
कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले मुलुकमा जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको बताएका छन् ।
भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक तथा भेलामा भट्टले २३ र २४ गतेको आन्दोलनको नाममा आतङ्क फैलाउने काम भएको आरोप लगाएका थिए ।
‘जेनजीको नाममा आतङ्क फैलाइएको छ । व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका माथि आक्रमण भयो । २४ गते नेपालको इतिहासको कालो दिन हो ’ उनले भने, ‘ती सबै घटनाको छानबिन हुनुपर्छ ।’
आन्दोलनको नाममा जनताको अधिकार खोस्न खोजिएको उनको आरोप थियो । भट्टले जनाको अधिकार र माग एमालेले पुरा गर्ने बताए ।
नेपाली युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइएको उनको आरोप थियो ।घटना लगत्तै सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गर्ने काम भएको पनि उनको आरोप थियो । उनले भने, ‘हाम्रा युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइयो । फेरी सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गरियो ।’
सरकार असंवैधानिक रहेको भन्दै वर्तमान सरकारबाट कुनै अपेक्षा गर्नु उपयुक्त नहुने बताए । उनले सरकारको गरेका निर्णयहरू पनि एक पछि अर्को गर्दै असंवैधानिक ठहर हुँदै गरेको बताए । प्रतिगमनविरुद्ध एमाले प्रतिवादमा उत्रने चेतावनी दिए।
‘अब प्रतिवाद गर्ने हो । त्यसको काउन्टर दिन टोल वडासम्मको सुरक्षा समिति निर्माण गर्नुहोस् । सशक्त भएर पाटीको पक्षमा लाग्नुहोस् ’ भट्टले भनेका थिए । ।
वर्तमान अवस्थामा निर्वाचन सम्भव नभएको उनको भनाइ थियो ।
भारतले कब्जा गरेको क्षेत्रलाई नेपाली नक्सामा राखेर त्यस विषयमा रुस र चीनसँग संवाद अगाडी बढाएपछि ओली सरकार ढाल्न देशी विदेशी शक्ति लागिपरेको उनको भनाइ थियो । उनले सबैलाई गठित हुन आह्वान गरे ।
भूमि अधिकार तथा श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले भूमि अधिकारको कुरा एमालेले निरन्तर उठाउँदै आएको बताए ।
भूमिहीनहरूलाई माओवादीले आश्वासन बाढे पनि केही गर्न नसकेको उनको भनाइ थियो । अहिले वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी भइरहेका बेला आयोग नै खारेज गरेर फेरी भूमिहीनलाई थप समस्या सृजन गरिएको बताए ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले समाजमा भइरहेको वर्गीय विभेद अन्त्य हुनुपर्ने बताए । सबैको जग्गा र घर हुनुपर्ने एमालेको नीति रहेको भन्दै सोही अनुसार सरकारले व्यवस्था गर्नुपर्ने बताए ।
भूमि अधिकार तथा श्रमिक सङ्गठनका प्रदेश उपाध्यक्ष चेतराज ओझाको अध्यक्षतामा भएको भेलाले कृष्ण बगालेको संयोजकत्वमा प्रदेश स्तरीय कार्यसमिति चयन गरेको छ । मनीषा बुढालाई सह संयोजकको जिम्मेवारी दिइएको छ । गोविन्द बिसी सचिव, मनोज सिंह र रामस्वरुप चौधरी उपसचिव चयन हुँदा मिरा आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएकी छन् ।
आगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ समिति बनाउने जिम्मेवारीसहित आयोजक कमिटी गठन गरिएको केन्द्रीय उपमहासचिव लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।





































































