कल्पना वाइबा, नारायण घर्ती, उमेश आचार्य, मर्यादा विष्टलगायतलाई उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहितका पदाधिकारीमा व्यवस्थापन गरिने भएको छ ।

  • नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग्दै नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । सोक्रममा प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन् । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसअगाडिको प्रदर्शनमा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

    भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् । विद्यार्थी नेता/कार्यकर्ताले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।

     
     
     
     
     
     
     
     
     
     
     
    तस्बिरहरू : उमेश कार्की ।
  • नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ

    नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ

    काठमाडौं । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गरेको भन्दै गृहमन्त्रालयले आइतबार यस्ता काम गर्नेलाई कारवाही गर्ने चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो ।

    दुई दिनअघि अमेरिकी साहायता परियोजना एमसीसीविरुद्ध अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति निकालेको गृहले फेरि उस्तै खाले वक्तव्य निकालेपछि सरकारको सार्वजनिक आलोचना भएको छ । कतिपयले शेरबहादुर देउवा सरकार नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै आलोचना पनि गरेका छन् ।

    देउवा सरकारकै सहयात्री दल हो हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) । गृहको आजको विज्ञप्ति नेकपा एसकै भ्रातृ संगठन अनेरास्ववियूको प्रदर्शनपछि आएको हो । १८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको प्रदर्शनमा नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावाद लेखिएका प्लेकार्डसहित चर्का नाराबाजी गरेका थिए ।

    तर, नेकपा एसनिकट अनेरास्वियूका अध्यक्ष सुदेश पराजुली गृहमन्त्रायलको यस्तो विज्ञप्ति सडकबाटै च्यातिने बताउँछन् । ‘गृह मन्त्रालयले जुन विज्ञप्ति निकालेको छ, त्यो अत्यन्तै भर्त्सनायोग्य छ,’ नेपाल प्रेससँगको कुराकानीमा पराजुलीले भने, ‘यो विज्ञप्तिको कुनै अर्थ छैन । यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ ।’

    १८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको थियो ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफ्नो पार्टीको सर्मथन भएपछि गलत काम गरे जोसुकैविरुद्ध आन्दोलनमा उत्रिने पराजुलीको चेतावनी छ। ‘हामी अनेरास्ववियू दबाब, जागरण र प्रतिपक्ष आन्दोलनको नेता संगठन हो,’ उनी भन्छन्, ‘शेरबहादुर देउवाले गलत काम गर्नुभयो भने यसका विरुद्धमा हामी देशभरी आन्दोलनमा उत्रिन्छौं ।’

    यसले सत्ता गठबन्धनमा असर पार्ला नि भन्ने प्रश्नमा पराजुली राष्ट्रघाती काम जुनसुकै सरकारले गरे पनि विरोध गर्ने बताउँछन् । ‘हामी स्पष्ट छौं-यो सरकारले राम्रो काम गर्छ, जनपक्षीय काम गर्छ भने हामी त्यसको समर्थनमा हुन्छौं,’ उनको भनाइ छ, ‘सरकारले राष्ट्रघाती काम गर्छ, जनविरोधी काम गर्छ भने त्यसका विरुद्धमा हामी छौं । हामी हिजोदेखिकै यो भूमिकालाई निखारता दिँदै आएको संगठन हो । सत्तामा शेरबहादुर देउवा हुनुहोस् या केपी ओली गलत कामका विरुद्धमा हाम्रो संगठन उपयुक्त ढंगले लड्छ ।’

    अमेरिकी साहायता परियोजना (एमसीसी) मा आवश्यक परिमार्जन भएमात्रै आफूहरूले त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘एमसीसी कुनै हालतमा पारित गर्नुहुँदैन,’ पराजुलीले भने, ‘हाम्रा पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको जुन प्रतिवेदन छ, त्यसका आधारमा परिमार्जन भयो भने त्यसलाई स्वीकार गर्न सकिन्छ ।’

  • अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान

    अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान

    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द, अराजकता र अस्थितरतामा धकेल्ने मनोसाय राखेकोसमेत बताएका छन् ।

    ‘यसअघि पार्टीको केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशतको संख्या पुर्‍याए मात्रै दल विभाजनले पाउँदै आएको मान्यातालाई यो सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै संख्या पुर्‍याए पनि दल विभाजनको मान्यता पाउने र प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल रोज्न पाउने गरी नेपालको लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाउने, पुरानै देउवा प्रवृत्तिबाट सांसदलाई खसीबोका जस्तै खरिदबिक्री गर्ने कुन्सित मनसायका साथ विगतामा भएका आन्दोलनका उपलब्धीहरूलाई समाप्त पार्ने गरी यो व्यव्थानको विरुद्ध जनविरोधी देउवा सरकारले ल्याएको कथित अध्यादेश नेपाल र नेपाली जनताको अग्रगमन र सुशासनको चाहना विपरीत रहेको छ’ उनले भनेका छन् ।

  • पूर्वमन्त्रीको निर्देशनमा कार्यकर्ता कुटिएको भन्दै अनेरास्ववियूकाे विरोध

    पूर्वमन्त्रीको निर्देशनमा कार्यकर्ता कुटिएको भन्दै अनेरास्ववियूकाे विरोध

    काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य दिनेश चौलागाईमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

    बाग्मती प्रदेश पूर्वमन्त्री युवराज दुलाल ‘शरद’सँग सम्बन्धित केही राजनैतिक विषयमा सामाजिक संजालमा गरिएको टिप्पणीका आधारमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य चौलागाईमाथि आक्रमण भएको थियो ।

    राजनैतिक प्रतिशोधका आधारमा युवराज दुलालको निर्देशनमा सिन्धुपाल्चोकका प्रह्लाद चौलागाई नेतृत्वको अराजक समूहले २६ गते चौलागाईकोअफिसमै गएर थर्काउने र धम्क्याउने गरेको अनेरास्ववियूको दाबी छ ।

    २७ गते राति घरमै गएर ज्यान मार्ने उद्देश्यले गम्भिर घाइते हुने गरी गरेको कुटपिट गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियू केन्द्रीय कमिटीका संयोजक ऐन महरले विज्ञप्तिमार्फत बताएका छन् ।

    सत्ताको मातमा अपराधिक हर्कत गर्ने अपराधी समुहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।अनेरास्ववियूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गर्दै अनेरास्ववियु इँट्टाको जवाफ पत्थरले दिन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन् ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘राजनैतिक प्रतिवाद राजनैतिक तरिकाले गर्नुपर्दछ, कमरेड चौलागाईको लेखाईमा असहमति हो भने विधिको शासनमा कानूनी प्रक्रियामा जान सकिन्छ तर लोकतन्त्रमा आफ्ना राजनैतिक विचारहरु राख्न पाउने मौलिक अधिकारको समेत ख्याल नगरी जंगली शैलीमा कमरेड चौलागाईलाई भौतिक आक्रमण गर्नुले विगतमा माओवादीले समाजमा मच्याउँदै आएको आतंक र अराजकताको श्रृखलाको अवषेश अझै बाँकी रहेको देखिन्छ, तसर्थ यस्तो अराजक मानसिकता त्याग्न अनेरास्ववियु चेतावनी दिन चाहान्छ । ’

  • माधवपक्षीय अनेरास्ववियूका अध्यक्षको आरोप- एमाले स्थायी कमिटी बैठक अवैधानिक

    माधवपक्षीय अनेरास्ववियूका अध्यक्षको आरोप- एमाले स्थायी कमिटी बैठक अवैधानिक

    काठमाडौं । माधव नेपाल पक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एमालेको आइतबार बसेको स्थायी कमिटी बैठक अवैधानिक भन्दै अदालतको आदेशको ठाडो उल्लंघन भएको आरोप लगाएका छन् ।

    स्थायी कमिटी बैठकले एमाले एकताको लागि थप निर्णय गर्नेका लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाएको छ ।

    विद्रोही एमालेको विद्यार्थी संगठनका अध्यक्ष पराजुलीले भने अदालतले नै महाधिवेशन आयोजक कमिटीलाई अवैध भएको दावी गर्दै ओलीले जनताको बहुदलीय जनवादवको सिद्धान्तलाई समेत अवमूल्यन गरेको आरोप लगाए ।

    पराजुलीले लेखेका छन्, ‘सर्वोच्च अदालतले नेकपा एमालेको जेठ २ गतेअघिको पार्टी संरचनालाई वैधानिकता दिईसकेपछि त्यसलाई ठाडो उल्लंघन र त्यो निर्णयलाई चुनौती दिँदै आज नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको भन्ने कुरा अवैधानिक साथै लज्जास्पद र हास्यास्पद कुराको कुनै माने राख्दैन । आफैं भ्याकेटमा जाने आफैं न्यायलयको निर्णयलाई अस्वीकार गर्ने ?’

  • राहत लिएर माधव पक्षका विद्यार्थी हेलम्बु प्रस्थान (भिडियाे)

    राहत लिएर माधव पक्षका विद्यार्थी हेलम्बु प्रस्थान (भिडियाे)

    काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूको टोली राहत लिएर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका गएका छन् ।

    मेडिकल टिमसहितको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको नेतृ आरती लामाले बताइन् ।

    बाढीपहिरोबाट पीडितका लागि राहत लिएर जान लागेको सो टोलीलाई नेता नेपालले बिदाई गरेका छन् । बेसाहारा र असहायलाई महत्वमा राख्न भन्दै उनले सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए ।

    हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामाग्री वितरण गरिने अनेरास्ववियूले जनाएको छ ।

    ऐन महर नेतृत्वको संस्थापन पक्षको अनेरास्ववियूको राहत टोली २ दिनअघि नै सिन्धुपाल्चोक गइसकेको छ ।

  • उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    काठमाडौं । बाढीपहिरोपीडितको उद्धार तथा राहतको लागि नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको टोली सिन्धुपाल्चोकतिर हिँडेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । उनीहरूले सिन्धुपाल्चोकको बाढीपीडित परिवारका लागि २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट लिएर गएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिदाई गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग गर्न आव्हान गरेका छन् ।

  • ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीका नेताहरूको कारवाही फिर्ता भए पनि अखिलका नेताहरूमाथिको कारवाही फिर्ता नहुने दावी गरेका छन् ।

    महरले सामाजिक सञ्जालमै अनेरास्ववियूका नेताहरूमथिको कारवाही फिर्ताको कुनै सम्भावना नरहेको घोषणा गरेका छन् । अनेरास्ववियूले संगठनका सचिवहरू सुदेश पराजुली, आरती लामा र ओसिम आलमलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको थियो ।

    महरले भनेका छन्, ‘पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको कारवाही फिर्ताको कुनै सम्भावना छैन ।’

    एमालेले बिहीबार माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेको थियो ।

    यसबीचमा माधव नेपाल पक्षले अनेरास्ववियूको भेला गरी पराजुली अध्यक्ष, आलाम सहअध्यक्ष र आरती लामालाई महासचिव चयन गरेको थियो । लामाले पनि सामाजिक सन्जालमार्फत नै ऐन महरलाई अध्यक्ष स्वीकार नगर्ने र एमाले मिले पनि अनेरास्ववियूको अध्यक्ष नविना लामा हुनुपर्ने बताएकी छन् ।

    तत्कालीन एमालेका पालामा लामा अध्यक्ष थिइन् । नेकपा एकीकरणपछि अनेरास्ववियूको अध्यक्ष महर भएका थिए । लामा र महर दुवैजना अहिले एमालेको संस्थापन पक्षमा छन् ।

  • एमाले सम्बद्ध अनेरास्ववियुका तीन नेता निष्कासित

    एमाले सम्बद्ध अनेरास्ववियुका तीन नेता निष्कासित

    काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन् । महरले मंगलवार विज्ञप्ति जारी गरि तीन जनालाई निष्कासन गरिएको प्रष्ट पारेका छन् ।

    केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

    नेकपा एमालेले यस अघिनै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेको थियो । सोही शैलीमा अखिलले तीन नेतालाई निष्कासन गरेको हो ।

  • भोजपुरमा एमाले माधव पक्षले बनायो युवा र विद्यार्थीको कमिटी

    भोजपुरमा एमाले माधव पक्षले बनायो युवा र विद्यार्थीको कमिटी

    भोजपुर । नेकपा एमालेको माधव पक्षले भोजपुरमा जनवर्गीय संगठनहरूको पनि कमिटी बनाएको छ । यसअघि शरणकुमार राई अध्यक्ष रहेको अलग्गै जिल्ला कमिटी बनाइसकेको माधव पक्षले युवा र विद्यार्थीको कमिटी गठन गरेको हो ।

    बुधबार भएको भेलाले बिमल रणपहेलीको नेतृत्वमा १ सय ७५ सदस्य रहेको राष्ट्रिय युवा संघ बनाएको हो । उपाध्यक्षमा निमाराज तामाङ, ईश्वर दंगाल, धिरेन राई छन् । सचिवमा अर्जुन तामाङ, कोषाध्यक्ष सिर्जना राई, सह-सचिव विमन राई र दीपराज राई, राजकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

    यसअघि अध्यक्ष रहेका सन्दीप राई केन्द्रीय सदस्य भएपछि उनको ठाउँमा रणपहेली आएका हुन् ।

    हिजै ध्रुवराज राई अध्यक्ष रहेको अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को कमिटी पनि गठन गरिएको छ । ८५ सदस्य अखिलको उपाध्यक्षमा प्रकाशसिं राई, सचिव प्रताप तामाङ, सहसचिव आर्यमान दाहाल, स्नेहा राई र मेनुका लुईंटेल साथै कोषाध्यक्षमा सावित्रा तामाङ छन् ।

    भोजपुर एमालेको जनवर्गीय संगठनको नेतृत्वमा यसअघिदेखि नै माधव पक्षको पकड रहँदै आएको थियो ।

    भेलामा राजेन्द्र राई, हरिबहादुर राई, रमेश शाक्यलगायतका नेताहरू सहभागी थिए ।

  • समानान्तर कमिटी बनाउने माधव पक्षधर विद्यार्थी नेता निलम्बित, ३ दिने स्पष्टीकरण माग

    समानान्तर कमिटी बनाउने माधव पक्षधर विद्यार्थी नेता निलम्बित, ३ दिने स्पष्टीकरण माग

    काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको संस्थापन पक्षले समानान्तर कमिटीका पदाधिकारीलाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।

    अनेरास्वविूका संयोजक ऐन महरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई ३ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णयसमेत गरेको हो । उनीहरू तीनैजना अनेरास्ववियूका सचिव थिए ।

    तीन दिनअघि राजधानीमा भएको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

    संगठनको गरिमामा आँच आउने गरी गुटगत भेला गरेर समानान्तर कमिटी बनाएको, संगठनको हितविपरीत गैर राजनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीहरूलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फागुन २३ को निर्णयलाई स्वागत गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले जागामी जेठ ३० गते तोकेको स्ववियू निर्वाचनको तयारीमा जुट्न सबै क्याम्पस तथा मातहत कमिटीहरूलाई निर्देशन दिएको छ ।

  • एमालेमा माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

    एमालेमा माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

    काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ ।

    काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

    माधवपक्षीय अखिलमा सुदेश पराजुली अध्यक्ष छन् । सह-अध्यक्षमा ओसिम आलम र महासचिवमा आरती लामा छन् । उनीहरू तीनैजना अनेरास्ववियुका सचिव थिए ।

    माधव नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौंला र केशरी रेग्मी छन् । कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । त्यस्तै, सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ ।

    माधव नेपाल पक्षले यसअघि जयन्ती राईको नेतृत्वमा महिला संघ र नरेश शाही अध्यक्ष रहेको युवा संघको समानान्तर कमिटी बनाइसकेको छ ।

    गुटको भेला गरेको भन्दै एमालेको संस्थापन पक्षले माधव नेपाललगायतका चार नेतासँग स्पष्टीकरण सोधिसकेको छ । समानान्तर भेला र कमिटीहरु गठन गर्नेमाथि कारवाही गरिने चेतावनी एमालेले दिइसकेको छ ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महरले संगठनको नाममा भेला गर्नेहरुमाथि अनुशासनको कारवाही गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।

  • गुटगत भेलामा सहभागि भए कारबाही गर्ने अनेरास्ववियूको चेतावनी

    गुटगत भेलामा सहभागि भए कारबाही गर्ने अनेरास्ववियूको चेतावनी

    काठमाडौं। नेकपा (एमाले) निकट अनेरास्ववियूले भोलि कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको भन्दै त्यस्ता गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको छ। साेमबार संयोजक ऐन महरले एक विज्ञप्ती जारी गर्दै त्यस्ता भेलामा संलग्न भए विधान अनुसार कारबाही हुने चेतावनी दिएका हुन् ।

    ‘अनेरास्ववियू, विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने, पार्टीको अस्तित्व समाप्त पार्ने, कम्यूनिष्ट आन्दोलनलाई कमजोर पार्ने जस्ता गुटबन्दी र अराजकताको पक्षमा भएको सबैखाले गतिविधिको घोर विरोध गर्दछ। तर्सथ भोली २०७७ चैत्र १० गते कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको अनेरास्ववियूका आम नेता कार्यकर्तालाई जानकारी गराउदछु,’ जारी विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले संगठनमा घुसपैठ गरी संगठनको विधान विपरितको कुनै भेला, सम्मेलन आयोजना गरेको भएमा अनेरास्ववियु त्यस्ता कुनै पनि भेलामा उपस्थित नहुन अपिल गर्दछ, अन्यथा सगठनका विधान अनुसारको कारबाही हुने जानकारी गराउँदछु।’

  • माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक (तस्बिरहरु)

    माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक (तस्बिरहरु)

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुन:स्थापित एमालेनिकट विद्यार्थीहरूले सडक माइतीघरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । त्यस अवसरमा नारीवादी एकल नाटक, गीत-संगीत तथा कवितावाचन प्रस्तुत गरिएको थियो ।

    अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले बलात्कृत युवतीको भूमिकामा एकल अभिनय देखाएकी थिइन् । उनको अभिनय र संवादले कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि महिला मन्त्री जुली महतो थिइन् भने अनेरास्ववियूकी पूर्वअध्यक्ष नविना लामा र केन्द्रीय सदस्य सुनीता बराल अतिथि थिए ।

     
     
     
     
     
     
     
     
  • फैसलाको खुशीयालीमा अनेरास्ववियूले देशभर दीप प्रज्वलन गर्ने

    फैसलाको खुशीयालीमा अनेरास्ववियूले देशभर दीप प्रज्वलन गर्ने

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।

    अदालतको फैसलाको पक्षमा र आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुशीयालीमा साबिक एमाले समर्थित विद्यार्थी संगठन अनेरास्वियूले देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

    साँझ ६ बजे काठमाडौंको माइतीघर र देशभर अनुकुल स्थानमा दीपप्रज्वलन तय गरिएकोले उपस्थितिका लागि सो संगठनले आव्हान गरेको छ ।

  • प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन

    प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू र कांग्रेस तथा जसपाको सरकार बन्दा भारतलाई पनि ‘कम्फरटेबल’ हुने भनी दिएको अभिव्यक्तिलाई नेकपाको केपी ओलीपक्षीय विद्यार्थीहरूले विरोधको विषय बनाएका छन् ।

    शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका ओली पक्षीय अनेरास्ववियूका विद्यार्थीले आइतबार काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन् ।

    पश्चिमाञ्‍चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि ओलीपक्षीय विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

     

  • जनताको पक्षमा बालुवाटार, भारतको पक्षमा खुमलटार’ भन्दै अनेरास्ववियूको प्रदर्शन

    जनताको पक्षमा बालुवाटार, भारतको पक्षमा खुमलटार’ भन्दै अनेरास्ववियूको प्रदर्शन

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले हालै एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहनिकट अनेरास्ववियूले आपत्ति जनाएको छ । संगठनका कार्यकर्ताहरुले शनिबार माइतीघरमा प्रदर्शन गर्दै प्रचण्डको अभिव्यक्तिको विरोध गरे ।

    प्रदर्शनका क्रममा ‘प्रचण्डको नेपाली नागरिकता खारेज गर, भारत कम्फर्ट सरकार नेपालीलाई होइन दलालहरुलाई चाहिएको हो, ओली बोल्दा भारत रिसाउने प्रचण्डको काम भारत रिझाउने, जनताको पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार’ लगायत नारा लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए ।

    हालै प्रचण्डले एक अन्तरवार्तामा आफूहरुको समूहसहित कांग्रेस र जनता समाजवादी पार्टीको गठवन्धन बने भारतका लागि सबैभन्दा कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए ।

  • ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    काठमाडौं । केपी ओलीपक्षीय नेकपानिकट अनेरास्वियूले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलासँगै संसदलाई राजनीतिको फोहोरी खेलको अखडा बनाउने हर्कतहरू देखा पर्न थालेको बताएका छन् ।

    संयोजक ऐन महरले विज्ञप्तिमार्फत अदालतले मंगलबार गरेको संसद विघटन बदर गर्ने फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    ६४ प्रतिशत जनमत बोकेको नागरिक सरकारले सार्वभौम जनताको दैलोमा जाने गरी संसद विघटन गर्ने निर्णय मुलुकको विकास, स्थिरता, सुशासन र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि अत्यन्तै अग्रगामी, लोकतान्त्रिक, संवैधानिक र बहुदलीय संसदीय व्यवस्थाको स्थापित परम्परा र मान्यताबमोजिम नै रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

    ‘यदि गत पुस ५ गते सरकारले संसद विघटन गर्ने निर्णय नगरेको हुन्थ्यो भने हाम्रो संसदलाई प्रयोग गरेर देशी, विदेशी प्रतिक्रियावादीहरूले नेपाल र नेपालीहरूको विरुद्ध गम्भीर षडयन्त्र गर्ने, सांसदहरूलाई खरिदबिक्री गर्दै विदेशीहरूको इशाराको निर्देशित सरकार बनाउने, संसदलाइ बिगतको जस्तै फोहोरी खेलको अखडा बनाउनेजस्ता गम्भीर र खतरनाक हर्कतहरू गर्ने सुनिश्चित थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, दुर्भाग्य सर्वोच्चको फैसला सँगसँगै यी यस्ता षड्यन्त्रमुलक हर्कतहरुको पुनरावृत्ति हुने लक्षण देखापरिसकेको छ ।’

    वैशाख १७ र २७ गते तोकिएको निर्वाचनबाट प्रधानमन्त्री ओली फेरि पनि अत्यधिक जनमतसहित सरकारको नेतृत्वमा पुग्दैछन भन्ने सन्देश रास्ट्रब्यापी मात्रै नभई विश्वव्यापी रूपमा गइरहेको र यी दृश्यले सत्ता र शक्तिका लागी लालायित व्यक्तिहरू अत्तालिएको टिप्पणी विज्ञप्तिमा गरिएको छ ।

    कानूनको सर्वोच्चताको पैरवी गरिररहने संगठन भएको अनेरास्ववियूले अदालतले गरेको फैसलालाई स्वीकार गर्ने महरले जनाएका छन् ।

  • मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

    मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रचण्ड-माधव पक्षीय नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियूले आयल निगमअघि प्रदर्शन गरेको छ ।

    मूल्यवृद्धिले सर्वसाधारणलदाई मार परेको भन्दै विद्यार्थीहरूले निगमको आयव्यय सार्वजनिक गर्नुपर्ने, भाउ तत्काल घटाउनुपर्नेलगायतका माग राखेका थिए ।

    निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा साविक मूल्यमा दुई रूपैयाँ बढाएको थियो ।

    नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रूपैयाँ तोकिएको छ ।

  • झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

    झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षनिकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

    राज्यविरुद्धको कसुर आरोपमा पक्राउ परेकी झाँक्रीलाई आज साँझसम्म रिहा नगरिए आमहड्तालको कार्यक्रम घोषणा गर्ने भन्दै अनेरास्ववियूले विज्ञप्ति निकालेर चेतावनी दिएको हो ।

    सह संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा झाँक्रीलाई रिहा नगरे भोलिदेखि सडकमा सरकारी गाडी गुड्न नदिने र हडतालसम्मका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

     

     

  • ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग

    ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग

    काठमाडौँ । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रचण्ड–माधव पक्षीय नेकपाले आह्वान गरेको आम हड्तालको क्रममा ट्याक्सी जलाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ ।

    सो संगठनले आफ्ना अपराध लुकाउन अनेरास्ववियूका त्रिचन्द्र क्याम्पस कमिटी अध्यक्ष गोविन्द थपलियाको संलग्नता रहेको भनेर सामाजिक संजालबाट चरित्रहत्या गर्ने व्यक्तिलाई समेत कानुनी कारवाहीको माग गरेको छ ।

    अखिल अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गरि उक्त घटनाको सत्यतथ्य छानबिन गरि बाहिर ल्याउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनले आफ्नो संगठनका नेता थपलियाविरुद्ध मिथ्या आरोप लाउनेमाथि कानुन बमोजिम उपचारको माग गरेका छ्न ।

    प्रचण्ड माधव नेपाल पक्षधर कतिपय नेता कार्यकर्ता र पूर्व सचिव भीम उपाध्यायले ट्याक्सी जलाउने व्यक्ति थपिलया रहेको र उनलाई प्रहरीले अनुसन्धानमा लिएको भन्दै सामाजिक संजालमा लेखेका थिए ।

    यसैबीच थपलियाले आफूले त्यस्तो प्रचार गर्नेविरुद्ध साइबर अपराधमा मुद्दा हाल्न खोज्दा नलिइएको भन्दै गाली बेइज्जती गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने बताएका छन् ।

     

  • ऐन महरको चेतावनी–प्रचण्ड पक्षले जनसभामा आउनेलाई अवरोध गरे ठाउँको ठाउँ प्रतिवाद

    ऐन महरको चेतावनी–प्रचण्ड पक्षले जनसभामा आउनेलाई अवरोध गरे ठाउँको ठाउँ प्रतिवाद

    काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरले २३ गते केपी ओली नेतृत्वको नेकपाले आयोजना गर्ने जनसभा र त्यसमाा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले प्रचण्ड माधव नेपाल पक्षले आम हड्ता घोषणा गरेको आरोप लगाएका छन् ।

    महरले जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत जारी राखिए त्यसको प्रतिवाद हुने बताएका छन् । महरले २३ गतेको जनसभामा सहभागी हुन आउनेलाई कहिँ कतै अवरोध भए सैह्य नहुने चेतावनी दिएका छन् ।

    महरले भने– हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु । २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु । त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु । साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु ।

  • काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो)

    काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो)

    काठमाडौं । नेकपा ओली पक्षनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूले नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

    शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

    वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले नारायणहिटी नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरेको छ ।

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
    दिउसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।
    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर लगेको छ । उनलाई तीनकुनेमा रहेका प्रहरी चौकीमा लगिएको थियो ।

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

    दिउँसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–३५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।

    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर तीनकुनेमा रहेकाे प्रहरी चौकीमा लगिएको थियो ।