Tag: रातो मच्छिन्द्रनाथ

  • आज रातो मच्छिन्द्रनाथको रथ बुङमति लगिने, भोटो देखाउने जात्रा प्रभावित

    आज रातो मच्छिन्द्रनाथको रथ बुङमति लगिने, भोटो देखाउने जात्रा प्रभावित

    काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङमति लगिने भएको छ ।

    दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा ६ महिना पाटन र दक्षिणायन लाग्दा ६ महिना बुङमति लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङमति लैजान लागिएको हो ।

    आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङमति ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए। उनले भने, ‘करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछाैँ ।’ यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले जानकारी गराए ।

    बिहान ६ः५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, ‘बुङमतिका मानिस आएर लोेकेश्वरलाई लाने चलनानुसार आएर लानु हुनेछ ।’

    मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङमति पठाउँदा सुरक्षा व्यवस्था कडा गरिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए ।

    उनले भने, ‘सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक–पटक हामीले क्षमापूजा गराइरहेका छौं । यसैगरी आज बिहान पनि क्षमापूजा गरियो ।’ बिग्रँदो मौसम र समयका कारण भोटोजात्रा भने गर्न नसकेकोमा वलीले दुखेसो गरे ।

    गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङमतिबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।

    त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ ।

  • कोभिड प्रोटोकल पालना गर्दै रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

    कोभिड प्रोटोकल पालना गर्दै रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुङमती लगिने छ ।

    रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

    यस वर्ष कोरोनाभाइरस महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ । गतवर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

    यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको छ ।

    कोरोना महामारीका विचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दूरी कायम गरिएको छ । कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थाबाट उत्तर तर्फ रहेको सोह्रखुट्टेपाटी सम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ ।