Tag: राजनीति

  • एमाले महाधिवेशनका लागि अनेरास्ववियुले चयन गर्‍यो ७ प्रतिनिधि

    एमाले महाधिवेशनका लागि अनेरास्ववियुले चयन गर्‍यो ७ प्रतिनिधि

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।

    मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनको लागि अनेरास्ववियुले सर्वसम्मतिको आधारमा प्रतिनिधि चयन गरेको हो।

    अनेरास्ववियु दीपक धामी, उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी, सचिवद्वय आकाश घर्ती र रचना सापकोटा, लेखा आयोग अध्यक्ष अञ्जली लम्साललाई प्रतिनिधि चयन गरेको हो।

  • आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सभा हुँदै

    आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सभा हुँदै

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर देखिन लागेको हो ।

    सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ ।

  • फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८

    फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।

    बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।

    आयोगका अनुसार पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    अहिलेसम्म दर्ता भएका दलमा आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् । आयोगमा अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।

    पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् ।

    यस्तै, अगामी फागुन २१ को निर्वाचनमा विभिन्न दल मिलेर एकल निर्वाचन चिन्हमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । जसमा कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

    यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा निवेदन दर्ता गराएका छन् ।

    १६ दलले दिएको निवेदन दर्ता प्रक्रियामा
    यस्तै, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि मात्रै २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार गत साउनदेखि अहिलेसम्म दल दर्ताका लागि निवेदन पेश गरेकोमा २१ वटा नयाँ दल दर्ता भएका हुन् । दल दर्ताका लागि निवेदन दिएका १६ वटै दल भने दर्ताको प्रक्रियामै रहेका छन् ।

    आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिन भित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्नेछन् ।

    आयोगका अनुसार दर्ताको प्रक्रियामा रहेका दलमध्ये अधिकांशलाई ७७ वटै जिल्लाबाट ५ सय मतदाताको सनाखत गराउन मुस्किल भइरहेको छ ।

  • धनगढी घटनामा माफी माग्दै जेनजीलाई युवा सङ्घ उपाध्यक्षको प्रस्ताव- आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ

    धनगढी घटनामा माफी माग्दै जेनजीलाई युवा सङ्घ उपाध्यक्षको प्रस्ताव- आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ

    कैलाली । राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनाप्रति आत्मालोचना गरेका छन्। आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत उनले युवा जागरण अभियानका क्रममा  महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर प्रदेश गरिरहेका युवा र राष्ट्रिय युवा सङ्घका कार्यकर्ताबिचको विवाद र हात हालाहालको घटनाबारे क्षमा मागेको हुन् ।

     

    उनले  युवा पुस्तालाई राजनीतिमा आउन र राजनीतिबाटै भ्रष्टाचार लगायतका समस्या हल गर्न सुझाव दिएका थिए   । दल बलियो भए मात्रै लोकतन्त्र बलियो बन्ने उनको तर्क थियो ।

     

    ‘हिजो घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु । तपाईँहरू मेरो भाइ भाइ बहिनी हो आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ । आउनुहोस् भ्रष्ट्राचार ढालौँ । दल सुदृढ नभए लोकतन्त्र बलियो हुन्छ ’उनले भनेका थिए।

     

    राष्ट्रिय युवा सङ्घका नेताहरू विमानस्थलबाट कार्यक्रम स्थलमा आउँदा विवाद भएको भन्दै उनले भने, ‘धक्कामुक्का भएको हो  । उता  एउटा महिला आफै लड्नु भएको हो तर युवा सङ्घले कुटेको भनेर हल्ला गरियो  ।’

     

    राष्ट्रिय युवा सङ्घले पूर्व तयारीसहित गरेको कार्यक्रममा बाध पुराउन नआउनु पर्ने भन्दै त्यसबीचमा भएको घटनाप्रति उनले आत्मालोचना गरेका थिए ।

     

    नेताहरू भ्रष्टाचारबाट चोखो नभएको भन्दै आफूले पनि पटक पटक त्यसको विरोध गरिरहेको उनले बताएका थिए ।

     

    ‘नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन ।यहीँ धनगढीका होटलहरुमा योजनाको कमिसनमार्फत १०१० प्रतिशत मागेको कुराको हामीले विरोध जनाएका थियो ’ उनले जेनजी युवाहरूलाई आह्वान गर्दै भने, ‘आउनुहोस् सबै मिलेर भ्रष्टाचार मुक्त देश बनाऊ । ’

     

    जेनजी युवाहरूलाई अरूले बहकाएर आन्दोलनमा उकासेको भन्दै त्यस्ता प्रवृत्तिको सबै विरोध गरिरहने उनको भनाइ थियो । उनले जेनजीको आन्दोलनपछि बनेको सरकार पनि जेनजीको विपक्षमा रहेको तर्क गरे ।

     

    ‘कुलमानले आफ्नो कार्यालयमा बोलाएर आन्दोलनमा उक्साइ रहेका थिए । यो सरकार जेनजीको होइन । जेनजी आज काठमाडौँमा लतारिएका छन् ’उनले भने ‘राष्ट्रिय युवा सङ्घ एउटा पुस्ताको विपक्षमा देखिएको जस्तो भएको छ त्यस्तो होइन । हामी पनि  भ्रष्टाचार विरुद्धको अभियानमा छौँ । तर, जेनजीको नाममा हुने आपराधिक गतिविधिहरूको विपक्षमा उभिन्छौँ ।’

     

    सातै प्रदेशमा आयोजना गरिएको युवा जागरण अभियान सफल भएको उनले बताए ।

     

    प्रदेश संयोजक बम शाहीले बुधवारको कार्यक्रमबारे धारणा प्रस्तुत गरेका थिए । .पत्रकार भेटघाटमा प्रदेश इन्चार्ज भरत मल्ल,सहइञ्चार्ज रोहित कुवर लगायतको उपस्थिति रहेको थियो ।

  • प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटघाट

    प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटघाट

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ।

    प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए ।

    प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् ।

    अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए ।

    उनले भने, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो।’

    उनले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे ।

  • जसपा नेतालाई राजेन्द्र श्रेष्ठको प्रश्न- एमालेसँग तालमेल गरेर कस्तो संविधान संशोधन गर्न खोज्नुभएको

    जसपा नेतालाई राजेन्द्र श्रेष्ठको प्रश्न- एमालेसँग तालमेल गरेर कस्तो संविधान संशोधन गर्न खोज्नुभएको

    काठमाडौं । जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले अब नेकपाको विकल्प अरू पार्टी नभएको बताएका छन्।

    जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै सबै देशभक्त र वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताए। उनले नेकपासँग एकता जायज रहेको जिकिर गरे।

    नेकपासँग एकताको विपक्षमा उभिएका जसपाका नेताहरूलाई भने, ‘कतिपय साथीहरूले जसपालाई जीवित राख्छु भनिराख्नुभएको छ, त्यसका लागि एमालेसँग तालमेल गर्नुपर्छ भनेर हिँडेका छन्। अब आउने निर्वाचनमा संविधान संशोधनको एजेन्डा छ। त्यस्तो हो भने त फेरि पनि दोस्रो संविधान सभाजस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जान्छ।’

    उनले अग्रगामी शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने लागेर नेकपा रोजेको बताए।

  • सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र सबै छिर्न पाउनुपर्छ : रविकिरण हमाल

    सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र सबै छिर्न पाउनुपर्छ : रविकिरण हमाल

    काठमाडौं । राजावादी धारका जेन-जी अगुवा रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन् ।

    माइतीघरमा आन्दोलित रहेको जेन-जीहरूलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले असामान्य अवस्था सिर्जना भएको बताए ।

    सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ ।

    उनले भने, ‘सरकारले हाम्रा साथीहरूलाई वार्तामा बोलाएर गेटमै रोक्यो । योभन्दा ठूलो अवमूल्यन के हुन सक्छ । अस्ति जुन रगत बगेको थियो त्यो किन बगेको हो भन्ने कुरा सरकारले आत्मसाथ गरेको भए आजको अवस्था सिर्जना हुने नै थिएन । सिंहदरबार भनेको उहाँहरूको निजी सम्पत्ति होइन त्यो सबै जनताको सिंहदरबार हो, त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्छ ।’

    यस्तै, उनले पुरानै निर्वाचन पद्धति राखेर गरिने निर्वाचनले देशमा स्थायित्व नदिएको भन्दै विगतकै अवस्था दोहोर्‍याउन यति ठूलो बलिदान नभएको बताए ।

  • धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित

    धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित

    काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ । नेकपा (बहुमत) का तत्कालीन पोलिटब्यूरो सदस्य (पीबीएम) एवम विद्रोही समूहका संयोजक सरद रसाइलीसहित १२ जनाले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपासँग एकता गर्ने निर्णय गरेका हुन् ।

    बिहीबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा उक्त समूहमा समाहित भएको संयोजक रसाइलीले नेपाल प्रेसलाई बताए । एकता प्रक्रियामा आउने विद्रोही समूहका संयोजक तत्कालीन एकीकृत नेकपा (माओवादी)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको हिमाल शर्मा नेतृत्वमा उपाध्यक्ष थिए ।

    त्यसपछि मोहन बैद्य ‘किरण’ नेतृत्व फुटेर बनेको नेकपा माओवादी निकट विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए भने बैद्यबाट फुटेर गठन भएको अखिल (क्रान्तिकारी)को अध्यक्ष हुँदै उक्त पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

    विप्लवबाट फुटेर बनेको नेकपा (बहुमत) को पोलिटब्यूरो सदस्य थिए । रसाइलीसँगै तत्कालीन एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रात्किारी) को उपाध्यक्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका रमेश मल्ल र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका नेता जागृत रायमाझी थिए ।

    रसाइलीसँगै एकता प्रक्रियामा आउनेमा नेकपा (बहुमत) का तत्कालीन पीबीएम बद्रीकुमार चौलागाईं ‘आमोद’, पलबहादुर रावत ‘संगम’, पूर्ण विक ‘रक्तिम’, किरण जोशी ‘बासुदेव’, अग्रिम बुढा (गम्भिर), पूर्व केन्द्रीय सदस्य दर्शन नेपाली, शम्भु फुयाल, बद्री अधिकारी, आशिष चौधरी, नेत्र बस्नेत, तत्कालीन एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ममिला बान्तवा छन् ।

    नेपालमा वर्गसंघर्षको ऐतिहासिक यात्रामा कम्युनिस्ट आन्दोलनले उल्लेख्य उपलब्धि हासिल गरे पनि सही, वैज्ञानिक र जनमुखी कार्यदिशाको अभाव तथा पार्टीभित्रका अन्तरविरोधको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कम्युनिस्ट आन्दोलन असिमित टुटफुट र विभाजनको घेरामा फसेको यथार्थ औँल्याइएको छ ।

    विज्ञप्तिमा विगतमा विभिन्न कम्युनिस्ट घटक, समूह र नेतृत्वबीच भएका विभाजनले अपेक्षित परिणाम दिन नसकेको तथा फुटको औचित्य ऐतिहासिक रूपमा प्रमाणित हुन नसकेको समेत उल्लेख छ । यही वस्तुगत यथार्थले क्रान्तिकारी शक्तिलाई वैज्ञानिक आत्मसमीक्षासहित रूपान्तरण, पुनर्गठन र एकता ध्रुवीकरणको मार्गमा अघि बढ्न बाध्य पारेको वक्तव्यमा जनाइएको छ ।

    वक्तव्यअनुसार, विगतमा नेकपा (बहुमत) केन्द्रीय समितिमा विभिन्न तहका जिम्मेवारी वहन गर्दा विचार, कार्यदिशा लगायतका विषयमा देखिएको असहमतिको कारण विद्रोही पक्षले पुनर्गठनसहित नेकपासँग एकता प्रक्रियामा सामेल हुने औपचारिक निर्णय गरेको हो ।

    विद्रोही पक्षले देशभरका कम्युनिस्ट, क्रान्तिकारी, श्रमजीवी जनसमुदाय र परिवर्तनका पक्षधर शक्तिलाई रूपान्तरण, पुनर्गठन, ध्रुवीकरण र एकताको महाअभियानमा सामेल हुन आह्वान समेत गरेको छ ।

  • प्रचण्ड-माधव लक्षित घनश्यामको टिप्पणी- संसदमा सिट सुरक्षित गरेर सत्ताको बार्गेनिङ गर्नुबाहेक अरू उद्देश्य छैन

    प्रचण्ड-माधव लक्षित घनश्यामको टिप्पणी- संसदमा सिट सुरक्षित गरेर सत्ताको बार्गेनिङ गर्नुबाहेक अरू उद्देश्य छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले प्रचण्ड र माधव नेपालसहित साना घटकहरूबीचको एकताको कुनै राजनीतिक आधार नभएको बताएका छन् ।

    नेकपा संयुक्तसँग एकता घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता स्वार्थको लागि मिलेको उनको आरोप छ ।

    उनले भने, ‘एमालेभन्दा बाहिर अर्को कुनै शक्ति छ भनेर देखाउने अनि त्यही एमाले वा कांग्रेस वा अरू कसैसँग बार्गेनिङ गर्ने सत्ताका लागि, केही नेताहरूको आउँदो संसदमा सिट सुरक्षित गर्नेबाहेक यो एकताको कुनै आधार छैन ।’

    उनले त्यहाँ नीति र कार्यक्रमबारे छलफल गरे झगडा सुरु भइहाल्ने बताए । एकता टिकाई राख्नको लागि स्वार्थबाहेक कसैले पनि राजनीतिक र सैद्धान्तिक कुरा नगर्ने सहमति गरेको आरोप लगाए ।

  • रवि र छविको मुद्दाको आज पेशी

    रवि र छविको मुद्दाको आज पेशी

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज पुनः तोकिएको छ ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले नेपाल प्रेसलाई जनाए ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको मुद्दामा कात्तिक २० गतेको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेशी तोकेपनि लामिछानेका कानून व्यवसायीले माग गरेपछि स्थगित भएको थियो ।

    कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले शुरू मिसिल मगाउन आदेश दिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानून व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

    जेन्जी प्रदर्शनक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

    लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

    पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् । पटक पटक कानून व्यवसायीले मुद्दा सारेकाले यो मुद्दाको समयमा टुंगो लाग्नसकेको छैन ।

  • राप्रपाको कार्यसम्पादन समिति बैठक–निर्वाचन केन्द्रित छलफल, मधेशकी मन्त्री कञ्चन बिच्छा पदमुक्त हुने

    राप्रपाको कार्यसम्पादन समिति बैठक–निर्वाचन केन्द्रित छलफल, मधेशकी मन्त्री कञ्चन बिच्छा पदमुक्त हुने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउॅसो १ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको रणनीति निर्माण, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचन भए पार्टीको भूमिका र सहभागिताबारे पनि छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    कञ्चन बिच्छा पदमुक्त हुँदै
    आजको बैठकले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे पनि निर्णय हुने बताइएको छ । ‘अनुशासन समितिले सिफारिस गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘केन्द्रीय कार्यसमिति या कार्यसम्पादन समितिले कारबाही गर्ने हो, सिफारिस भएकाले आजको बैठकबाट कारबाही हुन्छ ।’

    कात्तिक २३ गते पार्टीको निर्णयविना नै महोत्तरीको एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीमा शपथ खाएकी बिच्छालाई त्यही दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता हुन निर्देश गरेका थिए । तर उनी फिर्ता भइनन् । उनलाई अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो । अनुशासन समितिले कारबाही गर्न सिफारिस गरेको छ ।

    मुख्यमन्त्री सरोज यादवद्वारा मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिँदा मंसिर ८ गतेदेखि बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । मंसिर २२ गतेभित्र सरकारले विश्वासको मत लिनु पर्ने छ ।

  • आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै

    आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै

    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका राजेन्द्र श्रेष्ठ समूह आज पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् ।

    दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको छ ।

    देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए ।

  • विद्या भण्डारीको सन्देश–मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

    विद्या भण्डारीको सन्देश–मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ महाधिवेशनका प्रतिनिधि चयनमा सिंगो पार्टीलाई निर्देशन गर्न सक्ने गरी ऊजावान प्रतिनिधि चयन हुने विश्वास व्यक्त गरेकी छिन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश दिँदै भनेकी छिन्, ‘विधिसम्मवत् ढंगले दुई वर्षअघि मेरो सदस्यता नवीकरण भइपछि रोकिएकाले आफू महाधिवेशन हलमा नभए पनि यो विषम परिस्थितिमा अग्रगतिमा पार्टी लैजानसक्ने नेतृत्व चयनका लागि सबै क्षेत्रबाट प्रतिनिधिहरु चयन हुने विश्वास छ ।’

    उनले लेखेकी छिन्ः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।

    महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।

    विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ ।

    मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।

    सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।

  • मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

    मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

    काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला गर्ने भएको छ । मधेश प्रदेश सभाका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएर, आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम निर्णय दिने फैसला गरेको थियो ।

    मंसिर ३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न लगाई मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।

    मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्च गएका थिए । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्नसमेत आदेश दिएको छ ।

    ‘मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रत्न प्रथम दृष्टिमै खडा भएको देखिँदा प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म मिति कात्तिक २३ गते गठन भएको भनिएको मन्त्रिपरिषद्बाट कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय तथा नेपालको संविधानको धारा १६८(४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा हामीले अवलम्बन गरेको संसदीय प्रक्रियाको मूल्यमान्यताहरू विपरीतका कुनै पनि कार्यहरू नगर्नू, नगराउनू’ आदेशमा भनिएको थियो ।

    मुख्यमन्त्री नियुक्ति प्रक्रियापछि आन्दोलित सात दलले मधेशमा सभामुख रमचन्द्र मण्डललाई समेत दुई तिहाइले पदमुक्त गरेको छ भने मुख्यमन्त्री नियुक्ति प्रकरणमा जोडिएकी तत्कालीत प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पनि संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका थिए ।

  • सुदूरपश्चिममा निजी क्षेत्रको सहकार्य अपरिहार्य : मुख्यमन्त्री शाह

    सुदूरपश्चिममा निजी क्षेत्रको सहकार्य अपरिहार्य : मुख्यमन्त्री शाह

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिन निजी क्षेत्रको साथ र सहकार्य अत्यावश्यक रहेको बताएका छन् ।

    बुधवारबाट सुरु भएको लम्की महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत प्रदेशको विकासका लागि तयार रहेको बताएका थिए ।

    ‘निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी अवरोध हटाउने प्रतिबद्धता गर्दछु, ’  मुख्यमन्त्री शाहले भने ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय र विकास साझेदारहरूसँग निरन्तर संवाद गर्दै आएको छ।’

    प्रदेशमा विद्यमान कानुनी अवरोध, प्रक्रिया र नियमहरूको समीक्षा तथा संशोधनमार्फत समस्याहरू समाधान गर्दै जाने विश्वास दिलाउनु भयो ।

    सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन–२०८२ को तयारी सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले सम्भावित लगानीकर्तासँग लगातार अन्तरक्रिया भइरहेको जानकारी दिए । उनका अनुसार सम्मेलनले प्रदेशको सम्भाव्यता, स्रोत–साधन र अवसरलाई व्यापक रूपमा प्रस्तुत गर्नेछ ।

    प्रदेशको पर्यटन सम्भावनाबारे मुख्यमन्त्री शाहले खप्तडलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन प्रदेश सरकारले महत्त्वपूर्ण पहलहरू गरेको र बाबा रामदेवसहितका व्यक्तित्व र विभिन्न विदेशी दूतावासहरूसँगको अन्तरक्रिया छलफल चलाएको बताए । उनले मानसखण्ड सम्मेलनमार्फत खप्तड र सुदूरपश्चिमको धार्मिक–सांस्कृतिक महत्त्व उठाउन प्रयत्न भइरहेको जानकारी दिए ।

    लम्की–बरेली ट्रान्समिटर लाइनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै उनले आफ्नो औपचारिक भारत भ्रमणको क्रममा केन्द्रीय मन्त्रीसहित प्रदेशका मुख्यमन्त्रीसँग यहाँको पर्यटन क्षेत्र लगायत सीमाका क्षेत्रका बारेमा कुराकानी गरेको जानकारी दिएका थिए ।

    डुडेझारी औद्योगिक क्षेत्रको विकासका लागि बजेट विनियोजन र बन मन्त्रालयका पदाधिकारीहरूलाई त्यस क्षेत्रको स्थलगत अनुगमनमा गराएको जानकारी दिए ।

    डुडेझारी औद्योगिक क्षेत्रलाई प्रदेश सरकारको दीर्घकालीन औद्योगिक योजना रहेको बताउँदै उनले सो क्षेत्रका लागि सडक, बत्ती, पानी लगायतका पूर्वाधार प्रदेश सरकारले नै व्यवस्थित रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

    भाद्र २३–२४ को आन्दोलनपछि भ्रष्टाचार नियन्त्रण र सुशासनका कदममा सरकार अघि बढेको उनको भनाइ थियो ।

  • कांग्रेसभित्रको राजनीति तरंगित हुँदैछ, नयाँ पुस्ताको अस्तित्वलाई स्वीकार नगरे भलो हुँदैन : नैनसिंह महर

    कांग्रेसभित्रको राजनीति तरंगित हुँदैछ, नयाँ पुस्ताको अस्तित्वलाई स्वीकार नगरे भलो हुँदैन : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ युवा पुस्ताको अस्तित्व स्वीकार गर्न हिचकिचाउने मानसिकताबाट देश र कांग्रेसको भलो नहुने बताएका छन्। महाधिवेशनको विवाद चर्किरहेको बेलामा कांग्रेसभित्रको राजनीति अहिले तरंगित हुँदै गएको बताएका हुन्।

    उनले भने, ‘सङ्घर्षशील योगदान र अनुभवले खारिएको पुरानो पुस्तालाई कांग्रेसको राजनीतिबाट बहिर्गमनको लागि दबाब सिर्जना गर्ने र परिवर्तनको हुटहुटी भएको, योजनाबद्ध विचार बोकेको नयाँ युवा पुस्ताको अस्तित्व स्वीकार गर्न हिचकिचाउने मानसिकताबाट देश र कांग्रेसको भलो हुन सक्दैन।’

    आज देश विषम परिस्थितिको सामना मात्रै गरिरहेको छैन कि देशको मुटुमा बज्र प्रहार गर्ने कोसिस जारी रहेको बताए। देश, जनता र कांग्रेसका अगाडि उभिएका समस्या समाधान केवल एकीकृत र सङ्गठित सशक्त कांग्रेसले मात्रै गर्न सक्ने उनको भनाइ छ।

    उनले थपेका छन्, ‘एकतन्त्रीय राणा शासनको अन्त्य गर्न र गणतन्त्र स्थापना गर्नका लागि दुइटा कांग्रेस एक भएर मात्रै सम्भव भएको थियो। २०४६ सालमा प्रजातन्त्र स्थापनाका बेला कांग्रेस–वाममोर्चाको संयुक्त जनआन्दोलनले सफलता हासिल गरेको र यतिसम्म कि २०७९ को निर्वाचनमा फरक विचारका पार्टीहरूसँग समेत गठबन्धन गर्ने अवस्थाको सिर्जना भएको इतिहासको स्मरण गर्दै व्यक्तिगत कुण्ठा, विचार र धारणा त्याग गरेर एकताबद्ध कांग्रेस निर्माणमा भूमिका खेल्नु आजको आवश्यकता हो।’

    नेपाली कांग्रेसको विधान र लोकतान्त्रिक प्रक्रियाबाट नै सबै अड्चनको गाँठो फुकाउनुपर्ने बताए।

  • लुम्बिनीका राजधानी क्षेत्रमा जग्गा व्यवस्थापन : राजधानी गुरुयोजनालाई असर नपर्ने गरी कार्यान्वयनमा सरकारको प्रतिबद्धता

    लुम्बिनीका राजधानी क्षेत्रमा जग्गा व्यवस्थापन : राजधानी गुरुयोजनालाई असर नपर्ने गरी कार्यान्वयनमा सरकारको प्रतिबद्धता

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रमा भइरहेको विकास कार्य, जग्गा एकीकरण र कित्ताकाट प्रक्रियालाई राजधानी गुरुयोजनालाई असर नपार्ने गरी स्पष्ट र व्यवस्थित ढंगले अघि बढाउने बताएका छन् ।

    राजधानी सम्बद्ध सरोकारवालासँग बुधवार भएको छलफलमा मुख्यमन्त्री आचार्यले दुई वर्षभन्दा बढीको अवधिमा प्रदेशको प्रशासनिक संरचना पूर्ण रूपमा बनेको उल्लेख गर्दै लुम्बिनी प्रदेश सातै प्रदेशमध्ये पहिलो बनेको बताए ।

    उनका अनुसार प्रदेश सरकारले उपलब्ध स्रोतसाधनको दायराभित्र रहँदै विकास निर्माणका काम तीव्र रूपमा अघि बढाइरहेको छ छ । जग्गा एकीकरण र व्यवस्थापनमा राजधानीवासीको सहयोग प्राथमिक हुने बताउँदै उनले भने, ‘तपाईँहरूभन्दा अलग भएर प्रदेश सरकार अघि बढ्दैन, हामी सँगसँगै अघि बढ्छौँ ।’

    उनले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा राजधानी क्षेत्र र यहाँका पूर्वाधारको सुरक्षामा साथ दिएकोमा देउखुरीवासीप्रति आभार प्रकट गरे ।

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आयोजना गरेको छलफलमा निजी क्षेत्र, उद्योग वाणिज्य संघ, स्थानीय तह तथा नागरिकस्तरका प्रतिनिधिहरूले नागरिकको सहमतिको आधारमा जग्गा एकीकरणको कामलाई अघि बढाउन जोड दिएका छन् ।

    शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष हिमानन्द पाण्डे, जग्गा फुकुवा संघर्ष समितिका संयोजक शंकर गौतम, शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीलगायतले धारणा राखेका थिए ।

    प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जग्गाधनीको सहमतिका आधारमै एकीकरण कार्य अघि बढ्ने बताए । उनका अनुसार शितगंगा-९ र गढवा-१ मा नमुना बस्ती निर्माणको योजना छ ।

    छलफलमा राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं‍ १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं‍ ८ र ९ मा १ रोपनीभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न नपाउनेगरी सर्तसहित जग्गा फुकुवा गरिएको, यस निर्णयले सबैलाई न्याय मिलेको जानकारी गराइएको थियो ।

  • जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी जाँतो चुनाव चिन्ह लिएर लड्ने

    जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी जाँतो चुनाव चिन्ह लिएर लड्ने

    काठमाडौं । राष्ट्रिय मुक्ति, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी नेपाल फागुन २१ को निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका छन्।

    निर्वाचन प्रयोजनको लागि एकल चुनाव चिन्ह जाँतो लिई संयुक्त रूपमा लड्ने सहमति अनुसार निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।

    आज आयोगमा तीनै पार्टीका शीर्ष नेताहरू अशोक राई, राजेन्द्र महतो, रेशम चौधरीलगायत सामूहिक रूपमा पुगेका थिए।

  • सरकारलाई सुनिल शर्माको आग्रह- रविजी भाग्नुहुन्न, म ल्याप्चे लगाएर जिम्मा लिन तयार छु

    सरकारलाई सुनिल शर्माको आग्रह- रविजी भाग्नुहुन्न, म ल्याप्चे लगाएर जिम्मा लिन तयार छु

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले रास्वपा सभापति रवि लामिछानेलाई अघिल्लो सरकार प्रतिशोध राखेर थुनामा पठाएको आरोप लगाएका छन्।

    नख्खु कारागार पुगेर रविलाई भेटेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अघिल्लो सरकारले गरेको आपराधिक निर्णयहरू फिर्ता लिन सरकारसँग माग गरे।

    उनले भने, ‘सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई भन्न चाहन्छु, तपाईँहरूले मुद्दा फिर्ता लिँदा रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्। म दुई वटा ल्याप्चे लगाएर रविजीलाई निकाल्न म तयार छु।’

    उनले सहकारी पीडितहरूको पैसा फिर्ता हुने सुनिश्चिततासहित रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन माग गरे।

  • मंसिर १२ मा कांग्रेससम्बद्ध युवाको बृहत भेला हुँदै, नियमित अधिवेशनका पक्षमा आवाज उठाइने

    मंसिर १२ मा कांग्रेससम्बद्ध युवाको बृहत भेला हुँदै, नियमित अधिवेशनका पक्षमा आवाज उठाइने

    काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुनुपर्ने आवाज उठाइहेका काङ्ग्रेस सम्बद्ध युवा विद्यार्थीले मंसिर १२ गते बृहत् भेला आयोजना गर्ने भएका छन् ।

    तीनकुने स्थित रोयल व्याङ्केटमा बिहान ११ बजे बृहत् भेला आयोजना गर्न विद्यार्थी नेता मनिषजंग थापाले बताए ।

    कार्यक्रमको तयारी स्वरुप बुधबार जमलस्थित येल्लो प्यागोडामा बैठक बसेको छ । बैठकले मंसिर १२ मा आयोजित सभामा नियमित अधिवेशनको पक्षमा वक्ताले सम्बोधन गर्ने गरी भेला आयोजना गर्ने निर्णय गरिएको हो ।

    बैठकमा बाग्लुङ कांग्रेसका सभापति जित शेरचन, तरुण दल अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषा मिश्र , नेपाल किसान महासंघ अध्यक्ष गणेशचन्द्र तिमिल्सिनालगायतको उपस्थित थियो ।

    नेपाली काङ्ग्रेस सम्बद्ध महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा एवं विद्यार्थी संघका केन्द्रीय सदस्यहरु, आस्थावान युवा विद्यार्थी बैठकमा सहभागी थिए । कार्यक्रमको दिन विभिन्न ठाउँबाट र्‍यालीसहित कार्यकर्ता उपस्थित हुने बैठकमा जानकारी गराइएको छ ।

  • गुरुराज घिमिरेको कटाक्ष- संसारका कीर्तिमान भङ्‍ग गर्दै डेढ महिना बैठक बसिसक्यो, अझै निष्कर्ष छैन

    गुरुराज घिमिरेको कटाक्ष- संसारका कीर्तिमान भङ्‍ग गर्दै डेढ महिना बैठक बसिसक्यो, अझै निष्कर्ष छैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले १५ औँ महाधिवेशन समयमै नगर्ने देखेपछि बाध्य भएर विशेष महाधिवेशनको अभियान चलाएको बताएका छन्

    कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै जेनजी आन्दोलन देशको राजनीतिसँगै पार्टी नेतृत्व पनि परिवर्तन अपरिहार्य भएको बताए। उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा आफूहरूले बुझाएको बताए।

    उनले भने, ‘हामीले झन्डै ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षरको दस्तावेज बुझाइसकेका छौँ। कार्यवाहक सभापतिलाई बझाउँदै भन्यौँ, यो विधान विपरीत कार्य होइन, यो बिपी कोइराला र सुवर्णसम्शेरले प्रयोग गरेको बाटो हो। विधानले देखाएको विकल्प हो।’

    कांग्रेसले अब सत्ताको आहालमा बस्दा लागेको हिलो पखाल्नुको विकल्प नभएको बताए

    उनले भने, ‘विगतमा गल्ती कमजोरी भयो, अब त्यही कुरालाई बोध गरेर बस्ने होइन । कमीकमजोरी सच्याएर अघि बढ्ने हो । तर केन्द्रीय कार्यसमितिको बैठक विश्वमा कीर्तिमान राख्ने गरी डेढ महिनादेखि बसिरहेको छ । सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीका २३ दिन बसेको रहेछ । तर, संसारका कीर्तिमानहरूलाई भंग गरेर बैठक बसिसक्दा पनि निष्कर्षमा पुग्न सकेका छैनौँ ।’

    उनले भोलिको बैठक पनि सर्ने हल्ला आफूले सुनेको बताए

  • गगन र विश्वप्रकाशसँग छलफलमा जुटे पूर्णबहादुर

    गगन र विश्वप्रकाशसँग छलफलमा जुटे पूर्णबहादुर

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलमा जुटेका छन्

    केन्द्रीय समिति बैठक बस्नुअघि सहमति जुटाउनको लागि खड्काले पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका हुन् । महामन्त्रीद्वयसँग अहिले छलफल जारी छ । १५ औँ महाधिवेशनबारे निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बस्दै छ

    महामन्त्रीद्वयले पुसभित्रमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन्

    भोलिको बैठकअघि महाधिवेशनबारे मध्यमार्गी प्रस्ताव ल्याएर सहमति जुटाउने भन्दै कार्यवाहक सभापति खड्का छलफलमा रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए

    खड्काले हिजो पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ

  • अघिल्लो दिन पार्टी कार्यालय उद्घाटन, भोलिपल्ट माधव नेपालको पार्टीबाट कारबाही, कारबाहीपछि मुनु सिग्देललाई ११ प्रश्न

    अघिल्लो दिन पार्टी कार्यालय उद्घाटन, भोलिपल्ट माधव नेपालको पार्टीबाट कारबाही, कारबाहीपछि मुनु सिग्देललाई ११ प्रश्न

    हेटौँडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसहित १२ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी स्थापना भइसकेको छ । निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले जिल्लामा समेत संयुक्त पार्टी कार्यालय खोलेका छन् ।

    तर आफूलाइ्र्र मन नपरेका नेतालाई खुइल्याउने काममा सधैँ अगाडि देखिने कम्युष्टि पार्टीका नेताहरुको संक्रमण मकवानपुरमा पनि देखिएको छ । माधव नेपाल नेतृत्वको पार्टीको अस्तित्वमै नभएको अवस्थामा त्यही पार्टीको लेटरप्याड प्रयोग गरेर उपसचिव कविन पन्तलाई कारबाही गरिएपछि यतिखेर मकवानपुरमा समाजवादी र माओवादीको मिलन समारोह पनि खल्लो देखिएको छ ।

    मंसिर ८ गते दुई पार्टी मिलेर नेकपाको पार्टी कार्यालय उद्घाटन भएको छ । जहाँ समाजवादी पार्टीकी नेतृ एवम् साविककी मकवानपुर इञ्चार्ज मुनु सिग्देल र माओवादी केन्द्रका मकवानपुरका साविकका इञ्चार्ज विजय गौतमसहित दुवै पार्टीको तस्बिर सार्वजनिक भएको छ ।

    संयुक्तरुपमा पार्टी सञ्चालन भएको भोलिपल्ट अर्थात मंसिर ९ गते भने समाजवादी पार्टीले आफ्ना उपसचिव कविन पन्तलाई कारबाही गरेको छ । पार्टी अध्यक्ष विष्णु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गएपछि नेतृत्व चयन हुन बाँकी रहेको पार्टी माओवादीमा समाहित भइरहँदा कार्यबाहक अध्यक्षका रुपमा उपाध्यक्ष ध्रुव भुजेलले पन्तलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मकवानपुरमा यसको चर्चा भइरहेको छ ।

    अघिल्लो दिन नयाँ पार्टी सञ्चालन गर्ने र भोलिपल्ट पुरानो पार्टीको लेटर प्याडमा कारबाही गर्दा कम्तीमा ढंग त मिलाउनु पर्छ नि भनेर आलोचना भइरहेको छ ।

    माओवादीसँग मिसिने तयारीपछि माधव कुमार नेपालले पनि घनश्याम भूसालहरुलाई साधारण सदस्यबाटै कारबाही गरेका थिए तर मिति अघिल्लो दिनको राखेर ढंग पुर्याइएको थियो । त्यही सिको गरेर मकवानपुरमा पनि कारबाही गरिँदा मिति नमिलेपछि अहिले समाजवादी पार्टीको कारबाही कुण्ठा मात्रै पो हो कि भनेर चर्चा भइरहेको छ ।

    यता आफूलाई कारबाही भएको विषयमा कविन पन्तले बुधबार बिहान सामाजिक सञ्जालमा लामो विवरण लेखेर ‘कोही बात छैन’ भनेर जवाफ दिएका छन् । उनले पार्टी नेतृत्व मुनु सिग्देललाई दर्जन हाराहारीमा प्रश्न पनि गरेका छन् । उनको तर्क यस्तो छः

    कमरेड पूर्वइन्चार्ज, माफ गर्नुहोस्, तपाईंले गर्नु भएको फोन उठाउन सकिनँ र उठाउनुको औचित्य पनि छैन, तपाईं केही तपाइंका लठैतहरुलाइ प्रयोग गरेर जो (डेट एक्सपायर भैसकेका छ्न्) कारबाही को मञ्चन गर्दै हुनुहुन्छ, त्यसले राजनीतिक क्षमता र हैसियत प्रस्ट देखाउँछ र सबैले बुझ्ने गरी देखाउनु भएकोमा धन्यवाद पनि छ ।
    अब प्रश्न गरौँ,

    १. तपाईंले नेतृत्वलाई पदका लागि धम्की दिँदा त्यो सही हुने, हामीले तपाईंलाइ प्रश्न गर्दा हामी गलत कसरी ?

    २. आजसम्म तपाईंले माथि नेतृत्व र तल कार्यकर्तालाई धम्क्याएरै पद प्रतिष्ठा आर्जन गरिरहनु भएको छ भन्ने प्रस्ट भएन र ?

    ३. पाउढोग गर्ने प्रवृत्ति गलत छ भनेर नै हामी बिद्रोही भएका हैनौँ र ?

    ४. त्यत्रो उत्साह भएको पार्टी जिल्ला अन्तत तपाईंको घरभित्र सीमित कसरी भयो, तपाईं र तपाईंको प्रवृत्तिले होइन र ?

    ५. जनताका लागि धेरै गरेका छौँ भन्ने घमण्ड हो भने एकपटक तल जनतापट्टि फर्किएर हेर्नुहोला, आफ्ना कुरा सुनाउन केही संख्या पनि उपस्थित गराउन नसक्ने अवस्थामा कसरी पुग्नु भो ?

    ६. समय सापेक्ष जिल्ला नेतृत्व हस्तान्तरणमा भूमिका खेल्नुस भन्दा गलत कसरी देख्नु भो ?

    ७. पार्टीको जिल्ला अधिवेशन तपाईं र तपाईंको घरको कारण लम्बिएको थियो भन्दा हामी अराजक ?

    ८. ६ महिनाअघि जिल्लाको विवाद सबै मिलाउँछु भनेर हामीलाई वचन दिनु भएको र त्यसपछि लगातार बैठक बोलाउदै निर्णय गर्दै अघि बढनु भएको होइन र ? खोइ छलफल कहाँ गर्नु भो ?

    ९. विद्रोह र एसको स्थापनापछि तपाईं र तपाईंको घरको धम्क्याइ सहन सकिन्न भन्दै लगातार ३ जना अध्यक्षले राजीनामा दिएको विसय असत्य हो र ?

    १०. नेतृत्वलाई धम्की दिएरै आफू बन्नका लागि तयार हुने तपाईं र तपाईंहरुबाट अरु पनि बिग्रन सक्छ्न् भनेर प्रश्न गर्न नपाउने हो र ?

    ११. उहाँहरुको पाउमोलाइ र दासत्व स्वीकारबिना नेता बन्न मुस्किल छ है जिल्लामा भनेर आमरुपमा सचेत गराउँदा गल्ती कता भो ?
    र, तपाईंहरुको आत्माकेन्दृत निर्णय र म नै सर्वेसर्वा भन्ने भावले पार्टी बिग्रेको हो, हामीजस्ता कार्यकर्ताको राजनीतिक भविष्य सकिएको हो भनेर प्रश्न गर्दा अराजक देख्ने तपाईंहरुकै कारण जिल्लाले नयाँ परिवर्तन खोजेको हो !

    अन्त्यमा जनताले कारबाही गरेका तपाईंहरुले हामी जस्ता इमान्दार कार्यकर्ताको हुर्मत लिने गरी गरेको कारबाहीको कुनै अर्थ छैन ! गलतलाई गलत भनेबापत आज भन्दा १३–१४ वर्षअघि पनि गुटका नाममा यस्तै भएकै थियो, त्यो इतिहास हो !

  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले पदमा बसेर शान्तिसुरक्षा बारे गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताएका छन् ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

    उनले फेसबुबका लेखेका छन्, ‘कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो–देखियो । एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबीसहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिलो निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए । संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

  • जसपा नेपालको एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    जसपा नेपालको एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरु आजबाट शुरु भएको छ ।

    पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामामा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

    जसपा नेपालका अनुसार, मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न शहर बजारमा विरोध कार्यक्रम हुनेछ ।

    मङ्सिर १९ र २१ गते पार्टीले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना राखिएको छ । मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने जसपा नेपाले जनाएको छ ।

    जसपा नेपालले पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने भएको छ ।

  • जसपा नेपालले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    जसपा नेपालले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

    त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

    जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा÷जनसभा आयोजना गर्ने बताइएको छ ।

    जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते भैरहवामा तय गरिएको छ ।

    यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरू पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन् ।

  • विशेष महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण हुनेछ : महामन्त्री शर्मा

    विशेष महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण हुनेछ : महामन्त्री शर्मा

    उदयपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार विशेष महाधिवेशन नभए दुर्भाग्यपूर्ण परिस्थिति निर्माण हुने बताएका छन् ।

    जेनजी आन्दोलनका क्रममा आगलागी भएको उदयपुर कांग्रेसको कार्यालय अवलोकनपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले कांग्रेसको विधानमा विशेष महाधिवेशनका लागि पत्र दर्ता गर्ने प्रावधान रहेको तर फिर्ता गर्ने प्रावधान नरहेको बताए ।

    ‘कांग्रेस विधानमा दर्ताको दफा छ फिर्ताको दफा छैन । त्यसैले विशेष महाधिवेशनको ब्याक गियर हुँदैन । माग भएको ९० दिनभित्रमा विशेष महाधिवेशन गर्नैपर्छ’, महामन्त्री शर्माले भने ।

    केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे निर्णय गर्न बाँकी रहेको भन्दै महामन्त्री शर्माले पुस भित्र नियमित महाधिवेशन गर्ने सहमति नजुटे विशेष महाधिवेशन नरोकिने बताए ।

    कांग्रेसमा महामन्त्री वा अरू नेताले के भन्छन् भन्नेभन्दा विधानले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने भन्दै शर्माले विधानअनुसार विशेष महाधिवेशन नभए दुर्भाग्यपूर्ण अवस्था निर्माण हुने बताए ।

  • विप्लव नेतृत्वको माओवादी छाडेर आएकाहरूलाई प्रचण्डले नेकपामा भित्र्याए

    विप्लव नेतृत्वको माओवादी छाडेर आएकाहरूलाई प्रचण्डले नेकपामा भित्र्याए

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीका महासचिव विप्लवलाई छाडेर आएका दाङका युवाहरूलाई पार्टीमा भित्र्याएका छन्।

    नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी छाडेर आएका दाङका युवाहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

    नेकपा भित्रिनेहरूमा नेकपा माओवादीका दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य विवेककुमार बिक, जिल्ला सदस्यहरू दिलीप वली, ठाकुरप्रसाद गौतम, हेमराज बिक र कुमार चपाइ रहेका छन्।

    उक्त समूहलाई पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे।

    यस्तै, आजै मुस्लिम समुदायसँग नेकपाको कार्यक्रममा मुस्लिम समुदायका धार्मिक गुरुहरू (मौलाना) लगायत ५० जना मुस्लिम नेताहरूलाई प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूले स्वागत गरे।

  • यो अवस्थामा चुनाव हुन सक्दैन : मुख्यमन्त्री आचार्य

    यो अवस्थामा चुनाव हुन सक्दैन : मुख्यमन्त्री आचार्य

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृहमन्त्री ओमप्रकाश अर्याल र सबै सुरक्षा निकायका प्रमुखहरूकै अगाडि यो अवस्थामा निर्वाचन हुन नसक्ने बताएका छन् ।
    आज रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अहिलेको अवस्था निर्वाचनका लागि प्रतिकुल भएको बताउँदै भदौ २३ र २४ गते आन्दोलनका नाममा सुरक्षाकर्मीका हतियार लुटेर खुल्लम खुल्ला अपराधीहरू हिँडिरहेकोले निर्वाचन हुनसक्ने अवस्था नरहेको गृहमन्त्री अर्यालसहितका सुरक्षा अधिकारीलाई बताए। सुरक्षा गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल,  र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा  जिल्ला प्रहरी प्रमुखहरू सहभागी थिए ।
    ‘अपराधीको एउटा समूह  खुल्लम खुल्ला सुरक्षाकर्मीबाट खोसिएका हतियार लिएर डुलेका छन्, त्यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?  मुख्यमन्त्री आचार्यले भने ।
    मुख्यमन्त्रीले नागरिकको घर जलाउनेहरुलाई कारबाही नगर्ने हो भने चुनावका लागि भयरहित वातावरण  नबन्ने बताए। उनले लुम्बिनी प्रदेशमा सरकारी र निजी गरी ३९७ वटा  कार्यालय भवन र घर जलेको बताउँदै पीडितहरूको मनोबल बढाउने काममा सरकार लाग्नुपर्ने जनाउँदै पछिल्लो समय धर्मको नाममा, जातीयताको नाममा दलको नाममा गतिविधि बढेको दाबी गर्दै विभिन्न समूहको नाममा  सुरक्षाकर्मीमाथि तेजोवध गर्ने काम भएको बताए।
    उनले सबैभन्दा पहिले राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल बढाउने र जनतालाई प्रवाह गर्ने सेवा चुस्त बनाउनुपर्ने योजना ल्याउन सरकारलाई सुझाएका थिए ।
  • महेश बस्नेतको भविष्यवाणी- मुलुकले सही दिशा लिएको छैन, जेन-जीको सपना तुहिन्छ

    महेश बस्नेतको भविष्यवाणी- मुलुकले सही दिशा लिएको छैन, जेन-जीको सपना तुहिन्छ

    सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको युवा जागरण अभियान कार्यक्रममा नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन-जी पुस्तामाथि देखिएको भ्रम र राजनीतिक दिशाबारे कडा टिप्पणी गरेका छन् ।

    कार्यक्रममा बोल्दै बस्नेतले हालको सरकार सक्रिय नभएको आरोप लगाए । उनले भने, ‘जेन-जीको रगतमा होली खेलेको सुशीला कार्कीको सरकार, सुख्खा सरकार हो । देशको यात्रा कुन दिशातिर गइरहेको छ भनेर जेन-जी पुस्ताले प्रश्न उठाइरहेको बस्नेतले बताए ।

    उनका अनुसार मुलुकले सही दिशा नलिए लोकतान्त्रिक पद्धति कमजोर हुने र जेन-जीको सपना साकार नहुने बरु तुहिने चेतावनी दिए ।

    एमाले र केपी ओलीविरुद्ध कालो झण्डा देखाइएको प्रसङ्ग उल्लेख गर्दै बस्नेतले त्यसले कुनै प्रभाव नपर्ने बताए । उनले भने, ‘लुसिफर र दलालहरूले काला झण्डा देखाउँछन्, त्यसले केही फरक पर्दैन ।’

    ओली नेतृत्वको सरकारको कार्यकाल सम्झिँदै उनले खेलकुद, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक तथा पुल क्षेत्रमा काम भएको दाबी गरे । वर्तमान अवस्थालाई व्यङ्ग्य गर्दै भने, ‘कस्ता कस्ता कहाँ गए, मुसा चल्ला दरबार जस्तै भएको छ ।’

    बस्नेतले विभेद अन्त्य गर्ने शक्ति एमाले नै भएको दाबी गर्दै पार्टीले जनतामैत्री शासनका लागि अग्रगमन सुनिश्चित गर्ने बताए ।

  • तरुण दलको सात बुँदे परिपत्र- जेन-जी युवालाई कांग्रेसमा प्रवेशको वातावरण बनाउनू

    तरुण दलको सात बुँदे परिपत्र- जेन-जी युवालाई कांग्रेसमा प्रवेशको वातावरण बनाउनू

    काठमाडौं । नेपाल तरुण दलले चुनावको वातावरण बनाउन पार्टीपङ्क्तिलाई सात बुँदे परिपत्र पठाएको छ।

    अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै र्‍यालीलगायत मार्चपास गरी कोण सभा आयोजना गरी राजनीतिक गतिविधि बढाउन निर्देशन दिएका हुन् ।

    सभालाई सम्बोधन गर्दा निर्धारित समयमै निर्वाचनको सुनिश्चितताको बारे सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने, जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेन-जी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्न भनेको छ ।

    जिल्लामा रहेका जेन-जी उमेर समूहका युवालाई पार्टीको जिल्लास्थित नेताहरूको उपस्थितिमा व्यापक रूपमा दल प्रवेशको कार्यक्रम आयोजना गर्ने, जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउनेलगायत राजनीतिक गतिविधि गर्न निर्देशन दिएको छ ।

  • जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड

    जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा वामपन्थी र देशभक्त शक्तिहरू आफ्नो पार्टीमा गोलबद्ध हुँदै जाने दाबी गरेका छन् ।

    पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै ११ गते जसपाको एउटा समूह एकता प्रक्रियामा आउने उनले बताए ।

    उनले भने, ‘धेरै पार्टीहरू मिलेर नै एउटा नयाँ शक्ति सिर्जना हुनेछ । हामीले यो प्रक्रियामा युवाहरूलाई बढी सम्बोधन गर्ने प्रयास गरेका छौँ । युवाहरूको सही एजेन्डालाई हामीले समर्थन गरेका छौँ । युवापुस्तासँगको संवाद र सहकार्यकै कारणले जेन-जी पुस्ताले आफ्नो असली अभिभावक नेकपा नै भन्ने बुझिसकेका छन् ।’

    उनले आफूहरू पार्टी एकता प्रक्रियालाई चाँडै टुङ्ग्याएर चुनावको वातावरण बनाउन केन्द्रित हुनुपर्ने बताए ।

  • पार्टीपङ्क्तिमा माधव नेपालको आग्रह- पुरानो पार्टीको धङधङी छाड्नू, बा प्रवृत्ति त्याग्नू

    पार्टीपङ्क्तिमा माधव नेपालको आग्रह- पुरानो पार्टीको धङधङी छाड्नू, बा प्रवृत्ति त्याग्नू

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी एकतापछि अब नेता कार्यकर्तालाई पुरानो पार्टीको धङधङी त्याग्न आग्रह गरेका छन् ।

    पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ भइसकेको बताए ।

    नेपालले भने, ‘हामीहरूले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने होइन, हामी एउटै भइसकेको छौँ । हामीले ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन हुँदैन । ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ, विचार, सिद्धान्त र कार्यक्रमले एकताबद्ध होऔँ ।’

    नेपालको राजनीतिमा जनतालाई भरोसा दिनसक्ने पार्टीको रूपमा अगाडि बढाउनुपर्ने सहसंयोजक नेपालले बताए ।

  • महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन, उम्मेदवारी शुल्क १ हजारभन्दा बढी लिन नपाइने

    महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन, उम्मेदवारी शुल्क १ हजारभन्दा बढी लिन नपाइने

    काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँचबुँदे निर्देशन जारी गरेको छ ।

    पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णय गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो । अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ ।

    यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ ।

    विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ ।

    केही जिल्लामा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

    मंसिर २७ गतेदेखि २९ गते काठमाडौँमा हुने पार्टीको ११ औँ महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

  • चुनावअघि महाधिवेशन मागेका देउवानिकट नेताले विशेष महाधिवेशन पक्षधरसँग भेटे

    चुनावअघि महाधिवेशन मागेका देउवानिकट नेताले विशेष महाधिवेशन पक्षधरसँग भेटे

    काठमाडौं । चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा खुलेका कांग्रेस संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गरेका छन् । आज सभापति शेरबहादुर देउवानिकट २७ नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेट गरेका हुन्

    चुनाव अघि नियमित महाधिवेशन प्रस्ताव गर्ने २७ केन्द्रीय सदस्य र विशेष माग गर्नेहरूबीच अबको निकासबारे छलफल भएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताए । ४ घण्टा छलफल चलेको भन्दै निकासका लागि सबै पक्ष सकारात्मक रहेको बताए ।

    छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसेलगायत नेताहरू थिए ।

    संस्थापन पक्षका यी नेताहरूले यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि बेग्लाबेग्लै छलफल गरेका थिए ।