Tag: अनसन

  • देउवाको गृह जिल्लाका कांग्रेस सभापतिलगायतले सानेपामा सुरु गरे अनसन

    देउवाको गृह जिल्लाका कांग्रेस सभापतिलगायतले सानेपामा सुरु गरे अनसन

    कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ ।

    डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् ।

    डडेल्धुरामा काँग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो ।

    ‘हामी बहुमत सदस्यहरूले अधिवेशन स्थगित गरेपछि शक्तिको दुरुपयोग गरेर हामीलाई समेत समावेश नगरी भएको धाँधलीलाई अधिवेशनलाई मान्न सकिन्न’ मल्लले भने, ‘हामीले पटक-पटक यस विषयमा आवाज उठाउँदा पनि केन्द्रको चासो नपुगेपछि हामी बाध्य भएर यहाँ आएका हौँ ।’

    निर्वाचन समितिले आफ्नो मागको सुनुवाइ नगरेपछि मल्लको टोली सानेपामा रिले अनसन बसेको हो ।

    जिल्ला सभापति मल्लसहित अनसनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्व सभापति राजबहादुर भण्डारीलगायत सहभागी छन् ।

    यस्तै जिल्ला नेताहरू नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बसेका छन् । डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद समूहले जिल्ला सभापति मल्ल नै महाधिवेशन प्रतिनिधि पराजित हुने भएपछि अनसनको नाटक भइरहेको बताएको छ ।

    यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन सुरु गरेको थियो ।

    ‘११ दिन अनसन गरेर दबाब दिइरहेका थियौँ’ मल्लले भने, ‘केन्द्रीय नेतृत्वले माग सम्बोधन गर्न चासो दिएपछि हामीले आन्दोलन फिर्ता गरेका हौँ । ’

    डडेल्धुराको रिले अनसन तोड्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए ।
    पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।

  • कांग्रेसका जिल्ला सभापतिहरुको धर्नामा रामचन्द्रदेखि शशांकसहितका नेताको समर्थन (तस्बिरहरु)

    कांग्रेसका जिल्ला सभापतिहरुको धर्नामा रामचन्द्रदेखि शशांकसहितका नेताको समर्थन (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पार्टी कार्यालय सानेपा पुगेका छन् ।

    क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर जिल्ला सभापतिहरु रिले अनसनमा ऐक्यवद्धता जनाउन संस्थापन इतर समूहका नेताहरु सानेपा पुगेका हुन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला,नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, चित्रलेखा यादव लगायत सानेपा पुगेर अनसनमा समर्थन जनाएका छन् ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सम्पन्न बैठकले जिल्ला सभापतिहरुले राखेका मागहरु सम्बोधन गर्न सबै नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको थियो ।

    आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज अनसनमा बसेका छन् ।

    नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा बसेका हुन् ।

    पूर्व सभासद कर्ण र नेविसंघ पूर्व उपाध्यक्ष सुवेदी सबल कांग्रेसका लागि युवा अभियानमा आवद्ध छन् । रिले अनसन २४ घण्टे हुने जनाइएको छ । माग पूरा गर्न उदासीन भए आमरण अनसनसम्म सुरु गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका छन् ।

    संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए ।

     

  • जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू, निधिका मान्छेले सदस्यतामा धाँधली गरेको आरोप

    जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू, निधिका मान्छेले सदस्यतामा धाँधली गरेको आरोप

    जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ ।

    कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आज मध्यान्हबाट नेता कार्यकर्ताहरूले रिले अनसन शुरू गरेका हुन् । धनुषा क्षेत्र नम्बर १ र ४ मा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

    क्षेत्र नम्बर १ का सभापति जितनारायण यादव र क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पंजियारले आफ्ना पक्कडका व्यक्तिलाई क्रियाशील सस्यता बाँडेको आरोप छ । उनीहरू दुवैजना कांग्रेस उपसभापति विमलेन्द्र निधी गुटका हुन् ।

    पार्टी कब्जा गर्ने गलत मानसिकताका साथ क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको नेता संजिव यादव बताए । उनले भने, ‘क्रियाशील सदस्यता वितरण मापदण्ड अनुसार भएको छैन । यसविरुद्ध पूर्वसांसद चन्द्रमोहन यादव काठमाडौंमा आमरण अनसन बसेको ५ दिन भयो । तर, पार्टी नेतृत्वले वेवास्ता गरेका कारण हामी पनि अनुसन शुरू गरेका छौं ।’

    धनुषामा १२ हजारको हाराहारीमा क्रियाशील सदस्यता रहेकोमा यसवर्ष ७ हजार थपिएको छ । जसमा हजारौं क्रियाशील सदस्यता पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत रहेको अनसनमा बसेका नेताहरूको दावी छ । उनीहरूले धाँधली गरेर बाँडेको क्रियाशील सदस्यता खारेज नगनरेसम्म असनसन जारी राख्ने बताएका छन् ।

  • नेविसंघको अनसनमा प्रचण्ड-माधव पक्षको समर्थन

    नेविसंघको अनसनमा प्रचण्ड-माधव पक्षको समर्थन

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा गरिरहेको अनसनमा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन्।

    बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका छन्। नेविसंघका नेता ई.भुवन भट्टका अनुसार नेपालले अनसनस्थल आएर मागहरूप्रति समर्थन जनाएका हुन् ।

    राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएका छन्,’ नेपालले नेविसंघ नेताहरूसँग भने।

    त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन्। नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड-१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ।

    त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन्। यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै आएका छन्।

    त्रिवि उपकुलपति माग पूरा गर्नुको साटो कार्यालय आउन छोडेर गैरजिम्मेवार वनेका छन, हाम्रा माग पूरा नभए सम्म अनसन जारी रहने नेविसंघ पुर्वकेन्द्रीय सदस्य प्रेमिका राना मगरले जनाए ।

  • बलात्कारविरुद्ध ६ दिनदेखि अनसन, बलात्कारीलाई फाँसी दिनुपर्ने माग

    बलात्कारविरुद्ध ६ दिनदेखि अनसन, बलात्कारीलाई फाँसी दिनुपर्ने माग

    काठमाडौं । हरेक दिन कुनै न कुनै आन्दोलनको साक्षी बसिरहेको हुन्छ माइतीघर मण्डला । तर, सोमबार दिउँसो एक बजेतिर सुनसान माइतीघरमा आन्दोलनको नयाँ रुप देखियो ।

    सेतो पहिरनमा एक युवती मौन भएर आन्दोलन स्थलमा बसिरहेकी थिइन् । उनका छेउमा थिए, दुई युवती । उनीहरूको पछाडि भुण्ड्याइएको ब्यानरमा लेखिएको थियो– ‘सम्पूर्ण महिलाको अस्तित्व रक्षाका लागि अनसन ।’

    बलात्कारीलाई फासी वा कडा भन्दा कडा कारबाहीको माग राख्दै अभियन्ता चन्द्रकला पौडेल ६ दिनदेखि अनसन बसिरहेकी थिइन् । ‘बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हामी यहाँ आएर बस्छौं । उहाँ भने घरमा गएर पनि अनसन जारी राख्नुहुन्छ,’ छेउमा उभिएकी अभियन्त सम्झना हुमागाईंले भनिन् ।

    अनसन एक हप्तासम्म बस्ने उनीहरूको योजना छ ।

    चन्द्रकला, सम्झनासँगै स्वीकृति हुमागाईं र अनुजा कार्की यसअघिका बलात्कारविरुद्धका अभियानमा विभिन्न तवरबाट सहभागी थिए । तर, दिन प्रतिदिन बलात्कार बढिरहँदा बलात्कारीलाई सजायँका निम्ति कानुन नै कडा नभएको उनीहरूलाई लाग्यो ।

    ‘एउटा कार्यक्रममा हामी भेटेका थियौं । त्यसपछि हामीले बलात्कारविरुद्धको अभियान फरक ढंगले चलाऊँ भन्ने लाग्यो । अनि अनसनको योजना बनायौं,’ अभियन्ता अनुजा भन्छिन् ।

    अनसन बसिरहेकी चन्द्रकला भने कसैसँग बोल्दिनन् । यद्यपि, उनको आशय छ–महिला घरबाट निस्कँदा कहिलेसम्म असुरक्षित हुने ?

    आन्दोलनमा ऐक्यवद्धताका लागि उनीहरूले हस्ताक्षर अभियान पनि चलाएका छन् । ‘धेरै मान्छे यसरी हेर्न आउनुहुन्छ । हाम्रो अभियान बुझेर हस्ताक्षर गर्नुहुन्छ,’ हस्ताक्षर गरिएको ब्यानर देखाउँदै अनुजा भन्छिन् ।

    यो अभियान कुनै चर्चाको लागि नभई महिला अधिकारका निम्ति गरेको सम्झना बताउँछिन् । ‘हामीले चर्चाको लागि गरेका होइनौं । हाम्रो आन्दोलनले महिलाहरू सुुरक्षित हुन योगदान गरोस् । यहीं चाहना छ,’ उनी भन्छिन् ।

  • गङ्गामायाको जीवन रक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

    गङ्गामायाको जीवन रक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

    छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनसनरत गङ्गामायाको स्वास्थ्य स्थितिका बारेमा निरन्तर अनुगमन गरिरहेको आयोगको बागमती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार पनि गरिसकेको जनाएको छ ।

    पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनसनमा रहेका अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको भए पनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको आयोगका प्रवक्ता समेत रहेका सह–सचिव डा. टीकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवन रक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग फेरी पनि आग्रह गरेको उनले बताए ।

    आमरण अनसन जस्तो जोखिमयुक्त बाटो नरोज्न आयोगले अनसनरत गङ्गामाया अधिकारीलाई पनि आग्रह गरेको छ ।