Tag: सहिद सप्ताह

  • द्वन्द्वले होइन सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छः मेयर शाक्य

    द्वन्द्वले होइन सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छः मेयर शाक्य

    काठमाडौं । शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली दिइएको छ ।

    काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो ।

    काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १०४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिंदै छातीमा गोली थापी सहादत प्राप्त गरेका चन्द र श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो ।

    यस वर्षको शहीद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौं महानगरपालिकाले शहीद सप्ताह सुरु गरेको थियो ।

    शहीद सप्ताहको चौथो दिन अर्थात् माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जली सभा गरेको थियो ।

    श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुर्याई सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार शहीद आम नेपालीको मनमुटुमा सधैँ रहिरहेको बताए।

    ‘उनीहरुले कसैलाई ढुंगा–इट्टा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन् । त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला । केहीको मरण हुन्थ्यो होला । उहाँहरुले त्यसो गर्नुभएन,’ शाक्यले भने ‘तर, उहाँहरुको आवाज त्योभन्दा धेरै सशक्त थियो । उहाँहरुको आवाजले देश–विदेश नै तरंगित भयो ।’

    तत्कालीन शासकले विभिन्न खाले प्रलोभन देखाउँदा पनि त्यसमा नफसी देशमा प्रजातन्त्र ल्याउन, वाक्स्वतन्त्रता प्राप्त गर्न, मानवअधिकारको रक्षा गर्न र हुकुमी शासनको अन्त्यका लागि उनीहरुले ज्यानको आहुति दिएको स्मरण शाक्यले गराए।

    ‘उहाँहरुको मृत्युको १० वर्षपछि नेपालमा हुकुमी शासनको अन्त्य भयो र उहाँहरुकै बलिदानीका कारण निरंकुशताबाट नेपाली जनता मुक्त भए’ शाक्यले भने, ‘उहाँहरुकै त्याग र समर्पणका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानवअधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

    शहीदको योगदानको उच्च मूल्याङकन गर्दै उनीहरुको सम्झना चिरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार शहीदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराए ।

    एकले–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने उनले बताए । उनले टीम वर्कमा विश्वास गर्दा मात्रै सकारात्मक परिणाम दिन सकिने र आफू पनि त्यसै अनुरुप अघि बढेको बताए ।

    ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले केही परिणाम देखाएका छौँ’ शाक्यले भन्नुभयो, ‘नतिजा तपाईँहरुको सामु छ । मूल्याङ्कन गर्ने जिम्मेवारी तपाईँहरुको हो ।’ काम गर्ने सन्दर्भमा कतै कमजोरी भएका छन् र ध्यान पुगेको छैन भने ध्यानाकर्षण गराउन सुझाव दिए ।

    ‘गर्नेले सधैँ राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ । तर, अरुले मूल्याङ्कन गर्दा फरक भएको हुनसक्छ । त्यस्तो बेलामा कमी–कमजोरी भयो भने तपाईँहरुले सचेत गराउनुहोला सच्याएर अघि बढ्न तयार छौँ ।’

    उनले सबैको लक्ष्य एउटै भएको भन्दै सबैले सहकार्य गरे मात्रै लक्ष्य भेट्न सकिने बताए । ‘त्यो भयो भने मात्रै शहीदहरुप्रति सच्चा सम्मान ठहरिनेछ,’ उनले भने, ‘शहीदहरुको प्रतिमा सामुन्ने उभिएर सबैले आपसमा द्वन्द्व र इर्ष्या होइन एक–आपसमा सहकार्य र समन्वय गरेर सिङ्गो देशमा सामाजिक–आर्थिक, सांस्कृतिक परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौँ ।’

    सभामा काठमाडौं महानगरपालिकाका वडा नं- १५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि शहीदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ ।

    राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा १९९७ साल माघ १० गतेदेखि १५ गते बिचमा ४ जना शहीदलाई प्राणदण्ड दिइएको थियो ।

    हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।

    निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

    माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित शहीद स्मारक लैनचौर लगिनेछ । लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।

  • चिरकालसम्म सम्झिरहन शहीदका पाँच सालिक निर्माणः मेयर शाक्य

    चिरकालसम्म सम्झिरहन शहीदका पाँच सालिक निर्माणः मेयर शाक्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सिफलस्थित शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा आज उनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    यस वर्षको शहीद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले शहीद सप्ताह शुरु गरेको थियो । आज शहीद सप्ताहको तेस्रो दिन अर्थात् माघ १३ गते सिफलमा श्रद्धाञ्जली सभा गरेको हो ।

    श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निरंकुशताबाट नेपाली जनतालाई मुक्त गराउन ज्यानको आहुति दिने शहीदहरुकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

    ‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थिए। तर, उहाँहरुले व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानवअधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं’ शाक्यले भने, ‘त्यसैले सबै मिलेर उहाँहरुले देखाएको बाटो समाउँदै अघि बढ्नुपर्छ ।’

    शहीदहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुको सम्झना चिरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार शहीदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराए ।

    काठमाडौँ महानगरपालिकाले चारै (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको सालिक निर्माण गरेको छ’ उनले भने ।

    ‘धर्मभक्तकै सम्झनामा उहाँको पुर्ख्याैली ठाउँ काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ को ओमबहालमा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण गरेका छौँ । उहाँकै सम्झनामा ‘शहीद धर्मभक्त माथेमा मानवसेवा आश्रमका लागि पनि महानगरपालिकाले बजेट छुट्याएको छ । छिट्टै निर्माण सम्पन्न हुन्छ । शहीद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको छ ।’

    शाक्यले शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको सालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरे ।

    ‘शहीदहरूलाई बिर्से पनि उहाँहरूले गरेको योगदानलाई कसैले पनि बिर्सन सक्दैनन्’ उनले भने, ‘हामी कसैले पनि चार शहीदलाई भेटेका छैनौँ । तर, उहाँहरूले राष्ट्र र जनताप्रति गरेको योगदान हामी भुल्न सक्दैनौँ । उहाँहरूको सालिक मुन्तिर उभिएर उहाँहरूले देखाएको बाटो हिंड्न प्रेरणा मिलोस् भनेर हामीले पूर्णकदको सालिक निर्माण गरेका हौँ ।’

    कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग शहीदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गरिन् ।

    विकासबाट मुलुकलाई समृद्ध र नागरिकलाई खुसी बनाउन शहीदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उनको दृढता थियो । सभामा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगाेलले शहीदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गरिन् ।

    माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाकाे रुखमा झुण्ड्याइएर मृत्युदण्ड दिइएको थियो । उनी विसं १९६६ साल आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौंको ओमबहालमा जन्मिनुभएको थियो ।

    नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ ।

    राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि सं १९९७ साल माघ १० गतेदेखि १५ गते बीचमा चार जना शहीदलाई प्राणदण्ड दिइएको थियो ।

    हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि सं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।

    निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

    शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित शहीद स्मारक लैनचौर लगिनेछ । लैचचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।