Tag: मोतिपुर

  • सत्तारुढ दलनिकट विद्यार्थी संगठनले भने- मोतिपुर घटनाको कारकतत्व अघिल्लो सरकार

    सत्तारुढ दलनिकट विद्यार्थी संगठनले भने- मोतिपुर घटनाको कारकतत्व अघिल्लो सरकार

    काठमाडौं । मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि चारजनाको मृत्यु भएको घटनालाई लिएर सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । तीन विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनहरूले जारी गरेको विज्ञप्तिमा मोतिपुर घटनाको छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । जनताको संविधान प्रदत्त माग राख्दा र आन्दोलन गर्न दमन नगर्न विद्यार्थी संगठनले सरकारलाई चेतावनी दिएका छन् ।

    विज्ञप्तिमा घटनाको मुख्य कारणका रूपमा तत्कालीन एमाले नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न नाममा १३३ बिघा जमिन अधिग्रहण गर्नुलाई ठहर्‍याइएको छ ।

    ‘तत्कालीन सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रणमैदान भएको छ र अनाहकमा जनताको ज्यान गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निस्कर्ष छ ।’

    विज्ञप्तिमा माओवादीनिकट अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको हस्ताक्षर छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।

  • मोतिपुर घटनाबारे केन्द्रीय सुरक्षा बैठक : अतिक्रमणबाट औद्योगिक क्षेत्र जोगाउन गृहमन्त्रीको निर्देशन

    मोतिपुर घटनाबारे केन्द्रीय सुरक्षा बैठक : अतिक्रमणबाट औद्योगिक क्षेत्र जोगाउन गृहमन्त्रीको निर्देशन

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणबाट जोगाउन निर्देशन दिएका छन् ।
    जग्गा कब्जा गर्न गएको समूह र प्रहरीको झडपमा चारजनाको मृत्यु र दर्जनौं घाइते भएपछि सोमबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृह मन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिएका हुन् ।

    अतिक्रमणकारीले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेपछि गोली चलाउन बाध्य भएको नेपाल प्रहरीले गृहमन्त्रीलाई जानकारी गराएको छ । बुटवलको मोतिपुरमा हिजोदेखिको कर्फ्यू जारी छ ।

  • राष्ट्रियसभामा एमालेको आपत्ति- सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो

    राष्ट्रियसभामा एमालेको आपत्ति- सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा आपत्ति जनाएको छ । प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाए ।

    ‘चारजना सुकुम्बासीको हत्या गर्ने काम भयो,’ भट्टराईले भने, ‘अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका लागि दशा बनेर आयो । म घटनाको सम्पूर्णरूपमा भर्त्सना गर्छु ।’

    घटनाको छानविनमा सरकारले तत्परता नदेखाएको भन्दै उनले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति दिन माग गरे । भट्टराईले गृहमन्त्रीमाथि नैतिकता प्रश्न उठेको समेत टिप्पणी गरे । उनले भने, ‘गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्यो । उहाँ आफ्नै जिल्लामा शान्ति कायम गर्न सक्षम हुनहुन्न भने देशभर के गर्नुहोला ?’

  • मोतिपुरमा भएको झडपमा चार सर्वसाधारणको मृत्यु

    मोतिपुरमा भएको झडपमा चार सर्वसाधारणको मृत्यु

    रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

    अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ४ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको नेपाल प्रेसलाई बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारकाे मात्र पहिचान खुलेकाे छ ।

    सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

    तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

     

  • मोतिपुर औद्योगिक क्षेत्रको अन्तरकथाः किन उब्जियो विवाद ?

    मोतिपुर औद्योगिक क्षेत्रको अन्तरकथाः किन उब्जियो विवाद ?

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको आज शिलान्यास भएको छ । तर, शिलान्यास कार्यक्रम त्यति सहज भएन ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले अवरोध गरेका थिए । उनीहरुले कार्यक्रमस्थलमा लक्षित गर्दै ढुंगामुढा गरे । कार्यक्रममा अर्थमन्त्री पौडेलले बोल्दै गर्दा सभास्थल वरपर आगजनीसमेत गरिएको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा दुई सुरक्षाकर्मी र ६ स्थानीय घाइते भएका छन् ।

    शुक्रबार कार्यक्रम स्थलमा १० बजे नै उपस्थित भएका स्थानीयले अर्थमन्त्री पौडेल र औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । शिलान्यासस्थलमा पुरोहितले स्वस्तिवाचन गरिरहँदा बाहिर नाराबाजी भइरहेको थियो । कार्यक्रमस्थलमा व्यापक प्रहरी परिचालन गरिएकाे भएपनि शिलान्यास गरी अर्थमन्त्री पौडेलले मञ्चमा सम्बोधन गर्न थालेपछि स्थानीयले कार्यक्रमस्थल वरिपरि घेरेर आगजनी गरे ।

    स्थानीयवासीको आक्रमणपछि अर्थमन्त्री पौडेलले आफ्नो मन्तव्य छोट्याएर कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमस्थलबाट अर्थमन्त्री, उद्योगमन्त्री तथा अन्य अतिथिहरु बाहिरिएपछि स्थानीयले शिलास्तम्भ भत्काइदिएका छन् ।

    औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित गर्न सो क्षेत्रका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले दबाब दिएको बताए । उनले औद्योगिक क्षेत्र शिलान्यास गरेर भुमरीमा नफस्न आफूलाई चेतावनी दिएको र सोहीअनुरुप कार्यक्रम विथोल्न लगाएको दाबी गरे ।

    औद्योगिक क्षेत्रको अन्तरकथा

    रुपन्देहीका उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि स्थान अभाव भएको भनेर आवाज उठाएको लामो समय भइसकेको थियो । बुटवल औद्योगिक क्षेत्रमा लामो समयदेखि स्थान माग गर्ने उद्योगीको निवेदनका चाङ नै लागेका छन् ।

    यही समस्यालाई समाधान गर्नका लागि बुटवल उपमहानगर, तिलोत्तमा नगर र शुद्धोधन गाउँपालिकाको क्षेत्रमा पर्ने मोतिपुर औद्योगिक क्षेत्र स्थापना गर्न २०७२ सालमा क्षेत्र छनाेट गरिएको थियो । यहाँका उद्योग वाणिज्य संघ तथा उद्योग संघले समेत सरकारले अघि सारेको यो योजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

    औद्योगिक परियोजनाका लागि कानूनी अड्चन हटाउन लामो समयको दौडधुपपछि सरकारले फागुन १३ गते यो परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो । अर्थमन्त्री पौडेलले यसको शिलान्यास गर्ने कार्यक्रम तय गरिए पनि अन्तिम समयमा आएर रोकियो । राजनीतिक खिचातानीले हैरान भएका उद्योगी–व्यवसायीलाई औद्योगिक क्षेत्र निर्माणको खबरले केही खुसी बनाएको थियो । तर एक्कासी यो रोकिएपछि उनीहरु आश्चर्यमा परेका थिए ।

    यसअघि शिलान्यास रोकिनुको कारण सो क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना भएपछि विस्थापित हुनेहरुले आफूहरुलाई स्थायी ग्यारेन्टी नगर्दासम्म कुनै काम गर्न नदिने घोषणा गर्नु तथा सो कार्यक्रमका प्रमुख अतिथि परिवर्तित राजनीतिमा अल्झिनु थियो ।

    २०७२ सालदेखि सो क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका विषयमा विभिन्न पहलहरु गरिए पनि २०७५ कार्तिकमा सोही क्षेत्रमा कार्यालय संचालन गरेर काम शुरु गरिएको थियो । तर कार्यालय संचालन भएको साढे दुई वर्षसम्म जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार, डीपीआर र स्थानीयको विवादमै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अल्झिएका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।

    तिनाउ नदी किनारको मोतिपुरमा करिब १ हजार बिघा क्षेत्रफलमा यसको क्षेत्र निर्धारण गरिएको छ । यो औद्योगिक क्षेत्र रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको छ। औद्योगिक क्षेत्रमा उद्योग खोल्न शुरुमै ४५० उद्योगीले आवेदन दिएका कारण पनि कति समस्या उद्योगीहरुलाई रहेछ भन्ने प्रष्ट हुन्छ ।

    मोतिपुरमा ५ वर्षभित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले योजना बनाएको त्यो समयमा पूरा गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशाेर बस्नेतले जनाए ।

    उनले शुक्रबार विरोध गर्नेहरु राजनीतिक प्रतिशोधका आधारमा आएको दावी गरे । उनले भने– ‘यहाँ आउने धेरै यससँग सम्बन्ध नभएका अनुहार छन्, केहीको समस्या छ उनीहरुलाई हामीले जसरी पनि व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छौं । राजनीतिक खिचातानीले आजको घटना भयो । उनले केही व्यक्तिको स्वार्थका लागि सरकारले गरेको निर्णय नरोकिने र यसको काम सुचारु हुने बताए ।

    के भन्छन् स्थानीय ?

    औद्योगिक क्षेत्र स्थापनाबारे स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया छ । अहिलेसम्म स्थानीयको माग नै पूरा गर्न नसक्नु सरकारको कमजोरी र औद्योगिक क्षेत्र बनेपछि सो क्षेत्रलाई हुने दीर्घकालीन फाइदाका विषयमा स्थानीयलाई प्रष्ट पार्न नसक्नु सबै राजनीतिक दलको कमजोरी भएको स्थानीय केशव कुँवरले बताए । विकास निर्माणको विषयमा दलीय समन्वय हुन नसक्नु र एकले शुरु गरेको योजना अर्कोले विरोध गर्नैपर्ने खालको गलत राजनीतिक संस्कारका कारण समस्या बल्झिंदै गएको उनको भनाइ छ ।

    औद्योगिक क्षेत्र निर्माणका लागि यो क्षेत्रमा क्रियाशील सबै उद्योगी–व्यवसायीका संस्थाहरुले अग्रसरता देखाएको र शिलान्यास पनि भइसकेकाले यसको काम अगाडि बढ्ने बुटवल उपमहानगरका कावा प्रमुख गोमादेवी आचार्यले बताइन् । उनले स्थानीयका माग सम्बोधन गरेरै औद्योगिक क्षेत्रको काम अगाडि बढाउने उल्लेख गरिन् ।

    उद्योगी व्यवसायीको समस्या समाधान र यहाँको आवश्यकतालाई सबै राजनीतिक दलले ध्यान दिन आवश्यक भएको र सरकारले अविलम्ब यसलाई अगाडि बढाउन ढिलाइ गर्न नहुने रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

    मोतिपुरका पूर्व गाविसअध्यक्ष भीमलाल न्यौपानेले आफूहरुको सहमति बेगर स्थानीयले वर्षाैंदेखि जोतभोग गर्दै आएको जग्गा, वन, तथा सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बन्न लागेकाले विरोध गरेको बताए । उनले प्रहरी प्रशासनको बलमा हामीलाई लखेट्न आउनेहरु आफैं लखेटिएको दाबी गरे । औद्योगिक क्षेत्र संघर्ष समितिका श्यामलाल भुसालले स्थानीयको सहमतिबेगर कुनै पनि हालतमा यो कम अगाडि बढ्न नसक्ने बताए ।

    कार्यक्रमस्थलमा विरोध गरिरहेका स्थानीय दिपक शर्माले केही व्यक्तिको स्वार्थपूर्तिका लागि औद्योगिक क्षेत्र ल्याइएको आरोप लगाए । आफूहरुको माग सम्बोधन नगरी कुनै पनि हालतमा काम अगाडि बढ्न नदिने उनको भनाइ छ ।

    उनले भने–‘हामी घर न घाटको भएपछि जस्तोसुकै आन्दाेलन गर्न पनि पछाडि पर्दैनौं।’

    अर्थमन्त्रीले भनेः पर्दापछाडिको खेल

    औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा अवरोधपछि बुटवलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले विकासका काम विथोल्न पर्दा पछाडि बसेर गरिएको प्रयास असफल भएको बताए । पर्दा पछाडि रहेर अवरोध गर्नेलाई सतहमा आउन उनले चुनौती दिए ।

    ‘विकास र समृद्धिको यात्रामा रुपन्देहीले अहिलेसम्म बनाएको पहिचानलाई औद्योगिक क्षेत्र शिलान्यासमा गरिएको अवरोधले धुमिल बनाएको छ’ मन्त्री पौडेलले भने, ‘जनतालाई अनावश्यक भ्रम सिर्जना गरेर विकासका विरुद्धमा नउचालौं ।’।

    अर्थमन्त्री पौडेलले देशभरका भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने काम यही सरकारले गर्ने दावी गर्दै कसैको व्यक्तिगत स्वार्थका पछाडि नलाग्न स्थानीयवासीलाई आग्रह गरे ।

    सरकारले व्यक्तिको नाममा रहेको कुनै पनि जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको नभई औद्योगिक व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा निर्माण गर्न लागेको उनले स्पष्ट पारे । मोतिपुरलाई औद्योगिक क्षेत्रको माध्यमबाट नामजस्तै मोती उत्पादन गर्ने स्थल बनाउने पौडेलको दावी थियो ।

    त्यस्तै वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीभित्रै र बाहिर रहेको विकास विरोधी प्रवृत्तिले मुलुकलाई अगाडि बढ्न नदिने बताए । जनप्रतिनिधि आफैं विकास विरोधी हुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।

    ‘विकासका विरुद्धमा उत्रिएका भन्दा उनीहरुलाई उचाल्नेहरु दोषी हुन्’, भट्टले भने ।