जुम्ला । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।
चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो ।
मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उनको भनाइ छ ।
अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताए । यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ । रासस
मंसिरलाई विवाहको महिना पनि भनिन्छ । किनकि, यो महिनामा विवाहका धेरै लग्न हुन्छन् र विवाह हुन्छन् ।
मंसिरसँगै सुरु हुन्छ, केटालाई केटी र केटीलाई केटा खोज्ने चटारो । बाआमालाई हतार हुन्छ, लगन छोप्न । यस्तो लाग्छ कि, कुनै ठूलो होडबाजी चलिरहेको छ ।
अझ धेरै केटीका बाबुआमाहरू यहीं कुरामा बढी सावधान हुन्छन् कि आफ्नी छोरीमा कुनै खोट नदेखियोस्; सकभर पहिलोपटक हेरेको केटाले नै विवाहको लागि ‘हुन्छ’ भनिदियोस् । पहिलो केटाले नै छोरीलाई मन पराइदियोस् । किनकि पहिलो केटाबाट अस्वीकार हुनु भएको केटी र केटीको परिवारको लागि बढो हीनताबोधको कुरा हुन्छ । पहिलो केटाबाट अस्वीकार भएकी केटी र केटीको परिवारलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन ।
त्यसैले पनि आमाबाबु यो कुरामा बढी सजग देखिन्छन् । साथै ‘आफ्नो क्षमतामाभन्दा माथि गएर’ छोरीको विवाह गरिदिन बाबुआमा तयार हुन्छन् । केटो कति शिक्षित, क्षमतावान् वा समझदार छ भन्नेमा केटीको परिवारको ध्यान जाँदैन । केटो र केटाको परिवारको मर्जी भए पुगिहाल्यो । त्यहाँ केटीको रहर, चाहना वा भावनाको कुनै कदर हुँदैन । आफ्ना हरकुरा मनमै दबाएर परिवारको निर्णयमा मुन्टो हल्लाउन अभीषप्त हुन्छिन्, केटी ।
अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ ।
अनि केटीहरु पनि यसरी उपस्थित हुन्छन् कि, मानौँ उनीहरु कतै सजाएर राखेका सुन्दर खेलौना हुन् । जसलाई भर्खर दराजबाट बाहिर निकालिँदैछ । र फेरि दुःख त कहाँ लाग्छ भने केटीहरू पनि बिनाविरोध, बिनासवाल–जवाफ गुडिया बन्न तयार भइदिन्छन् ? र गुडिया बनेर उपस्थित पनि भइदिन्छन् । यो पितृसत्ताको सोच कतिसम्म हाबी हुन सकेको होला, महिलाहरुको जिन्दगीमा । अझ कहिलेसम्म होला महिलाहरु पितृसत्ताको सिकार भइरहने ?
अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ । कतिको विवाह गर्ने सपना हुन्छ, कतिले घरकाको करले विवाह गरेका हुन्छन् । कतिलाई बाबुआमालाई मर्न सजिलो बनाइदिनलाई पनि विवाह गर्नुपर्ने हुन्छ । अनेकौं कारणसहित एउटा केटीले विवाह मण्डपदेखि केटाको घरसम्मको दूरी तय गर्छे ।
राजीखुसिले बिहे गर्नेको लागि त ठीक छ बिहे । तर हाम्रो समाजमा विवाहको लागि यस्तो मापदण्ड तय गरिएको छ, जसलाई पूरा नगर्नु ठूलै पापसरह मानिन्छ । केटीले, केटीका परिवारले समाजका अनेकौं कुराहरु सुन्नुपर्ने हुन्छ । कहिलेकाहीँ त स्थिति यतिसम्म बन्न जान्छ कि सुन्नसक्ने क्षमता पनि सकिएर जान्छ ।
अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।
मलाई विवाहसँग समस्या होइन, विवाहलाई लिएर हाम्रो समाजले तोकेको मापदण्डसँग हो । विवाह आफैँमा समस्या नभए पनि यसैसँगै समाजले तोकेको मापदंडमा प्रचुर समस्याहरू छन्, जसमा केटीको उमेर, केटीको संस्कार, केटीको कपाल र केटीको पहिरन आदिआदि प्रमुख कुरा हुन आइदिन्छ ।
एकपल त यस्तो लाग्छ– हाम्रो समाजले ‘केटी पनि मान्छे नै हो’ भनेर सोच्नै बिर्सन्छ । उसलाई मान्छेको दृष्टिकोणले हेर्नै चाहन्नन् । बस् हेर्छ त लिंगको रूपमा– ‘ऊ छोरी हो, ऊ केटी हो । बीस वर्ष पुगेपछि विवाह गर्नै पर्छ, नभए विवाहको उमेर सकिएर जान्छ । यो उमेरमा विवाह भएन भने समाजको हिस्सा बन्न सुहाउँदिन ।
अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।
केटाहरुलाई अर्कै सोचले प्रताडित बनाइरहेको हुन्छ– प्रेमिकालाई कुन चाहिँ पिआरवालाले उडाउँने हो ! जब जब यस्ता स्टाटस, ट्वीटहरू प्रकाशित भएका भेटिन्छन्, अनि केटा मान्छेहरुका यस्ता सोचहरू सुनिन्छन्, तिनले अचम्मित पार्छन् ।
किनकि जुन प्रेम सम्बन्धमा विश्वासको डोरी नै कायम भएको हुँदैन, यस्तो प्रेमबाट कस्तो अपेक्षा राख्ने ? अनि केटीहरुले आफ्नो भविष्य सोच्नै नपाउने यो कस्तो दासत्व हो ? विवाहपछि अधिकांश केटीहरु श्रीमानको अधिनमा हुन्छन्, यो कुरा भन्नै पर्दैन । अब कि विवाहअघि प्रेमीको अधिनमा पनि हुनै पर्ने । अझ दुईचार दिन भेटेर बोलेको मान्छेको अधिनमा हुनैपर्ने सोचको उपज केटीको जीवनलाई नै नियन्त्रित हुने गरेको छ ।
अघिपछि छोरीको कपडा, संस्कार र कपालको कुरालाई नजरअन्दाज गरिरहेका बाबुआमालाई विहेको कुरा चलेसँगै सबै कुराको चासो हुन्छ । हिजोसम्म पाइन्ट टिसर्ट लगाइरहेकी छोरीलाई आमाको उर्दी जारी हुन्छ– कुर्ता लगाऊ, सल ओड, आफूलाई छोपेर हिँड, कपाल नकाट, उता केटाहरुलाई मन पर्दैन । खाना बनाउन सिक, तिमीलाई हेर्न केटाहरु आउँदैछन् । चिटिक्क परेर बस । धेरै नबोल । बेस्सरी नहाँस । उपरखुट्टी हालेर नबस । ओहो ! यस्तो कुरा कति हो कति ! त्यतिबेला लाग्छ विश्वविद्यालयको प्रमाणपत्र फिक्का पार्दैछ । बरु भान्साको, घरको अनि केटाको अगाडि कसरी प्रस्तुत हुने भनेर कक्षा लिएको भए हुन्थ्यो होला ।
विवाहले किन एउटी केटीको लागि यति धेरै बारहरु, मापदण्डहरु निर्माण गरिदिन्छन् होला ? आफ्नो जिन्दगी, सोच, निर्णय, फैसला, अनुभूतितहरु पनि त हुन्छन् होला । आफ्नो लागि के सही, के गलत भनेर आफैँ पनि सोच्नसक्ने भएको हुनैपर्छ ।
बाबु–आमाको त छँदै थियो, दाइ–भाइको पनि राम्रै प्रभुत्व हुन्छ केटीको जिन्दगीमा । कहिलेकाहीँ सोच्छु यतिका मान्छेले प्रभुत्व राखिरहँदा कहाँ हुन्छे स्वयम् एउटी केटी मान्छे ? कहाँ छ उसको स्वतन्त्रता, उसको सोचको सम्मान ? कहाँ छ उसको भावनाको कदर ? कहाँ छे ऊ स्वयम् ? कहिलेकाही यी र यस्ता प्रश्नले खुब रन्थल्याउँछ ।
विवाहको आफ्नै ठाउँ होला हरेकको जिन्दगीमा । तर कयौंपटक असहमति जनाउँदा जनाउँदै पनि कयौं केटीहरूले आफ्नै केटा साथीहरुबाट दुर्व्यवहार सहनु परेको हुन्छ । प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण जल्नु र जलाइनु परेको हुन्छ, तीब्र मानसिक पीडा वा एसिड आक्रमणसम्मका अपराधको सिकार बन्नुपर्छ । योभन्दा निकृष्ट सोच वा स्थिति के होला ?
विवाहलाई नै जिन्दगी मान्नेको ठूलै संख्या छ हाम्रो वरपर । अधिकांश केटीहरू विवाहको सपना देखेर विवाहकै सिकार हुन्छन्, हाम्रो समाजमा । विवाहलाई जिन्दगीको एउटा सुन्दर पक्ष मानेर अगाडि बढ्ने हो, न कि विवाहलाई जिन्दगी बनाएर जिन्दगी नै दाउमा राख्न नपरोस् ! यो कुरा बुझ्न केटीहरुलाई अझ कति समय लाग्ने हो, भन्न गाह्रो छ । र पितृसत्ताको यो जरोले कहिलेसम्म हामीलाई सताइरहने हो ?
विवाहको सकारात्मक र नकारात्मक पक्षलाई नकेलाइक पाइला चाल्नेहरूको समूह एकातिर छ भने विवाहको नकारात्मक पक्षलाई मात्र हेरर यसको आलोचना गर्ने समूह पनि कम छैन हाम्रो समाजमा ।
छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?
बदलिँदै गरेको समाज, बदलिँदै गरेको समय अनि यो समयसँग जुध्न नसकेका कतिपय युवाहरु– विवाह जति केटीको लागि असहज र हाउगुजीको विषय बनेको छ, त्यति नै केटाको लागि पनि असहज विषय हो । प्रेम विवाह आफ्नो ठाउँमा छ तर आज पनि हाम्रो समाजले, हाम्रा आमाबाबुले चाहने, खोज्ने र रोज्ने भनेको मागी विवाह नै हो ।
मागी विवाहको महत्व नै छुट्टै हुन्छ हाम्रो समाजमा । प्रेम विवाहलाई आज पनि हाम्रो समाजमा पूर्णतया राम्रो नजरले हेरिँदैन । न पाउनु पर्ने जति इज्जत प्रेम विवाहले पाउँछ । त्यसैले विवाह केटा पक्षको लागि पनि त्यति नै नयाँ, कौतुहलता र असहजताको विषय हो जति एउटा केटीको निम्ति हो । तर विहेकै नाममा केटाभन्दा केटीहरु बढी सिकार हुन पुग्छन् हाम्रो समाजमा ।
छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?
मैले आफ्नो जिन्दगीमा परिपक्वतासँगै स्वतन्त्रतासँग केही चुनौतीपूर्ण वसन्तहरू पार गरिरहँदा जसरी मंसिर र भोजलाई लिएर प्रश्नहरू सुनेँ, तिनको सामना गरेँ, ती कुराले मलाई केही फरक तरिकाले सोच्न सिकायो । जुन म आफ्नो उपलब्धी मान्छु । मलाई यी दिनहरुमा विवाहसँग समस्या होइन, तर मलाई जहिले पनि स्वतन्त्रता, आत्मनिर्भरता र आफ्नोपनसँग प्रेम रहिरह्यो र रहिरहने छ– यो सत्य हो ।
केटीले आफ्नो निम्ति श्रीमानभन्दा बढी एउटा साथी चाहन्छे, जसले उसका सारा कुरालाई सहजै बुझिदियोस् । उसका खुसी, उमंग सहजै बुझिदियोस्, बाँडिदियोस् वा ग्रहण गरिदियाेस् ।
दुःख त कसको जिन्दगीमा हुँदैन र, संघर्ष कसले गर्दैन र ? बश उसका खुसीमा ऊजत्तिकै खुसी र उत्साही हुने साथी होस्, जीवनसाथी ।
जुन दिन हाम्रो समाजले छोरीलाई एउटी पूर्ण मान्छेको व्यवहार गर्छ, श्रीमानले श्रीमती मात्रै भन्दा पनि साथी सोच्छ, त्यसदिनदेखि बाआमालाई पनि छोरीको विहे गरिदिन हतार हुँदैन । अनि, आफन्तले पनि हरेक वर्ष सोध्ने छैनन्– मंसिर लाग्यो, भोज खुवाउने हैन त !
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।
उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।
बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।
उनीहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्ष भएका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो हो ।
काठमाडौं । विहीबारदेखि काठमाडौं उपयत्यकामा लागु हुन लागेको दुई साता लामो निषेधाज्ञा (लकडाउन)को बेला विवाह र व्रतबन्ध सांस्कृतिक गतिबिधि १५ जनामा सीमित राखेर गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले थप आदेश जारी गर्दै दुलाहा-दुलहीसहित १५ जना सहभागी भएर ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गर्न पाउनेछन् । त्यसका लागि जिल्ला प्रशासनबाट अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।
तर विवाह र ब्रतबन्ध गर्न पार्टी प्यालेस प्रयोग गर्नु परेमा भने जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ । तर पार्टी प्यालेसमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
विवाहव्रतबन्धमा सहभागी भइ अरु जिल्ला फर्किनुपर्ने भएमा चालकसहित बढीमा सात जना सम्मको लागि सम्बन्धित स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने बताइएको छ । त्यस्तै मृत्यु संस्कार र विरामी कुरुवाको हकमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने छ ।
जनकपुरधाम । गत फाल्गुन ८ गते झापाको भद्रपुर नगरपालिका ८ की ४४ वर्षीया कल्पना गुरागाई (नाम परिवर्तन) जनकपुरको एउटा होटलमा मृत भेटिइन् । होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
कल्पनाका माइती पक्षले महोत्तरी घर भएका डा. राहुल पाण्डेले विवाह गरेर धोका दिएपछि आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले पाण्डेविरुद्ध उजुरी पनि दिएका छन् । प्रहरी स्रोतका अनुसार पाण्डेले आफूहरुसित सम्बन्ध रहेको भए पनि विवाह गरेको स्वीकारेका छैनन् ।
स्मरणीय के छ भने कल्पना विवाहित हुन् र पाण्डे अविवाहित । उनीहरुबीच काठमाडौंमा भेट भएर प्रेममा परेका थिए । एमबीबीएस पढिरहेका पाण्डे कल्पनाले सञ्चालन गरेको होस्टलमा बस्ने गर्थे । त्यही क्रममा उनीहरु नजिकिएका थिए ।
पाण्डेको पढाइ सकिएपछि उनी महोत्तरीस्थित घर फर्किए । घर फर्किनुअघि नै कल्पनासित उनले पशुपतिनाथ मन्दिरमा विवाह गरेको आफन्तको दाबी छ । होस्टेलमा उनीहरु सँगै बस्थे । घर फर्किएपछि भने पाण्डे कल्पनाको सम्पर्कमा आएनन् । त्यसपछि कल्पनाले खोजतलास गर्न थालिन् । उनले आफ्नो होस्टेलसमेत बेचिन् ।
डा. पाण्डे घर फर्किएपछि जनकपुरस्थित काव्या हस्पिटलमा काम गर्न थाले । यो कुरा कल्पनाले थाहा पाइन् । जनकपुरका सामाजिक अभियन्ता सरोज रायमार्फत उनी डा. पाण्डेलाई खोज्दै महोत्तरीको जलेश्वर पुगिन् ।
करिब एक महिनाअघि जलेश्वर आएकी थिइन् कल्पना । उनले अधिकारकर्मी, पत्रकार, प्रहरी र राजनीतिकर्मीसँग समेत गुहार मागिन् । जलेश्वर आएलगत्तै उनी अधिकारकर्मी सबिता यादवको सम्पर्कमा आएकी थिइन् ।
सबिता भन्छिन्, ‘जलेश्वर आउँदा उनी टुटिसकेकी थिइन् । तैपनि न्याय पाउने आश मरेको थिएन । जनकपुरमा डा. पाण्डेसँग कुरा भयो । डा. पाण्डेले फिजिकल रिलेसनसिपमा आफू बसेको स्वीकारे तर बिहे गरेको स्वीकारेनन् ।’
सबिताका अनुसार आफूभन्दा धेरै उमेर भएको भन्दै कल्पनासँग बिहे नगर्ने अडान लिए पाण्डेले । छलफलमा कुनै सहमति भएन । कल्पनाले कानूनी लडाइँ लड्ने मनस्थिति बनाइन् । उजुरी लिएर जलेश्वर प्रहरीमा पुगिन् । प्रहरीले उजुरी लिन मानेन । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइन् । उनले अदालतमा मुद्दा हाल्न वकिलसँग सल्लाह गरेकी थिइन् ।
कल्पनासँग पैसा थिएन । खानबस्न पनि समस्या थियो । अधिकारकर्मी सबिताले आफ्नै घरमा उनलाई १० दिन राखेकी थिइन् । उनले जलेश्वरमै बसेर कानूनी लडाइँ लड्ने सोचमा डेरा लिएकी थिइन् । उनलाई जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा. रिना यादवले ५ हजार रुपैयाँ सहयोग गरेको बुझिएको छ ।
आत्महत्या गर्नुभन्दा एकदिनअघि आफूसँग कल्पनाले जनकपुरमै ७ हजार रुपैयाँ मागेको अधिकारकर्मी सबिताले बताइन् । उनले भनिन्, ‘मसँग भएको एक हजार रुपैयाँ दिएको थिएँ । त्यसको भोलिपल्ट बिहान उनले आत्महत्या गरेको थाहा पाएँ ।’
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा मृत फेला परिन् कल्पना । उनको साथबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ ।
स्रोतका अनुसार पाण्डेले जसपाका केही नेतामार्फत कल्पनालाई आर्थिक प्रलोभन दिएका थिए । कल्पना र पाण्डेबीचको छलफलमा सहभागी स्रोतले भन्यो, ‘उमेर धेरै भएकाले आफ्नो परिवारले नस्वीकार्ने भन्दै डा. पाण्डेले ६/७ लाख रुपैयाँ लिएर सम्बन्ध छुटाउन दबाब दिएका थिए ।’
पैसामा सम्झौता गर्न जसपा नेतृ विभा ठाकुरले कल्पनालाई दबाब दिएको स्रोतको दाबी छ । डा. पाण्डे कार्यरत काव्या हस्पिटल पनि जसपाकै समर्थक डा. एसके सिंहको हो । घटना मिलाउन डा. सिंहले जसपा नेतृ ठाकुरलाई परिचालन गरेको स्रोतले जनाएको छ ।
कल्पनाकाे पहिलो विवाह दुई दशकअघि नै भएको थियो । उनका श्रीमान्, एक छोरा र एक छोरी छन् । श्रीमान् रोजगारका क्रममा कतार पुगेपछि उनी काठमाडौंमा बस्न थालेकी थिइन् । सोही क्रममा उनले होस्टेल सञ्चालन गरेकी हुन् ।
होस्टलमै बसेका डा. पाण्डेसँग प्रेम भएपछि उनले परिवार छाडिन् । कल्पनाकी आमाजु शर्मिला लामिछाने भन्छिन्, ‘डा. पाण्डेले परिवारसँग टाढा गरायो तर धोका दियो ।’
प्रहरीमा जाहेरी
मृतककी आमाजु लामिछानेले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उनी भन्छिन्, ‘आत्महत्या गर्न डा. पाण्डेले नै बाध्य पारे । उनीमाथि कडा कारबाही हुनुपर्छ ।’
आत्महत्या गर्नुपूर्व कल्पनाले लेखेको ६ पेज लामो ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । लामिछानेले भनिन्, ‘सुसाइड नोटमा पनि डा. पाण्डेलाई दोषी देखाएकी छन् । प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्छ ।’
धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले पीडित परिवारबाट जाहेरी आएको बताए । उनले भने, ‘सुसाइड नोटमा डा. पाण्डेलाई दोष देखाइएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’
काठमाडौं । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाहसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए ।
मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।
पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनीहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताएका छन् ।
‘बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ’, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, ‘पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।’
कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।बालविवाहपछि भविष्यमा थुप्रै खालका घरेलु तथा लैङ्गिक हिंसाहरु बढ्दै गएका छन् ।
पुरोहितहरुले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनीहरुलाई विवाह बन्धनमा नवाधिन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए कानूनले बर्जित गरेका कुराहरुलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रुपमा रहेका पुरोहितहरुले निस्तेज गर्नुपर्ने बताउँदै उनले त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत सबैमा आग्रह गरे ।
‘रीतिअनुसार पुरोहितले विधी पुर्याएमा मात्र विवाह हुने हो, यसक्रममा धेरैजसो बालविवाह पुरोहितले विधी पुर्याउँछन्’, उनले भने, ‘तिनै पुरोहितहरुलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’
बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बालविवाह र बहुविवाह सामाजिक कुरीतिविरुद्ध चेतना अभिवृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नाकारात्मक परिणामको जानकारी दिन पनि पुरोहितहरुलाई उनले आग्रह गरे ।
विश्व हिन्दु महासङ्घ पर्वतका सभापति लोकनाथ आचार्यले कतिपय बाध्यात्मक अवस्थामा पुरोहितहरुले काम गर्नुपर्ने भएकाले विवाह रोक्नु ठूलो जोखिम हुने बताए । उनले सहज परिस्थितिमा बाहेक सबै ठाउँमा सम्भव हुन नसक्ने बताए ।
सो अवसरमा बालविवाह र बहुविवाहको कानूनी अवस्थाका बारेमा प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी गराए । रासस
भनिन्छ, महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । सम्भवतः ‘विवाह’ को मर्मले पनि यो भनाइसँग तादाम्यता राख्छ । पुरुष र महिला जब विवाह गरेर श्रीमान्–श्रीमती बन्छन्, अनि जीवनको रथ गुडाउन सहज हुने विश्वास गरिन्छ ।
विवाह एउटा सामाजिक परम्परा हो, तर यसलाई कुनै नियम–कानूनले बाध्यकारी बनाएको छैन । तपाईं २० वर्ष कटेपछि चाहेको समयमा विवाह गर्न स्वतन्त्र हुनुहुन्छ । नगर्न पनि स्वतन्त्र हुनुहुन्छ । विवाह गरेर सुखद जीवन व्यतीत गरेकाहरू धेरै छन् । अनि विवाह नगरी खुशीसाथ बाँचिरहेकाहरू पनि हाम्रै समाजभित्र छन् ।
सामान्यतया नेपाली समाजमा केटी २० वर्ष र केटा २५ वर्ष कटेपछि विवाहको चर्चा शुरू हुन्छ । पारिवारिक दबाब आउन थाल्छ । ३० वर्षको आसपासमा दबाब उत्कर्षमा पुग्छ । ३५ वर्ष कटेपछि दबाब दिनेहरू शिथिल बन्न थाल्छन् । ४० वर्ष कटेपछि विवाहको सम्भावना घटेर जान्छ । यद्यपि, ४० कटेर विवाह गर्नेहरू पनि छन् ।
जब पब्लिक फिगरको प्रसंग आउँछ, उनीहरूलाई विवाहको बेग्लै दबाब हुन्छ । विवाह गर्न ढिला भयो भने परिवार र आफन्तबाट मात्र होइन, मिडियाबाट पनि बारम्बार सवाल गरिन्छ, कहिले विवाह गर्ने ? ढिला भएन ?
यहाँ हामी केही सार्वजनिक व्यक्तित्वहरूको चर्चा गर्दैछौं, जसले लगातार विवाहको प्रश्नलाई सामना गर्दै तर विवाहलाई पन्छाउँदै एकल जीवन बाँचिरहेका छन् । यस्ता व्यक्तित्व राजनीतिदेखि कलाकारितासम्म छन् । उनीहरुमध्ये कसैले यसपालिको भ्यालेन्टाइन डेमा कोही सहयात्री भेट्लान् त ?
नारायणकाजी श्रेष्ठ नेकपा नेता
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका प्रवक्ता एवं राष्ट्रिय सभा अध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले ६० वर्षका भए । उनले विवाह नगर्ने सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् । व्यक्तिगत जीवनबारे त्यति खुल्न नचाहने नारायणकाजी विवाहलाई अनिवार्य सोच्दैनन् । ‘एक्लो भएर नै मैले यो किसिमको जीवन बाँच्न पाएको छु’, आफ्नो राजनीतिक व्यस्ततालाई इंगित गर्दै उनी भन्छन् ।
केही वर्षअघि एक टेलिभिजन संवादको क्रममा उनले एक्लो हुँदा आफूलाई जीवनसाथीको अभाव महसूस नभएको बताएका थिए । पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले पनि नारायणकाजीलाई विवाहका लागि थुप्रै पहल गरे तर उनी विवाह नगर्नेमै अडिग रहे । त्यसो त केही समयदेखि उनको नाम आफ्नै स्वकीय सचिवसँग जोडिने गरेको छ । दुई महिना अगाडि एउटा लेनदेनको विवादमा मुछिंदा उनीहरूका युगल तस्वीर सामाजिक सञ्जालमा भाइरल गरिएका थिए । उनीहरूले भने आफूहरूबीच गलत सम्बन्ध नरहेको स्पष्टीकरण दिंदै आएका छन् ।
गिरिराजमणि पोखरेल नेकपा नेता
पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य हुन् । उमेरले ६ दशकको यात्रामा रहेका उनी पनि अहिलेसम्म अविवाहित छन् ।
किशोरवयदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका पोखरेल राजनीतिक व्यस्तताले गर्दा प्रेम–विवाहबारे सोच्न नभ्याएको बताउने गर्छन् । आफूले बिहे नगरे पनि धेरै साथीहरूको विवाह भने गराइदिएको उनको भनाइ छ ।
झण्डै दुई दशकअघि गिरिराजमणिले शहीदका बालबालिका राखेर आधारशिला कम्युन शुरू गरेका थिए । त्यहींका बालबालिका र साथीहरूलाई नै उनी आफ्नो परिवार मान्छन् । पटक–पटक मन्त्रीसमेत भइसकेका पोखरेल भन्छन्, ‘अब त उमेर पनि गइसक्यो । बिहे गर्दिनँ ।’
पम्फा भुषाल नेकपा नेतृ
नेकपा प्रचण्ड–नेपाल समूहकै स्थायी समिति सदस्य पम्फा भुषाल अविवाहित छिन् । करिब ६० वर्ष पुग्नै लागेकी पम्फाले पनि आफ्नो सिंगो जीवन राजनीतिमै व्यतीत गरेकी छन् ।
जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुषालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक करिअर अघि बढाइन् । २०३७ सालमा चौथो महाधिवेशनको सदस्यता लिएकी उनी २०५१ सालमा माओवादी केन्द्रीय सदस्य बनिन् । अहिले नेकपाको प्रभावशाली नेतामध्येकी एक उनी अब विवाह नगर्ने बताउँछिन् ।
जनयुद्धकालमा तत्कालीन माओवादीकै एक चर्चित नेतासँग पम्फाको नाम जोडिएको थियो । पार्टीले दिएको जिम्मेवारी अनुसार लखनऊमा बस्दा उनीहरूबीच निकटता बढेको चर्चा माओवादीवृत्तमा अहिले पनि हुने गर्छ । प्रचण्डले त्यो बेला पार्टीमा पेश गरेको एक प्रतिवेदनमा नै ‘२०५३ साल असारदेखि फागुन मसान्तसम्म आइपुग्दाको करिब ९ महिनामा कमरेड … र कमरेड हिमाली (पम्फा) को सम्बन्ध आश्चर्यजनक तीव्रताका साथ अघि बढेको’ उल्लेख थियो । यस मामलामा माओवादीले उनीहरूमाथि ‘सांस्कृतिक विचलन’ को आरोपमा कारबाही समेत गरेको थियो ।
तुलसी दिवस साहित्यकार
कवि तुलसी दिवस उमेरले ८० वर्ष उकालो लागिसके । जीवनको लामो हिस्सा कविता र लोक संस्कृतिको उत्थानमा बिताएका उनले विवाह गरेनन् । उनका जीवनमा धेरै प्रेमिकाहरू आए तर, विवाह गर्ने सोच उनले कहिल्यै बनाएनन् ।
तुलसी दिवसले आफ्ना प्रेम सम्बन्धहरूका विषयमा सार्वजनिक चर्चासमेत गर्ने गरेका छन् । जीवनमा धेरै प्रेमिका आएकै कारण एउटालाई रोज्न नसक्दा आफ्नो बिहे नभएको उनी बताउँछन् ।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कहिलेकाहीं त एकैपटक दुई–तीन जनासँग प्रेममा थिएँ । मैले आफ्नो प्रेमलाई कहिल्यै नकारात्मक रूपमा लिइनँ ।’
प्रेम र विवाहका विषयमा उनी भन्छन्, ‘हामी प्रेमलाई विवाहसँग जोडेर हेर्छौं । तर, त्यो गलत हो । प्रेम त कसैले कसैलाई दिने सुन्दर उपहार हो, जुन शारीरिक, जैविक वा मानसिक–आत्मिक जसरी पनि हुन सक्छ ।
कोमल ओली गायिका, नेतृ
चर्चित लोकगायिका कोमल ओली केही समयदेखि राजनीतिमा छिन् । उनी अहिले राष्ट्रिय सभा सदस्य हुन् ।
ओलीलाई विवाहको विषयमा पत्रकारले सोध्न थालेको धेरै भयो । जवाफ दिंदा दिंदा उनी थाकिसकेकी छन् । तर, सोध्ने पत्रकार थाकेका छैनन् । अहिले पनि प्रश्न आइनै रहन्छन्, विवाह नगर्ने ? कहिले गर्ने ?
कोमल अब विवाह नगर्ने मनस्थितिमा पुगिसकेकी छन् । एउटा अन्तर्वार्तामा उनले भनेकी छन्, ‘खै, अब त के विवाह गरिएला र ? धेरै विवाहितहरूको अवस्था हेर्दा विवाह गर्ने चाहना नै हराइसकेको छ ।’
कोमल ओलीले लामो समय रेडियो नेपालमा काम गरिन् । उनी कहिलेकाहीं ठट्यौलीमा भन्ने गर्छिन्, ‘रेडियो नेपालकै व्यस्तताले मेरो विवाह भएन ।’
बेला–बेला प्रेमका अभिव्यक्तिमार्फत उनी चर्चामा आउने गर्छिन् । मूड चल्दा उनी आफ्ना विगतका प्रेम प्रसंगहरूबारे पनि खुल्छिन् ।
दीपाश्री निरौला अभिनेत्री
हास्य–अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ४५ वर्षकी भइन् । उनको पनि व्यथा कोमलकै जस्तै छ । दर्शक तथा शुभचिन्तकबाट प्रायः प्रश्नहरू आइरहन्छन्– बिहे कहिले गर्नुहुन्छ ?’
दीपाश्री भन्छिन्, ‘उहाँहरूले मेरो सेटलमेन्टबारे सोच्नुभएको हो । तर, विवाह भन्ने कुरा भाग्यमा भर पर्छ । कसैको भाग्यमा हुनसक्छ, कसैको नहुन सक्छ ।’
आफूले अहिलेसम्म विवाह नगरेकोमा दीपाश्रीलाई कुनै पश्चात्ताप छैन । पहिले पहिले उनलाई विवाह गर्न परिवारबाट धेरै दबाब आउँथे । अहिले त्यो बन्द भएको छ ।
‘पछि म करिअरमा केन्द्रित भएँ । दबाब आउन छाडे । म करिअरमा केन्द्रित भएको हुनाले विवाह नगर्दा पनि फरक पर्दैन’, दीपाश्री भन्छिन् ।
दीपाश्री बाँकी जीवन भाग्यलाई नै छाडिदिन्छन् । ‘बिहे हुन्छ कि हुन्न भनेर भन्न सक्दिनँ । अहिलेसम्म सोचेको छैन । भाग्यमा छ भने त भइहाल्छ’, उनी भन्छिन् ।
दीपाश्रीको नाम उनका सहकर्मी दीपकराज गिरीसँग जोडिने गरेको छ । लामो समयदेखि उनीहरू निकट छन् । हालै एउटा टिभी अन्तर्वार्तामा हास्यकलाकार जितु नेपालले उनीहरूको सम्बन्धलाई लिएर भनेका छन्, ‘उहाँहरू गाडी मजाले हाँक्ने, लाइसेन्स विनाको जोडी ।’
रामहरि खतिवडा कांग्रेस नेता
नेपाली कांग्रेसका नेता रामहरि खतिवडा पनि उमेरले ४० पार भइसके । अघिल्लो वर्ष उनी विवाह गर्ने योजनामा थिए । तर, तयारी नपुगेर बिहे हुन नसकेको उनी बताउँछन् ।
‘विवाह त हुन्छ, तर कहिले हुन्छ थाहा छैन । विवाह गर्ने उमेर भइसक्यो’, उनले भने ।
घर र आफन्तहरूबाट पनि नियमित विवाहका निम्ति दबाब आइरहने खतिवडाको स्वीकारोक्ति छ ।
‘पहिल्यैदेखि राजनीतिमा लागियो । व्यस्तताले विवाहबारे सोचिएन । तर, अब बिहे त गर्नै पर्ने रहेछ भन्ने लाग्यो’, उनी भन्छन् । विवाहका लागि योजना बनाए पनि आफूले सोचेअनुरूपको दुलही नमिलेको खतिवडा बताउँछन् । एकताका कोमल ओली र रामहरि खतिवडाको विवाहको चर्चासमेत चलेको थियो ।
राजेशपायल राई गायक
गायक राजेशपायल राई ४५ वर्षका भए । उनलाई पनि प्रायः एउटै प्रश्नले पछ्याइरहन्छ, ‘विवाह कहिले गर्नुहुन्छ ?’
तर, उनीसँग यसको जवाफ कहिल्यै भएन । घर परिवारबाट पनि विवाहको दबाब आइरहन्छ । उनी साइत नै नजुरेर विवाह नभएको भन्दै टारिरहन्छन् । राजेशपायल राईले सेरोगेसीमार्फत बच्चा जन्माउने चाहनासमेत राखेका छन् । पछिल्लो समय उनको नाम एक यूट्युबरसँग जोडिएको छ । यद्यपि, उनीहरू दुवैले आफूहरूबीच कुनै सम्बन्ध रहेको स्वीकारेका छैनन् ।
त्यसो त रेखा थापा र केकी अधिकारीसँग राजेशपायलको निकटतालाई लिएर पनि गसिपहरू बनेका थिए । तर, उनीहरू साथीको सम्बन्धमा नै सीमित रहे । अहिले पनि राजेशपायलले विवाहको सम्भावनालाई टारिसकेका छैनन् । तर कहिले हुन्छ भन्ने जवाफ उनीसँग छैन । यसपटकको भ्यालेन्टाइनमा पनि उनी सिंगल नै रहनेछन् ।
गरिमा साह नेकपा नेतृ
नेकपा नेतृ एवम् पहिलो संविधानसभाकी सभासद् गरिमा साहको पनि विहे गर्ने औसत उमेर कटिसकेको छ । विषम परिस्थितिबीच बाल्यकाल गुजारेर राजनीतिमा होमिएकी साहलाई धेरैपटक विवाहको प्रस्ताव आयो । विवाह प्रस्ताव गर्ने अधिकांशको एउटै शर्त हुन्थ्यो- राजनीति छाड्नुपर्ने । तर, उनले जिन्दगानीमा विवाहभन्दा राजनीतिलाई नै प्राथमिकता दिइन् ।
राजनीतिसँगै कला/साहित्य सिर्जना गरिरहेकी कैलालीकी साहलाई विवाह नभकोमा कुनै पछुतो छैन । जीवनभर राजनीतिमा समर्पित भएर देशको सेवा गर्ने उनको सोच छ । गरिमा विवाहलाई प्राविधिक विषय मान्छिन् ।
काठमाडौं । विवाहको लागि उपयुक्त उमेर कुन हो ? यसमा कुनै सर्वमान्य सिद्धान्त छैन । व्यक्तिले आफ्नो अनुकुलताका आधारमा निर्णय लिनु नै उचित ठानिन्छ ।
हालै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह वन्धनमा बाँधिएका छन् । मुख्यमन्त्रीको विवाह आफैंमा हेडलाइन बन्ने विषय थियो नै ।
त्योभन्दा चाखलाग्दो कुरा थियो, दुलाहा र दुलहीको उमेर । दुलाहा ५० वर्ष छुन लागेका । दुलही भर्खर २३ वर्षकी । उमेर अन्तर २५ वर्षभन्दा बढि । सामाजिक सञ्जालमा उनीहरुलाई बधाईसँगै विभिन्न बहसहरु पनि भइरहेका छन् ।
कतिले मन मिलेपछि उमेर कुनै इस्यू हुँदैन भनेर स्वभाविकरुपमा लिनुपर्ने मत राखेका छन् । कतिले चाहिँ मुख्य मन्त्रीले छोरी उमेरकी केटी रोजेको भनेर कटाक्ष गरेको पनि देखिएको छ ।
उमेर छिप्पिएपछि विवाह गर्ने राई नेपालका पहिलो व्यक्ति भने अवश्य होइनन् । राजनीतिदेखि कलाकारितासम्ममा अरु नामहरु पनि छन्, जसले ४० काटेपछि मात्रै घरबार सुरु गरे ।
हेमन्त रानाको गीतले भनेझैं ४० कटेपछि रमाउनेहरुको सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेपाली चलचित्रका महानायक राजेश हमालसम्म छन् । उनीहरुको जीवन सुखमयरुपमै चलिरहेको छ ।
आउनुस्, ढिला विवाह गर्ने केही पब्लिक फिगरहरुबारे छोटो चर्चा गरौं-
शेरबहादुर देउवा
नेपालमा ०४६ सालमा प्रजातन्त्र स्थापना भएयता लगातार सुनिँदै आएको नाम हो शेरबहादुर देउवा । ४८ सालको संसदीय निर्वाचन जितेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री थिए । बहालबाला गृहमन्त्री छँदा नै उनले गृहस्थि बसाएका हुन्, जतिबेला उनको उमेर ४५ वर्ष थियो ।
राणा खानदानकी आरजु देउवासँग शेरबहादुरले लगनगाँठो कसेका हुन् । उनीहरुबीच पनि उमेरको राम्रै अन्तर (करिब १५ वर्ष) छ । देउवाको विवाह हुँदाका बखत नेपालमा अहिलेजस्तो बग्रेल्ती मिडिया थिएनन् । सामाजिक सञ्जालको त कल्पना नै थिएन । तसर्थ हाइप्रोफाइलको विवाह धेरै ठूलो विषय बनेन ।
शेरबहादुर र आरजुको वैवाहिक जीवन सुखद छ । विवाहपछि देउवा चार पटक मुलुकको प्रधानमन्त्री बने । सम्पत्ति पनि प्रशस्तै जोडे । श्रीमान प्रधानमन्त्री छँदा आरजुले मज्जैले पावर एक्सरसाइज गरिन् । पछि उनी आफैं कांग्रेस राजनीतिमा आइन् ।
श्रीमानकै बलमा सभासद समेत बनिन् । बूढानीलकण्ठमा देउवाको भव्य निवास छ । राजा–महाराजाको जस्तो विलासी जीवनशैली छ, उनीहरुको । देउवा दम्पतीबाट एक मात्र सन्तानका रुपमा छोरा छन् ।
बलबहादुर केसी
कांग्रेसका पुराना नेता बलबहादुर केसीले पनि ढिला विहे गरेका हुन् । उनले २०६१ साल माघ १७ गते लगनगाँठो कसेका थिए । बलबहादुरले विवाह गरेको पर्सिपपल्ट नेपालमा शाही ‘कु’ भएको थियो ।
विवाह गर्दा बलबहादुर ५२ वर्षका थिए भने उनकी पत्नी रिना केसी ३३ वर्षकी । उनीहरुको प्रेमविवाह हो । रिना पनि पहिल्यैदेखि नेपाली कांग्रेसको राजनीतिमा छिन् । २०५३ सालमा उनी पद्मकन्या क्याम्पसमा स्ववियू सभापति थिइन् । अहिले महिला संघमा छिन् ।
बलबहादुर दम्पती हाल लाजिम्पाट क्षेत्रमा रहेको आफ्नै निवासमा बस्छन् । उनीहरुबाट कुनै सन्तान भएका छैनन् । पहिले पटक–पटक मन्त्री भएका बलबहादुर विवाहपछि भने मन्त्रीको कुर्सीमा पुग्न सकेनन् ।
उनले ७४ सालमा भएको चुनावमा उनी गृहजिल्ला सोलुखुम्बुबाट पराजित भएका थिए । त्यसअघि सोही क्षेत्रबाट उनी ७० सालमा विजयी भएका थिए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।
बलबहादुर विगतमा विभिन्न विवादमा पनि मुछिएका थिए । अहिले भने उनको खासै चर्चा छैन । नयाँ पुस्ताका धेरैले उनलाई चिन्दैनन् पनि ।
मिथिला शर्मा
अभिनयको बलमा दर्शकको मन जित्दै आएकी पुरानी अभिनेत्री मिथिला शर्माले आधा शताब्दी लामो अविवाहित जीवन बिताइन् । ५० वर्षको उमेरमा उनले २०७१ सालमा विवाह गरिन्, बयोवृद्ध पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरासँग ।
विवाह गर्दा मोतिलाल ७४ वर्षका थिए । उनीहरुबीच २४ वर्षको अन्तराल थियो । मिथिलाको त्यो पहिलो विवाह भए पनि मोतिलालको दोस्रो थियो । पहिलो पत्नीको मृत्यु भएपछि मोतिलालले लामो समयदेखि चिनजानमा रहेकी मिथिलालाई जीवनसाथी बनाएका थिए ।
उनीहरुले कोर्ट म्यारिज गरेका हुन् । अदालती बिहेपछि मोतिलाल र मिथिलाले परिवार, आफन्त र निकटस्थहरुलाई एउटा रेस्टुरेन्टमा पार्टी दिएका थिए ।
शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् । पछिल्लो समय उनी एउटा डान्सिङ रियालिटी शोमा निर्णायकको रुपमा देखिएकी थिइन् । मोतिलाल भने रिटायर्ड लाइफमा छन् ।
मोहनचन्द्र अधिकारी
नेपालका नेल्सन मण्डेलाको उपमा पाएका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले ५३ वर्षको उमेरमा विवाह गरेका थिए । उनले २०४७ साल माघमा आफूभन्दा २५ वर्ष कान्छी बालकुमारी खनालसँग जनवादी विवाह गरेका हुन् ।
विसं १९९४ मा जन्मेका मोहनचन्द्र ०२८ सालमा भएको झापा विद्रोहका प्रमुख योद्धा थिए । झापा विद्रोहकै बखत पञ्चायत सुरक्षाकर्मीले पक्राउ गरेपछि ०३० सालमा जेल परेका उनले १७ वर्ष जेलजीवन बिताए ।
जेलजीवन बिताउने क्रममा उनको भेट शिक्षक आन्दोलनबाट पक्राउ परेर एक महिना भैरहवा जेल बसेकी बालकुमारीसँग भेट भएको भयो । त्यसपछि आफन्तहरूको प्रस्तावमा उनीहरूको विवाह भएको थियो ।
रामेश
जनवादी गायक रामेश पनि ४० वर्ष कटेपछि विवाह गर्नेमा पर्छन् । उनले ०४७ सालमा विवाह गरेका हुन् । विवाह गर्दा रामेशको उमेर ४५ वर्षको आसपास थियो ।
रामेशले पाल्पाकी लक्ष्मी श्रेष्ठसँग लगठगाँठो कसेका थिए । करिब ५८ अघिदेखि जनवादी गीतमार्फत उनी प्रजातन्त्रको पक्षमा जागरण ल्याउन उनी लागिपरेका थिए । रामेश अहिले खासै चर्चामा छैनन्, तर उनले गाएका ‘गाउँ गाउँबाट उठ…’ देखि ‘गरिबको चमेली…’ लगायतका गीतहरु अहिले पनि चर्चित छन् ।
राजेश हमाल
अभिनेता राजेश हमालले चलचित्र क्षेत्रमा प्रवेश भएयता सबैभन्दा बढी सामना गरेको प्रश्न हो, ‘विवाह कहिले गर्ने ?’ उत्तर दिँदा दिँदा उनी थाकिसकेका थिए । अन्ततः उनले यो प्रश्नलाई सदाको लागि टुंग्याइदिए, ०७१ साल माघमा ।
उमेरले अद्र्धशतक प्रहार गरिसकेपछि राजेश आफूभन्दा आधा उमेरकी मधु भट्टराईसँग विवाह वन्धनमा बाँधिएका हुन् । राजेश र मधु प्रेम सम्वन्धमा थिए । मधु राजेशभन्दा २२ वर्षले कान्छी छन् । राजेश गत जेठबाट ५६ वर्षमा लागे । विवाह गरेको ६ वर्ष पुगिसक्दा पनि उनीहरूले सन्तान जन्माएका छैनन् ।
बिहेपछि राजेश र मधुको जीवन उल्लासमय रुपमा बितिरहेको छ । राजेश पछिल्लो समय चलचित्रमा खासै सक्रिय छैनन् । मधु पनि घरव्यवहारमै व्यस्त छिन् । अहिले राजेश हमाललाई सबैभन्दा सोधिने प्रश्न हो, सन्तान कहिले जन्माउने ?
प्रदिप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले ४१ वर्षका उमेरमा विहे गरेका थिए । २०७३ साल वैशाख १५ गते उनले सर्लाहीकी एन्जिला न्यौपानेसँग लगनगाँठो कसेका थिए । न्यौपाने त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिइन् । उनीहरूको प्रेम विवाह भएको हो ।
एन्जिला र प्रदीपको उमेरमा ११ वर्षको अन्तराल छ । उनीहरूका छोरा र छोरी गरी दुई सन्तान छन् । छोरी मन्टेश्वरी जान थालेकी छन् ।
आफ्नो विवाहका विषयमा प्रदीप भन्छन्, ‘हाम्रो समाजमा विवाह गर्न ढिला भयो भने विभिन्न टिका–टिप्पणी हुन्छन् । मलाई पनि विवाहका लागि आफन्त र परिवारबाट दबाब आइरहन्थ्यो । विवाहपछि पनि टिप्पणीहरू आइरहे । अहिले हाम्रो दाम्प्त्य जीवन सुखद् छ । दुवै जना खुसी छौं ।’
ऋषि धमला
ऋषि धमला अत्यधिक बेफुर्सदी पत्रकार मानिन्छन् । फुर्सद कम भएकैले होला उनले विवाह गर्न पनि ढिला गरे ।
०३२ सालमा धादिङमा जन्मिएका धमलाको विवाह २०७१ सालमा भएको थियो । उनकी पत्नी एलिजा गौतम २०५० सालमा जन्मिएकी हुन् । ऋषि र एलिजाबीच १८ वर्षको अन्तर छ ।
उमेरको अन्तरालले धमलाको वैवाहिक जीवन रंगीन बनाउन रोकेको छैन । श्रीमतीलाई निकै माया गर्ने ऋषिले उनको नायिका बन्ने इच्छा पूरा गरिदिन चलचित्र निर्माणसमेत गरेका थिए ।
उनले निर्माण गरेको चलचित्र अनुराग फ्लप भए पनि कलाकारितामा एलिजाको ढोका खुल्यो । अहिले उनी म्युजिक भिडियोहरुमा सक्रिय छिन् । ऋषि र एलिजाका एक छोरी र एक छोरा छन् ।
शेरधन राई
उमेरले आधा शताब्दी टेक्न लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हिजो मात्रै विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षीया राईले २६ वर्ष कान्छी जाङ्मु शेर्पालाई दुलही बनाएका हुन् । २३ वर्षिया जाङ्मु सन् २०१८ कि मिस मंगोल हुन् ।
शेरधन र जाङ्मु केही समयदेखि प्रेममा थिए । छोरी उमेरकी केटीसँग बिहे गर्न लागेको भनेर शेरधनको ट्रोलसमेत भयो । कतिपयले चाहिँ मन मिलेपछि उमेरको अन्तरालले फरक नपर्ने भनेर उनको बचाउ गरेका छन् ।
‘ढिला विवाहले महिलालाई बढी प्रभाव पर्छ’
सुरेश ढकाल, मानवशास्त्री
विवाह एउटा सामाजिक संस्था वा सामाजिक अनुबन्धन हो । जीव वैज्ञानिक दृष्टिकोणबाट हेर्दा विवाह जैविक आवश्यकता निदान गर्ने माध्यम पनि हो ।
उमेर ढल्किएपछि गरिने विवाहलाई ढिलो विवाहको रुपमा हेर्ने चलन छ । ढिलो विवाह गर्नुको कारण एउटै मात्र हुन्न । ढिलो विवाहका कारण नितान्त व्यक्तिगत पनि हुनसक्छन् । अन्य सामाजिक, राजनीतिक कारण पनि हुनसक्छन् ।
नेपालमा मोहनचन्द्र अधिकारी, रामेश, राजेश हमाल जस्ता चिनिएका व्यक्तिले ४० कटेपछि विवाह गरेका छन् । भर्खरै मात्र मुख्यमन्त्री शेरधन राईले पनि ४० कटेपछाडि नै विवाह गरे । विवाहलाई सांस्कृतिक, सामाजिक, पारिवारिकलगायतका लगायतका कुराले फरक पार्छन् ।
विवाहमा कति उमेर फरकमा र कुन प्रक्रियाबाट विवाह गर्यो भन्ने कुराले प्रभाव पार्छ । अर्कोचाहिँ पारिवारिक कुराले गर्छ ।
ढिला विवाह गरेर पारिवारिक असर पर्न सक्लान् । सन्तान जन्माउने कुरामा ढिलाइ हुन्छ । यसले खासगरी महिलालाई प्रभाव पर्छ । ढिलो विवाहले परिवारमा एडजस्ट गर्न समय लाग्ने जस्ता समस्याहरू पनि देखिन्छन् । हुन त यी सबै कुराहरू केस, व्यक्ति, पारिवारिक, सामाजिक र राजनीतिक स्थितिअनुसार फरक पर्छन् ।
विवाह यही उमेरमा गरिनुपर्छ भन्ने कुनै विधान छैन । ५० वर्षअघिको समयलाई अहिलेको समयसँग तुलना गर्ने हो भने विवाहका सन्दर्भमा धेरै परिवर्तन देख्न सकिन्छ । विवाहसँग जोडिएको सामाजिक मान्यताहरूमा भिन्नता देख्न सकिन्छ । यदि अरु देशसँग हाम्रो देशलाई दाँज्यो भने फरक धेरै छन् । समयअनुसार यस्ता कुरामा फरक पर्न सक्छन् ।
विवाहमा कति उमेर फरकमा र कुन प्रक्रियाबाट विवाह गर्यो भन्ने कुराले प्रभाव पार्छ । अर्कोचाहिँ पारिवारिक कुराले गर्छ ।
युरोपियन देशहरूमा विवाहभन्दा पनि लिभिङ टुगेदरमा बढी बस्ने ट्रेन्ड छ । त्यहाँका नागरिकहरूले विवाह बढी उमेरमा गर्छन् । १५ वर्षदेखि लिभिङ टुगेदरमा बसेर विवाह गर्छन् । उनीहरू दुवै इन्डिपेन्डेन्ट हुन्छन् । रहर लागेर बच्चा जन्माइहाले भने पनि बच्चालाई सरकारले दिने सुविधा, सुरक्षा सबै पाउँछन् ।
हाम्रोमा भने बच्चा आमाले हुर्काएर बाउ खोजी गर्ने चलन छ । तर, त्यतातिर बच्चा कसको भन्दा पनि बच्चाले सम्पूर्ण अधिकार पाउनुपर्छ भन्ने कुरामा जोड हुन्छ । राज्यले ग्यारेन्टी गरेका सामाजिक सुरक्षाका कुराहरूले पनि विवाहलाई धेरै फरक पार्छ । राज्यको नीति, सामाजिक सुरक्षा नीतिहरूले फरक पार्ने केस हुन्छन् ।
धेरै उमेर ग्याप भएका दुलहा र दुलहीबीच पनि कस्ता असर पर्छन् भन्ने कुरा चासोका विषय हुन् । यसको मनोवैज्ञानिक पाटो पनि छ । एउटा २० वर्षको व्यक्ति र ५० वर्षको व्यक्तिले सोच्ने तौर–तरिका र सोच्ने आवेग नै फरक हुन्छ । फरक ढंगबाट सोच्ने र फरक उमेर ग्याप भएका मान्छेहरू एकै ठाउँमा बस्दा समस्या आउन सक्छ नै ।
नेपालमा उमेर ढल्केको मान्छेलाई भर्खरको युवती विवाह गर्न रुचि हुन्छ । तर, युरोपियन देशमा त्यस्तो हुँदैन । उमेर धेरै ग्याप हुँदा पर्ने असर पनि सामाजिक दृष्टिकोण, पारिवारिक स्थिति र राज्यको नीति तथा सेवा–सुविधाले तय गर्छ ।
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।
राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।