Tag: भूकम्प

  • विनाशकारी भूकम्पको सात वर्ष, अझै बनेनन् कतिपय संरचना

    विनाशकारी भूकम्पको सात वर्ष, अझै बनेनन् कतिपय संरचना

    काठमाडौं । नेपालमा पछिल्लोपटक विनाशकारी भूकम्प भएको सात वर्ष पुगेको छ । तर अझैसम्म भूकम्पले भत्काएका कतिपय साँस्कृतिक एवम् ऐतिहासिक संरचनाको पुनःनिर्माण हुन सकेको छैन । तर भूकम्पको सातौं स्मृति दिवस पारेर आज सचेतनामूलक विभिन्न कार्यक्रम गरिँदैछ ।

    २०७२ सल वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौं उपत्यकासहित देशका १४ जिल्लामा व्यापक क्षति गरेको थियो । भूकम्पमा परी करिब ९ हजारको ज्यान गएको थियो भने लाखौं मानिस घरबारविहीन भएका थिए । सयौं सम्पदा क्षतिग्रस्त भएको थियो ।

    अतिप्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

    १९९० साल माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो । दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ ।

  • अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प!

    अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प!

    काठमाडौं । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ ।

    स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

  • भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

    भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

    सुर्खेत । साउन ३ गते राति ९ बजे पश्चिमी दैलेख केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पको धक्का त्यति ठूलो त होइन तर ढुंगामाटाेले बनेकाे कच्ची घर भत्किएपछि यहाँका एक दलित परिवारको पालमूनि बस्न बाध्य भएकाे छ ।

    भूकम्पले आठबीस नगरपालिका–३ कुमालखाडाकी जुना विकको घर भत्काएको हो । आर्थिक अवस्था अत्यन्तै दयनीय एकल महिला जुना विक गाउँमै ज्यालादारी गरेर जीवन चलाउँदै छिन् ।

    भूकम्पले घर भत्काएपछि गाउँलेको सहयोगमा बनेको पालको अस्थायी निपासमा छोरा र छोरीसहित बस्दै आएकी छन् । गाउँमा अरु कसैलाई केहि भएन । उनकै घरमात्र भत्कियो । ‘जसको यो संसारमा केहि छैन, जो सँग कोहि छैन, भूकम्पले पनि त्यस्तैलाई दुख दियो,’ निराश हुँदै उनले भनिन् ।

    उनले ज्याला मजदुरी गरेर छोरा छोरी पाल्दै आएकी छन् । ‘गाउँमा काम गरेर कसरी घर बनाउन सकौंला र ? भारतमा गई काम गर्न सक्ने मेरो अवस्था पनि छैन । छोराछोरी सानै छन्,’ उनले भनिन्, ‘कसैले सहयोग गरि घर मात्रै बनाइदिएको भए मेरो उद्दार हुन्थ्यो ।’

    यता, आठबीस नगरपालिकाका नगरप्रमुख खडगराज उपाध्यायले उनको घर बनाई दिने आश्वासन दिएका छन् । ‘म अहिले सुर्खेतमा छु । नयाँ बजेट अब कार्यान्वयनमा जान्छ । म नगरपालिका पुग्दा वित्तिकै नगरपालिकाले उनको घर बनाउन सहयोग गर्छ,’ उनले नेपालप्रेससँग टेलिफोन कुराकानीमा भने, ‘धेरै ठूलो सहयोग गर्न नसके पनि उहाँको परिवारलाई पालबाट छानामा ल्याउन हामी पहल गर्छौं ।’

  • काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

    काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दू बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

    उपत्यकाका प्राय सबै स्थानमा भूकम्प महशुस गरिएको थियो ।

  • लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का !

    लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का !

    लमजुङ । कोरोना संक्रमण महामारी र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

    जिल्लाको मर्स्याङदी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका संख्यामा भूकम्पको धक्का महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

    चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।

    यसरी पटकपटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो ।

    कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने अस्थिति समेत थिएन । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । यति कुराको मात्र डरले सीमित छैन जिल्लावासी । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ ।

    यही बीचमा भूकम्प जाँदा जिल्लाबासी घरबाहिर भीडभाड गरेर बस्न बाध्य भए । कोरोना संक्रमण परीक्षण नगरेकाहरुलाई सङ्क्रमणको जोखिम भए सबैलाई सर्ने उच्च सम्भावनाले पनि मन आत्तिएको बेसीशहर नगरपालिका-८ की सिर्जना श्रेष्ठको भनाइ छ । उनले भनिन्, ‘कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गर्ने गरेर रात बिताइयो ।’ सिर्जना जस्तै समस्या अधिकांश जिल्लाबासीको पनि उस्तै हो । जिल्लामा छ जना घाइते भए भने २०० घरमा क्षति पुग्यो । भूकम्प पटकपटक जानाले अझै घर तथा मानवीय क्षति हुन्छ कि भन्ने डरमा यहाँका स्थानीयवासी रहेका छन् ।

    यता भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उहाँले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गर्नुभएको छ ।

    रासस

  • लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते

    लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते

    काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पकाे ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

    भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएको लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

    ‘एकजना घाइते हुनेबाहेक भूकम्पले त्यति ठूलो क्षति पुर्‍याएको छैन । उहाँ अहिले अस्पताल भर्ना भइसक्नु भएको छ,’ मिश्रले भने, ‘धक्का ठूलै  महसुस गरिए पनि क्षति सामान्य छ ।’

    बिहानै भूकम्पको ठूलो धक्का महसुस गर्दा जिल्लाबासीहरु आत्तिएको मिश्रले बताए । उनले भने, ‘उहाँहरु आफैं आत्तिएर बाहिर निस्किनु भएको हो । ठूलो क्षति भएको भए अहिलेसम्म जानकारी भइसक्थ्यो । त्यस्तो केही छैन ।’

  • जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

    जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

    टोकियो । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

    उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।

  • जब मेरो छेवैमा धरहरा खस्यो

    जब मेरो छेवैमा धरहरा खस्यो

    ६ वर्षअघिको त्यो दिन सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । ०७२ सालको भूकम्पले धरहरा ढाल्दा घटनास्थमा रहेको म भाग्यले जोगिएको थिएँ ।

    शनिबारको बिदा भएकोले म कोठामै थिएँ । हल्का बदलीसहित केही चिसो मौसम थियो । बिहानको ११.३० बजेतिर मित्र चिन्तामणी ज्ञवालीजी आफ्नो मेडमसहित भेटघाटको लागि मेरो कोठा भोटेबहालमा आउनुभयो । एकछिनको भलाकुसारीपछि चिन्तामणि र म बीर अस्पतालतिर जान भनेर करिब ११.५० बजेतिर कोठाबाट निस्कियौं ।

    भोटेबहालको गल्ली हुँदै हामी ठीक ११.५६ बजे धरहरा कम्प्लेक्सतर्फ लम्किँदै थियौं । ठिक त्यति नै बेला एक प्रकारको डरलाग्दो हुरी चलेजस्तो आवाज आयो । हावा थिएन केवल आवाज । मित्रले लौन के भयो भनेर आत्तिदै पछाडिबाट मेरा दुवै हात समात्नुभयो । मैले भूकम्प गएको थाहा पाइसकेको थिएँ ।

    त्यति नै बेला मेरो आँखा धरहरातिर सोझियो । धरहरा लरलर हल्लिन थाल्यो । माथि रहेकाहरु कराउन-चिच्याउन थाले । हेर्दाहेर्दै आँखैअघि धरहरा चल्न लाग्यो । अब कतातिर ढल्छ भनेर हामी भाग्ने चेष्टा गर्न थाल्यौँ । दक्षिण-पश्चिमतिर ढल्लाजस्तो देखिएकाले म भोटेबहाल तिरकै गल्लितिर भाग्न खोजेँ, तर टेकेको जमिन नै बेस्सरी हल्लिएकाले भाग्न सक्ने गुञ्जायसै भएन । हामी जहाँको त्यहीँ अडियौं ।

    हेर्दाहेर्दै धरहरा त हामीमाथि नै खस्लाजस्तो भयो । ठूलो कोलाहलको वातावरण थियो । मानिसहरु भागदौड गरिरहेका थिए । धरहरा मच्चिँदा मच्चिँदै पटट …आवाजसहित बीचमा दुई ठाउँ टुक्रियो । अनि माथिका दुई टुक्रा मेरो सामुन्नेमै जमिनमा ड्याम्म पछारियो । मेरो त होसहवास नै उड्यो एकछिन ।

    त्यो पछारिएसँगै आएको बेगको हावाले म पनि जमिनमा पछारिएँ । धरहराको ढिक्को मभन्दा २ मीटर पर मात्रै बज्रिएको थियो । म भाग्यले बाँचे । इट्टाको धुलो उडेर आँखा हेर्न गाह्रो भयो । कोटभित्र मुख लुकाएर सास फेरिरहेको थिएँ । तर पनि थुप्रै धुलो मुखभित्र पसिसकेको थियो (त्यसले गर्दा छातिको संक्रमण भएर मैले दुई हप्ता औषधि खानुपर्यो ) ।

    एकछिनपछि मेरो नजिकमा एउटा भ्यान आएर रोकियो । म बल्लतल्ल लम्केर भ्यानलाई समातेँ । भ्यान पनि हल्लिदै थियो । त्यसैले मलाई उभिनै गाह्रो भयो ।

    एकछिनमा धुलो घटेर अलि आँखा हेर्न सकिने भयो । अनि, यसो अगाडि हेर्दा त धरहराको ठुटो मात्र बाँकी । त्यसमा कुनै फलामे डण्डी थिएन । केवल माटोले ईंटालाई जोडेर बनाएको धरहरासँग मनमनै रिस पनि उठ्यो । त्यतिबेलाका शासकहरु यति कमजोर संरचना किन बनाए होला ? भन्ने मनमा लाग्यो । तर, फेरि सोचेँ त्यसबेलाको प्रविधि नै त्यस्तै थियो त के गरुन् ।

    यता भुईंमा खसेको धरहरामा थुप्रै मानिसहरु लडेका र किचिएका थिए । उनीहरुमध्ये कति मरिसकेका त कति जिवितै थिए । म एउटा स्वास्थ्यकर्मी भएका कारण गएर उद्दारमा जुटिहालौं भन्ने पनि सोच आयो । तर, आफ्नै अवस्था सामान्य नभएकाले रोकिएँ । अघिको कोलाहल एकछिनमा सन्नाटामा परिणत भएको थियो । पछारिने र च्यापिने सबैको मृत्यु भएको जस्तो लाग्यो ।

    (पछि मिडियामा धरहराबाट खसेर बाँचेकाहरुको अन्तरवार्ता आएपछि आश्चर्यमा परेँ)

    एकछिनपछि मेरो मोबाइलको घन्टी बज्यो । साथी चिन्तामणिजीले त मलाई माया नै मार्नुभएको रहेछ । मलाई समातिरहेको बेला धरहरा खस्ने छनक पाएपछि उहाँ कतिबेला भागेर अर्कोपट्टि पुगन भ्याउनुभएछ । मैले थाहै पाइनँ । पछि हामी भएतिरै धरहरा खसेको देखेपछि पक्कै म पनि किचिएँ होला भन्ने उहाँलाई परेछ ।

    मैले ‘हेल्लो’ भन्नेवित्तिकै उताबाट आवाज आयो, ‘ए मरेको त रहेनछ ।’ त्यसपछि उहाँले ‘आउनुस्, टुँडिखेलतिर जाउँ’ भनेर बोलाउनुभयो । तर, मैले ‘घरमा मेडमहरुको के अवस्था छ, घरै जाउँ’ भनेँ । हामी डराई–डराई भोटेबहालको गल्लि हुँदै गयौं । बीचबीचमा पराकम्प आएर घरहरु सबै हल्लिन्थे । ज्यान बचाउनै गाह्रो हुन जस्तो अवस्था थियो । घर पुग्नै लाग्दा पछाडिबाट ‘हामी बाहिर छौ’ भन्दै श्रीमतीले बोलाइन् । अनि उनीहरु भएतिर गयौं ।

    त्यहाँबाट हामी एक–अर्काको हात समातेर भोटेबहालको पिपलबोटनेरको कम्पाउण्ड पूर्वपट्टि रहेको खाली ठाउँमा बस्यौं । पराकम्पहरु आइरहेकै थिए । त्यतिकैमा अगाडिको घरबाट एकजना २०/२१ वर्षको भाईले काखमा कुकुर च्यापेर त्यहाँ आउनुभयो । घरको झ्यालबाट हजुरआमा ‘ए बाबु, मलाई पनि बाहिर लैजाउन’ भन्दै रुँदै चिच्याउँदै हुनुहुन्थ्यो । त्यो भाइले ‘कुकुर बोकेको छु, तपाईंलाई कसरी ल्याउनु’ भन्दै जवाफ दियो ।

    उसको पारा देखेर मलाई झनक्क रिस उठ्यो । मैले उसलाई सम्झाएँ । ‘तिमी सानो छँदा हजुरआमाले तिमी मर्छौ कि भनेर कति काखमा च्याप्नु भयो होला । आज हजुरआमाले ज्यान बचाउन गुहार माग्दा तिमी कुकुर लिएर आउने ?’ मैले यसो भनेपछि बल्ल उ कुकुर त्यहाँ छोडेर हजुरआमालाई निकाल्न गयो ।

    त्यसै बेला दुइजना स्वीस नागरिक दम्पत्ति एउटा बच्चासमेत लिएर आए । बिचराहरु ताहाचल जानुपर्ने हतारमा त्यहाँ आइपुगेछन् । उनीहरुले बसन्तपुर दरवार स्क्वायरमा सबै ध्वस्त भएको बताए । हामी बसेको नजिकै पनि कम्पाउण्ड वालले च्यापेर ३ जनाको ज्यान गएको रहेछ । म पनि भाग्यले न बाँचेको थिएँ । नत्र थोरै मात्रै अगाडि भएको भए च्यापिन सक्थेँ । त्यो सम्झँदा अहिले नि मुटु काँप्छ ।

    समय बित्दै गयो, पहिले त बाँच्न पाएकोमा संसारै जितेजस्तो लाग्यो । तर मनमा धेरै कुरा खेल्न लागे । अब राती कहाँ जाने ? कोठामा जाने त हिम्मतै छैन । कुनै साथीको मा जाउँ भने सबैको उस्तै बेहाल छ । होटलमा जान झन् डर लाग्छ । बडो असमञ्जसमा परियो । बिस्तारै सबै जनालाई भोक लाग्न थाल्यो । केटाकेटीहरु पानी र खानेकुरा माग्दै थिए । त्यति नै बेला केही मारवाडी व्यापारीहरुले पानीको कार्टून, बिस्कुट, चाउचाउ बाँड्न लागे । अलिक पाको उमेरका मानिसहरुलाई भाग पुगेन ।

    रात पर्न लाग्यो । अब रात कसरी काट्ने । अन्ततः सबैजना कलंकीमा बस्ने एकजना साथीकोमा जानेर त्यहाँबाट उठ्यौं ।

    भोलिपल्ट बिहानै फोन आयो । चन्द्र श्रेष्ठजी (नेपाल स्वास्थ्य प्राबिधिक संघको महासचिब) घरभित्र च्यापिएर दिवंगत हुनुभएको सुनेँ । लास हेर्न जाने भनेर गाडी चढेर चावहिलस्थित मेडिकेयर अस्पतालमा गएँ । मित्र चन्द्रजी र मेडमको पार्थिब शरीरमा फूल चढाएर अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा मन झसंग भयो । म यदि धरहराले किचिएको भए सायद… ।

    भूकम्पले ८,५०० भन्दा बढी नेपालीहरुको ज्यान गयो, त्यत्तिकै संख्यामा घाइते र अपाङ्ग भए । लाखौं बेघरबार भए । अझै पनि कति त खुला आकासमुनि वा अर्काको आश्रयमा बस्नु परेको छ । आजको दिनमा मित्र चन्द्रजी लगायत भूकम्पमा ज्यान गुमाउनु हुने सम्पूर्णमा श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

    यसबीचमा लाखौं घरहरु पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले बनाइसकेको छ । रानीपोखरी, दरबार हाईस्कूल लगायत थुप्रै संरचनाहरु बनेका छन् भने कति बन्ने क्रममा छन् ।

    ढलेको धरहरा नवनिर्माण भई हिजो मात्र सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्घाटनसमेत भएको छ । यो अत्याधुनिक प्रबिधिबाट बनेको छ । यसले नेपालको गौरबलाई समेत बढाउने छ । नेपालीहरु जस्तोसुकै कठिनाइको सामना गर्न सक्षम छन् भन्ने उदाहरण पनि हो यो । हुनत फेरी अर्को कोरोनाको महामारी आएको छ । यो विपत्तिबाट बाँच्न पनि हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ का मापदण्ड हरुको पूर्णरुपमा पालना गर्ने र सरकारले तोकेबमोजिमको लक्षित समुहले खोप लगाउनु हो ।

  • महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ ।

    राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको भूकम्पले करिव ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

    भूकम्पले गोखरा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो । भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने करिव १० जना सार्वजनिक बिद्यालयको संरचनामा क्षति पुगेको थियो ।

    भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो । पुनर्निर्माणपछि हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका थिए ।

    भूकम्प गएको ६ वर्षको अवधिमा निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्रधीकरण स्थापना गरी पुनर्निर्माणको काम सुरु गरेको थियो ।

  • भूकम्पपछिका ६ वर्षमा साढे ७ हजार विद्यालय पुनःनिर्माण

    भूकम्पपछिका ६ वर्षमा साढे ७ हजार विद्यालय पुनःनिर्माण

    रासस । सरकारले यहि आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

    शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिने जानकारी दिए ।

    आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाटै गर्न थालेको हो । विसं २०७२ बैशाख १२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको उनले जानकारी दिए । जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनःनिर्माण हुन नसकेको हो ।

    अहिलेसम्म सात हजार ५५३ विद्यालयका ४८ हजार ७११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार ६५३ कोठा अन्तिम चरणमा रहेका छन् । यस्तै पाँच हजार ३६ शौचालयमध्ये दुई हजार ७०७ सम्पन्न र दुई हजार ३२९ निर्माणाधीन रहेका छन् । यस्तै एक हजार ७०१ खानेपानीमध्ये २१६ सम्पन्न र एक हजार ४८५ निर्माणाधीन छन् । क्षति भएकामध्ये ३२७ वटा विद्यालय अर्को विद्यालयमा गाभिएको र १५३ विद्यालय सञ्चालनमा छैनन् ।

    एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको भन्दै अबदेखि भूकम्पले क्षतिग्रस्त भएका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनःनिर्माण कार्य थालिने बताए ।

    विद्यालय भवन पुनःनिर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ । चालू आवका लागि १८ अर्ब ६० करोड ३४ लाख विनियोजन गरिएको छ । एकाइका आयोजना उपनिर्देशक डा युवराज पौडेलले बजेट अभावले सबै विद्यालयको पुननिर्माण गर्न नसकिएको बताए ।

  • भारतमा ५.८ म्याग्निच्यूडको भूकम्प, पूर्वी नेपालमाकडा महसुश

    भारतमा ५.८ म्याग्निच्यूडको भूकम्प, पूर्वी नेपालमाकडा महसुश

    काठमाडौं । सोमबार बेलुका भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    भारतमा गएको भूकम्पको धक्का पूर्बी नेपालको पहाडी तथा तराईका जिल्लामा कडा रुपमा महसुस भएको थियो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो।

     

    यो पनि पढ्नुस् :

    पूर्वी नेपालमा भूकम्पको धक्का

  • पूर्वी नेपालमा भूकम्पको धक्का

    पूर्वी नेपालमा भूकम्पको धक्का

    काठमाडौं : सोमबार पूर्वको पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

    भूकम्पको केन्द्रविन्दु र कति रेक्टर हो भन्ने भूकम्प मापन केन्द्रले अद्यावधिक गरिसकेको छैन ।

    भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए ।

    २०७२ बैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो।

  • भूकम्पपछि पुनर्निर्मित घरको संरचना आफूखुशी विस्तार गरिएकोमा विज्ञहरुको चिन्ता

    भूकम्पपछि पुनर्निर्मित घरको संरचना आफूखुशी विस्तार गरिएकोमा विज्ञहरुको चिन्ता

    काठमाडाैं । २०७२ सालको गोरखा भूकम्पपछि सञ्चालित पुनर्निर्माणको महाअभियान अन्तर्गत पुनर्निर्मित निजी आवासहरुमा नयाँ संरचना थप गर्न थालिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    पुनर्निर्माण हुने सबै घरहरु भविश्यका सम्भावित भूकम्प थेग्न सक्ने गरी निर्माण हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित भएर प्राविधिक मापदण्डहरुको निर्धारण गरी निर्माण गरिएको थियो । घरधनीहरुको आवश्यकता र समय अनुसार परिवार संख्या बढ्दै जाँदा पुनर्निर्मित घरहरुमा फेरि कोठा, तला वा फुर्काहरु जोडिन थालिनुले मापदण्डको खिल्ली उडाएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

    २०१८ को अन्त्यमा गरिएको एक अध्ययनले गोरखा भूकम्पभन्दा अघि अधिकांशको घर २ तला वा त्यो बढी भएको र कम्पपछि १ तलामा सीमित भएको पाइएको थियो । अध्ययनलाई आधार मान्दा पुनर्निर्माणको प्रकृया सम्पन्न भइसकेपछि घरधनीहरुले आफुखुशी आवश्यकता अनुसार कोठा थप्ने, तला थप्ने वा केही नयाँ संरचना घरसँगै जोडेर निर्माण गर्दै जानेछन् । यो प्रयासलाई रोक्न वा बन्देज लगाउन सम्भव नहुनेहुँदा थप गरिने नयाँ संरचनाको भूकम्पीय सुरक्षाको ग्यारेन्टी गराउनु नै अहिलेको आवश्यकता रहेको विज्ञहरुले औँल्याएका छन् ।

    यो विषय नितान्त प्राविधिक विषय मात्रै नभएर सामाजिक सांस्कृतिक विषय रहेको र आगामी दिनमा थपिने नयाँ संरचना पनि भूकम्पीय सुरक्षालाई ध्यान दिएर निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

    ढुंगा माटोबाट बनेका घरहरुमा कोठा वा तला थप्न चाहने लाभग्राहीहरुलाई मध्यनजर गर्दै तयार गरिएको कार्यविधि माथि आयोजित छलफलमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधीकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने र त्यसमा केन्द्रीय निकायहरुले मेरुदण्डको रुपमा काम गर्नुपर्ने बताए । पुनर्निर्मित घरको क्रमश विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै उनले थप गरिने संरचना पनि भूकम्प प्रतिरोधी हुने कुराको ग्यारेन्टी गराउनुपर्ने बताए ।

    कार्यविधिबारे विज्ञहरु अनिल पोख्रेल, जितेन्द्र बोहरा, विवेक रावल, डा. हरिराम पराजुली, श्याम किशोर सिंह, डा. रमेश गुरागाईं लगायतले टिप्पणी गरेका थिए ।

    उनीहरुले पुनर्निर्माणको चरणमा लागू गरिएका मापदण्ड, विधि र पद्दतिलाई निरन्तरता दिइएमा मात्रै पुनर्निर्माणको दौरानमा गरिएका प्रयासहरु दिगो हुने बताए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधीकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रुप दिइएपछि प्राधीकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र त्यसमा स्थानीय सरकार मुख्य कार्यान्वयनकर्ता हुने बताए।

  • जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    टोक्यो । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

    शुरूमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६।९ म्याग्निच्युडको पुष्टि भएको बताएका छन् ।

    अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

    स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

    जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ ।

    जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए ।

    दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनासलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतार हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी शहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए ।

    जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् ।

  • काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गयो

    काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गयो

    काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

    काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

  • पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

    पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

    काठमडौं । सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्नगरी सोमबार उद्घान हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।

    पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी गरिएको हो ।

    उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले बताए ।

    सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।

    प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेको एकाइले जनाएको छ ।

    पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए ।

    सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी/शर्मा एण्ड न्यू टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो ।

    उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत ८७ करोड रुपैयाँ रहेको पनि आयोजना निर्देशक सिंहले जानकारी दिए । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

    सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ ।

    सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको काम समेत शुरु भइसकेको छ । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो ।

    उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

    सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो ।

    पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । पुनःनिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रही आएको एकाइका उपआयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए ।

    यसमा पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग भएकाले संरक्षण हुँदै आएको थियो । सिंहदरबारको इतिहास सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३०) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।

    यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए । सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला पच्चीस लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।

    विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।

    विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् ।

    प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ । प्रबलीकरणमा प्रविधि उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानैस्वरुप नबिग्रने गरी प्रबलीकरण गरिएको छ ।

    प्रबलीकरण गर्दा आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको आयोजना उपप्रमुख विश्वकर्माले बताए ।

    प्रबलीकरण प्रविधिमा दुवै भागमा कङ्क्रिट ज्याकेटिङ, केमिकल बोण्डिङ एजेण्ट (एपोक्सी) प्रयोग गरी एङ्करिङ तथा स्ट्रक्चरल स्टील प्रयोग गरी बलियो बनाइएको छ ।

    उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।

    सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ

     

  • ताजिकिस्तानमा गएको भूकम्पले उत्तर भारत हल्लियो

    ताजिकिस्तानमा गएको भूकम्पले उत्तर भारत हल्लियो

    काठमाडौं । शुक्रबार राति ताजिकिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । ताजिकिस्तानको मुर्घाबभन्दा ३५ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु बनाएर गएको भूकम्पको उत्तर भारतसँगै दिल्लीमा पनि धक्का महशुस गरिएको भारतीस सञ्चारमाध्यमहरूले बताएका छन् ।

    युएस जियोलोजिकल सर्भेका अनुसार पृथ्वीको सतहभन्दा ९२ किलोमिटर तल भूकम्प उत्पन्न भएकाले लामो दूरिसम्म पनि यसको धक्का पुगेको हो ।

    सो भूकम्पको धक्का जम्मु–काश्मिर, पञ्जाब र दिल्लीमा पनि महसुस गरिएको थियो ।

  • ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

    ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५ .४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

    ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए ।

    ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए। घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए ।

  • क्रोएसियामा भूकम्प, कम्तिमा सातको मृत्यु

    क्रोएसियामा भूकम्प, कम्तिमा सातको मृत्यु

    एजेन्सी । युरोपेली मुलुक क्रोएसियाको मध्य क्षेत्रमा ६.४ रेक्टरस्केलको भूकम्पपछि भौतिक संरचनामा भत्किएर कम्तिमा ७ जनाको मृत्यु भएको छ, थुप्रै घाइेत भएका छन् ।

    क्रोएसियाली प्रधानमन्त्रीका अनुसार पेटरिन्जा क्षेत्रमा १२ वर्षकी बालिकाको मृत्यु भएको छ । ग्लिना क्षेत्रमा ५ जनाको शव भेटिएको छ भने अर्का एकजना जाजिना चर्चमा मृत भेटिएको स्थानीय सन्चारमाध्यमलाई उदृत गरी बीबीसीले जनाएको छ ।

    पेटरिन्जाका मेयरका अनुसार शहरको आधाभन्दा बढी क्षेत्र तहसनहस भएको छ । केहि व्यक्तिहरुलाई भग्नावशेषबाट डोरीले तानेर निकाल्नुपरेको थियो ।

    यो भूकम्पको धक्का क्रोएसियाको राजधानी जग्रेव, छिमेकी देशहरु बोस्निया, सर्वियादेखि इटलीसम्म पनि महशुस गरिएको थियो ।