Tag: अग्नि प्रसाद सापकोटा

  • ७५ लाखका अक्सिजन प्लान्ट- जस लिन ‘हेबिवेट’को होडबाजी

    ७५ लाखका अक्सिजन प्लान्ट- जस लिन ‘हेबिवेट’को होडबाजी

    सिन्धुपाल्चाेक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक सदरमुकाम चौतारा अस्पताल सहित देशका सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि श्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा जेठ ९ गते पत्र पठायो ।

    स्वास्थ्य मन्त्रालयको पत्र आएपछि अर्थ मन्त्रालयले जेठ १० गते(सोमबार) नै स्वास्थ्य मन्त्रालयको पत्र अनुसार नै त्रिवि शिक्षण अस्पताल सहित देशका सात अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ५ करोड ३५ लाख बजेटको श्रोत सुनिश्चित गर्दे स्वास्थ्य मन्त्रालयलाई सहमती प्रदान गर्‍यो ।

    स्वास्थ्य मन्त्रालयले श्रोत सुनिश्चितका लागि पत्र पठाउना साथ कसको कारण बजेट पर्‍याे भनेर जस लिने होडबाजी चलेको छ । यस्तो होडबाजीबाट सिन्धुपाल्चोक पनि अछुतो रहेन, बरु हेबीवेट नेता नै होडबाजीमा छन् ।

    चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले सुनिश्चित गरेको ७५ लाख रुपैयाँ आफ्नो पहलमा विनियोजन भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र पुर्व मन्त्री शेरबहादुर तामाङले आआफैं जस लिन सुरु गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयको पत्र सार्वजनिक गर्दै माओवादी केन्द्र निकट नेता कार्यकर्ता र एमालेको माधव नेपाल समूहका कार्यकर्ताहरु मात्रै होइन उनीहरु निकट मिडियाहरुले पनि सभामुखको पहलमा अक्सिजन प्लान्टका लागि बजेट आएको तीव्र प्रचार सुरु गरेका छन् ।

    एमाले केन्द्रीय सदस्य एवम पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ र एमालेका कार्यकर्ताहरुले पनि बजेट तामाङको पहलमा आएको भन्दै प्रचारलाई व्यापक बनाएका छन् र निकट मिडियाहरुले पनि उनको पहलमा नै अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणका लागि पठाएको दाबी गरेका छन् ।

    सामाजिक सञ्जालमा तीनै पक्षका कार्यकर्ताहरुले आफ्नो नेताको पहलमा अक्सिजन प्लान्टको लागि बजेट विनियोजन भएको भन्दै त्यसलाई पुष्टि गर्नका लागि धेरै आधारहरु पेश गरेका छन् ।

    यसरी सुरु भयो जसको होडबाजी

    एमाले केन्द्रीय कार्यालय सचिव र प्रधानमन्त्री ओलीसँग अहिले निकट सम्बन्ध भएका पूर्व मन्त्री शेरबहादुर तामाङले बैशाख २५ गते स्वास्थ्य मन्त्रीलाई अक्सिजन प्लान्ट निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन भन्दै पत्र पठाएका थिए ।

    जिल्लामा अक्सिजन प्लान्ट नहुँदा समस्या भएको भन्दै पूर्व मन्त्री तामाङले डीसीसीएमसी सिन्धुपाल्चोक र जिल्ला अस्पताल चौतारालाई बोधार्थ दिँदै पत्र पठाएका थिए ।

    सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पनि प्रमुख स्वकीय सचिव अर्जुन केसीको नामबाट जेठ ६ गते स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गर्न आग्रह गर्दे पत्र पठाएका थिए । सभामुखको तर्फबाट अर्थ मन्त्रालयमा अक्सिजन प्लान्टको लागि २ करोड बजेट व्यवस्थापनका लागि आग्रह गरिएको थियो ।

    बजेट थप गर्दै जसको होडबाजी

    अर्थ मन्त्रालयले अक्सिजन प्लान्टको लागि बजेट सुनिश्चित गरेपछि सभामुख सापकोटाले स्थानीय पुर्वाधार साझेदार कार्यक्रममा खर्च हुन बाँकी रहेको १५ लाख रुपियाँ त्यसमा थपेर ९० लाख रुपियाँ सभामुखको पहलमा बजेट आएको माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले दावी गरेका छन् ।

    बलेफी गाउँपालिका-२ को वडा कार्यालय भवन निर्माणका लागि पूर्वाधार कोषबाट यस अघि १५ लाख विनियोजन भए पनि वडा कार्यालय र गाउँपालिकाबीच उपभोक्ता समिति गठनमा विवाद भएपछि उक्त बजेट कोभिडमा खर्च गर्नका लागि स्थानीय विकास मन्त्रालयमा बजेट शीर्षक परिवर्तनका लागि माग भएको थियो ।

    सभामुख अग्नि सापकोटाका निजी सचिव गोविन्द पाठक भने सापकोटाकै पहलमा अक्सिजन प्लान्टको लागि बजेट सुनिश्चित भएको दावी गर्छन । प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुखसँग सल्लाह भएपछि जेठ ६ गते जिल्लाबाट पत्र प्राप्त भएपछि आफू स्वयम नै त्यो पत्र लिएर स्वास्थ्य मन्त्रालयमा पुगेका पाठकले बताए ।

    ‘सभामुख ज्यूले मेरै अगाडी मन्त्रालयका सचिव र डिजीलाई फोन गर्नु भएको थियो, उहाँहरु सकारत्मक भएपछि पत्र लिएर म आफैं गएँ’ पाठकले भने । अर्थ मन्त्रीका स्वकीय सचिव याम पाण्डेसँग पनि आफुले सल्लाह गरेको पाठकले बताए ।

    पुर्व मन्त्री शेरबहादुर तामाङ भने श्रोत कसले सुनिश्चित गरेको जनतालाई प्रष्ट नै भएको बताउँछन् । चुनाव आउन लागेको अर्को पक्षले जस लिन खोजेको उनको भनाइ छ । सभामुख अहिलेको सरकारविरुद्धको झगडिया भएकाले उनको आदेश सरकाले तामेली नगर्ने एमाले कार्यकर्ताको दावी छ ।

    ‘अहिले सरकार एमालेको छ अनि मैले भन्दा बजेट हाल्छन् होला कि अरुले भन्दा! प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि हटाउन अड्डा अदालत जाने,केपीलाई कहिल्यै राम्रो नदेख्नेहरुले अनि यो बजेट चाहीँ मैले ल्याएको भनेर भन्न कसरी सकेका होलानन् ? तामाङले प्रश्न गरे ।

    अर्थ मन्त्री र स्वास्थ्य मन्त्रीसँग प्रधानमन्त्रीको रोहवरमा आफूले कुराकानी गरेपछि स्रोत सुनिश्चित भएको तामाङले बताए ।

    ‘अर्थ मन्त्री ज्यूसँग मेरो निकट सम्बन्ध र पार्टी नेतृत्व भएका कारण छिटो निर्णय भएको हो’ तामाङले भने ।

    पूर्व मन्त्री तामाङले मेलम्चीमा पनि अक्सिजन प्लान्ट निर्माणका लागि शुरु भएको र प्राविधिकहरु आएर नापजाँच सुरु हुने तामाङले बताए ।

    तामाङ अहिले एमालेको केन्द्रीय कार्यालय सचिव र प्रदेश सहइन्चार्जको प्रभावशाली भूमिकामा छन् । उनी अर्थमन्त्री पौडेलसँग निकट मानिन्छन् ।

    सबैको अक्सिजन प्लान्ट !

    कोभिडका बिरामी बढ्दै गएपछि अहिले नेतापिच्छे नै अक्सिजन प्लान्ट राख्ने होडबाजी सुरु भएको छ । यस अघि वागमती प्रदेशका पूर्व सामजिक विकास मन्त्री युवराज दुलाल र नेता माधव सापकोटाको पहलमा प्रदेश सरकारबाट चौतारामा अक्सिजन प्लान्ट स्थापना हुन लागेको सार्वजनिक भएको थियो ।

    त्यस्तै वागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातवरण मन्त्री सरेश नेपालले पनि आफ्नो पहलमा चौतारामा नै अक्सिजन प्लान्ट राख्न बजेट सुनिश्चित भएको सार्वजनिक भएको थियो । आजमात्रै प्रदेश सरकारले टेण्डर आह्वान गरेको छ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा सुनकोशी गाउँपालिकाको थुम्पाखरमा अर्काे अक्सिजन प्लान्ट निर्माण हुने भएको छ भने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले पनि अक्सिजन प्लान्ट निर्माणको तयारी गरेको छ । सबैले प्लान्ट स्थापना गर्ने हो भने अब सिन्धुपाल्चोकमा मात्रै पाँच वटा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।

  • सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    काठमाडौं । सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू गरिएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर सभामुख अग्नि सापकोटाले कोभिडसिल्डको दोस्रो डोज लगाएका छन् ।

    संसद सचिवालयले नयाँवानेश्वरस्थिति संघीय संसद भवनको ल्होत्से हलमा आजदेखि आइतबारसम्म (३ दिन) खोप लगाउन व्यवस्था मिलाएको छ ।

    शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाइने छ । बिहान १० देखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

    त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सबै कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत कर्मचारीहरी साथै आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षासँग सम्बन्धित कर्मचारी र संसदीय मामिलाका पत्रकारलाई खोप लगाउने तालिका छ ।

  • बैठक बहिष्कारबारे सभामुख सापकोटाको स्पष्टीकरण

    बैठक बहिष्कारबारे सभामुख सापकोटाको स्पष्टीकरण

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राज्य संचालनमा दीर्घकालीन महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

    संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएर संवैधानिक दायित्व भुलेको आरोप लागेपछि सापकोटाको सचिवालयले विज्ञप्ति जारी गरी सभामुख संवैधानिक दायित्वप्रति सचेत रहेको जनाएको छ ।

    आइतबारको बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नु पर्ने भएकोले उपस्थित हुन नसकेको र मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई जानकारी गराएरै अनुपस्थित भएको प्रेस नोटमा उल्लेख छ ।

    पेस नाेटमा भनिएको छ– जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो ।

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सभामुख सचेत रहेको उल्लेख छ ।