Tag: सर्वोच्च

  • प्रधानमन्त्रीको सपथ र गैरसांसदको मन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

    प्रधानमन्त्रीको सपथ र गैरसांसदको मन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथग्रहण गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्चमा पुगेको हो ।

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित तीनजनाले राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमाथि मंगबार सुनुवाइ हुने भएको छ ।

    रिट निवेदकले यसअघिको सपथ बदर गरी पुनः सपथग्रहण गराउनुपर्ने माग गरेका छन् । यसैबीच संघीय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै त्यसका विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै ज्ञवालीले रिट दर्ता गराएका हुन् ।

  • सर्वोच्चको सेवा थप , संवैधानिक व्याख्या र मौलिक हकका विषय पनि हेर्ने

    सर्वोच्चको सेवा थप , संवैधानिक व्याख्या र मौलिक हकका विषय पनि हेर्ने

    काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लम्बिन सक्नै भन्दै यो अवधिमा दिइने सेवा थपेको छ ।

    शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि प्रदान गर्ने भनिएका कोरोना सम्बन्धी जरुरी सेवालाई निरन्तरता दिँदै थप विस्तार गर्ने निर्णय गरेको हो ।

    जेठ २ गतेसम्म संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित रिट पनि लिने भएको छ ।

    त्यस्तै नेपाल सरकारवादी भई चलेका थुनुवा मुद्दाको पुनरावेदन फिर्ता एवं प्रचलित कानूनबमोजिम मिलापत्र हुनसक्ने सरकारवादी फौज्दारी मुद्दाको मिलापत्रसम्बन्धी विषयका रिट पनि अदालतले स्वीकार गर्नेछ।

    सर्वोच्च अदालतमा सुनुवाइ गरिने मुद्दाको बहसपैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट संचालन गर्न व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।

     

  • सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार (आदेशसहित)

    सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार (आदेशसहित)

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    माधव नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।

    एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गराएका थिए ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेध आदेशद्वारा बदर तथा रोक्का गरीपाउँ भनिएको छ ।

    ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका थिए ।

    रिट निवेदक नेताहरुको तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,हरिप्रसाद उप्रेती,खगेन्द्र प्रसाद अधिकारी,चन्द्रकान्त ज्ञवाली,टीकाराम भट्टराई,,गोविन्द बन्दी लगायतले बहस गर्दै केपी ओलीबाट हुने सम्भावित कारवाहीलाई रोक्न अन्तरिम आदेश दिनु उपयुक्त हुने जिकिर गरेका थिए ।
    अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएन । बरु माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षको नाममा आदेश दिएको छ ।

     

    madhav court aadesh 1
  • अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेता आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर गएका छन् ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    रिट निवेदन लिएर नेपालपक्षका वकिलहरू सर्वोच्च अदालत पुगे पनि अदालत प्रशासनले समय नभ्याउने भन्दै बुधबार रिट दर्ता गरेन । अध्ययनका लागि समय लाग्ने भएकाले दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेको छ ।

    त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । फ्लोर क्रस गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता अ‍ोलीले सांसद पदबाट किन कारवाही नगर्ने ? भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

  • सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

    सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

    काठमाडौं ।  सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

    यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

    हेर्नुस् फैसलाको पूर्णपाठ-

  • ओलीपछि माधव नेपालले सर्वोच्चबाट पाए जन्मदिनको ‘अप्रिय उपहार’

    ओलीपछि माधव नेपालले सर्वोच्चबाट पाए जन्मदिनको ‘अप्रिय उपहार’

    काठमाडौं । सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटनको ऐतिहासिक फैसला गर्दा संयोगले त्यही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन थियो । आज सर्वोच्चले सत्तारुढ पार्टीमा उथलपुथल ल्याउने गरी अर्को फैसला गरेको छ । संयोगले आज माधवकुमार नेपालको जन्मदिन परेको छ ।

    सर्वोच्चले फागुन ११ मा गरेको फैसला केपी ओलीका लागि अप्रिय थियो । आफूले गरेको विघटन सिफारिस सर्वोच्चले उल्टाउँदा ओलीलाई ठूलै झट्का लाग्यो । सामाजिक सञ्जालमा चर्चा भयो- ओलीले सर्वोच्चबाट जन्मदिनको ‘कहिल्यै नबिर्सिने उपहार’ पाए ।

    सर्वोच्चको फैसला आउँदा ओली जन्मदिन मनाउन व्यस्त थिए । तर, उनले फैसलालाई सहजरुपमा लिए । जन्मदिनको समारोह विथोलिएन । ओली अदालतको विरोधमा उत्रिएनन् ।

    आज माधव नेपाल पनि जन्मदिनको खुशियालीमा छन् । उनलाई बधाइको ओइरो लागिरहेको छ । तर, खुशीको मुडमा रहेका नेपाललाई सर्वोच्चले नमिठो झट्का दिएको छ । अनि, सामाजिक सञ्जालमा लेख्न थालिएको छ, ‘माधव नेपालले पनि सर्वोच्चबाट जन्मदिनको उपहार पाए ।’

    सर्वोच्चको फैसलालाई नेपालले कसरी ग्रहण गर्छन् हेर्न बाँकी छ । तर, सत्तारुढ नेकपालाई फैसलाले खारेज गरिदिएपछि उनी आजबाट साविक नेकपा एमालेको वरिष्ठ नेतामा फर्किएका छन् । यो बीच नेपाल कम्युनष्टि पार्टीका नामबाट भएका कुनै पनि काम-कारबाही अब स्वतः अवैध भएका छन् ।

    सर्वोच्चको आजको फैसलाले सबैभन्दा ठूलो धक्का नेपाललाई लागेको छ । केपी ओलीले पुरानो एमाले पाए । प्रचण्डले माओवादी केन्द्र पाए । तर, माधव नेपाल यता न उताको बनेको चर्चा चल्न थालेको छ । उनी र उनको पक्षका सबै नेता र संसद अब ‘एमाले’ भएका छन् । उनीहरूलाई माओवादी केन्द्रतर्फ तान्न प्रचण्डलाई सहज छैन ।

  • साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

    साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।

    केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

    नेपाल प्रेस सँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’

    ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्‍याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’

  • एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता पनि बदर भएको छ ।

    सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) अस्तित्वमा रहेको उल्लेख गरिएको छ ।

    यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

    सर्वोच्चको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

  • नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने

    नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला भोलि नहुने भएको छ ।

    सर्वोच्चका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार देशभरका अदालत बिदा गर्ने अदालतको पूर्ण बैठकले निर्णय गरेकोले भोलिलाई तोकिएको फैसला पर सरेको हो ।

    फागुन १३ गते सुनुवाइ सकिएसँगै ऋषि कट्टेलले दायर गरेको रिटमाथिको अन्तिम फैसला भोलिलाई तोकिएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइपछि निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

    फैसलाको नयाँ मिति भने तोकिएको छैन ।

    कट्टेलले २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

    ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक-पटक सुनुवाइ स्थगित हुँदै आएकोमा दुई वर्षपछि फैसला हुन लागेको छ ।

    अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिकरूपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

  • नेपालमा परम्परागत संसदीय शासन प्रणाली नभएको सर्वोच्चको निष्कर्ष

    नेपालमा परम्परागत संसदीय शासन प्रणाली नभएको सर्वोच्चको निष्कर्ष

    काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले नेपालको शासन प्रणाली परम्परागत संसदीय शासन प्रणाली नभएको स्पष्ट पारेको छ ।

    प्रतिनिधिसभा विघटन बदर गरी संसद पुनःस्थापना गर्ने संक्षिप्त फैसलाको दोस्रो बुँदामा सर्वोच्चले नेपालको शासकीय स्वरुप परम्परागत संसदीय शासन प्रणालीमा मात्रै सीमित नभएको उल्लेख गरेको हो ।

    संविधानको धारा ७४ ले नेपालको शासकीय स्वरुप संसदीय शासन प्रणालीमा आधारित रहेको उल्लेख गरे पनि ‘बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली’ हुने भन्ने समेत उल्लेख भएकोले ती शब्दावलीहरुलाई सम्पूर्णतामा हेर्नुपर्ने फैसलामा उल्लेख छ ।

    धारा ८४ मा प्रतिनिधिसभा र धारा ८६ मा राष्ट्रिय सभाको गठनका सन्दर्भमा गरिएका निर्वाचन र मनोनयन प्रणाली, मतदान, उम्मेदवारी र सहभागिता समेतलाई समष्टिमा हेर्दा यो संविधान परम्परागत संसदीय प्रणालीको प्रतिबिम्व नभई संविधानसभाहरुको लामो प्रयत्न पश्चात आएको दस्तावेज हो’, फैसलामा उल्लेख छ ।

  • लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री ओली (भिडियो)

    लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री ओली (भिडियो)

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्‍च अदालत पुगेका छन् ।

    गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका हुन् ।

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

    बाटोको म्यादबाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो । यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबार अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेस गरिसकेका छन् ।

    सर्वोच्चले पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

  • सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो

    सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो

    काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी तोकिएको छ । सर्वोच्च अदालतले आइतबारलाई पेस तोकेको हो । सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए ।

    सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।

    सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।

    पढ्नुहोस् : १. सभामुखका ३७ जना विपक्षी- राष्ट्रपति, प्रधानन्यायाधीशदेखि मुख्य सचिवसम्म

  • सभामुखका ३७ जना विपक्षी- राष्ट्रपति, प्रधानन्यायाधीशदेखि मुख्य सचिवसम्म

    सभामुखका ३७ जना विपक्षी- राष्ट्रपति, प्रधानन्यायाधीशदेखि मुख्य सचिवसम्म

    काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्षसहित ३७ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

    सर्वोच्च अदालत स्रोतका अनुसार सभामुखको रिटमा बुधवार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाइएको छ ।

    तस्बिर : रासस ।

    राष्ट्रपति विद्यादेवी भण्डारी,संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    यो पनि पढ्नुहोस् : संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सभामुख पुगे सर्वोच्च

  • प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश मनोज शर्माकै इजलासमा

    प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश मनोज शर्माकै इजलासमा

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

    प्रचण्डविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ता समिर हायुले दिएको निवेदन सोमवार दर्ता भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका बेला न्यायधीशहरुलाई धम्क्याउने र कथित जनअदालतबाट फैसला गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलना मुद्दा लगाउन माग गरेका हुन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा पनि शर्माकै इजलासमा परेको थियो । सबै विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।