Tag: शय्या

  • बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

    बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

    बाँके । कोरोनाभाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

    भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए ।

    वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोनाभाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।
    रासस

  • नेपालगञ्जका अस्पतालमा शय्या हुन थाले खाली

    नेपालगञ्जका अस्पतालमा शय्या हुन थाले खाली

    नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका संख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।

    भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ ।

    कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि संक्रमितको संख्यामा कमी आएको हो ।
    –रासस

  • कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

    अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

  • सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

    सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

    चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ ।

    भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‍याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीका अनुसार हाल अस्पतालमा १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा अक्सिजनसहितको साधारण बेड छन् ।

    मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर अक्सिजनसहितको कोभिड बिरामीका लागि ४० वटा बेड विस्तार गरिएको छ । यस अघि हाडजोर्नी, न्यूरो, सर्जरी लगायतका विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको हो ।

    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापन कठिन भएको बताए । हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् ती मध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन् । उनका अनुसार नेपालगञ्जदेखि यहाँ कोभिडका बिरामी आएका छन् । अधिकारीले भने, ‘यस्तै अवस्था रहेमा एक दुई दिनमा अस्पतालले कोभिडलाई छुट्टयाएका बेड भरिने छन् ।’

    अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा जुटेका छन् । अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ ।

    चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्टयाइएको छ जसमा ३४ जना बिरामी हाल उपचाररत छन् । अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीका अनुसार अस्पतालमा ३३ शय्याको कोभिड उपचार कक्ष छ जहाँ ३० वटा भेन्टिलेटर समेत छन् । अधिकारीको भनाइमा प्रसुति विभाग, आकस्मिक सघन उपचार कक्ष, हाडजोर्नी लगायतका विभागलाई अन्यत्र सारेर कोभिडका लागि व्यवस्थापन गरिएको छ ।

    कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७० बेड कोभिडका लागि छुट्ट्याइएको छ । अस्पतालका निमित्त निर्देशक डा. मनोहर प्रधानका अनुसार कोभिडलाई भनिएकामध्ये ३० सघन उपचार कक्ष र ४० एचडियु हुन् जहाँ ६ वटा भेन्टिलेटर छन् ।

    यस अघि साधारण बिरामी राख्ने ठाउँलाई खाली गरेर कोभिड बिरामी राख्न थालिएको हो । उनका अनुसार हाल अस्पतालमा कोभिडका ४१ जना बिरामी छन् । बिरामी थपिंदै गएमा अन्य विभागलाई गाभेर क्षमता विस्तार गर्ने गरी तयारी गरिएको छ । अस्पतालमा हाल २१ विशेषज्ञ सहितका चिकित्सक र ५० नर्स कोभिड उपचारमा जुटेको उनले जानकारी दिए ।

    क्यान्सर रोगको मात्रै उपचार गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिड बिरामीका लागि छुट्टै वार्ड बनाउने तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देज गौतमका अनुसार १५ बेडको वार्ड बनाउन लागिएको हो जहाँ ५ वटा थप्न सकिने छ । कोभिड भएका क्यान्सरका बिरामीलाई उपचार गर्न वार्ड तयार गर्न लागिएको हो । एक दुई दिनमै वार्ड तयार हुने छ ।

    अन्य केही निजी अस्पतालले पनि अस्पतालमा आएका बिरामीमध्ये कोभिड देखिएमा राख्ने तयारी गरेका छन् । पुष्पाञ्जलि अस्पताल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले हालसम्म आएका कोभिडका बिरामीलाई नफर्काएको भए पनि अस्पताल बिरामीले भरिएकाले राख्ने अवस्था नरहेको जानकारी दिए । स्थानीय प्रशासनले सरकारी र निजी अस्पतालका सञ्चालकलाई कोभिड बिरामी बढ्न सक्ने भएकाले तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

    बिहीबारसम्म जिल्लाका मात्रै ७२४ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट यहाँ उपचारका लागि आउनेको तथ्याङ्क कार्यालयले राख्ने गरेको छैन । अस्पतालहरुमा ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाबाट आएका सङ्क्रमित रहेका छन्