Tag: महामन्त्री

  • कांग्रेस महामन्त्रीमा मिनेन्द्रको दावेदारी

    कांग्रेस महामन्त्रीमा मिनेन्द्रको दावेदारी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

    रक्षामन्त्री समेत रहेका रिजालले पार्टीलाई वैचारिक र सांगठनिक दुवै हिसाबले सशक्त बनाउन आफू महामन्त्रीको उम्मेदवार बन्ने बताए ।

    संस्थापनइतर समूह यतिबेला सभापतिको साझा उम्मेदवार बनाउन निरन्तर छलफलमा रहेको छ । सभापतिमा साझा उम्मेदवार चयन हुनासाथ महामन्त्रीका रुपमा आफ्नो उम्मेदवारी स्वतः सार्वजनिक हुने रिजालको भनाई छ ।

    ‘म महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ । यतिबेला हाम्रो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्नमा छौं । साझा उम्मेदवारको टुंगोसँगै महामन्त्रीमा मेरो उम्मेदवारी औपचारिक हुनेछ’, रिजालले भने ।

    पार्टीभित्र आफूले गरेको काम र अनुभवकै आधारमा महामन्त्रीको उम्मेदवार बन्न लागेको बताए । ‘पार्टीका लागि होस वा मुलुकका लागि मैले इमान्दारिताका साथ काम गरेको छु । १४ औं महाधिवेशनमा महामन्त्रीका लागि मेरो उम्मेदवारी रहन्छ’, रिजालले भने ।

    उनले पार्टीलाई एकतावद्ध र विपक्षीसँग खरो उत्रनसक्ने संगठनका रुपमा लैजानुपर्ने बताए ।

  • राजनीतिक अवधारणा सार्वजनिक गर्दै विश्वप्रकाश

    राजनीतिक अवधारणा सार्वजनिक गर्दै विश्वप्रकाश

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले आज आफ्नो अवधारणा सार्वजनिक गर्दैछन् ।

    वीपी जयन्तीको दिन सुन्दरीजलबाट महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले गृहजिल्ला झापामा आयोजित कार्यक्रमबाट आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

    ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्दै शर्माले आफ्नो अवधारणा सार्वजनिक गर्न लागेका हुन् । कांग्रेसको महामन्त्रीका रूपमा आफूले उम्मेदवारी घोषणा गरेसँगै राजनीतिक अवधारणा सार्वजनिक गर्नु अपरिहार्य ठानेको शर्माले बताए ।

    ‘नेपाली जनताको ७ दशक लामो सपना साकार भएर संविधानसभाबाट संविधान बनेको दिन मेरो जन्मभूमि झापाका जनताको माझबाट राजनीतिबारे मेरा अवधारणा सार्वजनिक गर्न चाहेको हुँ’, शर्माले नेपाल प्रेससँग भने ।

    कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुँदैछ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र शर्माले एकल उम्मेदवारी घोषणा गरेसँगै उनी उपसभापति विमलेन्द्र निधिसँग नजिकिएको चर्चा कांग्रेसवृत्तमा भइरहेको छ ।

  • संसद विघटनविरुद्ध लड्न कांग्रेस एक्लै काफी छ : महामन्त्री कोइराला

    संसद विघटनविरुद्ध लड्न कांग्रेस एक्लै काफी छ : महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटनको कदमविरुद्ध लड्न कांग्रेस एक्लै काफी रहेको बताएका छन् ।

    नेपाली कांग्रेस दाङले आयोजना गरेको विरोधसभामा महामन्त्री डा. कोइरालाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादको शिकार संसदलाई बनाइएको भन्दै कोइरालाले कम्युनिष्ट पार्टीका दुवै समूह जनताविरोधी रहेको आरोप लगाए । उनले आन्दोलनमा जान कांग्रेसलाई कसैको साथ नचाहिने बताए ।

    ‘प्रतिगमनविरुद्ध कांग्रेसले हिजोपनि लडेको हो आज पनि लड्नेछौं । ओलीविरुद्ध लड्न अर्को कम्युनिष्टको सहयोग चाहिँदैन, कांग्रेस एक्लै काफी छ’, कोइरालाले भने । उनले संयुक्त आन्दोलन अहिले आवश्यकता नभएकोले कांग्रेस आफ्ना एजेण्डा बोकेर एक्लै जनतामा जाने बताए ।

    महामन्त्री कोइरालाले सर्वोच्च अदालतको फैसलाबाटै संसद ब्यूँतने विश्वास समेत व्यक्त गरे ।

    सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूमा देखिएको लोभी चरित्रका कारण संविधान संकटमा परेको आरोप लगाए ।