Tag: फाइनल

  • रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

    रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
    फ्रान्सको राजधानि पेरिसस्थित स्टेड  डी फ्रान्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै रियालले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

    रियालको जितमा ब्रजिलियन खेलाडी भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । त्यसअघि पहिलो हाफमा करिम बेन्जेमाले गरेको गोल अफसाइड भएको थियो ।

    खेलअवधि भरि लिभरपुलले गोल गर्ने थुप्रै अवसर सृजना गरेपनि रियालका गोलकिपर थिबाउट कोर्टुवाले त्यसलाई उत्कृष्ट बचाउ गर्दै स्कोरमा कन्भर्ट हुुन दिएनन् ।

    अन्तिम समय सिजन २०१७\१८ मा रियालले १३औं च्याम्पियन्स लिग उपाधि जित्दा पनि फाइनलमा लिभरपुललाई नै हराएको थियो ।

    यस सिजन रियालले प्रि–क्वार्टर फाइनलमा पेरिस सेन्ट जर्मन (पीएसजी), क्वार्ट फाइनलमा चेल्सी र सेमिफाइनलमा म्यान्चेस्टर सिटिविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो ।

     

  • इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    काठमाडौं । पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

    इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।

    बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय- मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए ।

    सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

    पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

  • अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका उपाधि

    अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका उपाधि

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

    ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।

    खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

    अर्जेन्टिनाले १५ औं पल्ट काेपा अमेरिकाकाे उपाधि जितेकाे हाे । याेसँगै सबैभन्दा धेरैपल्ट काेपा उपाधि जित्ने उरुग्वेकाे कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेकाे छ ।

    सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

    बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

  • कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

    कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि अहिले महारथी टोलीहरु ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गरिरहेका छन् ।

    ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ ।

    खेलको २३ औं मिनेटमा डी पाउलको पासमा एंगेल डी मारियाले काउन्टर एट्याकमा गोल गरी टिमलाई अग्रता दिलाएका हुन् ।

    अर्जेन्टिना २८ वर्षपछि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा छ भने सुपरस्टार लियोनल मेस्सी पनि देशका लागि पहिलो ठूलो उपाधि जित्न चाहन्छन् ।

  • इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।

    घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

    मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

    निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो ।

    ह्यारी केनको प्रहार डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकेका थिए । तर रिवाउण्ड बलमा केनले नै गोल गर्न सफल रहे । यही गोलले इंग्ल्याण्डलाई युरो इतिहासमै पहिलोपल्ट फाइनलमा पुर्‍यायो ।

    पहिलो खेलमै मुख्य खेलाडी क्रिष्टियन इरिक्सन हृदयघातबाट मैदानमै ढलेपछि धर्मराएको डेनमार्क सुरुआती दुई खेलमा पराजित रहे पनि समूह चरण पार गर्ने भाग्यमानी टोली बनेको थियो ।

    सन् १९९२ को च्याम्पियन टोलीबमे यस संस्करणमा अप्रत्यासित प्रदर्शनको यात्रा सेमिफाइनलमा आएर टुंगिएको छ । सेमिफाइनलमा पराजित रहे पनि उनीहरु शीर ठाडो पार्न सक्नेछन् । डेनिस टोलीको आक्रामक क्षमता र गोलरक्षक स्माइकल्सको प्रदर्शनलाई विश्वभरका फुटबल समर्थकले प्रसंसा गरेका छन् ।

  • कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउँदै अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

    उपाधिका लागि उसले ब्राजिलसँग खेल्नेछ । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

    आज विहाज ब्रासिलियामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

    पेनाल्टी शुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आआफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे ।

    दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् । अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए ।

    त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अर्जेन्टिना ३–२ गोलले विजयी रह्यो ।

    यसअघि खेल सुरु भएलगत्तै अर्जेन्टिनाले अग्रता लिएको थियो । सातौं मिनेटमा कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा सुधारिएको काेलम्वियाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरेका थिए ।

    प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।

    फाइनल खेल आइतबार विहान हुनेछ ।

  • पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

    रियोको राष्ट्रिय रंगशालामा घरेलु टोलीको जितमा लुकास पाकेस्टाको गोल निर्णायक रह्यो । खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका पाकेस्टाले शानदार गोल गरे ।

    दोस्रो हाफमा पेरुले खेलमा फर्कने प्रयास गरेको थियो । समूह चरणको खेलमा ४–० ले हारेको पेरुले सेमिफाइनलमा पुगे बलियो चुनौति पेस गरेको थियो । खासगरी दोस्रो हाफमा उसले अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न सकेन ।

    जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

     

  • च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ?

    च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ?

    काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता- युइएफए च्याम्पियन्स लिग, र त्यसको पनि फाइनलमा आज दुई इङ्लिस क्लबहरू चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । ठूल्ठूला क्लबहरू र राष्ट्रिय लिगका च्याम्पियनहरूका लागि पनि सबैभन्दा ठूलो लक्ष्य भनेको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नु हुन्छ ।

    र, झन्डै एक दशकदेखि इङ्लिस फुटबलमा आफूलाई महारथीको रूपमा स्थापित गरेको म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा पुगेको हो । तर, सिटीले आफूलाई इङ्लिस फुटबलमा स्थापित गर्दै गर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिरहेको थियो । म्यानचेस्टर सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो । सोही सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको थियो ।

    इङ्लिस फुटबलको च्याम्पियन बनेदेखि नै युरोपेली फुटलबको ताज पहिरिन संघर्षरत सिटीले यो वर्ष पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको छ । सन् २००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी स्वदेशी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो । त्यसको चार वर्षपछि जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

    आजको फाइनल चेल्सीका लागि जति महत्त्वपूर्ण छ, त्यति नै सिटीका लागि पनि ।  सायद अझै धेरै । किनभने, युरोपमा व्यावसायिक फुटबल खेल्ने सबै खेलाडीको अन्तिम इच्छ्या च्याम्पियन्स लिगको मेडल लगाउने हुन्छ । केही ठूला क्लबहरूको प्रभुत्वकै कारण साना क्लबहरूमा अब्बल भएका खेलाडीको पनि अल्टिमेट गन्तव्य रियाल मड्रिड, बार्सिलोना, बायर्न म्युनिख लगायतका क्लब हुने गरेका छन् ।

    तर, पछिल्ला केही सिजनहरूमा त्यो क्रम कम हुँदैछ । पछिल्लो तीन सिजनको फाइनल हेर्ने हो भने यो दोस्रो फाइनल हो जसमा दुवै इङ्लिस टोली खेल्दै छन् । यसअघि २०१८/१९ को फाइनलमा लिभरपुल र टोटेनह्याम भिडेका थिए । सो फाइनलमा लिभरपुलले पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई पराजित गरेको थियो ।

    गत सिजन जर्मन हेभिवेट बायर्नले पनि पहिलो पटक फाइनल पुगेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मनलाई पराजित गर्दै उपाधि जितेको थियो । च्याम्पियन्स लिगको फाइनलको अर्को चाखलाग्दो विषय नयाँ टोलीको पहिलो फाइनल पनि हुने गरेको छ ।

    २०००/२००१ को सिजन यता हेर्ने हो भने पहिलो पटक फाइनल पुगेका कुनै पनि टोलीले फाइनल जितेका छैनन् । यद्यपि, १९८२ मा इङ्लिस क्लब एस्टन भिल्ला र १९९७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डले भने पहिलो फाइनलमै उपाधि उचालेका थिए ।

    पछिल्ला दुई सिजनको नतिजा हेर्ने हो भने पनि नयाँ टोली पहिलो फाइनलमा निराश नै हुनुपरेको देखिन्छ । २०१८ मा टोटेनह्याम पहिलो पटक फाइनलमा पुगेर लिभरपुलसँग पराजित भएको थियो भने गत सिजन पिएसजी बायर्नसँग हारेको थियो । आजको फाइनल चेल्सीका लागि तेस्रो फाइनल अनुभव हो भने सिटीका लागि पहिलो हुनेछ ।

    तर, चलाख प्रशिक्षक पेप ग्वार्डिओलाको सिटीले बाजी मार्‍यो भने १९९७ पछि पहिलो फाइनलमै उपाधि जित्ने पहिलो टोली बन्ने छ । तर, पछिल्लो सिजन पिएसजीलाई पनि फाइनलसम्म पुर्‍याएका प्रशिक्षक थोमस टुकेल र पिएसजीका पूर्व कप्तान थिएगो सिल्भा आज चेल्सी टोलीमा छन् । उनीहरू पनि लगातर दुई फाइनलमा पराजय भोग्न चाहँदैनन् ।

    प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन भएका तीन भेटमा चेल्सीले दुई खेल जितेको छ । प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए भने एफए कपको सेमिफाइनलमा चेल्सीले बाजी मारेको थियो । यसै सिजन सेमिफाइनलमा हराएको चेल्सीसँग अर्को फाइनलमा पनि हार्नु सिटीका लागि स्वीकार्य हुनेछैन ।

    अर्कातिर एफएकपमा लेस्टरसँग पराजित भएको चेल्सी लगातार दुई फाइनलमा हार्न चाहँदैन । इङ्लिस फुटबलको पछिल्लो दशकमा दुई सफल क्लब चेल्सी र सिटीबीचको आजको फाइनल पैसा वसूल हुने निश्चित छ ।

    अन्तिम-१६ मा स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-० को जित निकालेको चेल्सी क्वार्टरफाइनलमा पोर्टोविरुद्ध समग्रमा २-१ ले विजयी भएको थियो । सेमिफाइनलमा प्रतियोगिताको सर्वाधिक सफल क्लब रियाल मड्रिडविरुद्ध समग्रमा ३-१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    त्यस्तै, अन्तिम-१६ मा बोरुसिया मोन्चेन्ग्लाडबाखविरुद्ध समग्रमा ४-० को जित निकालेको म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध ४-२ जित निकालेको थियो । त्यस्तै,  सेमिफाइनलमा गत सिजनको उपविजेता पिएसजीलाई हराएको सिटीले चेल्सीसँगको भेट निश्चित गरेको थियो ।