Tag: अक्सिजन प्लान्ट

  • अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडाै‌ं ।  गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका हुन् ।

    ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विष्फोटमा भारत घर भई त्यहाँ कार्यरत बृजमोहन महतोको मृत्यु भएको छ । विष्फोटमा छ जना घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ ।

  • प्रादेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

    प्रादेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

    सर्लाही । प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको स‌ंक्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।

    प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रदेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए । प्रदेश सरकारले ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा झाले जानकारी दिए।

    सिलिण्डरमा भर्नका लागि थप अक्सिजन ट्याङ्क राख्नुपर्ने प्रमुख झाले जानकारी दिए। मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रबार उद्घाटन गरे ।रासस

  • कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    कालिकोट । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

    कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । ‘जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।’ उनले भने, ‘अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।’

    अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए । ‘जिल्लामा विद्युतको लाइन छ तर त्यो विद्युत नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ’, उनले भने, ‘विद्युत नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।’

    जिल्लामा कोभिड–१९ संक्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए । ‘क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ’, उनले भने, ‘कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।’ जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सक्रिय संक्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

  • परिसंघ र बैंकको सहकार्यमा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

    परिसंघ र बैंकको सहकार्यमा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

    काठमाडौं । नेपाल उद्योग परिसंघ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

    नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा .डा. दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्तान्तरण गरेका छन्। ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पुरा गरेको बताए । कोभिड–१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति श्रृङ्खला सहज बनाउन सहयोग गरेको उनले जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताए । उनले कोभिडकै बीचमा अस्पतालमा आइसियु र एचडियु बेड थपिएको र थप १५ सय शैय्या निर्माणको चरणमा रहेको उल्लेख गरे ।

    प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवन रक्षाका लागि योगदान गर्न पाउनु खुशीको विषय भएको बताए । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकता अनुसार मर्मत सम्भार गरी आम जनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

     

  • आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पनि अक्सिजन जेनरेशन प्लान्ट स्थापनामा सहयोग गरेको छ । कोभिड १९ को महामारीमा अक्सिजन अभाव झेलेका अस्पतालमा आगामी दिनमा यो समस्या आउन नदिन सहयोग गरेको क्लबले जनाएको छ ।

    रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ रोटरी क्लब बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले भने ।

    रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो ।

    कोभिडको तेस्रो भेरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्नसक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

    अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।
    अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

    प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थयमन्त्री लिला गिरीले स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए ।

    अक्सिजन प्लान्ट स्थापनाले अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पूर्ती गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

    रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

    प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।

    कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए ।

    ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ

    रोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ ।

    परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।

    उनले ब्लड कलेक्शन मोबाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए ।

    उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मावाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।

    कार्यक्रमको उद्घाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२०–२१ का डिष्टिक गभर्नर राजीव पोखरेलले गरेका थिए ।

  • लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

    लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

    काठमाडौं । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।

    कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएपछि आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ ।

    विधले स्वास्थ्य मन्त्रालयललाई पत्र लेख्दै एयर लिफ्टिङका लागि सेनाको एमआई १७ हेलिकोप्टरको व्यवस्था गरिदिन भनेको छ । ‘लिपिङ भन्सार यार्डबाट एयर लिफ्टिङ गर्न सकिने सम्भावना छ’, विध म्यानेजमेन्टका निर्देशक विके भण्डारीले भने, ‘त्यहाँबाट करीब ५०० मिटर दूरीसम्म एयर लिफ्टिङका लागि सहजीकरण गरिदन अनुरोध गरिएको हो ।’

    सानो क्षमताको हेलिकप्टरले उक्त सामग्री बोक्न नसक्ने भएकाले सेनाकै हेलिकोप्टरका लागि सहजीकरण गरिदिन मन्त्रालयसमक्ष आग्रह गरिएको निर्देशक भण्डारीले बताए । कोभिड-१९ युनिफाइड अस्पतालका प्रमुख प्रा.डा. जागेश्वर गौतमले सडक अवरुद्ध भएर रोकिएका अक्सिजन प्लान्ट ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।

    ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि विध म्यानेजमेन्टलाई अनुरोध गरिएको जनाएको छ । ‘हामीले एयर लिफ्टिङको सुझाव दिएको छौँ’, सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले भने । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ ।

    केन्द्रीय कोभिड युनिफाइड अस्पातल (वीर) मा नबिल बैंक लिमिटेड र टिचिङ अस्पतालमा नेपाल उद्योग परिसंघले अक्सिजन प्लान्ट सहयोग गर्न लागेका हुन् । चौधरी फाउण्डेशनको सहयोगमा सुर्खेत र धनगढी तथा अन्य स्थानका अस्पतालका लागि प्लान्ट ल्याइएको आयातकर्ताले जनाएको छ । ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बीच बाटामै रोकिएका हुन् ।

    -रासस

  • जनकपुरमा अक्सिजन उद्योग स्थापना, दैनिक ४५० सिलिन्डर उत्पादन

    जनकपुरमा अक्सिजन उद्योग स्थापना, दैनिक ४५० सिलिन्डर उत्पादन

    जनकपुरधाम । जनकपुरमा अक्सिजन उत्पादन शुरू भएको छ । एस.आर.जे ग्रुपले जनकपुरधाम उपमहानगरपालिका-२३ मा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

    मुख्यमन्त्री लालबाबु राउतले प्लान्टको उद्घाटन गरे । उनले उद्योग स्थापनाले जनकपुरमा अक्सिजन अभाव नहुने विश्वास जनाए ।

    ७ करोड लगानीमा स्थापना गरिएको प्लान्टले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने उद्योगले जनाएको छ ।

    जनकपुरमा संचालित अस्पतालहरूमा अहिले दैनिक करिब २ हजार सिलिण्डर खपत हुन्छ । धनुषामा अहिले ढल्केवरमा रहेको ग्याँस उद्योगबाट र वीरगञ्ज, विराटनगरसहितका ठाउँबाट अक्सिजन आपूर्ति हुँदै आएको छ ।

  • मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

    मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

    काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

    मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरका छन् । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ ।

    चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

  • सुनकोशी गाउँपालिका आफैंले अक्सिजन प्लान्ट स्थापना गर्दै

    सुनकोशी गाउँपालिका आफैंले अक्सिजन प्लान्ट स्थापना गर्दै

    सिन्धुपाल्चोक । अक्सिजनमा सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने र कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

    सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

    सुनकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

    सम्भवतः देशभरका स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिकाले यसरी आफ्नै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको यो पहिलो भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए ।

    गाउँपालिकाले वडा नम्बर-६ को थुम्पाखरमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले एनसिसी बैंक, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, क्षमादेवी व्यावसायिक समूह लगायत अन्य सहयोगी व्यक्ति र संघ संस्थासँग पनि अक्सिजन प्लान्टको लागि सहकार्य गर्न लागेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अक्सिजन प्लान्ट निर्माणका लागि बैंक लगायत अन्य संघ संस्थाहरूसँग समन्वय गरिदिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । एनसिसी बैंक सञ्चालक समितिमा बस्नेत पनि सदस्य छन् ।
    अहिलेको यो महामारीमा जुध्न र भविष्यमा हुने संकटमा समेत अक्सिजन प्लान्ट स्थापना भएपछि एउटा पूर्वाधारको रुपमा यसले जिल्लाबासी र छिमेकी जिल्लाहरुलाई समेत सहयोग पुग्ने अध्यक्ष जिसीले बताए ।

    सुनकोशी गाउँपालिकाको समन्वयमा स्थापना हुने अक्सिजन प्लान्टबाट गाउँपालिकाको स्वास्थ्य संस्थामा मात्रै नभएर जिल्लाभर वितरण हुने र अन्य जिल्लामा समेत अक्सिजन प्रदान गर्न सक्ने गरेर अक्सिजन प्लान्टको लागि बजेटको स्रोत सुनिश्चित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

    प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट निर्माण गर्दै
    बागमती प्रदेश सरकारले पनि सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । सदरमुकाम चौतारामा रहेको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको बागमती प्रदेश सरकारका पर्यटन, उद्योग वन तथा वातवरण मन्त्री सरेश नेपालले जानकारी दिए ।

    अक्सिजन प्लान्ट र पीसीआर मेसिन जडानका लागि प्रदेश सरकारले टेण्डर समेत आह्वान गरिसकेको छ । अक्सिजन प्लान्टका लागि केन्द्र सरकारले समेत प्रदेश सरकारलाई ७५ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो ।

  • वागमतीका ८ अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रक्रिया शुरू

    वागमतीका ८ अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रक्रिया शुरू

    हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

    कोरोना महामारी र अक्सिजन अभावलाई ध्यान दिँदै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत एक साताको सीमा राखेर मंगलबार टेण्डर आह्वान गरेको छ ।

    मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको लागेको हो ।

    एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने गरी प्रक्रिया शुरू गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।

    प्रदेश मातहतका १३ मध्ये ६ अस्पतालमा यसअघि अक्सिजन प्लान्ट संचालनमा छ । मन्त्रालयले यसअघि १३ वटै जिल्लालाका लागि ‘एक जिल्ला एक पीसीआर मेसिन’ को निर्णय गरेको बताएको छ ।

  • बेलकाको प्रस्तावित अक्सिजन प्लान्टलाई चौतर्फी सहयोग, सातामै करोडभन्दा बढी संकलन

    बेलकाको प्रस्तावित अक्सिजन प्लान्टलाई चौतर्फी सहयोग, सातामै करोडभन्दा बढी संकलन

    इटहरी । स्थानीय तहको नेतृत्वमा प्रदेश-१ मा पहिलोपटक अक्सिजन प्लान्ट निर्माणमा तम्सिएको उदयपुरको बेलका नगरपालिकालाई चौतर्फी सहयोग जुटेको छ ।

    अघिल्लो साता मेयर दुर्गाकुमार थापाले अक्सिजन प्लान्ट नगर अस्पतालमै बनाउने घोषणा गरेयता १ करोड रुपैयाँभन्दा बढी सहयोग जुटिसकेको छ ।

    सय दिनमा एक करोड बढी रकम संकलन गरेर शिलान्यासको योजना बनाइएको थियो । तर, दाताहरुले सहयोग भटाभट दिन थालेपछि अबको दश दिन भित्रै आर्थिक लक्ष्य भेट हुने मेयर थापाले नेपाल प्रेसलाई बताए । उदयपुरका चार स्थानीय तहले २० लाख, सेवा फाउन्डेसनले २५ लाख र केयर नेपालले १० लाख रकम दिएको मेयर थापाले बताए ।

    व्यक्तिगत तबरमा पनि नगरभित्र र बाहिर सबैक्षेत्रबाट सहयोग आउने क्रम जारी भएको मेयर थापाले बताए । उनले भने, ‘अबको दश दिनमै हामीले हाम्रो एक करोड ३४ लाखको लक्ष्य भेट्ने सम्भावना बढेको छ ।’

    कुमारी बैंकको बेलका शाखाको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खाता नम्बर ०७७०११३४३५२००००१ नगरले २० लाख जम्मा गरेर अक्सिजन प्लान्टको रकम संकलन सुरु भएको थियो ।

    ‘अनमोल प्राणवायुः अभावमा नजाओस आयु’ भन्ने नाराको साथ भएको सुरु भएको अभियानले सय दिनमा प्लान्ट उद्घाटन गर्न लिएको लक्ष्य पनि केहि अगाडि आउने मेयर थापाले बताए ।

    प्राविधिक पक्ष राष्ट्रिय आविष्कार केन्द्रले हेर्ने

    बेलकामा निर्माण गरिने अक्सिजन प्लान्टमा राष्ट्रिय आविष्कार केन्द्र पनि जोडिएको छ । महावीर पुन नेतृत्वको आविष्कार केन्द्रका तर्फबाट पुनले नै गाइड गरिरहेको मेयर थापाले बताए । ‘हाम्रो परियोजनाको प्राविधिक स्पेसिफिकेसनका सबै काम राष्ट्रिय आविष्कार केन्द्रबाट हुनेछ । त्यसको नेतृत्व महावीर पुनले गर्नुहुनेछ’, मेयर थापले थपे ।

    अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले बिरामीलाइ मात्रै नभएर विभिन्न ग्यारेजजन्य गतिविधिदेखि कृषि तथा पशुपालनका क्षेत्रहरुमा समेत काम गर्ने भएकोले प्लान्ट बहुउपयोगी हुने मेयर थापाले बताए । उनले भने, ‘बहुउपयोगी र दीर्घकालीन परियोजना भएकैले हामी सबै यसमा अहिले लागिपरेका छौं ।’

     

     

  • ७५ लाखका अक्सिजन प्लान्ट- जस लिन ‘हेबिवेट’को होडबाजी

    ७५ लाखका अक्सिजन प्लान्ट- जस लिन ‘हेबिवेट’को होडबाजी

    सिन्धुपाल्चाेक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक सदरमुकाम चौतारा अस्पताल सहित देशका सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि श्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा जेठ ९ गते पत्र पठायो ।

    स्वास्थ्य मन्त्रालयको पत्र आएपछि अर्थ मन्त्रालयले जेठ १० गते(सोमबार) नै स्वास्थ्य मन्त्रालयको पत्र अनुसार नै त्रिवि शिक्षण अस्पताल सहित देशका सात अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ५ करोड ३५ लाख बजेटको श्रोत सुनिश्चित गर्दे स्वास्थ्य मन्त्रालयलाई सहमती प्रदान गर्‍यो ।

    स्वास्थ्य मन्त्रालयले श्रोत सुनिश्चितका लागि पत्र पठाउना साथ कसको कारण बजेट पर्‍याे भनेर जस लिने होडबाजी चलेको छ । यस्तो होडबाजीबाट सिन्धुपाल्चोक पनि अछुतो रहेन, बरु हेबीवेट नेता नै होडबाजीमा छन् ।

    चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले सुनिश्चित गरेको ७५ लाख रुपैयाँ आफ्नो पहलमा विनियोजन भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र पुर्व मन्त्री शेरबहादुर तामाङले आआफैं जस लिन सुरु गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयको पत्र सार्वजनिक गर्दै माओवादी केन्द्र निकट नेता कार्यकर्ता र एमालेको माधव नेपाल समूहका कार्यकर्ताहरु मात्रै होइन उनीहरु निकट मिडियाहरुले पनि सभामुखको पहलमा अक्सिजन प्लान्टका लागि बजेट आएको तीव्र प्रचार सुरु गरेका छन् ।

    एमाले केन्द्रीय सदस्य एवम पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ र एमालेका कार्यकर्ताहरुले पनि बजेट तामाङको पहलमा आएको भन्दै प्रचारलाई व्यापक बनाएका छन् र निकट मिडियाहरुले पनि उनको पहलमा नै अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणका लागि पठाएको दाबी गरेका छन् ।

    सामाजिक सञ्जालमा तीनै पक्षका कार्यकर्ताहरुले आफ्नो नेताको पहलमा अक्सिजन प्लान्टको लागि बजेट विनियोजन भएको भन्दै त्यसलाई पुष्टि गर्नका लागि धेरै आधारहरु पेश गरेका छन् ।

    यसरी सुरु भयो जसको होडबाजी

    एमाले केन्द्रीय कार्यालय सचिव र प्रधानमन्त्री ओलीसँग अहिले निकट सम्बन्ध भएका पूर्व मन्त्री शेरबहादुर तामाङले बैशाख २५ गते स्वास्थ्य मन्त्रीलाई अक्सिजन प्लान्ट निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन भन्दै पत्र पठाएका थिए ।

    जिल्लामा अक्सिजन प्लान्ट नहुँदा समस्या भएको भन्दै पूर्व मन्त्री तामाङले डीसीसीएमसी सिन्धुपाल्चोक र जिल्ला अस्पताल चौतारालाई बोधार्थ दिँदै पत्र पठाएका थिए ।

    सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पनि प्रमुख स्वकीय सचिव अर्जुन केसीको नामबाट जेठ ६ गते स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गर्न आग्रह गर्दे पत्र पठाएका थिए । सभामुखको तर्फबाट अर्थ मन्त्रालयमा अक्सिजन प्लान्टको लागि २ करोड बजेट व्यवस्थापनका लागि आग्रह गरिएको थियो ।

    बजेट थप गर्दै जसको होडबाजी

    अर्थ मन्त्रालयले अक्सिजन प्लान्टको लागि बजेट सुनिश्चित गरेपछि सभामुख सापकोटाले स्थानीय पुर्वाधार साझेदार कार्यक्रममा खर्च हुन बाँकी रहेको १५ लाख रुपियाँ त्यसमा थपेर ९० लाख रुपियाँ सभामुखको पहलमा बजेट आएको माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले दावी गरेका छन् ।

    बलेफी गाउँपालिका-२ को वडा कार्यालय भवन निर्माणका लागि पूर्वाधार कोषबाट यस अघि १५ लाख विनियोजन भए पनि वडा कार्यालय र गाउँपालिकाबीच उपभोक्ता समिति गठनमा विवाद भएपछि उक्त बजेट कोभिडमा खर्च गर्नका लागि स्थानीय विकास मन्त्रालयमा बजेट शीर्षक परिवर्तनका लागि माग भएको थियो ।

    सभामुख अग्नि सापकोटाका निजी सचिव गोविन्द पाठक भने सापकोटाकै पहलमा अक्सिजन प्लान्टको लागि बजेट सुनिश्चित भएको दावी गर्छन । प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुखसँग सल्लाह भएपछि जेठ ६ गते जिल्लाबाट पत्र प्राप्त भएपछि आफू स्वयम नै त्यो पत्र लिएर स्वास्थ्य मन्त्रालयमा पुगेका पाठकले बताए ।

    ‘सभामुख ज्यूले मेरै अगाडी मन्त्रालयका सचिव र डिजीलाई फोन गर्नु भएको थियो, उहाँहरु सकारत्मक भएपछि पत्र लिएर म आफैं गएँ’ पाठकले भने । अर्थ मन्त्रीका स्वकीय सचिव याम पाण्डेसँग पनि आफुले सल्लाह गरेको पाठकले बताए ।

    पुर्व मन्त्री शेरबहादुर तामाङ भने श्रोत कसले सुनिश्चित गरेको जनतालाई प्रष्ट नै भएको बताउँछन् । चुनाव आउन लागेको अर्को पक्षले जस लिन खोजेको उनको भनाइ छ । सभामुख अहिलेको सरकारविरुद्धको झगडिया भएकाले उनको आदेश सरकाले तामेली नगर्ने एमाले कार्यकर्ताको दावी छ ।

    ‘अहिले सरकार एमालेको छ अनि मैले भन्दा बजेट हाल्छन् होला कि अरुले भन्दा! प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि हटाउन अड्डा अदालत जाने,केपीलाई कहिल्यै राम्रो नदेख्नेहरुले अनि यो बजेट चाहीँ मैले ल्याएको भनेर भन्न कसरी सकेका होलानन् ? तामाङले प्रश्न गरे ।

    अर्थ मन्त्री र स्वास्थ्य मन्त्रीसँग प्रधानमन्त्रीको रोहवरमा आफूले कुराकानी गरेपछि स्रोत सुनिश्चित भएको तामाङले बताए ।

    ‘अर्थ मन्त्री ज्यूसँग मेरो निकट सम्बन्ध र पार्टी नेतृत्व भएका कारण छिटो निर्णय भएको हो’ तामाङले भने ।

    पूर्व मन्त्री तामाङले मेलम्चीमा पनि अक्सिजन प्लान्ट निर्माणका लागि शुरु भएको र प्राविधिकहरु आएर नापजाँच सुरु हुने तामाङले बताए ।

    तामाङ अहिले एमालेको केन्द्रीय कार्यालय सचिव र प्रदेश सहइन्चार्जको प्रभावशाली भूमिकामा छन् । उनी अर्थमन्त्री पौडेलसँग निकट मानिन्छन् ।

    सबैको अक्सिजन प्लान्ट !

    कोभिडका बिरामी बढ्दै गएपछि अहिले नेतापिच्छे नै अक्सिजन प्लान्ट राख्ने होडबाजी सुरु भएको छ । यस अघि वागमती प्रदेशका पूर्व सामजिक विकास मन्त्री युवराज दुलाल र नेता माधव सापकोटाको पहलमा प्रदेश सरकारबाट चौतारामा अक्सिजन प्लान्ट स्थापना हुन लागेको सार्वजनिक भएको थियो ।

    त्यस्तै वागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातवरण मन्त्री सरेश नेपालले पनि आफ्नो पहलमा चौतारामा नै अक्सिजन प्लान्ट राख्न बजेट सुनिश्चित भएको सार्वजनिक भएको थियो । आजमात्रै प्रदेश सरकारले टेण्डर आह्वान गरेको छ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा सुनकोशी गाउँपालिकाको थुम्पाखरमा अर्काे अक्सिजन प्लान्ट निर्माण हुने भएको छ भने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले पनि अक्सिजन प्लान्ट निर्माणको तयारी गरेको छ । सबैले प्लान्ट स्थापना गर्ने हो भने अब सिन्धुपाल्चोकमा मात्रै पाँच वटा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।

  • एक महिनाभित्र बागमतीमा सबै अस्पतालमा अक्सिजन प्लान्ट, सातवटाका लागि एक साताको टेण्डर

    एक महिनाभित्र बागमतीमा सबै अस्पतालमा अक्सिजन प्लान्ट, सातवटाका लागि एक साताको टेण्डर

    काठमाडौं । वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

    एक साताको समय दिएर सामाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेकाले तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताएका छन् ।

    वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुर जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रे जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको बताए ।

    एक साताभित्र टेण्डर खोलेर तत्कालै अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने प्रदेश सरकारले जनाएको छ ।

    एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान हुने सुनिस्चित भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले जनाएको छ ।

  • सरकारी अस्पताललाई पत्रकार महासंघकोे ६० लाख सहयोग

    सरकारी अस्पताललाई पत्रकार महासंघकोे ६० लाख सहयोग

    रुपन्देही । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ६० लाख रुपैयाँ संकलन गरेर बुझाएको छ ।

    अक्सिजन अभाव भएर कोरोना संक्रमितहरुलाई भर्ना गर्न नसेको र भर्ना भएका बिरामी अक्सिजन अभावकै कारण गुमाउनु परेपछि पत्रकार महासंघ गुल्मीले बैशाख २५ गतेदेखि ’अक्सिजन अभियान’ सञ्चालन गरी सहयोग रकम उठाउन सुरु गरेको अध्यक्ष टोपलाल अर्यालले बताए ।

    सोमबार अध्यक्ष अर्यालसहित महासंघको टोलीले जिल्ला अस्पतालका मेसु डाक्टर पाच्यालाई सो रकम हस्तान्तरण गरेको थियोे ।
    पत्रकार महासंघको यो अभियानमा जिल्ला समन्वय समिति गुल्मीले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

    सो रकम र ५० लाखको चेकसहित ६० लाख रुपैयाँ लिँदै मेसु डाक्टर उत्तम पाच्याले अब छिट्टै प्लान्ट स्थापना हुने जनाएका थिए । उनले सामाजिक अभियानमा पत्रकार महासंघले गरेको योगदानको प्रशंसा गरे ।

    पत्रकार महासंघका उपाध्यक्ष तथा आर्थि व्यवस्थापन समितिका संयोजक रेशम कुँवरले घोषित केही रकम उठ्न बाँकी रहेको बताए ।
    यसअघि महासंघले ५ लाख मूल्य बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिण्डर अस्पताललाई प्रदान गरेको सचिव प्रेम सुनारले बताए ।

     

  • बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै

    बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै

    इटहरी । अहिले देशभर मेडिकल अक्सिजनको माग उच्च छ । अक्सिजन सिलिन्डर धेरै भएको क्षेत्रबाट आवश्यक परेको क्षेत्रमा नेपाली सेनाले हवाई र स्थल दुवै मार्गबाट ढुवानी गरिरहेको छ । विदेशबाट नेपाललाई आएका अधिकांश सहयोगमा अक्सिजन अनिवार्य देखिन्छ ।

    यसै मेसोमा उदयपुरको बेलका नगरपालिकाले भने आफैं अक्सिजन प्लान्ट निर्माणको तयारी थालेको छ । बेलका नगरपालिका वडा नम्बर ९ को नगर अस्पतालमा प्लान्ट बनाउन मेयर दुर्गाकुमार थापाले काम थालेको बताएका छन् । बेलका अस्पताल मदन भन्डारी राजमार्गसँगै जोडिएको छ ।

    प्लान्ट बनाउन नगरपालिकाले २० लाखको कोष जम्मा गरेको छ । कुमारी बैंकको बेलका शाखाको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा फन्ड जम्मा भएको छ । बाँकी पैसा विभिन्न सहयोगी मनहरुबाट लिइने मेयर थापाले बताए ।

    ०७७०११३४३५२००००१ खाता नम्बरमा अहिले विभिन्न सहयोगी मनहरुले रकम जम्मा गरिरहेका छन् । नगरका नागरिक बाहेक बाहिरबाट पनि सहयोग आउन थालेको मेयर थापाले बताए । उनले भने, ‘हाम्रो अक्सिजन प्लान्ट उदयपुर, ओखलढुंगा, खोटाङदेखि सोलुखुम्बु क्षेत्र जोड्ने सगरमाथा करिडोरकै एकमात्र हुने भएकोले धेरैको सहयोग छ ।’

    प्लान्ट निर्माणको लागी संघीय सांसद प्रमुख सल्लाहकार रहेको र प्रदेशसभाका सबै सदस्यहरु सल्लाहकार रहेको मेयर थापाको संयोजकत्वमा १० सदस्यीय निर्माण समिति बनेको छ । सल्लाहकारमा जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वाथ्य कार्यालय, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ देखी सामुदायिक वन उपभोक्ता महासंघ लगायतका उदयपुरका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरु समेत अटाइएका छन । ‘सबैको सरोकार राख्ने परियोजना भएकोले सबैलाई समेट्ने हाम्रो लक्ष्य हो’, मेयर थापाले भने ।

    ‘अनमोल प्राणवायुः अभावमा नजाओस आयु’ भन्ने नाराको साथ भएको सुरु भएको अभियानले सय दिनमा आवश्यक एक करोड बढी रकम संकलनको लक्ष्य लिएको छ । रकम संकलन भएपछि सय दिनभित्रै शिलान्यास हुने र निर्माण प्रक्रिया अगाडि बढाउने मेयर थापाको तयारी छ । उनले भने, ‘कोभिड–१९ का पुरानादेखि नयाँ भेरियन्टको खतराको पराकम्पन अझै निकै समयसम्म जाने देखिन्छ । त्यहि कुरालाइ ध्यानमा दिएर हामीले दीर्घकालीन योजना ल्याएका हौं । काम द्रूत गतिमा अगाडि बढ्छ ।’

    मेयर थापाका अनुसार प्राविधिक सल्लाहकारहरुसँगको छलफल र प्लान्ट संचालनको संभाव्यता अध्ययनबाट आफू प्लान्ट संचालनको निर्णयमा पुगेको बताए । उनले भने, ‘अक्सिजन प्लान्टको उपयोग मान्छेले लिन स्वासमा मात्रै नभएर कृषिदेखि ग्यारेजसम्म हुने पाइएकोले यो बहुउपयोगी परियोजना हो ।’

  • सल्यान अस्पतालसँग प्रदेश लेखा समितिले माग्यो अक्सिजन प्लान्ट खरिदको कागजात

    सल्यान अस्पतालसँग प्रदेश लेखा समितिले माग्यो अक्सिजन प्लान्ट खरिदको कागजात

    सुर्खेत । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सल्यान जिल्ला अस्पतालसँग ३ दिनभित्र खरिदसम्बन्धी कागजपत्र मागेको छ ।

    सामाजिक विकास मन्त्रालयले सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न भनी विनियोजन गरेको बजेटबाट अक्सिजन कन्सट्रेटर खरिद गरेपछि जताततै टिप्पणी बढेपछि संसदीय समितिले चासो देखाएको हो । समितिका सचिव उपेन्द्रकुमार गुरुङका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण मन्त्रालयसँग मागिएको छ ।

    ‘हामीले सल्यान अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद सम्बन्धी कागजात पनि समितिमा तीन दिनभित्र पठाउन पत्र काटेका छौं’, गुरुङले भने ।

    स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतको ड्रागन मेडिकल प्रालिले ३८ लाख ९९ हजारमा सो कामको जिम्मा पाएको थियो । तर, अक्सिजन प्लान्ट जडानको जिम्मेवारी पाएको कम्पनीले झुक्याएर ल्याएको अक्सिजन कन्सन्ट्रेटर मेसिनको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी र सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडाले जेठ १ गते संयुक्त उद्घाटन गरेका थिए ।

    जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन प्लान्ट अक्सिजन कन्सन्ट्रेटर मेसिन भएको भन्दै चिकित्सकसहित केही अगुवा र सरोकारवालाले सामाजिक संजालमा विरोध गरेका थिए ।

    ‘हामी विभिन्न मिडयामा आएका कुराहरुलाई नजिकबाट नियालिरहेका थियौं । यसबारेमा आवश्यक छानविन नै गर्नुपर्ने देखिएर हामीले तीन दिनभित्र कागजात पठाउन निर्देशन दिएका छौं ।’ समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले नेपाल प्रेसलाई भने, ‘वास्तविक रूपमा के भएको हो भन्ने समितिले अध्ययन गर्नेछ । त्यसपछि हामी के कारवाही गर्ने वा कुन प्रक्रियामा जाने भन्ने निर्णय गर्छौं ।’

  • अक्सिजन प्लान्ट स्थापनाका लागि १२ अस्पताललाई १६ करोड ८० लाख बजेट निकासा

    अक्सिजन प्लान्ट स्थापनाका लागि १२ अस्पताललाई १६ करोड ८० लाख बजेट निकासा

    काठमाडौं । अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरको बैंठले बिभिन्न जिल्लाका ११ अस्पतालमा अक्सिजन प्लान्ट र १ अस्पलतमा अक्सिजन पाइपलाइन बिस्तारका लागि स्रोत निकास गर्न निर्णय गरिएको छ।

    बिभिन्न जिल्लाका १२ अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँ बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेकोमा निकासाका लागि सहमति दिएको छ । जसमध्ये ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा अक्सिजन पाइप लाइन विस्तार गर्नका लागि स्रोतको माग गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

    अक्सिजन पाइप लाइन बिस्तारका लागि तनहूँको दमौली अस्पतालले बजेट माग गरेको हो । त्यस्तै गरी अक्सिज प्लान्ट स्थापनाका लागि स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, नवलपरासीको पी चन्द्र अस्पताल, कपिलबस्तुको तौलिहवा अस्पताल, बर्दिया अस्पताल, दाङको प्रादेशिक अस्पताल, तुल्सीपुर, प्यूठान अस्पताल र तेह्रथुम अस्पतालले बजेटको माग गरेका छन् ।

  • भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड

    भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड

    भक्तपुर । कोभिड-१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड संक्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्तर्गत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।

    भक्तपुर अस्पताललाई तीन करोड ८० लाख रुपैयाँ, मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन करोड १२ लाख ७० हजार रुपैयाँ र सूर्यविनायक नगर अस्पताललाई  १ करोड ९ लाख रुपैयाँ को बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिए । अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद बस्नेतले बताए ।

    त्यसैगरी सांसद बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका-८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडीयू) सञ्चालन गर्र्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।

    सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने अस्पतालहरुको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ ।
    -रासस

  • सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड संक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिल्ला समन्वय समितिका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।

    उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

    भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँ–टोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गरे ।

    उनले प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिए ।

    उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गरे ।

    उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको तथा स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको चर्चा गरेका थिए ।

    प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसीयू कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सेढाईंले जानकारी दिए । उनका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।
    –रासस

  • दैनिक हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न समितिको निर्देशन

    दैनिक हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न समितिको निर्देशन

    सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई तत्काल कोभिड-१९ हटलाईन सेवा सुरु गर्न निर्देशन दिएको छ ।

    शनिबार बसेको समिति वैठकले कोभिड-१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिनको निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने निर्णय गरेको हो ।

    बैठकले प्रदेश सरकार महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने निर्णय गरेको समितिका अध्यक्ष देवी ओलीले जानकारी दिईन । साथै, बैठकले संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको अस्पतालको यसअघिको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    ‘कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने, प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छौं’ अध्यक्ष ओलीले जानकारी दिइन् ।

    उनले भनिन्, ‘प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रसँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने निर्देशन दिएका छौं ।’

    वैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीब्रता दिने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरु पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन समेत भनिएको छ ।

    गैरसरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ पुर्‍याउन अपील गर्ने निर्णय भएको समितिका सदस्य सुशिल थापाले बताए ।

    ‘महामारीमा स्वतःस्फुर्तरुपमा सहयोग गरिरहनुभएका सबैमा धन्यवाद ज्ञापन गर्ने र प्रदेश सरकारले वादी समुदायसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवज्यूलाई समितिमा बोलाइ छलफल गर्ने निर्णय गरेका छौं’ समितिका सदस्य यज्ञ बहादुर विसीले भने ।

  • सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

    सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

    काठमाडौं । कम्तीमा सय बेड भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

    स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले बताए ।

    अक्सिजन प्लान्ट जडान गरेर मन्त्रालयमा जानकारी गराउन समेत उनले निर्देशन दिइएको बताए ।

    पछिल्लो साता अक्सिजन अभावमा मृत्यु हुने कोभिडका बिरामीको संख्यामा वृद्धि भएपछि उक्त निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी गराए ।

  • ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख रुपैयाँ प्रदान गरिएको छ । दोस्रो चरणको कोरोनाभाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्ला हाल कम्तीमा पनि २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको बताइएको छ ।

    संक्रमितको उपचारमा सहजता ल्याउन तथा संक्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि जिल्ला अस्पतालमा रकम आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, ‘अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा निकै समस्या भएको थियो, अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले रकम प्रदान गरेको छ, अब उपचारमा सहज हुनेछ ।’

    प्रदेश सरकारले यहाँका डोटीसहित अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई पनि अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नका लागि ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देश्नालयले जनाएको छ ।

  • कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ ।

    मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतबार त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा. डा. डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा. केएन पौडेलसँग जानकारी लिएका थिए ।

    खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको सङ्ख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सघाए । सामाजिक विकासमन्त्रीसमेत भएका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।

    आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा. डा. खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ । यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ ।