Tag: लुम्बिनी

  • लुम्बिनीको गणित सर्वोच्चमा बन्धक–विपक्षीलाई प्रदेश प्रमुखको भर,मुख्यमन्त्रीलाई एक अंकको डर

    लुम्बिनीको गणित सर्वोच्चमा बन्धक–विपक्षीलाई प्रदेश प्रमुखको भर,मुख्यमन्त्रीलाई एक अंकको डर

    रुपन्देही । माओवादी कोटाबाट प्रदेश प्रमुख बनेर अमिक शेरचन आएपछि लुम्बिनीमा जारी सत्ताको खेलले नयाँ मोड लिएको छ । यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवकै कारण मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन नसकिएको निष्कर्षमा पुगेको विपक्षी गठबन्धन शेरचन आएपछि हौसिएका छन् ।

    गठबन्धनले सोमबार नयाँ सरकार गठनका लागि ४१ जना (बहुमत सांसद)को हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन पेश गरेका थिए । तर आजै उक्त निवेदनमा हस्ताक्षर भएकी सांसद विमला वलीले एमालेमै रहेको विज्ञप्तिमार्फत् सार्वजनिक गरेकी छन् ।

    गठबन्धन दलले प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेका छन् । अदालतमा विचाराधीन विषयमा प्रदेश प्रमुखलाई दवाव दिएर विवादमा ल्याउन थालिएको छ ।

    विपक्षी ४ दलीय गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरी संविधानको भाग १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका हुन् । प्रदेश सभाका विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले अहिलेका मुख्यमन्त्री असंवैधानिक भएकाले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको माग गरिएको बताए ।

    सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त मन्त्री पुनर्बहालीको माग गर्दै अदालत गएका छन् । सत्तापक्ष आदेशको पर्खाइमा छ । गठबन्धन नयाँ सरकार गठनका लागि उत्साहित छ भने सत्तापक्षलाई बहुमत पुर्याउन संकट देखिएको छ ।

    प्रदेश प्रमुख कानूनी परामर्श गरेर अगाडि बढ्ने सोचमा रहेका बताइएको छ । उनले विपक्षी गठबन्धनको निवेदन लिँदै कानून व्यवसायीसँग छलफल र संविधानको गहिरो अध्ययनबाट आफू अगाडि बढ्ने बताएका छन् ।

    कसका कति छन् सांसद ?

    सदनमा अहिले ८३ सांसद कायम छन् । जसपाका ३ मन्त्री पदमुक्त भएकाले अहिले सत्तासीन एमालेसँग विमला वलीसहित ३९ सांसद छन् । नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८ (सभामुखसहित), जनता समाजवादी पार्टी उपेन्द्र समूह ३ र राष्ट्रिय जनमोर्चा १ सांसदको गठबन्धनमा सभामुखसहित ४१ जना सांसद छन् ।

    लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई आज दिएको समावेदनलाई सरकारले कानुनविपरीत भनेको छ ।

    सरकारमा सहभागी दलका सांसदहरुको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको समयमा नयाँ सरकार गठनको माग ल्याउनु कानूनविपरीत भएको सरकारको भनाइ छ ।

    प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार संविधानको धारा १६८ को १ अनुसार रहेको र सरकारमा सहभागी अर्को दलका सांसदहरुको पद सर्वोच्चबाट तत्कालका लागि अन्तरकालीन आदेशबाट थमौती भएपनि अन्तिम फैसला आउन बाँकी रहेकाले अहिलेको माग अनुपयुक्त भएको बताएका हुन् ।

  • लुम्बिनीमा सांसद खरिद–बिक्रीको घिनलाग्दो खेल !

    लुम्बिनीमा सांसद खरिद–बिक्रीको घिनलाग्दो खेल !

    जसरी पनि सत्ता नछोड्ने सत्तारुढ दलको रणनीति र सत्तामा जसरी भएपनि पुग्ने योजनाबाहेक अरु उद्देश्य नबनाएका विपक्षी गठबन्धनको राजनीतिक इगोले लुम्बिनी प्रदेशको राजनीतिलाई गिजोलेको मात्रै छैन, नागरिकलाई निरास बनाएको छ ।

    पक्ष र विपक्षको सत्ता केन्द्रीत राजनीतिले संघीयताको पहिलो कार्यकालमा रहेको प्रादेशिक संरचनालाई विवादित मात्र बनाएको छैन, यसको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । सत्ताका लागि दल परिवर्तन गर्ने सांसद, आफ्नो पार्टीको घोषणाविपरीत गठबन्धन बनाएका दल र रातारात संसदलाई आफ्नो पक्षमा पार्न गरिएको सांसद खरिदबिक्री प्रकरणले संघीयता र प्रादेशिक संरचनाका पक्षमा बहस गर्नेहरुलाई लज्जित बनाएको छ लुम्बिनीको राजनीतिले ।

    तीन वर्षभन्दा बढी एमालेसँग सत्ताको चास्नीमा डुबेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन छोडेपछि आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत शुरु गरेको आधा वर्षभन्दा बढी भइसक्यो । यसका लागि उसले सत्तारुढबाहेकका दलको गठबन्धन बनाएर अगाडि बढेको छ ।

    तीन वर्षभन्दा बढी सरकारको शक्तिशाली आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेका माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी अहिले मुख्यमन्त्री बन्ने योजनामा दौडिरहेका छन् । उनको दललाई यसअघि प्रमुख प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, सत्ता पक्ष र विपक्षमा बसेर नयाँ राजनीतिक दरिद्रता शुरु गरेको जनता समाजवादी पार्टी र संघीयताको विरोध गरेर नथाक्ने राष्ट्यि जनमोर्चाले साथ दिइरहेका छन् ।

    यहाँको सत्ता केन्द्रीत राजनीतिलाई आफ्नो कुनै राजनीतिक अडान नभएका सांसदहरुले थप घृणित बनाएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बनेको विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको पत्र संसदमा दर्ता गराएपछि मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ गते त्यो पत्रमा हस्ताक्षर गरेका ३ सहित ४ जना जसपाका सांसदलाई मन्त्री बनाएर आफ्नो सरकार जोखाउने रणनीति बनाए ।

    वैैशाख १९ मा विश्वासको मत लिने तयारी स्वरुप आह्वान गरिएको प्रदेशसभामा आफ्नै जिल्लाका आफैंले जिताएका सांसदले धोका दिने सूचना पाएपछि मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर ठूलो दलको दावी गर्दै पुनः सपथ लिए धारा १६८ को १ अनुसार । तर त्यो बीचमा उनकै दलका केही सांसदहरुले उनको साथ छोडिसकेका थिए ।

    सरकारको पक्षमा बहसमत नभएको दावी गदै विपक्षी गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय नै घेराउ गरे । तर उनले मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रलाई खुवाएपछि गठबन्धनका नेताहरु प्रदेश प्रमुखसँग थप चिढिए । उनीहरुले सरकार र प्रदेश प्रमुखविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम नै घोषणा गरे ।

    को हुन् छिनभरमै बिक्ने सांसद ?

    यो बीचमा एमालेमा दाङबाट अमर डाँगी र कपिलवस्तुबाट निर्वाचित दीर्घनारायण पाण्डेले पार्टीसँगै संसद पदबाट राजीनामा दिए । अहिले पाण्डे गठबन्धनबाट राष्ट्रियसभा सदस्य बनेका छन् भने डाँगीले दशकौंको राजनीतिक जीवनबाट सन्यास लिएका छन् ।

    यससँगै सूर्य चिह्नबाट (हृदयेश त्रिपाठी समूहबाट) चुनाव जितेका नवलपरासीका अजय शाही कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवले पनि विपक्षी गठबन्धनमा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरे । तर हस्ताक्षर एक दिन मात्र टिक्यो ।

    अर्को दिन दुवै जनाले आफू भूलबस गठबन्धनमा गएको बताएर सरकारको समर्थनमा रहेको बताए । तीमध्ये श्रीवास्तव अहिले शिक्षामन्त्री छन् भने शाही अहिले पनि असन्तुष्ट छन् ।

    दाङबाटै नेकपाबाट चुनाव जितेकी एमालेकी विमला वली माओवादीमा लागेको घोषणा गरिन् तर एमालेले उनलाई अपहरण गरी जबरजस्ती लगेको दावी गर्दै आयो । अहिले फेरि उनी एमालेमै लागेको समाचार बाहिरिएका छन् ।

    सत्ताका लागि मरिहत्ते गरेर आफ्नो समूह छोडेर मन्त्री बनेका जसपाका ४ मन्त्रीहरुको नाम अग्रपंक्तिमा आउँछ । जसपाबाट सन्तोष पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकै दिन केही घन्टामै आफ्नो अडान छाडेर मन्त्री बन्न पुगेका थिए । उनीहरुसँगै कल्पना पाण्डे पनि पनि मन्त्री बनेकी हुन् ।

    केही सातायता सुमन शर्मा रायमाझी फेरि सरकारको समर्थन छोडेर विपक्षी गठबन्धनमा आएकी छन् भने विपक्षी गठबन्धनमा रहेकी पुर्मती ढेंगामगर सरकारको समर्थनमा पार्टीसँग सम्पर्कमा नरहेको समाचार आइसकेको छ ।

    विपक्षीले सत्ता जोगाउन सरकारले संसद खरिद गरेको अपुष्ट आरोप लगाउँदै आएको छ भने सत्तारुढ दल एमालेले आफ्नो समर्थन छोड्नेलाई आर्थिक प्रलोभनमा बिकेको आरोप लगाउँदै आएको छ ।

    एमाले सचेतक भूमिश्वर ढकालले एमाले छोडेका अमर डाँगीका छोराले डेढ करोड नदिए पार्टी छोड्ने सूचना दिएको र त्यो पार्टीले दिन नसक्ने जनाएकाले राजीनामा दिएको पटक–पटक सार्वजनिक गरेका छन् ।

    दुवै पक्षले खोज्दै अदालतको साथ

    अहिले लुम्बिनी प्रदेशका पदमुक्त पाँच सदस्य पुनर्बहालीको मागसहित सर्वोच्च अदालत गएका छन्  । लुम्बिनी प्रदेशमा सुरु भएको सत्ता परिवर्तनको खेल अदालतको आदेशमा अल्झिएको छ । पदमुक्त भएका सांसद पुनर्बहालीको माग गर्दै अदालत गएपछि सत्तापक्ष र विपक्षी गठबन्धन अदालतको आदेश पर्खेर बसेका हुन् ।

    सरकार पक्ष पदमुक्त भएका माओवादी केन्द्र र जसपाका सदस्यलाई पुनर्बहाली गराएर सरकार बचाउने कसरतमा छ भने विपक्षी गठबन्धन जसरी पनि सरकारमा जाने दाउमा छ ।

    कांग्रेस प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश प्रमुखलाई सरकार अल्पमतमा रहेको जानकारी गराए पनि तत्काल अविश्वासको प्रस्ताव नल्याएको बताए । उनले सकभर मुख्यमन्त्रीबाट राजीनामा आओस् भनेर केही दिन कुर्ने बताए  ।

    माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले सांसदहरू अदालत गए पनि पुनर्बहाली हुने सम्भावना नभएको बताए  । ग्ठबन्धनको सरकार बन्ने भएपछि केही दिन कुर्ने उनले बताए । उनीहरुको भनाइबाट अदालतको निर्णय हेर्ने संकेत बुझिन्छ ।

    एमाले प्रवेश गरेका माओवादी केन्द्रका दुई सांसद मात्रै पुनर्बहाली भए पनि माओवादी केन्द्र रोजेकी विमलाकुमारी खत्री वलीलाई तानेर आफ्नो बहुमत पुर्याउने सरकारको योजना छ ।

    सरकारका प्रवक्ता वैजनाथ चौधरीले अदालत गएका सांसदको टुंगो नलाग्दासम्म विश्वासको मत लिने र आफ्नो वैधता प्रस्तुत नगर्ने बताए । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुपर्ने कारण सोधेको छ । आइतबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनीहरूलाई हटाउनुको कारण माग्नुका साथै भदौ ८ मा दुवै पक्षलाई बोलाएको छ ।

    लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका पदमुक्त ३ प्रदेशसभा सदस्य पनि पुनर्बहालीको मागसहित अदालत गएका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

    साउन १५ मा पदमुक्त उनीहरूले पुनर्बहाली र प्रदेशसभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएको भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पाण्डेले बताए । यो निवेदनमाथि अदालतले साउन १९ का लागि पेसी तोकेको छ ।

    यसअघि जसपाले उनीहरूलाई पार्टीको सदस्यबाट निष्कासन गरेपछि वैशाख १६ मा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको थियो । उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यो मुद्दाको पेसी भने भदौ १७ गतेका लागि तोकिएको छ ।

    प्रदेश प्रमुखलाई दबाब

    विपक्षी गठबन्धनले यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवका कारण सरकार टिकिरहेको दावी गर्दै आएको छ । संघीय सरकार फेरिएसँगै उनीहरुले तत्काल प्रदेश प्रमुख फेर्न आफ्ना नेताहरुलाई दवाद दिँदै आएका थिए ।

    माओवादी कोटाबाटल प्रदेश प्रमुख भएका अहिलेका प्रदेश प्रमुख अमिक शेरचनलाई उनीहरुले सरकारको वैधताका विषयमा ध्यानाकर्षण गराउँदै पत्र दिइसकेका छन् ।

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अवैध रुपमा चलिरहेको सरकारका विरुद्ध प्रदेश प्रमुखले छिटै आफ्नो प्रकृेया शुरु गर्न आग्रह गरिएको उनले बताए ।

  • लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

    लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

    रुपन्देही । सत्तापक्ष र विपक्षी गठबन्धनको पेचिलो विषय बनेको लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/ ०७९ को बजेट माथिको छलफल सकिएको छ ।

    असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो । सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो ।

    मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।

    त्यस्तै बजेट कार्यकर्तालाई बांडिएको भन्दै आलोचनासमेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए ।

    मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रकृयामा लगेको आंकलन गरिएको छ ।

    सरकारले विपक्षी गठबन्धनले उठाएजस्तैगरी सरकारसंग बहुमत नगुमेको जनाएको छ । सरकारमा सहभागी जसपाका ३ सहित ४ सांसदको अदालती टुंगो र एमालेबाट माओवादी प्रवेश गरेकी सांसद विमला वलीलाई एमालेले कारबाही गर्न पठाएको प्रकृया अगाडि नबढ्दासम्म एमालेले कानुनीरुपमा आफ्नो राजनीतिक बहुमत भएको दावी गर्दै आएको छ । यही कारणले पनि यो विषय दुवै पक्षको लागि पेचिलो बनेको हो ।

  • लुम्बिनीमा बजेटमाथिको छलफल शुरु

    लुम्बिनीमा बजेटमाथिको छलफल शुरु

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले पेश गरेको बजेटमाथि लुम्बिनी प्रदेशसभामा छलफल शुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका बारेमा आजबाट मन्त्रालयगत छलफल शुरु भएको हो ।

    आज र भोलि बजेटमाथि छलफल हुने र असार ३० गते उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गरेपछि २७ दिनपछि हिजो मात्र छलफलका लागि प्रदेशसभामा प्रवेश पाएको थियो ।

    प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बजेटमाथिको छलफल बहिष्कार गर्दै आएका विपक्षी दलले हिजोदेखि शुरु भएको सदनमा सहभागी भएका छन् । बजेटमाथि विपक्षी दलका संसदहरुले प्रचारमुखी बजेट भन्दै कार्यान्वयन हुन नसक्ने जनाएका छन् भने सत्तारुढ दलका सांसदहरुले बजेट जनमुखी भएको बताएका छन् ।

  • बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    रुपन्देही । लुम्बिनी प्रदेशका केही स्थानीय सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही आकर्षक र नमूना योजना समावेश गरिएका छन् ।

    आफ्नो कार्यकालको अन्तिम बजेटमा ती पालिकाले स्वास्थ्य, कृषि, शिक्षालाई विशेष प्राथमिकतामा राख्दै केही नयाँ योजना अगाडि सारेर चर्चामा आएका छन् ।

    बैजनाथमा एकल पुरुषलाई भत्ता

    बाँकेको बैजनाथ गाउँपालिकाले ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिने भएको छ ।

    त्यस्ता पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्ष मानबहादुर रुचाल ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।

    यसैगरी उच्च शिक्षा पढ्न चाहने छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराइनुका साथै शिक्षामा प्रविधि जोड्ने उद्देश्यले प्रधानाध्यापकलाई कम्प्युटर शिक्षा र ल्यापटप उपलब्ध गराउने, नमुना विद्यालय निर्माणको पूर्वाधार तयार गर्ने, शिक्षक अनुदान कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

    कोरोना कहरबाट प्रभावित परिवार जसले कोभिड–१९ बाट ज्यान गुमायो, उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्ने, प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने, निकुञ्ज परिसरमा हुने मानवीय क्षतिलाई विपदसरह मानेर राहत तथा क्षतिपूर्ति दिनेलगायत कार्यक्रम छन् ।

    प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पशु, पर्यटन घरेलु तथा साना उद्योग, सहकारी, बालबालिका, महिला, अपांगता, दलित आदिवासी जनजाति अल्पसंख्यक, ज्येष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, धर्म संस्कृति, शिक्षा, वन वातावरण तथा विपत् व्यवस्थापन, सार्वजनिक सेवा सुशासन तथा क्षमता विकास, विधायन तथा वित्तीय अनुशासनलगायतका महत्वपूर्ण क्षेत्र समेटेको छ ।

    बुटवलमा रोजगारी सिर्जना गर्न श्रम बैंक

    बुटवल उपमहानगरपालिकाले रोजगार सिर्जनाका लागि उपमहानगरले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने भएको छ ।

    स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याएको नीति कार्यक्रममा प्रमुख शिवराज सुवेदीले रोजगार सिर्जन ागर्न श्रम बैंक ल्याएको बजानकारी दिए । स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र करिब सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको छ ।

    त्यस्तै यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । विगतबाट सञ्चालित मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै अपांगता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति समेत नगरपालिकाले लिएको छ ।

    धुर्कोटमा कृषि ऋण अनुदान

    गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि अनुदान, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने भएको छ ।

    पालिका प्रमुख भुपाल पोखरेलले नीति तथा कार्यक्रममा २५ रोपनी भन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन वर्षसम्म अनुदान दिने व्यवस्था गरेको बताए । उनले व्यवयायिक कृषि खेतीलाई व्यस्थित गर्न यस्तो योजना ल्याएको जानकारी दिए ।

    भैरहवामा कृत्रिम पर्यटकीय गन्तव्य

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पालिका क्षेत्रभित्र कुनै पनि पर्यटकीय गन्तव्य नभएपछि लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै कृत्रिम पर्यटकीय गन्तव्य बनाउने भएको छ । नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग जोडिदै पर्यटन विकासमा जोड दिने गरी आगामी बर्षको लागि नीति तथा कार्यक्रममा यस्तो योजना ल्याइएको हो ।

    पर्यटन, उद्योग, व्यापार र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने थेगोलाई आत्मसात गर्दै आएको सिद्धार्थनगर(भैरहवा)का नगर प्रमुख हरि प्रसाद अधिकारीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

    प्रकृतिले हामीलाई पर्यटकलाई आकर्षित गर्नसक्ने त्यस्तो कुनै कुरा दिएको छैन तर हामीसंग उपलब्ध श्रोतसाधन, अव्यवस्थित खोलानालाको समेत उचित प्रयोग गर्दै पर्यटकलाई आकर्षित गर्ने गन्तव्यहरु ब्नाउने योजना ल्याएका छौ, नगर प्रमुख अधिकारीले भने । हाम्रो शहर पर्यटकीय शहर होइन तर हामी कृत्रिम वस्तुहरुको माध्यमबाट पनि पर्यटकीय शहर बनाउन लागिपरेका छांै र नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि जोड दिइएको छ– नगर प्रमुख अधिकारीले भने ।

    लुम्बिनी क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता महत्व र अवसरहरुलाई आधार मानी सोही बमोजिम पर्यटकीय कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगरपालिकामा पर्यटनको प्रवद्र्धधन तथा विकासका लागि पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने, नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीसंग सहकार्य गर्दै अघि बढ्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने, एक वडा एक उद्यान/पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर(ग्रिन सिटी)को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रैमहिना फूल फुल्ने शहरको रुपमा विकास गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

  • जसपा लुम्बिनीका चार सांसदको पूर्ण सुनुवाइ असार २१ मा हुने

    जसपा लुम्बिनीका चार सांसदको पूर्ण सुनुवाइ असार २१ मा हुने

    काठमाडौं । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ ।

    उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए ।

    अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमवार यस्तो आदेश दिएको हो । जसपाका ६ जनामध्ये ४ जना सांसदलाई यादव पक्षले कारवाही गरेको थियो । उनीहरू चारैजना अहिले मन्त्री छन् ।

  • नीति तथा कार्यक्रमको समर्थन नगर्ने लुम्बिनीका दुई जसपा सांसादलाई पुनः स्पष्टीकरण

    नीति तथा कार्यक्रमको समर्थन नगर्ने लुम्बिनीका दुई जसपा सांसादलाई पुनः स्पष्टीकरण

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गरेका दुई जना सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ ।

    जेठ ३१ गते सांसदद्वय सहश्रराम यादव र पुर्मती ढेंगामगरलाई सोधिएको सात दिने स्पष्टीकरणको जवाफ नआएकोले २४ घण्टाभित्र पुनः स्पष्टीकरण मागिएको पार्टीका संसदीय दलका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

    पाण्डेयको अध्यक्षतामा आइतबार बसेको दलको बैठकले दुवै सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको प्रमुख सचेतक तथा प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताइन् ।

    जेठ २९ मा जसपा संसदीय दलको बैठकबाट वर्तमान सरकारको नीति तथा कार्यक्रमको पक्षमा समर्थन गर्ने ह्वीप जारी भए पनि दुई जना सांसदले विपक्षमा समर्थन गरेका थिए ।

    यसअघि जसपाको तर्फबाट प्रदेशसभामा दलको नेता सहश्रराम यादव रहेकोमा गत वैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोषकुमार पाण्डेयलाई दलको नेता बनाइएको प्रमुख सचेतक पाण्डेले जानकारी दिइन् । पछिल्लोपटक दलको नेता चयन भएका पाण्डेयले प्रदेशसभामा रहेका संसद सदस्यहरुमध्येको दुईतिहाई बढी सदस्यको निर्णयबाट आफू दलको नेता चयन भएको बताएका छन् ।

    पार्टीका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाका सांसदहरु दुई कित्तामा विभाजित छन् । यसअघि प्रदेश सरकारमा सहभागी भएका ४ जना मन्त्रीलाई सांसदबाट पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थामिएको छ ।

    प्रदेशसभामा जसपाको आधिकारिताको विवाद कायम छ । उपेन्द्र यादव पक्षधर दुई जना सांसद विपक्षीको टेबलमा बसेका छन् । महन्थ ठाकुर पक्षीय ४ जना सांसद भने सरकारमा सहभागी छन् । प्रदेश सभाले जसपाका ६ सांसदमध्ये सत्ता पक्ष र प्रतिपक्षमा बस्न थालेपछि कानुनी जटिलता आएको जनाएको छ ।

  • बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

    बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

    रुपन्देही । तीन दिनदेखि निरन्तर वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् । रुपन्देहीमा हिजोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने भएको छ ।

    प्रदेश प्रहरी कार्यालयले बाढीका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरु अवरुद्ध भएको जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि डुबानमा छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाउँठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।

    मंगलबार दिउसोदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको देवदह नजिकै भास्सिएको सडक आजसम्म खुल्न सकेको छैन ।

    निरन्तर वर्षा जारी रहेका कारण बैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

    त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी, रिडी तम्घास र रिडी वामीटक्सार खण्ड पनि बन्द रहेका छन् ।

    सिद्धार्थ राजमार्गको तिनाउ ५ कालिमाटी, तानसेनको गौडा पुल, तानसेन ८ को जरेपिपल तथा तानसेन १४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । पाण्डेका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

    कपिलवस्तुको गारुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले जानकारी दिए ।

    वर्षापछि रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले सतह पार गरेपछि दजनौं घर सारिएको जनप्रतिनिधि नकुल शाहीले बताए । बुटवल वडा नं ११ मा मंगलबार राती धेरै घरलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । सो क्षेत्रका दजर्नौ घर बाढीले डुबानमा परिसकेका छन् ।

    उपमहानगरपालिकाले मंगलबारदेखि नै सर्वसाधारणलाई क्षतिबाट जोगाउन अपील गरेको र ठाउँठाउँमा प्रहरी तथा स्काउटको टोली खटाइएको प्रमुख शिवराज सुवेदीले बताए ।

     

  • काेभिडकेन्द्रित बजेट ल्याउने लुम्बिनी सरकारको याेजना

    काेभिडकेन्द्रित बजेट ल्याउने लुम्बिनी सरकारको याेजना

    रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आजको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने विनियोजन विधेयकका सिद्धात र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

    बैठकको शुरूमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीलाई विनियोजन विधेयक छलफलको प्रस्तावका लागि समय दिएका थिए ।

    मन्त्री चौधरीले विधेयकको आवधिक योजनामा आधारित रहेर योजना बनाएको बताए । उनले कोभिड-१९ लाई केन्द्रमा राखेर योजना बनाएको, अर्थतन्त्र चलायमान, स्वास्थ्यमा नागरिकको पहुँच, लगानीमैत्री वातावरण र रोजगारीको व्यवस्थापन, प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले शुरू गरेको योजना समयमै पूरा गराउने उद्देश्य राखेको सदनसमक्ष जानकारी दिए ।

    मन्त्री चौधरीले कोभिड नियन्त्रण र रोकथाम, आय विस्तार र आर्थिक वृद्धि, विनियोजन सुधार र आय प्रणाली, खर्चमा सुधार, आर्थिक सुशासन र पारदर्शीतालाई प्राथमिकतामा राखेको बताए । यो विषयमा संसदहरूले आफ्नो धारणा राख्न शुरु गरेका छन् ।

  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने मागबारे के भन्छन् कानूनविद् ?

    लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने मागबारे के भन्छन् कानूनविद् ?

    रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनमा रहेका ४ दलले मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुपर्ने माग गरिरहेको समयमा कानुनविद्हरुले भने अहिले यो आवश्यक नरहेको बताएका छन् ।

    वरिष्ठ अधिवक्ता विनोद गौतमले विपक्षी दलका सांसदहरूले संविधानको गहिराईमा नपुगी गरिएको स्टन्टबाजी भएको तर्क गरेका छन् । ‘मुख्यमन्त्रीले धारा १६८ को उपधारा १ बमोजिम सपथ लिएपछि विश्वासको मत लिन आवश्य छैन, कानूनमा त्यो प्रष्ट छ, गण्डकीमा त्यो आवश्यक छ तर लुम्बिनीमा कानूनले त्यो आवश्यक देखाउँदैन, यो उहाँहरुको स्टन्टबाजीमात्रै हो अनावश्यक बखेडा हो’ उनले भने । उनले सपथ लिने प्रक्रिया अगाडि नै दलहरूले त्यो प्रकृया पुर्‍याउन नसकेपछि अहिले बखेडा निकाल्न आवश्यक नहुने तर्क गरे ।

    वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले पनि सपथ लिनुनपर्ने जनाए । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलले सपथ लिने समयमै त्रुटी गरेकाले यो कुरा उठाएको हुनसक्ने उनको भनाइ छ । ‘सपथ लिने समयमा नै बहुमत र अल्पमतको कुरा आएको थियो, यो त्यतिबेलैबाट उठेको विषय हो’, उनले भने ।

    नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारले तत्काल विश्वासको मत लिनु नपर्ने जिकिर गर्छन् । यसअघिको सरकार उपधारा २ बमोजिम बनेको उल्लेख गर्दै उपधारा १ बमोजिम पहिलो पटक बनेको सरकारले २ वर्षसम्म विश्वासको मत लिनु नपर्ने कानूनमा प्रष्ट उल्लेख गरिएको ढकालको दावी छ ।

    प्रदेशसभाको बैठकमा विधेयकसम्बन्धी, कानून निर्माणका नियमित र प्रक्रियागत गतिविधिहरू मात्र हुने विश्वास अविश्वास लगायतका विषयमा कुनै कुरा नहुने ढकालको भनाइ छ । उनले भने,‘सरकारसँग स्पष्ट बहुमत छ, सरकार गठनका बेला बहुमत रहेको र त्यसपछिका घटना र गतिविधिले प्रभाव पार्दैन ।’

    तर नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले मुख्यमन्त्रीको पुनः नियुक्तिकै समयमा आफूले यो कुरा उठाएकाले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा जसरी पनि छलफल हुनुपर्ने स्पष्ट अडान रहेका बताएका छन् ।

  • राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    रूपन्देही । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

    प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

    निर्वाचनका लागि दाङको घोराहीमा तीन मतदानस्थल तोकिएको छ ।

  • लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

    लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका तीन मतदान स्थलको व्यवस्था गरिएको छ । निर्वाचनमा १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ जना र ८३ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन् । कोभिड संक्रमितका लागि अलगै स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

    राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइएको छ ।

    माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

    निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । निर्वाचनमा जसपाको महन्थ ठाकुर पक्षले खड्कालाई मतदान गर्न ह्वीप जारी गरेको छ । सचेतक कल्पना पाण्डेले विज्ञप्ति जारी गरी खड्कालाई मतदान गर्न निर्देशन गरेकी छन् ।  जसपाका ४ सांसदलाई अन्तिम समयमा मतदातामा समावेश गरेको भन्दै गठबन्धन दलले विरोध गरेका छन् ।

  • लुम्बिनी : महामारीले औपचारिकतामा सीमित बुद्धजयन्ती

    लुम्बिनी : महामारीले औपचारिकतामा सीमित बुद्धजयन्ती

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औं बुद्धजयन्ती मनाइएको छ । कोरोना महामारीको कारण विगतका वर्षहरुमा धुमधामका साथ मनाइने बुद्धजयन्ती यसबर्ष सामान्य रूपमा मनाइएको हो ।

    लुम्बिनी विकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाएको हो । विगतका वर्षमा राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा शान्ति र्‍याली, दीप प्रज्वलन, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा लुम्बिनिको विकासमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै बुद्धजयन्ती मनाउने गरिन्थ्यो ।

    लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतबर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजापाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रूपमा मनाएको बताए । आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले मायादेवी मन्दिर परिसरमा दीप प्रज्ववलन र खिर दान गरी बुद्धजयन्तीको शुभारम्भ गरे । लुम्बिनीमा रहेका सबै गुम्बा र बिहारको प्रतिनिधित्व हुनेगरी भिक्षु तथा भन्तेहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलिको भिडियो सन्देश प्रसारण गरिएको थियो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम पूरा गरी बृहत लुम्बिनी गुरुयोजनाको लागि सरकारले योजना बनाइरहेको बताए । उनले लुम्बिनीमा निर्माणाधीन सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी बर्षको बुद्धजयन्ती सोही सभाहलमै गर्न सकिने बताए । उनले लुम्बिनी मानवजातिकै पवित्र भूमि भएको उल्लेख गर्दै बुद्धिजमको माध्यमबाट विश्वका मानव समुदायको कल्याण गर्न सकिने बताए ।

    मुख्यमन्त्री पोखरेलले विश्वका बुद्ध धर्म मान्ने मुलुकका गुम्बाहरु यहि निर्माण भइरहेकोले बुद्धिजमलाई विश्व समुदायले कसरी ग्रहण गरेको छ भन्ने पुष्टि भएको उल्लेख गर्दै लुम्बिनी बुद्धिजमको माध्यमबाट बिश्वले हेर्ने थलो बनेको बताए ।

    कोभिड संक्रमितहरुको संख्या घटिरहेपनि विज्ञहरुले तेस्रो लहर आउनसक्ने भनिरहेकोले स्वास्थ्य प्रोटोकलको पालना गर्न उनले सबैलाई आग्रह गरे ।

    लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी गुरुयोजनाका बाँकी काम निर्माणको लागि ४ अर्बको टेण्डर आह्वान गरिएको र अबको साढे २ वर्षभित्र गुरुयोजनाको काम सम्पन्न हुने बताए । सिद्धार्थ गौतम जन्मिएको, बुद्धत्व प्राप्त गरेको र महापरीनिर्वाण भएको दिनसमेत बैशाख पूर्णिमाकै दिन रहेकोले बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको उनले बताए ।

  • बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    रुपन्देही । संसारभर २५६५ औं बुद्ध जयन्ती मनाइरहँदा बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान छ । कोरोना महामारी नियन्त्रणका प्रयासस्वरुप गरिएको बन्दाबन्दीले बुद्ध धर्मावलम्बीलाई पवित्र तीर्थस्थल लुम्बिनी भ्रमणमा समस्या परेको छ ।

    विगतका वर्षहरुमा बैशाख पूर्णिमा नजिकिँदै गर्दा देशी तथा विदेशी धार्मिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो । पूजाआजा हुन्थ्यो, पर्यटकले लुम्बिनी क्षेत्रको व्यवसाय चलायमान हुन्थ्यो । तर एक वर्ष अघिदेखि लुम्बिनी सुनसान छ ।

    गएको मंसिर महिनादेखि चैत मसान्तसम्म आन्तरिक पर्यटकले केही गुलजार थालेको थियो तर भारत तथा नेपालमा संक्रमणले तीव्र रुप लिन थालेपछि अहिले पूरै सुनसान छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा यसअघि बुद्ध जयन्तीभन्दा हप्ता दिन अघिबाटै चहलपहल हुन्थ्यो । बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो ।

    गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो । यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे । कोरोना महामारी सुरु भएपछि मुलुकको प्रमुख पर्यटकीय र धार्मिकस्थल लुम्बिनी विगत एक वर्षदेखि सुनसान छ ।

    बुद्ध जन्मस्थलमा अहिले बौद्धभिक्षु, विक्षुणीका बन्दना बिरलै सुनिन्छ । विगतमा जस्तो चहलपहल नभए पनि यसपटकको बुद्ध जयन्तीमा लुम्बिनीमा विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गरेर मनाइने भएको छ ।

    नित्य पूजामा पनि स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ । लुम्बिनीमा प्रत्येक वर्ष ठूलो पर्वका रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली बुधबार बुद्धजयन्ती परेको छ । तर बिगतमा जस्तो धुमधाम तयारी छैन । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको विकास कोषका सदस्य सचिव सानु्राजा शाक्यले बताए ।

    यसपाली बुद्ध जयन्तीमा मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई हातमा पञ्जा, अनुहारमा मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । रुपन्देहीमा निषेधाज्ञा लागू छ । बुद्धस्थलमा पनि त्यसको असर छ । त्यसैले २५६५औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन ।

    बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ ।

    त्यसपछि पूजापाठ, परित्राण पाठ गरिने छ । साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिने छ । सिसौका रुख विस्थापन गर्ने उद्देश्यसहित यसपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको योजना प्रमुख सराज भट्टराईले बताए ।

  • लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव

    लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव

    रुपन्देही । कोराना महामारीले आमनागरिकको स्वास्थ्यमा संकट पारेकाले लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

    महामारीले आक्रान्त भएकाहरुलाई सान्त्वना दिने गरी कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ । उद्योगी, व्यवसायी, प्रशासन लगायतका क्षेत्रका अनुभवी तथा विज्ञहरुले भर्चूअलमा कोभिड–१९ ले सर्वसाधारणदेखि उद्योग, व्यवसाय र रोजगारमा अत्याधिक प्रभाव पारेको हुँदा त्यो क्षेत्रको पुनः सञ्चालन र व्यवस्थापनका लागि विशेष बजेटसँगै योजना ल्याउनुपर्ने निष्कर्ष निकालेको हुन् ।

    आर्थिक अनुसन्धान केन्द्र नेपालले ‘लुम्बिनी प्रदेशको २०७८÷७९ को बजेटमा क्षेत्रगतरुपमा समेटिनुपर्ने पक्षहरु’ विषयमा आयोजना गरेको संवाद कार्यक्रममा सहभागीहरुले कोरोना महामारीपछिको समयलाई ध्यानमा राखेर बजेट तथा योजना तय गर्न सुझा दिएको अध्यक्ष हुमराज भुसालले जानकारी दिए ।

    कार्यक्रममा सहभागी प्रतिनिधिको जवाफ दिँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी बजेट कोरोना केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    ‘क्रमागत योजनालाई निरन्तरता दिने हो, नयाँ योजना समेट्न सकिने अवस्था छैन, बजेट गतवर्षको भन्दा ठूला ल्याउन पनि सकिने अवस्था छैन, त्यही बजेटलाई पनि स्रोत जुटाउन समस्या पर्ने देखिएको छ,’ मन्त्री चौधरीले भने, ‘यस वर्ष कोरोनाबाट प्रभावित क्षेत्रलाई राहत तथा उत्थानका लागि विशेष महत्व दिइने छ । महामारीको बेलामा साधन र श्रोतको बढी आवश्यकता पर्ने भएकोले करमा बृद्धि गर्नुपर्ने पनि देखिन्छ ।’

    लुम्बिनी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले कोभिड ब्यवस्थापनको लागि कोभिड फण्ड स्थापना गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘कोभिडका कारण बैदेशिक रोजगारी गुमेको छ । आन्तरिक बेरोजगारी बढ्दो छ । सीप विकास तालिमलाई प्राथमिकता दिइ उपलब्धिमूलक बनाउनुपर्ने छ । र, कृषि उद्यमी तालिम दिई निब्र्याजी ऋण उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोजगारी गुमाएकालाई विशेष कार्यक्रम, बाँझो जमिनलाई उर्बर बनाउने र चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्दै स्वनिर्भर उद्योगमा जोड दिनुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र डा. पुरनमान बज्राचार्यले कोरोनाले प्रत्यक्ष प्रभाब पारेका कृषि, रोजगारी, पर्यटन र उद्योगलाई उकास्न बिशेष पहल गर्नुपर्ने र तत्कालीन महत्वका क्षेत्रहरु पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक गुलाब धवल, लुम्बिनी प्रदेश, सहकारी विज्ञ डा. खगराज शर्मा, अर्थशास्त्री डा. राजेश केशर खनाल, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, नेपाल च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, उद्योग बाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेललगायतले कोरोना प्रभावित क्षेत्र र जनजीवनलाई सामान्य बनाई पुनरुत्थानका लागि लुम्बिनी प्रदेश सरकारले विशेष प्राथमिकता दिई बजेट ल्याउन सुझाव दिएका थिए ।

    कार्यक्रममा सहभागीको धारणा समेटेर प्रतिवेदन बनाई विभागीय मन्त्रालयमा पेश गरिने केन्द्रका कोषाध्यक्ष अमर डिसीले बताए ।

  • उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

    जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए ।

    उनीहरू सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर आए पनि त्यसबेला अदालतमा बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धी बाहेक अरु रिट दर्ता नभएकाले फर्किएका थिए । आइतबारदेखि अदालतमा मौलिक हक र संवैधानिक व्याख्या लगायतका मुद्दामा पनि सुनुवाइ हुने भएपछि पहिलो दिनमै उनीहरुको रिट दर्ता भएको थियो ।

    चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन् । उनीहरुलाई कारवाही गर्ने उपेन्द्र यादव पक्षको निर्णय अवैधानिक रहेको भन्दै सोही बेला महन्थ ठाकुरले प्रदेश सभास सचिवालयलाई पत्र पठाएका थिए । तर, सचिवालयले ठाकुरको पत्रलाई बेवास्ता गरेको थियो ।

    जसपाको संसदीय दलको विधान नै नबनेको र दलका ६ जनामध्ये ४ जना सदस्य एकातिर रहेको अवस्थामा अल्पमतले बहुमतलाई कारवाही गर्ने कुरा नै गलत रहेको जिकिर सुनुवाइका क्रममा गरिएको थियो ।

    निवेदकलाई निष्कासन गर्नुअघि सम्बन्धित दलले अनिवार्यरुपमा सफाइको मौका दिनुपर्ने कार्यविधिको पालना नगरेको देखिएकाले प्रथम दृष्टिमा नै उक्त प्रक्रिया गलत रहेको र लुम्बिनी प्रदेशका सभामुखबाट समेत सोही बमोजिम सूचना जारी भएको देखिएकाले सुविधा र सन्ख्तुलनको दृष्टिले समेत दुवै पक्षबीच छलफल हुनुपर्ने अदालतले ठहर गरेको छ ।
    सो सम्बन्धमा अन्तिम निर्णय नभएकोसम्मको अवधिका लागि उनीहरुलाई सोही पदमा बहाल गर्न र यसअघि प्रदुेश सभाले गरेको निर्णय कार्यन्वयन नगर्न अदालतले आदेश दिएको छ ।

  • एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ नेकपा एमालेविरुद्ध अन्य चार दलले सामूहिक मोर्चा बनाएर लड्ने भएका छन् ।

    आगामी जेठ १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदार मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै दलहरूले आफ्नो-आफ्नो तयारी गर्न थालेका हुन् ।

    निर्वाचन कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । यो निर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले यसअघि माओवादीबाट एमालेमा प्रवेश गरेर सोही पदबाट पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए ।

    तर अन्य दलले भने सामूहिक गठबन्धन बनाएर एकल उम्मेदार बनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह तथा जनमोर्चाले एमालेबाट लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदार बनाउने निर्णय गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गठबन्धन बनाएका ती दलले यो चुनावमा सामूहिक उम्मेदारको घोषणा गरेका थिए ।
    जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले गठबन्धनका उम्मेदार दीर्घनाराण पाण्डेयलाई मतदान गर्ने पार्टीले निर्णय गरेको बताए ।

    निर्वाचन आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।

    नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीय तहका पदाधिकारीलाई पार्टी एकाकाररूपमा अगाडि बढिसकेकाले एमालेको एकल मतभार बलियो भएको एमाले नेता भूमिश्वर ढकालले बताए ।

  • लुम्बिनीमा कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे अर्थमन्त्री पौडेलको चासो

    लुम्बिनीमा कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे अर्थमन्त्री पौडेलको चासो

    रूपन्देही । कोरोना संक्रमणको केन्द्र बनेको लुम्बिनी प्रदेशको महामारी नियन्त्रणमा योजना बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहल थालेका छन् । पौडेल रुपन्देहीबाट संघीय सांसदमा प्रतिनिधित्व गर्छन् ।

    कोभिड–१९ को प्रभाव नियन्त्रण, लुम्बिनी प्रदेशका हरेक जिल्लाका कोभिड(१९ नियन्त्रण सम्बन्धि मूलभूत समस्या, समस्या समाधानका उपायलगायतका सन्दर्भमा अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको समन्वयमा पहल थालेका हुन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशसभाका सांसदहरू, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा मंगलबार भर्चुअल माध्यममार्फत गरिएको बैठकमा यो विषयमा चासो राखेका थिए।

    बैठकमा मन्त्री भोजप्रसाद श्रेष्ठले अर्थमन्त्री पौडेलसमक्ष लुम्बिनी प्रदेशको समग्र कोभिड–१९ सम्बन्धी हालको अवस्था, प्रदेश मन्त्रालयको विशेष गरी विविध कारणले देखापरेको अक्सिजनको अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको बताउँदै छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, लिक्विट ट्यांकको व्यवस्थापन, एन्टिजिन टेष्टको दायरा बढाउन लगायतका अन्य कोभिड १९ नियन्त्रणका उपकरणहरू व्यवस्थापन गर्न प्रादेशिक कोभिड कोषलाई ६० करोडको बनाउन आर्थिक लगायत अन्य स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे ।

    अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चीनबाट ल्याउने प्रक्रिया अगाडि बढिसकेको, भेन्टिलेटर, औषधि लगायतका आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सरकार लागिपरेको बताउँदै आर्थिक व्यवस्थापनमा कुनै कमी नरहने बताए ।

    लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तत्काल बिरामीहरुलाई विशेषगरी अक्सिजन अभाव भएको, पीसीआर परिक्षणको दायरा बढाउन एवं एन्टिजेन किटको प्रयाप्त व्यवस्था गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका थिए ।

    सुरक्षा संयन्त्रले कम स्रोतसाधनका बाबजुद पनि गतिविधिलाई तीव्रता दिइराखेकाले स्रोत व्यवस्थापनका लागि आग्रह गरेका थिए भने प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र कोभिडको अवस्था र चालिएका कदमबारे रिपोर्टिङ गरेका थिए ।

    स्वास्थ्य विज्ञको तर्फबाट डा. मान बहादुर केसीले हाम्रो जस्तो मुलुकमा कोभिड नियन्त्रणको प्रमुख उपायका रुपमा भौतिक दूरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिनु नै उचित हुने बताए ।

    १२ वटै जिल्लामा विशेष समस्याका रूपमा देखा परेका प्रश्नहरुको जवाफ दिदै कार्यक्रम सञ्चालक लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले अगाडि सारेका योजनासहित देवदह मेडिकल कलेजमा कोभिड बेड बिस्तार गरिएको बताए ।

    उनले ५८३ जना अस्थायी दरबन्दी स्वीकृत भइसकेको र आवश्यक परे थप गर्न सकिने मन्त्रालयले कोभिड नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी दिए ।

  • लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग (पत्रसहित)

    लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग (पत्रसहित)

    रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले विशेष अधिवेशनको लागि समावेदन गरेका छन् ।

    कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४० सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

    सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आव्हानको माग गरिएको छ ।

    विपक्षी गठबन्धनले पोखरेललाई गरिएको मुख्यमन्त्री पुनर्नियुक्ति प्रक्रियासम्वत नरहेको बताउँदै आएका छन् । उनीहरूले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् ।

    पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतमा पोखरेलले नयाँ सरकार गठन गरेका थिए ।

  • लुम्बिनीमा मुख्यमन्त्रीलाई विपक्षी चार दलले बहिष्कार गर्ने

    लुम्बिनीमा मुख्यमन्त्रीलाई विपक्षी चार दलले बहिष्कार गर्ने

    रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको दावी गर्दै ‘अवैधानिक सरकार’लाई प्रदेशभर बहिष्कार गर्ने घोषणा गरेको हो ।

    सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेजको घोषणा समेत गरेका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीको कीर्ते हस्ताक्षर गरेर संसदीय दलको निर्णय गरेकाले त्यसको कुनै औचित्य नरहेको भन्दै कीर्ते हस्ताक्षरको विरोध गर्दै आन्दोलकका कार्यक्रमसमेत घोषणा गरिएको जानकारी दिए ।

    कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले गठबन्धनको बहुमत सदस्यले मुख्यमन्त्रीको सपथ रोक्न निवेदन दिएको स्थितिमा प्रहरी दमन गरेर मुख्यमन्त्री नियुक्त गरी संविधानविपरीत सपथ ग्रहण गराउनु बहुमतको सरकारको मूल्य मान्यता र विधिको शासन तथा संविधानविपरीत भएको बताए । उनले विशेष अधिवेशन अन्त्य गरिनुले प्रदेशसभाको विशेषाधिकार हनन भएको समेत बताए ।

    गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा सांसदहरु निर्मला क्षेत्री, पुमर्ती ढेगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा र दिपेश थारुलाई प्रहरीले धरपकट गरेको भन्दै कारबाहीको माग गरेको छ ।

    दीर्घनारायणलाई साझा उम्मेदवारको ललीपप !

    आइतबार आकस्मिक रुपमा नेकपा एमाले तथा लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई ४ दलको गठबन्धनले साझा उम्मेदवार बनाउने आश्वासन दिएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए ।

    आइतबार बिहान एमालेको संसदीय दलको बैठकमा सहभागी पाण्डेले दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि राजीनामा दिएका थिए ।

    कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेको राजीनामा स्वीकृत भइसकेको छ ।

    आइतबार सांसदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेले सुविधा पाएको सरकारी गाडी फिर्ता चढिरहेका छन् ।

    सामाजिक विकास समितिको जिम्मेवारीमा रहेका पाण्डेले आफू चढ्ने लु १ झ ४४५ नम्बरको गाडी अहिलेसम्म फिर्ता नगरेका हुन् । आज चार गठबन्धनको विरोध कार्यक्रमा सहभागी पाण्डेले सोही गाडी प्रयोग गरेका थिए ।

    प्रदेशसभा सचिबालयका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेले सुविधाको गाडि फिर्ता नगरेको बताए ।

  • शंकर पोखरेलप्रति भीम रावलको टिप्पणी- प्रधानमन्त्रीको छत्रछायामा पदलोलुप चर्तिकला

    शंकर पोखरेलप्रति भीम रावलको टिप्पणी- प्रधानमन्त्रीको छत्रछायामा पदलोलुप चर्तिकला

    काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका नेता भीम रावलले लुम्बिनी प्रदेशमा जारी राजनीतिक उथपुथलप्रति टिप्पणी गर्दै राजनीतिलाई निर्वस्त्र तुल्याउने काम भएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गर्दै रावलले प्रधानमन्त्रीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला भएको समेत जिकिर गरेका छन् ।

    ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,’ ट्वीटरमा रावलले लेखेका छन्, ‘प्रम केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला।’

    आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनु केहीअघि आइतबार मुख्यमन्त्री पोखरेलले अचानक राजीनामा दिएका थिए । राजीनामालगत्तै बसेको एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुनः मुख्यमन्त्री प्रस्ताव गर्दै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखसमक्ष दावी गर्ने निर्णय गरेको थियो ।

    त्यही दावी अनुसार प्रदेशले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । तर, विपक्षीले बहुमत हस्ताक्षरसहित सरकारको दावी गरेपछि लुम्बिनीमा राजनीतिक संटक गहिरिएको छ ।

  • शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिको निर्णय सच्याउन माग गर्दै विपक्षी सांसदहरू प्रदेश प्रमुखकोमा

    शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिको निर्णय सच्याउन माग गर्दै विपक्षी सांसदहरू प्रदेश प्रमुखकोमा

    काठमाडौं । शंकर पोखरेललाई पुन: मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले हस्ताक्षर संकलन गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका छन् ।

    विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दावी गरेका छन् ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

    तर, विपक्षीले यसलाई गैर संवैधानिक भन्दै सच्याउन माग गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरदिन खाँनले अल्पमत पक्षलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले संविधान उल्लंघन गरेको आरोप लगाए ।

    उनले ४२ जना सांसदको हस्ताक्षरसहित निर्णय सच्याउन माग गर्दै आफूहरू प्रदेश प्रमुखसमक्ष पुगेको जानकारी नेपाल प्रेसलाई जानकारी दिए।

    प्रमुख प्रतिपक्षी दलसहितले सरकारको दावी गर्दै प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका हुन् । प्रदेश प्रमुखले निर्णय नसच्याए के गर्ने भन्नेबारे परामर्शमा रहेको सचेतक खाँनले बताए ।

     

  • विमला खत्री माओवादीमा प्रवेश, एकल बहुमतको सरकार बनाउन पोखरेललाई बाधा

    विमला खत्री माओवादीमा प्रवेश, एकल बहुमतको सरकार बनाउन पोखरेललाई बाधा

    रुपन्देही । लुम्बिनी प्रदेश सांसद विमलाकुमार खत्री नेकपा नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको योजनामा चुनौती थपिएको छ ।

    यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो ।

    उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् ।

    माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। प्रदेशसभा सचिवालय स्रोतले उक्त जानकारी आफूहरूले पाइसकेको र केहीबेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गरिने बताएको छ ।

    एमाले र माओवादी ब्युँतिएपछि उनी कता लाग्ने भन्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको माओवादी पक्षको आरोप छ ।

    उनका पतिले तत्कालीन एमालेबाट चुनाव जितेका थिए । खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उनको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । एमालले दल त्याग गरेको भनेर उनलाई कारवाही गरेमा उनको सांसद पद रिक्त हुने छ।

    त्यसो भएमा प्रदेशसभा ८० सदस्यीय हुने छ। एमालेको संख्या ४१ बाट घटेर ४० पुग्ने छ। र, एक दलको बहुमत पुगेको आधारमा सरकार बनाउने बाटोमा मुख्यमन्त्री पोखरेललाई बधा हुनेछ ।

    प्रदेशसभामा विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । सभामुखसहित विपक्षमा पनि उत्तिकै संख्या ४० हुन्छ ।

    माओवादीमा प्रवेश गरेकी खत्रीलाई कारबाही गर्न नमिलेमा विपक्षको ४१ मत हुन्छ जुन सरकार बनाउनका लागि चाहिने बहुमत हो ।

  • शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

    शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

    रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।

    आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए ।

    पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

    संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

  • लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त, महन्थको अर्कै पत्र

    लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त, महन्थको अर्कै पत्र

    बुटवल । पार्टीै नीतिविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना चार सांसदलाई जनता समाजवादी पार्टीले कारवाही गरेको छ।

    जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य साथै सांसदबाट समेत निस्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि सचिवालयले बिहीबार उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

    कारवाहीमा पर्नेहरूमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे रहेका छन् । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ मा मन्त्री बनाएका थिए ।

    यसैबीच चार सांसदलाई पदमुक्त गर्ने निर्णयमा जसपाको महन्थ ठाकुर पक्षको असहमति रहेको पाइएको छ । बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गरेको भन्दै ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिको बैठक नै नबसेको र आफूहरूको त्यसमा सहमति नभएको भन्दै अर्को पत्र पठाइसकेको स्रोतले बताएको छ ।

  • लुम्बिनीमा विशेष अधिवेशन डाकियो, अविश्वास प्रस्तावको छिनोफानो हुने

    लुम्बिनीमा विशेष अधिवेशन डाकियो, अविश्वास प्रस्तावको छिनोफानो हुने

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको टुंगो लगाउन वैशाख १९ गते विशेष अधिवेशन डाकिएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिनको एक बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको हो ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गर्ने तयारी भइरहेको बताए ।

    गत वैशाख ६ गते नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै विपक्षी दलले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए ।

    प्रदेशसभामा अहिले कायम रहेका ८५ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । त्यसैगरी हालै सरकारमा सामेल जसपाका ६ सांसद छन्, जसमध्ये ४ जना मन्त्री नै बनेका छन् ।

    अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद छन् । जसपामा एमाले र नयाँ मोर्चा कसलाई साथ दिने विषयमा विवाद छ ।

    कांग्रेस माओवादीलाई साथ दिने २ सांसद जसपामा छन् भने १ सांसद भएको जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने घोषणा गरेको छ । कांग्रेस माओवादीले एमालेभित्रका केही सांसद र जसपाका सांसदले अविश्वासको पक्षमा मत हाल्ने अपेक्षासहित अगाडि बढेका छन् ।

    प्रदेशसभाको हिउँदे अधिवेशन चैत २५ गते अन्त्य भएको थियो ।

  • लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

    लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

    रुपन्देही । कोरोना संक्रमित बढेसँगै लुम्बिनीका अस्पताल भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका छन् ।

    लुम्बिनीका चार जिल्लामा संक्रमण बढी फैलिएको छ । बाँके, रुपन्देही, दाङ, बर्दियामा दिनहुँ जटिल प्रकृतिका संक्रमित थपिइरहेका छन् ।

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा हालसम्म ३४ हजार १२८ जना संक्रमित भएकोमा २७ हजार ८४१ जना निको भएका छन् । अहिले भेन्टिलेटरमा २१, आइसियुमा १८१, आइसोलेसनमा ७७४ जनाको उपचार भइरहेको छ । धेरै विरामी यहाँ आइसियु बेड कुरेर बसेका छन् ।

    संक्रमितमध्ये ५ हजार ५७४ जना होम आइसोलेसनमै बसेको तथ्यांक स्वास्थ्य निर्देशनालयले राखेको छ । लुम्बिनीमा अहिलेसम्म संक्रमणबाट ४९२ जनाको मृत्यु भएको निर्दशक डा. गिरीले जानकारी दिएका छन् ।

    लुम्बिनी प्रदेशमा कोरोना विशेष आइशोलेसन अस्पताल ४ वटा रहेका छन् जसमा बेड संख्या १९२ रहेको छ । अन्य आइसोलेसन अस्पताल ८ वटा छन् जहाँ ३३४ बेड संख्या रहेको छ । त्यसैगरी ८ वटा आइसोलेसन सेन्टरमा १८३ बेड संख्या व्यवस्थापन भएको छ । यसरी जम्मा ७०९ बेड सख्या रहेकोमा त्यो भन्दा निकै धेरै बिरामी भएकाले पनि व्यवस्थापन गर्न समस्या भएको हो ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रभावित बनेको बाँकेमा सोमबार रातिसम्म २५ सय सकृय संक्रमित पुगेका छन् भने जिल्लाभित्रका ८९ र जिल्ला बाहिरका १०९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिका बढी प्रभावित क्षेत्र बनेको छ । बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजले कोराना विशेष अस्पतालका रुपमा सेवा दिइरहेका छन् ।

    त्यसैगरी दोस्रो प्रभावित जिल्ला रुपन्देहीमा १४ सय सकृय संक्रमित पुगेका छन् । रुपन्देहीमा रहेका दुई कोरोना विशेष अस्पतालमा बिरामीले बेड भरिएका छन् ।

    बाँके र बर्दियामा लकडाउन, रुपन्देहीमा जोरविजोर

    कोरोना संक्रमणको हटस्पट बनेका क्षेत्र तथा जिल्लाहरुमा स्थानीय प्रशासनहरुले आवश्यक्ता अनुसार लकडाउन र निषेधआज्ञा लगाउन थालेका छन् ।

    लुम्बिनी प्र्रदेशको बाँके र बर्दियामा सोमबार रातिदेखि एकसाताका लागि लकडाउन शुरु भएको छ । संक्रमित विरामी बढ्दै गएको र उपचारका लागि अस्पतालहरुमा वेडको अभाव हुन थालेपछि संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधआज्ञा लगाउन बाध्य भएको प्रशासनले जनाएका छन् । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले पाँच सय संक्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो ।

    मंगलबारबाट रुपन्देहीमा सवारी संचालनको चापलाई कम गराउन जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    स्वर्गद्वारी दर्शनमा रोक

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ ।

    कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ । आईतबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको बैठकले स्वर्गद्वारी आश्रममा नित्य पूजाबाहेक भक्तजन र पर्यटनलाई रोक लगाउने निर्णय भएको हो ।

    नवलपरासीमा पनि बेड अभाव, उपचारमा समस्या

    पश्चिम नवलपरासीमा कोरोनाका विरामी बढेपछि सोमबारबाट जिल्लामा उपचारमा समस्या भएको छ । धेरै जसो विरामी अक्सिजन आवश्यक पर्ने अवस्थामा अपस्ताल आउने गरेको र जिल्लामा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको जनाइएको छ ।

    छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छट्पटाएर बस्नु पर्ने बाध्यता छ ।

    सोमबार बिहान कोरोना संक्रमितका गम्भीर बिरामी भइ आएका रामग्राम–९ का ४० वर्षीय युवालाई सुविधायुक्त अस्पतालमा पठाउन खोजिएपनि बेड अभावले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

    बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा गम्भीर बिरामीहरुको उपचार हुँदै आएको छ । दुवै अस्पतालमा सोमबार बिहानदेखि बेडको व्यवस्था गर्न अनुरोध गरेपनि बेड खाली नभएको जनाइएको छ ।

    पछिल्लो पटक १५ दिनको अवधिमा रामग्राम नगरपालिका क्षेत्रमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने यो अवधिमा रामग्राममा मात्र ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

     

     

     

  • रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देही । कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिलाको छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् ।

    दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट संक्रमितको संख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।

  • दस्तावेज र अभिलेख अध्ययन गर्न संसदीय समिति लुम्बिनीमा

    दस्तावेज र अभिलेख अध्ययन गर्न संसदीय समिति लुम्बिनीमा

    रुपन्देही । बृहत्तर लुम्बिनी क्षेत्रका राष्ट्रिय महत्वका दस्तावेजका स्थलगत निरीक्षण तथा अध्ययनको लागि संसदीय समिति लुम्बिनी क्षेत्रमा आइपुगेको छ ।

    संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम क्षेत्रमा रहेका विभिन्न अभिलेख तथा दस्तावेजहरुको अध्ययन तथा निरीक्षण गरिरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा सांसदहरु गोपाल भट्टाराई, तुलसाकुमारी दाहाल र नैनकला ओझा तथा उपसचिव कमला शाक्यसहितको संसदीय टोली लुम्बिनी क्षेत्रमा आएको हो ।

    समितिले अशोक स्तम्भमा रहेको अभिलेख तथा अन्य दस्तावेजहरुको अध्ययन गरिरहेको छ । समितिले विकास कोषका पदाधिकारीसँग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।

    समितिले प्रारम्भिक रुपमा लुम्बिनी विकास कोषको पुस्ताकालय र संग्रहालयको स्तरोन्नती र प्रभावकारी व्यवस्थापन जरुरी रहेको निष्कर्ष निकालेको समितीका सभापति बिडारीले बताए ।

    उनले भने, ‘पुस्ताकालयको स्तरोन्नती र कोषको संग्रहालयको प्रभावकारी व्यवस्थापन आवश्यक देखियो । यसैगरी विद्यमान संरचनाको रेखदेख तथा गुरुयोजना अनुसारको काम समयमै सम्पन्न गर्न चालु पुँजीको अभाव देखियो ।’

     

  • शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिँदै

    शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिँदै

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

    माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।

    लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।
    नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे सपथ हुनसक्ने एक सांसदले बताए ।

  • नयाँ वर्षमा १५ हजारले  गरे लुम्बिनी भ्रमण, कोरोना शुरु भएयताकै ठूलो भीड

    नयाँ वर्षमा १५ हजारले गरे लुम्बिनी भ्रमण, कोरोना शुरु भएयताकै ठूलो भीड

    रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा कोरोना महामारीको संक्रमण शुरू भएयता सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । बुधबार नयाँ वर्षमा १५ हजार आन्तरिक पर्यटकले लुम्बिनी घुमेका छन् ।

    लुम्बिनी विकास कोषका अनुसार नयाँ बर्षमा लुम्बिनीमा विहानदेखि साँझसम्म घुईँचो लागेको थियो । विशेषगरी मायादेवी मन्दिर दर्शनका लागि धेरै पर्यटक लुम्बिनी पुगेको कोषले जानकारी दिएको छ ।

    मायादेवीको मंदिरमा घन्टौं लाईनमा बसेर दर्शन गरेको विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । उनका अनुसार लुम्बिनीमा कोरोनापछि पहिलोपटक यत्रो संख्यामा पर्यटक आएका हुन् ।

    कोरोनापछि गत बर्ष २०७६ चैत १० देखि २०७७ मंसिर ३ गतेसम्म लुम्बिनी भ्रमणमा स्वदेशी तथा विदेशी पर्यटकलाई रोक लगाइएको थियो । कोरोना सहज हुन थालेपछि मंसिर ३ गतेदेख लुम्बिनीको मायादेवी मंदिर खुल्ला गरिएको हो ।

    तर, खुला भएसँगै लुम्बिनीमा टाढा–टाढादेखि पर्यटक लुम्बिनीमा पुग्ने गरेका थिए तर, नयाँ वर्षमा एकैदिन यत्रो भीड लागेको हो ।

    एक्कासी विहानदेखि लुम्बिनी भ्रमणमा आउनेको संख्या अत्यधिक भएपछि कोषलाई यातायात व्यवस्थापन गर्न समेत केहि समस्या भएको थियो ।भारतमा कोरोना संक्रमण बढेसँगै लुम्बिनी आउनेको संख्या केही दिनयता घटेकोे थियो ।

    वैशाख पूर्णिमासम्म आन्तरिक पर्यटक बढ्ने अपेक्षा रहेको बस्नेतले बताए । सन् २०२१ को तीन महिनामा २ लाख ५६ हजार पर्यटकले अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

     

  • लुम्बिनीमा बढ्न थाले आन्तरिक पर्यटक, दैनिक हजारौले भ्रमण गर्दै

    लुम्बिनीमा बढ्न थाले आन्तरिक पर्यटक, दैनिक हजारौले भ्रमण गर्दै

    रुपन्देही । कोभिड–१९ का कारण सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    गत वर्ष चैतबाट लकडाउन भएसँगै बन्द भएको लुम्बिनी संघीय सरकारले यही मंसिर ३ गतेदेखि खुल्ला गरेको थियो । अहिले लुम्बिनी खुला भएसँगै आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषको तथ्यांकले पुष्टि गरेको छ ।

    गत मंसिरदेखि यो चैत पहिला हप्तासम्म २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरिसकेका छन् । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईका अनुसार बिस्तारै आन्तरिक पर्यटक लुम्बिनीमा बढ्न थालेका छन् ।

    उनका अनुसार यहि चैत ६ गते मात्र ७ हजार ६ सय २ जना पर्यटक लुम्बिनी भ्रमण गरे । ‘लुम्बिनीमा अहिले आएका पर्यटक संख्या हेर्ने हो भने आन्तरिक पर्यटक आगमन बढेको भन्न सकिन्छ’ उनी भन्छन् ।

    अहिले यहाँ आउने पर्यटकमध्ये केही भारतीय रहे पनि विदेशीको संख्या भने अत्यन्तै कम रहेको राई बताउँछन् । नेपालमा रहेका विभिन्न देशका राजदूत तथा अन्य कुटनीतिक नियोगका केही व्यक्तिहरु लुम्बिनी आए पनि बाहिरका पर्यटक आउने वातावरण तयार नभएको राईले बताए ।
    लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार फागुन महिनासम्म पर्यटकको चाप बढ्दै गएपनि चैत लागेपछि भारतमा बढदै गएको संक्रमणले केही कमी आएको छ । तर नेपाली पर्यटकको संख्या बढिरहेको छ ।

    मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ, यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुनेगरेको छ, लुम्बिनी भ्रमणमा आउने प्रायः सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।
    लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढाटाढाबाट पनि आएको पाइएको छ ।

    पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, बिश्व शान्ति द्धिप, नहर नौका बिहार आकर्षक छन् । लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठका अनुसार लुम्बिनी वरिपरीका पर्यटक बढी आउने र एकैदिनमा फर्कने गरेका छन् र केही मात्र बास बस्ने गरेका छन् ।

    होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु बैशाख महिनादेखि लागू हुने गरी ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

    निर्माण सम्पन्न हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र केही वर्षमा तयार हुँदै गरेको लुम्बिनी गुरुयोजनालाई आधार मानेर यस क्षेत्रमा ठूलाठूला होटल खुल्ने क्रम बढेको छ ।

     

  • लुम्बिनीलाई चरा पर्यटन क्षेत्र बनाउन विज्ञको सुझाव

    लुम्बिनीलाई चरा पर्यटन क्षेत्र बनाउन विज्ञको सुझाव

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीलाई चरा पर्यटन क्षेत्रका रुपमा विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

    चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागितामा लुम्बिनीमा कार्यशालामा सहभागीले यस्तो सुझाव दिएका हुन् ।

    पानी, सिमसार र घाँसेमैदानमा बस्ने सयौं प्रजातिका चरा लुम्बिनी आसपास देख्न पाइने हुँदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य रहेको उनीहरुको तर्क छ ।

    कार्यक्रममा सहभागी विज्ञहरुले नेपालमा जलपंक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजना अपनाउन सुझाव दिएका छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले चराकै महत्व बुझाउन नगरपालिकाले उड्नसक्ने विश्वकै अग्लो पंक्षी सारसलाई नगर पंक्षी घोषणा गरेका बताए ।

    ‘सारस संरक्षणको योजना बनाएका छौं’, उनले भने, ‘शान्तिका लागि लुम्बिनी आउनेलाई सारसको मनमोहकताले लोभ्याएर लेन्थ अफ स्टे बढाउन लागेका छौं ।

    कार्यशालामा जलपंक्षी गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बरालले चरा पर्यटनको आकर्षण थप्न पानी चराले खेल्ने भूमिकाबारे बताएका थिए ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल र हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीलगायतले सिमसार क्षेत्र संरक्षण गरेर चरा संरक्षण गर्न खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी क्षेत्र चरा पर्यटनको स्वर्ग भएको बताएका छन् । उनले चरा संरक्षणका लागि बेलैमा योजना बनाउन आग्रह गरेका हुन् ।

    जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नया तौरतरिका, प्रविधि र योजनाबारे जानकारी दिइएको छ ।

    नेपालमा प्रत्येक वर्ष मध्यहिउँदमा हुने जलपंक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा हुने कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताकाबारे पनि निचोड निकालिएको छ ।

    कार्यशालामा नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने काम र स्थानबारे छलफल गरिएको छ । त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि छलफल गरिएको छ । जलपंक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिइएको छ ।

    कार्यशालामा कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद् सहभागी भएको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए ।

    कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्याण्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणकालागि गर्नुपर्ने कामबारे जानकारी दिएका थिए ।

    यसअघि सन् २००७ मा पहिलो कार्यक्रम लुम्बिनीमै र सन् २०१२ मा दोस्रो कार्यक्रम चितवनमा भएको थियो ।