Tag: हिन्दूत्व कूटनीति

  • देउवा दम्पतीको ‘हिन्दूत्व कूटनीति’, राखी बँधाइदेखि वनारस घुमाइसम्म

    देउवा दम्पतीको ‘हिन्दूत्व कूटनीति’, राखी बँधाइदेखि वनारस घुमाइसम्म

    पाँचौपटक प्रधानमन्त्री बनेको नौ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा आफ्नो पाँचौ भारत भ्रमणमा निस्केका छन् । शुक्रबार दिल्ली उडेका देउवाको जम्बो टोली तीनदिने भ्रमण सकेर आइतबार नेपाल अवतरण गर्नेछ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेट गर्ने देउवाले नेपाल भारतबीचमा केही सम्झौता गर्ने चर्चा छ । गत कात्तिक १२ गते विश्व जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुन देउवा बेलायत उडेका थिए । प्रधानमन्त्री बनेपछिको त्यहीं उनको प्रथम विदेश भ्रमण थियो । यद्यपि, उनको राजकीय भनिएको यो पहिलो भारत भ्रमण हो ।

    प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्रीसँग दुईपटक कुराकानी गरेका देउवाले यो तीनदिने भ्रमणको अवसरमा तेस्रोपटक कुराकानी गर्दैछन् । पहिलोपटक प्रधानमन्त्रीको रुपमा संसदबाट विश्वासको मत पाएपछि देउवालाई मोदीले साउन ४ गते फोन गरेर बधाई दिएका थिए ।

    सर्वोच्च अदालतले परमादेश दिएर प्रधानमन्त्री तोकिँदा बधाई नपाएका देउवाले विश्वासको मत पाएपछि भने मोदीको पहिलो बधाई पाएका थिए । दोस्रोपटक कोप–२६ कै दौरानमा बेलायतकै ग्लास्गोमा मोदी र देउवाबीच डेलिगेसन तहमा कात्तिक १६ गते भेटघाट भएको थियो । शनिबारको दिल्ली भेटमा देउवाको मोदीसँग प्रधानमन्त्री नियुक्त भएपछिको तेस्रो संवाद हो ।

    देउवाको भारत भ्रमणको चर्चा खासगरी नेपाल–भारत सम्बन्धको ‘सवलीकरण’ र दुई देशबीचका सहकार्य एवम् सम्झौताका कुरामा केन्द्रित छ । तर, भ्रमणमा चर्चा नगरिएको वा कम चर्चा गरिएको अर्को विषय हो– हिन्दूत्व कूटनीति ।

    प्रधानमन्त्री देउवाले भारतको उत्तर प्रदेशमा रहेको प्रशिद्ध हिन्दूधाम वनारस भ्रमण गर्नेछन्, जुन राजकीय भ्रमणकै सूचीमा छ । वनारस विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र हो । नेपाल तथा भारतका धेरै हिन्दूले धार्मिक भ्रमण गर्ने गन्तव्य वनारस हो ।

    देउवाले आफ्नो राजकीय भ्रमणको एक मुकाम वनारस नै बनाउँदैछन् । भ्रमण समापनको दिन देउवा भारत सरकारको विषेश विमानमार्फत् वनारस जानेछन् । वनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभाको चुनाव क्षेत्र पनि हो । यसरी राजकीय भ्रमणकै दौरानमा मोदीको चुनाव क्षेत्र र हिन्दूको आस्थाको केन्द्रमा भ्रमण गरेर देउवाले हिन्दूत्व राजनीतिमा सक्रियता देखाएका छन् ।

    शुक्रबार नै भारतको हिन्दूत्व राजनीति गर्ने भारतीय जनता पार्टीको मुख्यालय पुगे देउवा । देउवाले भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष जेपी नड्डासँग भेट गरे । भारतीय राजनीतिमा कमजोर प्रस्तुति भएको भारतीय कांग्रेसका नेतासँग देउवाको भेटघाट कार्यक्रम छैन । यसले देउवाले हिन्दूत्वको राजनीति गर्ने भाजपासँगको आफ्नो निकटता देखाउने प्रयास गरेको बुझिन्छ । भाजपालाई र कट्टर हिन्दू मतदातालाई प्रिय लाग्ने वनारस भ्रमण जोडेर देउवाले हिन्दूत्वको कूटनीतिलाई देखिनेगरी अभ्यास गरेका छन् ।

    देउवापत्नीदेखि प्रतिनिधिसम्मको हिन्दूत्व कूटनीति

    गत भदौ ६ गते नेपाल भ्रमणमा आएका भारतीय सत्ताधारी दल बिजेपीका विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई प्रधानमन्त्रीपत्नी डाक्टर आरजु राणा देउवाले राखी बाँधिदिइन् । रक्षा बन्धनताका नेपाल भ्रमणमा आएका चौथाइवालेलाई आरजुकै प्रस्तावमा राखी बाँधिएको मिडियामा आइसकेको छ । आरजुले आफैं सक्रिय भएर भाजपा नेतलाई राखी बाँधेको कुरलाई ‘राखी कूटनीति’को रुपमासमेत चर्चा गरिएको थियो ।

    हुनत प्रधानमन्त्री देउवा र पत्नी राणा मात्रै होइनन्, देउवानिकट नेताहरुले समेत भारत भ्रमणमा जाँदा हिन्दूत्वको झलक दिने काम गरेका छन् । असोज २१ गते पाँचदिने भारत भ्रमणमा रहेका देउवा क्याम्पका नेताहरुले समेत हिन्दूत्व कूटनीति देखाएका थिए ।

    डाक्टर प्रकाशशरण महत नेतृत्वको टोलीमा रहेका नेपाली कांग्रेसका नेता अजय चौरासिया र उदयशमशेर राणले भाजपा अध्यक्षलगायतसँग मात्रै भेटेनन्, भारतका विभिन्न हिन्दूधाम तथा विश्वविद्यालयको समेत भ्रमण गरे । भारतका कट्टर हिन्दूवादी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नेपाली कांग्रेसका नेताहरुले असोज २३ गते भेटघाट गरे । असोज २४ गते काशीमा रहेका मन्दिर तथा काशी हिन्दू विश्वविद्यालयको कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु सहभागी भएका थिए ।

    भारतको दैनिक जागरण पत्रिकाले नेपाली कांग्रेसका नेताहरु काशीको ‘नेपाली मन्दिर’ देखेर खुशी भएको समाचार असोज २९ गते प्रकाशन गरेको थियो ।

    भारतको हिन्दूत्व सत्तामैत्री देखिन देउवा दम्पतीदेखि देउवा पक्षधर नेताहरुले अनेक कसरत गरेका छन् । नेपालको सबैभन्दा धेरै प्रभावशाली वैदेशिक शक्ति भारतीय संस्थापनको मित्र देखिन देउवाले अपनाएको यो कूटनीतिले नेपालका कट्टर हिन्दू मतलाई समेत आकर्षित गरेको छ ।

    उसो त देउवा व्यक्तिगतरुपमै पनि हिन्दूत्वको अभ्यास गर्छन् । उनी साइत हेरेर कार्यक्रम गर्छन् । ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने बताएको कुरा सार्वजनिकरुपमै भन्छन् । सारमा प्रधानमन्त्री देउवाले जारी भारत भ्रमणका क्रममा पनि धर्म राजनीतिलाई निकै प्राथमिकता दिएका छन् ।