Tag: अदालतमा मुद्दा दायर

  • गुणस्तरहीन चाउचाउ र पानी उत्पादन गर्ने उद्योग माथि मुद्दा दायर

    गुणस्तरहीन चाउचाउ र पानी उत्पादन गर्ने उद्योग माथि मुद्दा दायर

    रुपन्देही । कपिलवस्तुको चाउचाउ उद्योग र पानी उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
    प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि र चाउचाउ न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले अदालतमा मुद्दा दर्ता गरेको हो ।

    कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार र कपिलवस्तु–१३ मा रहेको क्यापिटल फूड प्रालिविरुद्ध मंसीर २८ गते मुद्दा दर्ता भएको हो ।

    क्यापिटल फूडद्वारा उत्पादित ओके ब्राण्डको चाउचाउको काभ्रेबाट नमूना संकलन गरी जाँच गर्दा पानीको मात्रा ६.५ पाइएको थियो ।
    चाउचाउमा ५ प्रतिशतभन्दा माथि पानीको मात्रा हुन हुँदैन ।

    उक्त ब्राण्डको चाउचाउमा पेरोक्साइड भ्यालु १० हुनु पर्नेमा १५.२ र क्यापिटलकै अर्को उत्पादन जिनी ब्राण्डमासमेत एसिडमा नघुल्ने भस्म १ हुनुपर्नेमा १.१ पाइएपछि मुद्दा दर्ता गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिए।

    युनिभर्सलको प्रशोधित पानीमा कुल कोलिफर्म गणनाप्रति एक सय एमएलमा शून्य हुनुपर्नेमा ११८ पाइएको थियो । युनिभर्सलले ग्यालेक्सी ब्राण्डको मिनरल वाटर उत्पादन गर्दै आएको थियो ।

    खाद्यले पानी उद्योग र उद्योगका संचालक विष्णुबहादुर हमाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । युनिभर्सलबाट प्रशोधित पानीमा मिसावट भएको गुनासो आएपछि खाद्य निरीक्षक श्रवणकुमार ढुंगाना नेतृत्वको टोलीले २०७६ भदौमा उद्योगबाट उत्पादित पानीको नमूना लिएर जाँच गरेको थियो ।

    क्यापिटलको जिनी ब्राण्डको चाउचाउको मोरङबाट नमूना संकलन गरी खाद्यले परीक्षण गरेको थियो । खाद्य ऐन २०२३ को दफा (३) उल्घंन गरी दुषित खाद्यपदार्थ र न्यून गुणस्तरको उत्पादन गरी विक्री वितरण गरेकाले दुबै उद्योगविरुद्ध खाद्य ऐन २०२३ को दफा ५ (१) बमोजिम कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरिएको छ । यदि उत्पादन गर्ने उद्योग दोषी ठहरिए ५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुनसक्ने छ ।

  • उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथि अदालतमा मुद्दा दायर

    उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथि अदालतमा मुद्दा दायर

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ ।

    नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो ।

    अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ रहेका छन् ।

    मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको पाइएको छ । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालयका प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

    “अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ”, उनले भने, । मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ ।

    यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । कार्यालयले गरेको अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ । गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो ।

    कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार ७०८ व्यवसायीलाई कारबाही गरेको जानकारी दिए।

    यस्तै चालु आवमा ४२४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै एक हजार ५५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३७९ पेट्रोल पम्प जाँच गर्नुका साथै दुई हजार ५०७ ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयले चालु आवमा विभिन्न शीर्षकमा रु ५२ लाख २० हजार ५७९ राजश्व सङ्कलन गरेको छ ।