Tag: विद्यालय

  • काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

    काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

    काठमाडौं ।  अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् ।

    विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।  अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

    सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्यापन र रोजगारीमा बञ्चित गर्ने निर्णय सच्याउन दवाव परेको थियो । तर तालिवानी उच्च अधिकारीहरूले भने त्यतिबेला देखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाडै नै महिलाहरूलाई पनि अध्ययन अध्यापन गर्न दिइने प्रतिबद्धता जनाउदै आएका थिए ।

    प्रतिबद्धता अनुसार तालिवान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै अहिलेसम्म पनि छात्रालाई विद्यालय जान नपाइने व्यवस्था कायमै राखेको छ ।

    यही २३ मार्च देखि छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुसी भएका महिला तथा अधिकारवादी सबै अहिले फेरि निराश भएका छन् । तालिवानी अधिकारीहरूको तत्कालीन प्रतिवद्धताका आधारमा कतिपय मुलुक अफगानिस्तान प्रति नरम पनि बन्दै गएका थिए । तर, अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि भने विश्वभरबाट चिन्ता र चासो व्यक्त भएको छ ।

    विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रुपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाई छ ।हामीलाई विद्यालय जान दे, हामीलाई न्याय दे जस्ता माग राख्दै प्रदर्शनकारीहरूले काबुलमा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले निकै महत्व दिएका छन् । उनीहरूको आन्दोलनप्रति अधिकारवादी संघ संस्था तथा निकायहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

  • पैसा लगेर भवन नबनाउने विद्यालयलाई तत्काल रकम फिर्ता गर्न निर्देशन

    पैसा लगेर भवन नबनाउने विद्यालयलाई तत्काल रकम फिर्ता गर्न निर्देशन

    खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षौंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन दिएको छ । साविकको जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट लिएर काम नगर्ने विद्यालयलाई मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले यथाशिघ्र रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

    काम सम्पन्न नगरी बाँकी रहेको रकम बेरुजु खातामा दाखिलाका लागि मन्त्रालयले गत ४ चैतमा शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । इकाईलाई बेरुजु रहेका विद्यालयको विवरण वेबसाईटमार्फत सार्वजनिक गर्न, बेरुजु भएका विद्यालयलाई बेरुजु फस्यौट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान सिफारिस नगर्न, बेरुजु भएका विद्यालयका जिम्मेवार प्रअलाई बेरुजु फस्र्यौट नभएसम्म पुरस्कार, सेवासुविधाका लागि सिफारिस नगर्न पत्र पठाइएको छ ।

    खोटाङमा आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा साविकको जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरू गरिएको विद्यालयको दर्जनौं भवन अलपत्र रहेका छन् । अनियमितता, विद्यालय व्यवस्थापन समिती र विद्यालयभित्रको आन्तरिक द्धन्द्ध, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठ, ६ कोठे र आठ कोठे भवन निर्माण अलपत्र परेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।

    दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरू गरेका लक्ष्मी मावि बडहरेको चार कोठे भवन अलपत्र छ । फाउन्डेसन उठाएर टाई बिमसम्म काम गरिए पनि स्टिमेट विपरित भएपछि भवन निर्माण अलपत्र परेको हो ।

    भवन निर्माणका लागि ल्याइएका सिमेन्ट, इँटा, बालुवालगायत सामग्री असरल्ल अवस्थामा रहेको इकाईका प्रमुख सेमन्त गौतमले बताए । आर्थिक वर्ष २०७०/०७१ मा विनियोजित २४ लाखमा निर्माण सुरू गरेको जनता मावि बतासेको चार कोठे भवन पनि अलपत्र अवस्थामा छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसके पहिलो तला ढलान गरेर दोश्रो तला निर्माणकै क्रममा अलपत्र बन्न पुगेको हो ।

    सोही भवनको काम अलपत्र पारेका कारण तत्कालिन प्रअले अवकाश पाएको वर्षौ बित्दा समेत पेन्सन लिने बाटो खुलाउन सकेका छैनन् । जनता माविको भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरेको याङ्सोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै अलपत्र परेको छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालय परिवारले अग्रसरता देखाएको इकाई प्रमुख गौतमले बताए ।

    आर्थिक वर्ष २०६९/०७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गर्यो । तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि भवन फिनिसिङदेखि फरफराकमा अड्किएको छ । फिनिसिङ मात्रै बाँकी रहदा अलपत्र परेको सो भवन प्रयोगमा भने आइसकेको छ ।

    यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा च्यास्मिटार माविको चार कोठे भवन ठड्याइयो । तर, फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको इकाईले जनाएको छ । यद्यपि, सो भवन प्रयोगमा आइसकेको छ ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्धय मावि दुबेकोलको आठ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेर अलपत्र परेको छ । विद्यालय भवनको संरचना तयार भए पनि फिनिसिङ बाँकी रहेको गौतमले बताए ।

    आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरू गरिएको सप्तकन्या मावि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालय परिवार तातेको छ । आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा कालिका मावि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए । तर, अख्तियारमा उजुरी परेकाले सो भवन छानबिनकै क्रममा रहेकाे छ ।

  • एक महिनापछि आजदेखि विद्यालय खुल्दै, भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने

    एक महिनापछि आजदेखि विद्यालय खुल्दै, भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने

    काठमाडौं । कोरोनाको तेस्रो लहरका कारण एक महिनाअघि बन्द गरिएका देशभरका विद्यालय आजदेखि खुल्दैछन् । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आजदेखि विद्यालय सञ्चालनमा आउन लागेको छ ।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गराइएको थियो । देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन हुनेछ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

  • शिक्षक सरुवाको सहमतिमा चार महिनासम्मको तलब असुल

    शिक्षक सरुवाको सहमतिमा चार महिनासम्मको तलब असुल

    सुर्खेत । डोल्पाको ठूली भेरी नगरपालिकामा शिक्षक सरुवाको सहमति दिँदा रकममा वार्गेनिङ हुने गरेको रहस्य खुलेको छ । नगर शिक्षा तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा अन्तर जिल्ला सरुवा जाने शिक्षकबाट एकदेखि कम्तीमा चार महिनासम्मको तलबवापतको पैसा लिने गरेको पाइएको हो ।

    दैलेखको भैरवी गाउँपालिकाका शिक्षक प्रेमप्रसाद आचार्यले सरुवाका लागि आफूसँग रकम मागेको नेपाल प्रेसलाई गुनासो गरे । उनको गुनासो हाल नगरपालिकाका निमित्त कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन विद्यालय निरीक्षक दीलप्रसाद रोकायासँग सोध्दा उनी झोकिए । ‘उहाँहरुले विद्यालयलाई पैसा दिने भन्नु भएको थियो रे, त्यही आधारमा विद्यालयले नदिएको होला ।’

    ठूलीभेरी- ६ काँडाथली देवी आधारभूत विद्यालय २०७६ साल कात्तिकमा प्रेमप्रसाद आचार्य हाजिर भएका थिए । उनले त्यहाँबाट दैलेखको भैरवी गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थापावाडामा सरुवा मागेका थिए । गत वैशाख ३१ मा रमाना बुझेर जेठ ५ गते उनी सरुवा भएको विद्यालयमा हाजिर भइसहेका छन् ।

    ‘मेरो एक महिनाको तलब भत्ता अहिलेसम्म दिएका छैनन् । विद्यालयका अध्यक्षले बारम्बार पैसा दिन भने पनि वैशाखको तलब विद्यालयका प्रधानाध्यापकले दिन मानेका छैनन् । उनीमात्रै होइन, यसमा विद्यालय निरीक्षक रोकाया पनि जोडिएका छन् । उनीसँगको मिलेमतोमा उनले तलब दिइरहेका छैनन् ’,आचार्यले नेपाल प्रेसलाई भने, ‘त्यहाँबाट सरुवा भइ अन्य जिल्लामा फर्कने शिक्षकलाई कसैको चार महिनाको तलब काट्ने गरिएको छ भने कसैको एक महिनाको तलब नै नदिने चलन चलाइएको छ ।’

    आफूले बारम्बार तलब पठाइदिन भने पनि खातामा नहालिएको भन्दै पहिलो चरणमा आफू मिडियामा आएको उनले बताए । ‘मेरो लागि त्यो एक महिनाको ४० हजार बढि होइन तर त्यहाँ भइरहेको चरम व्यथिति गलत लागेको छ । त्यसका विरुद्ध म अदालत जान पनि तयार छु । थप खर्च गरेर अगलत कामका विरुद्ध म लड्छु ।’

    विद्यालयले रमाना दिइसकेपछि तलब रोक्नुको पछाडि भ्रष्टाचारको मानसिकता रहेको उनको आरोप छ । ‘पैसा नदिनुको पछाडि अरु कारण छैन । भदौ अन्त्य हुन लागेको छ तर वैशाखको तलब पालिकाले विद्यालयको खातामा गइसकेपछि पनि दिएको छैन । यसमा नगरशिक्षा र प्रधानाध्यापकको मिलेमतो छ ।’

    विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बुढाले उनको उक महिनाको तलब रोक्का गरिएको बताए । ‘हामीले यहाँ स्वयंसेवी शिक्षक भर्ना गरेका छौं । उहाँहरूबाट काटेर सो तलब दिने योजना बनाएका छौं ’उनले भने, ‘उहाँको तलब दिने भनेर विव्यसको निर्णय भइसकेको छ । यहीँबाट सरुवा भएका तेजेन्द्र खत्रीले १५ हजार फिर्ता गरेपछि प्रेम आचार्यलाई पैसा पठाइदिन्छौं ।’

    तर सोही विद्यालयका विव्यस अध्यक्ष चन्दु मल्लले भने उहाँको तलब रोक्नुपर्ने अवस्था नरहेको बताए । हामीले उहिल्यै निर्णय गरेर तलब दिन भनिसकेका छौं ।’ उनले भने, ‘हालसम्म किन उहाँलाई तलब नदिइएको हो थाहा भएन । उहाँले सबै तलब पाउनुपर्छ ।’

  • चार महिनापछि कक्षाकोठामा विद्यार्थी (भिडियोसहित)

    चार महिनापछि कक्षाकोठामा विद्यार्थी (भिडियोसहित)

    काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको दोस्रो लहरसँग बन्द भएका विद्यालयहरू खुल्न थालेका छन् । संक्रमणदरमा कमी आउन थालेसँगै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि संचालन गरिएको छ । महामारीको जोखिमका कारण अधिकांश विद्यालयहरूले अनलाइन कक्षा संचालन गरिरहेका छन् ।

    गत वैशाख १६ देखि निषेधाज्ञा लागू भएसँगै विद्यालय बन्द भएका थिए । सरोकारवालासँगको बैठकपछि नगर शिक्षा समितिको बैठक राखेर भौतिक उपस्थितिमा विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।

    नगरपालिकाले अनिवार्य सर्तको रूपमा विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको विश्वसनीय वातावरण बनाउन भनेको छ । स्वास्थ्यका मापदण्ड पालना नगरिए कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

    गोकर्णेश्वरमा हाल जोरबिजोर प्रणालीमा सिफ्ट अनुसार विद्यालय संचालन गरिएको हो ।

  • रेष्टुरेन्ट र शैक्षिक संस्था अझै नखुल्ने, पूर्वनिर्धारित परीक्षाहरू सञ्चालनमा मापदण्ड

    रेष्टुरेन्ट र शैक्षिक संस्था अझै नखुल्ने, पूर्वनिर्धारित परीक्षाहरू सञ्चालनमा मापदण्ड

    काठमाडौं । कोरोना महामारीको जोखिमका कारण गत वैशाख १६ देखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा मंगलबारदेखि थप खुकुलो बनाइएको छ ।

    भोलिसम्म लागू निषेधाज्ञा मंगलबारदेखि असार मसान्तसम्म थप गरिएको छ । सँगै अहिले लगाइएको जोरबिजोर प्रणाली हटाएर सबै खाले निजी तथा सार्वजनिक सवारी खुल्ला गरिएको छ ।

    रेष्टुरेन्ट र शैक्षिक संस्था भने तत्काल नखुल्ने भएको छ । तर, पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पूर्णपालना गरी संचालन गर्न पाइनेछ । त्यस्तै होटल, रेष्टुरेन्टमा अनलाइन अर्डर, टेक-वे वा होम डेलिभरीको लागि साँझ ७ बजेसम्म मात्र संचालन गर्न पाइने काठमाडौं प्रशासनको आदेशमा उल्लेख छ ।

  • कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    रुपन्देही । कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

    उपमहानगरले एक सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत स्थगित गरेको छ ।

    बन्द भएका बिद्यालयहरुले बैकल्पिक माध्यमबाट कक्षा लिनसक्ने नगरपालिकाको सूचनामा उल्लेख छ । उपमहानगरका अभिभावकरुलाई आ-आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

  • काठमाडौंका विद्यालय बुधबारबाट बन्द गर्न महानगरको अनुरोध

    काठमाडौंका विद्यालय बुधबारबाट बन्द गर्न महानगरको अनुरोध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बुधबारबाट बन्द गर्न निर्देशन दिएको छ ।

    महानगरले एक विज्ञप्ति जारी गर्दै सरकारले सोमबार गरेको निर्णय अनुसार विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    कोभिड-१९ को संक्रमण बढ्ने क्रममा रहेको र बालबालिकाहरूमा संक्रमण फैलन सक्ने देखिएकाले विद्यालय बन्द गरी भर्चुअल तथा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई महानगरले निर्देशन दिएको हो ।

    विद्यालयमा पूर्व निर्धारित परीक्षा सञ्चालन गराउँदा २५ जना भन्दा बढी विद्यार्थीहरू एकै पटक भेट हुने व्यवस्था मिलाउन महानगरको निर्देशन छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विद्यालय बन्द भए पनि प्रशासन भने नियमित रुपमा सञ्चालन रुपमा सञ्चालन गर्नुपर्नेछ ।

    वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन लगायतका क्रियाकलापमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले नियमित अनुगमन गर्ने महानगरको विज्ञप्तिमा जनाइएको छ ।

  • बालबालिका विद्यालयमा सुरक्षित कि घरमा ?

    बालबालिका विद्यालयमा सुरक्षित कि घरमा ?

    काठमाडौं । मन्त्रीपरिषद्ले हिजो कोरोना संवेदनशील जिल्लाहरुमा सबै शैक्षिक संस्था वैशाखभरि बन्द गर्ने निर्णय लियो । शैक्षिक संस्था सञ्चालन गर्दा बालबालिकाहरु कोरोनाको जोखिममा पर्ने तर्क गरिएको छ ।

    सरकारको निर्णयअनुसार वैशाख मसान्तसम्मलाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेललगायत ठूला सहर र सदरमुकामका विद्यालय आजबाट बन्द भएका छन् । बन्द भएका विद्यालयहरुले भर्चुअल कक्षाबाट शिक्षण प्रक्रिया अघि बढाउन सरकारले भने पनि त्यसको प्रभावकारीतामा स्वयम् विद्यालय सञ्चालक नै विश्वस्त छैनन् ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबार एक कार्यक्रममा भनेका थिए, ‘बालबालिकाहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुन्छन् । विद्यालयभन्दा बाहिर सबै नर्मल, बाबुआमा अफिस जाने, छोराछोरी घरमा । अनि छोराछोरी घरमा बसिरहन्छन् ? बाहिर खेल्न जाँदैनन् ?’

    तर, मन्त्रीले यस्तो अभिव्यक्ति दिएकै भोलीपल्ट मन्त्रिपरिषदले १४ जिल्लाका विद्यालय बन्द गर्ने निर्णय लिएको हो । मन्त्रीपरिषदको निर्णयको बचाउ गर्दैउनै शिक्षामन्त्री श्रेष्ठले देशका प्रमुख सहरमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएकोे बताए ।

    विद्यालय बन्द गर्ने पक्षमा शिक्षा मन्त्रालय थिएन । विद्यालय सञ्चालकका संगठनहरुले पनि शैक्षिक सत्र डामाडोल हुने भन्दै विद्यालयहरु सुचारु राख्न मन्त्रालयलाई सुझाव दिएका थिए । तर, स्वास्थ्य मन्त्रालयले भने पहिले नै कोरोनाको जोखिमबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्नैपर्ने सिफारिस गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयको दवावमा नै सीसीएमसीले विद्यालय बन्द गराउन मन्त्रीपरिषदलाई सिफारिस गर्ने निर्णय लियो । स्वास्थ्यमन्त्रीको प्रतिनिधित्व रहेकोे सीसीएमसीमा शिक्षामन्त्री छैनन् । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले विद्याललय बन्द गराउनैपर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलालाई पनि कन्भिन्स्ड गरिसकेका थिए । त्यसैले मन्त्रीपरिषद वैठकमा शिक्षामन्त्री श्रेष्ठले आफ्नो अडान त्यागे ।

    विद्यालय सञ्चालकको असन्तुष्टि

    सरकारको निर्णयमा विद्यालय सञ्चालकहरु असन्तुष्ट छन् । उनीहरुले सरकारलाई शैक्षिक संस्था बन्द नगर्न सुझाव दिँदै आएका थिए । उनीहरु पनि मन्त्री श्रेष्ठ जस्तै बालबालिकाहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुने तर्क गर्छन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी विद्यालय बन्द गर्नाले विद्यार्थीहरूमा कोरोनाको जोखिम बढ्ने बताए । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरेर स्कुल सञ्चालन गर्दा विद्यार्थीहरू सुरक्षित हुने उनको भनाइ छ ।

    ‘अभिभावकले भन्दा शिक्षकले भनेका कुरा विद्यार्थीले मान्छन् । थोरै विद्यार्थी उपस्थित गराएर दुई वटा सिफ्टमा पढाउन पनि सकिन्थ्यो । अब विद्यार्थीहरू घरमा झन् असुरक्षित छन् । विद्यालय नगएपछि भिडभाडमा जान्छन् । जे पायो त्यही खान्छन् । कोरोनाको दर अझ बढ्छ,’ अध्यक्ष पुरीले भने ।

    सरकारको बन्द गर्ने मनस्थिति नहुँदा नहुँदै पनि पब्लिककै प्रेसरले बन्द गर्ने निर्णय लिएको उनको आँकलन छ ।

    ‘सरकारले यसअघि पालिकाहरूलाई अधिकार दिइसकेको थियो । शिक्षामन्त्री स्वयम् पनि बच्चाहरू विद्यालय जाँदा बढी सुरक्षित हुन्छन् भन्नुहुन्थ्यो, ’उनी भन्छन्, ‘तर पब्लिकबाट विद्यालय बन्द गर्न ठूलो दबाब आयो ।’

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा पनि विद्यालय बन्द गरेर कोरोना जोखिम घट्नेमा सहमत छैनन् । कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरू घरमा राखेर बाँकी विद्यार्थीलाई स्कुल पठाउँदा जोखिमबाट न्यूनीकरण हुने उनको तर्क छ ।

    ‘९/१० को विद्यार्थी स्कुल बन्द भए पनि घरमा बस्दैनन् । साथीभाइसँग घुम्न निस्कन्छन् । त्यसले संक्रमणको जोखिम बढाउँछ,’ उनी भन्छन् ।

    पहिलो पटकको लकडाउनपछि लामो समय बन्द हुँदा विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिएको उच्च माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले बताए । त्यो समस्या फेरि देखापर्न सक्ने उनको चिन्ता छ ।

    ‘बच्चाहरू धेरै एक्टिभ नहुने अवस्था बनेको छ । बरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्थ्यो । बन्द नगरेको भएहुन्थ्यो,’ उनी भन्छन् ।

    शिक्षाविद्को तर्कः बन्द त गर्नैपर्थ्याे

    शिक्षाविद्हरू भने स्वास्थ्य सुरक्षाका हिसाबले स्कुल बन्द गरेर भर्चुअल सिकाइलाई जोड दिनु नै उचित हुने बताउँछन् । अहिलेको नयाँ भेरियन्टले बच्चाहरुका लागि धेरै असर गर्न सक्ने भनिएकाले विद्यालय बन्द गर्नुको विकल्प नहुने उनीहरुको तर्क छ ।

    शिक्षाविद् बालचन्द्र लुइँटेल भन्छन्, ‘विद्यालयमा कसैलाई संक्रमण देखियो भने एकैपटक हजार–दुई हजारमा सर्न सक्छ । शिक्षकको स–परिवार संक्रमित भएको केस अहिले आएका छन् । स्कुलमा बच्चा गएकै कारण जोखिम बढेको छ ।’

    निजी विद्यालयक सञ्चालकहरूले जनस्वास्थ्यविद्को सल्लाह सुनिदिन उनको आग्रह छ ।

    ‘शैक्षिक क्यालेण्डरलाई त असर गर्ने नै भयो । तर बच्चामाथि व्यवासाय गर्ने साथीहरूले उनीहरूको स्वास्थ्यलाई ख्याल गर्नुपर्यो । कक्षाकोठाको बसाइमा परिवर्तन छैन । सिट एउटै चलाएको छ । बन्द हुँदा जोखिम बढ्यो भन्नुहुन्छ । तर बच्चाहरू खेल्ने ठाउँ कहाँ छ र हाम्रोमा ? जनस्वास्थ्यले मासलाई रोक भन्छ । यो टाइम भनेको कम्प्रमाइज गर्ने समय हो,’ उनले भने ।

    भर्चुअल कक्षा कति प्रभावकारी ?

    अघिल्लो लकडाउनमा नौ महिना विद्यालय पूर्णरुपमा बन्द भए । त्यबेला विद्यालयहरुले भर्चुअल तथा वैकल्पिक कक्षाको अभ्यास गरेका थिए, जुन त्यति प्रभावकारी देखिएन ।

    प्याब्सन अध्यक्ष पुरी भर्चुअल कक्षामा सामुदायिक विद्यालयका १० प्रतिशत विद्यार्थी पनि नसमेटिएको बताउँछन् । यस्तै, निजी विद्यालयका पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्चुअल कक्षाको पहुँचमा नरहेको उनको भनाइ छ ।

    ‘यो नेपालमा प्रभावकारी हुन सक्दैन भन्ने पहिल्यै देखिएको हो,’ उनले भने ।

    हिसान महासचिव भण्डारीले पनि भर्चुअल अभ्यास प्राक्टिकल नदेखिएको बताए ।

    ‘पहिले अभ्यास गरेको कुरा हो । यो त्यति प्राक्टिकल छैन । विद्यार्थीहरू अनलाइनमा आउँदा क्लासमा जस्तो सक्रिय हुँदैनन्,’ उनी भन्छन् ।

    एन-प्याबसनका अध्यक्ष सापकोटा भर्चुअल माध्यमबाट पढाएका विषय विद्यालय खुलेपछि पुनः शिक्षकहरूले दोहो¥याउनुपरेको अनुभव सुनाउँछन् ।

    ‘बच्चालाई इंगेज गर्‍यो भन्नु मात्र हो । त्यो पढाइले कुनै अर्थ राखेन,’ उनी भन्छन् ।

    फेरि विद्यालय बन्द गरिँदा शैक्षिक सत्र बेहाल हुने उनको चिन्ता छ ।

    ‘बच्चाहरूलाई गृहकार्य दिने र अलग-अलग समयमा सब्मिट गर्न विद्यालय बोलाउने र करेक्सन गर्ने गर्नुपर्छ । नत्र शैक्षिक सत्रको बेहाल हुनेवाला छ,’ उनी भन्छन् ।

    स्थानीय तहको जिम्मेबारी

    अहिले विद्यालयस्तरका शैक्षिक संस्थाहरु स्थानीय तहको जिम्मेवारीमा पर्छन् । स्वास्थ्यको मापदण्ड पालना गरेर स्कुल चलाउन सकिने सोचाइ स्थानीय तहहरुको पनि थियो ।

    नेपाल नगरपालिका संघका प्रमुख तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु भन्छन्, ‘बन्द नगरी स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन अगाडि बढाउन सकिन्थ्यो । बन्द नगर्नु पर्ने थियो । विद्यार्थीको एक वर्ष बिग्रियो । अब परीक्षा आउन लागेको छ । जे सम्भावना छ त्यही विकल्प खोज्नुपर्छ ।’

    पहिलेजस्तै टेलिभिजन, रेडियो र अनलाइन जे सम्भावना छ, स्थानीय तहहरूले तिनै माध्यमबाट पठनपाठन सञ्चालन गर्ने कुरामा पहल गर्ने उनले बताए ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सरकारले बन्द गर्नुअघि सिकाइ निरन्तरता अभियानको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

    ‘यो बन्द गर्ने एउटा पत्रले मात्र हुँदैन । पत्र प्रेसित गर्न सजिलो छ । विद्यार्थीको भविष्य पनि सोच्नुपर्छ,’ उनी भन्छन्, ‘सरकारले वैकल्पिक भर्सनबाट सिकाइका लागि आधारभूत कार्यक्रम त बनाउनुपर्छ ।’

    भर्चुअल विधिबाट पहिलाको सिकाइ निरन्तर राख्नका लागि ‘वैकल्पिक सिकाइ निर्देशिका २०७७’ लाई ०७८ बनाएर केही परिमार्जन गरी लागू गनुपर्ने उनको जोड छ ।

    सिकाइ प्रभावकारी बनाउन अभिभावककै बीचमा समूह बनाएर, कतिपय समुदायमा वाइफाइ स्थापना गरेर विश्वसनीय र प्रविधियुक्त बनाएर जान सकिने उनको तर्क छ ।

    ’शिक्षाविद् लुइँटेल पनि अनलाइन कक्षा हुने ठाउँमा सोही माध्यम र नसक्ने ठाउँमा अभिभावसँग शिक्षकले सहकार्य गर्नुपर्ने बताउँछन् ।

  • आलोपालो कक्षा चलाउन विद्यालयलाई सरकारको आग्रह (भिडियो)

    आलोपालो कक्षा चलाउन विद्यालयलाई सरकारको आग्रह (भिडियो)

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए ।

    मन्त्री श्रेष्ठले भने, ‘प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएम) ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको छ ।’

    स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डीसीसीएमले गर्न सक्ने सचिव रामप्रसाद थपलियाको भनाइ छ ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने उल्लेख गरिएको छ ।

  • कर्णालीको राजधानीकै विद्यालयको अवस्था नाजुक, भुईंमै बसेर पढ्छन् बिद्यार्थी

    कर्णालीको राजधानीकै विद्यालयको अवस्था नाजुक, भुईंमै बसेर पढ्छन् बिद्यार्थी

    सुर्खेत । सात दशक अगाडि नेपालमा विद्यालय शिक्षाको सुरुआती समयमा बिद्यार्थीहरुले बस्ने चकटीसमेत घरबाटै लानुपर्ने हुन्थ्यो । समयले उत्तरआधुनिक युगमा प्रवेश गरे पनि नेपालका बिद्यालयमा अझै भूईंमै बसेर पढ्नुपर्ने बाध्यता रहेको तथ्य सुर्खेतको एउटा बिद्यालयले प्रमाणित गरेको छ ।

    जिल्लाको पूर्वी क्षेत्रमा पर्ने भेरी गंगा नगरपालिका वडा नम्बर ९ मा रहेको बिद्यासागर आधारभूत बिद्यालयका विद्यार्थीका लागि डेक्सबेन्च नै छैन । अधिकांश दलित समुदायको बसोबास रहने यो ठाउँका २ सय ४३ जना बालबालिका भूईं बसेर शिक्षाको ज्योती लिइरहेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर परियारले आफूहरुले विद्यालयको अवस्था दयनीय भएको भन्दै प्रदेश, स्थानीय सरकारमा अनुरोध गरेको भए पनि हालसम्म कतैबाट सहयोग पाउन नसकेको दुखेसो गरे ।

    ‘हाम्रो विद्यालयमा एउटा पनि डेस्क र बेन्च छैनन् । सबै विधार्थीलाई भुइमै राखेर अध्यापन गराइरहेका छौं,’ उनले भने, ‘यहाँ अध्ययन गर्ने अधिकांश दलित समूदायका बालबालिका छन् । यहाँका दलित समुदायको आर्थिक अवस्था पनि अत्यन्तै दयनीय छ, त्यहि कारण हामीले चाहेर पनि डेस्क बेन्च बनाउन सकेका छैनौं । नगरपालिका र प्रदेश तहमा हाम्रो पहुँच नपुगेका कारण यहाँ अहिलेसम्म सरकारबाट थप बजेट एक रुपैयाँ पनि आएको छैन ।’

    उनका अनुसार विद्यालयमा पाँच कक्षासम्म अध्यापन हुने भएतापनि पाँच वटा मात्रै कक्षा कोठा छन् । शिक्षकलाई बस्ने कुर्सी र एक टेबलको व्यवस्था गरिएको छ तर विद्यार्थी भने चाहे गर्मी मौसम होस, चाहे जाडो मौसम हो, भुइमैं बसेर अध्ययन गर्नुपर्ने अवस्था छ ।

    अध्यक्ष परियारका अनुसार विद्यालयमा एक स्थायी शिक्षक, दुइ राहत कोटाका शिक्षक, एक निजी र एक जना बालशिक्षा शिक्षक रहेका छन भने एक जना कार्यालय सहयोगी रहेका छन् ।

    ‘हामीले डेस्क र बेन्च उपलब्ध गराउन या बजेटको व्यवस्थापन गर्न नगरपालिकासँग दुइ तीन पटक माग नै गरेका थियौं, भेरी बबई डाइभर्सन आयोजनासँग पनि माग गरेका थियौं,’ उनले भने, ‘तर कतैबाट पनि समस्याको समाधान गर्ने प्रयास नहुँदा हामी निराश भएका छौं । हिजो मात्रै प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाही आएर विद्यालय हेर्नु भएको छ । माग ल्याएर आए समस्या समाधान गर्ने प्रयास गर्छु भन्नु भएको छ ।’

  • सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोट । कोरोना महामारीको जोखिमका कारण बन्द रहेका हुम्ला सिमकोट गाउँपालिकाभित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

    आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

    गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने विद्यार्थीले आफ्नै खर्चमा मास्क लगाएर विद्यालय उपस्थित हुनुपर्ने छ । राससबाट

  • १० महिनापछि खुले काठमाडौंका विद्यालय (भिडियो)

    १० महिनापछि खुले काठमाडौंका विद्यालय (भिडियो)

    काठमाडौं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् ।

    कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भइ विद्यालय सञ्चालन भएका छन् ।

    काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

    कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए । नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरीने प्रधानाध्यापक शर्माले बताए ।

    काठमाडौंका केहि विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् ।

    केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताए ।

    कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

  • माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

    माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

    काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।

    गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् ।

    अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए ।

    ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् ।

    काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत (आठौं) मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए।

    उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने  जनाए । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् ।

    कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताए ।

    भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ ।
    मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यकपर्ने बताए ।

    जनस्वास्थ्य विज्ञले भने विद्यायल खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौँ र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताए ।

    निजी विद्यालयले प्रत्यक्ष पढाइ नहुँदा पूर्ण शुल्क लिन नपाइएको र आर्थिकरुपमा सञ्चालन गर्न धौधौ परेको जनाउँदै शिक्षकलाई न्यून तलब दिन थालेका थिए ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्ता भएकाले उनीहरुसँग परामर्श लिई केन्द्र, प्रदेश र स्थानीय तहले विद्यालय शिक्षाको योजना बनाउनुपर्ने प्रतिक्रिया दिए ।