Tag: वागमती प्रदेश

  • डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् ।

    करिव चार महिनाअघिदेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका हुन् ।

    सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

    सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ । यसअघि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो ।

    संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन । वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् ।

    यसअघि तीनजना मन्त्रीहरु शालिकराज जमरकट्टेल,युवराज दुलाल र अरुण नेपालले राजिनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव अरुण नेपाल एमालेका नेता हुन् ।

    हाल वागमती प्रदेश सरकारमा अर्थमन्त्री कैलाश ढुंगेल, भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल र उद्योग पर्यटनमन्त्री दावादोर्जे लामा मात्रै छन् । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

    यसअघि प्रदेश १ मा अविश्वास प्रस्ताव कायम रहेकै अवस्थामा मुख्यन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेर माओवादी र माधव नेपाल गुटबाट प्रवेश गरेकाहरूलाई मन्त्री बनाइएको थियो ।

  • प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–माधव पक्षको आपत्ति

    प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–माधव पक्षको आपत्ति

    काठमाडौं । नेकापाको प्रचण्ड–माधव नेपाल पक्षले एक्कासी प्रदेशसभा बैठक स्थागित गरेकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न वागमती प्रदेशका सभामुखसित आग्रह गरेको छ । उक्त पक्षको दलकी नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै तत्काल प्रदेशसभा बैठक बोलाउन आग्रह गरेकी हुन् ।

    आजका लागि तोकिएको बैठक फागुन २ गतेसम्मका लागि स्थागित गरेपछि उक्त पक्षले निकालेको विज्ञप्तिमा भनिएको छ– अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल या जानकारी नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी र कुनै विशेष कारणसमेत नखुलाई गरिएको यो स्थगन तुरुन्त सच्याइ तत्काल प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखी प्रदेशसभाको बैठक अविलम्ब सुचारु गर्न हाम्रो दल मानीय सभामुख समक्ष जोडदार माग गर्दछ ।

    आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।

  • डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता

    डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।

    नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।

    हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

    ११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् ।

    केही सांसद अझै ढुलमुलमा छन् । डोरमणि पक्षले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अरु केही सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ । तर अष्टलक्ष्मी पक्षले अविश्वास प्रस्ताव पास हुने र ओली पक्षका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

    अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन । यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ ।

    तर उनले दल विभाजन भएर अल्पमतमा परेकाले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसको साथ चाहिन्छ ।

    कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मुख खोलेको छैन । दुवै पक्ष कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग संवादमा छन् । बानियाँले भने पार्टी केन्द्रको निर्देशन विना कुनै कदम नचाल्ने बताएका छन् ।

  • वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    काठमाडौं । वागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

    प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

    नेकपा विभाजनसँगै उनीहरुले मुख्यमन्त्रीमाथि विभिन्न आरोप लगाउँदै राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल केपी ओली नेतृत्वको नेकपामा छन् ।

    तीन मन्त्रीको राजीनामासँगै वागमती प्रदेशको सरकार धरापमा परेको छ । प्रचण्ड माधव नेपाल पक्षले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ ।