Tag: विश्वासकाे मत

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले  विश्वासको मत लिँदै

    प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।

    आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ ।

    मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् ।

    प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा ९एस० प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

    प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

  • विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।

    कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

    विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

    कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

    राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

    माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

  • पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

    ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले जनाएको छ ।

    देउवा निकट स्रोतले भन्यो, ‘रात रहे अग्राख पलाउँछ, एमालेका माधव नेपाल समूहका केही नेता पार्टी एकता भन्दै विश्वासको मत नदिने पक्षमा उभिन लागेका छन् । अहिले माधवजी विश्वासको मत दिएर संसद जोगाउन दृढ भएकै बेला विश्वासको मत लिइहाल्ने कुरा भएको छ ।’

    सभामुख अग्नि सापकोटाले अहिले केहीबेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमाले सचेतक शान्ता चौधरीले विश्वासको मत आजै लिने भन्ने जानकारी आफूहरुलाई पनि प्राप्त भएको बताइन् ।

  • देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ । सकभर सिंगो एमालेलाई नै विश्वासको त दिन लगाउने नभए आफूहरुले देउवालाई विश्वासको मत दिने नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।

    एमालेको नेपाल पक्षका २३ सहित १ सय ४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका छन् । सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    ‘सकभर सिंगो पार्टीलाई नै देउवाका लागि विश्वासको मत दिन लगाउने, नभए हामी २३ जनाले भए पनि मत दिने भन्ने कुरा छ,’ नेपाल प्रेससँग चौधरीले भने, ‘हामी आँखा चिम्लेर विश्वासको मत दिन्छौं । नभए यो व्यवस्था टिक्दैन ।’

    सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भइ कार्यभार ग्रहण गरिरहेका छन् । तर, देउवाले ३० दिन भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । सर्वोच्चको फैसलामा संविधानको धारा ७६ (५) अन्तर्गत नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत लिँदा दलीय ह्वीप नलाग्नेसमेत उल्लेख छ । विश्वासको मत लिन देउवा सफल नभए प्रतिनिधिसभा स्वतः विघटन भएर देश चुनावतिर जाने छ।

    सर्वोच्चको फैसला आएकै दिन सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफूहरु गठबन्धनबाट बाहिरिने घोषणा गरेका थिए । सर्वोच्चको फैसला र कार्यदलमा भएको १० बुँदे सहमतिले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको भन्दै परिस्थिति विझिदिन नेता नेपालले अन्य नेताहरुसँग आग्रह गरेका थिए ।

    तर फैसलापछि ओली पक्ष माधव नेपालसँग रुष्ट बनेको छ। एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ फैसलापछि नेपालको गतिविधिले संवादको सम्भावाना नरहेको बताउँछन् । उनले भने, ‘फैसलापछि उहाँको गतिविधि जुन देखिएको छ, त्यसले स्थिति त्यति धेरै सकरात्मक देखिन्न।’

    विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनुपरेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ। नेपाल पक्षका केन्दीय सदस्य चौधरी यसलाई बालुवाटार छोड्नु परेको पीडा र आवेग भन्दै त्यो केही समय मात्रै रहने बताउँछन्।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो। कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

  • गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।

    गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

    अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

    गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

    उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने बताएका छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ

    सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    ‘आइतबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने छ,’ धामीले भने । पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागिसमेत छुट्दाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको उनले बताए ।

    विश्वासको मत पाउने सम्भावना

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका २५ नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२ र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद छन् । मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वास पाउन २७ मत आवश्यक पर्छ ।

    माओवादी केन्द्रले आवश्यकता भन्दा बढी मत आउने दाबी गरेको छ । विगतमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि असहयोग नगर्ने माओवादीको दावी छ ।

    ‘हाम्रो मत सुनिश्चित छ । त्यो भन्दा बढी थप्ने प्रयासमा छौं’ माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले बताए ।

    अहिले माओवादीसँग १३ सांसद छन् । एमालेको माधव पक्षका सांसदले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने माधव पक्षका नेता अमर बहादुर साउदले बताए ।

    ‘यसअघि नै यहि सरकारलाई समर्थन दिने निर्णय गरेका थियौं त्यहि अनुसार अघि बढ्छौं’ उनले भने ।

    १३ माओवादी र १५ नेपाल पक्षको मत मुख्यमन्त्रीले पाउने आंकलन छ । माओवादीले अहिले कांग्रेसलाई पनि मनाउने प्रयास गरिरहेको छ । अहिले कांग्रेसको अहिले संसदीय दलको बैठक बसिरहेको छ र बैठकले विश्वासको मत दिने/नदिने निर्णय गर्नेछ ।

    विपक्षमा मतदान गर्न एमालेको ह्वीप

    एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई निर्देशन सहितको पत्र पठाएका छन् ।

    माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले केहिबेरमा विश्वासको मत लिँदैछन् । त्यसमा विपक्षमा मतदान गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए । त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई विपक्षमा मतदान गर्न निर्देशन दिँदै छुट्टछुट्टै पत्र काटेको छ ।

    १० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिँदै

    सुदूरपश्चिमका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

    आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको छ । सरकारले आज बिश्वासको मत लिन खोजेको तर कांग्रेसले बिरोध गरेपछि भोलिका लागि सरेको कांग्रेस संसदीय दलका नेता रण बहादुर रावलले बताए ।

    जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यहाँको संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

  • प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिने

    प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट हिजो नै विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

    नेकपा विघटन र एमालेभित्रकै आन्तरिक कलहका कारण सत्ता संकटमा परेका बेला ओलीले विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । संसदबाट विश्वासको मत लिन निर्णायक मतका रुपमा नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरु देखिएका छन् ।

    आन्तरिक विवाद समाधानका लागि एमाले नेताहरु दिन रात प्रयासरत छन् । पछिल्लो समयमा माग पूरा गरी सहमतिका लागि माधवपक्षले संस्थापन पक्षलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

    प्रतिनिधिसभामा नेकपा एमालेका १ सय २१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ५० र जनता समाजवादी पार्टी (जसपा)का ३४ सांसद छन् ।

    नेपाली कांग्रेस र माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने जसपाकाे महन्थ ठाकुर पक्ष तथस्ट बस्ने भएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले भने विपक्षमा मतदान गर्ने भएकाे छ ।

    विश्वासको मतका लागि ओली सरकारलाई कम्तिमा १ सय ३४ मतको आवश्यकता पर्नेछ ।

    एमालेले सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि माधव नेपाल पक्षीय केहि सांसदबाट फ्लोर क्रस हुनसक्ने वा मतदानअघि नै राजीनामा हुनसक्ने सम्भावना छ ।

  • बैशाख २७: केन्द्रमा ओली र प्रदेशमा पीएसको ‘भाग्य’ फैसला

    बैशाख २७: केन्द्रमा ओली र प्रदेशमा पीएसको ‘भाग्य’ फैसला

    काठमाडौं। नेपाली राजनीतिका लागि बैशाख २७ अर्को महत्वपूर्ण तिथि बन्न गइरहेको छ। २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र गण्डकी प्रदेशका मुख्यमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्दैछन्।

    विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। ओली बुधबार विश्वासको मत माग्न देउवाको दैलो पुगे । प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा ओली पुगेको पहिलो पटक हो ।

    आफ्ना निटक नेताहरुसँगै लिएर बुढानीलकण्ठ पुगेका ओलीले देउवासमक्ष आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । देउवा पनि आफू निटक नेताहरुसँगै थिए, उनले ओलीको प्रस्ताव अस्वीकार गरिदिए । सह–महामन्त्री प्रकाशशरण महतले आफ्ना सभापति देउवाले प्रमुख प्रतिपक्षी भएकाले सरकारलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारेको संवाददाताहरुलाई बताएका थिए ।

    आफ्नो सक्रियतालाई ओलीले बिहीबार पनि निरन्तरता दिए । पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक राखे । बैठकमा विश्वासको मत माग्न भइरहेको छलफलाई अझैं सघन बनाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकपछि संवाददाताहरुसँग ज्ञवालीले भने, ‘विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेको छ । अझ सघन ढंगले छलफल चलाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएका छन् ।’

    स्थायी कमिटी बैठक सकिने बित्तिकै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे । र, साँझपखका लागि मन्त्रिपरिषद् बैठकसमेत बोलाए ।

    २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत जित्न सक्छन् या सक्दैनन् अझैं स्पष्ट भइसकेको छैन्, तर प्रारम्भिक अंक गणित उनलाई साथ दिने खालको छैन् । आफ्नै पार्टीका नेता माधव नेपाल पक्षले उनलाई अप्ठ्यारोमा पार्ने देखिन्छ । नेपाल पक्षका सांस प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम पक्षलाई बहुमत पुर्याउन सहज हुने गरी २७ अघि नै सामूहिक राजीनामा दिन तम्तयार भएको भन्ने कुराहरु पनि आइरहेका छन् ।

    हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ मत चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ । त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । नेपाल पक्षले विपक्षीलाई बहुमत पुग्ने गरि राजीनामा दिने बताइएको छ। आवश्यक प्रत्यक्ष चुनाव जितेका २२ सांसद सामूहिक राजीनामा दिन तयार भएको बताइन्छ । यस्तो भएमा ओलीलाई विश्वासको मत प्राप्त गर्न असम्भव हुनेछ ।

    ओलीले अल्मपमा परे पुनः प्रतिनिधिसभा विघटन गरेर चुनावमा जान्छन् भन्ने भय पनि विपक्षीहरुलाई छ ।

    उता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताको छिनोफानो पनि बैशाख २७ मै हुँदैछ । गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गतेका लागि बोलाइएको छ ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक तय गरेको हो । गण्डकीमा बैशाख १५ गते गुरुङविरुद्धको अविश्वास प्रस्तावमािथ मतदान हुँदै थियो, तर त्यही दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि हंगमा भएको थियो ।

    शाही कोरोना संक्रमित भएको भन्दै अस्तपताल भर्ना भएको खुलेको थियो । तर, उनको दुई थरी पीसीआर रिपोर्टले उनको अस्पताल बसाई शंकाको घेरामा परेको थियो । शाहीको दल राष्ट्रिय जनमोर्चालले आफ्ना सांसद खोजिदिन सभामुखलाई निवेदन दिएपछि सभामुख नेत्रप्रसाद अधिकारीले अनिश्चित कालका लागि प्रदेशसभा स्थगन गरिदिएका थिए ।

    यसबाट क्रुद्ध बनेका मुख्यमन्त्री गुरुङले सभामुखमाथि आक्रोश पोखेका थिए । शुरुमा उनी पुनः प्रदेशसभा बैठककै लागि तयार थिएनन् । पटक–पटकको बैठकको बाबजुत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिमा बैशाख २७ गते मतदान गर्ने सहमति जुटेको हो ।

    ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।

    अविश्वास प्रस्ताव असफल बनाउन गुरुङलाई ३१ मत चाहिन्छ । सभामा नेकपा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि एमालेलाई नै सर्मथन गर्ने बताएका छन्। त्यसको बदलामा उनी खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् । सबै जोड्दा एमालेको पक्षमा २८ सांसद रहेको प्रष्ट हुन्छ ।

    उता विपक्षीसँग कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ गरि ३२ सांसद छन् । यो सभामुखसहितको हो । यसअघि ‘बेपत्ता’ भएका सांसद शाहीले ‘फ्लोर क्रस’ गर्दा पनि विपक्षीलाई बहुमत पुग्ने देखिन्छ ।

    तर, अन्तिम समयमा अनुमान बाहिरका घटना हुने नेपाली राजनीतिमा अहिले निचोडमा पुग्नु हतारो पनि हुन्छ । ओली र गुरुङको भाग्य’ फैसलाका लागि भने २७ सम्मै कुर्नुपर्ने हुन्छ ।