Tag: बाढी

  • १२ जिल्लामा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    १२ जिल्लामा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

    देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    काठमाडौं । नेपालमा धेरै उत्पादन हुने कृषिजन्य बालीमध्ये धान एक हो । तर अहिले त्यही धानबाली वर्षाको कारणले सखाप भएको छ । धान भित्र्याउने समयमा नै देशभर परेको पानीले धान बगाएपछि कृषकहरू पीडामा परेका छन् ।

    कृषि मन्त्रालयका अनुसार यस वर्ष १३ लाख ४२ हजार ८ सय १९ हेक्टर जमिनमा धान रोपिएको थियो । हालसम्म देशैभर गरेर करिब २ लाख हेक्टरमा फलेको धान पानीले डुबाएको छ । धान उत्पादनमा भएका क्षतिले देशको आर्थिक वृद्धिदरमा समेत असार गर्ने अर्थविद्हरू बताउँछन् ।

    तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका स्थानको धान बाढील बगाएको हो । कृषकले दसैंको बेलमा काटेर सुकाएको र कुन्यु लगाएको धानलाई बाढीले सोत्तर बनाएको छ । सात प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाका कारण धान उत्पादनमा करिब ८ प्रतिशत क्षति भएको छ । केही प्रदेशले भने थप तथ्यांक संकलन गरिरहेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले सबै प्रदेशका कृषि मन्त्रालयसँग क्षतिको विवारण मागिएको बताए ।

    ‘त्यो विवरण आएपछि कृषि क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने छ । त्यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हामी छलफलमा छौं,’ उनले भने । कृषकको समस्यालाई सरकारले बुझेको मन्त्री यादवले बताए ।

    अर्थविद् रामेश्वर खनाल वर्षाको कारणले धानमा भएको क्षतिले देशको कुल ग्रास्थस्त उत्पादनमा नै असर गर्ने बताउँछन् । अघिल्लो वर्ष ५५ लाख मेट्रिक्कटन धान उत्पादन भएकोमा यस वर्ष उल्लेख्य कमी आउनसक्ने उनको भनाइ छ ।

    खनालले भने, ‘धान उत्पादन घट्दा हाम्रो जीडीपीमा ०.५ प्रतिशतले कमी ल्याउँछ । अहिले पहाडमा भन्दा पनि तराइमा धान भित्र्याउने बेला हो । त्यहाँ धेरै क्षति भएको छ ।’

    अब सरकारले कृषकलाई अनुदान दिनुपर्ने खनालको भनाइ छ । धान उत्पादन घटेको कारण खाद्यान्नको अभाव हुने अवस्था आयो भने सरकारले खाद्य संस्थान मार्फत अभाव भएका जिल्लामा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।

    ‘धान उत्पादन घट्दा विदेशबाट चामाल आयात हुने भएकाले बैदेशिक व्यापार घाटा पनि केही वृद्धि हुन्छ,’ उनले भने ।

    किन गर्दैनन् कृषकले कृषि बीमा ?

    सरकारले कृषकको लागि भनेर कृषि बीमा कार्यक्रम पनि अघि सारेको छ । तर यसमा आकर्षण देखिएको छैन । कृषकले अहिले कृषि बीमा गरेको भए वर्षाको कारण क्षति भएको धानको बीमा भुक्तानी पाउने थिए ।

    सरकारले सहुलियतसहित कार्यक्रम सञ्चालन गर्दा पनि कृषक त्यसमा आकर्षित छैनन् । बीमा कम्पनीहरूले पनि कृषि बीमाबाट धेरै मुनाफा नआउने भएकाले कम चासो दिएका छन् । बीमा समितिले बीमा कम्पनीहरूलाई जिल्ला तोकेर नै कृषि बीमा गर्न भनेको हुन्छ । तर कृषि बीमा गर्न न कम्पनीले चासो दिन्छ, न त कृषकले नै ।

    देशैभर कृषकले धान मात्रै होइन, अन्य कृषि बालीको बीमामा चासो दिएका छैनन् । अहिले कृषि बीमाका लागि सरकारले ५० प्रतिशत अनुदान दिएको छ । प्रदेश सरकारले समेत केन्द्र सरकारले दिएको कृषि बीमा अनुदामा केही थप्ने गरेको छ ।

    बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा गरेका कृषकले बीमा भुक्तान पाउने बताए ।

    सिलवालले भने, ‘सरकारले कृषि बीमामा ५० प्रतिशत अनुदान दिने गरेको छ । तर, पनि कृषकलाई कृषि बीमाको बारेमा राम्रोसँग ज्ञान छैन् । बीमाको जिम्मा पाएका बीमा कम्पनीहरूले पनि कृषि बीमामा त्यति धेरै ध्यान दिएका छैनन् ।’

  • बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, प्रदेश १ मा सबैभन्दा बढी मानवीय क्षति

    बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, प्रदेश १ मा सबैभन्दा बढी मानवीय क्षति

    काठमाडाै‌ं। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।

    साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

    बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्‍का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।

    कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका-५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका-४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका-४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका-६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका-३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार-मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका-५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

  • कर्णालीको बाढी गाउँ पस्यो, स्थानीयलाई विद्यालयमा राखिँदै

    कर्णालीको बाढी गाउँ पस्यो, स्थानीयलाई विद्यालयमा राखिँदै

    कैलाली । कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । टीकापुर नगरपालिका -५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बाढीबाट सयौँ परिवार विस्थापित हुन थालेको बताएका छन् ।

    ‘भरखरै नदी गाउँ पसेको हो’ उनले भने ‘अहिले स्थानीय सुरक्षित स्थल सम्म जान थालेका छन् ।’ नदीमा बाढी आएकाे कारण टीकापुरको दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती डुबानमा परेको छ । उनीहरूलाई राष्ट्रिय मावि बसन्तामा राख्ने काम भइरहेको छ ।

    अहिले पनि नदीमा बहाव बढिरहेको प्रहरीले जनाएको छ । अहिले पानीको सतह १२.६० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह मानिन्छ ।

    कर्णालीको पानी गाउँ पस्दा टीकापुरमा मात्रै होइन जानकी गाउँपालिका पनि प्रभावित भएको छ । जानकी गाउँपालिका-९ पूर्वी खैरी फाँटमा ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

  • सेती नदीमा पनि बाढी, मोटरेबल पुल जोखिममा (फोटो/भिडियो)

    सेती नदीमा पनि बाढी, मोटरेबल पुल जोखिममा (फोटो/भिडियो)

    कैलाली । लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी आएको छ। सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’भन्दा माथि हो ।

    डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । सेती नदीमा आएको बाढीले डोटीमा रहेको मोटरेबल पुल छुन थालेको छ ।

    नदी आसपासका बस्तीमा खतरा बढेको छ । नदीमा आएको बाढीले नदी किनारको बस्तीमा क्षति गर्न थालेको स्थानीय टेकराज उपाध्यायले जानकारी दिए ।

    उनले पुलको एक छेउ कटानमा परेको हुँदा पुल नै जोखिममा परेको बताए । दिपायल सिलगढी नगरपालिका २ स्थित पुल बजार पनि डुबानमा रहेको छ । भागेगडामा रहेको कृषि ज्ञान केन्द्र पनि जोखिममा रहेको उनले बताए ।

  • ७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु

    ७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाढी, पहिरो र डुवानमा परेकालाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् । उनले सोमबार विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा भएका घटनाबारे टेलिफोनमार्फत जानकारी लिने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

    गृहमन्त्री खाणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर रातभर लगातार परेको वर्षातका कारण आएको पहिरो र बाढीको असरबारले जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रजिअ सापकोटाले ७० वर्षका गौरी थापा र पाँच वर्षका हिमाल रोकाको मृत्यु भएको जानकारी गृहमन्त्रीलाई गराएका छन् । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पु¥याएको उनले बताए ।

    त्यस्तै मन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिएका छन् । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३ सय ८५ घर टहरा डुवानमा परेको, २ सय ३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पु¥याएको जानकारी मन्त्रीलाई गराएका छन् । मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाणलाई प्रजिअ पराजुलीले गराएका छन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई पनि टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे चासो राख्दै थप जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकिदारको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएका छन् । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो । अहिले सहमतिमा सामान्य भइसकेको छ ।’

    मन्त्री खाणले निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिएका छन् । ति प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थाबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सबै प्रजिअलाई गृहमन्त्रीले प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत विरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको पनि गृहमन्त्री खाणलाई जानकारी गराए ।

  • भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह

    भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह

    काठमाडौं । लगातार भारी वर्षाका कारण नवलपुरको दुमकौली, ढेडगाँउ र आसपासका क्षेत्रमा शर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

    पछिल्लो ६ घण्टा लगातार भारी वर्षा भइरहेकाले ती स्थानमा बाढीको जोखिम बढेको विभागले बताएको छ ।

    ‘उक्त क्षेत्र भइ बग्ने साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय स्थान डुबानमा परिरहने भएकाले सर्तकता अपनाउन आग्रह’ गरेको हो ।

    मनसुन सक्रिय हुँदा एक सातादेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।

  • ललितपुरमा आएको बाढीमा परेर एक महिलाको मृत्यु, बालिका बेपत्ता

    ललितपुरमा आएको बाढीमा परेर एक महिलाको मृत्यु, बालिका बेपत्ता

    काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।

    विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४:३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

    स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न नसकेको बताए ।

    महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको सुचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी दिए ।

    विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

    रासस

  • तस्बिरमा हेलम्बु भीमथाङको पहिरो

    तस्बिरमा हेलम्बु भीमथाङको पहिरो

    काठमाडौं । शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा थप क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका- १ भीमाथाङ लगायतका विभिन्न ठाउँमा पहिरो खसेर नदी थुनिएकाले फेरि बाढी आएको गाउँपालिकाले जनाएको छ ।

    बाढीलेचनौटेको रातो पुल बगाएको छ । वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।

    त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।

    खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए । गत असार १ गते हेलम्बु १ भ्रेमाथाङमा खसेको पहिरोले नदी थुनिएर ठूलो क्षति भएको थियो ।

     

    यसपटक पनि भीमाथाङमा पहिरो गएर नदी थुनिएर बाढी आएको अनुगमनमा पुगेका हेलम्बु गाउँपालिका का अध्यक्ष शेपाले जानकारी दिए । सडक सञ्जाल टुटेकाले हेलिकप्टरबाट बाढी गएको ठाउँको अनुगमन गर्न पुगेका थिए ।

    उनका अनुसार विभिन्न स्थानमा पहिरो खसिरहेको र सोही कारणले नदी थुनिएकाले बाढी आएको हो । शनिबार रातिदेखि मेलम्चीका खोलामा बाढी आएको छ ।

    हेलम्बु गाउँपालिकाको र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
    गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए ।

    तस्बिर  साैजन्य :  हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा ग्याल्जेन  शेर्पा

     

  • मेलम्चीको बाढीले चनौटेको रातो पुल र रेडियो मेलम्चीको भवन बगायो

    मेलम्चीको बाढीले चनौटेको रातो पुल र रेडियो मेलम्चीको भवन बगायो

    सिन्धुपाल्चोक । मेलम्ची नदिमा शनिबार राती आएको बाढीका कारण थप क्षति पुगेको छ । असार १ गते आएको भीषण बाढीले क्षति पुगेका र जोखिममा रहेका स्थानहरुमा गएरातिको बाढीले थप क्षति पुर्‍याएको छ ।

    बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान पाैने आठ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

    त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारी ले जानकारी दिए।

    असार १ गतेको बाढीले क्षति पुर्‍याएको रेडियो मेलम्चीको भवन गएरातिको बाढीले बगाएको छ । रेडियोका अध्यक्ष डम्बर रसिक भारतीका अनुसार राती पौने १ बजेतिर भवन ढलेर बगाएको जानकारी दिए ।

    असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

    पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको छ ।

    यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । खोलाबाट असार १ जस्तै आवाज आएको उनले बताएका थिए ।

    बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

    रासस

  • कौवा खोलाको बाढीले पोल ढालेपछि मैतहुवा र बिचफाँटामा विद्युत अवरुद्ध

    कौवा खोलाको बाढीले पोल ढालेपछि मैतहुवा र बिचफाँटामा विद्युत अवरुद्ध

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-४ को मैतहुवा र बिचफाँटामा बिद्युत् अवरुद्ध भएको छ । मैतहुवा रहेको विजुलीको पोल कौवा खोलामा आएको बाढीले ढालेपछि बिद्युत् सेवा अवरुद्ध भएको स्थानीय सीताराम चौधरीले बताए ।

    केहि दिन पहिले पनि यहाँ लगातार तीन दिन बिद्युत् अवरुद्ध भएको थियो । नजिकै रहेको रुख ढल्न सक्ने भन्दै मर्मतको लागि लगातार तीन दिन बिद्युत् आपूर्ति बन्द गरिएको थियो । बिद्युत् मर्मत गरे लगत्तै बाढीले पोल ढालेपछि गाउँमा अन्धकार भएको हो ।

    यहाँ पोल ढलेपछि मैतहुवा र बिचफाटाका करिब १५० घरमा बिद्युत् अवरुद्ध भएको उनले जानकारी दिएका छन् । खोलामा आएको बाढीले सडकमा समेत क्षति पु¥याएको छ ।

  • बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी

    बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी

    कैलाली । कैलाली घोडाघोडी नगरपालिका १० घुम्निभाकलकी कौशिला धमलालाई आकाशमा कालो बादल मडारिएपछि राति निद्रा पर्दैन । घरमा सानो नाति र उनी मात्र छन् ।

    १३ वर्षअघि (२०६५) असोज ४ र ५ गते आएको बाढीले पुर्‍याएको क्षति उनले अझै भुल्न सकेकी छैनन् । आकाशमा कालो बादल देखिदा र पानी पर्न थाल्दा त्यही नियति दोहोरिने हो कि भन्ने त्रास हुन्छ उनलाई ।

    ‘२०६५ सालमा आएको बाढीले सबै सरसामान बगायो । धन्न जेनतेन ज्यान जोगायौँ’ उनले भनिन्, ‘आकाशमा कालो बादल देख्दा फेरि त्यस्तै बाढी आउँछ जस्तो लाग्छ ।’

    पहाडी क्षेत्रमा बढी पानी परेपछि उनको घरनजिकै भएर बग्ने कन्द्रा नदीमा पानीको सतह बढ्छ अनि नदिनै गाउँ पस्छ भन्ने त्रास उनीहरूमा छ ।

    ‘हामी धेरै डर मान्छौँ । कहिले काहीँ त रातभरि सुत्दैनौँ । आकाशमा बादल आयो भने मानमा त्रास मात्रै आउँछ’ उनले सुनाइन् ।

    पश्चिममा मनसुन सक्रिय भएपछि धमलालाई जस्तै त्रास र डर कमला सेठीलाई पनि छ । उनी पनि पानी लगातार झरी पर्न थालेपछि रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताइन् ।

    ‘घर नै लग्छ कि झैं लाग्न । पहिले देखिनै हामी त्रासमा छौँ’ उनले भनिन,‘ राति १ बजे २ बजे सबैभन्दा धेरै डर हुन्छ। पानी परेको बेला राति सुत्दैनौँ ।’

    त्यो बेलाको बाढीले घोडाघोडीमा धेरै क्षति गर्‍यो । गत वर्ष पनि मध्यरातमा गाउँमा नदी पस्यो । कयौँ चौपाया मरे । लाखौँको धनमालको क्षति भयो । महिना दिनसम्म स्थानीय विस्थापित भए । त्यही पीडाले यो बस्ती त्रासमा छ । घुम्नीभाकलमा करिब एक सय घर परिवार छन् ।

    सरकारले बाढी आउँदा पूर्वसूचनाको लागि भन्दै कन्द्रा नदीमा गेज मिटर राखेको छ । त्यहाँ एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । तर, यो बस्तीनजिकै भएकोले बाढी आइहाले पनि जोखिम टार्न निकै समस्या हुन्छ ।

    यो गेजमिटरले भजनी र लालभोजी क्षेत्र भने सुरक्षित हुने अपेक्षा गरिएको छ । गेज मिटर राखिएको स्थानबाट भजनीसम्म बाढी पुग्न करिब ५ घण्टा लाग्ने गरेको छ ।

    ‘यो मिटरमा ५ मिटरभन्दा बढी बाढी आएपछि खतरा हुन्छ’ गेजरिडर राम लौटन चौधरीले भने ‘खतराको चिन्ह देखिएपछि मैले जनप्रतिनिधिहरूलाई खबर गर्छु ।’

    यो बर्ष ४ मिटर १० सेन्टिमिटरभन्दा बाढी नआएको उनले बताए ।

     
  • घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले मेलम्ची बजार डुबानमा परेको थियो । स्थानीयको घरमा माटोको लेदो पसेर बस्नसमेत असहज थियो ।

    बाढी आएको महिना दिनपछि स्थानीयले डोजर र मेसिनको सहायताले घरभित्र थुप्रिएको माटो, बालुवा निकाल्न थालेका छन् ।

    मेलम्ची बजारका डेढ सयभन्दा बढी घरका वासिन्दाले सरोकार समिति नै बनाएर लेदोसहित पुरिएको घरलाई बस्नयोग्य बनाउन लागिपरेका छन् ।

    हेर्नुस् तस्बिरहरू :

           
        

     

    तस्बिर सौजन्य : मनोज खतिवडा

     

  • भीषण वर्षापछिको बाढीमा परेर युरोपमा १५३ जनाको मृत्यु, जर्मनी र बेल्जियममा सबैभन्दा बढी क्षति

    भीषण वर्षापछिको बाढीमा परेर युरोपमा १५३ जनाको मृत्यु, जर्मनी र बेल्जियममा सबैभन्दा बढी क्षति

    अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको संख्या बढी रहेको बताइएको छ ।

    जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

    नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।


  • ‘पहिले भूकम्पले सिध्यायो, अहिले बाढीले’

    ‘पहिले भूकम्पले सिध्यायो, अहिले बाढीले’

    सिन्धुपाल्चोक मेलम्ची-११ कि मनिषा दुलालको आँखामा दुई ठूला घटना भय बनेर नाचिरहन्छन् ।

    राति सुत्दा होस् वा कुनै कुरा सोचिरहँदा, पटक-पटक अत्तालिएर उनको निधार भिज्छ । शरीर काँपेजस्तो, निसास्सिएजस्तो, कुनै अजंगको पहाडले थिच्नै आएजस्तो हुन्छ । अनायास बग्ने आँसुले यतिबेला मनिषाको चित्कार सुनाइरहेका छन्, ‘भूकम्प आउँछ घर भत्काउँछ, बाढी आउँछ हामीलाई नै सोहोर्छ ।’

    हुन पनि यो ६ वर्षको बीचमा मनिषाको परिवारले के-के सहेन ? दुई ठूला प्रकोपले उनीहरूको बास उखेल्यो, अन्न उमार्ने खेत बगायो । बाढीले ननाघ्ने स्थानमा बसेका छन्, उनीहरू अहिले । एउटा घरको ४ वटा कोठा लिएर कस्टकर रात र दिन काटिरहेका छन्, मेलम्चीमा ।

    ‘खोला उही डरलाग्दो गरी बग्छ, फेरि सोहोरेर लैजाला जसरी,’ भययुक्त आवाजमा मनिषा भन्छिन् ।

    बाढीले अरु डुबाए पनि मनिषाको घर बाँकी थियो । तर, बगरमा ठिंग उभिएको । १२ गतेको बाढीले त्यो पनि रहेन । अहिले त्यसतर्फ आँखा डोहोर्‍याउन खोज्छिन्- ‘घर त खोलामा तैरिएर बसेको छ ।’

    ०००

    १२ वैशाख, २०७२ । त्यसदिन ९ महिनाकी छोरी घरमै छाडेर मनिषा बारीमा मकै गोड्न निस्किइन् । बिहानको काम नसकेपछि घर फर्किइन् र खाना बनाउन थालिन् । घरधन्दाकै क्रममा उनी किचनबाट बाहिर निस्केकी मात्र के थिइन्, एक्कासि घर हल्लियो । एक निमेशमै पल्टियो घर । छोरी तीन तला माथि सुताएकी थिइन् ।

    उनी बेहोसीमा चिच्याउन थालिन् ।

    लगत्तै देवर र श्रीमान् (कृष्ण दुलाल) आएर थिचिएकी छोरीलाई निकाल्न थाले । छोरी पुरिएकी थिइन् । निकाल्दा निधारबाट रगत बगेको थियो । धुलोले ढाकिएको थियो शरीर ।


    उनले मुटु निचोर्दै सोचिन्- अब छोरी फिर्ता आउँदिनन् ।

    ‘छोरीलाई अस्पताल लग्यौं, तर अस्पतालमा पनि लासहरूको लहर देखेँ । निधारमा पट्टी बाँधेर घरनिरकै चौकीमा ल्याएर उपचार गर्‍यौं । ठूलो चोट हुन पाएनछ,’ उनी सुनाउँछिन् ।

    धन्न ! भाग्यले बाँचिन् उनकी छोरी ।

    त्यस रात उनीहरूले नजिकको समता स्कुलमा काटे ।

    रातभरि मरिन्छ कि भन्ने पीरले उनको परिवारलाई सताइरह्यो । भोलिपल्टबाट बस्नका लागि उनीहरूले टहरा बनाए । घरले पुरिएर बाँकी रहेका सामानलाई बाहिर निकाले ।

    अघिल्लो वर्षसम्म पनि उनीहरू त्यही छाप्रोमा बस्थे । छाप्रोमा बस्दा अनेक दुःख क्रष्ट भयो । वर्षाको बेला पहिरोले घर थिच्ला भन्ने डर, भेल आएर घर भित्र पस्ला भन्ने डर ।
    डरै डरमा कतिञ्जेल बाँच्ने ?

    त्यसपछि ९० लाख लागतमा तीन तलाको घर बनाए मनिषा दप्पत्तिले । २०७६ असार २८ गते नयाँ घरमा सरे । नयाँ घरमा अर्की छोरीको पनि जन्म भयो । खुसी छाउँदै गरेको परिवारमा उनले महसुस गरिरहेकी थिइन्- अब पहिरो र भेलको सामना गर्नु पर्दैन ।

    ०००

    ०१ असार, २०७८ । जे नहोस् भन्ने कामना थियो, त्यही भयो । त्यसदिन साँझ ८ बजे उनीहरू खानपिनको तयारीमा थिए । त्यहीबेला गाउँमा मानिसहरू चिच्याएको आवाज आयो- बाढी आयो, बाढी आयो…!

    त्यो अत्तालिएको आवाजले उनीहरूलाई झकायो । भाग्ने तयारीमा लागे ।

    बाढी घरमुनिको खेतसम्म पसिसकेको थियो । अचानक घर पनि भूकम्प आएजसरी काप्न थाल्यो । खाना नै नखाइ उनीहरू घरबाट निस्किए । माथि छिमेकीको घरमा आश्रय लिन पुगे ।

    छोरीहरूलाई त्यहीँ सुताएर मनिषा र उनको श्रीमान् सुसाइरहेको बाढीको बहाब हेरेर बसे ।

    हेर्दाहेर्दै घरमुनि छिमेकीको १८ रोपनी खेत बगायो । र बगायो मनिषाको २ रोपनी खेत । खेत हुँदै बाढी घरमा उक्लन थाल्यो । ‘राभतरि आँखामा निद्रा परेन । बिहान साढे तीन बजे गएर हेर्दा घरमा खोला पस्नै थालिसकेछ,’ मनिषा मलिन आवाजमा सुनाउँछिन् ।

    घर, घर नरहने निश्चित थियो । उनीहरूले ३ वटा भैंसी निकाले । अनि सामानहरू पनि निकाले ।

    तर घर निरन्तरको बाढीले बगरमा परिणतमा गराइछाड्यो ।

    यसरी आँखैअघि घर, खेत, स्कुल र गाउँ नै सोहोरिएको देख्दा मनिषाका मन थामिन्नन् । पानीको बहाब अझै घटेको छैन । निरन्तर हुने वर्षाले तर्साइरहन्छ ।

    तैपनि मनिषा र उनका पति कृष्णले हार मानेका छैनन् । ‘ज्यान त जोगियोस् । बाँकी त पौरखैले सिर्जना गरिहाल्नेछौं नि,’ उनको दबिएको आवाजमा बल्ल दृढता भेटिन्छ ।

  • मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभरको मौसम प्रतिकुल बनेको छ । खासगरी मध्य र पूर्वी क्षेत्रमा चार दिनदेखि वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार देशको मध्य क्षेत्रहरु गण्डकी र बागमती प्रदेशमा आज पनि वर्षा निरन्तर रहनेछ ।

    मानसुनी न्यूनचापीय रेखा तराई क्षेत्रको नजिकै रहेको र मध्य तराईको छेउछाउ रहेकाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेश पूर्ण वदली रही केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मौसमविद् पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले वर्षा भइरहेको छैन । त्यहाँको तापक्रम बढिरहेको देखिएको छ ।

    महाशाखाले जारी गरेको मौसम बुलेटिनमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना औल्याइएको छ । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदली रहनेछ । मंगलबार गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ ।

  • सधैं दुखिरहने बुढीखोलाको बाढी !

    सधैं दुखिरहने बुढीखोलाको बाढी !

    इटहरी । शुक्रबार राति आएको बाढी इटहरीका प्रदेश सांसद सर्वध्वज साँवाको घरमा पनि पस्यो । इटहरीको वडा नम्बर-४ स्थित आफ्नो घरमा बाढी पसेपछि उनले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा दु:खेसो पोखे ।

    ‘त्यस्का बाजे बाढी पसेर घर त चुरलुप्पै भयो । आफै जनप्रतिनिधि कस्लाई गुहार गुहारररर भन्नु ?,’ उनले लेखेका छन् ।

    सुनसरी क्षेत्र नम्बर २ ‘क’का सांसद साँवाको यो पोस्टले इटहरी विपत्तिलाई प्रष्ट पार्छ ।

    विभिन्न खोलाहरूले घेरिएर बनेको शहर हो, इटहरी । पूर्वतर्फको सिमानामा इटहरीको सबैभन्दा ठूलो बुढी खोला छ । इटहरीको मुख्य बजार क्षेत्रमै दुई खोला बग्छन्, टेङ्गा र खेती खोला । इटहरीको मुख्यचोक नजिकैबाट पूर्वमा टेङ्गा खोला बग्छ । अनि, पश्चिममा खेती खोला । पानीपिया, खर्सला लगायतका अरू केही खोलाहरू इटहरी भएरै बग्छन् । र, बेलाबेला यी खोलाले विपद्सँगै लिएर आउँछन् ।

    ६ जनाको ज्यान लिने ७४ सालको त्यो बाढी

    २०७४ साउन २७ को मध्यरात इटहरीको पूर्वी सीमाको बुढी खोलामा विशाल बाढी आयो । अरुबेला बालबालिकाले पनि सजिलै पार गर्नसक्ने खोला बाढी आएपछि बढेर छेउका बस्तीकाे  छानामाथि पुग्यो । इटहरी-४ को गैरीगाँउका धेरै घरहरू डुबे । त्यसै बाडीमा परेर ६ जनाले ज्यानै गुमाउनु पर्‍यो । कोही रुखमा झुन्डिएर बाँचे । कोही जस्ताको छानो दुलो पालेर उक्लिएर बाँचे ।

    सानुमाया राई त इटहरीबाट ३ घण्टा बगेर हुत्याइएकी थिइन् । मध्यरातको बाह्र बजे बाढीले उनलाई बगाएर ८ किलोमिटर टाढा खोला किनारमा पुर्‍याएको थियो । उनलाई बिहान तीन बजे स्थानीय युवाहरूले बेहोस अवस्थामा उद्धार गरेका थिए ।

    अहिले त्यही गैरीगाँउमा बसेकी राई बर्खाको समयमा बाढीकै डरले राति घरमा सुत्दिनन् । ‘अहिले म आफन्तकोमा गएर सुत्छु, ज्यान त जोगाउनै पर्‍यो,’ उनी भन्छिन् ।

    त्यही बाढीमा दिदी-भिनाजु र उनीहरूका एक छोरा बाढीले लगेको पीडा अझैसम्म सानुमायाको मानसपटलमा बल्झिरहेको छ । दिदीको बाहेक अरू कसैको लाससम्म भेटिएन । त्यसको अझै कत्ति-कत्ति । पीडामाथि पीडा परेको सानुमाया सुनाउँछिन् । उनी भन्छिन्, ‘७४ सालको बाढी आएको धेरै पछिसम्म मलाई रातमा निन्द्रै परेन ।’

    अव्यवस्थित शहरीकण र अतिक्रमणले बढाएको बाढी विपद्

    इटहरीका पाकाहरूलाई केही दशक अगाडिसम्म इटहरीमा बाढीकै कारण मान्छेको उठीबास लाएको सम्झना नै छैन । इटहरीका पाकाहरू भन्छन्- ‘२०१० सालमा इटहरी चोकमा दुई दर्जन घरहरू जलेर नस्ट हुनु नै पुरानो इटहरीमा आइपरेको सबैभन्दा ठूलो विपद् थियो । पछिल्ला दिनहरूमा बाढी इटहरीको नयाँ विपद्को रूपमा आएको छ । पछिल्लो समय बाढीको जोखिम बढ्नु अव्यवस्थित शहरीकरण र नदि अतिक्रमणको मुख्य कारण भएको बताउँछन् ।

    ‘खोला बग्ने प्राकृतिक धारमा घर र अन्य संरचनाहरू ठडिएका छन्, सार्वजनिक जग्गा मिचिएका छन्, कुलो र पैनी मासेर बाटो बनेको छ’, स्थानीय प्रमोद भट्टराई भन्छन्, ‘यसरी मिच्नेहरू विभिन्न व्यक्तिदेखि संस्थाहरूसम्म छन् । यसको पनि विपद् निम्त्याउनमा ठूलो नकरात्मक भूमिका छ ।’

    इटहरीका अधिकांश घरहरू बाढीको समयमा डुबानको समस्यामा पर्ने र खोला किनारका गौरीगाँउ जस्ता सुकुम्बासी बस्तीका घरहरू बगाउने समस्या बढ्दो छ । कालान्तरमा यसले इटहरी बजारनै समस्यामा पर्न सक्ने अर्का स्थानीय बद्रि भिखारी बताउँछन् । उनी भन्छन्, ‘धार्मिक, सांस्कृतिक आस्थाहरू समेत जोडिएका नदिनालालाई संरक्षण गरेर उनीहरूलाई प्राकृतिक बाटोमा हिँड्न दिनुपर्छ । अवरोध सबै हटाउनु पर्छ । यसले बाढी र डुबानको विपद् धेरै कम गर्छ ।’

    इटहरीको खेती खोला, इटहरी पश्चिम लाइनको स्यार्सेकालीदेखि इटहरीको खेती खोला क्षेत्रमा अवैध संरचना हटाउन केही दिन डोजर चल्यो । तर, त्यो निरन्तर हुन सकेन । इटहरी उपमहानगरपालिकाको सबैतिर खोला-पैनी मिचेर ठड्याइएका संचरनाहरू अझैसम्म भत्किएका छैनन् ।

    हाल निर्माण हुने क्रममा रहेको इटहरीका खोला, नाला र पोखरी शीर्षक डकुमेन्ट्रीमा बोल्दै मेयर द्धारिकलाल चौधरीले अवैध संरचना भत्काउने काम अभियानकै रूपमा लान नसकिएको स्वीकारेका छन् । उनी भन्छन्, ‘यसमा मेसिन उपकरण जस्ता प्राविधिक समस्याहरू छन् । घरहरूको पनि संरचना हटाउनुपर्ने हुँदा इटहरीको बृहत् सहमती चाहिन्छ । ’

  • आज यी नदी आसपास छन् बाढीको उच्च जोखिम

    आज यी नदी आसपास छन् बाढीको उच्च जोखिम

    काठमाडौं । अविरल वर्षाका कारण देशका ठूला तथा साना नदी आसपासमा जोखिम बढिरहेको छ ।

    आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने र उच्च जोखिम रहन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    केही नदीमा सतर्कता तह पार हुन सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

    त्यसैगरी पश्चिमी राप्ति, बबईमा बहाब सामान्य रहनेछ ।  तर भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदी तथा नारायणी र त्यसका सहायक नदीमा भने बहाब निकै बढ्ने र सतर्कता तह आपसाप पुग्नसक्ने पूर्वानुमान छ ।

    अन्य जिल्लाका ठूला तथा साना नदीहरूमा पनि आकस्मिक बहाब आई जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

     

  • कमला नदीकाे बाढीमा फसेका तीनजनाको उद्धार

    कमला नदीकाे बाढीमा फसेका तीनजनाको उद्धार

    जनकपुरधाम । कमला नदीमा आएको बाढीमा फसेका दुई पुरुष र एक महिलालाई धनुषाका सुरक्षाकर्मीले उद्धार गरेको छ ।

    धनुषाको गणेशमान चारनाथ नगरपालिका- ७ का २७ वर्षीय संजय चौधरी, सोही ठाउँका ५६ वर्षीय गणपत यादव र ३५ वर्षीया सितादेवी यादवलाई सुरक्षाकर्मीले उद्धार गरेको हो ।

    उनीहरुलाई उद्धार गर्न ईलाका प्रहरी कार्यालय ढल्केबर, श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, सशस्त्र प्रहरी बेश क्याम्पस रघुनाथपुरको संयुक्त टोली परिचालन भएको थियो ।

    ‘बगरमा लगाएको तरकारी खेती रुग्न उनीहरु हिजो बेलुका नै त्यहाँ पुगेको थियो’, ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले भने, ‘राति अचानक बाढी आयो । बसेको दुबैतीर नदी बग्न थालेपछि उनीहरु बीचमै फसकेको थियो ।’

    कमला नदीमा बाढी आएपछि बुधवार दिउँसो सिरहाको कर्जन्हास्थित तीन जनालाई सिरहाका सुरक्षाकर्मीले उद्धार गरेको थियो । सिरहा प्रशासनले नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन माइकिङ गराएको छ ।

  • मेलम्चीमा फेरि बाढीको जोखिम, सतर्कता अपनाउन स्थानीयलाई आग्रह

    मेलम्चीमा फेरि बाढीको जोखिम, सतर्कता अपनाउन स्थानीयलाई आग्रह

    काठमाडौं । रातभर परेको वर्षासँगै मेलम्ची र इन्द्रावती नदीमा पानीको सतह बढेपछि नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले सूचना जारी गर्दै त्यसभेगका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    असार १ गते मेलम्चीको नदीमा आएको बढीले ठूलो जनधनको क्षति गरेकाके उक्त क्षेत्रमा झन् जोखिम बढेको केन्द्रले जनाएको छ ।

    मेलम्ची नदीमा क्रमशः पानी सतह बढिरहेको र आसपासका स्थानीय सुरक्षित स्थानतर्फ लागिरहेको स्थानीय रेडियो मेलम्चीले जनाएको छ ।

    यसअघिको बाढीका कारण घरबारविहीन भएका मेलम्ची क्षेत्रका स्थानीय झन् आतंकित भएका छन् ।

  • बाढीले मेलम्चीमा शनिबार एक घर बगायो

    बाढीले मेलम्चीमा शनिबार एक घर बगायो

    सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका-११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।

    मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौं बेपत्ता भएका छन् ।

    त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।
    रासस

  • आज यी नदीमा आउन सक्छ बाढी, सतर्क रहन आग्रह

    आज यी नदीमा आउन सक्छ बाढी, सतर्क रहन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञानका अनुसार बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षा भई बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार आज कोशी नदीमा पानीको बहाव उच्च भई बाढी आउन सक्ने पुर्वानुमान छ । कमला, वाग्मती, पश्चिम राप्ती, बबई का सहायक नदीहरुमा भारी वर्षा भई नदीमा बाढी आउन सक्ने अनुमान रहेको छ ।

    प्रदेश १ को रसुवा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, घादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ जिल्लामा भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

    लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, रुकुम पूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया कर्णाली प्रदेशको सल्यान, रुकुम, सुर्खेत आसपास जिल्ला भई बग्ने नदीहरुमा पानीको बहाव बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

     

  • आज यी नदीमा आउन सक्छ बाढी, सतर्क रहन आग्रह

    आज यी नदीमा आउन सक्छ बाढी, सतर्क रहन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार मुलुकका विभिन्न स्थानमा वर्षा भई नदीहरुमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    आज कोशी र यसका सहायक नदीमा पानीको बहाव उच्च भई बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कन्काई, कमला वाग्मती नदीका सहायक नदीमा भारी वर्षा भई बाढी आउन सक्ने पुर्वानुमान रहेको छ ।

    त्यस्तै प्रदेश २ को बारा, पर्सा, रौतहट, सिराहा वाग्मती प्रदेशको रसुवा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, सिन्धुली गण्डकी प्रदेशको गोरखा लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, मनाङ, नवलपुर जिल्लामा वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।

    लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देही, रुकुम, रोल्पा, प्यूठान सुदूरपश्चिम प्रदेशको डोटी, अछाम जिल्लामा भारी वर्षा भई आसपासका नदीहरुमा बाढी आउन सक्ने जोखिम भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

  • १५ जिल्लामा बाढी आउन सक्ने अनुमान, सतर्क रहन आग्रह

    १५ जिल्लामा बाढी आउन सक्ने अनुमान, सतर्क रहन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज १५ जिल्लाका नदी तथा सहायक नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रदेश १ को रौतहट, सर्लाही, महोत्तरी, धनुषामा बिहान ७ बजेदेखी भारी वर्षा भई नदीहरुमा बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    वाग्मती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला आसपासका जिल्लाहरुमा वर्षा भई नदीहरुमा बाढी आउन सक्ने भएकाले सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ ।

  • महाकाली नदीमा बाढी:  निर्माणाधीन पुलको बाँध बगायो, १५ घर डुबानमा

    महाकाली नदीमा बाढी: निर्माणाधीन पुलको बाँध बगायो, १५ घर डुबानमा

    महेन्द्रनगर । महाकाली नदीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

    महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए ।

    ‘गत जेठमा पनि बाढी आउँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो’, उनले भने, ‘त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।’

    उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पु¥याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । ‘अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो’ उनले भने, ‘यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।’

    महाकाली नदीले १५ घर डुबानमा
    महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

    सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सात जनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शङ्कर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको परिवार छन् । ‘घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ’, सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भने, ‘मानवीय र भौतिक क्षति भएको छैन ।’

    महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि छ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ ।

    महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ । सोही स्थानबाट नदी बगिरहेको छ ।

    पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान छ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्यूसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।

    पानीको बहाव यस वर्षकै उच्च
    महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

    ‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने,‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् ।

    ‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ’, प्रनानि गुरुङले भने, ‘स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • थुनिएको रोङ्सीबाट पानी बग्न थालेपछि तामाकोशीको तटीय क्षेत्रमा जोखिमको खतरा टर्दै

    थुनिएको रोङ्सीबाट पानी बग्न थालेपछि तामाकोशीको तटीय क्षेत्रमा जोखिमको खतरा टर्दै

    काठमाडौं । तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा तत्काललै ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । तामाकोशीको शाखा नदी रोङसी पहिरोले थुनिएपछि खतराको सूचना दिइएको थियो ।

    शनिवार दिनभर लगाएर चीनियाँ पक्षले रोङ्सीको वहावलाई केही खोल्न सफल भएको जिल्ला प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि एकैपटक नदी फुट्ने खतरा टरेको छ ।

    यद्यपी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन रामेछाप जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चीनको तिङ्ग्री काउन्टीतर्फबाट आउने रोङ्सीलाई पहिरोले थुनेपछि तामाकोशी क्षेत्रमा जोखिम बढेको थियो ।

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयका चारवटा ढोका भने खोलिएको छ । अहिले तामाकोशीमा लेदोसहितको बाढी आएको छ ।

  • कालो बादल मडारिन थालेपछि डराउँछन् मेलम्चीबासी, भन्छन् : घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन

    कालो बादल मडारिन थालेपछि डराउँछन् मेलम्चीबासी, भन्छन् : घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्‍याउने भन्ने । ‘कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर’, उनले भनीन्, ‘तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।’

    यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उनको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उनले देखीन्। त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उनको घरजग्गा सबै बगायो । ‘त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायौं’, उनले भनीन्, ‘खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।’

    गत बुधबार मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका-१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पुर्‍याएको छ । ५५ वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देखेकी थिइनन् ।

    यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उनी डाँडामा त्रिपालमा बसेका छन् । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उनले पाएनन् । ‘हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्लियौं, अनि हेर्दाहेर्दै खोलाले घर बगायो’, उनी भन्छन्, ‘आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।’

    यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताए । ‘बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हेर्‍यौं मात्र केही गर्न सकेनौँ’, उनले स्मरण गर्दै भने, ‘भोलिपल्ट हेर्दा केही थिएन ।’ त्यस दिन उनी भाउजूसँगै भाइको माछा फार्ममा गएका थिए । पानी बढेपछि उनी माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो ।

    उनीसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । ‘खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो’, उनले भने, ‘अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।’

    उनी घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आएका छन् । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्छन् । उनले भूकम्पले भन्दा बाढीले बढी क्षति पुर्‍याएको बताए । ‘भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्यौं’, उनले भने, ‘तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।’

    स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताए । उक्त दिन ७ः०० बजेदेखि पानीको सतह बढे पनि राति १२ः०० बजेदेखि भने लेदोसहितको बाढी आएको उनको भनाइ छ । ‘सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो’, उनले भने, ‘रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।’ उनले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताए ।

    बजार बगर

    चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

    स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताए । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् ।

    उनले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताए । ‘पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सबैलाई छ’, उनले भने, ‘साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।’ उनले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताए । उनका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब सात अर्ब बराबरको क्षति भएको छ ।

    विस्थापितलाई स्थायी रुपमा स्थापना

    वागमती प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले जुरे पहिरो र भूकम्पबाट तङ्ग्रिँदै गर्दा बाढीले पुनः जिल्लालाई पहिलेको ठाउँमा पुर्‍याएको बताए । उनले अहिले हेलिकप्टरबाट पहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजी जारी र मृतकको शव खोज्ने कार्य भइरहेको जानकारी दिए ।

    उनले विस्तापितलाई स्थायी रुपमा स्थापित गरिने बताए । ‘विस्थापितलाई स्थापित गर्नका लागि स्थानीय सरकारसँग मिलेर जग्गा उपलब्ध गराउने र सङ्घीय सरकारसँग मिलेर पुनर्निर्माणको काम गर्नेछौँ’, उनले भने, ‘पुनःस्थापना गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।’

    उनले गत वर्ष पुनःस्थापना गर्न बाँकी रहेका र अहिले बाढीपहिरोमा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको छ । उनका अनुसार प्रदेश सरकारले विस्थापितलाई ५० हजार रुपैयाँ तुरुन्तै, घरजग्गा नभएकालाई घडेरी किन्न तीन लाख र घर बनाउनका लागि पाँच लाख दिनेछ ।

    पूर्वाधारका लागि छुट्टै रकम

    प्रदेश सरकारले विस्थापितको घर नजीक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने भएको छ । ‘न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर पाँच लाखका दरले पूर्वाधार विकासका लागि दिनेछौँ’, उनले भने, ‘यसका लागि सरकारले कानून बनाएर बजेट नै विनियोजन गरेको छ, यसमा सघं र स्थानीय सरकारको दायित्व रहेको छ ।’

    उनले जोखिम भएको ठाउँबाट बस्तीलाई अन्यत्र सारी एकीकृत बस्ती बनाउने सरकारले बताए । चनौट बजारमा करीब ११० घरपरिवार बाढीका कारणले विस्थापित भएका छन् । वाग्मती प्रदेशले हेभिटेन्ट ५० थान र त्रिपाल सय थान तथा १० प्याक औषधि बाढीपीडितलाई उपलब्ध गराएको थियो । यस्तै तिलगङ्गा आँखा अस्तालले सय परिवारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ ।

    रासस

  • आज कुन-कुन नदीमा आउन सक्छ बाढी ? तामाकोशीमा जोखिम कायमै रहेको जानकारी

    आज कुन-कुन नदीमा आउन सक्छ बाढी ? तामाकोशीमा जोखिम कायमै रहेको जानकारी

    काठमाडौं । सरकारले शनिबार पनि मुलुकका विभिन्न भूभागमा भारी वर्षा हुनसक्ने र नदीनालामा बाढी आउन सक्ने भएकाले सतर्क हुन आग्रह गरेको छ ।

    चिनियाँ क्षेत्रमा तामाकोशी नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क हुन अपिल गरेको छ ।

    तामाकोशी नदीको बहाव घटेको वा बढेको नपाइएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार शनिबार बिहान ७ बजेदेखि कोशी, कर्णाली र महाकालीका सहायक नदीमा भारी वर्षा भई पानीको बहाव बढन सक्ने पूर्वानुमान रहेको छ ।

    आज कन्काई, पश्चिम राप्ती र बबई नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । प्रदेश १ को इलाम, झापा, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, संखुवासभा प्रदेश २ को बारा, पर्सा, सर्लाही, वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत वागलुङ, म्याग्दी, तनँहु, स्याङ्जा, नवलपुरमा वर्षा हुनुका साथै बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    त्यस्तै लुम्बिनी प्रदेशको परासी, रुपन्देही, कपिलवस्तु, अर्धाखाँची, दाङ, बाँके, बर्दिया, पाल्पा, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेलधुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला आसपासमा भारी वर्षा भई नदीहरुमा बाढी आउन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।

  • मेलम्चीमा फेरि भीषण बाढी, दोलालघाट पुल पनि जोखिममा

    मेलम्चीमा फेरि भीषण बाढी, दोलालघाट पुल पनि जोखिममा

    काठमाडौं । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।

    बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको रसिकले बताए । बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ । त्यस्तै उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ ।

    एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

    मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभ्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश नेपालले जानकारी दिएका छन् ।

    त्यस्तै सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

     

  • मेलम्चीलाई सघाउन सेलेव्रिटीको ताँती : आँचल र मिलनले बाँडे राहत, श्वेता र पूजा आज जाँदै

    मेलम्चीलाई सघाउन सेलेव्रिटीको ताँती : आँचल र मिलनले बाँडे राहत, श्वेता र पूजा आज जाँदै

    काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । उनीहरु मेलम्ची पुगेर खाद्यान्न, लत्ताकपडा र औषधि वितरण गरिरहेका छन् ।

    कतिपय कलाकार मेलम्ची लगायत मुलुकका अन्य बाढीपहिरो प्रभावित थलो पुगेर सहायता वितरण गर्ने तयारी गरिरहेका छन् ।

    विहिबार फिल्म गोर्खा वारियरका तर्फबाट निर्देशक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री आँचल शर्माका र उनका पति उदिप मेलम्ची पुगेर खाद्यान्न राहत प्रदान गरे ।

    ‘राहत वितरणमा राजनीति भएको र भाडामा बस्नेहरुले राहत नपाएको गुनासो सुनेपछि हामीले नगरपालिकालाई राहत सामग्री बुझायौं’ निर्देशक चाम्सले भने । चाम्सको टोली पहिरो प्रभावित लमजुङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

    टेलिभिजन अभिनेता कुमार कट्टेल जिग्री ब्रोको टोली पनि मेलम्ची पुगेर राहत वितरण गरेको छ । उनीहरुले पीडितलाई चामल, ब्ल्यांकेट लगायतको सहायता प्रदान गरे ।

    अभिनेत्रीद्धय श्वेता खड्का र पूजा शर्माले पनि मेलम्चीको बाढी पीडितलाई राहतको घोषणा गर्दै शुक्रबार त्यसतर्फ जाने बताएका छन् । अन्य कलाकार पनि बाढी प्रभावित थलोलाई सघाउन सक्रिय भएका छन् ।

  • बाढीले बगायो झिमरुक नदीको पक्की पुल

    बाढीले बगायो झिमरुक नदीको पक्की पुल

    रुपन्देही । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका-१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।

    सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।

    पुल भदौमा सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले जानकारी दिए ।

    यता अबिरल बर्षाका कारण अर्घाखाँचीमा तीन घर भत्किएका छन् । सन्धिखर्क नगरपालिकाको वडा नम्बर १० को बेल्टारीका श्याम थापा र बासडाँडाँका नारायण आचार्यको घर भत्किएको छ ।

    पानीका कारण मालारानी गाउँपालिकाको वडा नम्बर ९ को हिले खोलामा घर गोठ भत्किएको छ । गोठ भत्कदा २ वटा बाख्रा मरेको जिल्ला प्रकरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताए ।

  • निवर्तमान सांसदले गरे बाढीको चपेटामा परेका ३५ मनाङेको हेलिकप्टरबाट उद्दार

    निवर्तमान सांसदले गरे बाढीको चपेटामा परेका ३५ मनाङेको हेलिकप्टरबाट उद्दार

    काठमाडौं । मनाङमा आएको बाढीको कारण अलपत्र परेको बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ ।मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहितको टोली सेनाको हेलिकप्टरमा राहत सामाग्री लिएर मनाङ पुगेको हो ।

    नासों गाउँपालिका–१काे सिरानतालमा फसेका २४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी तालडाँडामा लगिएको छ । यस्तै सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    मनाङमा ठाउँठाउँमा बाढी गएको कारण उद्धारमा समस्या भइरहेकाले हेलिकप्टर कुरेर बस्नुपरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अुनसार अझै पनि धेरै नै पीडितहरुको उद्धार गर्नुपर्ने अवस्था छ । मनाङमा जेठको अन्तिम सातादेखि नै भीषण बाढी आएको थियो । हाल मनाङसँग जोडिएको सडक अवरुद्ध भएकाले यातायात ठप्प छ ।

     

     

  • बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

    बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीमा फसेका मेलम्ची खानेपानी आयोजना ७८ कामदारलाई उद्धार गरिएको छ ।  ८ जना भने अझै सम्पर्कविहीन छन् ।

    हेलम्बु गाउँपालिका-१ आम्बाथानमा रहेको आयोजनाको हेडवर्क्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता छन् । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं अस्पताल पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।

    मंगलबारको लगातार वर्षासँगै हेलम्बुको आयोजनामाथिबाट पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको केही संरचनामा क्षति पुगेको छ । मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो । सो क्रममा कामदारहरू बाढीमा फसेका थिए ।

    बाढीले आयोजनाको क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक तथा पुललगायतका सरंचना बगाएको छ। आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको देखिएको छ भने आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको पन्तले जानकारी दिए ।

    यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । हेडवर्क्सनजिकैको क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार शुरू गरेको थियो ।

    बाढीले मेलम्ची बजारको दुई सयभन्दा बढी घरहरू डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाएका छन् ।

  • बाढीले पूर्वीनवलपरासीमा दुई पुल बगायो

    बाढीले पूर्वीनवलपरासीमा दुई पुल बगायो

    रुपन्देही । तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले पूर्वीनवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ ।

    बौदीकाली गाउँपालिका- १ मा निर्माणाधीन पक्की पुल बगाएको छ । त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नम्बर १ मा पुल निर्माण भइरहेको थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको प्रमुख सुवेदीले बताए । स्थानीयहरूलाई सहजरूपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि सदरमुकामसँगको सीधा आवतजावत टुटेको छ । सदरमुकाम पुग्न स्थानीयलाई ४५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । यसले उपचारका लागि जानुपर्नेलाई समस्या भएको छ ।

    त्यसैगरी गाउँपालिकाको वडा नम्बर २ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीयहरु भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए । भिमाद पुग्न पनि स्थानीयले अब १ दिन पैदल घुम्नुपर्नेछ ।

  • पानीको उपद्रो : जलमग्न मेलम्ची (फोटोफिचर)

    पानीको उपद्रो : जलमग्न मेलम्ची (फोटोफिचर)

    काठमाडौं । बारम्बार प्राकृतिक प्रकोप सहँदै आएको सिन्धुपाल्चोक जिल्ला फेरि बाढीको चपेटामा परेको छ । हिजो साँझबाट सुरु भएको बाढी-पहिरोले जिल्लाका विभिन्न स्थानहरु जलमग्न छन् ।

    बाढीले भएका मानवीय तथा भौतिक क्षतिको विवरण भने अझै पनि प्रष्ट भएको छैन । तर, पचासभन्दा बढी मानिसहरु बेपत्ता भएको बताइएको छ । बाढीले कयौं पक्कीपुलहरु बगाएको छ भने बस्तिहरु डुबानमा परेका छन् ।

    नेपाली सेनाले आज विहानैदेखि हेलिकोप्टरमार्फत उद्दार सुरु गरेको थियो ।