Tag: सांसद

  • एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाई हुँदै

    एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौं । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ । सो मुद्दा पेशीको पाँचौ नम्बरमा छ । सर्वोच्चले सो मुद्दाउपर निकास नदिँदा संसदसमेत बन्धक छ ।

    अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

    अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।

     

  • सांसदले पाएनन् दसैँ खर्च, यस्तो छ कारण

    सांसदले पाएनन् दसैँ खर्च, यस्तो छ कारण

    काठमाडौं । अर्थमन्त्रालयले बजेटसम्बन्धी निर्णय नगर्दा यस वर्ष संघीय संसदका सदस्यले दसैँ भत्ता नपाउने भएका छन् । ऐनअनुसार मासिकरूपमा पाउने सेवा सुविधा पाए पनि दसैँ भत्ता भने सांसदले नपाएको संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘२ वर्षअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर दसैँ भत्ता उपलब्ध गराइएको थियो । गत वर्ष मन्त्रिपरिषद् बैठकले नै उपलब्ध गराउने निर्णय गरे पनि सबै सांसदले फिर्ता गर्नुभयो । यस वर्ष मन्त्रिपरिषद् बैठकले पनि निर्णय गरेन र अर्थमन्त्रालयले पनि उपलब्ध गराएन ।’

    दसैँ भत्ता नगए पनि असोजको मासिक तलब र सेवा सुविधा भने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले प्राप्त गरेका छन् । असोजको मासिक तलब २ करोड ७ लाख ५९ हजार र सांसदका पीएका लागि १ करोड ८२ हजार उपलब्ध गराइसकिएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सरकारले चालु आर्थिक वर्षदेखि वृद्धि भएको नयाँ तलबमान अनुसार नै सांसदलाई मासिक तलब उपलब्ध गराइएको हो ।

    बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदले मासिक ६६ हजार ७० रूपैयाँ पाउँदै आएका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ जना सदस्य रहेका छन् ।

  • नेकपा एसका १६ सांसदमाथिको मुद्दामा सर्वोच्चले मगायो सक्कल फाइल

    नेकपा एसका १६ सांसदमाथिको मुद्दामा सर्वोच्चले मगायो सक्कल फाइल

    काठमाडौं । नेकपा (एमाले)ले कारवाही गरेका लुम्बिनीका २ प्रदेशसभासहितका १६ जना सांसद पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ।

    न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सर्वोच्चको कारण देखाउ आदेशले नेकपा एसका सांसदको पद तत्काललाई जोगिएको छ ।

  • एमाले सांसदको आक्रोश, बुई चढेर रोष्टम कब्जा गर्न खोज्ने को हुन् ? (भिडिओसहित)

    एमाले सांसदको आक्रोश, बुई चढेर रोष्टम कब्जा गर्न खोज्ने को हुन् ? (भिडिओसहित)

    काठमाडौं । आफ्नो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका छन् ।

    प्रमुख प्रतिपक्षको अवरोध र नाराबाजीका बीच सभामुखले जबरजस्ती संसदको कारबाही अघि बढाएको भन्दै एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका छन् ।

    पूर्व वनमन्त्री नारदमुनी राना थारु, पूर्व सहायक मन्त्री आशा विक र नरबहादुर धामीले एमालेकै अन्य सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका हुन् । उनीहरूलाई मर्यादापालकले रोक्न हम्मे-हम्मे परेको थियो । राना कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका सांसद हुन् ।

    धामी एकीकृत समाजवादीकी सांसद राकुमारी भाक्री अनेरास्ववियूको अध्यक्ष हुँदा कोषाध्यक्ष थिए । अर्को पटक महासचिवमा पराजित भए पछि उनी जिल्ला राजनीतिमा केन्द्रित भएका थिए ।

    विक बझाङबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।

     

     

  • एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    काठमाडौं । नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालय जाने भएका छन् ।

    अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेको एक नेताले बताए ।

    यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने उनले बताए । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

  • एमाले रोजेपछि माओवादीले हटाएका तीन सांसद सर्वोच्च पुगे

    एमाले रोजेपछि माओवादीले हटाएका तीन सांसद सर्वोच्च पुगे

    जनकपुरधाम । नेकपा खारेजको फैसलापश्चात एमाले रोजेपछि माओवादीले प्रदेश २ सांसदबाट हटाएका तीनजना सर्वोच्च अदालत पुगेका छन् ।

    पदमुक्त सांसदहरू रामचन्द्र मण्डल, मो. समिर र कुन्दन प्रसाद कुशवाहाले सर्वोच्चमा उत्प्रेषण परमादेशको मागसहित रिट दर्ता गराएका हुन् । ५ दिनअघि दर्ता गरिएको रिटमा आफूहरूलाई हटाइनु संविधानविपरीत रहेको उनीहरूले जिकिर गरेका छन् ।

    मण्डल माओवादीमा हुँदा प्रदेश २ संसदीय दलका नेता थिए । एमाले-माओवादी एकीकरणपश्चात सत्यनारायण मण्डल चुनिए । पछि माधव नेपाल समूहले शत्रुधन महतोलाई चयन गर्‍यो ।

    तर नेकपा खारेजको फागुन २३ गते सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि माओवादीबाट प्रदेशसभामा निर्वाचित चार सांसदले एमालेलाई साथ दिए । रामचन्द्र मण्डललाई एमालेले केन्द्रीय सदस्यमै मनोनीत गर्‍यो ।

    एमालेमा लागेको भन्दै सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि माओवादीले उनीहरूलाई सांसदबाट पदमुक्त गराएको थियो । पदमुक्त भएको डेढ महिनापछि उनीहरू अदालतको ढोकामा पुगेका हुन् ।

    मण्डलले नेपाल प्रेससँग भने, ‘रिट हालेको छु । तर यसबारे अहिले तत्काल केहि बोल्दिनँ ।’ मण्डल धनुषा क्षेत्र नम्वर १ (ख) बाट निर्वाचित भएका थिए । अर्का पदमुक्त समानुपातिक सांसद मो. समिरले प्रतिक्रिया दिएनन् । माओवादीले उनको ठाउँमा पस्मिना कादरीलाई जिम्मेवारी दिइसकेको छ ।

    अर्का पदमुक्त रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित साँसद कुन्दनप्रसाद कुशवाहाले पार्टीले आफूमाथि अन्याय गरेकाले सर्वोच्च पुगेको प्रतिक्रिया दिए । उनले आफू माओवादीमै रहेको दावी गरे । भने, ‘मलाई स्पष्टीकरण पनि सोधेको छैन । जनताले मलाई निर्वाचित गरेका छन् । अनि पार्टीले पदमुक्त गर्न मिल्छ ?’

    पार्टीले पदमुक्त गरेको निर्णय बदरका लागि सर्वोच्चमा रिट हालेको उनको भनाइ छ ।

    सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले १५ दिनभित्र निवेदक र प्रदेशसभा सचिवालय प्रदेश २, निर्वाचन आयोग, नेकपा माओवादी केन्द्र र संसदीय दललाई छलफलका लागि बोलाएको छ ।

  • विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आधारमा एमाले र जसपाका सांसदमाथि कुनै कारवाही नहुने आदेश माग गरेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन अनुसार जुन दलबाट निर्वाचित भएको हो उक्त दल त्याग गरेमा, दलको ह्वीप उल्लंघन गरेमा वा कारवाही गरेमा सांसद पद रिक्त हुने व्यवस्था छ ।

    राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावी अश्वीकृत गर्दा पनि एमाले र जसपाका केही सांसदको नाम दुवैतिर रहेको र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था आकर्षित हुने भन्दै त्यही आधारमा विश्वासको मत प्राप्त गर्ने नदेखिएकाले धारा ७६(५) बमोजिमको सरकार गठन नहुने निर्णय गरेकी थिइन् ।

    विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा लिएर गएको रिटको सारसंक्षेपमा देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभा सदस्यलाई दल त्याग गरेको भनी प्रत्यथी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिकक हकको संरक्षण गरी पाउन माग गरिएको छ ।

    एमालेले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ मध्ये माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनासँग स्पष्टीकरण माग गरिसकेको छ । स्पष्टीकरण दिने मिति आज सकिएको छ ।

    आजै स्थायी कमिटी बैठक बसेर थप कारवाही हुने सम्भावना छ ।

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ।

    सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई बोलाएर नागरिकता समेत मागिएको छ। सबै प्रक्रिया पुर्‍याएर सर्वोच्च जाने विपक्षी सांसदहरूको तयारी छ ।

    नागरिकता र सांसदकाे परिचयपत्र कांग्रेस संसदीय दलमा बुझाइएको छ। रिटमा हस्ताक्षर भने संसद भवनकाे ल्हाेत्से हलमा गराउने तयारी छ ।

  • सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    काठमाडौं । सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू गरिएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर सभामुख अग्नि सापकोटाले कोभिडसिल्डको दोस्रो डोज लगाएका छन् ।

    संसद सचिवालयले नयाँवानेश्वरस्थिति संघीय संसद भवनको ल्होत्से हलमा आजदेखि आइतबारसम्म (३ दिन) खोप लगाउन व्यवस्था मिलाएको छ ।

    शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाइने छ । बिहान १० देखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

    त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सबै कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत कर्मचारीहरी साथै आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षासँग सम्बन्धित कर्मचारी र संसदीय मामिलाका पत्रकारलाई खोप लगाउने तालिका छ ।

  • संक्रमित सांसदले संसदमै उपस्थित भएर मतदान गर्ने (भिडियो)

    संक्रमित सांसदले संसदमै उपस्थित भएर मतदान गर्ने (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसम्बन्धी प्रस्तावमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्ने भएका छन् ।

    संसदको कार्यव्यवस्था समितिको आजको बैठकमा संक्रमित सांसदहरुलाई संसद भवनमै उपस्थित गराएर मतदानको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति बनेको छ ।

    समितिका सदस्य एवं एमाले सांसद शेरबहादुर तामाङले संक्रमित सांसदहरु बैठक अवधिमा संसद भवन परिसरमा राखिएको अलग-अलग टेण्टमा बस्ने बताए ।

    ‘बैठक अवधिमा उहाँहरू अलग-अलग टेण्टमा रहनुहुन्छ । मतविभाजनको बेलामा सुरक्षित ढंगले लबीमा पुगेर आफ्नो मत दिएर फर्कनुहुन्छ’, तामाङले नेपाल प्रेससँग भने ।

    प्रतिनिधिसभाका २६ सांसदहरुलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसमा मतविभाजन गर्ने तयारी छ  ।

  • माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

    माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले समानुपातिक सांसदले राजीनामा दिनेबारे छलफल नै नभएको प्रष्ट पारेको छ ।

    केही समानुपातिक सांसदले आफूहरू राजीनामाको विपक्षमा रहेको भन्दै वक्तव्य दिन थालेपछि नेपाल पक्षले प्रत्यक्ष निर्वाचित सांसदको मात्र राजीनामाको हस्ताक्षर भएको जनाएको छ ।

    एमाले केन्द्रीय सदस्य तथा कैलाली २ बाट निर्वाचित माधव पक्षीय सांसद झपट रावलले आफूहरू भोलि बिहानसम्म पनि एमालेको एकता कायम हुने विश्वासमा रहेको बताए । उनले एमाले बन्न पनि नपाउने र आफूहरुको मत लिएपछि कारवाही गर्ने तयारी रहेकाले त्यसो हुनुभन्दा राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा पुगिएको बताए ।

    रावलले नेपाल प्रेससँग भने, ‘समानुपातिक सांसदले राजीनामा दिने कुरै भएको छैन र त्यो आवश्यक पनि छैन । जहाँसम्म हाम्रो कुरा छ, हामी एकताबद्ध एमाले चाहन्छौं । हामीलाई एमाले हुन देऊ भन्दा हिजो नेकपाको पालामा फरक मत राखेकै आधारमा एमाले हुन दिइएन ।’

    रावलले माधव नेपाल पक्षले एमालेमा अहिले धेरै कुरा केही नमागेको बताए । उनले सर्वोच्च अदालतले जहाँ फर्काइदिएको हो, त्यहिँबाट शुरू गर्दा एमाले एकताबद्ध हुने दावी गरे । तर, २७ गते आफूहरूको मत लिएर २८ गते कारवाही गर्ने तयारी बुझेपछि त्यसरी अपमानित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु बाध्यात्मक विकल्प रहेको रावलले बताए ।

    उनले भने, ‘अहिले नै कारवाही गर्दा संसदमा अल्पमतमा पर्ने भएर रोकिएको हो । यसरी अपमानजनक ढंगले पार्टीबाट निष्कासन हुनुभन्दा राजीनामा दिनु उपयुक्त भयो । हामी एमालेकै सांसद भएर फ्लोर क्रस गर्न पनि चाहेनौं ।’

    रावलले अहिले पनि अध्यक्ष ओलीले चाहँदा एमालेको एकता पनि जोगिने र सबै एमाले मिलेर सरकार जोगाउन लाग्न पनि सकिने बताए ।

  • संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ?

    संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ?

    काठमाडौं । वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

    बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    उक्त दिन संक्रमितले मतदानमा भाग लिन पाउने या नपाउने भन्ने विषय अझैं टुंगिसेको छैन् । यसबारे अहिले छलफल चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले यसबारे निर्णय लिने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

    ‘हामी त्यही छलफल गर्दै छौं,’ उनले नेपाल प्रेससँग भने, ‘अहिले कुनै निर्णय भइसकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकले केही सल्लाह दिन्छ होला । त्यसपछि सभामुखले निर्णय लिनु होला ।’

    कार्यव्यवस्था परामर्श समितिको बैठक भने अझैं निर्धारण भैसकेको छैन । २७ गते बैठक बस्न लागेकाले त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाउने तयारी सभामुखको छ ।

    गण्डकी प्रदेशमा भने संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने निर्णय भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे निर्णय लिन बस्ने प्रदेशसभा बैठकमा संक्रमित सांसदलाई बोल्न नदिने तर मतदानमा भाग लिन दिने सहमति त्यहाँ भएको थियो ।

    यसअघि लोक सेवाले लिने परीक्षामा कोरोना संक्रमितलाई वञ्चित गरेपछि त्यसको व्यापक विरोध भएको थियो । परीक्षा दिन पाउने मौलिक हक कुनै रोगबाट संक्रमित भएकै आधारमा खोस्न नपाइने भन्दै विरोध भएपछि लोकसेवा आयोग उक्त निर्णयबाट पछाडि हटेको थियो ।

  • यी हुन् कोरोना संक्रमण देखिएका चार सांसद

    यी हुन् कोरोना संक्रमण देखिएका चार सांसद

    काठमाडौं । वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

    कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको स्रोतले जनाएको छ ।

    बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

  • चार सांसद र दुईजना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ

    चार सांसद र दुईजना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं । प्रतिनिधिसभाका चारजना सांसद र दुई जना कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ ।

    बुधवार गरिएको पीसीआर परीक्षणको नतिजा बिहीबार आउँदा चार संसद बाहेक अन्यको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । हिजो सभामुखसहित १२८ सांसद,
    कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

  • संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

    संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

    काठमाडौं । पुन:स्थापनापछि प्रतिनिधिसभाको पाँचौ बैठकमा पहिलो पटक शून्य समयको कार्यसूची समेत राखियो । शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारीबिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।

    सांसद अन्जना विसंखेले कोरोना भाइरसले नयाँ रूपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने ध्यानाकर्षण गराइन् ।

    सांसद अमनलाल मोदीले कोरोना महामारीपछि सरकारले देश-विदेशमा रोजगार गुमेका मजदुरहरूलाई रोजगारी दिन नसकेको बताए । उनले मलको अभाव भएको पनि जानकारी गराए । विजनेश नदिएर सरकारले संसदलाई गतिहीन बनाएको उनको आरोप छ ।

    सांसद आशाकुमारी वि.क. ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेको विषय अघि सारिन् । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्न विकको माग थियो ।

    इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र पत्नी गीतादेवी झालाई सुतिरहेको अवस्थामा विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी/प्रशासन उदाशीन बनेको टिप्पणी गरिन् ।

    सांसद उमा रेग्मीले महिलाहरूको हत्या, हिंसा र बलात्कारको घटनाको बिगबिगी रहेको भए पनि यस विषय सरकारको प्राथमिकतामा किन नपरेको ? भनी प्रश्न गरिन् । यस्ता घटनाका अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न उनको माग छ ।

    बाराबाट वीरगञ्जसम्म पुग्ने हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकोप्रति ध्यानाकर्षण गराउँदै सांसद एकवाल मियाँले जनता त्रासमा रहेकोले व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

    सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएका र ९ जनाको जयन गइसकेको अवस्थामा सरकारले सुरक्षाको उपाय नअपनाएको आरोप लगाइन् । बर्दियाको नेपाल-भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाली भूमि अतिक्रमण भइरहेको भए पनि सरकारको ध्यान जान नसकेको भन्दै थापाले असन्तुष्टि पोखिन् ।

    सांसद कृष्णप्रसाद दाहालले नेपालको गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरे ।

    सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैँडाको गणना शुरू गरेकोमा स्वागत गरे । घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारीका कारण संकटमा पर्दै गएका प्रकृतिका सम्पत्तिको रक्षा गर्नुपर्नेमा उनको जोड थियो ।

    सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरि दोस्रो चरणको महामारी शुरू भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे ।

    सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गरे।

    सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्‍तर्गत धादिङमा पर्ने सडक निर्माण कार्य रोकिएकाले तत्काल शुरू गर्न अनुरोध गरे ।

    सांसद गगनकुमार थापाले सरकारले संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिएको आरोप लगाए । प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उनको टिप्पणी थियो ।

    सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली नपुगेर अँध्यारै रहेको भए पनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएको भन्दै असन्तुष्टि जनाए । विकसितको प्रमाणपत्र नेपाललाई कसले दिएको हो ? भन्दै महतले कर्णालीको जनतालाई चासोको विषय भएको बताए।

    सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताइन् । आफ्नै पार्टीभित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको टिप्पणी उनको थियो ।

    सांसद घनश्याम खतिवडाले सरकारले अघि सारेका कामहरू ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । उनले मोरङमा ठेकेदारको लापरबाहीले विकासको काम नभएको उदाहरण पेश गरे ।

    सांसद चाँदतारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढिरहेकोले तराई क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन बढाउन माग गरिन् ।

    सांसद जिपछिरिङ लामाले भारतले मिचेको दार्चुलाको जमिन कहिले फिर्ता आउँछ ? भनेर प्रश्न गरे।

    सांसद जीवनराम श्रेष्ठले काठमाडौंमा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे । सडक आयोजनालाई समीक्षा गर्नुपर्ने उनको माग छ ।

    सांसद झपटबहादुर रावलले संसद पुन:स्थापनापछि दल विभाजनको गतिविधि बढेको बताए ।

  • पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

    पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

    पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले कास्की क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको पदको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

    उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा मरिसकेकाले हुनाले विद्या भट्टराईलगायत उपचुनावबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न नसकिने बताए ।

    बहालवाला मन्त्री रहेकै बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि कास्की २ खाली भयो । तत्कालीन समय नेकपा एमालेबाट विजयी भएका स्व. अधिकारीको निधनको समय एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्‍ट पार्टी ‘नेकपा’ भइसकेको थियो ।

    अधिकारीको निधनपछि रिक्त बनेको कास्की २ मा उनकै श्रीमती विद्या भट्टराई तत्कालीन नेकपाबाटै चुनाव लडिन् । उनी सूर्य चिन्हबाटै गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनलाई केपी ओलीको एकल हस्ताक्षरमै टिकट दिइएको थियो ।

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा सांसद थापाले नेकपा मरिसकेकाले त्यसबाट निर्वाचित जनप्रतिनिधि पद पनि खारेज हुनुपर्ने माग राखे । उनले कास्की २ बाट निर्वाचित विद्या भट्टराईलगायतकलाई सांसद पनि मान्न नसकिने बताए ।

    ‘कास्कीमा आएर आज मेरो प्रश्न छ- नेपाल कम्युनिस्ट पार्टी सकियो । कोही एमालेतिर फर्कनुभो । कोही माओवादीतिर फर्कनु भो । कास्की २ बाट जितेको सांसद कुन पार्टीको ? एमाले कि माओवादीको ? उहाँहरू भन्नुहुन्छ छान्न पाउँनुहुन्छ । अहँ हिजो मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो,’ सांसद थापाले भने ।

    नेकपाबाट निर्वाचित सांसदले आफू नेकपा एमालेको या माओवादी केन्द्रको भन्ने छान्न पाउने कुरा उठिरहेकाले त्यसमा पनि विरोध गरे । मतदाताले नेकपालाई जिताएकाले फेरि जनताले नै छान्न पाउनुपर्ने उनको भनाइ छ ।

    ‘पद के हुने भन्ने त्यो निर्वाचित जनप्रतिनिधिले छान्ने होइन, यहाँका जनताले छान्न पाउँनुपर्छ । नेपाल कम्युनिष्‍ट पार्टीको नाममा निर्वाचनबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिँदैन । किनकी त्यो पार्टी नै छैन अब,’ सांसद थापाले भने, ‘उहाँहरू कुन पार्टीको ? उहाँहरुले छान्न पाउने, नागरिकले छान्न नपाउने ? जनताले छान्न नपाउने ? मतदाताले छान्न नपाउने ? कास्केली मतदाताले त नेपाल कम्युनिष्ट पार्टीलाई मत दिएको हो नि त ! एमालेलाई, माओवादीलाई दिएको होइन ।’

    सांसद थापाले पार्टी नै मरिसकेपछि त्यसबाट निर्वाचित जनप्रतिनिधिलाई पनि बिदा गर्नुपर्ने माग राखे ।

    ‘नेकपाबाट निर्वाचित सांसद वडाध्यक्षहरू उपनिर्वाचनमा निर्वाचित बागलुङको, दाङको जति पनि हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित हुनुभएको हो । त्यो मरिसक्यो । छँदै छैन । पार्टी मरेपछि त्यसको जनप्रतिनिधि रहँदैन,’ उनले भने, ‘उपनिर्वाचनबाट जनप्रतिनिधिलाई बिदा गर्नुपर्छ ।’

    थापाले सर्वोच्चको अदालतको फैसलालाई उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नै विरोध गर्नुपर्ने धारणा राखे । उनीहरुले नै निर्वाचनको मत परिणामलाई अस्वीकार गरेर गलत निर्णय भएको बताउनुपर्ने थापाको जिकिर छ ।

  • माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए

    माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए

    काठमाडौं । संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा शीर्ष नेताबाहेकका सांसदहरू सहभागी हुने माधव पक्षले निर्णय गरेको थियो । यद्यपि केही सांसदहरूले आपत्ति जनाएपछि बालुवाटार जाँदै गरेकालाई बाटैबाट फर्काइएको हो ।

    माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएका छन् ।

  • माओवादीले एमालेमा लागेका सांसदलाई फर्काउन पत्र पठाउने

    माओवादीले एमालेमा लागेका सांसदलाई फर्काउन पत्र पठाउने

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ ।

    हिजो सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्नसमेत उठ्न सक्ने भएकोले विधि पुर्‍याउन औपचारिक पत्र पठाइन लागिएको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताउँदै आएका छन् ।

    यो पनि पढ्नुहोस् : को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

  • को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

    को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि आज बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने सम्भावना छ ।

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताए ।

    माओवादीले दल त्याग गरेका सांसदहरूको संसद सदस्यता खारेजीका लागि कानूनी प्रक्रिया अघि बढाउने भनिसकेको छ । यद्यपि यसका विभिन्न चरणहरु पार गरेपछिमात्र संसद सदस्यता रिक्त हुनेछ ।

    प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्रका चारजना सांसद एमालेमा लागेका छन् । उनीहरू माओवादीमा नफर्किने निश्चित भएकाले अब प्रतिनिधिसभामा माओवादी पार्टी ४९ सिटमा सिमित भएको छ ।

    त्यस्तै राष्ट्रियसभाका दुईजना सांसद एमालेमा लागेका छन् । प्रदेशसभातर्फ प्रदेश १ का एकजना, प्रदेश २ का एकजना, लुम्बिनीका दुईजना, कर्णालीका २ जना र सुदूरपश्चिमका एकजना प्रदेशसभा सदस्य माओवादी छाडेर एमाले बनेका छन् ।

    प्रतिनिधिसभा

    १. टोपवहादुर रायमाझी, अर्घाखाँची

    २. लेखराज भट्ट,कैलाली- ४

    ३. गौरीशंकर चौधरी, कैलाली-३

    ४. प्रभु साह, रौतहट ३

    राष्ट्रियसभा

    १. रामबहादुर थापा ‘बादल’

    २. चन्द्रबहादुर खड्का

    प्रदेशसभा

    १. टंक आङवोहाङ,ताप्लेजुङ

    २. ज्वालाकुमारी साह,बारा

    ३. दधिराम न्यौपाने, रुपन्देही

    ४. दिनेश पन्थी,गुल्मी

    ५. ठम्मर विष्ट, सुर्खेत

    ६. धर्मराज रेग्मी, दैलेख

    ७. झपट बोहरा, अछाम

  • कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

    कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

    नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    सभामुखको निर्देशनमा कानूनमन्त्रीले अध्यादेश सदनमा पेश गरेपछि कांग्रेस सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेका थिए ।

    नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेश भएको छ ।

     

  • भीम रावलको प्रश्न- प्रधानमन्त्री कुन पार्टीको ? (भिडियो)

    भीम रावलको प्रश्न- प्रधानमन्त्री कुन पार्टीको ? (भिडियो)

    काठमाडौं । सांसद भीम रावलले सरकार कसको हो ? भनी संसदमा प्रश्न गरेका छन् ।

    सभामुखले दिएको समयमा बोल्ने क्रममा सांसद रावलले सर्वोच्च अदालतको फैसला आएको सन्दर्भमा वर्तमान सरकारको स्थिति के हो ? भन्ने सदनले थाहा पाउनुपर्ने बताए ।

    ‘यो सरकारको स्थिति के हो ? सर्वोच्च अदालतको फैसला कानूनी हो की राजनीतिक हो ? समिक्षा गर्नुपर्छ’, रावलले भने ।

    ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा यदि अस्तित्वमा छैन भने प्रधानमन्त्रीजी कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ । त्यो स्पष्ट नभई अध्यादेशहरु सदनमा प्रवेश पाउन सक्दैनन्’ रावलले भने ।

    सरकारले वैधता गुमाइसकेको रावलको दाबी थियो ।

    वैधता गुमाएको सरकारले आफैंले भंग गरेको सदनमा अध्यादेश पेश गर्ने कुरा मान्य नभएवैधता गुमाएको सरकारले आफैंले भंग गरेको सदनमा अध्यादेश पेश गर्ने कुरा मान्य नभएको भन्दै रावलले कार्यसूची नसच्याएसम्म बैठक चल्न नदिने बताए । रावलले कार्यसूची नसच्याएसम्म बैठक चल्न नदिने बताए ।

  • पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन

    पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन

    काठमाडौं । आफ्ना सबै सांसदहरूलाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन प्रचण्ड-माधव पक्षीय नेकपाले निर्देशन दिएको छ।

    स्थायी कमिटी सदस्य एवम् सांसद भीम रावलले आफूहरुलाई १२ बजे पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको जानकारी दिए।

    हिजोको केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति बनाउन सांसदहरुलाई बोलाइएको बताइएको छ ।

    सरकार परिवर्तनको चर्चासँगै देशको राजनीति तरल रहेका बेला सांसदहरूबीच कित्ता अदलबदल गर्ने क्रम भइरहँदा आफूपक्षीय सांसदहरूलाई एकढिक्का पार्ने प्रयास पनि प्रचण्ड-माधव पक्षले जारी राखेको छ।

  • सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

    सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

    बुधबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदहरूलाई खोप दिन शुरू गरिएको हो । पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटालगायतका सांसदहरूलाई खोप लगाइएको छ । राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायतले पनि खोप लगाउँनेछन् ।

    फागुन २३ गतेदेखि प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सचिवालयले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।

    खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए ।

              
  • सांसदलाई बुधबारदेखि खोप लगाइने, भारतमा मोदीले लगाए खोप

    सांसदलाई बुधबारदेखि खोप लगाइने, भारतमा मोदीले लगाए खोप

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान भारत बायोटेकले विकास एवं उत्पादन गरेको कोभ्याक्सिन खोप लगाएका छन् । दिल्लीस्थित एम्स अस्पतालमा उनले खोप लगाए ।

    ट्वीटरमार्फत उनले खोप लगाएको जनाएका छन् । उनी लेख्छन् – विश्वब्यापी कोरोनभाइरस महामारीविरुद्ध लड्न हाम्रा चिकित्सक र वैज्ञानिकको भूमिका उल्लेखनीय छ । सबै मिलेर भारतलाई कोभिडमुक्त बनाउनुपर्छ ।’

    पुडुचेरीकी नर्स पी निभेडाले मोदीलाई खोप लगाइदिएकी थिइन् । खोप लगाउन उनलाई केरलाकी नर्स रोस्मा अलीले सघाएकी थिइन् । रोचक त के छ भने, पुडुचेरी र केरला अप्रिलामा चुनावमा जाँदैछन् ।

    नेपाली सांसदलाई बुधबारदेखि
    नेपाल सरकारले संघीय संसदका सांसदलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप दिने भएको छ । ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउनुअघि सांसदहरुलाई खोप लगाउन लागिएको हो ।

    फागुन २३ देखि ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका छ । सांसद, कर्मचारी र मर्यादापालकलाई बुधबार, विहिबार र शुक्रबार बानेश्वरको सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय भएको छ ।

    नेपाली सांसदलाई चाहिँ अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप लगाउन लागिएको हो ।