Tag: महाकाली बाढी

  • उद्धारका लागि आएको हेलिकप्टर धनगढीमै रोकियो

    उद्धारका लागि आएको हेलिकप्टर धनगढीमै रोकियो

    कैलाली । महाकालीको टापुमा फसेका पाँच जनलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको छ । मौसममा आएको खराबीले महाकालीमा अलपत्र परेकाहरूलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    ‘मौसम प्रतिकुल नभएकाले यहाँसम्म हेलिकप्टर आउन सकेन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भने ‘अहिले धनगढीमा हेलिकप्टर रोकिएको छ । ’

    मौसममा सुधार आउना साथ उद्धारको लागि हेलिकप्टर आउने उनले बताए ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना उद्धारको पर्खाइमा छन् । उनीहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जनाएको छ ।

    उता कैलालीको ठूलीगाडमा बसेका एक दम्पतीलाई पनि हेलिकप्टरले उद्धार गर्न सकेन ।

    डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्–श्रीमती फसेका छन् ।

    स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

    उता बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण अलपत्र परेका करिब ६० जना पनि उद्धारको पखाइमा छन् । उनीहरूको उद्धारको पहल भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

  • टापुमै अड्किए पाँच स्थानीय, रुख चढेर ज्यान जोगाउँदै

    टापुमै अड्किए पाँच स्थानीय, रुख चढेर ज्यान जोगाउँदै

    कैलाली । महाकालीमा आएको बाढीका कारण नदीको बीच टापुमा पाँचजना स्थानीय अड्किएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना महाकाली नदीको टापुमा फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    उनीहरू टापुमै बसोबास गर्दै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए । प्रहरीको टोली अझै त्यहाँ पुग्न नसकेको बताए ।

    उनले भने, ‘टापुमा पाँचजना स्थानीय फसेका छन् । हाम्रो टोली अझै त्यहाँ पुग्न सकेको छैन । कसरी उद्धार गर्ने भन्नेबारे छलफल गरिरहेका छौं ।’ उनीहरू अहिले रूपमा चढेर ज्यान जोगाइरहेको उनले बताए ।

    महाकालीमा अहिले पनि पानीको सतह खतराभन्दा निकै माथि छ । १० बजे ४ लाख ९० हजार क्युसेक मापन गरिएको डिएसपी न्यौपानेले बताए । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

    अहिले नदी किनारका दुवैतर्फ करिब २ सय बढी घर डुबानमा समेत परेका छन् ।

    भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

    बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रूपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको छ ।