Tag: मेस्सी

  • मेस्सीले एकै खेलमा गरे पाँच गोल

    मेस्सीले एकै खेलमा गरे पाँच गोल

    ब्युनोस आयर्स। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले शनिबार राति इस्टोनियालाई ५–० गोलले हराएको छ।

    अर्जेन्टिनाको जितमा पाँचवटै गोल लियोनल मेस्सीले गरे। उनले ८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खाता खोलेका थिए।

    ४५ मिनेटमा दोस्रो गोल गरेका उनले ४७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। मेस्सीले थप गोल ७१ र ७६ औँ मिनेटमा गरेका थिए। यो जितसँगै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले अपराजित यात्रा ३३ खेलमा पुर्‍याएको छ।

    मेस्सीले अर्जेन्टिनाका लागि एकै खेलमा ५ गोल गरेको यो पहिलोपटक हो। यसअघि क्लबका लागि पनि एकपटक मात्र यस्तो सफलता हात पारेका छन्। सन् २०१२ मा बायर लेभरकुसेनमाथि बार्सिलोनाले हात पारेको ७–१ गोलको जितमा मेस्सीले ५ गोल गरेका थिए। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ८६ पुगेको छ। उनीभन्दा अगाडि रहेका मलेसियाका मोख्तर दहारीले ८९, इरानका अलि दाईले एक सय ९ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक सय १७ गोल गरेका छन्।

    अर्जेन्टिनाले गत साता मात्र इटालीलाई ३–० गोलले हराएर फाइनलिस्सिमाको उपाधि जितेको थियो। युरो कप विजेता र कोपा अमेरिका विजेताबीच प्रतिस्पर्धा गराइएको थियो।

    मेस्सीले हालसम्म विभिन्न ३० फरक देशविरुद्ध गोल गरेका छन्।

  • ह्याट्रिक पूरा गर्ने मौका गुमाउँदै मेस्सीले एमबाप्पेलाई दिए पेनाल्टी हान्न

    ह्याट्रिक पूरा गर्ने मौका गुमाउँदै मेस्सीले एमबाप्पेलाई दिए पेनाल्टी हान्न

    पेरिस । फ्रान्सको घरेलु लिग फुटबल लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन–पीएसजीले मन्टपेलियरलाई ४–० गोलले हरायो।

    पीएसजीको जितमा लियोनल मेस्सीले दुई तथा केलियन एमबाप्पे र एन्जेल डी मारियाले एक एक गोल गरे। यसअघि नै उपाधि जित्ने निश्चित गरिसकेको पीएसजीका लागि मेस्सीले शनिबार ह्याट्रिक पूरा गर्ने अवसर प्रयोग गरेनन्।

    ६० औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको अवसरमा मेस्सी अघि सरेर गोल गरेको भए उनले ह्याट्रिक पूरा गर्ने थिए। तर मेस्सीले आफूले पेनाल्टी हानेनन्, एमबाप्पेलाई अघि सारे। एमबाप्पेलाई नै फल भएपछि पीएसजीले पेनाल्टी पाएको थियो। त्यसअघि मेस्सीले छैटौँ र २० औँ मिनेटमा गोल गरेका थिए।

    दुवै गोलमा एमबाप्पेले असिस्ट गरेका थिए। खेलमा आफुले दुई गोल गरेको अवस्थामा पाएको पेनाल्टी मेस्सीले प्रहार नगरेको यो पहिलोपटक भने होइन। पीएसजी आएयतासमेत यसअघि मेस्सीले गोल गर्दा ह्याट्रिक पूरा हुने पेनाल्टी अर्कैलाई हान्न दिएका थिए। मेस्सीले यो सिजन पीएसजीका लागि ३३ खेलमा ११ गोल गरेका छन्। उनले घरेलु लिगमा २५ खेलमा ६ गोल गरेका छन्।

  • बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्पेनिस क्लव बार्सिलोनाबाट मुक्त भएको खबरले विश्वव्यापी फुटबल जगतमा गतिलै तरंग ल्याएको छ । बार्सिलोनाको निर्णय मेस्सीकै लागि पनि अप्रत्याशित रहेको अर्जेन्टिनाका केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    बार्सिलोनाले हिजो एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गरेको थियो । यसअघि मेस्सी र क्लव दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । हिजो उनीहरूबीच सम्झौता हुने भनिएकोमा एकाएक क्लवको विज्ञप्ति आएपछि विश्वभरका मेस्सीका समर्थकहरू आश्चर्यमा परेका छन् ।

    अर्जेन्टिनाबाट प्रकाशित हुने मुन्डो डिपोर्टिभोले क्लवको निर्णयबाट मेस्सी स्वयम् पनि विष्मयमा परेको उल्लेख गरेको छ । यद्यपि उनले अहिले कुनै सार्वजनिक वक्तव्य जारी नगर्ने समाचारमा जनाइएको छ । मेस्सीले बार्सिलोनाबाट अझै स्पष्टता चाहेका छन् ।

    ‘बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आज गर्ने पत्रकार सम्मेलनमा सबै विषय प्रष्ट्याउने मेस्सीको आशा छ,’ समाचारमा भनिएको छ, ‘उनी क्लवसँग संयुक्त वक्तव्य जारी गरेर आफ्ना समर्थकहरूलाई गुडबाइ भन्न चाहन्छन् ।’

    मेस्सी गत बुधबारमात्र आफ्नो भ्याकेसन सकेर बार्सिलोनामा फर्किएका थिए । उनी क्लवसँग नयाँ पाँच वर्षे करार गर्नेमा ढुक्क थिए । दुई पक्षबीच केही मसिना कुराहरूमात्र सल्टाउन बाँकी रहेको बताइएको थियो । तर, परिस्थितिमा एकाएक उलटफेर भयो ।
    समाचारमा आए अनुसार ला-लिगाको नियमले मेस्सी र बार्सिलोनाबीचको नयाँ करार रोकेको हो ।

    अब कहाँ ?

    बार्सिलोनाबाट अलग भएसँगै अन्य क्लवहरुले मेस्सीलाई आँखा लगाउन थालिसकेका छन् । हिजोसम्म उनले बार्सिलोना छोड्ने कसैको कल्पना नभएकाले क्लवहरूले कुनै पहल गरेका थिएनन् । तर, बार्सिलोनाका विज्ञप्ति आएसँगै चहलपहल शुरू भएको छ ।

    मेस्सीलाई पहिलेदेखि आँखा लगाइरहेको एउटा क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) हो । बार्सिलोनाको निर्णय सार्वजनिक भएसँगै उसले मेस्सीसँग सम्पर्क गरिसकेको ट्रान्सफर गुरु फाब्रिजीओ रोमानोले दावी गरेका छन् ।

    पीएसजीमा मेस्सीका अर्जेन्टिनी टिममेटहरू लियन्ड्रो पारेडस् र एन्जेल डिमारियाका साथै ब्राजिलका नेयमार पनि छन् ।

  • मेस्सी र रोनाल्डोलाई पछि पार्दै लोवान्डोस्की बने ‘बेष्ट’

    मेस्सी र रोनाल्डोलाई पछि पार्दै लोवान्डोस्की बने ‘बेष्ट’

    एजेन्सी । गत वर्षका विजेता लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पनि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित भएका छन् ।

    पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९-२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।

    फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् ।

    विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ । यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए ।

    लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । यसअघिका सिजनहरुमा बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोले नै यो अवार्ड जितिरहेका हुन्थे । यो सिजन पनि लेवान्डोस्की १४ खेलबाट १६ गोलसहित अग्रस्थानमै छन् ।

    ‘यदि तपाईं मेस्सी र रोनाल्डोको बीचमा रहेर यस्तो अवार्ड जित्न पाउनुहुन्छ भने त्यो अविश्वसनीय हुन्छ । मेरा लागि यसले धेरै ठूलो महत्व राख्छ,’ अवार्ड लिएपछि लेवान्डोस्कीले भने, ‘मलाई थाहा छ कि केहि समय अगाडि यस्तै उत्कृष्ट गर्नका लागि छटपटिएको थिएँ । र अहिले त्यो समयमा आइपुगेको छु । म यस्तो खाले पुरस्कार अरु धेरै जित्न सकुँ ।’